धितोपत्र बोर्डले रोक्यो सामुदायिक लघुवित्तको आईपीओ, मंगलबार निष्कासन नहुने
काठमाडौं । धितोपत्र बोर्डले सामुदायीक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन रोकेको छ । नेपाल राष्ट्र बैंकले रोक्न पत्राचार गरेपछि तत्कालका लागि आईपीओ निष्कासन स्थगन गर्न निर्देशन दिएको बोर्डका निर्देशक निरन्जय घिमिरेले बताए ।संस्थाले पुस ९ गते मंगलबार ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको थियो । धितोपत्र बोर्डले आईपीओ निष्कासन तत्काल रोक्न निर्देशन दिएपछि हाललाई स्थगन गरिएको संस्थाले जनाएको छ । मंगलबारदेखि आईपीओ निष्कासन गरी शुक्रबार बन्द गर्ने संस्थाकाे तयारी थियो । बोर्डले अनुमति दिएपछि मात्र आईपीओ निष्कासन हुने सामुदायिकले जनाएको छ ।तत्कालका लागि आईपीओ निष्कासनको सबै काम स्थगन भएको संस्थाले जनाएको छ । सामुदायिकमा ७ करोड रुपैयाँ अर्थात ७ लाख कित्ता संस्थापक लगानी रहेको छ । आइपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।
रेनो एक्सपेरियन्स मेला सुरु, क्विड, डस्टर र लजी मोडलहरुमा एक्सचेन्ज उपलब्ध
काठमाडौं। नेपालमा रेनोको आधिकारिक बितरक, एडभान्स अटोमोबाईल प्रालि (विशाल समूहको सहायक कम्पनी)ले रेनो कार प्रेमीहरुका लागि माघ ७ गते(आज) देखि माघ १४ गतेसम्म नेपाल भर ‘रेनो एक्सपेरियन्स मेला’ सुरु गरेको छ । ‘एक्सचेन्जमा दम छ, एक्साइटमेन्ट फुल अन छ’ भन्ने ट्यागलाईनका साथ अटोमोबाइल ग्राहकहरुलाई ध्यानमा राखेर उक्त मेला आयोजना गरेएको कम्पनीको भनाइ छ । कम्पनीको अनुसार मेलामा पुरानो कार प्रयोगकर्ताले रेनोको नयाँ कार एक्सचेन्ज गर्न सक्ने व्यवस्था रहेको जनाइएको छ । रेनोको क्विड, डस्टर र लजी मोडलहरुमा एक्सचेन्ज उपलब्ध हुनेछ । त्यस्तै एक्सचेन्ज अभियानअन्तर्गत ग्राहकलाई एक लाख रुपैयाँ बराबरसम्मको एक्स्चेन्ज बोनस, २ बर्षसम्मको लागी फ्री सर्भिसिङ्ग, एक बर्षको लागि बीमा, निशुल्क एसोसोरिज, एक आर्थिक वर्षभरीका लागि सडक कर फ्री, स्पट फाइनान्स, तुरुन्त मुल्याङ्कन र एक्सचेन्ज, नगद छुट लगायत अफर राखिएको जनाएको छ । मेलाले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द समेत प्रदान गर्ने कम्पनीको भनाइ छ । कम्पनीले जाडो यामका लागि लक्षित गरि ल्याएको ‘रेनो सुप्पर हिट’ स्किम पनि अहिले सञ्चालन भइरहेकोे जनाएको छ ।
स्मार्टफोन र ट्याबलेट बिक्री गर्दै आएको हुवावेले, अब म्याटबुक ल्याउदै
काठमाडौं। लोकप्रिय ब्राण्ड हुवावेले अब म्याटबुक भित्र्याउने भएको छ । अहिलेसम्म नेपालमा स्माटफोन र ट्याबलेट बिक्री गर्दै आएको हुवावेले ग्राहकहरुको माग र रुचिलाई ध्यानमा राखेर म्याटबुक भित्र्याउन लागेको हो । नेपालको लागि हुवावेको आधिकारीक बिक्रेता कल मोबिलिटीका मार्केटीङ म्यानेजर रोशन न्यौपानेले हुवावेले भित्र्याउने म्याटबुक ‘क्यान इन्फोटेक’ मेलाको अवसरमा सार्वजनिक गरिने बताए । ‘सार्वजनिक गरिने म्याटबुकको मूल्य १ लाख ७० हजार रुपैयाँको हाराहारीमा हुनेछ,’ उनले भने ‘हालसम्म हुवावेले स्मार्टफो, ट्याबलेट बिक्री गर्दै आएकोमा ग्राहकहरुको माग अनुसार अब म्यटबुक बिक्री गर्न लागेको हो ।’ म्याटबुक झन्डै ल्यापटप जस्तै हुन्छ । म्याटबुकमा टचस्क्रीन हुन्छ भने, ल्यापटपमा हुदैन । साथै म्याटबुक ल्यापटभन्दा पातलो हुन्छ । बोक्नको लागि सजिलो हुन्छ । सार्वजनि गरिने म्याटबुकको बारेमा विस्तृत जानकारी नजिकिदै गरेको क्यान इन्फोटेक मेलामा गरिने मार्केटीङ म्यानेजर न्यौपानेको भनाइ छ ।
निजगढ विमानस्थल निर्माणमा दुई मोडल प्रस्ताव
काठमाडौँ । सरकारले राष्ट्रिय गौरवको आयोजना निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा दुई फरक ढाँचा (मोडेल) प्रस्ताव गरेको छ । सार्वजनिक–निजी साझेदारी वा इन्जिनियरिङ, खरिद, निर्माण र वित्त व्यवस्थापन (इपिसिएफ) दुवै ढाँचामा निर्माण गर्न सकिने गरी प्रस्ताव तयार पारिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको यी प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृति दिएको सचिव महेश्वर न्यौपानेले जानकारी दिए । अर्थको स्वीकृतिपछि विमानस्थल निर्माणको प्रस्ताव राष्ट्रिय योजना आयोगमा छलफलको क्रममा छ । आयोगको सहमतिपछि मन्त्रिपरिषद्ले निर्माणका विषयमा आवश्यक निर्णय गर्ने सचिव न्यौपानेको भनाइ छ । मन्त्रालयले विज्ञ तथा सरोकार भएकासँग पनि विमानस्थल निर्माणमा साझा धारणा बनाउने भएको छ । लामो समयदेखि चर्चा रहे पनि काम शुरु हुन नसकेको यो आयोजनालाई अगाडि बढाउने लक्ष्यका साथ सरकारले विमानस्थलको चार किल्ला छुट्याएर तारबार गरिसकेको छ । नेपाली सेनाले विमानस्थलको चार किल्लाभित्र रहेको रुख÷बिरुवा हटाउन लागेको छ । यसको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदनसमेत तयार भइसकेको छ । रुख कटान स्वीकृतिपछि सेनाले छिट्टै आवश्यक काम शुरु गर्ने तयारी गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा उक्त विमानस्थल निर्माण गर्न लागिएको भए पनि पोखरा र गौतमबुद्ध विमानस्थलको काम अगाडि बढिसकेको छ । तर निर्माण ढाँचाको विषयमा लामो समयसम्म अल्झिनुपर्दा आयोजनाको अघि बढ्न नसकेको हो । सचिव न्यौपानेले सबै प्रक्रिया पु¥याएर विमानस्थल निर्माणको काम शुरु गर्ने तयारीमा सरकार रहेको बताए। “अब चर्चामा होइन, काम नै शुरु हुन्छ । हामी त्यसको प्रक्रियामा लागेका छौँ,” सचिव न्यौपानेले भने । कोरियाली परामर्शदाता कम्पनी ल्याण्डमार्क बल्र्डवाइडले सन् २०१० मा आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार पारेको थियो । विमानस्थलमा पहिलो चरणमा एउटा धावन मार्ग र टर्मिनल निर्माण गर्ने योजना छ । करिब १ खर्ब २१ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो विमानस्थल सरकार आफैँले निर्माण गर्ने प्रस्ताव पारित भएको पनि लामै समय भयो तर निर्माण ढाँचामा सहमति नजुट्दा काम भने देखिने गरी हुन सकेको छैन । कोरियाली कम्पनीले तयार पारेको प्रतिवेदनअनुसार विमानस्थल निर्माणका लागि ११ हजार ८७ बिगाहा जमिन अधिग्रहण गर्नुपर्ने हुन्छ । आयोजना प्रभावित बारा गढीमाई नगरपालिका–१६ मा रहेको टाँगिया बस्तीका एक हजार ४०० घरघुरीलाई स्थानान्तरण गर्नुपर्ने हुन्छ । रुख हटाउन ८० करोड नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले नेपाली सेनालाई वन फँडानी र सेरोफेरो सडक निर्माणका लागि ८० करोड रुपैयाँ निकासा गर्ने तयारी भइरहेको जानकारी दिए। उनले प्राधिकरणले सो आयोजनालाई प्रमुख प्राथमिकतामा राखेर काम गरेको बताए पनि आयोजना प्रमुख तोक्ने वा प्रबन्धक राख्ने भन्ने विषयमा सहमति हुन नसकेको स्वीकारे । हाल निर्माणाधीन गौतमबुद्ध विमानस्थलको आयोजना प्रमुख नहुँदा काममा समस्या भएको छ । राष्ट्रिय योजना आयोगको केही दिन पहिले सम्पन्न राष्ट्रिय समस्या समाधान समितिको बैठकमा समेत सो विषयले प्रवेश पाएको थियो । तत्कालीन आयोजना प्रमुख ओम शर्माको कार्यावधि सकिएपछि अर्को प्रमुख तोकिएको छैन । सो विमानस्थल निर्माणको विषयमा कस्तो व्यक्तिलाई पठाउने भन्नेमा प्राधिकरणले हालसम्म निर्णय गर्न सकेको छैन । निर्णय नहुँदा सो विमानस्थलको अलावा निजगढ र पोखरा विमानस्थलको कामसमेत प्रभावित हुन सक्ने देखिएको छ । प्रवक्ता श्रेष्ठले जनशक्ति र उपकरणको उचित व्यवस्थापन गरिएका कारण गौतमबुद्ध विमानस्थलको काम युद्धस्तरमा अगाडि बढेको बताए। लामो समय आयोजना र ठेकेदारका बीचमा रहेको विवादका कारण आयोजनामा समस्यामा परेको थियो । पछिल्लो समय चिनियाँ ठेकेदारले द्रुत रुपमा काम अगाडि बढाएको छ । यो विमानस्थल आगामी एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको प्रवक्ता श्रेष्ठको भनाइ छ । रासस
प्राकृतिक स्रोत वित्त आयोगले थाल्यो काम
काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले काम थालेको छ । सरकारले कामू सचिवमा वैकुण्ठ अर्याललाई पठाएपछि आयोगले औपचारिक रुपमा काम थालेको हो । आइतबारदेखि आयोगको काम सुरु भएको सचिव अर्यालले बताए । आजदेखि औपचारिक रुपमा कार्यलय सञ्चालनमा आएकाले अब आयोगको काम सुरु भएको उनको भनाई छ । आयोगको अध्यक्ष र सदस्य नियुक्त हुन बाँकी छ । सरकारले संघीयता कार्यन्वयनका लागि संवैधानिक व्यवस्थाअनुसार प्राकृतिक स्रोत बाँडफाँड गर्नका लागि आयोग गठन गरेको हो ।
सनराइज बैंकको थप तीनवटा शाखा विस्तार, शाखा संख्या ७५ पुग्याे
काठमाडौं । सनराइज बैंक लिमिटेडले आईतबार आफ्नो तीनवटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले एकैदिन पर्साको बिन्दबासिनी, ताप्लेजुङ्गको मौवाखोला र बाकेँको नरैनापुरमा एक समारोहका बीच उद्घाटन गरेको छ । विन्दवासिनी गाउँपालिका अध्यक्ष लालसाह कानु र वरिष्ठ नायब महाप्रबन्धक आशा राणा अधिकारीले विन्दवासिनी शाखा र मौवाखोला गाउँपालिका अध्यक्ष राज कुमार थात्लुङ र बैंकका नायब महाप्रबन्धक रविन कुमार नेपालले मौवाखोला शाखाको संयुक्त रुपमा उद्घाटन गरेका छन् । त्यसैगरी, नरैनापुर गाउँपालिकाका अध्यक्ष इसितियाक अहमद शाह र नेपाल राष्ट्र बैंक नेपालगञ्जका संचालक गुरु पौडेलले नरैनापुर शाखाको उद्घाटन गरेका छन् । यी तीन शाखा समेत बैंकको शाखा संख्या ७५ वटा पुगेको छ । साथसाथै, बैंकको नेपाल अधिराज्य भर ९१ वटा एटिएम, ३ वटा एक्स्टेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा २० वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । सम्भावित क्षेत्रमा आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउने अभिप्रायले चाँडै नै थप शाखाहरु संचालन गर्ने बैंकले जनाएको छ ।
६ सय मिटर लामो ट्रयाकको डर्ट बाइक रेसमा कार्कीले बाजी मारे
काठमाडौं। डर्ट बाइक रेस प्रतियोगिता ‘मोटो ट्रयाक २०७४’ मा प्रशान्त जङ्ग कार्कीले बाजी मारेका छन् । ललितपुरको सुनाकोठी स्थित मोटो ट्रयाकमा शनिबार सो रेस प्रतियोगिता सम्पन्न भएको थियो । विनोद कठायत र भीम होना क्रमशः फस्र्ट रनर अप र सेकेन्ड रनर अप भएका छन् । प्रोपर सेफ्टी गियरको उपाधि आशीष कुमार शाक्य र प्रवीण जङ्ग कार्कीले, पब्लिक च्वाइसको उपाधि दोर्जे छेवाङले र बेस्ट राइडरको उपाधि दीपेश क्षेत्रीले जितेका छन् । मोटर स्पोर्ट्स नेपाल र सुनाकोठी युथ एशोसिएशनको आयोजनामा सम्पन्न सो प्रतियोगिताको उद्घाटन प्रदेश सभा सदस्य राजकाजी महर्जनले गरेका थिए । १५० देखि २५० सिसीसम्मका डर्ट बाइकको रेस भएको थियो । ब्यक्तिगत रुपमा प्रतिस्पर्धा भएको प्रतियोगितामा क्रसफायर, क्रस एक्स, होन्डा, रिजु, यूएम, एसियन बिस्ट र बीएसई लगायतका नेपालमा भएका सबै डर्ट बाइक कम्पनीहरुको सहभागिता रहेको थियो । आयेजनका अनुसाार प्रतियोगिताका लागि ६ सय मिटर लामो ट्रयाक निर्माण गरिएको थियो । मुख्य प्रायोजक एसियन अटोमोबाइल्स रहेको प्रतियोगिताको विजेताहरुलाई नगद पुरस्कारका साथै पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको गियर ग्याजेट्स नेपालका इभेन्ट म्यानेजर विनोद तण्डुकारले जानकारी दिए ।
सिद्धार्थ बैंकले एकैदिन खोल्यो ४ नयाँ शाखा, गठ्ठाघर शाखाको स्थानान्तरण
काठमाडौं । सिद्धार्थ बैंकले एकैदिन ४ वटा नयाँ शाखा स्थापना गरेको छ । बैंकले आइतबार मात्रै सुनसरीको गढि गाउँपालिका, काभ्रेको रोसी गाउँपालिका, रुपन्देहिको मर्चवारी गाउँपालिका र तनहुको देवघाट गाउँपालिकामा नयाँ शाखा स्थापना गरेको हो । यी शाखाहरु मार्फत नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको नीति निर्णय बमोजिम स्थानीय सरकारको सम्पूर्ण खाता कारोवारको संचालन हुनेछ । त्यस्तै यी शाखाहरुबाट बैंकका अन्य शाखाहरुबाट जस्तै सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् । साथै, यी शाखाहरुबाट स्थानीय स्तरमा बैकिङ्ग पहुँच बढ्न गई स्थानीय बचत परिचालन, उद्यमशिलताको वृद्घि जस्ता आर्थिक गतिविधि बढ्ने विश्वास बैंकले लिएको छ । बैंकले निकट भविष्यमा नै बैंकिङ्ग पुहँच नपुगेका अन्य थप १० गाउँपालिका तथा नगरपालिकामा समेत शाखा विस्तार गर्ने योजना बनाएको छ । विभिन्न नयाँ शाखाहरुको स्थापनाका साथै बैंकले गठ्ठाघर शाखालाई गठ्ठाघरमै अवस्थित नयाँ आधुनिकतम भवनमा स्थानान्तरण गरेको छ । बैंकले छिटो, सरल र सहज बैंकिङ्ग सेवा ग्राहक समक्ष पुर्याउने उद्देश्यले उक्त शाखाको स्थानान्तरण गरेको हो । आइतबार एक कार्यक्रमकाबीच बैंकको प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले उक्त शाखा स्थानान्तरण कार्यक्रमको उद्घाटन गरेका हुन् । हालै सञ्चालनमा आएका शाखाहरु सहित बैंकले देशभर ३ एक्स्टेन्सन् काउन्टर, ८६ वटा शाखा, १०५ एटीएम, ९९ शाखारहित बैंकिङ्ग सेवा र ६५० भन्दा बढी पीओएस् मेसिन मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४/०७५ को पुस मसान्तसम्म बैंकले कुल निक्षेप ८५ अर्ब ५७ करोड रुपैयाँ र कर्जा लगानी ७६ अर्ब ९५ करोड रुपैयाँ गरेको छ ।