सार्वजनिक जमिन जोगाउने महानगरको आक्रामक अभियान, पहिलो दिनै भत्कायो एक तले भवन
काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा जोगाउने अभियान सुरु गरेको छ । महानगरको वडा नं ३ मा साढे ६ आना जग्गामा बनेको एकतले भवन भत्काउदै महानगरले सार्वजनिक स्थललाई खुल्ला बनाउने अभियान थालेको हो । अभियानको सुरु गर्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिका क्षेत्रभित्रका सार्वजनिक जग्गामा सामाजिक कामका नाममा कुनै पनि भवन बनाउन नदिने बताए । ‘भूकम्पपछि महानगरककाे विकासमा काम धेरै गर्न बाँकी रहेका छन्, सहरी सुन्दरता कायम गर्न, हरियाली बचाउन सार्वजनिक क्षेत्र मिची निर्माण गरिएको भवन भत्काउन सुरु गरेका हौं,’ मेयर शाक्यले भने । कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माले सहरी जीवन व्यवस्थापन सहजताका लागि थालिएको अभियानलाई सकारात्मक लिन र अभियानमा सहभागी हुन सहरबासीलाई आग्रह गरे । ‘महानगर क्षेत्रभित्र धेरै सार्वजनिक जग्गा रहेको छ, वडा नं ३ मा मात्र पनि २०० रोपनीभन्दा बढी जग्गा छ, त्यसमध्ये आज साढे ६ आना जग्गा फिर्ता भएको हो,’ वडा नं ३ का वडाध्यक्ष दीपक केसीले भने । फिर्ता गरिएको जग्गा करीब ७ करोड मुल्य बराबरको भएको महानगरले जनाएको छ । यो सगै विश्व हिन्दू महासंघले प्रयोग गरेको २२ रोपनी र गायात्री समाजले प्रयोग गरिरहेको ४२ आना जग्गा पनि तत्काल फिर्ता ल्याउने महानगरले तयारी थालेको छ । वडा नं.३ मा भएको करीब २०० रोपनी सार्वजनिक जग्गामध्ये १३६ रोपनी क्षेत्रफल रानीबारीले ओगटेको छ । यसबाहेक चालु आर्थिक बर्षमा महानगरले १ अर्ब मूल्य बराबरको सार्वजनिक जग्गा सार्वजनिक उपयोगमा फिर्ता गराउने लक्ष्य राखेको छ ।
२१ कम्पनीको सेयर मूल्यमा वृद्धि, यी हुन् सोमबार कमाउने १० उत्कृष्ट कम्पनी
काठमाडौं । दोहोरो अंकले घटेको सोमबारको बजारमा २१ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । जुन अघिल्लो दिनको तुलनामा १९ कम्पनीको सेयर मूल्यमा सुधार आएको छ । अघिल्लो दिन अर्थात आइतबारको बजारमा जम्मा २ कम्पनीको सेयर मूल्यमा सामान्य सुधार भएको थियो भने अन्य बाँकीकाे मूल्यमा गिरावट अाएकाे थियाे । सोमबार भएको कूल कारोबार मध्ये बाँकी १३२ कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ । सो दिनको बजारमा कूल १५३ कम्पनीको कारोबार भएको थियो । सोमबार कमाउने १० उत्कृष्ट कम्पनी बजारमा सबैभन्दा बढी सूर्योदय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले आइतबार ३.९३ प्रतिशत कमाएका थिए भने सोमबार(आज) ९.९६ प्रतिशत कमाएका छन् । सोमबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार १९२ रुपैयाँ रहेको छ । जुन अघिल्लो दिनको तुलनामा १०८ रुपैयाँ बढी हो । त्यस्तै, विशाल बजार कम्पनीको सेयर मूल्य ४.८० प्रतिशतले बढेको छ । त्यसैगरी, पूर्णिमा विकास बैंकको ३.०३, एक्सेल डेभलपमेन्ट बैंकको २.९२ र गरिमा विकास बैंको सेयर मूल्य २.२५ प्रतिशतले बढेको छ । सोमबार सबैभन्दा बढी हिमालयन डिष्टीलरीको सेयर मूल्यमा गिरावट आएको छ । कम्पनीको सेयरको मूल्य ९.७५ प्रतिशतले घटेर प्रतिकित्ता ९२६ रुपैयाँमा झरेको छ । जुन रकम अघिल्लो दिनको तुलनामा १०० रुपैयाँ घटी हो । त्यसैगरी, मञ्जुश्री फाइनान्स, अपी पावर कम्पनी, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले हिजोको भन्दा ७ प्रतिशत गुमाएका छन् ।
घरेलु महासंघले भन्याे–निर्यात व्यापार बढाउन युवालाई रोजगार देउ
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले नयाँ सरकार गठन भएसँगै नेपाली जनताको आर्थिक समृद्घि र विकासको तिब्र चाहना मुखरित हुन थालेको बताए । लघु, घरेलु तथा साना उद्योगको वर्तमान अवस्था र अवसरका विषयमा महासंघको प्रतिनिधि मण्डलसँग सोमबार उद्योग मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले स्वदेशी उद्योगहरुको विकास गर्न पर्नेमा जोड दिएका थिए । आर्थिक सम्बृद्धि र विकासको मुख्य चुनौती निर्यात ब्यापार असन्तुलन भएको भन्दै उनले निर्यात बढाउन युवाहरुलाई स्वदेशमै आकर्षक रोजगारीको अवसर सिर्जना गर्नुपर्ने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव समक्ष राखेका थिए । उनको अनुसार मुलुकभर करिब ३ लाख ५० हजार घरेलु तथा साना उद्योगहरु दर्ता भइ झण्डै २ लाख ५० हजार उद्योगहरु सञ्चालनमा रहेको तथ्याङ्क छ । यद्यपि यस्ता उद्योगले कारखानाको आकार ग्रहण गर्न नसकेको भन्दै उनले आम जनमानसमा यस्ता उद्योगहरु पहिचानमा नरहेको, आवश्यक भौतिक पूर्वाधारको अभावमा कार्यस्थल व्यवस्थित हुन नससकेको समस्या अवगत गराएका थिए । त्यस्तै महासँघका पदाधिकारीहरले लघु घरेलु तथा साना उद्योगको कच्चा पदार्थको स्रोत कृषि र गैह् काष्ठजन्य वन उपज भएको हुदा सरकारी तथा सार्वजनिक जग्गामा संचालित अल्पकालिन कृषि बजारहरुलाई व्यवसायीक ढंगले अघि बढाउन मन्त्रालयले पहल गर्न पर्ने जाेड दिएका थिए । सो आवसरमा उद्योगमन्त्री यादवले मुलुकमा उद्योग धन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ सरकार केन्द्रित रहने प्रतिवद्धता जनाए । यो सरकार विगतका सरकारको निरन्तरता नभएको भन्दै इतिहासकै महत्वपूर्ण चरणमा मुलुकको समृद्घि र विकासका लागि काम गर्ने जानकारी गराएका थिए ।
कलंकी-नागढुङगा सडकः ६ किलोमिटर सडक असार अघि नै कालोपत्रे
काठमाडौं । कलंकी–नागढुंगा सडकको आधा भाग असार अघि नै कालोपत्रै हुने भएको छ । उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी विश्व विजयलाल श्रेष्ठका अनुसार कलंकी–नागढुंगा सडक खण्डको आधा भागमा असार अघि नै कालोपत्रै गर्ने योजनासहित काम अघि बढाइएको हो । ‘जाडो महिना सकियो अब कालोपत्रेको काम सुरु हुन्छ, अदालती झमेला नभएका ठाउँमा कालोपत्रे गर्ने काम असार अघि नै सक्ने गरि अघि बढेको छ’, श्रेष्ठले भने । १२. ५ किलोमिटर लामो सडकको आधा खण्डमा भने दजर्नाै मुद्धा परेका थिए । स्थानीय मासिन्दाले मुआब्जा माग्दै अदालत गुहारेपछि सर्वाेच्च अदालतले असोज १२ गते पुर्णकालिन फैसला गरेको थियो । तर अदालतले अझैसम्म फैसालको पुर्णपाठ जारी नगरेकाले सो सडक विस्तार अघि बढ्न सकिरहेको छैन् । यस अघि सडक विस्तार आयोजनाले यथास्थितिमै सडक विस्तारको काम अघि बढाउने योजना अघि सारेको थियो । तर भौतिक पुर्वाधार मन्त्रालयले गलत नजिर बस्ने भन्दै स्विकृति नदिएपछि काम रोकिएको थियो । हाल ६ किलोमिटर सडकमा पर्खाल र फुटपाथ बनाउने काम सम्पन्न भैसकेको छ । अब पिच गर्नु भन्दा अघिको पुर्व तयारीको काम सुरु गर्ने श्रेष्ठले बताए ।‘अदालती अवरोध नभएको ठाउँका नागरिकले असार अघि नै धुलो र हिलोबाट मुक्ति पाउनेछन्, हामी कालोपत्रे गरिसक्छौं’, श्रेष्ठले भने ।
इलाममा दैनिक ५० हजार लिटर दुध बिक्री
इलाम । इलाममा दैनिक ५० हजार लिटर दुध बिक्री हुन थालेको छ । जिल्लामा दुग्धजन्य उत्पादनमा वृद्धि भएसँगै सो मात्रामा दुध बिक्री हुन थालेको हो । जिल्लाका पूर्वी क्षेत्रमा रहेका व्यापारिक केन्द्रहरु फिक्कल, पशुपतिनगर, कन्याम, हर्कटेलगायत बजारमा मात्रै दैनिक ३० हजारदेखि ५० हजार लिटरसम्म दूध बिक्री हुने गरेको छ । यहाँ रहेका डेरी तथा चिज उद्योगले सो दूध खपत गर्ने गरेका छन् । यहाँका बजारमा दूधबाट उत्पादित ललीपप, छुर्पी, बम्बैसन र पनिरको माग बढेको छ । दुग्धजन्य उत्पादनको माग बढ्दै गएपछि किसान पशुपालनतर्फ आकर्षित हुन थालेका छन् । जिल्ला बाहिरबाट आउने पर्यटकले कोसेलीका रुपमा यहाँ उत्पादित दुग्धजन्य उत्पादन लैजाने गरेका छन् । छुर्पी र घ्यू उत्पादन गर्ने ३०० को हाराहारीमा रहेका डेरी उद्योगले दैनिक २५ हजार लिटर दूध खपत गर्ने गरेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । यस वर्ष जिल्लामा रु २० करोड ७९ लाख बराबरको छुर्पीको कारोबार भएको छ भने रु ५१ करोड ४० लाख बराबरको घ्यू बिक्री भएको छ । सहकारीमार्फत दुग्ध संस्थानमा भन्दा निजी डेरीले महँगो मूल्यमा दूध खरिद गर्न थालेपछि किसान डेरीतर्फ आकर्षित भएका हुन् । निजी उद्योगले प्रतिलिटर रु ६० देखि रु १०० सम्ममा दूध खरिद गरे पनि दुग्ध संस्थानले रु ३० देखि रु ६० सम्म मात्र दिने गरेको छ ।-रासस
कालिका माइक्रोक्रेडिट बैंकको २१.२१ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी १० करोड नाघ्यो
काठमाडौं । कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकको २१.२१ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । बैंकको हालै सम्पन्न आठौं वार्षिक साधारणसभाले सेयरधनीलाई सो मात्राको लाभांश दिने सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको हो । बैंकले सेयरधनीलाई हालको चुक्ता पुँजीमा सो मात्राको बोनस सेयर दिने भएको छ । हाल बैंकको चुक्ता पुँजी ८ करोड २५ लाख रुपैयाँ रहेको छ । उक्त पुँजीमा २१.२१२१ प्रतिशत अर्थात १ करोड ७५ लाख रुपैंया बोनस पश्चात बैंकको पुँजी १० करोड रुपैयाँ पुगेको बैंकका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहोराले बताएका छन् । साथै, सभाले बोनस सेयरको कर बापतको ९ लाख २१ हजार ५३ रुपैयाँ नगद लाभांश वितरणको लागि स्वीकृती दिएको छ । सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिको प्रतिनिधित्वको लागि निर्वाचनबाट सञ्चालकहरुमा विश्वराज नेपाल र करुणा पोखरेल निर्वाचित भएका छन् । बैंकले बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ अनुसार संस्थाको नाम कालिका लघुवित्त वित्तिय संस्था लिमिटेड रहने गरि संशोधन गरेको छ । बोनस सेयर पश्चात जारी पुँजी तथा चुक्ता पुँजीमा बृद्धि भएर संस्थाको कार्य क्षेत्र विस्तार गरि राष्ट्रिय स्तरको लघुवित्त वित्तिय संस्था बनाउनको लागि प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ ।
ग्लोबल आइएमई बैंकको थप ३ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा
काठमाडौं । ग्लोबल आइएमई बैंकले सिराहा र धनुषा जिल्लाको विभिन्न स्थानमा थप ३ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले सिराहाको महानौरमा ७५ औँ, धनुषाको रतौली बजारमा ७६औँ र सोही जिल्लाकै फुलगामामा ७७औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको हो । महानौरमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानिय सिताराम महतो, धनुषाको रतौली बजारमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानिय सुरेन्द्रकुमार मण्डल र उक्त जिल्लाकै फुलगामामा खोलिएका शाखारहित बैंकिङ्ग सेवाको लागि दिपेन्द्रप्रसाद शाहलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएकाे छ । साथै, धनुषाको फुलगामामा खोलिएको शाखारहित बैंकिङ्ग सेवा उद्घाटन समारोहमा त्यस क्षेत्रका बासिन्दामा वित्तीय साक्षरता जगाउने उद्धेश्यले बैंकले “वित्तीय साक्षरता कार्यक्रम” पनि आयोजना गरेको थियो । उक्त वित्तीय साक्षरता कार्यक्रममा ग्लोबल आइएमई बैंकका “तालिम तथा बैंक विज्ञ” पुर्णमान नापितले उक्त क्षेत्रमा बसोबास गर्ने विद्यार्थी, व्यापारी, सरकारी तथा गैह्र सरकारी कर्मचारी, आमा समूह तथा अन्य स्थानीय बासीहरुलाई बैंक तथा वित्तिय संस्थाको आवश्यकता र औचित्यका बारेमा बारेमा जानकारी गराएका थिए । उक्त कार्यक्रममा १०० जना भन्दा बढीको उपस्थिति थियो ।
१४ अर्ब वैदेशिक लगानी प्रतिवद्धता, ५७ प्रतिशत हिस्सा चीनको मात्रै
काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा १४ अर्ब १५ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता आएको छ । सात महिनामा लगानी प्रतिवद्धता जनाउने मुलुकहरुमध्ये चीन अग्रस्थानमा देखिएको छ । चीनबाट मात्रै ५७ प्रतिशत लगानी प्रतिवद्धता आएको देखिन्छ । उद्योग विभागको तथ्यांक अनुसार सो अवधिमा चिनियाँ लगानीकर्ताहरुले ८ अर्ब रुपैयाँको लगानी प्रतिवद्धता व्यक्त गरेका छन् । चीनले ६० वटा आयोजना सञ्चालन गर्नको लागि उक्त रकम खर्चिन लागेको हो । त्यसपछिको ठूलो लगानी प्रतिवद्धता भारतको रहेको छ । चालु आर्थिक वर्ष ०७४/७५ को गएको सात महिनाको अवधिमा भारतले ३ अर्ब ८० करोड रुपैयाँ बराबरको २९ वटा परियोजना सञ्चालन गर्ने भएको छ । गएको सात महिनाको अवधिमा स्वदेशी र विदेशी लगानीबाट १७६ वटा आयोजना सञ्चालनको लागि १६ अर्ब ८४ करोड रुपैयाँ लागानी गर्ने प्रतिवद्धता जनाएको उद्योग विभागको भनाइ छ । जसमा २ अर्ब ६९ करोड रुपैयाँ मात्रै स्वदेशी लगानी रहेको छ । सञ्चालन हुने उक्त आयोजनाको माध्यमबाट ६ हजार ९७२ जनाले मुलुकमा प्रत्यक्ष रोजगारी प्राप्त गर्ने विभागको तथ्याङ्कमा उल्लेख छ । विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले विगतका वर्षहरुमा भारतको लगानी बढी रहेतापनि हाल आएर चीनको लगानी बढीरहेको बताए । दुवै देशले नेपालमा विगतकाभन्दा ठूला आयोजनाहरु सञ्चानल गर्ने प्रतिवद्धता जनाइरहेको उनको भनाइ छ । विभागका निर्देशक खगेन्द्रबहादुर बस्नेतले पनि पछिल्लो समय मुलुकमा स्थिर सरकारको बन्ने भएसँगै नेपालका छिमेकी मुलुक भारत र चीनले ठूला–ठूला आयोजना ल्याएको जानकारी दिए । ‘गएका वर्षको सोही अवधिमाभन्दा वैदेशिक लगानीको प्रतिवद्धता बढेको छ,’ उनले भने, ‘अहिले उर्जा, कृषि, सूचना प्रशारण संचार प्रविधि, उत्पादन मुलक, खनिजको क्षेत्रमा लागानी बढेको छ ।’ यद्यपि सात महिनाको अबधिमा सेवा तथा पर्यटन क्षेत्रको लगानी भने केही मात्रामा खस्केको उनको भनाइ छ । विभागको अनुसार हालसम्म मुलुकमा ४ हजार ४४ वटा आयोजनाको लागि २ खर्ब २६ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । ७०८ वटा आयोजनमार्फत भारतले ८६ अर्ब ६२ करोड रुपैयाँ लगानी गर्नेे प्रतिबद्धता जनाएको छ भने चीनले १ हजार २२१ वटा आयोजनामार्फत ४२ अर्ब ९५ करोड रुपैयाँको प्रतिबद्धता गरेको छ ।