तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज १० अर्ब बजारमा पठाउदै
काठमाडौं । बैंकिङ प्रणालीमा तरलताको अवस्था कमजोर भएपछि नेपाल राष्ट्र बैंकले आज शुक्रबार १० अर्ब रुपैयाँ बजारमा पठाउने भएकाे छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासंग भएको विकास ऋणपत्र धितोमा राखेर बजारमा थप तरलता प्रवाह गर्न लागेको हो । पुस मसान्तमा बैंकिङ प्रणालीमार्फत अर्बौ रुपैयाँ करको रुपमा राज्यको ढुकुटीमा गएपछि अधिकाँश बैंकको कर्जा, निक्षेप र पुँजी अनुपात (सीसीडी रेसियो) ८० प्रतिशतको हारहारीमा पुगेको छ । अधिकाँश बैंकको सीसीडी रेसियो कसिलो भएपछि केन्द्रीय बैंकले तरलता व्यवस्थापन गर्न विकास ऋणपत्र सोझै खरिद बोलकबोल उपकरणमार्फत १० अर्ब रुपैयाँ बजारमा पठाउन लागेको हो । केही बैंकलाई तरलता व्यवस्थापन गर्न समस्या आएको राष्ट्र बैंकले जनाएको छ । अधिकाँश बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुले सीसीडी रेसियो ७९ प्रतिशत पुगेकाले कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेको बताइसकेका छन् । केही बैंकहरुले कर्जा प्रवाह बन्द गरेको जानकारी दिएका छन् । सानिमा बैंकका सीईओ भुवन दाहाल सीसीडी रेसियो ७८ प्रतिशत पुगेको बताउछन् । सानिमाले अब थप कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेको उनको भनाई छ । बजारमा लगानीयोग्य पुँजी कम भएपनि अन्तरबैंक ब्याजदर ३ प्रतिशत छ । अन्तर बैंक ब्याजदर नबढेकाले बजारमा ऋण लगानी गर्न पुँजीको अभाव नभएको राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापा बताउछन् । “यदी तरलताको अवस्था कसिलो भएको भए अन्तर बैंक ब्याजदर ५ प्रतिशत नाघने थियो” उनले भने “अन्तर बैंक ब्याजदर स्थिर भएपछि पछिल्लो समयमा राष्ट्र बैंकले रिपो गर्न पाएको छैन् ।” रिपोमार्फत तरलता प्रवाह गर्न नपाएपछि केन्द्रीय बैंकले विकास ऋणपत्र धितोमा राखेर बजारमा पैसा पठाउन लागेको उनले बताए । राष्ट्र बैंकका अनुसार बजारमा २६ अर्ब रुपैयाँको हारहारीमा अधिक तरलता रहेको छ । एक साता अघि पनि केन्द्रीय बैंकले विकास ऋणपत्र सिधै बोलकबोलबाट खरिद गर्ने वित्तीय उपकरणमार्फत ३ पटकमा गरी झण्डै २८ अर्ब रुपैयाँ बैकिङ प्रणालीमा पठाएको थियो । त्यसमध्ये राष्ट्र बैंकले बजारबाट पुनः २ अर्ब रुपैयाँ प्रशोचन गरेको थियो ।
एनआरएनएको सहयोगमा ६ महिनाभित्र सिन्धुलीगढीको पुनर्निर्माण गुरुयोजना तयार गरिने
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ऐतिहासिक सिन्धुलीगढीको जिर्णाेद्धार एवम् पुनर्निर्माण गुरुयोजना तयार पार्न सहयोग गर्ने भएको छ । बिहीबार राजधानीमा एनआरएनए र कमलामाई नगरपालिकाबीच गुरुयोजना तयार पार्न सम्झौता भएको हो । सम्झौतापत्रमा एनआरएनएका अध्यक्ष भवन भट्ट र कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले हस्ताक्षर गरेका छन् । एनआरएनले सिन्धुलीगढीको पुनर्निर्माण गुरुयोजना आगामी ६ महिनाभित्र तयार गरेर कमलामाई नगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ । त्यस्तै सिन्धुलीगढीको गुरुयोजना निर्माण गर्न समृद्ध सिन्धुली अभियानले सक्रिय रुपमा सहयोग गर्ने बताएको छ । गुरुयोजना निर्माण गर्दा सिन्धुलीगढीको प्राचीन ऐतिहासिकताका साथै मौलिकता यथावत राख्न प्रयास गर्ने, गुरुयोजना बनाउन लाग्ने खर्चको व्यवस्थापन एनआरएनएले गर्ने, बनाइएको गुरुयोजनालाई नगरपालिकाले स्वामित्व ग्रहण गरी भविष्यमा गरिने पुनर्निर्माणको आधार बनाउने सम्झौतामा उल्लेख छ । सिन्धुलीगढी तत्कालीन गोर्खाली सेनाले बिरता देखाएर अंग्रेज सेनालाई परास्त गरेको स्थल हो ।
टाटा मोटर्सले ल्यायो फेसबुकबाटै ५ तोला सुन र स्मार्ट फोन जित्ने मौका
काठमाडौं । टाटा मोटर्सले ग्राहकहरुका लागि फेसबुक अभियान ल्याएको छ । जस अन्तर्गत ५ जना भाग्यशाली विजेताले टाटा नेक्सनमा एक/एक तोला सुन जित्ने अवसर पाउनेछन् । यस अभियानमा सहभागी हुनको लागि प्रतियोगीहरुले फेसबुकमा आफ्नो नामको बीचमा ‘नेक्सन’ राखी टाटा मोटर्स्को फेसबुक पेज लाईक गर्नुपर्ने छ । त्यसैगरि, टाटा नेक्सनले ल्याएको अर्को उत्साहजनक अभियान अन्तर्गत फेसबुक प्रयोगकर्ताहरुले नयाँ स्मार्टफोन जित्न सक्नेछन् । फेसबुक प्रयोगकर्ताहरुले आफ्नो प्रोफाइल पिक्चरमाटाटा नेक्सन फ्रेम राखेर अपडेट गर्नुपर्नेछ । अभियान अन्तर्गत तीन जना भाग्यशाली विजेताहरुले स्मार्टफोन जित्न सक्नेछन् । लक्की ड्र मार्फत पाँच जनाले एक-एक तोला सुन र तीन जनाले एक-एक ओटा स्मार्ट फोन जित्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले आफ्नो ब्रान्डिङको लागी आक्रामक योजनाहरु ल्याएको हो । यो योजना फागुन १६ गते (अर्थात फेब्रवरी २०१८)सम्म रहनेछ ।
कृषि विकास बैंकको आइतबारसम्म एटीएम र मोबाइल बैंकिङ बन्द
काठमाडौं । कृषि विकास बैंकले आउदो आइतबारसम्म एटीएम र मोबाइल बैंकिङ सेवा बन्द गरेको छ । बैंकले नयाँ प्रविधि जडान गर्न भन्दै बिहीबारदेखि बैकिङ सेवा बन्द गरेको हो । बैंकले सीबीएस—टेमेनोस टी ट्न्टी भर्सन अपग्रेड गर्न मोबाइल बैंकिङ सेवा बन्द गरेको जानकारी दिएको छ । एटीएम र मोबाइल बैंकिङ सेवा बाहेक अन्य सेवा यथावत रुपमा सञ्चालन हुने बैंकले जनाएको छ । भर्सन अपग्रेडपछि उच्च गुणस्तरीय सेवा उपलब्ध गराउने बैंकले जनाएको छ ।यस्तै सीबीएस जडान भएका कार्यलयमा शुक्रबार १ दिन बन्द हुने बैंकले जानकारी दिएको छ ।
रसुवागढी र सान्जेनको आईपीओ १ महिना पछि धकेलियो, फागुनको पहिलो साता २ अर्ब ५१ करोडको आउने
काठमाडौं । दुई जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ) निष्कासन गर्न अझै १ महिना ढिला हुने भएको छ । कम्पनी रजिष्टार कार्यलयमा कम्पनीको अद्यावधिक गर्नुपर्ने लगायत अन्य प्रक्रियागत ढिलाइले रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड र सान्जेन जलविद्युत कम्पनी लिमिटेडको आइपीओ निष्कासन फागुनको पहिलो साता मात्र हुने भएको हो । यसअघि माघको पहिलो साताभित्र आईपीओ निष्कासन गर्ने तयारी दुबै कम्पनीको थियो । प्रक्रियागत ढिलाइले आईपीओ निष्कासन १ महिना पर सरेको रसुवागढीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधव कोइरालाले बताए । एकैदिन आब्हानपत्र सार्वजनिक गर्ने विषयमा छलफल भइरहेको उनले सुनाए । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा रसुवागढीको सिद्धार्थ क्यापिटल लिमिटेड र सान्जेनको नागरिक लगानी कोष रहेका छन् । दुबै कम्पनीले पहिलो चरणमा कर्मचारी संचय कोषका संचयकर्ता, नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड र रसुवा जिल्लाका स्थानिय निकायका कर्मचारीलाई २ अर्ब ५१ करोड ८१ लाख रुपैयाँ बराबरको २ करोड ५१ लाख ८१ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन् । जसअनुसार रसुवागढीले १ अर्ब ६४ करोड २१ लाख ४ हजार रुपैयाँको १ करोड ६४ लाख २१ हजार कित्ता र सान्जेनले ८७ करोड ६० लाख रुपैयाँ बराबरको ८७ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएका छन् । यी दुबै जलविद्युत कम्पनीले दोस्रो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्दा र तेस्रो चरणमा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न लागेका छन् । यस्तै सिद्धार्थ क्यापिटल, कर्मचारी संचय कोष र नागरिक लगानी कोषले आईपीओ भर्न हितग्राही खाता (डीम्याट एकाउन्ट) र बैंकमा खाता खोल्न अनुरोध गरेका छन् । धितोपत्र बोर्डले सान्जेनलाई मंसिर २६ गते र रसुवागढीलाई पुस २० गते निष्कासन गर्न अनुमति दिएको हो । सान्जेनले ५७ मेगावाट क्षमताको तल्लो र माथिल्लो सान्जेन र रसुवागढीले १११ मेगावाटको रसुवागढी आयोजना निर्माण गरिरहेका छन् । सान्जेनको १ वर्ष र रसुवागढीको सन् २०१९ मा निर्माण काम सम्पन्न हुनेछ ।
चीनसँगको निर्यात ७८ प्रतिशत बढ्यो
काठमाडौं। गएको पाँच महिनाको अबधिमा चीनसँगको निर्यात ७८.४ प्रतिशत बढेको छ । आर्थिक बर्ष २०७४/७५ को पाँच महिनाको अबधिमा चीनतर्फ एक अर्ब ३२ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । गएको वर्ष सोही अबधिमा ७४ करोड रुपैयाँको मात्रै निर्यात भएको थियो । भारतसँगको निर्यात भने ५.५ प्रतिशतले मात्रै बढेको छ । प्रतिशत कम देखिएतापनि सबैभन्दा बढी १७ अर्ब ९५ करोड रुपैयाँको वस्तु गएको पाँच महिनामा भारततर्फ निर्यात भएको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्ने क्रममा नेपाल राष्ट्र बैंकले जनाएको हो । बैंकको अनुसार गएको वर्षको सोेहि अबधिमा भारततर्फ १७ अर्ब मूल्य बराबरको वस्तु निर्यात भएको थियो । बैंक अनुसार कुल वस्तु निर्यात १० प्रतिशतले वृद्धि भएको छ । १० प्रतिशतले बृद्धि भइ ३३ अर्ब ७० करोड रुपैयाँको निर्यात भएको छ । जसमा अन्य मुलुकतर्फ १२ प्रतिशतले निर्यात बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा मुलकबाहिर १७.१ प्रतिशतले निर्यात वृद्धि भएको बैंकको भनाइ छ । वस्तुगततर्फ पशुआहार, वनस्पती घ्यू, धागो, जिङ्क सिट, तयारी पोशाक लगायत निर्यात बढेको छ । तर जुस, अलँलैची, जिआई पाईप, उनी गलैँचा, तामाका तार लगायतका वस्तुहरुको भने निर्यात घटेको बैंकको भनाइ छ । त्यस्तै पाँच महिनाको अबधिमा कुल वस्तुको आयात १२.८ प्रतिशतले बढेको छ । बैंकको अनुसार ४ खर्ब ३१ अर्ब ४९ करोड रुपैयाँको आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७८.९ प्रतिशतले बढेको थियो । भारतबाट भएको आयातमा १३.२ प्रतिशत, चीनबाट भएको आयात १.४ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १८.९ प्रतिशतले बढेको छ । बढी मात्रामा वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, सुन, एमएस विलेट, पोलिथिन ग्रेनियुल्स लगायतका वस्तुको आयात बढेको छ । कृषि औजार तथा पार्टपुर्जा, विद्युतिय सामान, सेनिटरीवेयर्स, खाने तेल, ड्राईसेल ब्याट्री लगायतका वस्तुहरुको आयात घटेको बैंकको अध्ययनले देखिएको छ । बैंकका अनुसार निर्यातको क्रममा सुख्खा बन्दरगाहा भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय, बिराटनगर भन्सार कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थल भन्सार कार्यालय, नेपालगंज भन्सार कार्यालय, रसुवा भन्सार कार्यालय लगायतका भन्सार नाकाहरुबाट निर्यातमा वृद्धि भएको छ । केही अन्य नाकाहरूबाट भने निर्यातमा कमी आएको छ । कुल वस्तु व्यापार घाटा १३ प्रतिशतले बढेको छ । बढेर गएको पाँच महिनाको अबधिमा ३ खर्ब ९७ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । निर्यात र आयातको अनुपात ७.८ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८ प्रतिशत रहेको थियो । स्वदेशी उत्पादनको निर्यात मूल्य खट्दा सूचाङ्क पनि घट्यो चालु वर्षको पाँच महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क (यूनिट भ्यालु इण्डेक्स) वार्षिक बिन्दुगत आधारमा ०.४ प्रतिशतले घटेको छ । आयात मूल्य सूचकाङ् बढेर ४.९ प्रतिशत भएको छ । व्यापारको सर्त (ट्रम्स अफ ट्रेड)मा ५.३ प्रतिशतले ह्रास आएकोे छ । अध्ययन अनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो सर्त १२.६ प्रतिशतले बढेको थियो । कार्पेट, पश्मिना, अलैची, घ्यू, मुसुरोको दालको निर्यात मूल्यमा ह्रास आएका कारण निर्यात मूल्य सूचकाङ्मा कमी भएको बैंकको भनाइ छ । त्यस्तै पेट्रोलियम पदार्थ, सवारी साधन, टायर, रेफ्रिजिरेटर, ल्यापटपको मूल्यमा वृद्धि भएका कारण आयात मूल्य सूचकाङ्कमा वृद्धि भएको छ ।
फस्ट माइक्रो फाइनान्सको संस्थापक सेयर बिक्रीमा
काठमाडौं । फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री खुला गरेको छ । केही संस्थापकले सेयर बिक्री गर्नका लागि निवेदन दिएपछि फस्ट माइक्रोफाइनान्सले बिक्री खुला गरेको हो । संस्थाभित्रकै संस्थापक सदस्यहरुलाई नै प्रथामिकता दिने र खरिद नगरे वाह्य लगानीकर्तालाई बिक्री गर्न भएको छ ।संस्थाको सेयर प्रतिकित्ता ८१७ रुपैयाँमा कारोबार भएको छ ।
तल्लोअरुण जलविदुयत आयोजनाको काम अघि बढ्यो, वातावरणीय प्रभाव अध्ययन हुदै
काठमाडौं । सरकारले ६७९ मेगावाट क्षमताको तल्लोअरुण जलविदुयत आयोजना निर्माण गर्ने भएको छ । ब्राजिलको ब्रास पावरको अनुमतिपत्र (लाइसेन्स) रद्ध गरेपछि ऊर्जा मन्त्रालयले आयोजनाको काम अघि बढाउन लागेको हो । आयोजनाको संभाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्याँङकनको कामका लागि ऊर्जाले जर्मनको फिस्नर जीएमबीएच एन्ड कम्पनी केजी र नेपालको सिल्ट कन्सलट्यान्ट प्रालिलाई जिम्मा दिएको छ । परामर्शदाता कम्पनीले अहिले आयोजनाको वातावरणीय प्रभाव मूल्याँकन (ईआईए) अध्ययनका लागि क्षेत्र निर्धारणको काम थालेका छन् । दुई जिल्लाका २ नगरपालिका र ४ गाउँपालिका बढी प्रभावित हुने भएका छन् । संखुवासभा र भोजपुर जिल्लाका गाउँपालिका र नगरपालिकाहरु प्रभावित हुने भएका छन् । प्रभावित हुने क्षेत्रहरुमा संखुवासभा जिल्लाको मकालु गाउँपालिका, सिलीचोङ गाउँपालिका, चिचीला गाउँपालिका, र खाँदबारी नगरपालिका रहेका छन् । यसैगरी भोजपुर जिल्लाको साल्पासिलीछो गाउँपालिका, र षडानन्द नगरपालिका रहेका छन् । सुचना प्रकाशित भएको १५ दिनभित्र विभागको ठेगानामा लिखित राय तथा सुझाव पठाउन विभागले सर्वसाधारणलाई अनुरोध समेत गरेको छ । यस्तो बन्नेछ, आयोजना प्रदेश नं. १ को संखुवासभा र भोजपुर जिल्ला भएर बग्ने तल्लो अरुण जलविदुयत आयोजनाको क्षमता ६७९ मेगावाट रहेको छ । यस आयोजनाको ८० मिटर अग्लो बाँध चिचीला गाउँपालिको वडा नं. २ तथा सिलीचोङ गाउँपालिका वडा नं ५ मा रहि, १३ किलोमिटर लामो सुरुङबाट खाँदबारी नगरपालिकामा अवस्थित भुमिगत विदुयत गृह हुदैं टेलरेसको टनेलको माध्मबाट अरुण नदिमा पुनः खसालिने छ । आयोजनाको बाँध रहेको स्थान समुन्द्री सतहदेखी ५३२ मिटर र विदुयतगृह रहेको स्थान समुद्री सतहदेखी ३०५ मिटर उचाईमा रहने छ । आयोजना आर्थिक रुपमा आर्कषक देखिएको प्रारम्भीक अध्ययनले देखाएको छ । सोही आयोजना भन्दा केही माथि भारतको एसजेवियन अरुण तेस्रो पावर डेभलपमेन्ट कम्पनीले ९ सय मेगावाटको अरुण तेस्रो आयोजनाकोको काम सुरु गरेको छ ।