विकासन्युज

प्रधानमन्त्री ओलीसँग भारतीय विदेशसचिवको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिश्रीले शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।   प्रधानमन्त्री केपी शर्मा ओलीको भदौ ३१ मा प्रस्तावित भारत भ्रमणको तयारी छलफलका लागि मिस्री नेपाल आएको बताइएको छ ।  नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, विपक्षी दलका नेता पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । 

नारायणी डेभलपमेन्ट बैंकका सीईओ विष्णु रेग्मीले दिए राजीनामा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विष्णु रेग्मीले पदबाट राजीनामा दिएका छन् । स्वास्थ्य कारण देखाउँदै रेग्मीले पद त्याग गरेका हुन् । उनको राजीनामा बिहीबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ । रेग्मीलाई २०८० भदौ २८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओमा नियुक्त गरेको थियो । सञ्चालक समितिको बैठकले बैंकका वरिष्ठ कार्यकारी अधिकृत कृष्ण दवाडीलाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।

नेपाल पुनर्बिमा कम्पनीको स्वतन्त्र सञ्चालकमा किरण पौडेल

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा किरण पौडेल नियुक्त भएका छन् । गत साउन २९ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्यसमेत रहेका पौडेलले आगामी साधारणसभासम्मका लागि स्वतन्त्र सञ्चालक पदमा रहेर काम गर्नेछन् । यसअघि स्वतन्त्र सञ्चालक अनिता रायमाझी टण्डनले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएपछि पद रिक्त भएको थियो । टण्डनको राजीनामा वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो । त्यसपछि रिक्त पदमा पौडेललाई नियुक्त गरिएको हो ।

सेयर बजारका बादशाह बफेटको नयाँ कदम : कमजोर छवि भएको बीमा कम्पनीमा अर्बौं लगानी

काठमाडौं । धेरै महिनादेखि नगद संकलन गरिरहेका विश्वप्रसिद्ध लगानीकर्ता वारेन बफेटले दोस्रो त्रैमासिकमा आफ्नो पोर्टफोलियोमा ठूलो परिवर्तन गरेका छन् । बफेटको कम्पनी बर्कशायर ह्याथवेले युनाइटेडहेल्थ ग्रुपमा १।६ अर्ब डलरको लगानी गरेको हो ।  ह्याथवेले यस बीमा कम्पनीका ५० लाख कित्ता सेयर खरिद गरेको हो । यो खबर बाहिर आएपछि युनाइटेडहेल्थको सेयर करिब १२ प्रतिशतले बढ्यो । तर बफेटको यस निर्णयलाई लिएर बजारमा आश्चर्य छाएको छ । यसको कारण के भने एक समय विश्वका शीर्ष कम्पनीमध्ये पर्ने युनाइटेडहेल्थको सेयर गत एक वर्षमा आफ्नो उच्चतम स्तरबाट ६० प्रतिशतसम्म घटिसकेको छ । हालैको केही समयदेखि युनाइटेडहेल्थको छवि कमजोर बन्दै गएको छ । न्याय विभागले कम्पनीविरुद्ध मेडिकेयर बिलिङसम्बन्धी अनुसन्धान गरिरहेको छ । यसबाहेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले राजीनामा दिएका थिए र नाफासम्बन्धी धेरै चेतावनीहरूसमेत सार्वजनिक भएका थिए ।  यी सबैबीच पनि बफेटले यस कम्पनीमा ठूलो बाजी थापे‍का छन् । अब युनाइटेडहेल्थ बफेटको पोर्टफोलियोमा सामेल भएको १८औं ठूलो सेयर बनेको छ । शुक्रबार युनाइटेडहेल्थको सेयर ११.९८ प्रतिशतले बढेर बन्द भयो । यससँगै कम्पनीको बजार मूल्य (मार्केट क्याप) बढेर २७५.३३ अर्ब डलर पुगेको छ । एप्पलका सेयर बिक्री यसबीच बर्कशायरले एप्पलका करिब २ करोड सेयर बेचिसकेको छ । यसका कारण आईफोन निर्माता कम्पनीमा बर्कशायरको सेयर मूल्य ९.२ अर्ब डलरले घटेको छ । तर पनि बर्कशायरको पोर्टफोलियोमा एप्पल अझै शीर्ष स्थानमै छ ।  बफेटको कम्पनीले दोस्रो त्रैमासिकमा बैंक अफ अमेरिकाका २.६ करोड सेयर समेत बेचेको छ । अब यस बैंकमा कम्पनीको हिस्सेदारी करिब ८ प्रतिशत मात्रै बाँकी छ । साथै बर्कशायरले टी-मोबाइल यूएसमा गरेको १ अर्ब डलर बराबरको सम्पूर्ण लगानी पनि फिर्ता लिएको छ । यसरी बफेटले टेलिकम क्षेत्रबाट पूर्ण रूपमा हात झिकेका छन् । बर्कशायरले नुकोर (स्टिल कम्पनी) र होममेकर लेनारमा पनि लगानी गरेको छ भने डीआर हर्टनका सेयर बिक्री गरिसकेको छ । यसबाहेक बफेटको कम्पनीले लामर एडभर्टाइजिङ (आउटडोर विज्ञापन कम्पनी) र एलिजियन (सेक्युरिटी प्रडक्ट कम्पनी) मा पनि सानो हिस्सेदारी किनेको छ । बफेट यो महिनामा ९५ वर्षका हुनेछन् र वर्षको अन्त्यतिर बर्कशायरको सीईओ पदबाट अलग हुने तयारीमा छन् । जूनको अन्त्यसम्म बर्कशायरको सबैभन्दा ठूलो हिस्सेदारी भएका कम्पनीहरू एप्पल, अमेरिकन एक्सप्रेस, बैंक अफ अमेरिका, कोका-कोला र शेवरान रहेका थिए । विश्वका सबैभन्दा सफल लगानीकर्तामध्ये एक बफेट मानिन्छन् ।  सन् १९६५ मा उनले बर्कशायर ह्याथवेमा नियन्त्रण लिएपछि यसलाई विश्वकै ठूलो लगानी होल्डिङ कम्पनीमा रूपान्तरण गरेका थिए । बफेट दीर्घकालीन लगानी रणनीतिका लागि चर्चित छन् । उनले प्रायः त्यस्ता कम्पनी रोज्छन् जसको व्यवसाय मोडेल स्थिर, ब्रान्ड बलियो र दीर्घकालीन आम्दानी सम्भावना उच्च हुन्छ । यही कारणले उनले कोकाकोला, अमेरिकन एक्सप्रेसजस्ता कम्पनीमा लगानी गर्दै आएका छन् । फोर्ब्सका अनुसार बफेट संसारका सर्वाधिक धनी व्यक्तिहरूमध्ये एक हुन् । उनको नेटवर्थ १२० अर्ब डलरभन्दा बढी छ । उनले आफ्नो सम्पत्तिको ९० प्रतिशतभन्दा बढी परोपकारका लागि दान गर्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन् । उनी संसारकै धनी व्यक्तिहरूमध्ये भए पनि अत्यन्तै सादा जीवनशैलीका लागि चर्चित छन् । बफेट अझै पनि १९५८ मा ३१ हजार ५०० डलरमा किनेको आफ्नै पुरानो घरमै बस्छन् । उनलाई फास्ट–फूड, कोकाकोला र साधारण कार मन पर्छ ।

विद्युत प्राधिकरणको नाफा ह्वात्तै घट्यो, साढे १४ अर्बबाट कसरी झर्यो ९ अर्बमा ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको नाफा एक अर्ब ४६ करोड रुपैयाँले घटेको छ । प्राधिकरणले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार प्राधिकरणको अघिल्लो आर्थिक वर्षको तुलनामा सो नाफा घटेको हो ।  गत आव २०८१/८२ मा ९ अर्ब ७ करोड बराबर नाफा गरेको तथ्यांकमा उल्लेख छ । जुन अघिल्लो आवको तुलनामा १३.८६ प्रतिशत कम हो । अघिल्लो आव २०८०/८१ मा १० अर्ब ५३ करोड नाफा गरेको उल्लेख गरिएको छ ।  तर, नेपाल विद्युत प्राधिकरणबाट बाहिरिँदा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आव २०८१/८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा गरेको तथ्यांक सार्वजनिक गरेका थिए । उनले सो अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको सार्वजनिक गरेका थिए । यस्ताे थियाे कुलमानले सार्वजनिक गरेकाे तथ्यांक आव २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूबाट निरन्तर नाफामा छ । घिसिङले आव २०८०/८१ मा प्राधिकरणले १४ अर्ब ४६ करोड रुपैयाँ नाफा गरेको तथ्यांक सार्वजनिक गरेका थिए । तर, वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सो आवमा १० अर्ब ५३ करोड रुपैयाँमात्रै नाफा गरेको देखाएका छन् ।  प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा नियुक्त भएपछि शाक्यले श्वेतपत्र पनि जारी गरेका थिए । उनले श्वेतपत्रमार्फत प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ नोक्सानीमा रहेको देखाएका थिए ।  निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले ४७ अर्ब सञ्चित नाफा र चालु आवको ६ महिनासम्म ११ अर्ब बढी नाफा रहेको वित्तीय विवरण सार्वजनिक गरेको भए पनि शाक्यले भने प्राधिकरण नोक्सानमा रहेको तथ्यांक सार्वजनिक गरेका थिए ।  श्वेतपत्रमा आव २०८०/०८१ सम्म प्राधिकरणको कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रुपैयाँ रहेको उल्लेख थियो भने गत आव २०८१/८२ को फागुन मसान्तसम्म ९ अर्ब ४८ करोड रुपैयाँ नाफा रहेको श्वेतपत्रमा उल्लेख थियो ।   शाक्यले श्वेतपत्र मार्फत नै फागुनसम्म प्राधिकरण ९ अर्ब ४८ करोड रुपैयाँ खुद नाफामा रहेको देखाए पनि असार मसान्तसम्म भने ९ अर्ब ७ करोड रुपैयाँ मात्रै रहेको उल्लेख गरेका छन् । यसले उनी प्राधिकरणको नेतृत्वमा आएपछि नाफा झन घटेको बुझ्न सकिन्छ । 

ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ को बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ ।  सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो । ग्लोबल आइएमई बैंकले ग्राहकहरूलाई प्रदान गर्दै आएको सेवा, वित्तीय अवस्था, संस्थागत सामाजिक उत्तरदायित्व, बैंकिङ क्षेत्रमा भित्र्याएको नयाँनयाँ प्रविधि, वातावरणीय, सामाजिक तथा सुशासनका क्षेत्रहरुमा बैंकले गरेको लगानी तथा बैंकको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको हो ।  युरो मनी म्यागजिन बैंकिङ क्षेत्रको गहिरो विश्लेषण र समालोचनाका लागि प्रख्यात छ । युरो मनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरू छन् ।  यो वर्षको अवार्डसँगै ग्लोबल आइएमई बैंक तेश्रो पटक बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो । यसअघि पनि ग्लोबल आइएमई बैंकले युरो मनी अवार्ड फर एक्सलेन्स २०२२ र २०२४ मा बेस्ट बैंक अवार्ड प्राप्त गरेको थियो ।  यस अघि ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ र २०२५ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंक, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२ र २०२४ मा बेष्ट बैंकको रुपमा सम्मानित भएको थियो ।  ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

विद्यार्थीलाई आत्मनिर्भर बनाउन विद्यालयमा आधुनिक खेती प्रणालीको अभ्यास

भोजपुर । भोजपुरका सामुदायिक विद्यालयले विद्यार्थीलाई अभ्यासमूलक प्राविधिक शिक्षा दिन सुरु गरेका छन् । राज्यको नीतिअनुसार यहाँका विद्यालयहरूले कृषिलगायतका प्राविधिक विषयमा व्यावहारिक ज्ञान प्रदान गर्न थालेका हुन् । भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयले भाडामा जग्गा लिएर विद्यार्थीलाई अभ्यासमूलक कृषि शिक्षण गराउँदै आएको छ । यहाँका कक्षा ९ देखि १२ सम्म कृषि बाली विज्ञान अध्ययन गरिरहेका विद्यार्थीलाई व्यावहारिक शिक्षणमा जोड दिइएको हो । विद्यालय नजिकै १५ रोपनी जग्गा लिजमा लिएर आधुनिक तथा प्रविधिमैत्री खेती प्रणालीको ज्ञान र सीप प्रदान गर्ने काम भइरहेको विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीले जानकारी दिए । उनका अनुसार विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमात्र नभई जीवनोपयोगी सीप दिने उद्देश्यले अभ्यासमार्फत शिक्षण गराइँदै आएको छ । 'हामीले विद्यार्थीलाई अभ्यासमूलक शिक्षणमा जोड दिएका छौँ', प्रधानाध्यापक रेग्मीले भने, 'अहिलेको आवश्यकता प्राविधिक शिक्षाको हो । अध्ययन सकेपछि कुनै न कुनै कृषि उद्यममा संलग्न होस् भन्ने उद्देश्यले यो पद्धति अपनाएका हौँ ।' शिक्षालाई परम्परामुखीभन्दा पनि व्यावहारिक र प्रविधियुक्त बनाउन विद्यालयले प्राविधिक शिक्षाको थालनी गरेको उनको भनाइ छ । विगतमा राज्यबाट सञ्चालित ‘पढ्दै कमाउँदै’ कार्यक्रम निकै उपयोगी भए पनि हाल त्यो कार्यक्रम हटाइएकाले विद्यार्थी मारमा परेको उनको टिप्पणी छ । यस्ता उपयुक्त कार्यक्रमलाई पुनः निरन्तरता दिन आवश्यक रहेको बताए । कृषि विषयका विद्यार्थीले कक्षा ९ देखि १२ सम्म कृषिसम्बन्धी १६ वटा विषय अध्ययन गरिरहेका छन् । कृषिअन्तर्गत प्राविधिक शिक्षा पढ्न चाहनेले कक्षा ९ बाटै प्रवेश गर्नुपर्ने विद्यालयका बाली विज्ञान प्रशिक्षक सुलोचना गिरीले जानकारी दिए । व्यावहारिक अभ्यास कार्यस्थलमा विद्यार्थीलाई आधुनिक तरिकाले धान, मकै, विभिन्न जातका तरकारी, च्याउखेती, मौरीपालन, माछापालनलगायतका बारेमा ज्ञान दिइन्छ । साथै जैविक विषादी निर्माण, कृषि बालीमा लाग्ने रोग, कीरा र उपचार पद्धतिबारे पनि अभ्यास गराइन्छ । 'हामीले विद्यार्थीलाई सबै खालका खेती प्रणालीको अभ्यासमूलक ज्ञान दिँदै आएका छौँ', प्रशिक्षक गिरीले भने, 'विद्यार्थीले यहाँ सिकेको सीपले भविष्यमा आत्मनिर्भर जीवनयापन गर्न सकून् भन्ने हाम्रो लक्ष्य हो ।' आफ्नै विद्यालयमा प्राविधिक शिक्षा पाउँदा सहजता भएको कक्षा १२ की छात्रा विविहाङमा राईले बताए । अभ्यासका माध्यमबाट शिक्षण हुने भएकाले सीप आर्जन गर्न सजिलो भएको उनको भनाइ छ । विसं २०७४ देखि बाली विज्ञान व्यावहारिक शिक्षा सुरु भएको विद्यालयले जनाएको छ । हाल यहाँ ३२ जना विद्यार्थी बाली विज्ञान प्राविधिक शिक्षा लिइरहेका छन् । रासस

सुक्खा पहिराले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड खुल्यो

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा सुक्खा पहिरो खस्दा अवरुद्ध भएको सडक खुलेको छ । इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा आज बिहान सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएसँगै सडकमा दुईतर्फी यातायात सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले पहिरो पन्छाएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका जानकारी दिए ।