बिहान १० बजेसम्ममा कम्तीमा २० प्रतिशत मतदान, कहाँ कहाँ हुँदैछ मतदान ?
काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि दोस्रो चरणको निर्वाचनमा ४५ जिल्लामा आज बिहान ७ बजेदेखि शुरु भएको मतदानमा विहान १० बजेसम्ममा कम्तीमा २० प्रतिशत मतदान भइसकेको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार, अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनकरुपमा व्यापक मतदाताको सहभागितामा मतदान कार्य जारी रहेको छ । सुर्खेतको वीरेन्द्र नगरपालिकाको सरस्वती मा.वि. मतदान केन्द्रमा १०४ वर्षका ज्येष्ठ नागरिक पदमलाल थानीले मतदान गर्नुभएको छ । यस्तै, गुल्मीको जिल्लाको बलेटक्सार र नवलपरासी पश्चिमको सरावल गाउँपालिका–२ त्रिमूर्ती आवासीय विद्यालय मतदान केन्द्रमा बिहान केही बेर सामान्य विवाद भई मतदान स्थगित भएकोमा हाल मतदान सुचारु भइरहेको जानकारी प्राप्त भएको छ । बिहान सुदूरपश्चिमका केही जिल्लामा छिटफुट पानी परेको भए तापनि अहिले मौसम सफा रहेकाले मतदाताको उपस्थितिसमेत उत्साहजनक रहेको छ । दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका गरी ७ हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान कार्य भइरहेको छ । आज बेलुका ५ बजेभित्र मतदान केन्द्रहरुमा प्रवेश गरिसकेका मतदाताहरुले मतदान गर्न पाउने व्यवस्था रहेको छ । कहाँ कहाँ हुदैछ मतदान ? दोस्रो चरणको निर्वाचनमा आज प्रदेश नं. १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, प्रदेश नं. २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट, प्रदेश नं. ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर, प्रदेश नं. ४ का नवलपरासी (बर्दघाट सुस्ता पूर्व), तनहुँ, कास्की, स्याङ्जा र पर्वत, प्रदेश नं. ५ का नवलपरासी (बर्दघाटन सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्युठान, बाँके र बर्दिया, प्रदेश नं. ६ का सल्यान, सुर्खेत र दैलेख तथा प्रदेश नं. ७ का कैलाली, कञ्चनपुर, डँडेलधुरा, अछाम र डोटी जिल्लामा मतदान कार्य जारी रहेको छ । दोस्रो चरणको निर्वाचनमा कूल १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् ।
बिहान १० बजेसम्म २५ प्रतिशत मतदान सम्पन्न
काठमाडौं । दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बिहान १० बजेसम्म २५ प्रतिशत मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार देशका ४५ जिल्लामा विहान सात बजेदेखि मतदान सुरु भएको हो । निर्वाचनमा एक करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आ–आफ्नो मतदान केन्द्रमा गई मताधिकार प्रयोग गर्दैछन् । प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्रमा र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका ७ हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा आज मतदान भइरहेको छ । अपरान्ह ५ बजेसम्म आफ्नो मतदाता नामावलीमा नाम रहेको मतदान केन्द्रमा प्रवेश गर्ने मतदाताले मात्रै मतदान गर्न पाउने व्यवस्था रहेको आयोगले जनाएको छ ।
महतो निवास नजिकै बम विस्फोट गराउने राईन गिरफ्तार
जनकपुर । राजपाका नेता तथा धनुषा क्षेत्र न ३ बाट प्रतिनिधि सभाका उम्मेदवार राजेन्द्र महतो निवास नजिकै वम विस्फोट गराउने कार्यमा संलग्न एकजनालाई प्रहरीले पक्रेको छ । यही मंसिर ९ गते महतोको निवास नजिक रंगभूमि मैदान बाह्र बिघा छेउमा प्रेसरकुकर बम विस्फोट गराईएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाका क्राइम ब्रान्चका टोलीले घटनामा संलग्न नेपाली कांग्रेसका सक्रिय सदस्य धनुषाधाम नगरपालीका वडा न ५ बस्ने ३४ वर्षको रहमत राइनलाई पक्रेको हो । पक्राउ परेका राईनलाई धनुषा जिल्ला अदालतबाट बम बिस्फोट गराएको मुद्दामा म्याद थप गरि अनुसन्धान कार्य भइरहेको धनुषा प्रहरीले जनाएको छ ।
आफूलाई मत हाल्न नपाउने उम्मेदवारहरु: एमाले अध्यक्ष ओलीदेखि काँग्रेसका महामन्त्री सिटौलासम्म
झापा । झापामा उत्साहजनक रुपमा शुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा तीन शीर्ष पार्टीका उम्मेदवारले आफूले आफैँलाई मतदान गर्न पाएनन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा (माओवादी केन्द्र)का नेता सुरेन्द्रकुमार कार्कीले आफुले आफैँलाई मतदान गर्न नपाएका हुन् । एमाले अध्यक्ष ओली र काँग्रेस नेता सिटौलाको झापा गृहजिल्ला हो । तर, नेकपा (एमाले)का अध्यक्ष ओलीले मतदाता नामावली भक्तपुर–२ मा सारेपछि उहाँले झापाबाट मत खसाल्न नपाएका हुन् । यता भद्रपुर नगरपालिकाको वडा नं १०, निर्वाचन क्षेत्र नं १ मा परेपछि काँग्रेस नेता सिटौलाले आफुले आफैँलाई मतदान गर्न पाएनन् । वाम गठबन्धनका तर्फबाट झापा– १ बाट उम्मेदवार बन्नुभएका कार्कीको मतदाता नामावली काठमाडौँ—१ मा भएकाले उहाँले पनि आफूले आफैँलाई मतदान गर्न नपाएका हुन् । एमाले अध्यक्ष ओली झापा—५, काँग्रेस नेता सिटौला झापा—३ र नेकपा (माओवादी केन्द्र)का नेता कार्की झापा—१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन्। रासस
यी उम्मेदवारहरुले आफैंलाई भोट हाल्न पाए
ललितपुर। ललितपुर जिल्लामा ठूला दलका सबै उम्मेदवारले आफूलाई भोट हालेका छन् । प्र्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारको मतदाता नामावलीमा नाम आफू उम्मेदवार भएको क्षेत्रमै भएको (प्रतिनिधिसभा र प्रदेशसभा) हुँदा आफैँलाई भोट हाल्न पाएका हुन् । दोस्रो संविधानसभामा आफैँलाई भोट हाल्न नपाउनुभएका नेपाली काँग्रेसका उम्मेदवार अर्थराज्यमन्त्री उदय शमशेर राणाले यस पटक भने आफूलाई भोट हालेका छन् । उनले बिहान बाग्मती गाउँपालिकामा पर्ने घुसेलको घुसेल माध्यमिक विद्यालय केन्द्रमा मतदान गरेका हुन् । उनले यसअघि कुपण्डोलमा मतदान गर्दै आएका थियो । वाम गठबन्धनबाट उम्मेदवार बनेका पूर्व डिआइजी नवराज सिलवालले गोदावरी नगरपालिका–३ मा रहेको किटिनी उच्च माध्यमिक केन्द्रमा बिहान ७ बजे मतदान गरेका छन् । क्षेत्र नं ३ का दुई उम्मेदवारले एकै मतदानस्थलबाट मतदान गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र)की प्रवक्तासमेत रहनुभएकी क्षेत्र नं ३ की वाम गठबन्धनकी उम्मेदवार पम्फा भुसाल र नेपाली काँग्रेसका उम्मेदवार मदनबहादुर अमात्यले राजतीर्थ (सामुदायिक भवन) बाट मतदान गरे । प्रतिनिधिसभा क्षेत्र नं २ का काँग्रेस उम्मेदवार चन्द्र महर्जनले ललितपुर महानगरपालिका–४ मा रहेको भोलाढोका केन्द्रबाट मतदान गर्नुभएको छ । नेकपा (एमाले)का उम्मेदवार कृष्णलाल महर्जनले च्यासलको श्रमिक शान्ति उच्च माविबाट मतदान गर्नुभएको छ । प्र्रदेशसभातर्फ, क्षेत्र नं १ क का काँग्रेस उम्मेदवार मीनकृष्ण महर्जनले चापागाउँको बज्रबाराही उच्च मावि केन्द्रबाट र एमालेका उम्मेदवार चेतनाथ सञ्जेलले चापागाउँकै वाणी विलास उच्च माविबाट मतदान गरेका छन् । प्रदेश ख मा ऋषि घिमिरेले चन्दनपुरको कालेश्वरी माविमा र माओवादी केन्द्रकी लालकुमारी पुनले भारदेउको कालेश्वरी उच्च माविमा मतदान गरे । क्षेत्र नं २ क र ख का उम्मेदवार पवनविक्रम थापाले इमाडोलको महेन्द्रग्राम मावि र प्रेमकृष्ण महर्जनले मङ्काखल मतदान गरे । एमालेका प्रदेशका उम्मेदवार माधव पौडेलले लामाटार वडा कार्यालय र ज्ञानेन्द्र शाक्यले महापालको बुबहालमा मतदान गरेका छन् । प्रदेशसभा ३(क) मा काँग्रेसका नवराज महतले नखिपोटको खेल मैदान र शिवराम महर्जनले भैँसेपाटीको जनउदय माविमा मतदान गरे । प्रदेशसभाका उम्मेदवार एमालेका जीवन खड्काले भैँसेपाटीको महिला भवन र माओवादी केन्द्रका राजकाजी महर्जनले सुनाकोठी वडा कार्यालयमा मतदान गरेका थिए । जिल्लामा तीन प्रतिनिधिसभा सदस्यका लागि ४७ जनाको र छ प्रदेशसभा सदस्यका लागि ६३ जनाको उम्मेदवार चुनावी मैदानमा छन् । रासस
उम्मेदवारले दिए पत्रकारलाई चुनावलगत्तै ‘ठिक पार्ने’ धम्की, पत्रकार महासंघ सप्तरीद्वारा भत्सर्ना
राजविराज । समाचार लेखेको विषयलाई लिएर सप्तरीका एकजना उम्मेदवारले पत्रकारलाई धम्की दिएको पीडित पत्रकारले जनाएका छन् । वाम गठबन्धनबाट सप्तरी क्षेत्र नं १ प्रदेशसभा (क) का उम्मेदवार सत्यनारायण मण्डलले स्थानीय पत्रकार राजकुमार पासवानलाई फोन गरी धम्की दिएको पीडित पत्रकार पासवानले राससलाई बताएका छन् । सप्तरीको कञ्चनपुरबाट प्रकाशित हुने कञ्चनरुप साप्ताहिक पत्रिकामा समाचार लेखेको विषयलाई लिएर मण्डलले आफूलाई फोनमार्फत धम्की दिएको पत्रकार पासवानको आरोप छ । एमालेका स्थायी समिति सदस्य एवं २ नम्बर प्रदेश संयोजकसमेत रहेका मण्डलले पत्रिकामा प्रकाशित समाचारको विषयलाई लिएर चुनावलगत्तै ठीक पारिदिने भन्दै धम्की दिनुभयो’, पासवानले भने, “आफूले मण्डलसहित जिल्लाका सबै उम्मेदवारको विश्लेषण गरी समाचार लेखेकै कारण उहाँले धम्की दिनुभएको छ ।” मण्डलले कञ्चनरुप साप्ताहिकमा प्रकाशित समाचारलाई लिएर आफ्नै पार्टीका बागी उम्मेदवार प्रकाश खतिवडाको प्रभावमा परेर समाचार लेखेको आरोप लगाउँदै धम्की दिएको पासवानको भनाइ छ । यद्यपि आफू कसैको प्रभावमा नपरी स्वच्छ तरिकाले समाचार लेखेको उनले भने । यसैबीच, नेपाल पत्रकार महासंघ सप्तरी शाखाका अध्यक्ष जीतेन्द्र खड्गाले पत्रकार पासवानलाई समाचार लेखेको विषयमा धम्काउने र मानसिकरुपमा त्रास फैलाउने उम्मेदवार मण्डलको गलत कार्य भएको बताएका छन् । पत्रकार पासवानले धम्कीको विषयमा महासंघ सभापति खड्गालाई जानकारी गराएको बताउँदै सभापति खड्गाले कानूनी प्रावधान हुँदाहुँदै पनि उम्मेदवार मण्डलले धम्काउने विषय अत्यन्त निन्दनीय भएको राससलाई बताए । यस सम्बन्धमा उम्मेदवार मण्डलसँग राससले सम्पर्क गर्दा टेलिफोन सम्पर्क हुन सकेन । रासस
१ करोड २२ लाख जनाले मतदान गर्दै, निर्वाचन आयुक्तले कहाँ गरे मतदान ?
काठमाडौं । बिहीबार देशका ४५ जिल्लामा दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान कार्य आज बिहान ७ बाटै सुचारु भएको छ । आजको निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आ–आफ्नो मतदान केन्द्रमा गई मताधिकार प्रयोग गर्नेछन् । प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्रमा र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका ७ हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा आज मतदान हुँदैछ । निर्वाचन आयोगका निर्वाचन आयुक्त इला शर्माले ललितपुर महानगरपालिका वडा नं. १०, कुमारीस्थान नर्सिङ अस्पताल मतदान केन्द्र, निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले ललितपुर महानगरपालिका वडा नं. २, टीका विद्याश्रम मा.वि., सानेपा मतदान केन्द्रबाट र निर्वाचन आयुक्त सुधीरकुमार शाहले काठमाडौं महानगरपालिका वडा नं. ४, धुमबाराही मा.वि., धुमबाराही मतदान केन्द्रबाट मतदान गरेका छन् । यसैगरी, आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले टोखा नगरपालिका वडा नं. ८ स्थित भुवनेश्वर मन्दिर, गौरीगाउँ मतदान केन्द्रबाट मतदान गरेका छन् । अपरान्ह ५ बजेसम्म आफ्नो मतदाता नामावलीमा नाम रहेको मतदान केन्द्रमा प्रवेश गर्ने मतदाताले मात्रै मतदान गर्न पाउने व्यवस्था रहेको छ । मतदाताले मतदान केन्द्रमा जाँदा मोबाइल, लाइटर तथा अन्य सामानहरू मतदान केन्द्रभित्र लैजान नपाइने व्यवस्थासमेत रहेको छ ।
झिलमिला ताल हेर्न ताराकाेटमा भ्यू टावर निर्माण हुँदै
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटेनाको चुरे क्षेत्रमा पर्ने झिलमिला तालको मनोरम दृश्य नियाल्नका लागि ताराकोटमा भ्यू टावर निर्माणका लागि सम्भाव्यता अध्ययनको कार्य अगाडि बढाइएको छ । भ्यू टावर निर्माणका लागि भीमदत्त नगरपालिकाले नियुक्त गरेको परामर्शदाताले सम्भाव्यता अध्ययनको कार्य शुरु गरेको छ । नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले झिलमिला ताल हेर्नका लागि पुग्ने पर्यटकलाई दृष्यावलोकन गर्न सहजता प्रदान गर्नका लागि ताराकोटमा भ्यू टावर निर्माणका लागि सम्भाव्यता अध्ययनको कार्य अघि बढाइएको बताए । पर्यटकलाई दृष्य अवलोकनका लागि टावर निर्माण गर्न लागेका छौँ, नगर प्रमुख विष्टले भने “त्यसका लागि अहिले काठमाडौँको परामर्शदाताले प्रारम्भिक सम्भाव्यता अध्ययन शुरु गरेको छ ।” सम्भाव्यता अध्ययनको कार्य पूरा भएपछि निर्माणको कार्य प्रारम्भ गरिने उनले बताए । भीमदत्त नगरपालिकाको पहिलो नगरसभाबाट भ्यू टावरका लागि बजेट विनियोजन गरिएको थियो । चुरेमा पर्ने झिलमिला तालमा आउने पर्यटक र भक्तजनलाइ लक्षित गरी भ्यू टावर बनाउन लागिएको हो । दिनभरि तीनथरि रङ बदल्ने झिलमिला ताल धार्मिक पर्यटनको केन्द्रका रुपमा रहेको छ । नगरपालिकाले यस वर्ष झिलमिला तालसम्म कालोपत्रे सडक निर्माणको कार्य समेत अघि बढाएको छ । नगरपालिकाको शहरी विकास कार्यक्रमअन्तर्गत सडक कालोपत्रेका लागि ठेक्का दिइएको छ । नगरप्रमुख विष्टले झिलमिलासम्म निर्माण हुने पक्की सडकले झिलमिलाको पर्यटन विकासमा टेवा पुग्ने बताउनुभयो । भीमदत्त नगरपालिकाका अध्यक्ष राम नाथले झिलमिलासम्म पक्की सडक बनेपछि पर्यटकीय क्षेत्रका रुपमा विकास हुने बताए ।