विकासन्युज

सरकारी संस्थानको खाता बन्द गर्दै राष्ट्र बैंक, बाणिज्य बैंकहरुलाई तत्कालै ११ अर्ब ३३ करोडको राहत

काठमाडौं । नेपाल राष्ट्र बैंकमा विभिन्न सरकारी संस्थानहरुले खोलेको खाता बन्द गराउने तयारी सुरु भएको छ । सरकारी संस्थानहरुले राष्ट्र बैंकमा खोलेको खाता बन्द गराएर बाणिज्य बैंकमा स्थानान्तरण गराउने तयारीमा केन्द्रिय बैंक पुगेको हो । मौद्रिक नीतिको मध्यावधी समीक्षाबाटै राष्ट्र बैंकले तरलताको स्थितिमा समेत सुधार हुने आंकलन गर्दै सरकारी संस्थानहरुको खाता बाणिज्य बैंकमा सार्ने निष्कर्ष निकालेको हो । हाल कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकम, खाद्य संस्थान, नेपाल विद्युत प्राधिकरण लगायतका दर्जनौं सरकारी संस्थानहरुको राष्ट्र बैंकमा चालु खाता छ । राष्ट्र बैंकले सार्वजनिक गरेको ६ महिनाका वित्तिय तथ्यांक अनुसार सरकारी संस्थानहरुको ११ अर्ब ३३ करोड ४९ लाख ५० हजार रुपैंयाँ केन्द्रिय बैंकको चालु खातामा रहेको छ । केन्द्रिय बैंकमा खोलिएको चालु खातामा राखिएको रकमलाई सरकारी संस्थानहरुले चालु खर्चका लागि उपयोग गर्दै आएका छन् । केन्द्रिय बैंकको खातामा राखिएको रकमबाट ती निकायहरुले ब्याज पाउँदैनन् । संस्थानहरुले निक्षेपको ब्याज पनि पाउने र बजारमा तरलता अभावको समस्या पनि हट्ने भन्दै राष्ट्र बैंकले सो योजना अघि सारेको सहायक प्रवक्ता राजेन्द्र पण्डितले बताए । केन्द्रिय बैंकको खातामा रहेको पैसालाई संस्थानहरुले मुद्धति निक्षेपको ब्याज बढाउने अस्त्रका रुपमा उपयोग गर्दै आएको आरोप लागिरहेको छ । ‘मुद्धति निक्षेपमा राखिएको पैसा झिकेर केन्द्रिय बैंकमा राख्ने र अर्काे बैंकसँग धेरै ब्याजदरका लागि बार्गेनिङ गरेर ब्याजदर बढाएको आरोप पनि लागेको थियो, त्यसैले पनि अब बाणिज्य बैंकमा राखेर कारोबार गराउनुस् भनेर छलफल अघि बढाएका हौं’, राष्ट्र बैंकको अनुसन्धान विभागका प्रमुख नर बहादुर थापाले विकासन्युजसँग भने । उनले केन्द्रिय बैंकमा चालु खाता खोलेर पैसा राखेका संस्थानहरुसँग छलफल प्रक्रिया अघि बढाईसकेको पनि जानकारी दिए । ‘कानुनी जटिलताले सरकारी कोषको पैसा बाणिज्य बैंकलाई निक्षेपका रुपमा दिन नसकिने देखिएपछि सरकारी संस्थानले चालु खाता खोलेर केन्द्रिय बैंकमा राख्ने गरेको पैसालाई नै बाणिज्य बैंकको खातामा सार्न सकिने निष्कर्षसहित मौद्रिक नीतिको मध्यावधि समिक्षामा उल्लेख गरिएको हो’, राष्ट्र बैंकका सहायक प्रवक्ता पण्डितले भने । लगानी योग्य पुँजीको अभाव बर्षैपिच्चे आउन थालेपछि राष्ट्र बैंकले सरकारी ढुकुटीमा रहेको केहि रकमलाई निक्षेपका रुपमा बाणिज्य बैंकमा पठाउन सकिने बारे अर्थमन्त्रालयसँग मिलेर अध्ययन गरेको थियो । प्रशस्तै कानुनी जटिलता र गलत नजिर समेत बस्ने भन्दै सो योजनाबाट पछि हटेको राष्ट्र बैंकले तरलता समाधानको अस्त्रका रुपमा सरकारी संस्थानको खाता बन्द गराउने विकल्प रोजेको हो । राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधि समिक्षामा लेखेको छ–‘बैंक तथा वित्तिय संस्था बाहेकका अन्य सरकारी संस्थानहरुले यस बैंसँग बैंकिङ कारोबार गरिरहेको परिप्रेक्ष्यमा त्यस्ता संस्थानहरुले बाणिज्य बैंकहरुमा खाता खोली कारोबार गरेमा बैंकिङ क्षेत्रको तरलताको स्थिति समेत सहज हुने देखिएको सार्वजनिक संस्थानहरुसँग राय प्रतिक्रिया माग गर्ने कार्य भैरहेको छ । यस सम्बन्धमा सम्बन्धित संस्थानहरुको राय प्रतिक्रिया प्राप्त भएपछि आवश्यक नीतिगत व्यवस्था गरिनेछ ।’

प्रभु बैंकको भैरहवा शाखा स्थानान्तरण

काठमाडौं । प्रभु बैंकले रुपन्देही जिल्लाको नारायणपथस्थित भैरहवा शाखाको स्थानान्तरण गरेको छ । बैंकले उक्त शाखाको साविकको स्थानबाट करिब ३०० मिटर दक्षिणततर्फ स्थानान्तरण गरेको हो । नेपाल राष्ट्र बैंक सिद्धार्थनगर रुपन्देहीका निर्देशक अशोककुमार पौडेलले एक समारोहकाबीच स्थानान्तरण गरिएको भैरहवा शाखाको उद्घाटन गरेका हुन् । बैंकले आफ्ना ग्राहकहरुलाई छिटो, छरितो तवरले अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यले भैरहवास्थित शाखा कार्यालय ग्राहकहरुलाई पायक पर्ने स्थानमा स्थानान्तरण गरिएको हो ।

नबिल बैंकले ल्यायो सि-आस्बा सेवा सन्चालनमा

काठमाडौं । नबिल बैंक लिमिटेडले धितोपत्र खरिद गर्न सि-आस्बा सेवा सन्चालनमा ल्याएको छ । बैंकले सार्वजनिक निष्कासनमा धितोपत्र खरिद गर्न आवेदन दिँदा आनिवार्य रुपमा सि-आस्बासेवा मार्फत मात्र आवेदन दिन पाउने व्यवस्थालाई मध्यनजर गरी यो सेवा सन्चालनमा ल्याएको हो । बैंकले ग्राहकलाई समयमै सि-आस्बा रजिस्ट्रेसन नम्बर प्रदान गर्ने उद्देश्यले उक्त सेवा सन्चालनमा ल्याएको हो । ग्राहकले अब यस बैंकका सम्पूर्ण शाखाहरुबाट सि-आस्बा कस्टमर रजिस्ट्रेसन नम्बर(सीआरएन) लिईसि-आस्बा प्रणालीमार्फत धितोपत्र खरिद गर्न आबेदन दिन सक्नेछन् । ग्राहकले उक्त कस्टमर रजिस्ट्रेसन नम्बर लिए पश्चात मेरो शेयरमार्फत आफै अनलाईन आवेदन दिन सक्नेछन् । साथै अनलाईन आवेदन दिन नसक्ने लगनिकर्ताको हकमा बैंकको कुनै पनि शाखामा गई सि-आस्बा फारम भरी आवदेन बराबरको रकम आफ्नो बैंक खातामा रोक्का राखी यस प्राणाली मार्फत आवदेन दिन पनि सकिनेछ । बैंकले सि-आस्बा सँगै आबद्द सेवाहरु जस्तैः सि-आस्बा रजिस्ट्रेसन, हितग्राही(डिम्याट) खाता खोल्ने, सि-आस्बा प्राणाली मार्फत धितोपत्रमा लगानी गर्ने तथा मेरो शेयर रजिस्ट्रेसनमा समेत लाग्ने सम्पुर्ण बैंक शुल्क मिनाह गरेको छ ।

धेरै अन्न फलाउन किसानलाई खेतबारीमै ‘पाठशाला’

रुकुम । जिल्लाका किसानले आफ्नो खेतबारीमा उत्पादन हुने कृषिउपज  प्रविधिका विषयमा खेतबारीमै अध्ययन गर्न थालेका छन् । आफ्नो खेतबारीमा उत्पादन हुदै आएको खाद्यान्न बालीसँगै तरकारी र दलहन बालीको कृषकले ‘कृषक पाठशाला’मार्फत खेतबारीमा सिक्दै उत्पादन गर्न सुरु गरेका छन् । परम्परागत र आधुनिक कृषि उत्पादनका विषयमा प्रत्यक्ष काम गर्दै सिक्दैआएका यहाँका कृषक अहिले खेतबारीमै कृषक पाठशाला सञ्चालन गरी सिक्दै उत्पादन गर्न थालेका छन् । जिल्लामा लागू भएको कृषि तथा खाद्य सुरक्षा आयोजनाअन्तर्गत साविकका १४ वटा गाविसका कृषकले परम्परागत र आधुनिक कृषि उत्पादनबारे सिकाइ गर्न थालेका जिल्ला कृषि विकास कार्यालयका कृषि विकास अधिकृत राजेश साहले जानकारी दिए । कृषक पाठशालामार्फत उन्नत प्रविधिमा व्यावसायिक कृषि खेतीतर्फ अग्रसर गराउने उद्देश्यका साथ पाठशाला सञ्चालन गरिएको उनको भनाइ छ । पाठशालामा कृषक समूह गठन गरी सहभागी गराउने र पाठशालामार्फत सिकाउने गरिएको छ । जिल्ला भरमा यस वर्ष ३० ठाउँमा पाठशाला सञ्चालन गरिएको छ भने ५०० भन्दा बढी किसानले उन्नत कृषि प्रविधिका बारेमा खेतबारीमै जानाकरी पाएको शाहले बर्ताए ।-रासस  

सेयर बजार घट्दा लगानीकर्ता ओम डेभलपमेन्ट बैंकमा झुम्मिए, यस्तो छ कारण

काठमाडौं । सेयर बजार घटेका बेला बुधबार लगानीकर्ता ओम डेभलपमेन्ट बैंकमा झुम्मिएका छन् ।बुधबार ओम डेभलपमेन्टको प्रतिकित्ता २२९ रुपैयाँमा ३ करोड ५४ लाख ६४ हजार रुपैयाँ बराबरको १ लाख ५६ हजार ८२४ कित्ता सेयर किनबेच भएको छ । ओमको सेयर प्रतिकित्ता २२७ देखि २३० रुपैयाँसम्म कारोबार भएको छ । ओम डेभलपमेन्टले साधारणसभामा जाने प्रयोजनको लागि आगामी फागुन १४ गतेदेखि २५ गतेसम्म ११ दिन बुक क्लोजको घोषणा गरेपछि लाभांश पाउने आशमा लगानीकर्ता ओमको सेयर किनेका हुन् । ओमको ११औँ वार्षिक साधारणसभा फागुन २५ गते हुदैछ ।सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १७.६९ प्रतिशत अर्थात ३७ करोड ८१ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । ओमपछि राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक सेयर किनबेच भएको छ । बुधबार बीमा कम्पनीको प्रतिकित्ता १२ हजार ७७५ रुपैयाँमा ३ करोड १० लाख ३१ हजार रुपैयाँ बराबरको २ हजार ४६२ कित्ता संस्थापक सेयर कारोबार भएको छ । बुधबार सेयर बजार ९.६४ अंक घटेर १ हजार ३८७ अंकमा झरेको छ । बजार घटेपछि यसको असर कारोबार रकमा पनि परेको छ । बुधबार २८ करोड ५५ लाख रुपैयाँको मात्र सेयर किनबेच भएको छ । मंगलबारको तुलनामा बुधबार सेयर कारोबार १२ करोड रुपैयाँ घटेको छ । बुधबार सबै परिसूचकको सेयर घटेको छ ।

सेञ्चुरी बैंकको थप ५ वटा शाखा विस्तार

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले थप ५ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले खोटाङ्ग जिल्लाको लामिडांडा गाउंपालिका, अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका, रुकुम जिल्लाको आठबिसकोट नगरपालिका, मोरङ्ग जिल्लाको ग्रामथान गाउंपालिका र सर्लाही जिल्लाको गोडैटा नगरपालिकामा गरी साे मात्राकाे शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । यी सबै शाखा कार्यालयहरु बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले केन्द्रिय कार्यलयबाट शुभारम्भ गरेका हुन् । उक्त ५ शाखा सहित बैंकले हालसम्ममा ९४ वटा शाखाहरुबाट ग्राहकवर्ग समक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

ङादि ग्रुप र सिद्धार्थ क्यापिटलबीच हकप्रद सेयर निष्काशन गर्ने सम्झौता

काठमाडौं । श्री ङादि ग्रुप पावर लिमिटेड र सिद्धार्थ क्यापिटल लिमिटेडबीच हकप्रद सेयर निष्काशन गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अन्तर्गत सिद्धार्थ क्यापिटलले ङादि ग्रुपको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको सम्पूर्ण काम गर्नेछ । उक्त सम्झौतापत्रमा ङादि ग्रुपका तर्फबाट अध्यक्ष डा. भोगेन्द्रकुमार गुरागाई र सिद्धार्थ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले हस्ताक्षर गरेका छन् । हाल ङादि ग्रुपको चुक्ता पूँजी ५३ करोड ५५ लाख रुपैयाँ रहेको छ । ग्रुपले उक्त पूँजीको १० बराबर ३ को अनुपात अर्थात १६ लाख ०६ हजार ६६४.४० कित्ता हकप्रद सेयर निष्काशन गर्ने तयारी गर्दै छ । सो मात्राको हकप्रद सेयर निष्काशनको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटललाई तोकेको हो ।

स्वदेशी उत्पादनमा आत्मनिर्भर बनाउन विशेष आर्थिक क्षेत्र निर्माण तीव्र

सिमरा, बारा । प्रदेश नं २ अन्तर्गत बाराको औराहामा निर्माण हुन लागेको ‘विशेष आर्थिक क्षेत्र’ सेजको निर्माण तीव्र रुपमा अगाडि बढेको छ । स्थानीय तहको निर्वाचनसँगै प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन पश्चात चौतर्फी दबाब सिर्जना भएपछि सेजको निर्माण तीव्ररुपमा अगाडि बढाइएको हो । सेजको लागि छु्याइएको जग्गामा पहिलोचरणमा पर्खाल निर्माण गरिएको छ । अहिले दोस्रोचरणको निर्माण शुरु भएको छ । दोस्रोचरण अन्तर्गत सेजको लागि आवश्यक प्रशासनिक, भवन, बालसंरक्षण भवन, भन्सार, हुलाक भवन तथा चार लेनको चारवटा सडक निर्माण थालिएको छ । सेजभित्र दर्जनौं उद्योग स्थापना हुने भएकाले आम सडकको तुलनामा टिकाउ एवं पूर्ण क्षमताको सडक बनाउन थालेको कर्मचारी दामोदर विडारीले बताए। चार लेनको सडकको मध्य भागमा इँटाको पर्खाल लगाई वृक्षरोपण गरिने उनले बताए । वीरगञ्ज चिनी कारखाना लिमिटेडको स्वामित्वमा रहेको उक्त जग्गा अधिग्रहण गर्नु अगाडि उक्त क्षेत्रका स्थानीयवासी खनजोत गर्दैआएका थिए । सरकारले सो आयोजना घोषणा गरेको करिब दुई दशक बित्न लाग्दासमेत अहिलेसम्म दोस्रो चरणको काम अगाडि बढ्न सकेको थिएन । चालु आवमा बजेट विनियोजनसँगै काम तीव्र रुपमा अगाडि बढाएकाले तोकिएको समयभित्र काम पूरा हुने सो कार्यमा संलग्न इञ्जिनियर दिनेश न्यौपानेले बताए। पहिलोचरण अन्तर्गत ८३३ बिगाहा क्षेत्रफलमा साना मझौला तथा ठूला गरी १ हजार २ सय उद्योग स्थापना गर्ने लक्ष्य छ । यसवर्ष विशेष आर्थिक क्षेत्र सेजका लागि ८४ करोड रुपैयाँ बजेट छुट्ट्याइएको छ । वैदेशिक वस्तुको आयातलाई निरुत्साहित गर्दै स्वदेशी उत्पादनप्रति आत्मनिर्भर बनाउनुको साथै बढ्दो बेरोजगारी समस्यालाई समाधान गर्ने उद्देश्यले सरकारले उक्त योजना अगाडि बढाएको हो । रासस