स्कुटर डे मनाउँदै यामाहा, साथमा विभिन्न योजनाहरु
काठमाडौं । यामाहाले ७ मार्चलाई ‘स्कुटर डे’ (स्कुटर दिवस)का रुपमा मनाउने भएको छ । मानिसलाई स्वतन्त्र, आत्मविश्वासी र सशक्त बनाउन स्कुटरले पुर्याएको योगदानको कदर गर्दै यामाहाले उक्त दिवस मनाउन लागेको हो । ‘स्कुटरले हामीलाई आरामदायी यात्रा मात्र होइन आत्मविश्वास पनि दिलाउँछ । त्यसैले सबैलाई मनपर्ने साधन स्कुटरको समपर्णमा हामीले स्कुटर डे मनाउने निर्णय गरेका हौं,’ एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका मार्केटिङ हेड प्रदिप पोखरेलले भने । निशुल्क ‘स्कुटर वास’ स्कुटर डेका अवसरमा कम्पनीले देशभरि विभिन्न कार्यक्रमको आयोजना गर्ने जनाएको छ । जसमध्ये निशुल्क स्कुटर वास रहेको छ । स्कुटर डेमा राइडरहरुले यामाहाको कुनै पनि सर्भिस सेन्टरबाट जुनसुकै ब्रान्डको स्कुटर निशुल्क वास गर्न सक्नेछन् । ट्राफिकलाई दुई स्कुटर ‘स्कुटर डे’कै दिन आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले नेपाल ट्राफिक प्रहरीलाई दुई वटा यामाहा स्कुटर हस्तान्तरण गर्ने भएको छ । सो सानो सहयोगले काठमाडौंको ट्राफिक व्यवस्थापनमा थोरै भए पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यस्तै कम्पनीकाे अनुसार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा यामाहाले नेपालकै अग्रणी सम्भवत नेपालकै पहिलो स्कुटरचालक कमला श्रेष्ठलाई सम्मान गरेर स्कुटर हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको जानकारी दिएको छ ।
रोकिएको मेलम्चीको सुरुङ निर्माण मंगलबारदेखि
काठमाडौँ । फागुन १६ गते बुधबारदेखि रोकिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण मंगलबारदेखि शुरु हुने भएको छ । उपत्यकावासीको प्यास मेटाउन बहुप्रतीक्षित आयोजनाको २७.५ किमी सुरुङ अन्तिम चरणमा पुगेर पाँच दिनदेखि काम हुन सकेको थिएन । इटालियन ठेकेदार कम्पनी सिएमसीले सुरुङ निर्माणमा संलग्न कामदारलाई तलब नदिएपछि बुधबारदेखि सिन्धु–ग्याल्थुम खण्डको काम रोकिएको आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले बताए। ‘निर्माण व्यवसायी कम्पनीले आज तलब दिएको जानकारी आएको छ, सके आजै बेलुकी, नभए मंगलबार बिहानदेखि काम शुरु हुन्छ, अब मात्र १९० मिटर सुरुङ खन्न बाँकी छ’, उनले भने। पाँच दिन काम रोकिए पनि चैत १५ सम्म काम सक्नेगरी सुरुङ निर्माण हुने आयोजनाले जनाएको छ । ठेकेदार कम्पनीले प्रक्रिया पुर्याएर ल्याएको बिल भुक्तानी सम्झौतामा उल्लेख भएभन्दा छिटो नै आयोजनाले गर्ने गरेको कार्यकारी निर्देशक देवकोटाको भनाइ छ। सम्झौतामा बिल भर्पाइ पेश भएको ५६ दिनमा भुक्तानी गरिसक्नुपर्ने व्यवस्था भएपनि अहिलेसम्म समयसीमा कटाइएको छैन । यसअघि मुहानस्थल अम्बाथानमा कार्यरत मजदुरले पनि लामो समयदेखि तलब नपाएको गुनासो गरेका थिए । आयोजनाको सुन्दरीजल–सिन्धु र ग्याल्थुम–अम्बाथान सुरुङखण्ड यसअघि नै छिचोलिएको छ । सुरुङ निर्माण सम्पन्न भई आउँदो दशैँ अघि मेलम्चीको पानी राजधानीको धारामा वितरण हुने विश्वास गरिएको छ । रासस
अखिल पुनर्गठन हुदैँ, को बन्ला अध्यक्ष ?
काठमाडौं । अनेरास्ववियुका केन्द्रिय अध्यक्ष नविना लामा सांसद भए पछि अहिले पुनर्गठनको मुद्धाले प्रवेश पाएको छ । अनेरास्ववियुको स्थायी कमिटीको औपचारिक वैठकमा अध्यक्ष नविना लामाले विदा लिने घोषणा गरेकी थिइन । अखिलको ईतिहास हेर्ने हो भने पनि २०५१ सालमा तत्कालीन अध्यक्ष रामनाथ ढकाल सांसद भएपछि अखिलवाट राजिनामा दिएपछि अध्यक्ष योगेश भट्टराई बनेका थिए । अहिले पनि अखिल पुनर्गठनको मुद्धामा केन्द्रित भएको छ । पार्टी ईन्चार्ज रविन्द्र अधकारी पनि यों गृहकार्यमा लागेका छन् । केपि ओलि समुहबाट रश्मि आचार्य , महेश बर्तौला ,ऐन महर, शैलेष लामा, सुनिता बराल अध्यक्ष बन्न लागेका छन् । केपि ओलि समुहमा को बन्ने भन्ने विवाद रहेको छ । माधव नेपाल र झलनाथ खनाल समुहबाट भने सुदेश पराजुली अध्यक्ष बन्न लागेका छन् । ओली समुहमा कसैले पनि एक अर्कालाई स्वीकार नगर्ने अवस्था सृजना भएपछि नेपाल समुहबाट पराजुलीले आफ्नो दावेदारीलाई कडा रुपमा अघि सारेका छन् । ओली समुहमा एकले अर्कालाई स्विकार नगर्ने अवस्था सृजना भएपछि उनीहरुकै प्रस्तावमा पराजुलीले आफु अध्यक्ष बन्ने बताउँदै आएका छन् ।
टिकट अनिवार्य गर्दै साझा यातायात, टिकट नलिने/नदिनेलाई कारवाहीको व्यवस्था
ललितपुर । साझा यातायातले आफ्ना यात्रुका लागि टिकट अनिवार्य लिनुपर्ने नियम बनाउने भएको छ । टिकट नलिने यात्रु र नदिने कर्मचारीलाई कारवाही गर्ने तयारी गरिएको कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए । साझा यातायातमा चढ्दा कतिपय यात्रुले टिकट बेवास्ता गरेकाले टिकट नलिने/नदिनेलाई कारवाहीको व्यवस्था गर्न लागिएको हो । “यात्रुले टिकट लिन गाह्रो मान्ने गरेका छन्”, उनी भन्छन्, “यात्रुमा टिकट लिएर मात्र यात्रा गर्नुपर्छ भन्ने धारणा भइसकेको छैन ।” यात्रुले टिकट नलिँदा चुहावटको सम्भावना रहने पाण्डेय बताउँछन् । “टिकट नलिँदा र नदिँदा यात्रुले भाडा नै तिरे/नतिरेको थाहा हुँदैन । टिकट नलिएको भाडा कार्यालयसम्म नआउन सक्छ”, उनी भन्छन्, “भाडा तिरेपछि टिकट लिनु यात्रु र साझा यातायात दुवैका लागि राम्रो हो । पैसा तिरेपछि रसिद माग्नु यात्रुको अधिकार हो ।” काठमाडौं महानगरपालिकाले पाँच करोड रुपैयाँ र ललितपुर महानगरपालिकाले एक करोड रुपैयाँको साझा यातायातको शेयर किनेका छन् । यी दुवै महानगरपालिकासँग मिलेर नीति निर्माण हुने पाण्डेय बताउँछन् । दुई महानगरपालिकासहित अरु सरकारी निकाय गरेर ९७ प्रतिशत सरकारी लगानीमा साझा यातायात सञ्चालनमा छ । साझा यातायातले नेपाल बैंक लिमिटेड र नेपाल टेलिकमसँगको सहकार्यमा विद्युतीय टिकट प्रणाली (इटिकेटिङ) समेत शुरु गर्ने तयारी गरेको छ । रासस
अब सबै एम्बुलेन्स सेवालाई एउटै नम्बर १०२ प्रयोगमा ल्याइने
काठमाडौं । नेपाल सरकार स्वास्थ्य मन्त्रालय र नेपाल एम्बुलेन्स सर्भिस (नास) बीच आपतकालीन स्वास्थ्य सेवा प्रदान गर्ने बिषयमा (एमओयु) सम्झौता भएको छ । यस सम्झौता अनुसार नेपाल एम्बुलेन्स सर्भिस (नास)ले देशभर फैलिएर रहेका स्वास्थ्य चौकी, अस्पताल, हेल्थकेयर संस्थाहरुमा संचालन हुने एम्बुलेन्स सेवाहरुको एउटै नम्बर १०२ प्रयोगमा ल्याउने छ । यसको व्यवस्थापन नासले नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सहकार्यमा गर्ने छ । अर्को सम्झौता अनुसार आपतकालीन स्वास्थ्य सेवा तालिम केन्द्रको स्थापना गर्ने छ । यो सम्झौता पत्रमा नीति, योजना र अन्तर्रा्ष्ट्रिय सहयोग विभागका प्रोफेसर डा श्रीकृष्ण गिरी र नेपाल एम्बुलेन्स सर्भिसका अध्यक्ष ओम राजभण्डारीले हस्ताक्षर गरेका थिए । नीति, योजना र अन्तर्राष्ट्रिय सहयोग विभागका प्रोफेसर गिरीले हस्ताक्षर गर्दै भने ‘अब हामी सबै एम्बुलेन्स सेवालाई एउटै कल सेन्टर १०२ मा जोडेर काम गर्दैछौं, जसको व्यवस्थापन नासले गर्ने छ ।’ नेपाल एम्बुलेन्स सर्भिसका अध्यक्ष राजभण्डारीले भने, ‘यो हाम्रा लागि निकै महत्वपूर्ण र गौरवमय क्षण हो । जहाँ हामीले सरकारसँग मिलेर सबै एम्बुलेन्स सेवाहरुलाई एउटै नम्बर १०२ मा ल्याएर काम गर्ने छौं । हामीले विगत लामोसमय देखि स्वास्थ्य मन्त्रालयसँग मिलेर काम गर्दै आइरहेका छौं । यो सहकार्यले हामी अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्न र आपत्कालीन स्वास्थ्य सेवा दिन अझै राम्रोसँग काम गर्न सक्ने छौं ।’
बजार ओरालो लागि रहँदा नेपालगञ्जका लगानीकर्तालाई सेयर तालिम
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालगञ्जका लगानीकर्तालाई प्रशिक्षण दिएको छ । नेपालगञ्ज उद्योग बाणिज्य संघसँग मिलेर बोर्डले सो क्षेत्रका लगानीकर्तालाई सेयर बजार लगानीका बारेमा प्रशिक्षण दिएको हो । संघका अध्यक्ष नन्दलाल बैश्यको उपस्थितीमा आयोजना गरिएको लगानीकर्ता प्रशिक्षणमा सो क्षेत्रका २२५ जना भन्दा बढि लगानीकर्ताहरुको सहभागीता रहेको थियो । बोर्डका निरञ्जय घिमिरे, नेप्सेका मुराहरी पराजुली, सिडिएस एण्ड क्लियरिङ्ग लि.(सिडिएसि) का देवराज रिजाल, ईम्पेरियल सेक्यूरिटिज् प्रालिका भक्तिराम घिमिरेले प्रशिक्षण दिएका थिए । कार्यक्रममा लगानी कर्ताहरुले सेयरमा भ्याट लगाउन नहुने, अनुत्पादक क्षेत्रको आरोप लगाउन नहुने, वास्तविक क्षेत्रका कम्पनीहरुलाई आकर्षित गर्नुपर्ने, अनलाईन कारोबार यथासिघ्र आरम्भ गर्नुपर्ने लगायतका माग राखेका थिए । सूचिकरण खारेज भएका कम्पनीहरुको यथार्थ स्थीति बाहिर ल्याइनुपर्ने, बजार निर्माता तथा धितोपत्र व्यापारीको व्यवस्था हुनु पर्ने, निजी क्षेत्रमा अर्को स्टक एक्सचेञ्ज खोल्न अनुमति दिनुपर्ने लगायतका माग पनि अघि सारेका थिए ।
सेञ्चुरी कमर्सियल बैंक र सानिमा लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकहरुले यस बैंकबाट सानिमा लाइफको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकका का. मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र सानिमा लाइफ इन्स्योरेन्सका नायव महाप्रबन्धक केशवराज केसीले हस्ताक्षर गरेका छन् ।
राष्ट्रियसभाको अभ्यास आजदेखि शुरु, अन्तरिम कार्यविधि पारित
काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि राष्ट्रियसभाको पहिलो अभ्यास आजदेखि शुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा ज्येष्ठ सदस्य तारादेवी भट्टको अध्यक्षतामा राष्ट्रियसभाको पहिलो बैठकले राष्ट्रियसभा सञ्चालनसम्बन्धी अन्तरिम कार्यविधिलाई सर्वसम्मतरुपमा पारित गर्यो । बैठकले राष्ट्रियसभाको अध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न परशुराम मेघी गुरुङ, राधेश्याम अधिकारी र कालीबहादुर मल्ललाई मनोनयन गरेको छ । अपराह्न ४.२३ बजे शुरु भएको उक्त बैठकको प्रारम्भमा अध्यक्ष भट्टले पहिलो बैठकमा सहभागी सदस्यलाईस्वागत गर्दै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरेका छन् । त्यसलगत्तै अध्यक्ष भट्टले राष्ट्रपतिबाट संघीय संसद्को बैठक आह्वानसम्बन्धी पत्र वाचन गरेर सुनाएका थिए । राष्ट्रपति कार्यालयको पत्र वाचनपछि बैठकले लोकतन्त्र र प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति सम्मान व्यक्त गर्न दुई मिनेट मौन धारणा गर्यो । त्यसपछि अध्यक्ष भट्टले मन्त्रिपरिषद् विस्तारसम्बन्धी विभिन्न मितिमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए । त्यसपछि बैठकले राष्ट्रियसभा कार्यसञ्चालन नियमावली तयार नहुन्जेल बैठकको कार्यसञ्चालनका लागि अध्यक्ष भट्टले प्रस्तुत गरेको राष्ट्रियसभा सञ्चालनसम्बन्धी अन्तरिम कार्यविधिलाई सर्वसम्मतिले अनुमोदन गर्यो । नेपालको संविधानको धारा ८६ मा राष्ट्रियसभा गठन र पदावधिसम्बन्धी व्यवस्था छ । उनन्साठी सदस्यीय राष्ट्रियसभामा मुलुकका प्रत्येक प्रदेशबाट तीन महिला, एक दलित, एक अपांगता वा अल्पसंख्यकसहित आठ जनाका दरले प्रतिनिधित्व हुने संवैधानिक व्यवस्था छ । सरकारको सिफारिशमा राष्ट्रपतिबाट नियुक्त भएका तीनसदस्यलाई भने सर्वोच्च अदालतको ‘शपथ नगराउनू’ भन्ने अन्तरिम आदेशपछि उहाँहरूको शपथ हाल रोकिएको छ । अहिले राष्ट्रियसभामा नेकपा ९एमाले० का २७, नेपाली काँग्रेसका १३, नेकपा (माओवादी केन्द्र)का १२ तथा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टी नेपालका दुई दुई जना सदस्यको प्रतिनिधित्व छ । राष्ट्रियसभा सदस्यमा अहिले २१ महिला र ३५ पुरुषको प्रतिनिधित्व छ । छ वर्ष कार्यकाल रहने राष्ट्रियसभाका सदस्यमध्ये एक तिहाइको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुनेछ । प्रतिनिधिसभाबाट गएको अर्थ विधेयक १५ तथा अरु विधेयक दुई महिनाभित्र पारित गरी वा सुझावसहित फिर्ता पठाउनुपर्ने राष्ट्रियसभाको दायित्व हुनेछ । राष्ट्रियसभा स्थायी प्रकृतिको सदन हो । राष्ट्रियसभाको बैठक प्रारम्भ भएको १५ दिनभित्र अध्यक्षको निर्वाचन गर्नुपर्ने सवैधानिक व्यवस्था छ । राष्ट्रियसभाको अर्को बैठक यही फागुन २२ गते बिहान ११ बजे बस्नेछ । रासस