प्याजले फेरि रुवाउदैँछ उपभोक्ता, विशाल सामुन्द्रीक आधीले घटायो प्याजको आपूर्ति
काठमाडौं । प्याजको भाउ बढ्न थालेको छ । सामुन्द्रीक आधीको प्रभाव स्वरुप भारतमा बेमौसमी वर्षाका कारण प्याजको आपूर्तिमा कमी आएपछि भाउ बढ्न थालेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । गत नोभेम्बर २१ देखि ओखी चक्रवात नामक उत्तर हिन्द महासागरमा आएको आधीले भारत, नेपाल लगायत एशियाली मुलुकहरुको मौसममा ठुलो प्रभाव पारिरहेको छ । गत मंगलबार भारतको नासिकस्थित ठुलो प्याज बजार लसल गाँउमा मा बेमौशमी पानी परेपछि प्याजको आपूर्तिमा समस्या आइरहेको छ । दुई दिनमा प्याजको भाउ करिब ५० प्रतिशतले महंगिएको टाइम्स अफ ईण्डियाले जानकारी दिएको छ । गत मंसिर ७ मा भारतले निर्यातमा अंकुश लगाएपछि आन्तरिक बजारमा प्याजको आपूर्ति सहज बनेको थियो । करिब १२ दिनमा प्याजको भाउमा ४१ प्रतिशतले गिरावट आएको थियो । बेमौशमी वर्षाका कारण भारतका किसानहरुले बजारमा प्याज ल्याउन सकेका छैनन्। प्याजको आपूर्तिमा ४/५ दिन ढिलाई हुने देखिएको छ । पछिल्लो समयमा भारतमा प्याजको भाउमा गिरावट आएसँगै नेपाली बजारमा पनि प्याज सस्तिदै गइरहेको थियो । यद्यपी शुक्रबार प्याजको भाउ स्थिर रहेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार शुक्रवार थोक बजारमा प्रति किलो ८८ रुपैयाँमा प्याजको किनबेच भइरहेको छ । भारतमा प्याज महंगिएपछि त्यसको सिधा प्रभाव नेपाली तरकारी बजारमा देखिन्छ । नेपाल प्याजमा आत्मनिर्भर नहुँदा भारतबाट आयात गर्नुपर्ने बाध्यता छ ।
लुम्बिनी जनरल इन्स्योरेन्सको मंसिर २९ गते बुक क्लोज, वार्षिक साधारणसभामा जाँदै
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको यही मंसिर २९ गते बुक क्लोज हुने भएको छ । इन्स्योरेन्सको हालै बसेको सञ्चालक समितिको बैठकले सो दिन कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको हो । उक्त बैठकका अनुसार कम्पनीको आगामी वार्षिक साधारणसभा पुस १४ गते हुँदै छ । सभाले सेयरधनीलाई १२.८२ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने कम्पनी सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ । हाल कम्पनीको चुक्ता पुँजी ७८ करोड रुपैयाँ रहेको छ । उक्त बोनस पश्चात कम्पनीको चुक्ता पुँजी ८८ करोड रुपैयाँ पुग्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७९८ रुपैयाँमा किनबेच भएको थियो ।
मंसिरमा सुन चार महिनायताकै सस्तियो, शुक्रबार तोलामै ५ सय रुपैयाँले घट्यो सुन
काठमाडौं । शुक्रवार सुन चार महिनायताकै सस्तिएको छ । गत शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको कर कटौती सम्बन्धी विधेयकलाई सिनेटरहरुले अनुमोदन गरेपछि सुनको भाउ ओरालो लाग्ने क्रम रोकिएको छैन । विधेयक पासभएपछि लगानीकर्ताहरुमा व्यवासायको क्षेत्रमा उत्साह बढेकाले सुन ओरालो लागेको विश्लेषण गरिएको छ । रोयटर्सका अनुसार शुक्रवार सुनको मूल्य गत जुलाई २६यताकै सस्तिएर १२ सय ४८ अमेरिकी डलर पुगेको हो । गत जुलाई २६मा न्युनतम मूल्य प्रति औंस १२ सय ४३ अमेरिकी डलरसम्म पुगेको थियो । यसअघि सुनको न्युनतम मूल्य प्रति औंस १२ सय ५० डलरसम्म पुग्ने भविष्यवाणी गरिएको थियो । तर, शुक्रबारनै सुनको मूल्य १२ सय ४८ पुगेपछि अन्तराष्ट्रिय सञ्चारमाध्यमले नयाँ प्रक्षेपण गरेको छ । रोयटर्सको प्राविधिक विश्लेषक वाङ टाओका अनुसार डिसेम्बर भित्र सुनको मूल्य १२ सय ३९ डलरसम्म पूग्ने सम्भावना रहेको छ । १ सातामा सुन १ हजार रुपैयाँले सस्तियो साताको सुरुवातदेखि सुनको भाउ ओरालो लागिरहेको छ । ट्रम्पको कर कटौती विधेयक पास भएपछि नेपाली बजारमा एक सातामा सुन १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रति तोला ५५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको सुनको भाउ शुक्रबार ५४ हजार ५ सय रुपैयाँ पुगेको छ । नेपाली बजारमा शुक्रबार सुनको तोलामा भाउ पाँच सय रुपैयाँले घटेको छ । विहीबारसम्म स्थिर रहेको सुनको भाउ घटेर शुक्रवार प्रति तोला ५४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सुनको भाउसँगै एकसातामा चाँदीपनि प्रति तोला ३० रुपैयाँले सस्तिएको छ । महासंघका अनुसार गत आइतबार प्रति तोला सात सय ४० रुपैयाँमा कारोबार भइरहेको चाँदीको भाउ शुक्रबार घटेर प्रति तोला सात सय १० रुपैयाँ कायम भएको छ ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको सीईओमा लिलामनी न्यौपाने नियुक्त
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा लिलामनी न्यौपाने नियुक्त भएका छन् । कम्पनीले उनलाई आगामी ४ वर्षको लागि नियुक्त गरेको हो । न्यौपाने यसअघि सोही फाइनान्स कम्पनीमा महाप्रबन्धक पदमा कार्यरत थिए । ३४ करोड चुक्ता पुँजी रहेको यस फाइनान्सले असोज मसान्तसम्ममा ३ अर्ब ३६ करोड निक्षेप र २ अर्ब ८० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।
नयाँ वर्षमा महंगिएर आउदैछन् यी कारहरु, कुनको मूल्य कति बढ्ला ?
काठमाडौं । आउदो नयाँ वर्ष २०१८ मा नेपाली बजारमा कार महँगो हुने भएको छ । भारतमा अधिकांश कार कम्पनीहरुले जनवरीदेखि कारको मूल्य बढाउने भएपछि नेपाल भित्रिने कार महँगो हुने भएको हो । भारतका अधिकांश कम्पनीहरुले कारको मूल्य बढाउने योजना बनाइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बढ्दो लागत खर्चको कारण बताउदै कम्पनीहरुले कारको मूल्य बढाउने तयारी गरेको हो । नेपालमा कारहरु भारतबाट आयात हुन्छन् । जसको कारण भारतमा कारको मूल्य बढ्दा त्यसको प्रभाव नेपाली बजारमा पनि पर्ने सिप्रदी ट्रेडिङ प्रालीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले जानकारी दिए । उनका अनुसार भारतमा कारको मूल्य बढ्दा, नेपालमा त्यसको प्रभाव स्वभाविकरुपमा पर्छ । ‘आयात करमा भन्दा पनि कारको मूल्य बढ्दा त्यसको ठुलो प्रभाव पर्छ,’उनले भने, ‘तर अहिलेसम्म कारको मूल्य बढ्नेबारे हामीलाई आधिकारिक जानकारी भने आएको छैन ।’ कम्पनीले कति प्रतिशतको दरले मूल्य बढाउने जानकारी दिएका छन् । टोयोटाको कार ३ प्रतिशतसम्मले बढ्नेछ । चलनचल्तीको मोडलको आधारमा कम्पनीले कारको मूल्य पाँच हजार भारतीय रुपैयाँदेखि १ लाख १० हजार भारुसम्म बढाउनेछ । महिन्द्रा एण्ड महिन्द्राको कारमा ७ हजार भारतीय रुपैयाँदेखि ३० हजार भारुसम्म बढ्नेछ । होन्डाले पनि १-२ प्रतिशतसम्म मूल्य बढाउने योजना बनाएको छ । त्यस्तै इसुजु मोटर्सले १५ हजार भारु देखि १ लाख भारुसम्म बढाउने तयारी गरेको छ । यद्यपी केही कम्पनीहरुको कारको मूल्य बढ्ने सम्भावना भने कम देखिएको छ । मारुति सुजुकी, हुन्डाई लगायतका कम्पनीका प्रवक्ताहरुले कारको मूल्य बढाउने कुनै योजना नरहेको जानकारी दिएका छन् । स्कोडाको प्यारेन्ट कम्पनी फोक्सवागेनले मुल्य बढाउन सोच बनाएपनि कति बढाउने भन्ने बारे यकीन भइसकेको छैन । दि इकोनोमिक टाइम्सका अनुसार भारतीय कार निर्माता कम्पनीहरु हरेक नयाँ वर्षमा कारको मूल्य बढाउने र वर्षको अन्तमा स्टक रित्याउन भारी छुटमा कार बेच्ने काममा अभ्यस्त छन् ।
काठमाडौं क्षेत्र नम्बर ५, विशालनगरमा मतदान गर्दै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल
काठमाडौं क्षेत्र नम्बर ५ अन्तर्गतको विशालनगर मतदान केन्द्रमा मतदान गर्दै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल ।
नुवाकोटमा पनि वाम गठबन्धन अगाडि, डा महत र केसी पछाडि
काठमाडौं । नेपाली कांग्रेसका चर्चित नेताहरु डा रामशरण महत र अर्जुननरसिंह केसी चुनावी प्रतिस्प्रर्धामा रहेको नुवाकोट जिल्लामा पनि वामपन्थी गठबन्धनले अग्रता पाएको छ । मतगणनामा डा महत र केसी दुबैले कम मत पाइरहेका छन् । पछिल्लो मत परिणाम अनुसार क्षेत्र नम्बर १ का उम्मेदवार डा रामशरण महतलाई माओवादी केन्द्रका उम्मेदवार हितमान तामाङले पछाडि पारेको छन् । तामाङले ५ हजार ९९ मत पाएका छन् भने महतले ४ हजार २१० मत पाएका छन् । १ नम्बरको प्रदेशसभामा क मा माओवादीका राधिका तामाङले २ हजार १०६ मत पाएकी छिन् भने कांग्रेसका महेन्द्र थिङले १ हजार ५७१ मत ल्याएका छन् । ख मा एमालेका बद्री मैनालीले २ हजार ७३ र कांग्रेसका रमेश महतले १ हजार २०० मत पाएका छन् । क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार नारायण खतिवडाले ४ हजार २९९ मत पाएका छन् भने कांग्रेसका उम्मेदवार अर्जुन नरसिंह केसीले २ हजार ६९५ मत पाएका छन् । २ नम्बरको प्रदेशसभा सदस्यमा पनि एमालेका केशव पाण्डेले ३ हजार ३९० मत पाएका छन् भने जगदिशश्वर नरसिंह केसीले २ हजार १०३ मत पाएका छन् ।
नारायणकाजी भन्दा बाबुराम ११३५ मतले अगाडि, मतान्तर बढ्दाे
गाेरखा । गोरखा–२ मा नयाँ शक्तिका उम्मेदवार बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठसँगको मतान्तर फराकिलो पारेका छन्। १२ हजार ७ सय ४० मत गन्दा बाबुरामले ६५३४ मत पाएका छन् भने नारायणकाजीले ५३९९ मत ल्याएका छन्। उनीहरुबीच अहिले ११३५ को मतान्तर छ। मतगणना जारी छ । चर्चित दुर्इ नेताबीचकाे प्रतिस्पर्धाले याे निर्वाचन क्षेत्रमा धेरै नेपालीकाे ध्यान गएकाे छ ।