विकासन्युज

सप्तरीमा बस पल्टिँदा १७ घाइते

राजविराज । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा आज बस पल्टिँदा १७ यात्रु घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ४९० नं को बसले विपरीत दिशाबाट आइरहेको को१च ५७९ नं को एम्बुलेन्स एक आपसमा ठोकिँदा बस पल्टिएको हो । इलाका प्रहरी कार्यालय भारदहका अनुसार बसमा सवार १६ यात्रु र एम्बुलेन्स चालक घाइते भएका छन् । घाइतेमध्ये १० जनाको विराटनगरस्थित गोल्डेन अस्पताल र अन्य सातको भारदह अस्पतालमा उपचार भइरहेको छ । रासस

काठमाडौं-३ प्रदेश (क) मा काँग्रेसका लामा विजयी, ६ मा वामको अग्रता

काठमाडौं । काठमाडौं क्षेत्र नं ३ को प्रदेश (क)मा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका प्रदेशसभा उम्मेदवार छिरिङदोर्जे लामा छ हजार ४४८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका रुद्रबहादुर बराइलीले पाँच हजार ३३५ मत पाएका काठमाडौं क्षेत्र नं ३ का सहायक निर्वाचन अधिकृत बाबुराम भट्टराईले जानकारी दिए । तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का विशाल न्यौपानेले एक हजार ३०५ मत पाएका छन् । अहिले प्रदेश (ख)को मतगणना भइरहेको छ । प्रदेश (ख)मा वाम गठबन्धन झिनो मतले अगाडि छ । वाम गठबन्धनका रामेश्वर फुयाँलले दुई हजार ५०७ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याउँदै काँग्रेसका विमल ठकुरीले दुई हजार ४४९ मत पाएका छन् । दुई घण्टामा अन्तिम परिणाम सार्वजनिक हुने निर्वाचन कार्यालयले जनाएको छ । काठमाडौं–६ मा वामको अग्रता काठमाडौं क्षेत्र नं ६ मा प्रतिनिधिसभाको पछिल्लो मत परिणामअनुसार वाम गठबन्धनको अग्रता छ । गठबन्धनका झक्कु सुवेदीले १२ हजार ३०१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका भीमसेनदास प्रधानले ११ हजार ६८८ मत पाएका निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी दिए । अहिलेसम्म २९ हजार मतगणना भइसकेको उनले बताए । तेस्रो स्थान विवेकशील साझा पार्टीले ओगटेको छ । विवेकशीलका रमेश सिलवालले दुई हजार ३९२ मत पाएका छन् । आज बेलुकीसम्म काठमाडौं–६ को प्रतिनिधिसभाको मतगणना सकेर परिणाम सार्वजनिक गर्ने गरी तयारी भएको उनले बताए । यो क्षेत्रमा पर्ने तारकेश्वर र टोखा नगरपालिकाको मतगणना सकी काठमाडौं महानगरपालिका २६, २७ र २८ को मतगणना शुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो क्षेत्रमा ४२ हजार ३९९ मत मत खसेको निर्वाचन अधिकृत पाण्डेले बताए ।

मोरङ-२ मा काँग्रेसका रिजाल र ४ मा वाम गठबन्धनका मोदी विजयीे

विराटनगर । मोरङ क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य पदमा नेपाली काँग्रेसका डा मीनेन्द्र रिजाल विजयी भएका छन् । रिजालले ३५ हजार ८१९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का ऋषिकेश पोखरेलले ३४ हजार १४ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालय, विराटनगरले जनाएको छ । सो क्षेत्रमा कूल ८० हजार २४९ मत खसेको थियो । त्यस्तै, मोरङ क्षेत्र नं–४ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदी विजयी भएका छन् । मोदीले ३३ हजार ५२९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महेश आचार्यले २६ हजार ८०० मत प्राप्त गरेका छन्। अहिलेसम्म मोरङको चारवटा निर्वाचन क्षेत्रको परिणाम घोषणा भइसकेको छ । चारवटैमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अब, दुईवटा क्षेत्रको घोषणा हुन बाँकी छ । यसैगरी, मोरङ क्षेत्र नं २ मा नेपाली काँग्रेसका डा मीनेन्द्र रिजालले २७ हजार ८६४ मत प्राप्त गरी अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का ऋषिकेश पोखरेलले २६ हजार २४० मत प्राप्त गरेका छन् । यस्तै, मोरङ क्षेत्र नं-५मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार शिवकुमार मण्डलले १८ हजार ९८४ मत प्राप्त गरी अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अमृत अर्यालले १६ हजार १७५ मत प्राप्त गरेका छन् । रासस

तनहुँमा काँग्रेसका नेता रामचन्द्र पौडेल पछाडि, वाम गठबन्धनकाे अग्रता

तनहुँ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतगणना तनहुँमा तीव्र पारिएको छ । तनहुँको क्षेत्र नं १ र २ मा शुरुदेखि नै प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन् । अहिलेसम्मको मतगणनाअनुसार तनहुँको क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा काँग्रेसका नेता रामचन्द्र पौडेलले १० हजार ३२६ र एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) १२ हजार २७३ मत प्राप्त गरेका छन् । त्यस्तै सोही क्षेत्रबाट प्रदेशसभा १ को सदस्यमा काँग्रेसका गोविन्द भट्टराईले चार हजार ८९१ र एमालेका उम्मेदवार रामबहादुर गुरुङले पाँच हजार ६३३ र प्रदेशसभा दुईको सदस्यमा काँग्रेसका उम्मेदवार रघुनाथ पौडेलले पाँच हजार २७९ र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हरिबहादुर चुमानले ६ हजार २६० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै तनहुँ क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा काँग्रेसका शंकर भण्डारीले ११ हजार एक सय ४, एमालेका केदार सिग्देलले १२ हजार १९१ मत पाएका छन् । प्रदेशसभा १ को सदस्यमा काँग्रेसका प्रदीप पौडेलले चार हजार ३५ र माओवादी केन्द्रकी आशा कोइरालाले चार हजार २९२ तथा प्रदेशसभा २ को सदस्यमा काँग्रेसका धुव्र वाग्लेले चार हजार १२ र एमालेका किरण गुरुङले तीन हजार ४५७ मत पाएको बताइएको छ । सिसी टिभीको निगरानीमा कडा सुरक्षा घेराभित्र दुईवटै क्षेत्रको मतगणना कार्य भइरहेको सहायक निर्वाचन अधिकृत विश्वनाथ अर्यालले बताए । रासस

काठमाडौं क्षेत्र १० बाट काँग्रेसका राजेन्द्रकुमार केसी विजयी

काठमाडौं । काठमाडौं क्षेत्र नं १० बाट नेपाली काँग्रेसका नेता राजेन्द्रकुमार केसी २४ हजार १९० मत प्राप्त गरी विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) हितमान शाक्यले २१ हजार ९०७ मत प्राप्त गरेका छन् । नेता केसी विस २०७० को संविधानसभा सदस्य निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उनी युवा खेलकुदमन्त्रीसमेत हुन् । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गतसो क्षेत्रबाट ५५ हजार ११० मत खसेकामा ५३ हजार ३४१ मत सदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस

पाँचथरमा एमालेका वसन्त नेम्बाङ विजयी

पाँचथर । प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट नेकपा (एमाले)का वसन्तकुमार नेम्बाङ विजयी भएका छन् । नेम्बाङ ३८ हजार ६४१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेले २८ हजार २५ मत प्राप्त गरेका छन् । कूल एक लाख २५ हजार दुई २१९ मतदातामध्ये पाँचथरमा ७७ हजार ८०३ जनाले मतदान गरेका थिए । यसैगरी संघीय समाजवादी फोरमका प्रेमराज लावतीले एक हजार ९९४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लिम्बुवान्का सागर केरुङले एक हजार ५९३, राष्ट्रिय जनमुक्ति पार्टीका भगिरथ लिम्बूले ४१८ मत प्राप्त गरेका हुन् । त्यस्तै, नेकपा मालेका दीनानाथ घिमिरेले ८९०, नयाँशक्ति पार्टीका दिलबहादुर लावतीले १३२, राप्रपा राष्ट्रवादीका शान्तिमाया शिगू लिम्बूले २९५ र मंगोल नेसनल अर्गनाइजेसनका टोमराज थाम्सुहाङले १९४ मत पाएका छन् । रासस

डडेल्धुरामा प्रधानमन्त्री देउवाको अग्रता कायमै, प्रदेशमा १ मा एमाले २ मा काँग्रेस

डडेल्धुरा । डडेल्धुरामा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मत परिणामअनुसार प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो प्रतिद्वन्द्वी भन्दा दोब्बर बढी मतले अग्रस्थानमा रहेका छन् । प्रधानमन्त्री देउवाले छ हजार ८२२ मत ल्याएका छन्, भने उनलाई वाम गठबन्धनका खगराज भट्टले तीन हजार ७५९ मत ल्याएर पछ्याइ रहेका छन् । प्रदेश एकमा वाम गठबन्धनका उम्मेदवार पठानसिंह बोहरा छ हजार २९५ मत ल्याएर अगाडि छन् भने उनलाई काँग्रेसका रघुवर भट्टले चारहजार ५०२ मतले पछ्याइ रहेका छन् । प्रदेश २ मा नेपाली काँग्रेसका उम्मेदवार कर्ण मल्ल पाँचहजार ४१७ मतले अगाडि छन् भने उनलाई वाम गठबन्धनका तारा जोशीले चार हजार २९७ मतल्याएर पछ्यारहेका छन् । दुईवटा प्रदेश रहेको डडेल्धुरामा प्रदेश–(क) मा वामका उम्मेदवार अगाडि रहेका छन् भने प्रदेश (ख) मा नेपाली काँग्रेसका उम्मेदवार कर्णमल्ल अगाडि रहेका छन्। रासस

भोजपुर प्रदेश (ख)मा एमालेका शेरधन राई विजयी

भोजपुर । भोजपुर प्रदेशसभा सदस्य (ख) मा वाम गठबन्धनबाट एमालेका नेता शेरधन राई विजयी भएका छन् । राईले २० हजार ३३४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका गोविन्दबहादुर कार्कीले १३ हजार २२९ मत प्राप्त गरेका हुन् । प्रदेश (ख)मा ३० हजार ९७९ मत खसेको थियो । जसमध्ये दुई हजार ४३४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस