सुविसु क्यान इन्फोटेक मेलाको तयारी पूरा, विभिन्न २२२ स्टल रहने
काठमाडौं । माघ ११ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने २४ औं ‘सुविसु क्यान इन्फोटेक-२०१८’ को तयारी पूरा भएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय सूचना तथा संचार क्षेत्रको नयाँ प्रबिधि एकै छानामुनि खरिद बिक्री तथा जानकारी गराउने उद्देश्यले इन्फोटेकले उक्त मेला माघ १६ गतेसम्म गर्न लागेकाे हाे । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी आयोजकले मेलाको लागि गरिने सबै तयारी पूरा भएको जानकारी दिएको छ । महासंघको महासचिव रन्जीतकुमार पोदारले हालसम्म मुख्य प्रदर्शनी हलभित्र र बाहिर शतप्रतिशत स्टल बुकिङ भइसकेको बताए । ‘मेलामा आम जनमानमाझ विश्वमा विकास भएको सूचना तथा सञ्चारका पछिल्लो प्रविधि एकै छानामुनि राखिनेछ,’ उनले भने ‘जसबाट एकै छानामूनि विभिन्न प्रविधिहरुको कम्पनीले दिएको आफरमा प्रविधिहरुको खरिद-विक्री हुनका साथै जानकारी दिइने छ ।’ आयोजकका अनुसार मुख्य प्रदर्शनी हलभित्र ४९ वटा ठूला र हल बाहिर ५ वटा ब्रान्डिङ् प्रदर्शनी कक्षहरु रहनेछन् । साथै, ट्रसमा १४४, ओपन स्पेसहरु १४ र फुडस्टलहरु १० गरी जम्मा २२२ स्टलहरु रहने छन् । महासचिव पोदारका अनुसार मेलामा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई सीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स र अन्य को प्रदर्शनी राखिनेछ । उक्त मेला राजधानीमा मात्र नभएर राजधानी बाहिर चितवन, बुटवलको रुपन्देही, इटहरी र पोखरामा समेत गर्ने तयारी भइरहेको महासंघका अध्यक्ष हेमन्त चौरासियाले बताए । उनका अनुसार ती मुख्य सहरहरुमा माघ २५ गतेदेखि फागुन २८ गतेभित्रमा विभिन्न मितिमा ५/५ दिनको हुने जानकारी दिए । आयोजकले सर्वसाधारणको प्रवेश शुल्क रु १००, विद्यार्थीको लागि ५० रुपैयाँ तोकेको छ । माघ १४ गतेको दिनलाई ‘विजनेश डे’ को रुपमा घोषणा गरिएको छ । सो दिनको प्रवेश शुल्क सम्पूर्णलाई १०० रुपैयाँ तोकेको छ । टिकटको अनलाईन खरीदमा २० प्रतिशत छुटको व्यवस्था गरिएको आयोजकको भनाइ छ । सन १९९५ देखि काठमाडौंमा आयोजना हुँदै आएको यस क्यान इन्फोटेकको शीर्ष प्रायोजन सुविसु केबलनेट प्रालि रहेको छ ।
आइएमई फाउन्डेशनद्धारा शितलहर प्रभावितलाई ब्ल्याङ्केट वितरण
तराई । आइएमई फाउन्डेशनले विगत केहि दिनदेखि तराईंका विभिन्न स्थानमा चलेको शितलहरले प्रभावितहरुका लागि ब्ल्याङ्केट वितरण गरेको छ । प्रभावित घरपरिवारका सदस्यहरुलाई तत्काल राहत होस् भन्ने उद्देश्यका साथ यस फाउन्डेशनले तराईका आर्थिक रुपमा विपन्न एक सय घरपरिवारलाई ब्ल्याङ्केट वितरण गरेकाे हाे । आइएमई फाउन्डेसनबाट खटिएका प्रतिनिधिहरु र आइएमई ग्रुपका स्थानीय व्यवसायीक साझेदारहरुले सिरहास्थित गोलबजार नगरपालिका-०३, जम्दह रकल्याणपुर नगरपालिका-०७, भेडियाका साथै सप्तरीस्थित राजविराज नगरपालिका-०९,मलेठ र खड्क नगरपालिका-०३, बानरझुलामा रहेका प्रभावित घरपरिवारलाई साे मात्राकाे ब्ल्याङ्केट वितरण गरेको हाे । आइएमई फाउन्डेशनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शितलहरले प्रभावित परिवारहरुलाई राहत वितरण गर्ने निर्णय गरेको थियो । आइएमई फाउन्डेशन मिति २०६६ सालमा दर्ता भएको संस्था हो । आइएमई ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्वसँग सम्बन्धितक्रियाकलाप यही फाउन्डेशनमार्फत् गर्दै आएको छ ।
महालक्ष्मी विकास बैंकको बुटवल शाखा स्थानान्तरण
काठमाडौं । महालक्ष्मी विकास बैंक लि.ले रुपन्देहीको बुटवल शाखा स्थानान्तरण गरेको छ । बैंकले तिलोत्तको मनिग्राममा उक्त स्थाको शाखा स्थानान्तरण गरी आफ्नो सेवा सञ्चालनमा ल्याएकोे छ । बैँकको यस शाखाले स्थानीयस्तरमा उत्कृष्ठ सेवा प्रदान गर्ने प्रतिबद्धता बैँकले जनाएको छ । यस बैंकले पौष मसान्तसम्म २५ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
निजगढ विमानस्थल निर्माणमा दुई मोडल प्रस्ताव
काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा दुई फरक ढाँचा (मोडल) प्रस्ताव गरेको छ । सार्वजनिक-निजी साझेदारी वा इन्जिनियरिङ, खरिद, निर्माण र वित्त व्यवस्थापन (इपिसिएफ) दुवै ढाँचामा निर्माण गर्न सकिने गरी प्रस्ताव तयार पारिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको यी प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृति दिएको सचिव महेश्वर न्यौपानेले जानकारी दिए । अर्थ मन्त्रालयको स्वीकृतिपछि विमानस्थल निर्माणको प्रस्ताव राष्ट्रिय योजना आयोगमा छलफलको क्रममा छ । आयोगको सहमतिपछि मन्त्रिपरिषद्ले निर्माणका विषयमा आवश्यक निर्णय गर्ने सचिव न्यौपानेको भनाइ छ । मन्त्रालयले विज्ञ तथा सरोकार भएकासँग पनि विमानस्थल निर्माणमा साझा धारणा बनाउने भएको छ । लामो समयदेखि चर्चा रहे पनि काम शुरु हुन नसकेको यो आयोजनालाई अगाडि बढाउने लक्ष्यका साथ सरकारले विमानस्थलको चार किल्ला छुट्याएर तारबार गरिसकेको छ । नेपाली सेनाले विमानस्थलको चार किल्लाभित्र रहेको रुख/बिरुवा हटाउन लागेको छ । यसको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदनसमेत तयार भइसकेको छ । रुख कटानको स्वीकृतिका क्रममा रहेको र त्यो स्वीकृतिपछि सेनाले छिट्टै आवश्यक काम शुरु गर्ने तयारी गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा उक्त विमानस्थल निर्माण गर्न लागिएको भए पनि पोखरा र गौतमबुद्ध विमानस्थलको काम अगाडि बढिसकेको छ । तर निर्माण ढाँचाको विषयमा लामो समयसम्म अल्झिनुपर्दा आयोजनाको अघि बढ्न नसकेको हो । सचिव न्यौपानेले सबै प्रक्रिया पुर्याएर विमानस्थल निर्माणको काम शुरु गर्ने तयारीमा सरकार रहेको बताए । “अब चर्चामा होइन, काम नै शुरु हुन्छ । हामी त्यसको प्रक्रियामा लागेका छौँ,” सचिव न्यौपानेले भने । कोरियाली परामर्शदाता कम्पनी ल्याण्डमार्क बर्ल्डवाडले सन् २०१० मा आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार पारेको थियो । विमानस्थलमा पहिलो चरणमा एउटा धावन मार्ग र टर्मिनल निर्माण गर्ने योजना छ । करिब रु एक खर्ब २१ अर्ब लागत अनुमान गरिएको यो विमानस्थल सरकार आफैँले निर्माण गर्ने प्रस्ताव पारित भएको पनि लामै समय भयो तर निर्माण ढाँचामा सहमति नजुट्दा काम भने देखिने गरी हुन सकेको छैन । कोरियाली कम्पनीले तयार पारेको प्रतिवेदनअनुसार विमानस्थल निर्माणका लागि ११ हजार ८७ बिगाहा जमिन अधिग्रहण गर्नुपर्ने हुन्छ । आयोजना प्रभावित बारा गढीमाई नगरपालिका–१६ मा रहेको टाँगिया बस्तीका एक हजार ४०० घरघुरीलाई स्थानान्तरण गर्नुपर्ने हुन्छ । रुख हटाउन ८० करोड नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले नेपाली सेनालाई वन फँडानी र सेरोफेरो सडक निर्माणका लागि रु ८० करोड निकासा गर्ने तयारी भइरहेको जानकारी दिए । उनले प्राधिकरणले सो आयोजनालाई प्रमुख प्राथमिकतामा राखेर काम गरेको बताए पनि आयोजना प्रमुख तोक्ने वा प्रबन्धक राख्ने भन्ने विषयमा सहमति हुन नसकेको स्वीकार गरेका छन् । हाल निर्माणाधीन गौतमबुद्ध विमानस्थलको आयोजना प्रमुख नहुँदा काममा समस्या भएको छ । राष्ट्रिय योजना आयोगको केही दिन पहिले सम्पन्न राष्ट्रिय समस्या समाधान समितिको बैठकमा समेत सो विषयले प्रवेश पाएको थियो । तत्कालीन आयोजना प्रमुख ओम शर्माको कार्यावधि सकिएपछि अर्को प्रमुख तोकिएको छैन । सो विमानस्थल निर्माणको विषयमा कस्तो व्यक्तिलाई पठाउने भन्नेमा प्राधिकरणले हालसम्म निर्णय गर्न सकेको छैन । निर्णय नहुँदा सो विमानस्थलको अलावा निजगढ र पोखरा विमानस्थलको कामसमेत प्रभावित हुन सक्ने देखिएको छ । प्रवक्ता श्रेष्ठले जनशक्ति र उपकरणको उचित व्यवस्थापन गरिएका कारण गौतमबुद्ध विमानस्थलको काम युद्धस्तरमा अगाडि बढेको बताए । लामो समय आयोजना र ठेकेदारका बीचमा रहेको विवादका कारण आयोजनामा समस्यामा परेको थियो । पछिल्लो समय चिनियाँ ठेकेदारले द्रुत रुपमा काम अगाडि बढाएको छ । यो विमानस्थल आगामी एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको प्रवक्ता श्रेष्ठको भनाइ छ । रासस
रानीपोखरी पुनःनिर्माणबारे विज्ञ समूहले बुझायो प्रतिवेदन, अध्ययनपछि पोखरीको उत्खनन गरिने
काठमाडौं । रानीपोखरीको पुनःनिर्माणका लागि गठिते विज्ञ समूहले आइतबार काठमाडौं महानगरपालिका प्रमुखलाई प्रतिवेदन बुझाएको छ । पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले कामपा प्रमुख विद्यासुन्दर शाक्यलाई बुझाएको प्रतिवेदनमा यसअघि रानीपोखरी मल्लकालीन शैलीमा निर्माण गरिएकाले सोहीअनुरुप नै निर्माण गर्न सुझाव दिइएको छ । यसअघि पुनःनिर्माणका सम्बन्धमा प्रयोग गरिएको कङ्क्रिट नष्ट गरी पुरानै शैलीमा निर्माण गर्नुपर्ने बताउँदै कार्कीले रानीपोखरी, वरपर रहेका पर्खाल र बालगोपालेश्वर मन्दिर पनि पुरानै शैलीमा निर्माण गर्न सकिने बताएका छन् । कामपा प्रमुख शाक्यले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग र कामपाका प्रतिनिधि बसेर प्रतिवेदनको अध्ययनपछि मात्र कसरी र कहिलेदेखि निर्माणको काम हुन्छ थाहा हुने बताए । पाटन दरबार क्षेत्र, हनुमानढोका लगायत केही ऐतिहासिक स्थानमा प्रवेश शुल्कमार्फत केही रकम लिने गरिएको बताउँदै शाक्यले भने, “रानीपोखरी प्रवेशको लागि केही रकम लिनु कुनै नौलो विषय होइन, यसलाई नै व्यावसायिक भन्नु गलत हो ।” सोही अवसरमा सहभागीले पटक पटक निर्माणको काम थाल्ने र भत्काउने गर्दा जनताकै पैसा सकिएकाले गलत निर्णय गर्नेप्रति कारबाहीको माग गरे । रानीपोखरी निर्माणका क्रममा विवाद उत्पन्न भएपछि समाधान गर्न यही पुस १३ गते कार्कीको संयोजकत्वमा ११ सदस्यीय विज्ञ समूह गठन गरिएको थियो । पहिलेको निर्णयअनुसार गत पुस २७ गते नै प्रतिवेदन बुझाउनुपर्ने भए पनि १० दिन थप समय माग गरी समूहले आइतबार प्रतिवेदन बुझाएको हो । प्रतिवेदन अध्ययनपछि पोखरीको उत्खनन पनि गरिने बताइएको छ । विसं २०७२ को भूकम्पले विसं १७२७ मा बनेको न्हु पुखु भनिएको रानीपोखरी र बालगोपालेश्वर मन्दिर क्षतिग्रस्त भएको थियो । देशविदेशका धेरै पवित्र नदीका जल प्रयोग गरिएको ‘विष्णुतीर्थ’ को नामले परिचित सो पोखरीको मन्दिर पुनःनिर्माणका क्रममा कङ्क्रिट प्रयोग भएपछि विवाद उत्पन्न भएको थियो । रासस
सिभिल बैंकको सेयर कारोबारमा चलखेल गरेपछि प्रज्ञान सेक्यूरिटिजलाई ७५ हजार रुपैयाँ जरिवाना
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिभिल बैंकको सेयर कारोबारमा चलखेल गरेको पुष्टि भएपछि धितोपत्र दलाल व्यवसायी प्रज्ञान सेक्यूरिटिजलाई ७५ हजार रुपैयाँ आर्थिक जरिवाना गरेको छ । सेक्यूरिटिजको विराटनगर शाखा प्रमुखले सिभिल बैंकको साधारण सभा अगावै शेयर किन्नुहोस्, ४० प्रतिशत हकप्रद आउने भएको छ भन्दै भाइवर म्यासेजमा ग्रुप बनाएर जानकारी पठाएको बोर्डले उक्त सेक्यूरिटिजलाई सो मात्राको आर्थिक जरिवाना लगाएको हो । सेक्यूरिटिजको प्रमुखले गत जेठ ४ गते हुने सिभिल बैंकको साधारणसभा अघि बैंकको सेयर किन्नुहोस्, राम्रो फाईदा हुन्छ, फाईदा गराउने जिम्मा हाम्रो भन्ने आशयको भाइवर म्यासेज पठाएको बोर्डद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । उक्त संस्थाले आफ्नो शाखा कार्यालयको काम कारवाहीलाई सूक्ष्म रुपमा अनुगमन नगरी व्यवसायिक आचरण कायम गराउन नसकेको र संस्थाले व्यवसायिक स्तर कायम गरेको नदेखिएकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (७) बमोजिम बोर्डले यस सेक्यूरिटिजलाई जरिवाना लगाएको विज्ञप्तिमा बताइएको छ ।
साल्ट ट्रेडिङ्गले ३५ प्रतिशत लाभांश दिने
काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले सेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने भएको छ । कर्पोरेशनले गत आर्थिक वर्षको खुद मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । हाल कर्पोरेशनको चुक्ता पुँजी ९ करोड ८१ लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस सेयर पश्चात कम्पनीको चुक्ता पुँजी १२ करोड नाघ्ने छ ।
पैसा जम्मा गर्न खाता भएकै बैंक जानुपर्ने वाध्यता सकियो
काठमाडौं । के तपाईको खाता भएको बैंक टाढा छ ? खातामा रकम जम्मा गर्न जान समय लाग्ने गरेको छ ? अब चिन्ता नलिनुस, तपाईले आफुलाई पायक पर्ने जुनसुकै बैंकको शाखा कार्यलयबाट रकम जम्मा गर्न पाउनु हुने भएको छ । नेपाल राष्ट्र बैंकले जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट पैसा जम्मा गर्न पाउने नीतिगत निर्णय गरेको छ । राष्ट्र बैंकले यसलाई कार्यन्वयनमा ल्याउने निर्णय गरेको सहायक प्रवत्ता राजेन्द्र पण्डितले बताए । यो व्यवस्था कार्यन्वयन गराउन केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । आफुलाई पायक पर्ने ठाउँमा भएको बैंक तथा वित्तीय संस्थाका शाखाबाट रकम जम्मा गर्दा समयको वचत हुने छ भने सम्बन्धित बैंकमा पुग्नुपर्ने अवस्थाको अन्त्य हुनेछ । सम्बन्धित बैंकको खाता नम्बरबाट आफुलाई पायक पर्ने ठाउँमा रहेको जुनसुकै बैंकको शाखाबाट रकम जम्मा गर्न सकिने छ । अब ग्राहकले खाता भएको बैंकमा पुग्नुपर्ने झन्झटको अन्त्य भएको छ । जस्तो एनएमबी बैंकमा खाता हुनेले सानिमा बैंकबाट जम्मा गर्न सक्ने छ । खाता नम्बर एनएमबीको राख्नुपर्ने छ । शुल्क तिरेर हाल जुनसुकै बैंकको एटीएमबाट भुक्तानी लिन सक्ने व्यवस्था रहेकोमा रकम जम्मा गर्न बैंकमा नपुग्दा पनि हुने व्यवस्था कार्यन्वयनमा आउन लागेको हो ।यस्तै केन्द्रीय बैंकले ब्याजदर ३ महिनासम्म परिवर्तन गर्न नपाइने व्यवस्था गरेको छ ।