विद्यार्थीलाई आत्मनिर्भर बनाउन विद्यालयमा आधुनिक खेती प्रणालीको अभ्यास
भोजपुर । भोजपुरका सामुदायिक विद्यालयले विद्यार्थीलाई अभ्यासमूलक प्राविधिक शिक्षा दिन सुरु गरेका छन् । राज्यको नीतिअनुसार यहाँका विद्यालयहरूले कृषिलगायतका प्राविधिक विषयमा व्यावहारिक ज्ञान प्रदान गर्न थालेका हुन् । भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयले भाडामा जग्गा लिएर विद्यार्थीलाई अभ्यासमूलक कृषि शिक्षण गराउँदै आएको छ । यहाँका कक्षा ९ देखि १२ सम्म कृषि बाली विज्ञान अध्ययन गरिरहेका विद्यार्थीलाई व्यावहारिक शिक्षणमा जोड दिइएको हो । विद्यालय नजिकै १५ रोपनी जग्गा लिजमा लिएर आधुनिक तथा प्रविधिमैत्री खेती प्रणालीको ज्ञान र सीप प्रदान गर्ने काम भइरहेको विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीले जानकारी दिए । उनका अनुसार विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमात्र नभई जीवनोपयोगी सीप दिने उद्देश्यले अभ्यासमार्फत शिक्षण गराइँदै आएको छ । 'हामीले विद्यार्थीलाई अभ्यासमूलक शिक्षणमा जोड दिएका छौँ', प्रधानाध्यापक रेग्मीले भने, 'अहिलेको आवश्यकता प्राविधिक शिक्षाको हो । अध्ययन सकेपछि कुनै न कुनै कृषि उद्यममा संलग्न होस् भन्ने उद्देश्यले यो पद्धति अपनाएका हौँ ।' शिक्षालाई परम्परामुखीभन्दा पनि व्यावहारिक र प्रविधियुक्त बनाउन विद्यालयले प्राविधिक शिक्षाको थालनी गरेको उनको भनाइ छ । विगतमा राज्यबाट सञ्चालित ‘पढ्दै कमाउँदै’ कार्यक्रम निकै उपयोगी भए पनि हाल त्यो कार्यक्रम हटाइएकाले विद्यार्थी मारमा परेको उनको टिप्पणी छ । यस्ता उपयुक्त कार्यक्रमलाई पुनः निरन्तरता दिन आवश्यक रहेको बताए । कृषि विषयका विद्यार्थीले कक्षा ९ देखि १२ सम्म कृषिसम्बन्धी १६ वटा विषय अध्ययन गरिरहेका छन् । कृषिअन्तर्गत प्राविधिक शिक्षा पढ्न चाहनेले कक्षा ९ बाटै प्रवेश गर्नुपर्ने विद्यालयका बाली विज्ञान प्रशिक्षक सुलोचना गिरीले जानकारी दिए । व्यावहारिक अभ्यास कार्यस्थलमा विद्यार्थीलाई आधुनिक तरिकाले धान, मकै, विभिन्न जातका तरकारी, च्याउखेती, मौरीपालन, माछापालनलगायतका बारेमा ज्ञान दिइन्छ । साथै जैविक विषादी निर्माण, कृषि बालीमा लाग्ने रोग, कीरा र उपचार पद्धतिबारे पनि अभ्यास गराइन्छ । 'हामीले विद्यार्थीलाई सबै खालका खेती प्रणालीको अभ्यासमूलक ज्ञान दिँदै आएका छौँ', प्रशिक्षक गिरीले भने, 'विद्यार्थीले यहाँ सिकेको सीपले भविष्यमा आत्मनिर्भर जीवनयापन गर्न सकून् भन्ने हाम्रो लक्ष्य हो ।' आफ्नै विद्यालयमा प्राविधिक शिक्षा पाउँदा सहजता भएको कक्षा १२ की छात्रा विविहाङमा राईले बताए । अभ्यासका माध्यमबाट शिक्षण हुने भएकाले सीप आर्जन गर्न सजिलो भएको उनको भनाइ छ । विसं २०७४ देखि बाली विज्ञान व्यावहारिक शिक्षा सुरु भएको विद्यालयले जनाएको छ । हाल यहाँ ३२ जना विद्यार्थी बाली विज्ञान प्राविधिक शिक्षा लिइरहेका छन् । रासस
सुक्खा पहिराले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड खुल्यो
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा सुक्खा पहिरो खस्दा अवरुद्ध भएको सडक खुलेको छ । इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा आज बिहान सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएसँगै सडकमा दुईतर्फी यातायात सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले पहिरो पन्छाएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका जानकारी दिए ।
प्रादेशिक अस्पताल सिरहा : ‘डायलाइसिस’ सेवा लिन दिनहुँ २० जना बिरामी पालो पर्खिनुपर्ने बाध्यता
सिरहा । प्रादेशिक अस्पताल सिरहामा डायलाइसिस सेवा लिनका लागि बिरामीको चाप अत्याधिक बढेको छ । अस्पतालले विगत तीनवर्षदेखि सो सेवा सञ्चालन गर्दै आएको छ । बिरामीको चाप वढेसँगै सेवा विस्तारका लागि स्रोत साधनको अभाव देखिएको छ । अस्पतालमा हाल १० डायलाइसिस उपकरण मार्फत सेवा दिइँदै आएको छ । अस्पताल प्रमुख डा सुनिलप्रसाद कुशवाहाका अनुसार दैनिक १० जना बिरामीले सेवा लिइरहेका भए तापनि अन्य कम्तीमा २० जना बिरामी दिनहुँ पालो पर्खिरहेका हुन्छन् । 'मिर्गौला प्रत्यारोपण सम्भव नभएको अवस्थामा डायलाइसिस नै एकमात्र अस्थायी समाधान हो । तर बिरामीको चापले गर्दा उपचारका क्रममा कोही बिरामीको मृत्यु भएपछि मात्र नयाँ बिरामीलाई पालो मिल्ने अवस्था छ', उनले भने । यस अस्पतालमा निःशुल्क डायलाइसिस सेवा दिइँदै आएको छ । निजी क्षेत्र वा अस्पताल बाहिर एक सत्रको डायलाइसिस सेवा रु सात हजारसम्म पर्न सक्ने हुँदा आर्थिक रूपमा कमजोर बिरामीका लागि सिरहा अस्पताल भरोसाको केन्द्र बनेको छ । यद्यपि सेवा प्रभावकारी भए पनि अस्पतालले ९८ प्रकारका आवश्यक औषधिको अभाव, रगत अभाव र उपकरण अभाव झेलिरहेको छ । डा कुशवाहाका अनुसार मधेस प्रदेश सरकारले करोडौँ मूल्यका उपकरण उपलब्ध गराए पनि अझै पनि डायलाइसिस सेवा सुदृढ बनाउन करोडौँ मूल्यका उपकरणको अभाव छ । हालको उपकरणको सङ्ख्या बिरामीको सङ्ख्या तुलनामा अपुग भएको र बिरामीलाई सेवा दिन थप उपकरण, जनशक्ति र औषधि आपूर्ति आवश्यक भएको अस्पताल प्रशासनले बताएको छ । रासस
दुई करोड ३० लाखको लागतमा कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण
बनियानी । झापाको कनकाई नगरपालिका–४ स्थित कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण गरिएको छ । कोशी प्रदेश सरकार, कनकाई नगरपालिका र विभिन्न दाताको सहयोगमा रु दुई करोड ३० लाखको लागतमा कन्काई नदीको पूर्वी तटमा विद्युतीय शवदाह गृहको निर्माण सम्पन्न भएको हो । विद्युतीय शवदाह गृहमा कोशी प्रदेश सरकारको रु दुई करोड, नगरपालिकाको रु २० लाख र विभिन्न दाताको रु १० लाख लगानी रहेको छ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले विद्युतीय शवदाह गृह कनकाई नगरपालिकाले सञ्चालन गर्नेगरी प्रदेश सरकारसँग सम्झौता भएको जानकारी दिए । 'शवदाह गृह सञ्चालनका लागि कार्यविधि नै बनाएका छौँ', उनले भने, 'एक साताभित्रै विधिवत रूपमा सञ्चालन गर्ने तयारी भइरहेको छ ।' कन्काई घाट व्यवस्थापन समितिका महासचिव एवं विद्युतीय शवदाह गृह पूर्वाधार निर्माण समितिका संयोजक गोपाल खरेलले भारतीय प्राविधिक टोलीले विद्युतीय शवदाह गृह निर्माणको काम सम्पन्न गरेर फर्किसकेको जानकारी दिए । गत साउन २७ गते परीक्षणका क्रममा झापा गाउँपालिका पन्थापाडाकी ८० वर्षीया हेमती राजवंशीको शव दहन गरिएको उनले बताए । विद्युतीय शवदाह गृहबाट एउटा शव दहन हुन करिब ५० मिनेट लाग्ने उनले बताए । दाउराको प्रयोग गरेर शव दहन गर्दा तीनदेखि साढे तीन घण्टा लाग्ने उनले बताए । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा ल्याएको बजेटमा कनकाई नदीमा स्थानीय तहको सहकार्यमा विद्युतीय शवदाह गृह निर्माणका लागि रु दुई करोड बजेट विनियोजन गरेको थियो । निर्माण सम्पन्न भएसँगै कनकाई नदीमा विद्युतीय शवदाह गृह निर्माणका लागि स्थानीयस्तरबाट उठेको माग सम्बोधन भएको छ । विसं २०६७ मा स्थापना भएको कनकाई घाटमा हालसम्ममा पाँचवटा चितास्थल सञ्चालनमा छ । विद्युतीय शवदाह गृह सञ्चालनमा आएपछि दाहसंस्कारमा प्रयोग गरिने दाउरा र समयको बचत हुने छभने वातावरण संरक्षणमा पनि मद्दत मिल्ने जनाइएको छ । रासस
बेनी प्रदेश अस्पताल : नयाँ भवनबाट अन्तरङ्ग र बहिरङ्ग सेवा
म्याग्दी । प्रदेश अस्पताल बेनीले अन्तरङ्ग र बहिरङ्ग विभागको सेवा नयाँ भवनबाट थालिएकोे छ । करिब आठ वर्ष अस्थायी भवनको साँघुरा भवनका कोठाबाट सञ्चालन हुँदै आएको उपचारकक्ष नयाँ भवनमा स्थानान्तरण भएपछि बिरामीको उपचार सहज भएको छ । प्रदेश अस्पतालका प्रमुख डा रविरञ्जन प्रधानले नयाँ भवनको भुइँतलामा बहिरङ्ग र पहिलो तलामा अन्तरङ्ग सेवा सञ्चालन गरेको जानकारी दिए । 'पुराना र अस्थायी भवनका साँघुरा कोठामा बिरामीलाई कठिन र स्वास्थ्यकर्मी तथा चिकित्सकलाई अप्ठ्यारो पर्नु स्वाभाविक थियो', उनले भने, 'व्यवस्थापकीय चुनौतीलाई चिर्दै शल्यक्रिया, प्रसूति र फार्मेसी कक्षलाई पनि नयाँ भवनमा सार्ने तयारीमा छौँ ।' अस्पताल व्यवस्थापन समितिमार्फत भवन निर्माण गर्ने कार्यालय र निर्माण व्यवसायीसँग समन्वय गरेर नयाँ भवनमा सेवा सञ्चालन गर्न उपसमिति गठन गरेर पहल गरिएको प्रमुख डा प्रधानले बताए । ज्येष्ठ नागरिक, बालबालिका, महिला, पुरुष र शल्यक्रिया गरेका बिरामीका लागि छुट्टाछुट्टै उपचारकक्षको व्यवस्था गरिएको छ । अन्नपूर्ण गाउँपालिका–१ दोवाका अमृत गर्बुजाले नयाँ भवनमा सेवा पाउँदा सहज भएको बताए । विसं २०७२ मा १५ बाट ५० शय्यामा स्तरोन्नति भएको बेनी अस्पताल विस्तारित क्षमताअनुसारको भवन निर्माणमा ढिलाइ हुँदा सेवा प्रवाहमा समस्या भएको थियो । पक्की भवन बनाउनका लागि २०७४ सालमा पुरानो बहिरङ्ग विभागको भवन भत्काएपछि अस्थायी भवन बनाएर सेवा सञ्चालन गरिएको थियो । तीनवटामध्ये प्रयोग गर्न मिल्ने भएको एउटा भवनलाई प्रयोगमा ल्याएको र बाँकी भवनलाई पूर्णता दिन ताकेता गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएकी जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले जानकारी दिए । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले अस्पताल भवन निर्माणका लागि निर्माण कम्पनी र सहरी विकास तथा भवन आयोजना बागलुङसँग २०७३ मङ्सिर २१ गते सम्झौता भएको थियो । रु १८ करोड ८४ लाख आठ हजार ८९ मा ठेक्का सम्झौता भएको योजना लक्ष्यअनुसार २०७६ मङ्सिर २० गते सम्पन्न हुनुपर्ने थियो । पञ्चानब्बे प्रतिशत भौतिक प्रगति भएको बेनी अस्पतालको भवन निर्माण यही भदौभित्र सम्पन्न गरी हस्तान्तरण गर्ने लक्ष्य रहेको आयोजना प्रमुख कृष्णकुमार मर्हजनले बताए । चार हजार ९६३ वर्गमिटर क्षेत्रफलमा निर्माण गरिएको चारतले तीनवटामध्ये दुईवटा भवनको भित्री भाग पलास्टर र रङरोगन गर्न, विद्युत्, पानी जडान गर्न, झ्यालढोका र टायल राख्ने काम अन्तिम चरणमा पुगेको छ । अस्पताल प्रवेश गर्ने र बाहिरिने पाँच सय मिटर सडक प्रिमिक्स कालोपत्र गरिएको छ । भूकम्प प्रतिरोधी क्षमताको भवन अपाङ्गमैत्री छ । भवनको भुइँतलामा लोन्डरी, मोर्टुअरी, किचन, पहिलो तलामा आकस्मिक, प्रयोगशाला, रेडियोलोजी, पहिलो तलामा शल्यक्रिया कक्ष, बहिरङ्ग सेवा र अन्तिम तलामा प्रशासन रहने जनाइएको छ । रासस
भदौ १८ गतेदेखि आरविवि फोकस ४० म्युचुअल फण्ड बिक्री गर्ने
काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ्गले भदौ १८ गतेदेखि आरविवि फोकस ४० म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सामूहिक लगानी कोष आरविवि फोकस ४० बिक्री गर्ने भएको हो । कम्पनीले १ अर्ब रुपैयाँको प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई बिक्री गर्नेछ । जसमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रबद्र्धक राष्ट्रिय वाणिज्य बैंक र १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङ्गलाई सुरक्षित राखि बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री गर्नेछ । कम्पनीको म्युचुअल फण्डमा १०० देखि १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । कम्पनीको इकाईमा भदौ २२ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो अवधिमा पूर्ण बिक्री नभए असोज १ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । केयर रेटिङ्ग नेपालले कोष प्रवर्द्धकलाई केयर एनपी ए प्लस इस्यूअर रेटिङ्ग दिएको छ भने योजना व्यवस्थापकलाई इक्रा नेपालले इक्राएनपी एएमसी क्वालिटी ३ रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्ने छन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले आजसम्म सागर डिष्टिलरीको सेयर खरिद गर्न सक्ने
काठमाडौं । सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने आज भदौ १ गते अन्तिम दिन रहेको छ । साउन २८ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत अर्थात् १४ करोड ५२ लाख रुपैयाँको आईपीओ बिक्री गरेको हो । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १४ लाख ५२ हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात् १ करोड ४५ लाख २० हजार रुपैयाँको १ लाख ४५ हजार २ सय कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम् १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिङ्गल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
प्रभु सेलेक्टको १२ प्रतिशत र प्रभु स्मार्टको १० प्रतिशत लाभांश घोषणा
काठमाडौं । प्रभु क्यापिटलले २ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरको छ । कम्पनीको सञ्चालक समितिको साउन ३० गते बसेको बैठकले प्रभु म्युचुअल फण्ड अन्तर्गतका २ वटा फण्डको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीका अनुसार गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट प्रभु सेलेक्ट फण्डका इकाईधनीलाई करसहित १२ प्रतिशत र प्रभु स्मार्ट फण्डका इकाईधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।