विकासन्युज

तनहुँमा पौडेलद्धारा पुनः मतदानको माग

तनहुँ । नेपाली काँग्रेसका युवा नेता एवं तनहुँ क्षेत्र नं २ का प्रदेशसभा १ का उम्मेद्ववार प्रदीप पौडेलले पुनःमतदानको माग गरेका छन् । माझिलाङ, सागे नेपालटार, जन जौकुमारी, मीन मावि र उदयमावि केन्द्रको मतगणनामा कूल दुई हजार ३२८ मत हुनुपर्नेमा बढी ४२ मत भेटिएपछि फर्जी मत हालिएको भन्दै पौडेलले पुनः मतदानको माग गरेका हुन् । मुचुल्का गरिएको भन्दा बढी मत देखिएकोे उनले बताएका छन् । सोही मतगणनाबमोजिम बिना विभागीय मन्त्री एवं माओवादी प्रदेशसभाकी उम्मेदवार आशा कोइराला पाँच मतले विजयी भएपछि पौडेलले उक्त परिणाम आफूले स्वीकार नगर्ने जानकारी दिएका छन् । “फर्जी मत हालिएकाले सो परिणाम मैले स्वीकार गर्ने कुरै हुदैन पौडेलले भने” निर्वाचन अधिकृत समक्ष ती केन्द्रमा पुनः मतदान हुनुपर्ने माग राख्दै निवेदन दिएको उनले बताए । कोइरालाले १६ हजार ६४६ मत पाएर विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी पौडेलले पाँच मत कम १६ हजार ६४१ मत पाएका थिए। पौडेलका सर्मथकले पुनःमतदानको माग गर्दै दमौली बजारमा नारावाजी गरेका थिए । रासस

जितेन्द्र अरोरा बने स्ट्याण्डर्ड चाटर्ड बैंकको नयाँ अध्यक्ष

काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंकको अध्यक्षमा जितेन्द्र अरोराले सपथ ग्रहण लिएका छन् । उनलाई नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालबाट अध्यक्षको सपथ ग्रहण गरेका हुन् । अरोरालाई नै बैंकको कम्पनी सचिवको जिम्मेवारी पनि दिइएको छ । अनन्थ नारायणको कार्यकाल पुरा भएपछि स्ट्याण्डर्ड चाटर्ड बैंकले अरोरालाई अध्यक्ष बनाएको हो । सन २००१ मा बैंकमा प्रवेश गरेका अरोराले आसियान तथा दक्षिण एसियाको क्षेत्रिय प्रमुखका साथै कमर्सियल बैंकिङको ग्लोबल हेडका रुपमा ९ देशहरुको जिम्मेवारी सम्हालिरहेका थिए ।  

अल्पाईन र सेतीलाई प्राप्ती पश्चात सेञ्चुरीद्धारा एकीकृत कारोबार शुरु

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले अल्पाईन डेभलपमेन्ट बैंक र सेती फाईनान्सलाई प्राप्ती (एक्विजिशन) गरी आइतबार(आज) देखि एकिकृत कारोबार शुरु गरेको छ । उक्त एकीकृत कारोबारको शुभारम्भ नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवि नेपालले गरेका हुन् । एकीकृत कारोबार पश्चात् बैंकको चुक्ता पूँजी ७ अर्ब ६८ करोड रुपैयाँ पुग्ने छ । साथै, निक्षेप ४९ अर्ब रुपैयाँ र कर्जा ४५ अर्ब रुपैयाँ पुग्ने बैंकले जनाएको छ । सेञ्चुरी बैंकले बोनस शेयर जारी गरी ८ अर्बको पुँजी पुर्याउदै छ । त्यस्तै, बैंकको नेपाल अधिराज्यभर ८५ वटा शाखा कार्यलयहरु रहनेछन् । बैंकले निकट भविष्यमा १०० भन्दा बढि शाखा कार्यलयहरुबाट सेवा विस्तार गदैंछ ।

बामपन्थी गठबन्धनलाई सेयर बजारको रेड सिग्नल, ६ अंकले अरोलो

काठमाडौं । देशभर बामपन्थी गठबन्धनले प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन जितिरहँदा सेयर बजार भने ओरालो लागेको छ । आइतबारको सेयर बजारमा सामान्य गिरावट आएको छ । सो दिन नेप्से परिसूचक ६.०५ अंकले ओरालो लागेर १५३०.४९ अंकमा अडेको छ । बजारमा परिसूचकमा गिरावट आएता पनि कारोबारमा भने वृद्धि भएको छ । बजारमा ८४ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १५८ कम्पनीको १२ लाख १२ हजार कित्ता सेयर किनबेच भएको छ । सामान्य अंकले घटेको बजारमा सबैभन्दा बढी स्ट्याडर्ड बैंकको २६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आइतबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१९७ रुपैयाँ रहेको छ । कम्पनीले १०० प्रतिशत बोनस र ५ प्रतिशत नगद लभांश दिने घोषणा गरेपछि कम्पनीको सेयर कारोबारमा वृद्धि भएको हो । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक ७२ अंकले ओरालो लागेको छ । उत्पादनमूलक समूह ४० र अन्य समूह २ अंकले उकालो लागेका छन् । त्यस्तै, ट्रेडिङ समूहको परिसूचक स्थिर रहेको छ भने बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । त्यसैगरी, बोटलर्स नेपाल(तराई)का लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । आइतबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५९० रुपैयाँ रहेको छ । सबैभन्दा बढी सेन्ट्रल फाइनान्सका लगानीकर्ताले ४ प्रतिशत गुमाएका छन् ।

मेटलाइफले शुरु गर्यो नयाँ विश्वव्यापी ब्राण्ड प्लेटफर्म

काठमाडौं । मेटलाइफ नेपालले “मेटलाइफ तपाई संगै जीवनमा अघि बढ्दै”भन्ने नारा सहित नयाँ विश्वव्यापी ब्राण्ड प्लेटफर्मको आजबाट शुरुवात गरेको छ । यस ब्राण्डले ग्राहकहरुको जिवनकोे उतार-चढावको सारथी बन्न मेटलाइफलाई विश्वासिलो साझेदारको रुपमा खडा गरेको छ । दृश्यात्मक पहिचान, लोगो र नाराहरु समेत रहेको यस मेटलाइफले विश्वव्यापी ब्राण्डमा विगत ३० वर्षकै महत्वपूर्ण परिवर्तन ल्याउने कम्पनीको विश्वास रहेको छ । मेटलाइफले विश्वभरि ५०,००० भन्दा बढी ग्राहकहरुमाझ गरेको खोजमा एउटा विश्वव्यापी सत्य पत्ता लगाएको छ । उक्त सत्य अनुसार परिवर्तनको गतिले ग्राहकहरु प्रभावित हुन्छन् र यस्ता परिवर्तन पहिल्याउनका लागि एउटा विश्वासिलो साझेदारको खोजीमा रहन्छन् । मेटलाइफ बाङ्लादेश, नेपाल र म्यान्मारका अध्यक्ष मोहम्मद नुरुल इस्लाम भन्छन् “१५० वर्ष पुरानो कम्पनीको नाताले, मेटलाइफले परिवर्तनशील विश्वलाई अङ्गाली हामीले गर्दै आएको व्यवसाय र त्यसले ग्राहकहरुलाई पार्ने प्रभावको विषयमा पुनःविचार गर्दै अगाडि बढेका छाैँ । त्यसैगरी हामी परम्परागत सेवा विकास गर्नेढाँचा भन्दा फरक ग्राहकको धारणा अनुसार सेवा दिने ढाँचालाई अंगालेका छौं ।” मेटलाइफनेपालका जनरल म्यानेजर तथा उपाध्यक्ष निर्मल काजी श्रेष्ठ भन्नुहुन्छ, “हामीले नेपालमा ग्राहकहरुको चाहाना परिपुर्ति गर्ने खालको सरल बीमा तथा सुरक्षाका उपायहरु विकास गर्नग्राहकहरुको धारणा विश्लेषण तथा संकलन गर्नका लागि यसअघि नै लगानी गरिसकेका छौं । ग्राहकहरुलाई अघि बढ्नमद्दत गर्ने विश्वासिलो साझेदार बनी परिवर्तित जीवन पहिल्याउन हाम्रो भुमिका तथा महान् उद्देश्य अभिव्यक्त गर्न हामीले हाम्रो ब्राण्ड विकसित गर्दै छौँ ।” बिमासँग सम्बन्धित परम्परागत जटिलता हटाउन मेटलाइफले आफ्नो ग्राहक वर्गको अनुभवमा आधारभूत परिवर्तन गर्दैछ ।मेटलाइफको ब्राण्डको यो परिवर्तनले ग्राहकसंग सम्पर्क राख्ने सबै माध्यम जस्तै वेबसाइट, ग्राहक सेवा, बिक्री प्रकिया आदिमा फरक पार्दछ । यसले अझ बढी केन्द्रित र सरल अन्तरक्रिया सुनिश्चित गर्ने कम्पनीको विस्वास रहेको छ । मेटलाइफको नयाँ दृश्यात्मक ब्राण्ड स्वच्छ र आधुनिक सौन्दर्यमा बनेको छ । यसको आकर्षक निलो र हरियो रगंले साझेदारीको प्रतीक स्वरुप मेटलाइफको एम् बनाउँदछ । निलो रगंले मेटलाइफको विरासतलाई झल्काउँछ भने हरियो रगंले जीवन, नवीकरण र उर्जाको प्रतिनिधित्व गर्छ । मेटलाइफको नयाँ ब्रान्डले आफ्नो ग्राहकको विविधतालाई अरु उज्यालो रगंहरुद्वारा प्रतिविम्बित गर्छ । मेटलाइफले आफ्नो नयाँ ब्राण्ड २०१८ मा प्रकाशन गर्नेछ ।

नुवाकोटमा सबै स्थानमा वाम गठबन्धन विजयी

नुवाकोट । नुवाकोटमा दुई प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र र चार प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रका छ पदमा नै वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । आज अपरान्ह सम्पन्न पहिलो हुने निर्वाचित हुने प्रत्यक्षतर्फको अन्तिम मत परिणामअनुसार सबै पदमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेकपा (माओवादी केन्द्र)का हितबहादुर तामाङ विजयी भएका छन् । तामाङले ३६ हजार ४७३ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डा रामशरण महतले २७ हजार ९२० मत प्राप्त गरेका छन् । विसं २०६४ र २०७० मा भएको संविधानसभा निर्वाचनमा डा महतले तामाङलाई पराजय गरेका छन् । यस्तै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले)का नारायणप्रसाद खतिवडा ३६ हजार ८९२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अर्जुननरसिंह केसीले २६ हजार ३३५ मत प्राप्त गरेका छन् । यस्तै प्रतिनिधिसभा सदस्य–१प्रदेश (क)मा नेकपा (माओवादी केन्द्र)का राधिका तामाङ १८ हजार १३७ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका महेन्द्र थिङले १३ हजार ३६८ मत प्राप्त गरेको निर्वाचन अधिकृत गोपाल लामिछानेले जानकारी दिए । यस्तै प्रदेश (ख)मा एमालेका बद्री मैनाली २० हजार ५०९ मत ल्याएर विजयी भएका छन् । काँग्रेसका रमेशकुमार महत १२ हजार २१७ मत प्राप्त गरेर उनका निकटतम प्रतिष्पर्धी बनेका छन् । यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ प्रदेशसभा(क)मा एमालेका केशवराज पाण्डेले २० हजार नौ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जगदीश्वरनरसिंह केसीले १२ हजार ७२९ मत प्राप्त गरेका छन् । प्रदेशसभा(ख)मा माओवादी केन्द्रका हीरानाथ खतिवडा १७ हजार ६२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी काँग्रेसका जगतबहादुर तामाङले १४ हजार ५२ मत प्राप्त गरेका छन् । यसअघि २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा साविकका तीन वटै निर्वाचन क्षेत्रमा काँग्रेस उम्मेदवारले जितेका थिए । रासस

स्ट्याण्डर्ड चार्टर्ड बैंकले १०० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले आफ्ना सेयरधनीलाई १०० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि ५.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । बैंकको गत शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आवको मुनाफाबाट सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ बढी छ । १०० प्रतिशत बोनस सेयर पश्चात कम्पनीको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ नाघ्ने छ । आइतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

एसबिआई बैंकले तोक्यो बुक क्लोजको मिति, २४अाैँ वार्षिक साधारणसभामा जाँदै

काठमाडौं । नेपाल एसबिआई बैंकले यही मंसिर २९ गतेदेखि आगामी पुस १९ गतेसम्म कम्पनीको बुक क्लोजको मिति तोकेको छ । बैंकले साधारणसभा प्रयोजनमा जानको लागि उक्त २० दिन कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनीको आगामी २४अाैँ वार्षिक साधारणसभा पुस १९ गते हुँदै छ ।