विकासन्युज

मुड फ्रेस गर्ने काठमाडौं फन पार्क, अशक्त र बालबालिकालाई नि:शुल्क प्रवेश

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा अवस्थित काठमाडौं फन पार्क मुड फ्रेस गर्ने पार्कको रुपमा विकसित हुदैँ गएको छ । काठमाडौंमा घुमफिर गर्ने धेरै ठाँउ छैन । दुरिको हिसाबले सबैतिरका काठमाडौं बासीलाई सेन्टर पर्ने यस पार्कमा सबै किसिमका उमेर समुहका मानिसहरुले मनोरञ्जन लिन सक्छन् । पार्क युवायुवतीहरुको सबैभन्दा धेरै रोजाईमा पर्ने गरेको छ । दुरीको हिसाबले यो पार्क नजिक रहेको छ, साथीहरुसँग ठुलो रोटे पिङ खेल्न रमाइलो लाग्छ, अहिलेसम्म १४ पटक यो पिङ खेलिसकेँ, राजधानीको पद्ममकन्या क्याम्पसमा स्नातकोत्तर दोस्रो सेमेस्टर अध्ययनरत मन्जु पौडेलले बताइन् । पार्कभित्र रहेको विभिन्न मनोरञ्जनात्मक खेलहरु र बाल मैत्री वातावरण पार्कको मुख्य आकर्षण हो । ‘पार्कमा दुई वटा फुटसल ग्राउण्ड र रेलले नयाँ आकर्षण थपेको फुटसल खेलाडी राम कुमार मगरले बताए । म प्राय फुटसल खेल्नका लागि फन पार्क आउने गर्छु, मैले यसभन्दा अघि रेल कहिल्यै चढेको थिइन त्यो सपना यो पार्कले परा गरेको छ’ खेलाडी मगरले भने । पार्कमा प्रवेश गर्नको लागि वयस्कलाई ६० विद्याार्थी र ५ देखी १० बर्षसम्मका बालबालिकाहरुलाई ३० रुपैंया रहेको छ । ५ बर्षभन्दा मुनिका बालबालिका, ७० बर्षभन्दा माथिका जेष्ठ नागरिक र सारिरीक रुपमा अशक्त व्यक्तिहरुका लागि भने प्रवेश नि:शुल्क रहेको छ । पार्कलाई अझ आकर्षक र आधुनिकिकरण गर्न थप निती तथा योजना बनिरहेको पार्कको व्यवस्थापक बोधराज कट्टेलले बताए । बिदाको दिन र चार्डपर्वको बेलामा १ हजार जनासम्म पार्कमा आउने गरेका छन्,सामान्य दिनमा १ सय जनासम्म मानिस आउने गरेको व्यवस्थापक कट्टेलले जानकारी दिए ।पार्कमा स्विमिङ पुल लगायत अन्य किसिमका मनोरञ्जनात्मक खेलकुद सामाग्रीको निमार्ण गर्न सकिएको खण्डमा अझै मानिसहरुले मनोरञ्जन लिन सक्ने देखिन्छ ।-प्रशिक्षार्थी

नेपाल इन्भेष्टमेण्ट बैंक ३३औँ वर्षमा प्रवेश

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले स्थापनाकालको ३२औं वर्ष पूरा गरी ३३औँ वर्षमा प्रवेश गरेको छ । आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको हाल ६३ वटा शाखा (नारायणघाट र पर्सा शाखा स्थानान्तरनको प्रक्रियासहित) तथा ९८ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको बैंकको ६३ वटा शाखा रहित बैंकिङ सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ । आ.व. २०७३–७४ मा बैंकको सञ्चालन मुनाफा ५ अर्ब २४ करोड रुपैयाँ र खुद नाफा ३ अर्ब ११ करोड रुपैयाँ रहेकोे थियो । साथै, गत आर्थिक वर्षको अन्त्यमा बैंकको शेयरधनी कोष १८ अर्ब ७० करोड रुपैयाँ भन्दा बढी रहेको बैंकले जनाएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले १ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ सय १४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधि सम्ममा बैंकले १ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा गरेको छ । दोस्रो त्रैमाससम्ममा बैंकको पूँजी पर्याप्तता अनुपात १३.०७ प्रतिशत छ भने बैंकले निस्क्रिय कर्जालाई १.१२ प्रतिशतमा सिमित रहेको छ । साथै बैंकले यसै आर्थिक वर्षमा देशका विभिन्न सुगम तथा दुर्गम क्षेत्रमा थप शाखा खोली ग्राहकलाई अझ विस्तार गर्ने योजना बनाएको छ । बैंकले निरन्तर रूपमा अन्तराष्ट्रिय मान्यता प्राप्त क्रेडिट रेटिङ एजेन्सी आइ.सि.आर.ए. नेपाल लिमिटेडबाट “क” वर्गको मान्यता प्राप्त गरिरहेको छ । साथै, बैंकले बैंक अफ दि इयर नामक उपाधि पाँच पटकसम्म प्राप्त गरेको छ ।

हिमालयन ड्राइभ त्रिदेशीय अन्तर्राष्ट्रिय मोटर र्याली जारी, ४२ कार सहभागी

काठमाडौं । हिमालयन ड्राइभ ६ त्रिदेशीय मोटर र्याली आइतबार भारतका लागि प्रस्थान गरेको भएकाे छ । त्रिदेशीय खेल पर्यटनको विकास गर्ने उद्देश्यले भारतको सिलगुडीबाट छौठौँ संस्करणको उक्त मोटर र्याली शुक्रबारदेखि सुरु भएको हो । भारतको सिलिगुडी हुदैँ शनिबार नेपालको चितवन सौराहा र्याली आइपुगेको आयोजकले जनाएको छ । र्याली भारतको जस्ट स्पोर्ट्ज म्यानेजमेन्ट प्रालि र नेपाल अटोमोबाइल्स स्पोर्ट्स एसोसिएसन (नासा) अन्तर्गतको नेपाल मोटर स्पोर्ट्स क्लबको आयोजनामा भएको हो । आयोजकको अनुसार र्यालीमा नेपाल, भारत र भुटानका प्रतिस्पर्धीहरु सहभागी छन् । र्याली भुटानको फुन्सोलिङ हुदै दार्जिलिङ पुगेर सकिने नेपालकोतर्फका कार्यक्रम संयोजक प्रकाश कपुरीले जानकारी दिएका छन् । १६ सय ५० किलोमिटरको दुरी पार गनुपर्ने उक्त र्यालीमा नेपालको ४ टिमसहित भारत र भुटानका गरि ४२ वटा कार सहभागी रहेको आयोजकको भनाइ छ । र्यालीका प्रतिस्पर्धी मध्ये पहिलो, दोस्रो र तेस्रो विजयीलाई पुरस्कारको समेत व्यवस्था भएको आयोजकले जनाएको छ ।

केरुङ-काठमाडौं रेलमार्गः प्राबिधिक रुपले सम्भव, ३ खर्ब २४ अर्ब कहाँबाट ?

काठमाडौं । ‘केरुङ-काठमाडौं रेलमार्गको निर्माण प्राबिधिक रुपमा सम्भव देखिएको छ, आर्थिक रुपमा कसरी सम्भव गराउने भन्ने कुरा नेपाल सरकारको हातमा छ’, यो भनाई हो रेव विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायको । २०७४ गत कात्तिकको तेश्रो साता चिनियाँ रेलवे प्रशासनका उपमन्त्री चेङ चियन नेतृत्वको २३ सदस्यीय टोलीले केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेल मार्ग निर्माणबारे अध्यययन गरेको थियो । सोही टोलीले रेल वे निर्माण प्राबिधिक रुपमा सम्भव भएको र लगानीको श्रोतका लागि दुबै मुलुकका सरकारबीच ठोस सहकार्य आवश्यक रहेको निष्कर्षसहितको सुझाव दिएको थियो । रेल विभागले केरुङ–काठमाडौं रेलमार्ग अनुमानित ७२ किलोमिटर लामो हुने प्रक्षेपण गरेको छ । रेलमार्गको ९० प्रतिशत खण्ड सुरुङ र पुलमा हुनेछ । बाँकी १० प्रतिशत खण्ड मात्रै जमिनमा निर्माण हुनेछ । सुरुङ र पुलमा निर्माण गरिने भएकाले केरुङ–काठमाडौं रेलमार्गको लागत प्रतिकिलोमिटर ४ अर्ब ५० करोड पर्ने अनुमान गरिएको छ । ७२ किलोमिटर लामो रेलको कुल लागत ३२४ अर्ब हुनेछ । १० प्रतिशत जमिनमा रहने रेलमार्गको सोही खण्डमा करिब ५ वटा स्टेशन निर्माण हुनेछ । नेपाल र चीन सरकारबीच हुने सम्झौता लगत्तै सम्भाव्यता अध्ययन, डीपीआर र रेल मार्ग निर्माण एकै अघि बढाईने विभागका सिडिई उपाध्यायले भने । उनले कति प्रतिशत ऋण लिने र कति प्रतिशत अनुदान लिने तथा नेपाल सरकारको लगानी कति हुने भन्नेबारेमा ठोस सहमति आवश्यक रहने बताए । ‘रेल मार्ग निर्माणका लागि कति लगानी चीन सरकारको हुने ? कति ऋण र कति अनुदान हुने हो ? नेपालले कति लगानी गर्ने हो भन्नेबारे नेपाल सरकारले ठोस निर्णय गर्नुपर्छ’, उपाध्यायले भने । उनले भौतिक पुर्वाधार तथा यातायात मन्त्रीको नियुक्ती लगत्तै चीनसँग ठोस छलफल अघि बढ्ने तयारी भैरहेको बताए । ‘रेल विभागले सबै तयारी सम्पन्न गरिसकेको छ, मन्त्रीज्यु आउने वित्तिकै हामी चीनसँग ठोस छलफल गर्छाै’, उपाध्यायले भने । २०७४ साउन ३१ गते नेपाल भ्रमणमा आएका चिनियाँ राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङको उपस्थितीमा तत्कालिन अर्थसचिव शान्तराज सुवेदी र चीन सरकारका सचिव सु च्यानह्वाले केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्बन्धी हस्ताक्षर गरेका थिए । २०७२ साल चैत ७ गतेदेखि तत्कालिन प्रधानमन्त्री केपी ओलीले गरेको साताव्यापी चीन भ्रमणका क्रममा केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।

ईमर्जिङ्ग नेपालको बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल नियुक्त

काठमाडौं । ईमर्जिङ्ग नेपाल लिमिटेडले धितोपत्र निष्कासन तथा कम्पनीको बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटललाई नियुक्त गरेको छ । उक्त नियुक्त सम्बन्धी सम्झौता पत्रमा एनआईसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुङ्गेल तथा ईमर्जिङ्ग नेपालका प्रमुख कार्यकारी अधिकृत डा विनोद आत्रेयले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात एनआईसी एसिया क्यापिटलले ईमर्जिङ्ग नेपालको धितोपत्र निष्कशन तथा बिक्री प्रबन्धकको सम्पूर्ण कार्य गर्नेछ । ईमर्जिङ्ग नेपालले कर्मचारी समेत ५ लाख कित्ता साधारण शेयरहरु निष्काशन गर्दै छ । नेपाल सरकारको लगानी समेत रहेको ईमर्जिङ्ग नेपाल लिमिटेड सार्वजनिक- निजी सहकार्य अनुरुप स्थापना भएको कम्पनी हो । यस कम्पनीले विभिन्न क्षेत्रमा सेयर लगानी गरि देशका आधारभूत संरचना विकासमा कार्य गर्नेछ । एनआईसी एसिया क्यापिटलले हाल बजारमा कायम रहेको बैंक तथा बित्तिय संस्था, इन्स्योरेन्स र जलबिद्युत लगायत अन्य क्षेत्रहरुका कम्पनीहरुलाई सर्वसाधारणमा शेयर निष्काशन गर्न सहजीकरण गर्दै आइरहेको छ ।

ग्लोबल आइएमई बैंकको एकैदिन ६ वटा शाखा संचालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले आइतबार एकैदिन ६ स्थानमा शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । बैंकले गोरखाको गोरखाबजार, बाराको निजगढ, मोरङ्गको बिराटचोक, काठमाण्डौंको मनमैजु र हात्तिगौडा र डोटीको चवारा चौतारामा गरी ६ वटा नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको हो । उक्त नयाँ ६ शाखा सहित बैंकको शाखा कार्यालयहरुको संख्या १२० पुगेको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले १२० वटा शाखा, १२७ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ७२ शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।

जंक फुड र प्रोसेस्ड फुड बीचको भिन्नता धेरैले बुझेका छैनन्- होमनाथ न्यौपाने

एफ.एम.सी.जी. डिभिजन, बी.एल.सी. प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत होमनाथ न्यौपाने कम्पनी व्यवस्थापनको साथै फुड टेक्नोलोजीको जानकार हुनुहुन्छ । हाल वहाँ चौधरी ग्रुप अन्तर्गतको बी.एल.सी. प्राइभेट लिमिटेडको फुड एण्ड बेभरेज डिभिजनको कार्यकारी प्रमुख हुनुहुन्छ । धरानबाट फुड टेक्नोलोजी विषयमा स्नातक गर्नुभएका न्यौपानेले सन् २००८ मा एस म्यानेजमेन्ट इन्स्टिच्यूटबाट एमबीए गर्नुभएको छ । प्रस्तुत छ वहाँसँग औद्योगिक रुपमा प्रशोधित खाद्यान्नको बजार, गुणस्तर र समाजमा यसको बढ्दो उपभोग वारे गरिएको विकास बहस । होमनाथ न्यौपाने, प्रमुख कार्यकारी अधिकृत, एफ.एम.सी.जी. डिभिजन, बी.एल.सी. प्राइभेट लिमिटेड तपाईंको व्यावसायिक संलग्नता र अनुभव कस्तो छ ? एमबिए गर्नुभन्दा पहिले मैले २ वटा बहुराष्ट्रिय र एउटा राष्ट्रिय कम्पनीमा काम गरेँ । मैले काम गरेका कम्पनीहरुमध्ये एउटा चाहिँ इन्डियन कोलाब्रेसन अन्तर्गतको लर्ड शिव फुड एण्ड कन्फेक्सनरी थियो भने त्यो भन्दा अगाडी चौधरी ग्रुपको सी.जी.फुड्स प्रा.लि. थियो । त्यो भन्दा अगाडी काबरा ग्रुपमा करिब अढाई वर्ष काम गरेँ । यसरी एमबिए अगाडि करिब ६ वर्ष कामको अनुभव लिइसकेपछि मैले करिब ९ वर्ष एमबिए सकेर नेबिको प्रा.लि. मा सीईओको रुपमा काम गरेँ । त्यसयता बी.एल.सी. प्रा.लि. अन्तर्गत फुड एण्ड वेभरेज डिभिजनमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छु । यस अन्तर्गत ५ वटा कम्पनी रहेका छन् । यसमा पशुपति बिस्कुट इण्डष्ट्रिज प्रा.लि., पशुपति डाइट्स एण्ड फुड्स प्रा.लि., स्ट्याण्र्ड मिल प्रा.लि., महालक्ष्मी मैदा मिल प्रा.लि. र हेटौंडा डेरी इण्डष्ट्रिज प्रा.लि. रहेका छन् । नेपालीहरुको खानपान शैलीमा धेरै परिवर्तन आएको छ । खासगरी बजारबाट तयारी खानेकुरा किनेर ल्याई खाने प्रचलन राम्रो हो कि नराम्रो ? यसमा दुई वटा पाटाहरु छन् । एउटा रेमिट्यान्सको पाटोलाई हेर्नुपर्छ । धेरै नेपालीहरु विदेशमा काम गर्न गएका छन् । उनीहरु नेपाल आउँदा ड्राई फुड ल्याउने र इलेक्ट्रोनिक सामान ल्याउले प्रचलन बढ्यो । अर्को पाटो भनेको अहिले हरेक गाउँपालिकामा कच्ची भएपनि सडकको पहँुच पुगेको छ । प्रत्येक गाउँमा सरकारी वा निजी विद्यालय खुलेका छन् । यसले मानिसहरुको शैक्षिक चेतनामा वृद्धि भैरहेको छ । साथै सञ्चार माध्यमको विकासले मानिसहरुलाई इलेक्ट्रोनिक सामान र इण्डस्ट्रियल प्रोसेस्ड फुडतर्फ आकर्षण गरिरहेकोे छ । समग्रमा राम्रो र नराम्रोको उत्तर सजिलो छैन । खाध्य पोषणको भाषामा बजारबाट ल्याइएका तयारी खानेकुरा सुरक्षित छन् भने र उचित मात्रामा खाइयो भने राम्रो । नत्रभने यो प्रचलन नराम्रो भन्न सकिन्छ । प्रोसेस्ड फुडको गुणस्तरको बारेमा प्रस्न उठिरहेकोे छ । नेपालका मिडिया र उपोभोक्तावादीहरुले पनि यस विषयमा आलोचनात्मक टिका टिप्पणी गरिरहेका छन् । वास्तविकता के हो ? प्रोसेस्ड फुड भन्ने बित्तिकै जंक फुड भन्ने पनि टिप्पणी गरिन्छ । अहिले उपोभोक्तावादी र डाक्टरहरु नै कन्फ्युजनमा रहेका छन् । जंक आफैंमा फुड नभएर ह्यााबिट हो । ब्यालेन्स डाइट भन्नाले कार्बोहाइड्रेड, वाटर, भिटामिन, मिनरल्स, फ्याट र प्रोटिनको सहि सम्मिश्रणलाई बुझ्नुपर्छ । हामीले उल्लेखित एउटा मात्र ग्रुपको तयारी फुड खायौं भने त्यो जंक फुड हुन्छ । यसले हाम्रो शरिरलाई सहि तरिकाले सन्तुलित भोजन गराउन सक्दैन । हामी नेपालीको बानी भनेको जे पाउँछौं त्यो पेटभरी खान्छौं । यदि बच्चाले चकलेट पायो भने पेटभरी चकलेट मात्र खाने, स्याउ पायो भने स्याउ मात्र खाने, अण्डा पायो भने अण्डा मात्र खाने र लेज वा कुरकुरे पायो भने त्यही मात्र खाने बानी छ । यसरी खाने ह्याबिट चाहिँ जंक ह्याबिट हो । हामी कसैले पनि यसरी खान हुन्न र खान सल्लाह पनि दिनु हँुदैन । हामीले हरेक दिन सन्तुलित भोजनमा ध्यान दिनुपर्छ । जे भेटियो त्यही खानाले पेट भर्नु नराम्रो बानी हो । यो कुरा सञ्चारकर्मी, उपभोक्तावादी तथा डाक्टरहरुले समेत बुझ्न सकेका छैनन् । यसर्थ प्रोसेस्ड फुड आफैंमा जंक फुड हुन सक्दैन तर हाम्रो सन्तुलित भोजनको कुनै एउटा ग्रुपको कम्पोनेन्ट हुन सक्छ । भोजन गर्दा उक्त ग्रुपसँग अन्य ग्रुपको सन्तुलन मिलाउन आवश्यक छ । मिलाएर खाएमा कुनैपनि ग्रुपको प्रोसेस्ड फुडलाई जंक ट्याग लगाउन मिल्दैन । बजारमा पाइने सबै प्रोसेस्ड फुड गुणस्तरीय र सुरक्षित छन् त ? सबै प्रोसेस्ड फुड सुरक्षित छन् भन्न सकिँदैन । प्रोसेस्ड फुड सुरक्षित हुनलाई सामान्यतया फिजिकल, केमिकल र माइक्रोबायल कन्टामिनेन्ट हुन हुँदैन । सामान्य लोकल कम्पनी छ, कुनैपनि गुणस्तर चिन्ह लिएको छैन भने त्यस्ता कम्पनीले उत्पादन गरेको फुड सुरक्षित नहुन पनि सक्छन् । प्राय प्याकेट फुडहरु सुरक्षित र गुणस्तरीय नै हुन्छन् । तर यसमा स्ट्यान्डर लिएको वा नलिएको र म्याद गुज्रिएको छ कि छैन भन्ने कुरा लेवल हेरेर बुझ्नु पर्छ । सरकारले निर्धारण गरेको मापदण्ड अनुसार बनेका प्रोसेस्ड फुडहरु सुरक्षित हुन्छन् । दुधजन्य पदार्थहरुमा पास्चराइजेसन भएको छ कि छैन, फ्याट, एस.एन.एफ. लगायतका अन्य पदार्थहरु कति रहेका छन्, लेवलमै लेखिएको हुन्छ । खाद्य ऐन र गुणस्तर ऐनलाई आधार मानीे मापदण्ड निर्धारण गर्ने खाद्य तथा गुण नियन्त्रण विभाग र गुणस्तर विभाग रहेका छन् । उक्त विभागहरुले नियमन गरेर आएका प्रोसेस्ड फुडहरु सामान्यतया खान सुरक्षित हुन्छन् । लोकल उद्योगहरुले बनाएका खानेकुराहरु कहिलेकाहिँ स्ट्यान्डर्ड मिट गरेका नहुन सक्छन् । खाद्य सामाग्री उत्पादन गर्ने सामाग्रीहरुको सहि प्रयोग नगरिँदा केमिकल रियाक्सन हुन सक्छ । हाम्रो समाजमा अर्गानिक भनिएका वस्तुहरुमा पनि आवश्यक मापदण्ड नपुग्दा यस्ता खानेकुराहरु असुरक्षित हुन सक्छन् । प्राय मिठाईहरु फलामको भाँडामा बनाइएको हुन्छ । फलामको भाँडा खानेकुरा पकाउन उपयुक्त हुँदैन । यिनीहरुमा प्रोसेस स्ट्यान्डर्ड लागू नगरिएको हुन सक्छ । लोकल फुड निर्माण गर्नेहरुले पानी टेस्टिङलाई ध्यान दिएको हुँदैन । यस्ता उद्योगले गरेका उत्पादन उपभोग गर्दा रोगको भय रहन पनि सक्छ । तर ठूला उद्योगहरुले प्राय आवश्यक मापदण्ड पुर्याएका हुन्छन् । र प्राय सबै ठूला उद्योगहरुलाई गुणस्तर सम्बन्धी नियामक निकायहरुले नियमन गर्ने गर्दछन् । उपभोक्ताहरुले सामान किन्दाखेरी अन्तर्राष्ट्रिय अथवा नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ कि छैन, उपभोग गर्ने मिति सकिएको छ कि छैन ? र उपभोग कसरी गर्ने हो लगायतका विषयमा ध्यान दिनुपर्छ । उक्त कुराहरु लेवलमा लेखिएको पाइएमा ती फुडहरु सामान्यतया सुरक्षित हुन्छन् । ‘प्रोसेस फुड र जंक फुडको भिन्नताबारे सञ्चारकर्मी, उपभोक्तावादी तथा डाक्टरहरुलाई समेत जानकारी छैन’ भन्नुभयो । खासमा प्रोसेस फुड र जंक फुड बीचको भिन्नता के हुन् ? प्रोसेस फुड खानै हुँदैन भन्ने होइन । उदाहरणका लागि नेपालमा मैदाजन्य खाने कुरा डिस्करेज गरिन्छ । रामदेवले पनि डिस्करेज गरेका थिए । विश्वभरी हेर्नुहुन्छ भने ६० प्रतिशत तयारी फुड मैदा र मैदाजन्य पदार्थबाट बनेको हुन्छ । विकसित देशका मानिसहरुले पनि प्रोसेस फुड खाइरहेका हुन्छन् । के उनीहरुले रिर्सच नगरिकनै, हितकर तथा अहितकर भन्ने जानकारी नलिइकनै खाइरहेका होलान् ? जे पायो त्यहि पेटभरी खाने बानी छोडेर सन्तुलित रुपमा प्रोसेस फुड खानु स्वास्थ्यका लागि लाभकर नै हुन्छ । यदि हामीले पोलेको मकै मात्र खायौं भने त्यो पनि जंक फुड हो । बिहान बेलुका भात मात्र खान्छौं भने त्यो पनि जंक फुड हो । हामीले के बुझ्नु पर्छ भने कार्बोहाइड्रेड, वाटर, भिटामिन, मिनरल्स, फ्याट र प्रोटिनको सहि सम्मिश्रण हाम्रो शरिरलाई हरेक दिन आवश्यक पर्दछ । कुनै पनि एक प्रोडक्ट ग्रुपले मात्र सम्पूर्ण डाइट प्लानलाई परिपूर्ति गर्न सक्दैन । यदि हामीले एउटा ग्रुपको मात्रै खाद्य पदार्थ खाएर भोक मेट्यौं भने त्यो फुड जंक हुन जान्छ र सबै ग्रुपबाट सन्तुलन गरेर खायौं भने त्यो फुड ब्यालेन्स्ड डाइट हुन जान्छ । ‘अल्पविद्या भइंकरी’ भनेझैँ उपभोक्तावादीहरुले कहिँ कतै इन्टरनेटमा केहि कुरा पढे वा कसैको लेख पढेर त्यसैलाई आधार मानी हल्ला धेरै गरे । समस्या यो हो । अहिले अभिभावकहरुलाई पनि कन्फ्युजन रहेको छ । यदि बच्चाले एक टाइम तयारी खाजा खान्छ भने उसको लागि अब अन्य किसिमका सन्तुलित भोजन खान दिनुपर्छ । यो बच्चाले यस्तो खाने कुरा खाँदा दाँतमा किरा लाग्छ भन्ने हल्ला पनि गलत हुन सक्छ । मुख्य कुरा हामीले डाइट प्लान बनाउँदा प्रोसेस्ड या अनप्रोसेस्ड जस्तो फुड लिएपनि सन्तुलित रुपमा माथि उल्लेखित ६ ओटै ग्रुपबाट प्लान गर्नुपर्छ । र यो चेतना सबैमा पुर्याउन आवश्यक छ । प्रोसेस फुड र जंक फुडको भिन्नता र यसको प्रयोगविधि वारे उत्पादकहरुले उपभोक्तालाई बुझाउने काम गरिरहेको देखिँदैन, किन ? हामीले यसमा आवश्यक काम गरिरहेका छौं । अहिले चौधरी ग्रुपले बिलगेट्स फाउन्डेसनसँगको सहकार्यमा नेपालमा रहेको कुपोषणलाई व्यवस्थापन गर्न ‘टल नेपाल’ अभियान सञ्चालनमा ल्याउन लागेको छ । पछिल्लो समय प्याकेजिङमै व्यक्तिले प्रोसेस्ड फुड खाँदा कुन तत्व कति पाउँछ भन्ने कुरा लेखिएको हुन्छ । साथै उसको दैनिक पोषण सम्बन्धी आवश्यकता लेवलमा उल्लेख गरिएको हुन्छ । समयको मागसँगै उत्पादकहरु यो विषयमा आवश्यक गृहकार्य गरिरहेका छन् । ‘फलामको भाँडामा पकाएको खाना असुरक्षित हुन्छ’ भन्नुभयो । तर मासको दाल फलामको भाँडामा पकाएर खायो भने आइरन पाइन्छ भन्ने परम्परा रहेको छ नि ? फलाम प्राप्त गर्न हामीले फलाम नै खाने होइन तर फलामजन्य सल्ट खाने हो । फलामको भाँडामा पकाउँदा आवश्यक फलामजन्य सल्ट उपभोक्ताले पाउँदैन । पकाउँदा फलामको भाँडामा भएको फलाम सिधै सल्टमा परिवर्तन हुँदैन । विशेषगरी फलामको खिया खानै नहुने कुरा हो । यसले रक्तनली, किड्नी र फोक्सोमा समेत असर गर्न सक्छ । तर फलाम मिसिएको किटको कराईमा पकाएको खाना भने सुरक्षित र लाभदायक हुन्छ । खाद्य प्रशोधनको दृष्टिकोणले फुड ग्रेड स्टेनलेस स्टिलमा पकाइएका खानेकुराहरु सुरक्षित र लाभदायक हुन्छन् । प्रोसेस्ड फुड बिक्री गर्ने सुपरमार्केटहरुमा विदेशी फुडको अनुपातमा नेपाली फुड निक्कै कम रहेको पाइन्छ । नेपाली ग्राहकले विदेशी फुडनै किन रोज्छन् ? के नेपाली प्रोसेस फुडप्रति उपभोक्ता विश्वस्त हुन नसकेको हो ? मानिसहरुमा विदेशी कम्पनी भनेपछि ठूलो कम्पनी होला, उनीहरुको स्ट्यान्डर्ड माथिनै होला भन्ने सोचाइ छ । यदि उनीहरुले अन्तर्राष्ट्रिय स्ट्यान्डर्डलाई आधार मानी निर्धारण गरिएको छ भने त्यसमा केहि सत्यता होला । तर केहि विदेशी सामाग्रीहरु नेपाली लोकल प्रोडक्टभन्दा पनि कम गुणस्तरका हुन सक्छन् । विशेषगरी चीन र भारतबाट आउने केहि समाग्रीहरु कम गुणस्तरकै पनि पाइएका छन् । म उपभोक्ताहरुलाई के आग्रह गर्न चाहन्छु भने मल्टिनेशनल कम्पनी छ भने त्यसको लोगो रहेको हुन्छ, अन्तर्राट्रिय मापदण्डको लेवल तथा स्ट्याण्डर्ड हेरेर मात्र त्यसको प्रयोग गर्नु राम्रो हुन्छ । प्याकेजिङ राम्रो छ भन्दैमा हामीले किनेर खाइहाल्नु हुँदैन । स्वदेशी कम्पनीहरुको कुरा गर्दा नेपाली बजारमा वाइवाइले सबै विदेशी चाउचाउहरुलाई विस्थापित गरेको छ । यहाँ म्यागी लगायत अन्य विदेशी चाउचाउहरु आए तर यिनीहरु टिक्न सकेनन् । नेपाली उपभोक्ताहरुले नेपाली चाउचाउलाईनै प्राथमिकता दिएका छन् । नेपाली उद्यमीहरुले पनि अन्तर्राष्ट्रिय बजारमासमेत जाने गरी सामाग्रीको उत्पादन गर्न थालेका छन् । यसर्थ स्वदेशी भन्ने वित्तिकै नराम्रो र विदेशी भन्ने वित्तिकै राम्रो भन्ने सोच गलत हो । उपभोक्ताहरुले कम्पनी, लेवल, उपभोग्य मिति, स्ट्याण्डर्ड जस्ता कुराहरु ध्यान दिएर उपभोग्य वस्तुहरुको खरिद गर्नुपर्छ । विदेशी भन्ने वित्तिकै हामफाल्नु हुँदैन । विदेशी कम्पनीका उत्पादनले नेपालमा उत्पादित प्रोसेस फुडहरुलाई कस्तो असर पारिरहेका छन् ? नेपालमा निजी क्षेत्रका कम्पनीहरुले विदेशी कम्पनीहरुको तुलनामा नाफा घाटाको हिसाबले ठूलो क्षेत्र ओगटेको छैन । यसका २ वटा कारण रहेका छन् । एउटा लगानीकर्ता र अर्को सरकार । पहिले नेपालमा उत्पादन भएको वनस्पति घ्यूमा भारतको निश्चित कोटा थियो । अहिले त्यो नियम भारतले खारेज गरिसक्यो । यसपछि वनस्पती घ्यूको उद्योगहरु बन्द भैसकेका छन् । सरकारले आयात र निर्यातको कर प्रणालीमा समानता ल्याउन सकेकोे छैन । केहि वर्ष अघि नेपाली बिस्कुटलाई एमआरपीको मुल्यांकन अनुसार कर तिर्नुपर्ने र भारतबाट आयत गरिएको बिस्कुट किलोको ४० रुपैंया कर तिर्नुपर्ने नियम थियो । यसले गर्दा भारतमा बनेको बिस्कुट भन्दा नेपालमा बनेको बिस्कुट सस्तो पर्न जान्थ्यो । धेरै पहल गरेपछि अहिले भारतमा बनेका बिस्कुटहरुको मूल्यांकन बढेको छ । अर्को पाटो भनेको अहिले नेपालमा उद्योगीहरुले उद्योगको लागि जग्गा किन्नसक्ने अवस्था रहेको छैन । उद्योग सञ्चालनको लागि कम्तीमा २/४ बिघा जग्गा चाहिन्छ । हालको जग्गाको मूल्य हेर्दा कुनै पनि उद्योगीले जग्गा खरिद गरेर कम्पनी खोल्न सक्ने अवस्था रहेको छैन । यस हिसाबले उत्पादित वस्तुमाथि कम्पनीले थप मूल्य बढाउनु पर्ने बाध्यता हुन्छ । यसरी नेपाली वस्तुको मूल्यभन्दा विदेशी वस्तुको मूल्य सस्तो हुँदा नेपाली कम्पनीलाई मुनाफा आर्जन तथा बजार व्यवस्थापन गर्न अप्ठ्यारो परेको छ । सरकारले उद्योगीहरुलाई जग्गा र करको दायरामा सहुलियतको व्यावस्था मिलाउनु पर्छ । भारतका धेरै प्रान्तहरुमा नयाँ उद्योगीहरुलाई १० वर्षसम्मको मुनाफामा छुट गरिएको छ । सय वर्षको लागि जग्गा भाडामा दिने व्यवस्था पनि छ । यी सुविधाहरु नेपालमा पनि आवश्यक छन् । सरकारले यस्ता कुराहरुमा ध्यान दिनु पर्यो। यो काम गर्न सकेको खण्डमा उत्पादन क्षेत्रको योगदान हाम्रो कूल ग्राहस्थ उत्पादनको १४/१५ प्रतिशत अंकमा पर्याउन सकिन्छ । यता उद्योगीहरुले पनि उद्योगमा लगानी गर्दा मल्टिनेशनल कम्पनीहरुको स्ट्याण्डर्ड अनुसार उत्पादन गर्नुपर्छ । अन्तर्राष्ट्रियस्तरको टेक्नोलोजीको प्रयोग गर्नुपर्छ । नेपाली उद्योगीहरुमा नयाँ टेक्नोलोजीको अनुभवको कमी रहेको छ । नेपालमा प्राय भारतका युज्ड कम्पनीहरुको प्लान्ट र प्रविधि रहेका छन् । यसलाई विस्तारै प्रतिस्थापन गर्दै नयाँ टेक्नोलोजीको विकास गर्नुपर्दछ । नेपालका प्रोसेस्ड फुड उद्योगहरुलाई आवश्यक कच्चा पदार्थ नेपालमा कत्तिको पाइन्छ ? नेपाली उत्पादन क्षेत्रको कच्चा पदार्थ र विदेशी मुलको कच्चा पदार्थको अनुपात करिब ५०/५० प्रतिशत नै रहेको छ । ५० प्रतिशत कच्चा पदार्थ भारतीय बाटो हुँदै नेपाल भित्रिन्छन् । आयात गरिएका कच्चा पदार्थहरु लगभग प्रतिस्पर्धी नै हुन्छन् । सबै कुरा हेर्दा नेपाली उद्योगहरुमा चाहिने कच्चा पदार्थहरुमा स्वदेशी उत्पादक हरुको गुणस्तर तथा प्रतिस्पर्धात्मकतामा तत्कालै सुधार गर्नुपर्ने आवश्यकता छ । सर्सर्ती हेर्दा करिब १० प्रतिशत कम्पनीहरुको अवस्था राम्रो रहेको छ भने करिब ९० प्रतिशत कम्पनीहरु कुनै न कुनै हिसाबले सन्तोषजनक अवस्थामा छैनन् । त्यसैले यी उद्योगहरु आफ्नो क्षमतामा परिमार्जित हुँदै जानुपर्छ र यो सेक्टरलाई सरकारले विशेष सुविधा र सहुलियत प्रदान गर्न आवश्यक छ ।

गण्डकी विकास बैंकले लागू गर्यो सि आस्वा सेवा

काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले ग्राहकको सुविधाका लागि अनलाईन मार्फत सार्वजनिक निष्कासन हुुँदा धितोपत्रमा लगानी गर्न सकिने सि आस्वा सेवा लागू गरेको छ । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासन गर्दा अनिवार्य रुपमा सि आस्वा प्रणाली मार्फत शेयर आवेदन गर्नु गराउने पर्ने व्यवस्था गरेको हुँदा बैंकले यस सेवाको शुरुवात गरेको हो । यो व्यवस्था लागु गरे पछि सार्वजनिक निष्कासनहरुको दरखास्त संकलन गर्ने कार्य अझ व्यवस्थित, छिटो छरितो एवं झण्झट रहित हुनेछ । यसबाट सेवाग्राहीहरुलाई सार्वजनिक निष्कासन हुुँदा धितोपत्रमा लगानी गर्न घरमै बसी बसी गर्न सकिने अवसर हुनेछ । सि आस्वा सेवा प्राप्त गर्नको लागि बैंकको कुनै पनि शाखा कार्यालहरुमा गई सि आस्वा रजिष्ट्रेसन फारम भरी सि आस्वा रजिष्ट्रेसन नम्वर प्राप्त गर्न सकिनेछ । सि आस्वा रजिष्ट्रेसन नम्वर प्राप्त गरी सके पश्चात लगानीकर्ताहरुले कुनै पनि स्थानमा रहेर कुनै पनि समय धितोपत्रको सार्वजनिक निष्कासनमा लगानी गर्न सक्नेछन् । अनलाइनमा लगानी गर्न असमर्थ हुने लगानीकर्ताहरुले यस बैंकको कुनै पनि शाखा कार्यालयहरुमा गई सि आस्वा फाराम भरी आवेदन गरिने बराबरको रकम बैंकमा रहेको ग्राहकको खातामा नै रोक्का गराई बैंक मार्फत अनलाइन आवेदन गराउन सकिनेछ । अब उपरान्त जारी हुने सार्वजनिक निष्कासनमा आवेदन गर्दा अनिवार्य रुपमा सि आस्वा मार्फत गर्नु पर्ने नेपाल धितोपत्र बोर्डको निर्देशन भएकाले सेवाग्राहीले आफ्नो नजिकको बैंकको शाखा कार्यालयबाट अनिवार्य रुपमा सि आस्वा रजिष्ट्रेसन नम्वर (सीआरएन) लिन पनि आग्रह गरिएको छ ।