सिटिजन्स बैंकद्धारा २७७२ परिवारलाई ३ करोड ४३ लाख नगद वितरण
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले २७७२ परिवारलाई कूल ३ करोड ४३ लाख रुपैयाँ वितरण गरेको छ । बैंकले धादिङ्ग जिल्लाको झारलाङ्ग र रिगाँउ गाविसमा उक्त परिवारलाई सो मात्राको नगद वितरण गरेको हो । विश्व खाद्य कार्यक्रमको आयोजना र वेल्ट हंगर हिल्फिकोे सहकार्यमा पुस १३ देखि २० गतेसम्म गरी ८ दिनसम्म उक्त कार्यक्रम संचालन गरिएको थियो । विशेष गरी भूकम्प प्रभावित क्षेत्रमा स्थानीय बाटो निर्माण गरेवापत “कामका लागि नगद” वितरण योजना अन्तर्गत उक्त नगद भुक्तानी गरिएको हो । बिकट मानिने गाउँहरुमा पनि बैंक जनताको घर दैलोमा पुगेर बैंकिंग सेवा प्रवाह गरिरहँदा स्थानीयहरुले खुशियाली व्यक्त गरेका छन् । बैंकले देखाएको यस अग्रसरताले स्थानीय विकास निर्माणको काममा सहयोग पुग्नुका साथै विपन्न परिवारको आर्थिक अवस्थामा सुधार आउने विश्वास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेशराज पोखरेलले बताएका छन् ।
बमले खुट्टा लग्यो, परिवार पाल्ने कसरी ?
बम विस्फोटमा परि घाइते भएकी सरिता राई र ७ बर्षिय छोरा जैविक राई चितवन मेडिकल कलेजमा उपचार गराउँदै । सरिताको वायाँ खुट्टा काटिएको छ भने जैविकको बायाँ हात काटिएको छ । काठमाडौं ।‘एक्कासी ठुलो आवाज आयो, ब्युझँदा चितवन मेडिकल कलेजमा रहेछु, त्यसपछि थाहाँ पाए, एउटा खुट्टा काटिएको रहेछ’, यो भनाई हो सरिता राईको । गत मंसिर २ गते रौतहतको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ मा बम बिस्फोट हुँदा सरिता र उनका छोरा जैविक राईसहित एक दर्जन घाईते भएका थिए । अन्य घाइतेहरु उपचारपछि घर फर्किसकेका छन तर सरिता र उनका ७ बर्षिय छोरा जैविक राई भने अझै चितवन मेडिकल कलेजमा उपचार गराईरहेका छन् । सरिताको बायाँ खुट्टा काटिएको छ भने जैविकको बायाँ हात काटिएको छ । सरिताका श्रीमान कृष्ण बहादुर राई दमको रोगले थलिएर राम्रोसँग हिड्डुल गर्न समेत सक्दैनन् । पाँच जनाको परिवारलाई आफ्नै मजदुरीको कमाईले पाल्दै आएकी सरिताले बम विस्फोटनका कारण खुट्टा गुमाएपछि परिवारकै विचल्ली भएको छ । उनी उपचारका क्रममा अस्पतालमा छिन, हालसम्म ३ लाख रुपैंयाँ खर्च भैसकेको छ । त्यो पैसा कसरी तिर्ने र अस्पताल बसाईपछिको जिवन कसरी अघि बढाउने ? यस्तै प्रश्नहरुले उनलाई सताईरहेको छ । ‘आफ्नो खुट्टा गुम्यो, कलिलो छोराले हात गुमायो, अब अस्पतालको खर्च कसरी तिर्ने ? घर फर्केपछिको जीवन कसरी गुजारा गर्ने ? सरकारले सहयोग गर्छ रे भन्ने सुनेको थिए, हामी गरिबलाई सरकारले पनि हेरेन’, राईले भनिन् । उनलाई उपचार खर्च र थप राहत उपलब्ध गराउन रौतहटका निर्वतमान सांसद रामकुमार भट्टराई लागिपरेका छन् । भट्टराईकै अग्रसरतामा जिल्ला प्रशासन कार्यालयले १० लाख क्षतिपुर्तिका लागि गृह मन्त्रालयलाई सिफारिस गरेको छ । तर गृहमन्त्रालयले खासै चासो नदेखाएको सांसद भट्टराईले गुनासो पोख ।‘पहुँचवाला नेतासँगै विस्फोटमा परेकाहरुको उपचार खर्च व्यहोरेर सरकारले थप ५ लाख क्षतिपुर्ति समेत दिईसकेको छ, तर रौतहटका पीडितलाई भने अझै दिइएको छैन’, भट्टराईले भने । उनले गृहमन्त्रालय र मुख्यसचिवलाई समेत घाइतेको उपचार र थप सहयोगका लागि लिखित आग्रह गरिसकेको बताएका छन् ।
पेट्रोलियम ट्याङ्करमा माघदेखि लकिङ सिस्टम, रोकिएला इन्धन चोरी ?
काठमाडौं । विगतदेखि नै लागु हुने भनिएको पेट्रोलियम ट्याङ्करको लकिङ प्रणाली अागामी माघ महिनादेखि कार्यान्वयनमा ल्याइने भएको छ । बुधबार निगमको ४८ औं वार्षिकोत्सव मनाउने क्रममा निगमका प्रवत्ता विरेन्द्र गोईतले मागदेखि पेट्रोलियम ट्याङकरमा लकिङ सिस्टम जडान गरी कार्यान्वयनमा ल्याउने बताए । ‘मागभित्र पेट्रोलियम ट्यांकरहरुमा लकिङ सिस्टम सुरु हुनेछ,’ उनले भने ‘सर्वप्रथम झापाको चारलीबाट ट्याङकरको लकिङ गर्न सुरु गरिनेछ ।’ निगमले केही महिना अघिदेखि नै भारतबाट ट्याङ्करमा ल्याउने गरेको इन्धनको परिमाण नपुगेको, बाटामै तेल चोरि हुने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न तथा पेट्रोलियम ढुवानीलाई गुणस्तरीय र पार्दशी बनाउन उक्त ट्याङ्करमा लकिङ प्रणाली जडान गर्ने बताएको थियो । त्यस्तै निगमको निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले कम्पनीले अहिले करिब एक हजार ८ सय ट्याङकर ट्रकहरुलाई करारमा लिएर सञ्चालन गरिरहेको बताए । ‘त्यसमध्ये नयाँ भित्र्याइएको ४/५ सय ट्याङ्करमा उक्त प्रणाली जडान भइसकेको छ,’ उनले भने ‘बाँकी ट्याङ्करहरुमा पनि जडान गर्ने कार्य भइरहेको छ ।’ उनका अनुसार उक्त लकिङ प्रणालीले एकपटक मापन गरिसकेको पेट्रोलियम पदार्थलाई ‘क्लोज लुक’मा लकिङ गरिने गरिन्छ ।
नेको इन्स्योरेन्सलाई ५० प्रतिशत हकप्रद निष्कासन गर्न बोर्डकाे अनुमति
काठमाडौं । नेको इन्स्योरेन्सलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले ३९ लाख २० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले बिक्री प्रबन्धक एनएमबी क्यापिटल मार्फत ३९ करोड २० लाख रुपैयाँ बराबरको सेयर जारी गर्न बोर्डको अनुमति पाएको हो । मंगलबार मात्रै कम्पनीलाई सो मात्राको हकप्रद निष्कासन गर्न बोर्डले अनुमति दिएको हो । हाल कम्पनीको चुक्ता पुँजी ७८ करोड ४१ लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी एक अर्ब १७ करोड रुपैयाँ पुग्ने छ । मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८६२ रुपैयाँ रहेको थियो ।
एसियन लाइफ इन्स्योरेन्सको माघ ८ गते बुक क्लोज, ५० प्रतिशत हकप्रद जारी गर्दै
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको आगामी माघ ८ गते बुक क्लोज हुने भएकाे छ । गत २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैंठकले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि बुक क्लोज गर्ने निर्णय गरेको हो ।कम्पनीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्दै छ । हाल कम्पनीको चुक्ता पुँजी ८० करोड ५५ लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी एक अर्ब २० करोड रुपैयाँ पुग्ने छ । बुधबार कम्पनीको सेयर मूल्य करिब प्रतिकित्ता १४४८ रुपैयाँमा कारोबार भइरहेको छ ।
मेगा बैंकले ९.४५ प्रतिशत बोनस सेयर दिने
काठमाडौं । मेगा बैंक नेपालले ९.४५ प्रतिशत बोनस सेयर दिने भएको छ । पुस २५ गते बसेको बैंक सञ्चालक समितिले गत आवको नाफाबाट लगानी कर्तालाई सो मात्रामा बोनस सेयर दिने निर्णय गरेको हो । बैंकले गत आवमा ७९ करोड १४ लाख नाफा कमाएको थियो । बैंकले ६९ करोड ७१ लाख २ हजार १ सय ६८ रुपैंयाँ बराबरको बोनस सेयर दिने भएको हो । हाल बैंकको चुक्ता पुँजी ७ अर्ब ३७ करोड ६७ लाख रुपैंयाँ रहेको छ । बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ७ करोड पुग्नेछ ।
विश्व बजार जोड्ने रेलवे नेटवर्क, कहाँ पुग्यो काम ?
काठमाडौं । सम्भावित प्रधानमन्त्रीका रुपमा हेरिएका एमाले अध्यक्ष केपी ओलीले रसुवागढी नाका पुगेर चिनियाँ रेल यहिँबाट नेपाल आउँछ भनिदिए । ओलीकै अगुवाईमा केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको अध्ययनका लागि चिनसँग सम्झौता भैसकेको छ । यस बाहेक काठमाडौं–बिरगञ्ज विद्युतिय रेलमार्गको सम्भाव्यता अध्ययनका लागि आव्हान गरिएको ग्लोबल टेण्डरबाट ६ वटा कम्पनीलाई प्रारम्भिक छनौट गरिसकिएको छ । र ती कम्पनीमध्येबाट पनि सम्भाव्यता अध्ययनका लागि अन्तिम छनौट तत्कालै अघि बढ्दैछ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाइएको मेची महाकाली रेल मार्गको ६१९ किलोमिटर डिपिआर तयार भएको छ । रेल विभागले गत नोभेम्बर २० तारिखका दिनसम्ममा ६१९ किलोमिटर क्षेत्रको डिपिआर तयार पारेको हो । यसरी केरुङबाट काठमाडौं आउने रेलले नेपाललाई चीनसहित रसिया र पुर्वी युरोपको बजारसम्म जोड्नेछ । त्यस्तै झापाको काकडभिट्टामा आउने रेलले मध्यपुर्व एसियासँग जोड्नेछ । कञ्चनपुरको गड्डाचौकीबाट भारत जाने रेलले नेपाललाई पश्चिम युरोपसम्म जोड्नेछ । ‘केरुङबाट नेपाल आउने रेल र पुर्वपश्चिम रेल वे नेटवर्क दिर्घकालिन समृद्धिसँग जोडिएको छ, यसले नेपाललाई विश्व बजारमा जोड्छ’, रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले भने । उपाध्यायका अनुसार पुर्वी नाका काकडभिट्टादेखि वुटवलसम्मको डिपिआर तयार भएको छ भने वुटवलदेखि पश्चिमी नाका गड्डा चौकीसम्मको ४२१ किलोमिटर रेलमार्गको डिपिआर निर्माण धमाधम अघि बढेको छ । ‘वुटवलदेखि पुर्व तर्फको डिपिआर तयार भैसकेको छ, अब वुटवलदेखि गड्डा चौकीसम्मको डिपिआर पनि एक बर्षभित्रै तयार पर्ने गरि धमाधम काम भैरहेको छ’, उपाध्यायले भने । विभागले बर्दिबासदेखि काकडभिट्टा खण्डको २४७ किलोमिटरको डिपिआर तयार पारेको छ । त्यस्तै, बर्दिबास–सिमरा–तम्सारिया–बुटवल खण्डको ३७२ किलोमिटर डिपिआर पनि तयार भैसकेको छ । सोही खण्डको बर्दिबास–लालबन्दीको ३० किलोमिटरमा ट्रयाक बेड,पुल पुलेसा निर्माणको काम सम्पन्न भैसकेको छ । लालबन्दीदेखि सिमरासम्मको ७८ किलोमिटरको काम पनि चालु आर्थिक बर्षमा सुरु भएको छ । क्रस बोर्डर रेल वे नेटवर्क भारत सरकारको सहयोगमा जयनगर–जनकपुर– बर्दिवास ६९ किलोमिटरमध्ये जयनगर–जनकपुर बिजुलपुराको ५२ किलोमिटरमा ट्रयाक बेड तथा स्ट्रक्चरको काम सम्पन्न भैसकेको छ । सो खण्डमा अब रेलको डब्बा राखेर गुडाउन सकिने अवस्था निर्माण भैसकेको छ । त्यस्तै, बिजुलपुरा–बर्दिबासको १७ किलोमिटर क्षेत्रमा जग्गा अधिग्रहणको प्रक्रिया पनि अघि बढेको छ । कटहरी–विराटनगर–बथनाहाको १८ किलोमिटरको पनि ट्रयाक बेड तथा स्ट्रकचरको काम धेरै अघि बढिसकेको छ । मध्यपश्चिमको नेपालगञ्जदेखि भारतको नेपालगञ्ज रोडसम्मको १५ किलोमिटर रेल मार्ग, भैरहवादेखि नौतन्वासम्मको १२ किलोमिटर र न्यु जलपाइगुडीदेखि काकडभिट्टासम्मको रेल वे नेटवर्क निर्माणको काम पनि अघि बढेको छ । कति लाग्छ लागत ? तराईमा निर्माण हुने रेलमार्गका औषत लागत प्रति किलोमिटर ४० करोड लाग्छ । पहाडमा पुलमा बनाईने रेलमार्गको निर्माण लागत तराईको भन्दा तीन गुणा बढि अर्थात करिब १ अर्ब २० करोड पर्ने अनुमान गरिएको छ । त्यस्तै, सुरुङ मार्फत निर्माण हुने रेलमार्गको लागत पुलको भन्दा तीन गुणा बढि अर्थात प्रति किलोमिटर ३ अर्ब ६० करोडसम्म पर्छ । बामपन्थी रेल सपना सरकार गठनको तयारीमा रहेको बामपन्थी गठबन्धनले निर्वाचन पुर्व आगामी पाँच बर्षमा २३४५ किलोमिटर विद्युतिय रेलमार्ग बनाउने प्रतिवद्धता व्यक्त गरेको थियो । अब बामपन्थीहरुले नै आगामी पाँच बर्षसम्म सत्ता सञ्चालन गर्ने देखिन्छ । बामपन्थीहरुले पाँच बर्षभित्र रसुवागढी–काठमाडौं–बिरगञ्ज रेलमार्ग, पुर्वपश्चिम रेलमार्ग र मध्यपहाडी लोकमार्गमा तिब्रगतिको विद्युतिय रेलमार्ग निर्माण गर्ने बताएका छन् । ‘आगामी ५ बर्षमा पुर्व पश्चिम राजमार्ग, पुर्व पश्चिम औद्योगीक करिडोर राजमार्ग, मध्यपहाडी लोकमार्गहरुका समानान्तरमा तिब्र गतिको विद्युतिय रेलमार्ग सञ्चालन गरिनेछ । त्यसै गरि यसै अवधीमा रसुवागढी–काठमाडौं–बिरगञ्जमा तिब्रगतिको विद्युतिय रेलमार्ग सञ्चालन गरिनेछ’, बामपन्थी घोषणा पत्रमा भनिएको छ । यो सबै रेलको लम्बाई करिब २३४५ किलोमिटर हुन आउँछ । हाल धमाधम काम भैरहेको पुर्वपश्चिम रेलमार्गको लम्बाई ९४५ किलोमिटर रहेको छ । पुष्पलाल मध्यपहाडी लोकमार्गको लम्बार्ई १७७६ किलोमिटर छ । यसमा रेल मार्ग निर्माण गर्दा करिब १२०० किलोमिरटको हुन सक्ने रेल विभागका सिडिई प्रकाशभक्त उपाध्यायले बताए । रसुवागढी–काठमाडौं–बिरगञ्ज विद्युतिय रेलमार्गको लम्बाई २०० किलोमिटर हुने पनि उनले बताए । के के सम्भव छ पाँच बर्षमा ? रेल विभागका सिडिई उपाध्यायका अनुसार आगामी पाँच बर्षमा पुर्व पश्चिम रेलमार्गको केहि खण्डमा रेल सञ्चालन गर्न सकिन्छ । रसुवागढी–काठमाडौं रेलमार्गको डिपिआर तयार भएर निर्माण कार्य समेत केहि अघि बढिसकेको हुनेछ । काठमाडौं–बिरगञ्ज विद्युतिय रेलमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न ६ वटा कम्पनीलाई प्रारम्भिक छनौट गरिसकिएको छ । आगामी पाँच बर्षभित्र यसको पनि डिपिआर तयार भएर निर्माण कार्य अघि बढिसकेको हुनेछ । ९४५ किलोमिटर पुर्व पश्चिम रेलमार्ग सञ्चालनका अलवा भारतीय नाकासम्म पुग्ने रेलमार्ग पनि आगामाी पाँच बर्षभित्र निर्माण गरेर सञ्चालन गर्न सम्भव तर त्यसका लागि सरकार लगानी भने जुटाउनुपर्नेछ । ‘बामपन्थीहरुको रेल सपना अलि महत्वकांक्षी छ तर दृढ इच्छाशक्ति राखेर काम गर्ने भने हो पाँच बर्षमा धेरै गर्न सकिन्छ’, उपाध्यायले भने । फास्ट ट्रयाकमा काम गर्ने हो भने आगामी पाँच बर्षमा उपत्यकामा मेट्रो रेलको निर्माण पनि निकै अघि बढिसक्नेछ ।
एभरेष्टको सेयर खुल्ने वित्तिकै १० प्रतिशतले घट्यो, किन्ने कोहि छैनन्, बेच्नेहरु लाइनमा
काठमाडौं । बुधबार सेयर बजार खुल्ने वित्तिकै एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले घटेको छ । सेयर कारोबार खुल्ने वित्तिकै एभरेष्टको सेयर बेच्नेहरुको ठुलो संख्या बढेपछि कम्पनीको मूल्य १० प्रतिशतले घटेर कारोबार बन्द भएको हो । ४ हजार ७ सय ५४ कित्ता सेयर बिक्रिमा राखिए पनि कुनै लगानी कर्ता खरिद गर्न निस्किएनन् । एभरेष्टको सेयर मूल्य २१९ रुपैंयाँले घटेर १९७१ रुपैंयाँमा आईपुगेको छ । मंगलबार पनि एभरेष्टको सेयर मूल्य २४३ रुपैंयाँले घटेको थियो । कम्पनीले पुर्व घोषित ६ सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्न नपाउने भएपछि लगानी कर्ता निरास बनेका छन् । हाल सबै साधारण सेयर मात्रै रहेको कम्पनीले अब संस्थापक र साधारण सेयरको अनुपात ५१ः४९ बनाउनै पर्ने भएको छ । सो सेयर संरचना कायम गराउँदा पुर्व घोषित ६ सय प्रतिशतको हकप्रद सेयर निष्काशन गर्न नपाउने भएको हो ।