विकासन्युज

न्यायाधीशविरुद्ध ९२ वर्षीया वृद्धाको उजुरी, पैसामा बिकेको आरोप

काठमाडौं । ललितपुर जिल्ला अदालतका एक न्यायाधीशमाथि आर्थिक प्रलोभनमा परी फैसला सुनाएको आरोपसहित ९२ वर्षीया एक वृद्धाले न्याय परिषद्, कानुन मन्त्री र मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयसमक्ष ‘इन्साफ बेच्ने कार्य रोकी पाउन’ उजुरी दिएकी छन् । उजुरी दिएको एक वर्ष भन्दा बढी समय व्यतित भइसक्दा पनि त्यसमा सुनुवाइ भएको छैन । आफ्नो स्वामित्व कायम हुने ललितपुर इमाडोलको जग्गालाई हकदावी नै नपुगेका र कानुनी आधार नै नभएका व्यक्तिको नाममा ती न्यायाधीशले हक स्थापित गरिदिएपछि फैसलामा न्यायाधीशबाट गम्भीर त्रुटि भएको दाबीसहित आशामाया गोर्खाली श्रेष्ठले उजुरी दिएकी हुन् । ललितपुर जिल्ला इमाडोलको ८ क कि. नं ६९ को एक रोपनी जग्गाको स्वामित्व विवादमा चलेको मुद्दामा २०७२ चैत ३० गते गरिएको निर्णयमाथि ललितपुर जिल्ला अदालतका न्यायाधीश ओमप्रसाद अर्यालविरुद्ध उजुरी परेको हो । काठमाडौं चिकंंमुगल वडा न २० बस्ने आशामायाले ललितपुर जिल्ला अदालतले २०७२ चैत ३० मा विपक्षीका सम्पूर्ण रूपले बनावटी र सिर्जित लिखतलाई आधार मानी वादीलाई जसरी पनि हराउने नियतले कानुनी व्याख्यामा समेत जानाजानी गम्भीर त्रुटि गरेको आरोप आफ्नो उजुरीमा लगाएका छन् । जग्गा दर्ताका लागि २०६६ भदौ १९ गते दिएको निवेदनमाथि मालपोत कार्यालयबाट कुनै कार्वाही अघि नबढाइए पछि दोस्रो चोटि २०७० मङ्सिर २५ मा निवेदन दिएकामा उक्त जग्गा राम बहादुर बाबुका छोरा काठमाडौं महानगरपालिका वडा नं १३ निवासी ५७ वर्षीय नरोत्तम बाबुको नाममा २०६८ चैत्र ३ को निर्णयले दा। खा। नामसारी भइसकेको जानकारी पाएपछि स्तब्ध बनेकी आशामाया अदालत गुहार्न पुगेकी थिइन् । विपक्षीद्धारा लगत भिडाउन प्रस्तुत कागजातसँग विवादित जग्गाको चार किल्ला तथा क्षेत्रफल मिल्दैन र पेस गरिएको १९९२ सालको लगतसँग उनका पिता भनिएका व्यक्तिको नाम र वतनसँग मिल्दैन र भिड्दैन । लुभु नासल बस्ने रामबहादुर श्रेष्ठको उनाउ व्यक्तिको लगत जालसाजी गरेर नरोत्तम बाबुले किर्ते कागज बनाएको पीडित महिलाले आरोप लगाएकी छन् । उनको लगत बमोजिम पिता भनिएका व्यक्ति पाँच वर्षका देखिने र पाँच वर्षका बालक मालपोत कार्यालयमा गई सही दस्तखत गर्ने कल्पना पनि गर्न नसकिने आशामायाको दलील छ । आशामायाका अनुसार १९९५ सालदेखि हालसम्मका जग्गाधनीका तीन पुस्ताका र मोहीका तीन पुस्ताका लिखतहरु तथा तत्कालीन भूमि प्रशासन कार्यालयमा रहेका अकाट्य प्रमाणहरुलाई फैसला सुनाउँदा नजरअन्दाज गरिएको छ । रामबहादुर भन्ने ससुरा विष्णुलाललाई १९९९ वैशाख ३१ मा मोही वंसलालले गरिदिएको कूत कबुलियतनामा लिखत र पारसिं ज्यापूले गरिदिएको सोही चार किल्ला उल्लेख भएको फाछ्र्यापत्रको लिखतलाई आशामायाले आफ्ना प्रमाणका रुपमा अघि सारेकी छिन् । वंशलालसँग ज्यापूले गरिदिएको कूत कबुलियतनामाको लिखतमा उल्लेख गरिएका चारकिल्लामा रहेका किल्ला अहिले उक्त जग्गाको नापीको फिल्ड नक्शामा उल्लिखित चारकिल्ला रहेको कित्ताका साविक जग्गावाल र निजहरुका हकवालाहरुकै नाममा दाःखा. नामसारी भएको हो । ललितपुर केरुगाउँ बस्ने मोही वंशलाल ज्यापूसँग १९९९/१/३१ मा कूत कबुलियतनामा गर्दा उक्त जग्गाको फिल्डबुकमा मोहीका नाममा उल्लेख भएका टिकाचा ज्यापूले साक्षी बसी ल्याप्चे सहिछाप गरेको पीडितको भनाइ छ । उजुरीमा काठमाडौँ वडा नं १३ बाट स्थलगत सर्जमिन नै नगराई राम बहादुर बाबु राजवंशीको नाम राम बहादुर श्रेष्ठ हो भनी विपक्षीहरूले कोरा सिफारिशपत्र बनाई हक स्थापित हुुने जग्गाको लगत, मोठ, तिरो, खला, मौजा, कूतकबुलियतनामा, आफ्नो पुर्खाका नाममा के कसरी उक्त जग्गा आएको हो भन्ने प्रमाण विना नै निवेदन दिएको उल्लेख छ । आशामायाले उजुरीमा भनेकी छिन् – कार्यविधि कानुनका तीन आधार स्तम्भ हकदैया, हदम्याद र क्षेत्राधिकारमध्ये कुनै एक आधारबाट कुनै पनि मुद्दा गर्ने पक्ष चुक्दछ भने सो मुद्दामा अदालतले तथ्यमा प्रवेश गरी अन्य प्रमाण र ऐनको विवेचना गर्र्दैन र मुद्दा नै खारेज गरिन्छ । यस्ता वस्तुगत आधारलाई विचारै नगरी फैसला पीडित महिलाको विरुद्ध ‘विपक्षीको एक पक्षीय हितमा’ र ‘विपक्षीको प्रत्यक्ष मोलाहिजामा परी’ गरिएको छ । न्यायाधीशको फैसलाको आधारमा विपक्षीले ‘यसै कि.नं ६९ को….’ भन्ने वाक्यांश उल्लेख गरिनुले फैसला प्रथम दृष्टि मै आपत्तिजनक रहेको’ पनि उजुरीमा उल्लेख छ । ‘इन्साफ बेच्ने कार्य रोकी पाउँ’ भनी दिनुभएको उजुरीमा उनाउ व्यक्तिहरु एक आपसमा सांगठनिक रुपमा मिली, षडयन्त्र र परिपञ्च रचेको, जे जसरी भए पनि जग्गा हडप्ने नियतमा जिल्ला न्यायाधीश पनि आर्थिक प्रलोभनमा परेको पुष्टि भएको पुनरावेदक वृद्धा आशामायाको दाबी छ र विपक्षीबाट रुपैयाँ लिई गलत, दूषित एवं अपमानजनक न्याय सम्पादन गर्ने न्यायाधीश अर्यालमाथि अविलम्ब कारबाही होस् भन्ने उनको माग छ । रासस

सिटिजन्स बैंकको ६७औं शाखा दाङको बंगलाचुलीमा, २ थान कम्प्युटर हस्तान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६७औ शाखा दाङको बंगलाचुलीमा संचालनमा ल्याएको छ । बैंकले सोमबार(आज) यस बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले बैंकिङ्ग कारोवारको सुरुवात गरेका छन् । उक्त समारोहमा सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले श्री गटेरा प्राथमिक विद्यालयलाई १ थान र धापा निम्न माध्यमिक विद्यालयलाई १ थान गरी जम्मा २ थान कम्प्युटर सहयोग स्वरुप हस्तान्तरण गरेको छ । उक्त हस्तान्तरण बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत देवकोटा र बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीले संयुक्त रूपमा गरेका हुन् । उक्त शाखाका इन्चार्ज सुशील पोखरेलले यस क्षेत्रमा कृषि कर्जा, पशु पालन, तथा अन्य व्यवसायिक क्षेत्रम प्रशस्त लगानी गर्ने बैंकको उदेश्य रहेको बताएका छन् । यस बैंकले आ ब २०७४।७५ मा पाल्पाको छहरा, नवलपरासीको भुमही, मकवानपुरको मनहरी, बर्दियाको बढैयाताल, झापाको हल्दिबारी, महोत्तरीको औरहि र दाङको बंगलाचुली गरी थप ७ वटा शाखाहरु संचालनमा ल्याएको छ ।

सेन्ट्रल फाइनान्सको पुस ४ गते बुक क्लोज, ५० प्रतिशत हकप्रद जारी गर्दै

काठमाडौं । सेन्ट्रल फाइनान्स कम्पनीको आगामी पुस ४ गते बुक क्लोज हुने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनको लागि सो दिन फाइनान्सकाे बुक क्लोज गर्ने निर्णय गरेको हो । उक्त निर्णय मंसिर २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । यस फाइनान्सले २ बराबर १ को अनुपात (अर्थात ५० प्रतिशत) हकप्रद सेयर निष्कासन गर्दै छ । कुपन्डोलमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी ५२ करोड रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको पूँजी ७८ करोड रुपैयाँ नाघ्ने छ । सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८४ रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ ।  

ज्योति विकास बैंकले १० प्रतिशत बोनस दिने, राप्तीभेरीका सेयरधनीले ६ प्रतिशत पाउने

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको सो मात्रा(अर्थात २२ करोड ८ लाख रुपैयाँ) बोनस दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव मंसिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । साथै, सोही बैठकले ज्योति बैंकले हालै एक्वायर गरेको राप्तीभेरी विकास बैंकका सेयरधनीलाई पनि गत आवको मुनाफाबाट ६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बैंकले राप्तीभेरीका सेयरधनीलाई एक करोड ६ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने निर्णय गरेको छ । ज्योति बैंकले गत कात्तिक ८ गते राप्तीभेरी विकास बैंकलाई एक्वायर गरी एकिकृत कारोबार शुरु गरेको थियो । बैंकको सञ्चालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नु पर्ने छ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ३६ करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पश्चात बैंकको पुँजी २ अर्ब ६० करोड रुपैयाँ नाघ्ने छ । सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८७ रुपैयाँको हाराहारीमा किनबेच भइरहेको छ ।

दाङमा वैदिक कृषि केन्द्र स्थापना हुने

काठमाडौं । हजारौँ वर्षदेखि अपनाउदै आएको वैदिक कृषि पद्दतिलाई विर्सदा रासायनिक तत्व मिसिएका अनाजका माध्यमबाट विभिन्न रोग फैलिएकाले आफ्नै पद्दतिमा फर्कनुपर्नेमा जोड दिइएको छ । नेपाल संस्कृत विश्वविद्यालय, महर्षि विश्वविद्यालय अमेरिका र नेपाल महर्षि वैदिक फाउन्डेसनले आयोजना गरेको कार्यक्रमका वक्ताले यस विषयमा जोड दिएका हुन् । विश्वविद्यालयले वैदिक कृषि पद्दतिलाई प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम गर्ने सो अवसरमा जानकारी दिइयो । कार्यक्रममा विश्वविद्यालय र अमेरिकाको आयोवास्थित महर्षि वैदिक विश्वविद्यालयले दाङमा वैदिक कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने विषयमा छलफल भएको संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा कुलप्रसाद कोइरालाले जानकारी दिए । “वैदिक कृषिमा आधारित शिक्षा विश्वविद्यालयमा पढाउनुका साथै अनुसन्धान केन्द्रमा सोधखोज गरी यसको उपयोगिता र महत्वका विषयमा प्रकाश पार्ने तयारी छ, विश्वविद्यालय भरभावातित् ध्यानका माध्यमबाट चेतनामा आधारित शिक्षा दिने विषयमा पनि छलफल भएको छ, यस सम्बन्धमा केही दिनमा संस्कृत विश्वविद्यालय र महर्षि विश्वविद्यालय अमेरिकाबीच सम्झौता हुँदैछ”–उनले भने । वैदिक कृषि विषयमा हाल अमेरिकामा अध्ययनका साथै खेती पनि भइरहेको सो अवसरमा जानकारी गराइयो । केन्द्र खुलेर यो पद्दति लागू भएपछि नेपाल र अमेरिकाका विद्यार्थी खोज अनुसन्धानका लागि आदानप्रदान समेत हुनेछ । कार्यक्रममा फाउन्डेशनका अध्यक्ष एवं पूर्व गृहराज्यमन्त्री दीपकप्रकाश बाँस्कोटा, महर्षि विश्वविद्यालय अमेरिकाका पूर्व डीन राजा किङ्स्ले ब्रुक्स, वैदिक कृषिका लागि जापानमा बसी काम गरिरहेका जोन केन एफ, संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका प्रमुख प्राडा काशीनाथ न्यौपाने, विश्वविद्यालय प्राध्यापक संघका प्रा नवराज कट्टेल, विन्ध्यवासिनी संस्कृत विद्यापीठ पोखराका प्राचार्य अम्बिकाप्रसाद भट्टराईलगायतले वैदिक कृषि र चेतनामा आधारित शिक्षाले संस्कृत शिक्षाको उन्नयनमा सहयोग पुग्ने विचार राखेका छन् । रासस

बोनस सेयर पछि गुडविल फाइनान्सको सेयर मूल्य समायोजन

काठमाडौं । सोमबार गुडविल फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको १०.१९२८ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६१ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता २१३ रुपैयाँ रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी ७९ करोड ९९ लाख रुपैयाँ रहेको छ । सोमबार कम्पनीको सेयर प्रतिकित्ता १५८ रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ ।

समानुपातिकमा एमाले र काँग्रेसको कडा टक्कर, कुन दलले कति पाए(सूचिसहित)

काठमाडौं । प्रत्यक्ष तर्फ करिब ५० प्रतिशत सिट जितेको नेकपा(एमाले) समानुपातिक तर्फ पनि पहिलो स्थानमा देखिएको छ । समानुपातिक तर्फको प्रारम्भिक मतगणना अनुसार एमाले ३ लाख ४१ हजार ६ सय ३२ मत सहित पहिलो स्थानमा छ । एमालेलाई पछ्याईरहेको काँग्रेसको समानुपातिक मत ३ लाख ३८ हजार १ सय ९१ रहेको छ । निर्वाचन आयोगले सोमबार बिहान ११ बजे सार्वजनिक गरेको तथ्यांक अनुसार समानुपातिक तर्फ काँग्रेस भन्दा एमाले जम्मा ४ हजार ४ सय ४१ मतले मात्रै अघि रहेको छ ।  तेश्रो स्थानमा रहेको माओवादी केन्द्रको मत भने १ लाख ६८ हजार ९ सय ६३ रहेको छ । राष्ट्रिय जनता पार्र्टी नेपालले २४ हजार ९ सय ९ मत पाएको छ भने विवेकशिल साझा पार्टीले १७ हजार १ सय ५१ मत प्राप्त गरेको छ । त्यस्तै, राप्रपाले १४ हजार ६ सय २, संघिय समाजवादी फोरमले १४ हजार १ सय ३८, नयाँ शक्ति पार्टी नेपालले १२ हजार ५ सय ९९, राप्रपा प्रजातान्त्रिक ७ हजार ४ सय ६१ मत र अन्य राजनीतिक दलहरुको २१ हजार ३ सय ५८ मत पाएका छन् ।

झापा-५ मा अध्यक्ष ओली भारी मतान्तरले विजयी

भद्रपुर । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा क्षेत्र नं ५ बाट ५७ हजार १३९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डा खगेन्द्र अधिकारीले २८ हजार २९७ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालय, भद्र्रपुरले जनाएको छ । यसैगरी, झापा निर्वाचन क्षेत्र नं २ मा वाम गठबन्धनका तर्फबाट एमालेका पवित्रा निरौला (खरेल) ४५ हजार ८१७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उद्धव थापाले ३२ हजार ५० मत प्राप्त गरेका छन् । प्रदेशसभाअन्तर्गत क्षेत्र नं ५ (क) मा वाम गठबन्धनबाट एमालेका हिक्मतकुमार कार्कीले २४ हजार ९८ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अनिलकुमार प्रसाईँले १८ हजार ६३६ मत प्राप्त गरेका छन् । प्रदेशसभा (ख) मा वाम गठबन्धनबाट एमालेका अर्जुन राईले ३० हजार ९७३ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राजनकुमार ढुंगानाले १० हजार ९९३ मत प्राप्त गरेका छन्। रासस