विकासन्युज

४० करोडको उद्योग बन्द गरेर ८० करोड लगानी, भन्सारले यसरी डुबाउँदैछ स्वदेशी उद्योग

निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरिया काठमाडौं । हेटौँडा औद्योगीक क्षेत्रभित्र २०० रोपनी जमिनमा फैलिएको छ निम्बस ग्रुपको प्रोजियोकेम ईण्डष्ट्रिज प्राली । करिब ३ अर्ब लगानीमा यो कम्पाउण्डभित्र केमिकल, ड्रम र झोला बनाउने फेब्रिक उद्योगहरु सञ्चालनमा छन भने रंगको कच्चा पदार्थ इमल्सन बनाउने उद्योग सञ्चालनको तयारीमा छ । नेपालकै पहिलो केमिकल उद्योग दावी गरिएको प्रोजियोकेम उद्योगमा एउटा यस्तो संयोग जुर्दै छ की, त्यहाँ ४० करोड रुपैंयाँ लगानीको उद्योग बन्द गरेर ८० करोडमा अर्काे प्लान्ट जडान गरिँदै छ । किन त्यस्तो भयो त ? उद्योगका मेनेजर शैलेश लामिछाने भन्छन–‘अधिकांश कच्चा पदार्थ आयात गरिनुपर्छ । तयारी उत्पादन र कच्चा पदार्थको भन्सार दर फरक छ, तयारी समानको भन्दा कच्चा पदार्थको भन्सार दर बढि भएपछि प्रतिष्पर्धी क्षमता गुम्यो, अनि उद्योग बन्द गर्नुका विकल्प हामीले भेटेनौं ।’ कम्पनीले उच्च भन्सार दरका कारण आयातित वस्तुसँग प्रतिष्पर्धा गर्न नसकेपछि ४० करोड लगानीमा सञ्चालन गरिरहेको डिओपी प्लान्ट बन्द गर्न लागेको हो । मासिक ४ सय टन उत्पादन क्षमताको उद्योग बन्द गर्ने तयारी थालेको निम्बस ग्रुपका प्रबन्ध निर्देशक आनन्द बगरियाले स्विकार गरे । ‘नेपालमा उद्योग चलाउनु भनेको सबै भन्दा कठिन काम हो, कच्चा पदार्थको भन्दा तयारी समानको भन्सार कम छ, अनि हामीले कसरी उद्योग चलाउन सक्छौं, सरकारले औद्योगीकरण गर्ने भन्छ तर भन्सार दरमै न्याय गर्न सक्दैन, अनि मुलुक कसरी अघि बढ्छ’, निम्बसका प्रबन्ध निर्देशक बगरियाले भने । डिओपी प्लान्टले जुत्ता तथा कार्पेटलाई मुलायम र लेसिलो बनाउने कच्चा पदार्थ उत्पादन गर्दै आएको छ । नेपालमा यस्तो कच्चा पदार्थको बजार मासिक ६ सय टन रहेको अनुमान गरिन्छ । ४० करोड लगानीको डिओपी प्लान्ट बन्द गर्ने तयारीसँगै उद्योगले ८० करोड लागतमा नयाँ उद्योगको स्थापना गर्ने तयारी भने अन्तिम चरणमा पुर्याएको छ । रंग उत्पादक कम्पनीहरुका लागि इमल्सन नामको कच्चा पदार्थ उत्पादन गर्ने सो प्लान्टले आगामी ३ महिनापछि नै उत्पादन थाल्नेछ । ४० करोड लगानी डुबाएर ८० करोड थप्ने जोखिम मोल्ने आँट कसरी आयो ? निम्बसका प्रबन्ध निर्देशक बगरिया भन्छन–नेपालमा करिब ६० वटा रंग उद्योग छन्, ति उद्योगले इमल्सन नामको कच्चा पदार्थ आयात गर्दै आएका छन्, त्यसमा हामीले उत्पादन गर्यौं भने २० प्रतिशतको हाराहारीमा भ्याल्युएड गर्न सक्ने देखेर लगानी गर्न लागेका हौं ।’ इमल्सन प्लान्टले मासिक ५ सय टन उत्पादन क्षमता राख्नेछ । हाल बजारमा इमल्सनको मासिक माग १२ सय टन रहेको अनुमान गरिन्छ । एसियन पेन्ट, बर्जर, लगायतका ठुला कम्पनीले इमल्सन खरिद गर्ने संकेत दिएपछि बगरिया थप उत्साहित बनेका छन् । प्रोजियोकेमका मेनेजर लामिछानेले हेटौँडामा स्वदेशी केमिकल हब बनाउने उदेश्यले वृहत अध्ययनपछि इमल्सनसहितका अन्य तीन प्लान्टमा थप एक अर्ब लगानी थप्ने जोखिम उठाएको बताए । हाल कम्पनीले बिभिन्न आकारमा ड्रमहरुको निर्माण गरिरहेको छ भने केहि समयभित्रै रंग उद्योगहरुका लागि बिभिन्न आकारमा बट्टाहरुको निर्माण थाल्ने तयारी गरेको छ । रंग हाल्ने बट्टाहरु हाल ५० प्रतिशतको हाराहारीमा आयात भैरहेका छन । ५० प्रतिशत हिस्सा भने नेपाली कम्पनीहरुकै उत्पादनले धानिरहेको छ । दैनिक १५ सय वटा बाल्टिन उत्पादन क्षमताको प्लान्ट जडान गर्न लागिएको हो ।कम्पनीले फेब्रिक ब्यागका लागि कपडाको पनि उत्पादन गरिरहेको छ ।

हजारौं जंगे, पिलर हराए, सार्छौ सीमाना, कति ठाम मात्रै

जप्छौ जन्ताको, कति नाम मात्रै । भर्छौ झोलीमा, कति दाम मात्रै ।। दुःखेन सुस्ता, लिपुलेक पनि । गर्छाै नि कति, तामझाम मात्रै ।। हजारौं जंगे, पिलर हराए । सार्छौ सीमाना, कति ठाम मात्रै ।। मुक्तिका लागि, देशै बनाउन । ह्विस्की–वियर, शुभ साम मात्रै ।। रातो रक्त यो, देशै जोगाउने । तातो रक्तको, यै हो काम मात्रै ।। उठौं न युवा, बचाउन धर्ति । कति खानु त्यो, खाली माम मात्रै ।। जप्छौ जन्ताको, कति नाम मात्रै । भर्छौ झोलीमा, कति दाम मात्रै ।।

सिटिजन्स बैंकको नाफा ६२ करोड ८६ लाख, गत बर्षभन्दा ३० लाख कम

काठमाडौं । सिटिजन्स बैंकले ६२ करोड ८६ लाख नाफा कमाएको छ । बैंकले चालु आर्थिक बर्षको ६ महिनामा सो नाफा कमाउन सफल भएको हो । यद्यपी यो नाफा बैंकले गत आवको सोही अवधीमा कमाएको भन्दा ३० लाखले कम हो । गत आवको पुस मसान्तसम्ममा बैंकले ६३ करोड १६ लाख नाफा कमाएको थियो । बैंकले चालु आवको ६ महिनामा ५८ अर्ब २१ करोड निक्षेप संकलन गरेर ५३ अर्ब ३० करोड कर्जा लगानी गरेको देखिन्छ । बैंकले ३ अर्ब २४ करोड ब्याज आम्दानी गरेर २ अर्ब २६ करोड ब्याज खर्च गरेको छ । बैंकको खराब कर्जा १.३२ प्रतिशतबाट बढेर १.९४ प्रतिशत पुगेको छ । बैंकको प्रति सेयर आम्दानी १५ रुपैंयाँ ६६ पैसा छ भने प्रति सेयर नेटवर्थ १२४ रुपैंयाँ ८७ पैसा रहेको छ ।  

कैलाश विकास बैंकले विनाधितो १५ लाख ऋण दिने, एक दिनमै निर्णय

काठमाडौं । कैलाश विकास बैंकले विनाधितो १५ लाख रुपैयाँ कर्जा दिने भएको छ । डाक्टर, इन्जिनियर, परामर्शदातालगायत राम्रो जागिर भएकालाई पेशागत कर्जा दिने योजना ल्याएको हो । मासिक तलवका आधारमा कर्जा दिने बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अमृतचरण श्रेष्ठले बताए । उनले राम्रो जागिर भएका व्यक्तिलाई यो कर्जा सुविधा दिने उनले जानकारी दिए । यस्तो कर्जा एक दिनमा प्रवाह गरिने बैंकले जनाएको छ ।  

दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा सम्बन्धी दुई दिने गोष्ठी हुने

काठमाडौं । आइतबार र सोमबार राष्ट्रिय सडक सुरक्षा सम्बन्धी दुई दिने गोष्ठी आयोजना हुने भएको छ ।नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल इन्जिनियर्स एशोसिएसन को संयुक्त आयोजनामा दुई दिने सम्मेलन राजधानीमा हुनेछ । नेपाल इन्जिनियर्स एसोसियसनले पत्रकार सम्मेलनको आयोजना गर्दै गोष्ठीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञद्धारा नेपालको सडक सुरक्षाको चुनौति र भावी कार्यानतिको बारेमा कार्यपत्र प्रस्तुत गर्ने छन् । कार्यक्रममा ३ सय जनाले भाग लिनेछन् । आयोजकका अनुसार कार्यक्रमलाई नेपाल उद्योग परिसंघ, ट्राफिक प्रहरी निर्देशनालय, गैर आवासीय नेपाली संघ लगायतले समन्वय गरेका छन् । कार्यक्रमले नेपालमा हुने सडक दुर्घटनाको न्यूनिकरण गर्दै राष्ट्रिय विकासको परिणाम, दिशा प्रभाहमा सकारात्मक असर पर्ने विश्वास लिएको छ ।

महिला आत्मानिर्भको लागि सगरमाथा आरोहण

  काठमाडौं । महिला आत्मानिर्भको लागि प्रर्वतारोण भन्ने मुल नारामा साथ वुमन एभरेष्ट एक्पिडिसन २०१८ नाम दिएर ल४ जना महिला सगरमाथाको आरोहण गर्न लागेका छन् । यसरी आरोहण गर्नेमा लाक्पा याङजी शेर्पा याङजी शोपा, याङजी शोर्पा र पाशाग ल्हामु शेर्पा हुन् । उनीहरुले आउदो अप्रिल ७ मा पर्वतारोण गर्न लागेका छन् । यात्राको नेतृत्व लाक्पा याङजी शोपाले गर्ने भएकी छिन् । उनिहरुले एसेन्ट हिमालयन टेक एण्ड एक्पिडिसन कम्पनी मार्फत पर्वतारोण गर्नेछन् । उनिहरुको प्रवद्धन पर्यटन पत्रकार संघले गर्ने भएको छ । उनिहरुको खर्च प्रतिव्यत्ति ३७ लाख ३७ हजर ५सय रुपैयाँ खर्च लाग्ने छ । ५ देखि १३ वर्षसम्म साना साना पर्वतारोण गरेको अनुभबका आधारमा सगरमाथाको आरोहण गर्न लागेका हुन् । आउदो ७ अप्रिलबाट सगमाथा पर्वतारोण सुरु गर्ने छन् । मे १८ मा शिखरमा पुग्ने अनुमान गरेका छन् । समयले साथ दियो भने जुन २ मा काठमाडाै फर्किने समय तालिका छ ।

एनसीसी बैंकको नयाँ शाखा काभ्रेपलान्चोकको सिपाघाटमा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले काभ्रेपलान्चोकको सिपाघाटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त नयाँ शाखाको उद्घाटन प्रमुख अतिथी माननीय सूचना तथा संचार मन्त्री एवं बैंकका पूर्व संचालक मोहनबहादुर बस्नेतले गरेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले सिपाघाट क्षेत्रमा बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले शाखा विस्तार गरिएको जानकारी गराएका छन् ।  

माघ १३ बाट नारायणगढ–मुग्लिन सडकखण्डमा एक महिना दिउँसो यातायात रोकिने

चितवन । रातको समयमा सवारी रोकेर काम गरिएको भए पनि नारायणगढ–मुग्लिन सडकखण्डको कामको प्रगति हुन नसकेपछि माघ १३ गतेबाट दिउँसो सवारी रोकेर काम गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा आज सरोकारवालाबीच भएको छलफलपछि रातको समयमा भन्दा दिउँसोमा कामको प्रगति हुन सक्ने भन्दै यस्तो निर्णय गरिएको हो । बिहान १० देखि दिउँसो ४ बजेसम्म एक महिना सवारी रोकेर काम गरिने छ । गत पुस १८ गतेबाट सडक विस्तारको कामलाई तीव्रता दिन राति १० देखि बिहान ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको छ । बीचमा पुस २९ गतेदेखि माघ २ गतेसम्म माघेसंक्रान्ति पर्वका कारण बाटो नरोकिए पनि पुनः बाटो रोकेर काम गरिँदै आएको छ । दिउँसो नरोकिन्जेल रातिमा रोकेर काम गरिने छ । गतवर्ष दिउँसो १० बजेदेखि ४ बजेसम्म सवारी रोकेर काम गरिएको थियो । त्यतिबेलाको काम प्रभावकारी भएको भन्दै ठेकेदार कम्पनी, नारायणगढ–मुग्लिन सडक आयोजना र परामर्शदाता कम्पनीले स्थानीय प्रशासनलाई दिउँसो नै सडक रोकेर काम गर्न माग गर्दै आएका थिए । यसअघि परीक्षणका रुपमा रातिमा सवारी रोकेर काम गर्न स्थानीय प्रशासनले दबाब दिएको थियो । रातिको समयमा सवारी रोकिँदा त्यसको असर दिउँसो पर्ने हुँदा उक्त सडकखण्ड पार गर्न घण्टौँ लाग्ने गरेको छ । जसका कारण दिनको काम पनि प्रभावित भएको छ । आयोजनाका प्रमुख चन्द्रनारायण यादवले रातिमा सवारी रोक्दा राति र दिउँसो दुवै समयमा काम हुन नसकेको बताए । उनले रातिमा रोक्दा शुन्य दशमलव ६२ प्रतिशत दैनिक प्रगति भएको तर सवारी नै नरोक्दा शुन्य दशमलव २७ प्रतिशत काम भएको बताए । उनले भने, “रातमा सवारी रोक्दा दिउँसोको पनि काम प्रभावित भयो । जसले गर्दा प्रगतिमा चार गुणा कमी आयो ।” प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले रातिमा सवारी रोकेर काम गर्दा प्रभावकारी प्रगति हुन नसकेपछि पुनः दिउँसोमा नै सवारी रोकेर काम गर्न लागिएको बताए। समयमा काम सक्नुपर्ने र जनताले दुःख नपाउने गरी काम गर्नुपर्ने बाध्यता रहेको उनले बताए । बैठकले तीन दिनभित्र आयोजनालाई कार्ययोजना पेश गर्न पनि भनेको छ । सो सडकको घुमाउने, १६ किलो र चेपाङडाँडामा भित्तो काट्ने काम बाँकी छ । घुमाउनेमा २०० मिटर, चेपाङडाँडा र १६ किलोमा ३०० मिटर भित्तो काट्ने काम बाँकी रहेको छ । हालसम्म उक्त सडकखण्डको ७२ प्रतिशत काम सम्पन्न र १४.७ किलोमिटर सडक कालोपत्र भएको आयोजनाले जनाएको छ । रासस