विकासन्युज

आइएमई जनरल इन्स्योरेन्सको २४औं शाखा चावहिलमा, पुँजी बढाउन हकप्रद र बोनस दिने

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो २४औं शाखा चाबहिलमा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालले गरेका छन् । कार्यक्रममा कम्पनीका अध्यक्ष ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी नै शाखा सञ्जाल विस्तार गरी ग्राहकहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराएका छन् । यस शाखा सहित कम्पनीले २४ वटा शाखा, २ वटा सम्पर्क कार्यालय तथा १० वटा सेवा काउण्टरहरु र प्रधान कार्यालय सहित ३७ स्थानबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको छ । साथै, कम्पनीले थप १७ शाखा तथा उपशाखा कार्यालयहरु खोलेर ५४ स्थानबाट सेवा प्रदान गर्ने बताएकाे छ । उक्त कार्यक्रममा अध्यक्ष ढकालले कम्पनीले निकट भविष्यमा १० शेयर बराबर ८ शेयरका दरले हकप्रद शेयर प्रदान गरी यसै आ.ब.को अन्तसम्ममा कम्पनीको चुक्ता पुँजी ९७ करोड २० लाख रुपैयाँ पुयाउने बताएका छन् । त्यस पश्चात ५ प्रतिशत बोनस शेयर प्रदान गरी कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड रुपैयाँ पुग्ने उनले बताए । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आफ्ना ग्राहकहरुलाई सार्वजनिक विदाको दिनमा पनि बीमा सेवा प्रदान गर्ने गरी प्रधान कार्यालय नक्शालबाट ३६५ दिने बीमा सेवा शुरु गरि सकेको बताएका छन् । साथै, कम्पनीले दोश्रो त्रैमासिकसम्म ४३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको उनले बताए ।

दुई कम्पनीको ५५ लाख कित्ता सेयर सूचिकृत, क-कसको कति?

काठमाडौं । शुक्रबार मात्रै विभिन्न दुई कम्पनीको कुल ५५ लाख ८८ हजार कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । नेप्सेमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ओम डेभलपमेन्ट बैंकको गरी सो मात्राको सेयर सूचिकृत भएको हो । सूचिकृत मध्ये सूर्या लाइफ इन्स्योरेन्सको ६ लाख ५६ हजार २५० कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ । त्यस्तै, ओम डेभलपमेन्ट बैंकको ४९ लाख ३१ हजार ८३५ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।

गोर्खाज फाइनान्सको अध्यक्षमा प्रेमबहादुर खापुङ्

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको अध्यक्षमा प्रेमबहादुर खापुङ् नियुक्त भएका छन् । माघ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले खपुङ्लाई फाइनान्सको अध्यक्षमा नियुक्त गराएको हो । खपुङ्ले नियुक्त भएको दिनदेखि नै कम्पनीको अध्यक्षको पदभार सम्हाली सकेका छन् ।

प्रदेश प्रमुखको शपथ आज अपराह्न ४ बजे राष्ट्रपति कार्यालयमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई आज पद तथा गोपनीयताको शपथ दिलाउने भएका छन् । राष्ट्रपति निवासमा आज अपराह्न ४ बजे आयोजना हुने विशेष समारोहमा राष्ट्रपतिबाट नवनियुक्त प्रदेश प्रमुखले शपथ लिने राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएकाे छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेशको कार्य सञ्चालनका लागि अस्थायी केन्द्र तोक्नुका साथै प्रदेश प्रमुखको नाम राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको थियो ।  सरकारले प्रदेश नं १ मा प्रा डा गोविन्दबहादुर तुम्बहाङ, प्रदेश नं २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश नं ३ मा अनुराधा कोइराला, प्रदेश नं ४ मा बाबुराम कुँवर, प्रदेश नं ५ उमाकान्त झा, प्रदेश नं ६ मा दुर्गाकेशर खनाल र प्रदेश नं ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख तोकेको थियो ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंककाे खुद नाफा १५ करोड

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १५ करोड १४ रुपैयाँ खुदनाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १६ करोड ५९ लाख रुपैयाँ खुदनाफा गरेको थियो । गत आवको तुलनामा चालु आवमा बैंकको नाफा घटेको छ । चालु आवको ६ महिनामा बैंकको निष्क्रिय कर्जा घटेर ०.१७ प्रतिशतमा झरेको छ । निक्षेप लागत ७.९० र सीडी रेसियो ७६.३४ प्रतिशत छ । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाशिक प्रतिवेदनमा प्रतिसेयर आम्दानी २१.९७ रुपैयाँ छ । समीक्षा अवधिमा बैंकले ११ अर्ब ९४ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत आवको सोही अवधिमा निक्षेप ९ अर्ब २० करोड रुपैयाँ थियो । गत पुससम्म बैंकले १० अर्ब ४९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले ८ अर्ब १७ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकको चुक्तापुँजी १ अर्ब ३७ करोड रुपैयाँ छ । संचित कोषमा ४२ करोड रुपैयाँ रहेको छ ।

शिवम सिमेन्टले प्रिमियम मूल्यमा ५२ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न बोलायो विशेष साधारणसभा

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले प्रिमियम मूल्यमा सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनका लागि शिवमले माघ २१ विशेष साधारणसभा बोलाएको छ । गत पुस २५ गते बसेको दोस्रो वार्षिक साधारणसभाले निर्णय नगरेपछि आईपीओ निष्कासन विशेष साधारणभा बोलाएको हो । शिवमको आईपीओ प्रतिकित्ता १ सय रुपैयाँ नपाइने भएको छ । उद्योगको हालको जारीपुँजी ४ अर्ब ३० करोड रुपैयाँमा वृद्धि गरी ४० अर्ब ४० करोड रुपैयाँ कायम गर्ने र यसका लागि प्रवन्धपत्र संशोधन हुने भएको छ । कुल ४ करोड ४० लाख कित्ता मध्ये ५२ लाख ८० हजार कित्ता सेयर सर्वसाधारण र उद्योग प्रभावित स्थानियबासिन्दाका लागि समेत निष्कासन गर्ने भएको हो । कम्पनीले कुल जारी पुँजीको १० प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन गर्ने शिवम् नेपालको पहिलो सिमेन्ट उद्योग हो । अन्य सिमेन्ट उद्योग पनि आईपीओ निष्कासनको तयारीमा छन् । गतवर्ष धितोपत्र बोर्डले वास्तविक लगायत अन्य क्षेत्रले न्युनतम १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्न पाउने व्यवस्था गरेपछि शिवमले पनि आईपीओ निष्कासन गर्न लागेको हो । उसले प्रिमियम मूृल्यमा सेयर निष्कासन गर्ने पाउने छ । यस्तै गत आर्थिक वर्षमा गरेको नाफाबाट उद्योगले सेयरधनीलाई प्रतिसेयर १० रुपैयाँ ५३ पैसा नगद लाभांश वितरण गरेको छ । शिवम् सन् २००९ मा स्थापनमा भएको हो । उद्योगले आफनौ चुनढुङा खानीबाट दैनिक १ हजार २५० टन सिमेन्ट उत्पादनको लक्ष्य लिएको छ । उद्योग मकवानपुरको हेटौडामा रहेको छ । शिवम् नेपालको सबैभन्दा ठुलो उद्योग मध्ये एक हो ।चीनको होङसी सिमेन्ट ग्रुपसंग साझेदारी गरेको छ । हाल कारखाना स्थापनाको काम हुदैछ । सो उद्योगबाट दैनिक ६ हजार टन सिमेन्ट उत्पादन हुने छ । यसमा शिवमका २० प्रतिशत स्वामित्व रहेको छ ।

एनआईडीसीलाई गाभ्न राष्ट्रिय वाणिज्य बैंकले बोलायो विशेष साधारणसभा, स्वाप रेसियो १ः१

काठमाडौं । एनआईडीसी डेभलपमेन्ट बैंकलाई गाभ्न राष्ट्रिय वाणिज्य बैंकले माघ २० गते विशेष साधारणसभा बोलाएको छ । मर्जरका लागि दुबै बैंकले सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) १ बराबर १ अनुपात हुने सहमति गरेका छन् । स्वाप रेसियो सभाले पारित गर्ने छ । दुबै बैंक गाभिने प्रयोजनका लागि खुदसम्पत्ति मूल्याँकनका लागि मूल्याँकनकर्ताको नियुक्ति गर्ने प्रस्ताव पारित गर्ने कार्यसुचि रहेको छ । एनआईडीसीले पनि राष्ट्रिय वाणिज्यसंग गाभिन विशेष साधारणसभा बोलाइसकेको छ । दुबैं बैंकले माघ १ गतेदेखि एकिकृत बैंकिङ कारोबार गर्ने गत भदौ १२ गते सम्झौता भएको थियो । गाभ्ने प्रक्रियाका लागि विशेष साधारणसभा बोलाएकाले ढिलाइ हुन गएको छ । बाणिज्य बैकले ३० प्रतिशत साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भनेपनि हालसम्म प्रक्रिया अघि बढेको छैन् । तत्तकाल वाणिज्य बैंकको आईपीओ निआउने भएको छ । ०७३ माघ १४ गतेको मन्त्रीपरिषद बैठकले एनआईडिसिलाई वाणिज्य बैंकमा गाभ्ने निर्णय गरेको हो । राष्ट्रिय वाणिज्य बैंकको चुक्तापुँजी ८ अर्ब ५८ करोड रुपैयाँ छ । एनआईडीसीको ४१ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी छ । दुबै बैंकको गाभिएपछि पूँजी ९ अर्ब रुपैयाँ पुग्ने छ ।

पञ्चकन्यामाई हाईड्रोपावरको ११ करोडको आईपीओ आजदेखि निष्कासन

काठमाडौं । पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दालाई आज शुक्रबारदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द माघ १९गतेसम्म हुनेछ । न्युनतम २० र अधिकतम ५ हजार ५ सय कित्तासम्म दरखास्त दिन पाउने कम्पनीले जनाएको छ । स्थानियबासिन्दाको आईपीओ बाँडफाँडपछि सर्वसाधारणलाई निष्कासन गर्ने कम्पनीले जनाएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दालाई निष्कासन गर्न लागेको आईपीओ मध्ये सन्दकपुर गाउँपालिकाका स्थानियबासिन्दालाई ६ करोड ६ लाख रुपैयाँ बराबरको ६ लाख ६ हजार र इलाम नगरपालिकाका बासिन्दालाई ४ करोड ४० लाख रुपैयाँ बराबरको आईपीओ पाउने निष्कासन तथा बिक्रीप्रवन्धक सनराइज क्यापिटलले जनाएको छ । पञ्चकन्यामाईले वार्षिक २ सय प्रतिशतले खुदनाफा बढाउन भएको छ । कम्पनीले आउदो ४ वर्षमा खुदनाफा गत आर्थिक वर्ष ०७३/०७४ को तुलनामा ७९७ प्रतिशत बढाएर बढाएर १४ करोड ९८ लाख रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ । एक वर्षदेखि बिजुली उत्पादन थालेका कम्पनीले आयोजना बनाउदा लिएको कर्जा विस्तारै भुक्तानी गर्दै आउदो ४ वर्षमा नाफा बढाएर १४ करोड ९८ लाख रुपैयाँ पुर्याउने भएको हो । गत आवमा कम्पनीको नाफा १ करोड ६७ लाख रुपैयाँ थियो । चालु आवमा नाफा ७ करोड ६२ लाख, आगामी वर्ष ०७५/०७६ मा १० करोड, ०७६/०७७ मा १२ करोड ४५ लाख रुपैयाँ खुदनाफा गर्ने भएको छ । नाफा बढ्दै गएपछि कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) बढ्ने भएको छ । आगामी आव ०७७/०७८ मा ईपीएस बढेर १३ रुपैयाँ ६३ पैसा पुग्ने छ । गत आवमा ईपीएस १.९१ प्रतिशत थियो । चालु आवमा ६.९३, आगामी आवमा ९.१६, आव ०७६/०७७ मा ११.३२ रुपैयाँ पुग्ने छ ।