विकासन्युज

हुन्डाईले ल्यायो “विन्टर डिलाइट” न्यानो स्किम्, गाडी खरिदमा नगद छुटका साथै निशुल्क बिमा

काठमाडौं । नेपालकालागी हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. ली.ले “हुन्डाई विन्टर डिलाइट स्किम्” ल्याएको छ । यस योजनामार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटको साथमा ६ लाख ९६ हजार रुपैयाँसम्मको सेवा सुबिधा प्राप्त गर्न सक्नेछन् । त्यस्तै, योजना अन्तर्गत हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुट, निशुल्क १ वर्ष सम्मको बिमा, एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस, २० हजार बराबरको लोयल्टी बोनस सँगै पुरानो सवारीको स्पट् एक्सचेन्ज तथा मुल्याँङ्कनको सुबिधा समेत प्राप्त गर्न सकिनेछ । साथै, हरेक हुन्डाई गाडीको खरिदमा ४ वर्षसम्म निशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सकिनेछ । चिसो मौसममा पनि यस “हुन्डाई विन्टर डिलाइट स्किम्” ले ग्राहकवर्गमा न्यानोपनको आभाष प्रदान गर्ने लक्ष्य लिइएको छ । यस लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र यस “हुन्डाई विन्टर डिलाइट स्किम्” मार्फत पनि ग्राहकहरुलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ । यस योजना निर्धारित समयका लागी मात्र लागु हुनेछ ।

युनिभर्सल पावर कम्पनीले ९६ करोडको आईपीओ निष्कासन गर्न माघ ११ गते बोलायो विशेष साधारणसभा

काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडले ४० प्रतिशत साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । युनिभर्सलले ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न माघ ११ गते विशेष साधारणसभा बोलाएको छ । सभाबाट पारित भएपछि आईपीओ निष्कासनको प्रक्रिया सुरु हुने कम्पनीले जनाएको छ । कम्पनीले १० प्रतिशत आयोजना प्रभावित दोलखा जिल्लावासी र ३० प्रतिशत सर्वसाधारणलाई सेयर निष्कासन गर्नेछ । युनिभर्सलमा ४० प्रतिशत सर्वसाधारण र ६० प्रतिशत संस्थापक सेयर हुने गरी लगानी संरचना तयार पारिएको छ । साधारणसभाबाट पारित भएपछि आईपीओ निष्कासन गर्ने कम्पनीले जनाएको छ । कम्पनीले सर्वसाधारणबाट अग्राधिकार सेयरको रुपमा उठाएको ९५ करोड रुपैयाँ साधारण सेयरमा परिणत गरेको छ । आयोजनाको काम सुरु गर्न कम्पनीले सर्वसाधारणबाट अग्राधिकार सेयर उठाएको थियो । युनिभर्सलको सेयर दाखिला खारेज बिहीबारदेखि सुरु भई माघ ११ गतेसम्मका लागि बन्द हुने भएको छ । युनिभर्सलले दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको छ । आयोजना बनाउन २ अर्ब ४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कम्पनीमा ८८ प्रतिशत स्वामित्व सीईडीबी हाइड्रो फण्ड लिमिटेडको छ । सीईडीबी माउ कम्पनी हो । युनिभर्सलले अन्य जलविद्युत आयोजना पनि निर्माणको तयारी गरेको छ । यस्तै यही समूहअन्र्तगतको राधी विद्युत कम्पनी लिमिटेडले पनि हालै सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको थियो । जलविद्युत आयोजनाले प्रभावित स्थानिय बासिन्दालाई न्युनतम् १० प्रतिशत आईपीओ निष्कासन गर्नुपर्ने वाध्यकारी व्यवस्था भएपछि कम्पनीले धमामध आईपीओ निष्कासन गर्न लागेका हुन् ।

सामुदायिक लघुवित्त वित्तीय संस्थाले माघ ९ देखि ३ करोडको आईपीओ निष्कासन गर्दै

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) माघ ९ गतेदेखि निष्कासन हुने भएको छ । संस्थाले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेका हो । यसमध्ये १२ हजार कित्ता कर्मचारी र १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले जनाएको छ । आईपीओ निष्कासन छिटोमा माघ १२ र ढिलोमा फागनु ८ गते बन्द हुने एसबीआईले जनाएको छ । आईपीओ बाँडफाँडपछि संस्थाको चुक्तापुँजी १० करोड रुपैयाँ पुग्ने छ ।

कामना सेवा विकास बैंकले माघ १५ देखि ३० करोड ९४ लाखको हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । कामना सेवा विकास बैंकले माघ १५ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले चुक्तापुँजी बढाउन १० बराबर १.५ अनुपातमा ३० करोड ९४ लाख १५ हजार रुपैयाँ बराबरको ३० लाख ९४ हजार १५४ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन फागुन २१ गतेदेखि बन्द हुने निष्कासन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ । हकप्रद सेयर बाँडफाँडपछि बैंकको चुक्तापुँजी २ अर्ब ३७ करोड २१ लाख रुपैयाँ पुग्ने छ । हाल बैंकको पुँजी २ अर्ब ६ करोड रुपैयाँ छ ।

दुग्ध क्षेत्रबाट दैनिक ३ करोड सहरबाट गाँउ पस्छ

काठमाडौं । पछिल्लो समय मुलुकका विभिन्न जिल्लाहरु दुधमा आत्मानिर्भर भएका छन् । दैनिक ३ करोड भन्दा बढी रकम सहरबाट गाउँमा जाने गरेकाे एसोशिएसनको अध्यक्ष सुमित केडियाले जनाएका छन् । नेपाल डेरी एसोशिएसनको अनुसार अहिले मुलुकमा १५ अर्ब रूपैयाँ भन्दा बढी दुग्ध क्षेत्रमा उद्योग स्तरको लगानी रहेको छ । उनका अनुसार मुलुकको ‘एजीडीपी’मा दुग्ध क्षेत्रको योगदान ९ प्रतिशत छ । ४ लाख ५० हजार कृषक परिवार दुग्ध क्षेत्रको रोजगारीमा आवद्घ छन् । २० हजारभन्दा बढी मानिसले उद्योगस्तरमा प्रत्यक्ष रोजगारी पाइरहेको छ । एसोशिएसनले १९ औं वार्षिक साधारण सभा एवम ७ औं राष्ट्रिय महाधिवेशनको पूर्वसध्यामा गरेको कार्यक्रममा अझै पनि मुलुकमा दुग्ध क्षेत्रको विकासको लागि विभिन्न नीतिगत सुधार हुन पर्ने औल्याएको छ । एसोशिएसनको अनुसार समय सापेक्ष मुल्य समायोजन गरिनु पर्ने, लागत खर्च र कच्चा दुधको गुणस्तरमा थप सुधार गरिनु पर्ने, कुशल उत्पादन प्रणाली, प्रशोधन प्रणाली जस्ता सिद्घान्तहरुलाई किसान र उद्योग तहमा व्यापकता दिनुपर्ने लगायत छन् । मुलुकमा हाल ४८ लाख ५० हजार लिटर दुध उत्पादन हुन्छ । जसमध्ये औपचारिक रुपमा १५ प्रतिशत आर्थात ७ लाख २७ हजार ५ सय लिटर दुध उपलब्ध छ । त्यस्तै अनौपचारिक क्षेत्रबाट ३५ प्रतिशत आर्थात १६ लाख ९७ हजार ५ सय लिटर दुध उपलब्ध छ छ । कृषक स्वयमले ५० प्रतिशत अर्थात २४ लाख २५ हजार दुध उपभोग गर्दै आइरहेको एसोशिएसनको भनाइ छ ।

डा. गोविन्द केसी रिहा

काठमाडौं । सर्वोच्च अदालतले प्रा.डा. गोविन्द केसीलाई तारेखमा रिहा गरेको छ । बुधबार विना धरौटी रिहा गर्न भन्दै डा. केसीलाई उनका कानुन व्यवसायी एवम् वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीको जिम्मा लगाउन आदेश दिइएको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलासले रिहाइको आदेश दिएको हो ।प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको प्रमाणपत्र विवादका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयबाट बुझ्ने आदेशमा भनिएको छ । यस्तै प्रमाणपत्रको सम्बन्धमा न्यायपरिषद्बाट कागज झिकाउने उल्लेख छ । डीन डा. शशी शर्माका बारेमा सर्वोच्चबाट मिसिल झिकाएर अध्ययन गरिने आदेशमा उल्लेख छ । प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग गर्दै अनसन सुरु गरेलगत्तै अदालतले उनलाई पक्राउ गर्ने आदेश दिएको थियो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको १०० प्रतिशत बोनस र ५.२६ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयरधनीलाई १०० प्रतिशत (शतप्रतिशत) बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । साथै, कर प्रयोजनको लागि ५.२६ प्रतिशत नगद लभांश दिने कम्पनी सञ्चालक समितिको प्रस्ताव पारित भएको छ । समितिको उक्त प्रस्तावलाई बुधबार सम्पन्न कम्पनीको ३१औँ वार्षिक साधारणसभाले पारित गरेको हो । बैंकले गत आर्थिक वर्षमा संचालन नाफा एक अर्ब ९८ करोड रुपैयाँ र खुद नाफा एक अर्ब ४२ करोड रुपैयाँ आर्जन गरेको छ । सो अवधिमा कम्पनीको व्यवसाय २५ प्रतिशतले वृद्धि भई ३९ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । यस बैंकमा स्ट्याण्डार्ड चार्टर्ड ग्रुपको ७०.२१ प्रतिशत र सर्वसाधारणको २९.७९ प्रतिशत सेयर लगानी रहेको छ ।

सिन्धुपाल्चोकको जोखिमयुक्त वस्ती सार्न सुरु

कागमाडौं । २०७२ सालको भूकम्पका कारण अत्यधिक मानवीय तथा भौतिक क्षति पुगेको सिन्धुपाल्चोकमा जोखिमयुक्त वस्ती सार्न शुरु गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पहलमा जिल्लामा पहिलो पटक १८ जना लाभग्राहीका लागि दुई लाख रुपैया अनुदान उपलब्ध गराइ सुरक्षित स्थानमा घडेरी खरिद गरिएको जनाइएको छ । प्राधिकरणको अगुवाई र जिल्ला प्रशासन कार्यालयको समन्वयमा जोखिमयुक्त वस्तीको रुपमा पहिचान भएको साविकको गाती गाविसका १८ घरधुरी परिवारलाई बाह्रबिसे नगरपालिका वडा नम्वर ३ मा स्थानान्तरण गर्ने प्रयोजनका लागि जग्गा व्यवस्थापन गरिएको हो । सरकारले दिएको प्रतिपरिवार दुई लाख अनुदानमा लाभग्राहीले रकम थप गरि कम्तीमा साढे दुई आनादेखी ८ आनासम्म घडेरी खरिद गरेका छन् । जोखिमयुक्त बस्ती पहिचान भएका लाभग्राहीलाई सुरक्षित स्थानमा जग्गा किन्न प्रतिघरपरिवार दुई लाख रुपैया सरकारले अनुदान दिदै आएको छ । उनीहरुले निजी आवास पुनर्निर्माणमा थप ३ लाख रुपैया पाउने व्यवस्था समेत गरिएको जनाइएको छ । जोखिमयुक्त लाभग्राहीका रुपमा पहिचान भएका उनीहरुलाई १० बर्षसम्म खरिद गरेको घडेरी बेचबिखन गर्न नपाईने र तीन महिनाभित्र भूकम्प प्रतिरोधी मापदण्ड अनुसार घर पुनर्निर्माण गर्ने शर्तमा सरकारी अुनदान दिएर जग्गा हस्तान्तरण गरिएको प्राधिरणका सचिव मधुसुदन अधिकारीले जानकारी दिएका छन् । जोखिमयुक्त बस्ती स्थानान्तरणको प्रक्रियालाई अघि बढाउन प्राधिकरणका सचिव अधिकारीसहितको टोली केही दिनअघिदेखि सिन्धुपाल्चोकमा खटिएको थियो । त्यस्तै प्राधिकरणको पहलमा यसअघि नुवाकोट, धादिङ, रसुवामा पनि जोखिमयुक्त वस्तीका लाभग्राहीलाई सुरक्षित स्थानमा सार्न जग्गा व्यवस्थापन गरिएको थियो ।