प्रारम्भिक मत परिणाम वाम गठबन्धनको पक्षमाः गठबन्धनको ३३ स्थानमा अग्रता, कांग्रेस ४ स्थानमा अगाडि
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको परिणाम वामगठबन्धनको पोल्टामा जाने संकेत देखिएको छ । शुक्रबार विहानसम्म प्रतिनिधि सभाको लागि नेकपा एमालेले २ स्थानमा र नेकपा माओवादी केन्द्रले १ स्थानमा जित हासिल गरेका छन् । त्यस्तै मतगणना जारी रहेका स्थानहरु मध्ये एमालेले १८ स्थानमा र माओवादीले १२ स्थानमा अग्रता हासिल गरिरहेको छ । नेपाली कांग्रेसले अहिलेसम्म खाता खोलेको छैन । उसले ४ स्थानमा अग्रता हासिल गरेको छ । २ स्थानमा अन्य उम्मेदवारले अग्रता हासिल गरेका छन् । त्यस्तै प्रदेशसभातर्फ एमालेले २ स्थानमा विजय हासिल गरी २२ स्थानमा अग्रता कायम गरेको छ । प्रदेशसभाको लागि माओवादीले १९ स्थानमा अग्रता लिएको छ भने कांग्रेसले ७ र अन्यले १ स्थानमा अग्रता लिएका छन् ।
रुकुमबाट माओवादी केन्द्रको विजय सुरुवात, १३ स्थानमा अग्रता
रुकुम । प्रतिनिधिसभाकाे निर्वाचनमा रूकुम जिल्लाबाट नेकपा माओवादी केन्द्रकी कमला राेकाले जितेकी छिन् । रोकाले निकटम प्रतिस्पर्धी हरिशंकर घर्तीमगरलाई ठूलो अन्तरले पछि पारिन् । रोकाले १० हजार ४३४ मत ल्याउँदा घर्तीले ४४०६ मत ल्याए । त्यस्तै नयाँ शक्तिले पनि रुकुममा १४८९ मत ल्यएको छ । पूर्वी रुकुममा मंसिर १० गते मतदान भएको थियो । माअाेवादीले प्रतिनिधिसभाकाे लागि पहिलाे खाता खाेलेकाे छ भने मतगणाना भइरहेका १३ स्थानमा अग्रता लिएकाे छ ।
प्रतिनिधिसभामा पहिले एमालेले खाता खोल्यो, मनाङमा पाल्देन विजयी
काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा खाता खोलेको छ । मनाङमा एमालेका पाल्देन छोपाङ गुरुङ विजयी भएका छन् । उनले ९०८ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका टेबहादुर गुरुङले ६५९ मत पाएका छन् ।
बाबुरामभन्दा नारायणकाजी १३३ मतले अगाडि
गाेरखा । प्राप्त पछिल्लो मतपरिणाम अनुसार गोरखा २ मा माओवादी उम्मेदवार नारायणकाजी श्रेष्ठले ८६५ मत पाएका छन् भने नयाँ शक्तिका बाबुराम भट्टराई ७३२ मत पाएका छन्। मतगणना जारी छ। श्रेष्ठले भट्टरार्इलार्इ १३३ मतले पछाडि पारेका छन् ।
रसुवामा लोकतान्त्रिक र सिन्धुपाल्चोकमा वाम गठबन्धन अगाडि
रसुवा । जिल्लामा एक हजार २४७ मत गन्दा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार मोहन आचार्यले ७२१ र वाम गठबन्धनबाट नेकपा (एमाले)का जनार्दन ढकालले ४४८ मत प्राप्त गरेका छन् । सिन्धुपाल्चोक– जिल्लामा एक हजार ३६० मत गन्दा वाम गठबन्धनबाट नेकपा(माओवादी केन्द्र)का अग्निप्रसाद सापकोटाले ७३५ र लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका मोहनबहादुर बस्नेतले ६२५ मत प्राप्त गरेका छन् । बाजुरा– जिल्लामा प्रतिनिधिसभातर्फ ९१२ मत गन्दा काँग्रेसका कविराज पण्डितले ४७७ र वाम गठबन्धनबाट एमालेका लालबहादुर थापाले ४७७ मत प्राप्त गरेका छन् । नुवाकोट– प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो चरणमा निर्वाचन भएको नुवाकोटमा मतगणना सुरु भएको छ । आज साँझ ७ बजेदेखि दुई प्रतिनिधिसभा र ४ प्रदेशसभा सदस्यको मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकृत लोकजङ्ग शाहले जानकारी दिए । कुल छ पदका लागि ४६ उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् । यही मंसिर १० गते भएको मतदानमा दुई लाख आठ हजार १९१ मतदातामध्ये एक लाख ३९ हजार ७६१ मतदाताले मतदान गरेका छन् । रासस –––
सिन्धुलीमा मतपेटिका बोकेको गाडीमा बम विस्फोट
सिन्धुली । हरिहरपुरगढी गाउँपालिका–७ क्यानसिरमा आज साँझ बम विस्फोट भएको छ । आज भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको मतदान सम्पन्नपछि मतपेटिका ल्याउँदै गरेको सवारी साधनमा लक्ष्य गरी बम पड्काइएको हो । हरिहरपुरगढी गाउँपालिका–७ भुताहा प्राविका क र ख मतदान केन्द्रका मतपेटिका ल्याउँदै गरेको सवारी साधनमा लक्ष्य गरी बम विस्फोट गराइएको थियो । सोही क्रममा ना ३ च ९४७१ नंको बोलेरोको सिसा सामान्य चर्किएको बताइएको छ । बम विस्फोटन गराइए पनि मतपेटिका बोकेको सवारी र सुरक्षाकर्मीलगायतको टोलीलाई भने कुनै असर नपुगेको सिन्धुलीका प्रजिअ जनकराज दाहालले जानकारी दिए ।
एमाले कार्यकर्ताद्धारा भक्तपुरको बालकोटमा मतदानकेन्द्र नजिक तोड्फोड, मतदाता आतंकित
बालकोट। भक्तपुर जिल्लाको बालकोट स्थित गणेश आधारभूत प्राथमिक विद्यालय मतदान केन्द्र नजिक एमालेका कार्यकर्ताहरुले सर्वसाधरणको घरमा ढुंगामुढा गरी घरको झ्याल तोड्फोड गरेका छन् । नेपाली कांग्रेसबाट नगरप्रमुखको उम्मेदवार बन्नुभएका विष्णु खत्रीले दिनुभएको जानकारी अनुसार नेपाली कांग्रेसका मतदातालाई आतंकित गरेर मतदानकेन्द्र जानबाट रोक्ने र आफ्ना समर्थक मतदाताहरुको मत खसाल्ने नियतले एमालेका कार्यकर्ताहरुले नियोजित रुपमा सो घट्ना गरेका हुन् । घट्नामा संलग्न व्यक्तिहरु भक्तपुर क्षेत्र नं २ का एमाले उम्मेद्वार महेश बस्नेत निकट भएको बताइन्छ । घट्नामा संलग्न मध्ये केहीलाई प्रहरीले पक्राउ गरेको छ । तर उनीहरुको परिचय प्रहरीले सार्वजनिक गरेको छैन । मतदान केन्द्रमा अहिले तनाव छ । तर एमालेबाट प्रतिनिधिसभाकाे उम्मेदवार महेश बस्नेतले काँग्रेस कार्यकर्ताकाे उदण्डताका कारणा साे क्षेत्रमा तनाव भएकाे बताएका छन् ।
४५ जिल्लामा यातायात ठप्प, आन्तरिक उडान पनि सबै बन्द
काठमाडौ । निर्वाचनका करणा देशका ४५ जिल्लामा यातायात ठप्प भएकाे छ । निर्वाचन हुने जिल्लाहरूबाट बाँकी ३२ जिल्लामा जाने सवारी र फर्कले सवारी साधन पनि बन्द भएकाेले देशभर लामाे दुरीका सवारी ठप्प भएका छन् । त्यस्तै, निर्वाचनका कारण मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फका धैरै उडान कटौती भएका छन् । सरकारले निर्वाचनको समयमा विमान नउडाउन आग्रह गरेको र सर्वसाधारण यात्रु पनि मतदानमा सहभागी हुने हुँदा आन्तरिक उडान सीमित मात्रामा भएको हो । अन्तर्राष्ट्रिय उडान भने नियमित तालिकाअनुसार भइरहेको विमानस्थलले जनाएको छ । निर्वाचनका बेला सवारीसाधन चलाउन नपाइने भएको र मतदान पनि परेकाले आज सीमित उडान रहेको वायुसेवा सञ्चालक संघका प्रवक्ता धनश्याम आचार्यले जानकारी दिए । उनका अनुसार पर्यटकीय क्षेत्र पोखरा, लुक्ला लगायतका स्थानमा पर्यटक ल्याउन र दुर्गमका केही जिल्लामा कार्गो उडान मात्र भइरहेको छ । आज आन्तरिक उडानतर्फ बढीमा ३० वटा उडान मात्र रहेका छन् । सामान्य अवस्थामा दैनिक १५० उडान हुँदैआएको छ । हाल होलिकोप्टरसहित १८ वटा निजी वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् । यता अन्तर्राष्ट्रिय उडानतर्फ भने सामान्य अवस्थामा उडान भइरहेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । उनका अनुसार आज आन्तरिककतर्फ ८० प्रतिशतसम्म उडान कटौती भएको छ । अहिले २८ वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।