विकासन्युज

७ प्रतिशत आर्थिक वृद्धिदर कायम राख्न ३० हजार मेगावाट विद्युत् आवश्यक

काठमाडौं । नेपालको आर्थिक वृद्धिदर ७ दशमलव २ प्रतिशत कायम राख्ने हो भने सन् २०४० सम्म ३० हजार मेगावाट विद्युत् आवश्यक पर्ने देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले मुलुकको आर्थिक वृद्धिदरलाई आधार मानेर तयार पारेको एक रणनीतिक कार्ययोजनामा अबको २२ वर्षपछि विद्युत् उत्पादन क्षमता २९ हजार ४२७ हजार मेगावाट हुनुपर्ने उल्लेख गरिएको छ । सामान्य रुपमा ४ दशमलव ५ प्रतिशतको दरले मात्रै आर्थिक वृद्धि भएको अवस्थामा भने सन् २०४० मा मात्रै १९ हजार १५१ मेगावाट विद्युत् आवश्यक पर्ने प्राधिकरणको प्रक्षेपण छ । सरकारले चालू आर्थिक वर्षको वृद्धिदर ७ दशमलव २ प्रतिशत हुने प्रक्षेपण गरेको सन्दर्भमा सोही दरलाई नै आधार बनाएर विद्युत्को माग तथा आपूर्तिको समेत प्रक्षेपण गरिएको हो । प्राधिकरणका अनुसार सन् २०२० अर्थात् आगामी दुई वर्षभित्र ७।२ प्रतिशतको दरमा आर्थिक वृद्धि भए तीन हजार ६११ मेगावाट विद्युत् आवश्यक पर्ने देखिन्छ । प्राधिकरणले ९ दशमलव २ दरले आर्थिक वृद्धि हुने अवस्थामा भने सन् २०४० मा ४२ हजार २२८ मेगावाट विद्युत् आवश्यक पर्नेछ । नीतिगत तथा कानूनी सुधार गरिए सो अवधिमा ५१ हजार ३३० मेगावाट विद्युत् उत्पादन गर्न सकिने प्राधिकरणको भनाइ छ । आव २०७३/७४ मा मुलुकको आर्थिक वृद्धि ६ दशमलव ९ प्रतिशत भएको र चालू आवमा ७ दशमलव २ प्रतिशत हुने प्रक्षेपण गरिएको सन्दर्भमा प्राधिकरणले पनि सोही आधारमा विद्युत्को क्षमताका बारेमा प्रक्षेपण गरेको हो । नेपालको प्रतिव्यक्ति विद्युत् खपत दर दक्षिण एशियामै कम रहेको सन्दर्भमा विद्युत् खपत बढाउन पनि नीतिगत सुधार, औद्योगिक विकासमा जोड दिनुपर्ने जानकारको भनाइ छ । मुलुकभित्रै उल्लेख्य मात्रामा विद्युत् आपूर्ति हुने हो भने तत्कालै पाँच हजार मेगावाट बराबर खपत गर्न सकिनेसमेत प्राधिकरणको बुझाइ छ । विद्युतीय सामग्रीको अत्यधिक प्रयोग तथा पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्ने हो भने मात्रै पनि तत्काल पाँच हजार मेगावाट विद्युत् खपत हुनसक्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । आर्थिक वृद्धिको महत्वपूर्ण आधारका रुपमा रहेको जलविद्युत्को विकासलाई प्रमुख प्राथमिकतामा पार्न सकिए आर्थिक वृद्धिदर बढ्ने भन्दै उद्योगी तथा व्यवसायीले पनि सरकारलाई आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा गत वर्षदेखि विद्युत् कटौतीको अन्त्यपछि औद्योगिक क्षेत्रमा सुधार आएको र यसलाई थप सहजीकरण गर्नुपर्ने बताएको थियो । औद्योगिक क्षेत्रमा एक युनिट विद्युत् बराबर दश गुणा प्रतिफल प्राप्त हुने महासंघको भनाइ छ । आव २०७३/७४ को तुलनामा औद्योगिक क्षमतामा ९ दशमलव १ प्रतिशतले वृद्धि हुनुको पछाडि पनि विद्युत्को सहज उपलब्धता नै रहेको महासंघका अध्यक्ष भवानी राणाको भनाइ छ । मानव विकास सूचकाँकमा पनि विद्युत्को भूमिका महत्वपूर्ण हुने गरेको छ । प्रतिव्यक्ति विद्युत् खपत दरका आधारमा पनि पछिल्लो दिनमा मानव विकासको सूचकाँक निर्धारण गर्ने गरिएको छ । सार्क क्षेत्रमा औसतमा ७७१ किलोवाट घण्टा प्रतिव्यक्ति विद्युत् खपत दर रहेको छ । अफगानिस्तानको प्रतिव्यक्ति विद्युत् खपत दर १०१ किलोवाट घण्टा रहेको छ । नेपालको भने १६० किलोवाट घण्टा मात्रै रहेको छ । चीनको प्रतिव्यक्ति विद्युत् खपत दर तीन हजार ४९३ किलोवाट घण्टा छ भने भारतको ९१७ किलोवाट, भुटानको एक हजार ६१९, श्रीलंकाको ४९० र माल्दिभ्सको ७५२ किलोवाट घण्टा रहेको छ । दक्षिण कोरियाको १२ हजार ९०० र नर्वेको २३ हजार १७४ किलोवाट घण्टा रहेको छ । आर्थिक वृद्धिदर र मानव विकास सूचकाँकमा समेत ऊर्जाको खपतले योगदान गर्ने भएकाले त्यसलाई विशेष ध्यान दिनुपर्ने राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा अरविन्दकुमार मिश्रको भनाइ छ । अतः आर्थिक समृद्धिको मानक ऊर्जा उत्पादनलाई विशेष प्राथमिकतामा राख्नुपर्ने देखिन्छ । रासस

आकर्षक बोनस सेयरले राष्ट्रिय बीमा कम्पनीमा लोभिए लगानीकर्ता, कारोबार र मूल्य दुबैमा वृद्धि

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आकर्षक बोनस सेयर घोषणा गरेपछि लगानीकर्ता लोभिएका छन् । गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १२० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको दिन यस कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आइतबार संस्थापक र साधारण सेयर गरी करोड रुपैयाँको सेयर किनबेच भएको छ । आइतबार मात्रै यस कम्पनीको ५ करोड ४७ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर बिक्री भएको छ भने ३ करोड ४३ लाख रुपैयाँ बराबरको साधारण सेयर बिक्री भएका छन् । बजारमा कम्पनीको सेयर कारोबारका साथै सेयर मूल्यमा पनि वृद्धि भएको छ । सो दिन यस कम्पनीको प्रमोटर सेयर मूल्य प्रतिकित्ता १२ हजार ९३० रुपैयाँ रहेको छ । त्यस्तै, साधारण सेयरको मूल्य प्रतिकित्ता १३ हजार ४०० रुपैयाँ रहेको छ । कम्पनीले राष्ट्रिय बीमा संस्थान निर्जीवन बीमा विभागको आर्थिक वर्ष ०६७/६८, ०६८/६९ को वित्तीय विवरण स्वीकृत गरी आव ०६८/६९ को वित्तीय विवरणमा हाल कायम रहेको चुक्ता पुँजीमा सो मात्राको लाभांश दिन लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको छ । १२० प्रतिशत बोनस पश्चात कम्पनीको पुँजी ५८ करोड ६५ लाख रुपैयाँ पुग्ने छ । सञ्चालक समितिको लाभांश दिने प्रस्तावलाई बीमा समितिले पारित गरी कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । समग्रमा आइतबारको नेप्से परिसूचक १२ दशमलब २५ अंकले घटेर १३७४ अंकमा झरेको छ । सो दिन १४६ कम्पनीको २९ करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा होटल समूहको परिसूचक बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूह ४५ अंकले राताम्मे भएका छन् ।

मध्य मर्स्याङदीको मर्मत तीब्र गतिमा, फागुन १७ गतेसम्म सक्न निर्देशन

काठमाडौं । लमजुङस्थित ७० मेगावाट जडित क्षमताको मध्य मर्स्याङदी जलविद्युत केन्द्रको बाँधको देब्रेतिर र विद्युत गृहको मर्मत तीब्र रुपमा भइरहेको छ । बाँधको देब्रेतर्फको क्षेत्रमा भूक्षयलाई रोक्न राखिएको संरचनाको मर्मत शुक्रबारबाट सुरु भएको हो । पानीले हिर्काएर क्षति पुगेको ठाउँमा थप क्षति हुनबाट रोक्न ‘प्रोटेक्सन वाल’ लगाउने काम धमाधम भइरहेको छ । यो काम गर्नका लागि दैनिक चार सय मजदुर परिचालित रहेको केन्द्रले जनाएको छ । काम २४ सै घण्टा भइरहेको छ । मर्मत भइरहेकाले १० फागुन विहीबार राती ११ बजेबाट केन्द्रबाट विद्युत उत्पादन बन्द छ । केन्द्रले मर्मतको काम १७ फागुन विहीबार राती ११ बजेसम्ममा सक्ने गरी भार प्रेषण केन्द्र (एलडिसी)बाट सट डाउन पाएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उपकार्यकारी निर्देशक हरराज न्यौपानले शनिबार केन्द्रको स्थलगत निरीक्षण गरी तोकिएकै समयमा मर्मतको काम सक्न निर्देशन दिएका छन् । कार्यकारी निर्देशक घिसिङले विद्युतको माग बढी हुने साँझ र विहान (पिकआवर)मा ७० मेगावाट विद्युत उत्पादन हुने मध्यमस्र्याङदी बन्द हुँदासमेत आम उपभोक्तालाई लोडसेडिङ गर्नु नपरेको बताए । ‘वैकल्पिक व्यवस्थाकोरुपमा कुलेखानी चलाएर विद्युत आपूर्ति गरिरहेका छौं, मर्मतको काममा ढिलाई गर्नु भयो भने कुलेखानीको जलाशयको पानी घट्ने हुँदा विद्युत व्यवस्थापनका लागि चाप पर्छ’, उनले केन्द्र व्यवस्थापन र ठेकेदारलाई निर्देशन दिंदै भने, ‘एक दिन अघि सकिदिनु भयो भने धेरै काम गर्छ यसको ठूलो भूमिका रहन्छ, त्यसैले काम छिट्टो गर्नुहोस्, तोकिएकै समयमा काम सक्नुहोस् ।’ उनले मध्यमस्र्याङदी बन्द हुँदा प्रणालीमा कुनै समस्या नआए र विद्युत आपूर्ति अवरुद्ध नभएको जानकारी दिएका छन् । विद्युत गृहमा रहेको एउटा युनिटको बृहत मर्मत पनि ६ फागुनबाट भइरहेको छ । विद्युत गृहमा ३५/३५ मेगावाटका दुई युनिट छन् । केन्द्र प्रमुख पशुपतिराज गौतमकाअनुसार, २३ फागुनभित्रमा दुवै युनिट सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । अहिले सबै काम तय गरिएको तालिकाअनुसार नै भइरहेकाले तोकिएकै समयमा काम सकिने बताए । युनिटको मर्मतका लागि दैनिक ५० कर्मचारी खटिएका छन् । केन्द्रको जलाशयमा थुप्रिएको बालुवा निकाल्ने काम पनि धमाधम भइरहेको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र बेसीसहर नगरपालिकासँग समन्वय गरी केन्द्रले बोलकबोलमार्फत बालुवा निकाल्ने ठेक्का दिएको छ । गौतमले बाालुवाको बिक्रीबाट करिब १८ लाख रुपैयाँ आम्दानी हुने जानकारी दिएका छन् । केही रकम जिल्ला समन्वय समिति र नगरपालिकालेसमेत पाउने छन् । यसबाट केन्द्रलाई एकातर्फ आम्दानी पनि भएको छ भने अर्कोतर्फ जलाशयको भण्डार क्षमतामा समेत बृद्धि हुने देखिएको छ । गौतमले भने, ‘बालुवा निकालिएपछि जलाशयको भण्डार क्षमता बढ्छ, जसले गर्दा विद्युत उत्पादनमा बृद्धि हुन्छ ।’ बाँधको संरचनालाई असर नपर्ने र सुरक्षा व्यवस्था आफैं गर्ने गरी केन्द्रले बढी रकम कबोल गर्ने कम्पनीलाई बालुवा निकाल्ने जिम्मा दिएको हो ।

सिरियामा युद्धविरामका लागि प्रस्ताव, अनुमोदन युद्धविराम हुनेमा अमेरिकाको आशङ्का

सयुक्त राष्ट्रसंघ । गएका केही दिनदेखि चरम रुपमा हत्या हिंसा भइरहेको सिरियामा कम्तीमा ३० दिनसम्म भए पनि युद्धविराम हुने भएको छ । उक्त युद्धविरामसम्बन्धी प्रस्ताव संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले अनुमोदन गरेको छ । उक्त परिषदले सिरिया देशभर नै ३० दिने युद्धविरामका लागि अपील गर्दै शनिबार एक प्रस्ताव पारित गरेको जनाइएको छ । सिरियाली राजधानी दमास्कसको बाहिरी क्षेत्रमा पर्ने एक विद्रोही नियन्त्रित क्षेत्र पूर्वी गुटामा यसै महिनाको सुरुवातदेखि ठूलो हिंसा मच्चिएको छ । त्यसमा परी सयौँ नागरिक मारिएका छन् । उक्त क्षेत्रमा गएको हप्तादिनसम्म व्यापक मात्रामा बमबारी भइरहेको छ । सो बमबारीमा परी सयौँ मानिस मारिएपछि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदकै पहलमा यो निर्णय लिइएको समाचारमा जनाइएको छ । खासगरी उक्त क्षेत्रमा मानवीय सहायताका लागि आवश्यक सामाग्री र स्वास्थ्य उपचारका लागि उद्धारका कदमहरू पनि चलाउन सकिएको छैन । त्यसैले उक्त युद्धविरामको समयावधिमा यहाँ चेपुवामा परेका र हिंसाको चपेटमा परेका कैयौँ नागरिकलाई सहायता सामाग्री वितरणको कार्यक्रम चलाउन मद्दत गर्ने अपेक्षा गरिएको छ । सिरियामा जारी गर्न लागिएको यो पछिल्लो युद्धविरामको प्रस्तावले सबैभन्दा ठूलो जिहादी समूह र उनीहरूका सहयोगीहरूलाई भने सम्बोधन नगरेको गुनासो बढेको छ । यसले गर्दा त्यसको वास्तविक परिणाम कस्तो हुनेछ भन्ने प्रश्न तेर्सिएको पनि कतिपयले बताएका छन् । तर उक्त समूहको प्रतिक्रिया भने अहिलेसम्म आएको छैन ।तर उक्त प्रस्ताव पारित भएपछि पनि राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले सिरियाको सरकारी सैन्यबल सो युद्धविरामको पक्षमा अभिनेमा शङ्का रहेको बताउँछन् । उक्त प्रस्तावको पक्षमा रुस नरहेको अमेरिकाको आरोप थियो । तर पनि प्रस्तावको भने पक्षमा नै रुसले मतदान गरेका छन् । तर अमेरिकाले भने सो मतदानलाई ढिलो गराउनमा रुसले नै भूमिका खेलेको भन्दै रूसको आलोचना गरेको बताइएको छ । त्यसैगरी रुसी राजदूतले पनि सुरक्षा परिषदको प्रस्तावमा हुन लागेको भनिएको सो युद्धविराम कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेको प्राप्त अर्को एक समाचारमा जनाइएको छ । उता प्राप्त एक पछिल्लो समाचारअनुसार अभियानकर्ताहरूले सुरक्षा परिषद्ले मतदान गरेपछि पनि गुटा क्षेत्रमा हवाई आक्रमण जारी रहेको जानकारी दिएका छन् । सिरियाली सरकारी सैन्यबलको नेतृत्वमा जारी सो हवाई आक्रमण शनिबार साँझ नै पनि भएको थियो । यसमा परी कैयौँ व्यक्तिको ज्यान गएको अनुमान गरिएको छ । पछिल्लो समयमा सिरियाली सरकारी सुरक्षाबलले यस देशको राजधानी दमासकसको पूर्वी भू–भागमा पर्ने गुटामा निकै आक्रामक रुपमा नै आक्रमण गरेको छ । सो आक्रमणमा परी पछिल्लो दुई हप्तामा मात्र पनि करिब ५०० जना सर्वसाधारण मारिएका छन् । सिरियाली द्वन्द्वको अनुगमन गरिरहेका मानवअधिकारवादीले बताएअनुसार सो क्षेत्रमा यसै महिनाको सुरुदेखि नै सिरियाली सेनाको अगुवाइमा रहेका सुरक्षाकर्मीले हवाई र स्थलगत कारबाही गरेका छन् । मारिनेमा १०० जनाभन्दा बढी बालबालिका पनि परेका छन् । नागरिक हत्याको अवस्था अत्यन्तै क्रुर रहेको र चेपुवामा परेका नागरिकको अवस्था निकै नै नाजुक भएकोले सिरियामा केही समयका लागि मात्र भएपनि युद्धविरामको प्रयास संयुक्त राष्ट्रसंघले गरेको हो । सुरुमा यस प्रस्तावमा रुसको विरोध भएपछि लम्बिएको थियो । मानवअधिकारबादीले मानवीय सहायता पुर्याउनका लागि यहाँ युद्धविराम गर्नुपर्ने प्रस्ताव गरेका बताइएको थियो । सोही बमोजिम संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा उक्त प्रस्तावमा छलफल भएको थियो । सिरियामा सन् २०११ को मार्चबाट यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको मागगर्दै जनआन्दोलन सुरु भएको थियो । त्यो आन्दोलनले केही वर्षयता आएर भने हिंसाको रुप लिएको छ । जारी सो द्वन्द्वमा परी हालसम्म तीन लाख ४० हजारभन्दा बढी व्यक्ति मारिएका छन् । त्यस्तै लाखौँ नागरिक घाइते भएका छन् । तर शान्तिपूर्ण समाधानका प्रयास भने सफल हुन सकेको छैन । रासस/एएफपी

एनसीसी बैंकको संस्थापक सेयर सस्तोमा लिन संचय कोषको मोलमोलार्इ, प्रतिकित्ता १५४ प्रस्ताव

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको ७० लाख कित्ता संस्थापक (प्रमोटर) सेयर खरिदका लागि कर्मचारी संचय कोषले मोलमोलाइ (बार्गिनिङ) गर्न थालेको छ । संचय कोषले एनसीसीको बुक भ्यालु प्रतिकित्ता १५४ रुपैयाँमा सेयर किन्ने प्रस्ताव गरेको छ । यो बुकभ्यालु गत असारसम्मको हो । चालु आर्थिक वर्षको ६ महिनामा बैंकको बुकभ्यालु बढेर प्रतिकित्ता १६२ रुपैयाँ पुगेको छ । बैंकले नाफा ४ सय प्रतिशत बढाएपछि बुकभ्यालु बढेको हो । बैंकबाट लिएको ऋण तिर्नका लागि एनबी समूहले संस्थापक सेयर बिक्री गर्न लागेको हो । बिक्री प्रवन्धक सीबीआईएल क्यापिटल लिमिटेडले प्रतिकित्ता २१० रुपैयाँ न्युनतम मूल्य राखेर ७० लाख कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको थियो । प्रतिकित्ता २१० रुपैयाँमा ७० लाख कित्ता सेयरको मूल्य १ अर्ब ४७ करोड रुपैयाँ हुन आउछ । संचय कोषले प्रस्ताव गरेको दरमा एनबी समूहको कर्जा तिर्नलाई रकम पुग्दैन् । एनबी समूहले हरिसिद्धि इँटा तथा टायल कारखाना लिमिटेडको नाममा लिएको ऋणको सावाँ र ब्याज गरी ९० करोड रुपैयाँ र अन्य बैंकको ६० करोड रुपैयाँ कर्जा रहेको छ । नागरिक लगानी कोषले बैंकको संस्थापक सेयर खरिदका लागि कुरा गरेकोमा संचय कोषले अझ घट्ने भन्दै उसलाई किन्नलाई रोकेको छ । संचय कोषले अहिले बार्गिनिङ गरेर बुकभ्यालुमै एनसीसीको संस्थापक सेयर हत्याउन लागेको हो । यसअघि संचय कोषले १५८ रुपैयाँ बुकभ्यालु भएको बैंक अफ काठमाण्डु लिमिटेडको ६२ लाख कित्ता संस्थापक सेयर प्रतिकित्ता २५१ रुपैयाँमा खरिद गरेको थियो । तर कोषले अहिले बुकभ्यालुमा सेयर दिन माग गरिरहेको छ । आवेदन नपरेपछि बिक्री प्रवन्धक सीबीआईएल क्यापिटल लिमिटेडले फागुन ३० गतेसम्म संस्थापक सेयर खरिदका लागि म्याद थप गरेको छ ।एनसीसीको ५० प्रतिशत हकप्रद सेयर आउन बाँकी छ । गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । हालसम्म व्यक्ति तथा संस्था कसैको पनि आवेदन नपरेको सीबीआईएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समीरप्रसाद दाहाल बताउछन् । संचय कोष, लगानी कोष र एक बैंककरले खरिदका लागि चासो देखाएको उनले बताए । यसअघि सीबीआईएलले संस्थापक सेयर खरिदका लागि बोलपत्र पेश गर्ने अन्तिम दिन फागुन ३ लाई तोकेको थियो । निर्धारित समयमा कसैको पनि खरिदका लागि आवेदन नपरेपछि म्याद थप गरिएको दाहालको भनाई छ । एनबी समूहले सेयर बिक्री गरेर कर्जा तिर्ने भएपछि चालु आवमा एनसीसीको नाफा बढ्नुका साथै खराब कर्जा पनि घट्ने छ । सबैभन्दा ठुलो कर्जा असुली भएपछि बैंकको नाफा बढ्ने देखिएको हो । यस्तै एनसीसीको नाफा ४०० प्रतिशतले बढेको छ । २०७३ पुस मसान्तमा जम्मा ७ करोड रूपैयाँ खुदनाफा गरेको बैंकले २०७४ पुस मसान्तमा २८ करोडले वृद्धि गरेर ३५ करोड रूपैयाँ पुर्याएको हो । बैंकको नाफामा ३४ करोड रूपैयाँको भने राइट ब्याकको हिस्सा रहेको छ । बैंकले ६ महिनामा ५८ अर्ब निक्षेप संकलन गरेर ५१ अर्ब रूपैयाँ कर्जा लगानी गरेको छ । ४ अर्ब ६७ करोड चुक्ता पुँजी रहेको एनसीसी बैंकको जगेडा कोषमा २ अर्ब ९१ करोड रुपैंयाँ छ । बैंकले ३ अर्ब ९ करोड रुपैंयाँ ब्याज आम्दानी गर्दा २ अर्ब ५१ करोड ब्याज खर्च गरेको देखिन्छ । एनसीसीले ४.८४ प्रतिशत रहेको खराब कर्जालाई ४.०४ प्रतिशतमा झारेको छ ।

कैलाश विकास बैंकको सिल्भर जुब्ली बचत योजना अन्तर्गत ३ महिने मुद्दतीमा १२% ब्याज

काठमाडौं । कैलाश विकास बैंकले आज(आइतबार)देखि लागु हुने गरी ‘कैलाश सिल्भर जुब्ली बचत’ योजना सार्बजनिक गरेको छ । बैंकले सिल्भर जुब्ली बचत खातामा ८.५० प्रतिशत वार्षिक ब्याज र ३ महिने मुद्दती खातामा १२ प्रतिशत वार्षिक ब्याजको निक्षेप योजना ल्याएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठका अनुसार बैंकले २५औँ वर्षमा प्रवेश गरेको रजतवर्षको अवसरमा यो योजना प्रस्तुत गरेको हाे । हाल यस विकास बैंकको चुक्ता पूँजी २ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । पुस मसान्तसम्ममा बैंकले १९ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा कम्पनीले २६ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले जनाएको छ । ४३ वटा शाखाबाट आप्नो वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले यही फाल्गुन मसान्तसम्ममा विराटनगरमा र यही आर्थिक वर्षमा विरगंज र दमकमा थप दुई शाखा संचालनमा ल्याउने योजना रहेको जानकारी गराएको छ ।

लक्ष्मी बैंकको शाखा सुनसरीको भोक्राहामा, चौकी निर्माणका लागि ५ लाखको सहयोग

काठमाडौं । लक्ष्मी बैंकले सुनसरी जिल्लाको भोक्राहामा नयाँ शाखाको शुभारम्भ गरेको छ । उक्त अवसरमा बैंकले सोही स्थानको प्रहरी चौकी निर्माणको लागि ५ लाख रुपैयाँको सहयोग प्रदान गरेको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेह खालिङ्गले भोक्राहा प्रहरी चौकी निर्माण उपभोक्ता समितिका अध्यक्ष महेन्द्रकुमार शाहलाई ५ लाख रुपैयाँको चेक प्रदान गरेका छन् । गाउँपालिका प्रमुख महेन्द्रकुमार यादवले आगामी ३ महिना भित्र प्रहरी चौकी निर्माण सम्पन्न गरिसक्ने योजना रहेको बताएका छन् ।

राष्ट्रिय बीमा कम्पनीले १२० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले सेयरधनीलाई १२० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि ५.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय फागुन १० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । कम्पनीले राष्ट्रिय बीमा संस्थान निर्जीवन बीमा विभागको आर्थिक वर्ष ०६७/६८, ०६८/६९ को वित्तीय विवरण स्वीकृत गरी आव ०६८/६९ को वित्तीय विवरणमा हाल कायम रहेको चुक्ता पुँजीमा सो मात्राको लाभांश दिन लागेको हो । हालको कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको छ । १२० प्रतिशत बोनस पश्चात कम्पनीको पुँजी ५८ करोड ६५ लाख रुपैयाँ पुग्ने छ । सञ्चालक समितिको उक्त प्रस्तावलाई बीमा समितिले पारित गरी कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।