विकासन्युज

शिखर इन्स्योरेन्सको २९ प्रतिशत बोनस शेयर पारित, चुक्ता पुँजी १ अर्ब नाघ्यो

काठमाडौं । शिखर इन्स्योरेन्सको २९ प्रतिशत बोनस शेयर पारित भएको छ । इन्स्योरेन्सको शुक्रबार सम्पन्न १३औं वार्षिक साधारणसभाले कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सो मात्राको बोनस शेयरको वितरण पश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब ०५ करोड रुपैयाँ पुग्नेछ । बीमा समतिबाट २०७५ आषाढ मसान्तभित्र निर्जिवन बीमा कम्पनीले चुक्तापुँजी १ अर्ब पुर्याउनुपर्ने निर्देशन भएकोमा कम्पनीले बोनस शेयरकै माध्यमबाट चुक्तापुँजी कायम गर्न सफल भएको छ । साथै, सभाले संस्थापक शेयरमध्ये २० प्रतिशत (कुल शेयरको १४ प्रतिशत) शेयर सर्वसाधारण शेयरमा परिणत गर्ने समेत निर्णय गरेको छ । कम्पनीले चालु आव सम्ममा १ अर्ब ४३ करोड रुपैयाँको बीमाशुल्क संकलन गर्न सफल भएको बताएको छ ।  

शनिबार पोखरामा एनसेल मेला हुँदै, चर्चित कलाकारहरुको सहभागी

काठमाडौं । एनसेलले शनिबार “एनसेल मेला २०७४” पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजारमामा आयोजना गर्दैछ । कम्पनीले आफ्ना ग्राहकहरुसँग थप नजिक भई खुसीयाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन/फोरजीको अनुभव प्रदान गर्न उक्त मेलाको आयोजना गर्न लागेको हो । गीत संगीत लगायत विविध रोचक कार्यक्रमहरु समावेश गरिएको यो मेला बिहान ११ बजे देखि शुरु हुँने भएको छ । मेलामा चर्चित कलाकारहरु शिव परियार, आषिश राना (लाउरे), चर्चित सांगीतिक समुहहरु कबवेभ र द एजले मेलामा सहभागी सबै दर्शकलाई आफ्नो विषेष प्रस्तुतीबाट मनोरञ्जन प्रदान गर्नेछन् । एनसेल मेलामा सहभागी हुने सबै उमेर समुहका दर्शकहरुलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु समावेश गरिएका छन् । स-साना बालबालिकाहरुको गायन प्रतिभा उजागर गर्न मेलामा ‘जुनियर सिङ्गिङ आइडल’ कार्यक्रमको आयोजना गरिनेछ । त्यसैगरी बालबालिकाका लागि ट्राम्पोलिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायत विविध आकार्षणहरु पनि रहनेछन् । मेलाको अरु आकर्षणहरुमा पेपर प्लेन थ्रो, मिनी गल्फ, फ्रग जम्प र कार रेस जस्ता फोरजी थिममा आधारित गेम्सहरु, फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेम्सहरु पनि रहनेछन् । यसका साथै रोडिज्का विजेता समन श्रेष्ठ र फस्ट रनरअप अनिमेश शाहीको सहभागीताले मेलाको आकर्षण थप बढाउनेछ । मेलामा प्रवेश निःशुल्क हुने र कन्सर्ट सहित साझ ६.३० सम्म चल्ने छ । थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरञ्जन लिनुका साथै विभिन्न पुरस्कारहरु पाउन सक्नेछन् । मेलामा एनसेलको विषेश फोरजी जोन पनि रहने छ जहाँ मेलामा सहभागी आगन्तुकहरुले देशको १९ शहरहरुमा पुगिसकेको एनसेलको फोरजी सेवाको बारेमा पनि थप जानकारी लिनुका साथै फोरजी सेवा चलाएर टेष्ट पनि गर्न सक्नेछन् । यसका साथै दर्शकहरुले मेलामा नै आवश्यक कागजातहरु बुझाई फोरजी सिम खरिद गर्न तथा आफ्नो पुरानो सिमलाई फोरजी सिममा अपग्रेड पनि गर्न सक्नेछन् । पर्यटकीय नगरी पोखरामा मेला मार्फत आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक भई खुसियाली मनाउदै अग्रिम रुपमा आउँदो नयाँ वर्ष २०१८ को शुभकामना आदानप्रदान गर्न कम्पनी उत्साहित रहेको एनसेलले जनाएको छ । पोखराबाट शुरु हुने यो मेला पुष १५ गते विराटनगरको हाटखोलामा, पुष २२ गते बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा र पुष २९ गते ललितपुरको जावलाखेल मैदानमा आयोजना पश्चात समापन हुने कम्पनीले जनाएको छ ।  

पुस १५ सम्म मेलम्ची दोस्रो खण्डको सुरुङको काम सम्पन्न हुने

काठमाडौँ ।  उपत्यकामा मेलम्चीको पानी ल्याउन निर्माण भइरहेको २७ किमी लामो सुरुङको अम्बाथान–ग्याल्थुम खण्डको काम पुस १५ सम्म सकिने भएको छ । मेलम्ची खानेपानी आयोजनाले निर्माण गरिरहेको सुरुङको सुन्दरीजल–सिन्धु खण्डको करिब ९ किमी काम यसअघि नै सम्पन्न भइसकेको छ । सुरुङ निर्माणको काम ६०० मिटर बाँकी रहेकामा अम्बाथान–ग्याल्थुम खण्डमा ७२ मिटरको काम मात्र बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । सिन्धु–ग्याल्थुम खण्डमा कमजोर चट्टान भेटिएकाले काम ढिला भए पनि सम्पन्न गर्ने सम्झौता भएकै मितिमा सकिने समितिले जनाएको छ । यो खण्डमा ५०० मिटरभन्दा बढी सुरुङ खन्न बाँकी छ । इटालियन ठेकेदार कम्पनी सिएमसीले आगामी चैत १२ सम्म सुरुङ निर्माण सम्पन्न गर्ने सम्झौता गरेको छ । सुरुङसँगै मुहानस्थलमा ‘हेड वक्र्स’ का काम पनि भइरहेको प्रवक्ता पन्तले बताए । सुन्दरीजलमा ८ करोड ५० लाख लिटर पानी प्रशोधन केन्द्र निर्माण भई सफलरुपमा परीक्षण पनि भएको छ । अर्को ८ करोड ५० लाख लिटर पानी प्रशोधनका लागि केन्द्र निर्माणको काम शुरु भएको छ । विसं २०७५ को शुरुआतसँगै मेलम्चीको पानी उपत्यकामा वितरण गर्ने गरी काम भइरहेको आयोजनाले जनाएको छ । सुन्दरीजलदेखि उपत्यकामा विभिन्न भागमा पानी वितरणका लागि पाइप बिच्छ्याउने कामको जिम्मेवारी भने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयलाई दिइएको छ । पहिलो चरणमा पानी वितरण गर्न तोकिएका स्थलमा चैतअगावै पाइप बिच्छ्याइ सकिने निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले जानकारी दिए । सुरुङ निर्माण सम्पन्न भएपछि सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी राजधानी ल्याइनेछ । रासस

राष्ट्रिय सहकारी बैंकको १४ प्रतिशत लाभांश पारित

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । बैंकको शुक्रबार सम्पन्न १४ औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७३/७४ को कारोबारबाट सेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्तावलाई पारित गरेको हो । साथै,सभाले बैंकको गत वर्षको आर्थिक तथा प्रगति प्रतिवेदन पारित गर्नुका साथै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । त्यस्तै, सहकारी ऐनमा उल्लेख भएको कर सम्बन्धी प्रावधानलाई आर्थिक विधेयकमा समावेश गरी कार्यान्वयन गर्न नेपाल सरकारसँग माग गर्ने कम्पनीले जनाएको छ । राज्यद्धारा सञ्चालित गरिवी निवारणसंग सम्बन्धित कार्यक्रमहरु विभिन्न मन्त्रालय एवं निकायहरुबाट सञ्चालन हुने गरेको र उक्त कार्यक्रमलाई ग्रामिण क्षेत्रमा बस्ने जनतासम्म पुर्याउने भरपर्दो माध्यम सहकारी संघ संस्थालाई प्राथमिकता दिने भएको छ । सभाले नेपाल सरकारको १ करोड लगानी रहेको बैंकका १० करोड शेयर रकम पुर्याउन र अन्य विभिन्न क्षेत्रमार्फत प्रदान गर्ने सहुलियत दरको कर्जाहरु राष्ट्रिय सहकारी बैंक मार्फत परिचालन गर्न माग गरेको छ । त्यसैगरी, गरिवी निवारण कोषहरुका विभिन्न कोषहरुबाट सहकारी क्षेत्रमा जाने रकमलाई एकीकृत रुपमा सबै सहकारी संघ संस्थाहरुको बैंकका रुपमा स्थापना भएको सहकारी बैंक मार्फत लैजान सरकारसंग साधारणसभाले माग गरेको छ । कृषि क्षेत्र लगायत उत्पादनका क्षेत्रमा काम गर्ने सहकारी संघ संस्थाहरुलाई विशेष प्राथमिकता दिन राज्यसंग माग गर्ने सभाले माग गरेको छ ।

ग्रीन डेभलपमेन्ट बैंक र पोखरा फाइनान्सले हकप्रद जारी गर्दै, कहिले देखि बुक क्लोज?

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक र पोखरा फाइनान्स दुबैले हकप्रद सेयर जारी गर्ने भएका छन् । सो प्रयोजनको लागि यी दुबै कम्पनीले आ–आफ्नो कम्पनीको बुक क्लोजको मिति तोकिसकेका छन् । ग्रीन डेभलपमेन्ट बैंकले ४०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो प्रयोजनको लागि आगामी पुस १७ गते कम्पनीको बुक क्लोज हुँदै छ । त्यस्तै, पोखरा फाइनान्सले पनि १५ प्रतिशत हकप्रद सेयर जारी गर्दै छ । सो प्रयोजनको लागि यस कम्पनीले पनि आगामी पुस १४ गते बुक क्लोज गर्दै छ ।

मार्भल ब्राण्डका सातवटा उत्पादन जो गुणस्तरिय हुनुकाे साथै स्वास्थ्यका लागि पनि हितकारी

काठमाडौ । मार्भल ब्राण्डका पाइप तथा फिटिङहरु उत्पादन र बिकृ गर्दै आएको मार्भल टेक्नोप्लाष्ट प्रा.लि.ले बिहीबार ‘मार्भेलस नाइट’को आयोजना गरी आफ्ना उत्पादनहरुका बारेमा डिष्ट्रिब्यूटर तथा डिलर र मिडियाहरुलाई जानकारी गराएको छ । द लुब्रिजोल कर्पोरेशन, यूएसएको लाइसेन्स लिएर नेपालमा अन्तर्राष्ट्रियस्तरका पाइप तथा फिटिङरु उत्पादन गर्दै आएको मार्भल टेक्नोप्लाष्टले आयोजना गरेको सो कार्यक्रममा पाँचसय भन्दा बढि डिष्ट्रिब्युटर तथा डिलरहरु सहभागी थिए । कार्यक्रममा मार्भल टेक्नोप्लाष्ट प्रा.लि.का भाइस प्रेसिडेन्ट पवनकुमार सञ्चेतीले आर्थिक विकाससँगै निर्माण कार्यले समेत गति लिने वातावरण बन्न लागेको बताए । सञ्चेतीले मार्भल ब्राण्डका एनएसएफ सर्टिफाइड र लिड फ्रि उत्पादनहरुले स्वस्थ र स्वच्छ नेपाल निर्माणका लागि मात्रै नभएर नेपालको निर्माण क्षेत्रलाई बलियो बनाउन ठूलो योगदान पुग्ने बताए । यसको मुख्य कारण आफ्ना उत्पादनहरु वातावरणमैत्री, टिकाउ, गुणस्तरीयता र किफायती भएकाे कम्पनीले जनाएकाे छ । लुब्रिजोल सीपीभीसी टेक्नोलोजी र केमिकल इनोभेशनमा लिडिङ कम्पनी हो । लुब्रिजोलले विश्वका १३० भन्दा बढि मुलुकसँग टाइअप गरेर आफ्नो उपस्थिति जनाउँदै आएको छ । लुब्रिजोलको प्रविधिमा आधारित भारतमा दुई वटा र नेपालमा एउटा प्लान्ट सञ्चालनमा छ । पचास वर्षभन्दा बढि इतिहास बोकेको अमेरिकी कम्पनीसँग सहकार्य गरेर मार्भल टेक्नोप्लाष्टले उपभोक्ताको बदलिँदो चाहना र आवश्यकता अनुसारका उत्पादनहरु दिन सफल भएको छ । अहिले मार्भल ब्राण्डका सातवटा उत्पादनहरु बजार छन् । यी सबै उत्पादनहरु इको–ग्रीन र लिड फ्रि छन् । यसले बाताबरणलाई कुनै हानीनोक्सानी नगर्नुका साथै मानव स्वास्थ्यमा असर गर्दैन । लिड फ्रि सीपीभीसी पाइप उत्पादन गर्ने मार्भल नै पहिलो कम्पनी हो नेपालमा । मार्भलको उपस्थितिले लिडयुक्त पाइपहरु प्रयोग गर्न बाध्य रहँदै आएका उपभोक्तलाई ठूलो राहत मिलेको छ । मार्भल टेक्नोप्लाष्टका लोकप्रिय उत्पादनहरुः १) मार्भल फ्लोगार्ड प्लास–पाइप एण्ड फिटिङ २) मार्भल प्योरफ्लो–यूपीभीसी कोल्ड वाटर पाइपिङ सिस्टम ३) मार्भल इकोडन–लिड फ्रि ड्रायनेज सिस्टम ४) मार्भल ड्युराड्रान– अण्डरग्राउण्ड ड्रायनेज पाइप ५) मार्भल अक्वाफ्लो– यूपीभीसी प्रेसर पाइप ६) मार्भल बोरवेल– क्यासिङ पाइप फर बोरवेल ७) मार्भल सेफडक्ट– फायर रेसिस्टेन्ट यूपीभीसी कन्डक्ट पाइप एण्ड फिटिङ लिड अर्थात शिशाको मिश्रणले पानीलाई विषाक्त बनाएर मानव स्वास्थ्यमा असर गर्छ । कानुनी रुपमा पनि यस्ता लिडयुक्त पाइपहरु प्रयोग गर्न पाइँदैन । मार्भलका उत्पादनहरु डब्ल्युएचओ स्टाण्डर्डअनुसार रहेको र उसले आफ्नै ल्याबमा परीक्षण गरेपछि मात्रै बजारमा ल्याउने गरेको कम्पनीको अध्यक्ष महाविरसिंह सन्चेतीले बताए । साथै, मार्भलका पीभीसी र सीपीभीसी पाइपहरु एनएस र एनएफएस सर्टिफिकेट प्राप्त छन् । यी पाइपहरुमा उच्च तापक्रम बहन गर्नसक्ने क्षमता छ । यसमा थर्मल एक्सपान्शन अर्थात पाइपको साइज घटबढ हुने समस्या न्यून छ । यो पाइपमा कुनै पनि लेउ लाग्ने वा पानी बग्ने प्रवाहमा अवरोध हुँदैन । ‘उपभोक्ता के कुरामा निश्चिन्त भए हुन्छ भने यो भनेको वान टाइम इन्भेष्टमेन्ट हो भन्दै मार्भल टेक्नोप्लाष्टले मानिसले जीवनमा घर प्रायः एक पटक मात्रै बनाउने भएकाले गुणस्तरसँग सम्झौता गर्न हुन्न’ सन्चेती भन्छन्–‘एक पटक पाइप फिटिङ गरिसकेपछि बीचमा खिया लाग्यो वा पानी चुहियो भनेर फेर्नुपर्ने अवस्था नआओस भन्ने सबैको चाहना हुन्छ भन्दै कम्पनीले त्यसको सुनिश्चितता मार्भलका पाइप तथा फिटिङहरुले गर्ने जनाएको छ ।’ कम्पनीका भाइस प्रेसिडेन्ट पवनकुमार सञ्चेतीको अनुसार अन्य कुनै पाइप प्रयोग भएको छ र मार्भलको पाइप हाल्नुपर्यो भने पनि जडान गर्न सजिलै सकिन्छ । मार्भलको पाइप जडान गर्दा स्पेस थोरै खान्छ । भित्ता थोरै काटेर, सिमेन्ट बालुवाको थोरै प्रयोगले यो पाइज जडान गर्न सकिन्छ । कोल्ड वाल्डिङ प्रोसेसबाट पाइप जडान हुने भएकाले पानी लिक हुने कुनै समस्या हुँदैन । निजी आवासदेखि ठूला अपार्टमेन्ट, कार्यालय भवन र व्यापारिक कम्प्लेक्सहरुको निर्माण बढने क्रमसँगै सीपीभीसी पाइपहरुको माग बढ्दै गएकाले उक्त माग पूर्ति गर्न आफूहरु सक्षम रहेको मार्भलले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ । आगामी दिनमा आफ्नो नेटवर्कलाई थप विस्तार गरी ग्रामीण क्षेत्रसम्म सहज आपूर्तिको व्यवस्था गर्ने योजना बनाएको मार्भल टेक्नोप्लाष्टले यसका बारेमा जनतालाई अझै धेरै परिचित गराउन बाँकी रहेको बताएको छ । विराटनगरमा रहेको मार्भल पाइपको उद्योगले मुलुकका अधिकांश स्थानमा आफ्ना उत्पादनहरु पुर्याउन सफल भइसकेको छ । यसको कच्च पदार्थ बाहिरबाट ल्याउनुपर्ने र लिड फ्रि हुने भएकाले सामान्य महंगो भएको बताउँदै सञ्चेती भन्छन्–‘एक पटक जडान गरेपछि जीवनभरलाई हुने भएकाले यो अन्य पाइपहरुभन्दा निकै सस्तो हो ।’ नेपालमै अन्तर्राष्ट्रियस्तरका पाइपहरु उत्पादन सुरु भएपछि भारतबाट आउने क्रम निकै घटेको उनले बताए ।

उखुको मूल्य निर्धारण गर्न माग

नवलपरासी । किसानले तत्काल उखुको मूल्य निर्धारण गर्न माग गरेका छन् । उखुको याम शुरु भइसक्दा समेत सरकारले उखुको मूल्य निर्धारण गरेको छैन । सरकारले किसानको मागलाई ध्यानमा राखी न्यूनतम मूल्य प्रतिक्विन्टल रु ५६२ निर्धारण गर्नुपर्ने उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले बताए । सरकारले गत वर्ष उखुको मूल्य प्रतिक्विन्टल ५३१ रुपैयाँ २० पैसा कायम गरेको थियो । नवलपरासी ९बर्दघाट सुस्ता० पश्चिम जिल्लामा यस वर्ष उखु उत्पादनमा कमी आएको छ । चिनी उद्योगले समयमै रकम भुक्तानी नगर्दा तथा उचित मूल्य नपाउँदा किसान उखुखेती छाडी वैकल्पिक खेतीतर्फ लागेका छन् । गत वर्ष करिब १८ लाख क्विन्टल उखु उत्पादन भएको यस क्षेत्रमा यस वर्ष करिब १५ लाख क्विन्टल मात्र उखु उत्पादन भएको उखु उत्पादक कृषक समितिका अध्यक्ष यादवले बताए । चिनी उद्योगले उखु किसानसँग उखु खरिद गरी एक वर्षपछि मात्र रकम भुक्तानी दिने र उचित मूल्यसमेत पाउन नसक्दा किसानले वर्षेनी क्रमशः उत्पादन घटाउँदै लगेका छन् । जिल्लामा सात हजार १४९ हेक्टरमा उखुखेती गरिँदै आएको छ । करिब १० हजार घरधुरी उखुखेतीमा संलग्न छन् । रासस

नयाँ बीमा कम्पनीले लाइसेन्स नपाउने, मर्जर र प्राप्ति उच्च प्राथमिकतामा

काठमाडौं । बीमा समितिले अब नयाँ बीमा कम्पनीहरुलाई लाइसेन्स नदिने भएको छ । समितिले भर्खरै मात्रै ९ वटा जीवन बीमा कम्पनीलाई लाइसेन्स दिएर पनि कारोबार आरम्भ गरिसकेका छन् । त्यस्तै, निर्जीवन तर्फ मनकामना इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स कम्पनी नेपाल र सानिमा इन्स्योरेन्सले लाइसेन्स कुरिरहेका छन् । तीमध्ये पनि सानिमा, अजोड र नेपाल जनरलले आसय पत्र पाईसकेका छन् । बीमा समितिले निर्जीवन तर्फका चार कम्पनीले लाइसेन्स पाएपछि नयाँ कम्पनीलाई लाइसेन्स नदिने स्पष्ट पारेको हो । १० वटा जीवन बीमा कम्पनीहरुलाई लाइसेन्स दिन अर्थमन्त्रालयले सैद्धान्तिक सहमति दिँदा नै थप बीमा कम्पनीलाई लाइसेन्स नदिनुभन्ने निर्देशन भएको थियो । ‘नयाँ बीमा कम्पनीको लाईसेन्स बन्द गर्ने र भएका कम्पनीहरुलाई मर्जरका लागि प्रोत्साहन गर्ने लगायतका निर्देशन त्यतिबेलै अर्थमन्त्रालयबाट भएको थियो, हामी त्यसकै मर्मका आधारमा काम गर्छाै’, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले भने । निर्जीवनतर्फ प्रक्रिया पुरा गरेर आए भने अब तीनवटा निर्जीवन बीमा कम्पनी थपिनेछन् । जीवन बीमा कम्पनीलाई लाइसेन्स दिन सैद्धान्तिक सहमति दिँदा नै अर्थमन्त्रायले समितिलाई केहि बुँदे मार्गदर्शन दिएको थियो । त्यसमा नयाँ लाईसेन्स बन्द गर्ने र भएका कम्पनीहरुलाई मर्ज तथा एक्विजिशन गर्न प्रोत्साहित गर्ने नीति लिने भन्ने थियो । ‘अर्थमन्त्रालयको मार्गर्दशन अनुसार नयाँ लाइसेन्स बन्द गर्ने र भएका बीमा कम्पनीहरुलाई मर्जर तथा एक्विजिशनका लागि प्रोत्साहन गर्न हामी केन्द्रित हुनेछौं’, अध्यक्ष चापागाईँले भने । उनले पुर्नबीमा कम्पनीलाई बलियो बनाउने, कम्पनीहरुको क्षमता विकासमा जोड दिने, बाली तथा पशुबीमाको लागि छुट्टै संरचना बनाउने, सम्पत्ति बीमा र स्वास्थ्य बीमालाई प्रोत्साहन गर्ने लगायतका काम आफ्नो प्राथमिकतामा रहेको पनि स्पष्ट पारे । हाल नयाँ पुरानासहित १७ वटा जीवन बीमा कम्पनी सञ्चालनमा रहेका छन् । १७ वटै निर्जीवन बीमा कम्पनी पनि सञ्चालनमै रहेका छन् । थप ३ वटा निर्जीवन बीमा कम्पनीले लाइसेन्सका लागि आसय पत्र पाएका छन् ।