आइएमई लाइफ इन्स्योरेन्सको अध्यक्षमा रामहरि अर्याल, पुँजी बढाउन सेयर जारी गर्ने
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा रामहरि अर्याल चयन भएका छन् । बुधबार बसेको संचालक समितिको बैठकले अर्याललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । साथै, सोही दिन सम्पन्न इन्स्योरेन्सको पहिलो वार्षिक साधारणसभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने संचालक पदमा डा. रामहरि अर्याल, इश्वरकुमार कार्की, दिपचन्द्र रेग्मी, संजय अधिकारी साथै विज्ञ स्वतन्त्र सञ्चालकको रुपमा अश्विनीकुमार ठाकुरलाई निर्वाचित गरेको छ । नवनिर्वाचित संचालकहरुले आजै पदवहाली तथा शपथ ग्रहण गरेका छन् । लैनचौरमा सम्पन्न उक्त साधारणसभामा सञ्चालक समितिका अध्यक्ष अर्यालले कम्पनीले आम मानिसको पहुँचहुने खालको १० प्रकारको स्तरीय तथालाभदायक बीमा योजनाहरु कार्यान्वयनमा ल्याएको र भविष्यमा अझ बढी लाभदायक र नबिनतम् बिमा योजनाहरु ल्याउने जानकारी दिएका छन् । उक्त वार्षिक साधारण सभाले संचालक समितिबाट प्रस्तुत वार्षिक लेखापरीक्षण प्रतिवेदन सहित कम्पनीको आ. व. २०७३/७४ को वासलात तथा हिसाव समेत स्वीकृत गरेको छ । नियमनकारी निकाय बीमा समितीको प्रावधान अनुसार २०७५ साल असार मसान्तसम्मको चुक्ता पूँजी कम्तीमा २ अर्ब रुपैयाँ पुर्याउनु पर्ने रहेको छ । सो प्रावधानअनुरुप कम्पनीले सर्वसाधारणलाई शेयर जारी गरी पुँजी वृद्धि गर्ने बताएको छ ।
नेपाल इन्स्योरेन्सले एक करोड ४३ लाख लाभांश दिने, हकप्रद किन्नेले पनि पाउने
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीलाई एक करोड ४३ लाख ८० हजार ५०६ रुपैयाँ लाभांश वितरण गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजीको एक करोड ३६ लाख ६१ हजार ४८४ रुपैयाँ बोनस र कर प्रयोजनको लागि ७ लाख १९ हजार ०२५ रुपैयाँ बराबरको नगद गरी सो मात्राको लाभांश दिने निर्णय गरेको हो । कम्पनीले हकप्रद सेयर जारी पश्चात कायम हुने चुक्ता पुँजीमा सो मात्राको लाभांश दिन लागेको हो । यस कम्पनी हाल शतप्रतिशत(१ः१) हकप्रद सेयर निष्कासन गर्ने प्रक्रियामा रहेको छ । सो मात्राको हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पुँजी ६० करोड ३९ लाख रुपैयाँ पुग्ने छ । कम्पनीले उक्त पुँजीको २.२६१९२ प्रतिशत बोनस सेयर दिने भएको हो । हाल (हकप्रद जारी गर्नु अघि)कम्पनीको पुँजी ३० करोड १९ लाख रुपैयाँ रहेको छ । कम्पनीले वितरण गर्न लागेको बोनस यस पुँजीको ४.५२ प्रतिशत हो । तर हकप्रद पश्चात कायम हुने पुँजी(६० करोड ३९ लाख रुपैयाँ)लाई हिसाब गर्दा बोनस दर घटेर २.२६ प्रतिशत हुन पुगको कम्पनीले जनाएको छ । साथै, सो मात्राको बोनस कम्पनीकाे १०० प्रतिशत हकप्रद किन्नेले पनि पाउने छन् ।
दरबार हाईस्कुल भत्काउने निर्णय, आधुनिक सामग्रीले पुरानै डिजाइनमा बनाउने
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दरबार हाइस्कुल भत्काउने निर्णय गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुषालको अध्यक्षतामा बसेको सरोकारवालासहितको बैठकले दरबार हाईस्कुल भत्काएर नयाँ बनाउने निर्णय गरेको हो । दरबार हाइस्कुलको पुननिर्माणमा आधुनिक निर्माण सामग्री प्रयोग गरिनेछ तर डिजाइन भने पुरानै भवनको जस्तै हुनेछ । चीन सरकारले दरबार हाईस्कुलको पुननिर्माण गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर समेत भैसकेको छ । प्राधिकरणका प्रवक्ता यमलाल भूसालले भने,“अत्यन्तै ठूलो संरचना बनाउनु पर्दा परम्परागत निर्माण सामग्री संकलन गर्नु असहज मात्र नभै परम्परागत प्रविधिबाट हालको न्यूनतम शैक्षिक मापदण्ड र शिक्षण सिकाई पूर्वाधारको आवश्यकता पूरा गर्न कठीन हुने देखिएकोले परम्परागत ढाँचामा आधुनिक प्रविधिको उपयोग गर्दै पुनर्निर्माण गर्ने सहमति भएको हो ।” बि.स. १८५४ मा तत्कालिन राणा प्रधानमन्त्री बिर शमशेरले दरबार हाईस्कुलको स्थापना गरेर नेपालमा औपचारिक शिक्षाको आरम्भ गरेका थिए । बैठकले अपाङमैत्री समेत हुने गरी भित्री संरचनामा शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउन सकिने खालका कक्षाकोठा, शौचालय, प्रयोगशाला र विपदको समयमा तत्काल उद्धार गर्न सकिने र आवश्यक सुरक्षाका उपायहरु समेत सुनिश्चित गर्ने गरी भूकम्प प्रतिरोधी संरचना तयार गर्ने निर्णय गरेको प्राधिकरणका निमित्त सचिव समेत रहेका भूसालले बताए। उक्त विद्यालयको पुनर्निर्माण कार्य अविलम्व सम्पन्न गर्न शिक्षा मन्त्रालय, शहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाई, पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाले आवश्यक प्रक्रियाहरु पूरा गरिदिने र शिक्षा मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले चिनीयाँ पक्षसँग आवश्यक समन्वय र सहजीकरण गरी यथाशीघ्र पुनर्निर्माण कार्य अघि बढाउने सहमति भएको भूसालले बताए । बैठकमा शिक्षा सचिव मधुप्रसाद रेग्मी, प्राधिकरणका कार्यकारी सदस्य डा. चन्द्रबहादुर श्रेष्ठ, निमित्त सचिव यमलाल भूसाल, सहप्रवक्ता डा. भीष्मकुमार भूसाल, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल, खानी तथा भूगर्भ विभागका महानिर्देशक राजेन्द्र प्रसाद खनाल, काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत धनीराम शर्मा, अर्थमन्त्रालयमा चीन डेक्स हेर्ने उपसचिव युवराज पाण्डे, परराष्ट्र मन्त्रालयका चीन डेक्स हेर्ने उपसचिव कुमार राई लगायतको उपस्थिति थियो ।
शनिबार विदाको दिन पनि बैंक खुल्ने
काठमाडौं । आउदो शनिबार सार्वजनिक विदाको दिन पनि बैंक खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार एक निर्देशन जारी गरी आउदो पुस २९ गते एक दिन विदाको दिन पनि खुला गर्न बैंक तथा वित्तीय संस्था र नेपाल क्लियिरिङ हाउस लिमिटेडलाई भनेको हो । आउदो शनिबार बैंक तथा वित्तीय संस्था, भन्सार कार्यालय, राजश्व कार्यलय राजश्व संकलनका लागि खुला हुने राष्ट्र बैंकले जनाएको छ । वर्षैभरी असोज, पुस, चैत र असार २५ गतेपछि शनिबार पर्न गएमा सो दिन बैंक तथा वित्तीय संस्था र क्लियरिङ हाउस खुला गर्ने निर्णय भएको राष्ट्र बैंकले जनाएको छ ।
ज्ञानेश्वरको ईन्टरनेशनल स्कूल अफ टुरिजम कलेजमा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । ईन्टरनेशनल स्कूल अफ टुरिजम एण्ड होटल मेनेजमेन्ट कलेज ज्ञानेश्वरमा बुधबार रक्तदान कार्यक्रम सफलताका साथ सम्पन्न भयो । बिगत ८ वर्ष देखि यस कलेजमा हरेक वर्ष रक्तदान कार्यक्रमको आयोजना हुने गरेको छ । यस कलेजमा अध्ययनरत वि.एच.एम दोस्रो बर्षका विद्यार्थीहरुले आफ्नै कलेज प्राङ्गणमा रक्तदान कार्यक्रम गर्दे आएका छन् । आजको यस कार्यक्रमले विद्यार्थीहरुमा सामाजिक उत्तरदायित्वप्रति जिम्मेवार हुनलाई प्रेरणा मिलेको छ । यस कार्यक्रममा जम्मा १७३ विद्यार्थी, शिक्षक तथा कर्मचारीले रक्तदान गरेका थिए । रक्तदाताहरुको कमि तथा रक्त संचार केन्द्रमा रगत अभावको कारण कुनै पनि बिरामीले रगत अभावको कारण ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले प्रत्येक बर्ष कलेजले यस किसिमको प्रेरणादायी कार्यक्रमको आयोजना गरी आएको छ ।
नेपाल लाइफ इन्स्योरेन्सको लाभांशमा लोभिएका लगानीकर्ता किन पछि हटे ?
काठमाडौं । लगातार एक सातादेखि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर सबैभन्दा बढी कारोबार भइरहेको छ । बुधबार पनि नेपाल लाइफको बढी सेयर किनबेच भएको छ । बुधबार धरै कारोबार भएपनि सेयर मूल्य ५८ रुपैयाँ घटेर १ हजार ८२१ रुपैयाँमा झरेको छ । मंगलबार बढेर १ हजार ८७९ पुगेको थियो । सेयर मूल्य घटेपछि मंगलबार सेयर किन्ने लगानीकर्ताले एकैदिन ५७ रुपैयाँ गुमाएका छन् । बुधबार नेपाल लाइफको ३ करोड ८२ लाख ३३ हजार रुपैयाँ बराबरको २० हजार ९९५ कित्ता सेयर किनबेच भएको छ । कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाको लाभांश घोषणा गरेको छैन् । केही दिनभित्र कम्पनीले लाभांश घोषणा गर्दैछ । कम्पनीले ४० प्रतिशत भन्दा बढी लाभांश दिने हल्ला बजारमा चलेपछि लगानीकर्ता नेपाल लाइफको सेयर किन्न झुम्मिएका हुन् । लाभांश घोषणापछि सेयर मूल्य अझै घट्ने संभावना भएको भन्दै लगानीकर्ता पछि हटेको सेयर ब्रोकरको भनाई छ । यस्तै एभरेष्ट बैंकको प्रतिकित्ता ९२२ रुपैयाँमा २ करोड १३ लाख ६० हजार रुपैयाँको सेयर किनबेच भएको छ । एभरेष्टको सेयर मूल्य सस्तो भएकाले पछि बढ्ने अनुमानका आधारमा एभरेष्टको सेयर किनबेच धेरै भएको हो । एभरेष्टको सेयर मूल्य घटेको छ । यस्तै सानिमामाई हाइड्रोपावर लिमिटेडको पनि प्रतिकित्ता ४६९ रुपैयाँमा १ करोड ५९ लाख ६२ हजार रुपैयाँको सेयर किनबेच भएको छ । सानिमामाईको मंगलबारदेखि सेयर कारोबार बढेको छ । सानिमाले यो वर्ष २९ करोड रुपैयाँ खुदनाफा गरेपनि लगानीकर्तालाई लाभांश नदिने भएको छ । सेयर पुँजी बढेपछि औसत ७ प्रतिशत मात्र लाभांश हुने भएपछि नदिइ अन्य अन्य जलविद्युत आयोजनामा लगानी गर्ने तयारी सानिमामाईको छ । यो वर्ष लाभांश नपाउने भएपछि लगानीकर्ता धमाधम सेयर बेचेर बाहिरिन खोज्दा कारोबार बढेको हो ।
एलजी टिभी एक्स्चेञ्ज अफर शुरु, एक्स्चेञ्जमा २ वर्षको वारिन्टी
काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले यहि पुस २६ गतेदेखि एलजी टिभी एक्स्चेञ्ज अफर ल्याएको छ । नयाँ एलजी टिभी को एक्स्चेञ्जमा २२ हजार ९९० रुपैयाँ सम्मको छुट दिने कम्पनीले जनाएको छ । यस अफर अन्तर्गत कुनै पनि ब्राण्डको टिभी कुनै पनि अवस्थामा ल्याएर पाउन सकिने छ । साथै, एलजी टिभी एक्स्चेञ्जमा २ वर्षको वारिन्टी पनि दिने जानकारी दिएको छ । यो अफर सिमित अवधिभर सिमित मोडेलमा नेपाल अधिराज्यभर लागू गरिएको छ । नेपालका लागि एलजी ब्राण्डका आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सि.जी. इम्पेक्स प्रा.लि. हो ।
नेपाल आयल निगमले ३० प्रतिशत साधारण सेयर जारी गर्ने, १५ प्रतिशत विदेशी लगानी
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले ३० प्रतिशत साधारण शेयर जारी गर्ने भएको छ । निगमले आफ्नो सेयर संरचना परिवर्तन गर्दै ३० प्रतिशत साधारण सेयर(आईपीओ) जारी गर्न लागेको हो । हाल निगमको चुक्ता पुँजी २९ करोड २३ लाख रहेको छ । निगमले चुक्ता पुँजी बढाएर २० देखि ३० अर्ब पुर्याउन लागेको छ । सोही पुँजीमा ५५ प्रतिशत सरकारी, ३० प्रतिशत सर्वसाधारण र १५ प्रतिशत रणनीतिक साँझेदारलाई दिने तयारी थालेको हो । रणनीतिक साँझेदारका रुपमा विश्वामा ख्याति प्राप्त कम्पनीलाई भित्र्याउने तयारीमा निगम जुटेको निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईले बताए । निगमको ४८ औं वार्षिकोत्सवमा निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराइले भने ‘अब निगममा सरकारको सेयर ५५ प्रतिशत र रणनैतिक साझेदारीको १५ प्रतिशत शेयर रहनेछ र बाँकी ३० प्रतिशत लगानी सर्वसाधारणले गर्नेछन् ।’ निगमको वार्षिक कारोबार १ खर्ब ५० अर्ब रुपैयाँ रहेको छ भने अब त्यसलाई बढाएर २ खर्ब पुर्याउने तयारी निगमले गरेको छ ।