नेपाली बजारमा प्याजको भाउ २० प्रतिशतले घट्यो, निर्यातमा भारतको अंकुश कायमै
काठमाडौं । चार दिनमा प्याजको भाउ २० प्रतिशतले घटेको छ । भारतमा प्याजको मूल्य सस्तिदा नेपाली बजारमा त्यसको प्रभाव परेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत विहिबार थोक मूल्य अनुसार १ सय १६ रुपैयाँ प्रति किलोमा कारोबार भइरहेको प्याजको भाउ चार दिनमा २३ रुपैयाँले घटेको छ । अहिले थोक बजारमा प्याजको मूल्य ९३ रुपैयाँ प्रति किलो पुगेको छ । कालिमाटी तरकारी व्यवसायी संघका अध्यक्ष भरत खतिवडाका अनुसार भारत मै प्याजको भाउ घटेकाले नेपाली पनि त्यसको प्रभाव देखिएको हो । उनले भने, ‘भारतमा ८५ भारु प्रति किलोमा पाने प्याजको मूल्य घटेर ५६ रुपैयाँ पुगेको छ ।’ नेपाली बजारमा ९९ प्रतिशत प्याज भारतबाट आयात हुने गरेको छ । गत विहिबार एशियाकै ठुलो बजार भारतको महाराष्ट्रस्थित लसल गाँउमा प्याजको भाउमा २५ प्रतिशतले गिरावट आएको थियो । प्याजको आपूर्ति सहज बन्दै जाँदा त्यहाँको प्याजको मूल्य पनि घट्दै गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । लसल गाँउको कृषि उत्पादन बजार समितिका अनुसार, ‘पछिल्लो दुई सातामा प्याजको आपूर्ति दोब्बरले बढेको छ । दुई सातामा प्याजको आपूर्ति १० हजार क्विन्टलबाट बढेर २० हजार क्विन्टल पुगेको छ ।’ टाइम्स अफ इण्डियाका अनुसार गत मंगलबार २७ सय भारु प्रति क्विन्टल पुगेको प्याजको भाउ घटेर विहिबार २५ सय भारु प्रति क्विन्टल पुगेको थियो । आगामी डिसेम्बरसम्म भारतीय बजारमा प्याजको भाउ २ हजार भारु प्रति क्विन्टलसम्म घट्ने अनुमान गरिएको छ । भारतको अंकुश कायमै भारतमा प्याजको आपूर्ति सहज बन्दै गएपनि त्यहाँको सरकारले न्युनतम निर्यात दर हटाएको छैन । जसको कारण डिसेम्बरको अन्तिमसम्ममा नेपाली बजारमा प्याजको भाउ घट्दै जानेमा संशय कायमै छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका वरिष्ठ बजार व्यवसथापक मनोज धितालले डिसेम्बरको अन्तिम दिनसम्म प्याजको भाउ यकिन गर्न सक्ने अवस्था नरहेको बताए । उनले भने, ‘प्याज र सुनको भाउको ट्रेण्ड उस्तै भइसक्यो । डिसेम्बर सम्म भारत सरकारले न्युनतम निर्यात मूल्य नहटाएसम्म प्याजको भाउमा खासै प्रभाव देखिने अवस्था छैन ।’ घरेलू बाजारमा ५ महिनामा प्याजको भाउ सात गुणाले बढेपछि भारतले गत मंसिर ७ गते यसको निर्यातको न्यूनतम मुल्य ८५० अमेरिकी डलर प्रति टन कायम गरेको थियो । अन्तर्राष्ट्रीय बाजारमा प्याज औषतमा ७ सय डलरसम्म पाइन्छ भइरहेको छ । त्यसैले बिक्रेताहरु यो भन्दा बढी मूल्य तिर्न तयार छैनन् । जुलाईमा भारतमा औषत १८६ डलर प्रति टनको मूल्यमा निर्यात भएको थियो । एशियाभरी प्याजको तनाव भारत विश्वकै सबैभन्दा धेरै प्याज निर्यात गर्ने मुलुक हो । भारतले प्याजको निर्यातमा कडाई गरेपछि नेपालसँगै बंगलादेश, मलेशिया लगायतका अन्य एशियाली मुलुकहरुमा प्याजको महंगिको मार खेपिरहेका छन् । गत वर्ष अत्याधिक आपूर्तिका कारण प्याजको भाउ निकै सस्तिएको थियो । यसपाली भारत र पाकिस्तानका किसानले गर्मीयाममा यसको उत्पादन कम गरेका थिए । भारतले प्याजको भाउ बढाएपछि सबै एशियाली मुलुकहरुले चीनमा विकल्प खोजिरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । यद्यपी चीनसँग पर्याप्त उत्पादन छैन ।
डलर अपचलन गर्दै विवेकशिल साझा पार्टी, फेसबुकलाई ३ हजार डलर तिर्ने अनुमति कसले दियो ?
काठमाडौं । विकास र सुशासनको नारा बाढिरहेको विवेकशिल साझा पार्टी डलर अपचलनको काण्डमा फसेको छ । विवेकशिल साझा पार्टीले अमेरिकी डलर तिरेर आफ्ना उम्मेदवारहरुको प्रचार प्रसार फेसबुक लगायतका सामाजिक सञ्जालहरु मार्फत गरिरहेको छ । जबकी नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई नेपालमा डलरको कारोबार तथा खरिद बिक्रि गर्न पाइँदैन् । राष्ट्र बैंकको स्वीकृत विना डलर तिरेर विज्ञापन गर्न पाइँदैन र त्यस्ता काम गर्नेलाई राष्ट्र बैंकले विदेशी मुद्रा अपचलनको कारवाही गर्न प्रहरी समक्ष सिफारिस गर्न सक्छ । विवेकसिल साझा पाटीका संयोजक उज्वल थापाले नेपाली रुपैयाँ खर्च गरेर नेपाली आमसञ्चार माध्यममा गरिने प्रचार प्रसार कम प्रभावकारी भएको तर डलर भुक्तानी गरेर फेसबुक, ट्वीटर लगायत सामाजिक सञ्जालमा गरिएको विज्ञापन प्रभावकारी भएको बताएका छन् । सामाजिक सञ्जालमा आक्रामक र खर्चिलो प्रचार गरिरहनुभएको देखिन्छ । त्यसका लागि कति बजेट छुट्याउनुभएको छ ? भन्ने प्रश्नको जवाफमा विवेकशिल साझा पार्टीका संयोजक थापाले भनेका छन–‘हेर्दा मात्रै खर्चिलो हो । फेसबुकमा १ डलर खर्च गर्दा पनि न्यूजपेपरलाई विज्ञापन दिएको भन्दा बढी प्रभाव पर्छ । अहिले ‘वर्क हार्ड’ भन्दा पनि ‘वर्क स्मार्ट’को समय हो । रञ्जु दर्शना चुनाव लडेका बेला हामीले १ लाख डलर फेसबुकमा खर्चियौं भनेर हल्ला चलाइयो । तर, हाम्रो वास्तविक खर्च करिब ३ हजार डलर मात्रै थियो । यसपालि पनि त्यही हाराहारीमा खर्च होला ।’ डलर तिरेर स्पोन्सर गरिएको डा. सुर्यराज आचार्यको फेसबुक । एता, नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख रमेशकुमार पोखरेलले भने कुनै पनि दल र उम्मेदवारहरुले सामाजिक सञ्जालबाट चुनावी प्रचार प्रसार गर्न डलर सटहीका लागि आफुहरुसँग अनुमति नलिएको स्पष्ट पारे । ‘सामाजिक सञ्जालहरुको स्पोन्सरका लागि सटही सुबिधा लिन कोहि आएका छैनन् । हामीले तोकेको सेवा सुबिधा बाहेकका भुक्तानी गैर कानुनी हुन’, प्रमुख पोखरेलले भने । नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनालले समाजिक सञ्जालहरुको स्पोन्सरका लागि हुने भुक्तानी कानुन विपरिद भएको तर त्यो नेपाल राष्ट्र बैंकको कार्यक्षेत्रमा पर्ने बताए । ‘फेसबुकहरुको स्पोन्सरका नाममा करोडौं रकम विदेशिएको छ, यो गैर कानुनी काम हो, तर विदेशी मुद्राको कारोबार र नियमन गर्ने नेपाल राष्ट्र बैंकले हो, प्राधिकरणले केहि भन्न मिल्दैन’, खनालले भने । यो पनि पढ्नुहोस् । मार्क जुकरवर्गलाई धनी बनाइदिँदै नेपाली नेता, समृद्धिको सपना बाढेर करोडौं रुपैयाँ विदेश पठाइँदै
रक्सीमाथि प्रतिबन्ध, किनबेच गर्नेलाई कडा कारबाही
पर्सा । स्थानीय प्रशासनले पर्सा जिल्लामा मदिरामा प्रतिबन्ध लगाएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको दोस्रो चरणको निर्वाचनमा शान्तिपूर्ण बनाउन मदिरामा प्रतिबन्ध लगाएको हो । सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा दत्त पौडेलका अनुसार जिल्ला सुरक्षा समितिको बैठकले चुनावसम्म जिल्लामा रक्सीको उत्पादन, ढुवानी, तथा उपभोगमाथी रोक लगाएको छ । मदिरा सेवनबाट चुनावमा पर्नसक्ने प्रभाव र रक्सीको आधारमा हुने मत किनबेचलाई रोक्न यस्तो नर्णय गरेको उनले जानकारी दिए । नियम विपरित जाने जोकोहीविरुद्ध कडा कारबाही गर्ने सहायक सीडिओ पौडेलले बताए । रासस
विद्युतिय कारोबारमा अंकुश लगाउने राष्ट्र बैंकको तयारी, यस्ता छन कारण
काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतिय कारोबारमा अंकुश लगाउने तयारी थालेको छ । राष्ट्र बैंकले ‘विद्युतिय खातामा रकम जम्मा गर्ने र खर्च गर्ने सम्बन्धमा’ भन्दै डिजिटल कारोबारलाई निरुत्साहित गर्ने प्रस्ताव अघि सारेको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट नेपाली मुद्रामा भुक्तानी हुने गरी जारी गरिएका क्रेडिट कार्ड, डेविट कार्ड, प्रिपेड कार्ड र मोवाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा लगायत अन्य विद्युतीय माध्यमबाट गरिने कारोवारमा सिमा तोक्ने गरि नयाँ व्यवस्था प्रस्ताव गरेर १५ दिनभित्र सुझाव दिन भनेको छ । हालसम्म यस्ता कारोबारहरुमा रकमको सिमा तोकिएका थिएन् । तर पछिल्लो समयमा विद्युतिय कारोबारहरुमा जोखिम बढ्दै गएपछि राष्ट्र बैंकले रकमको सिमा नै तोकेर अघि बढ्ने निष्कर्ष निकालेको हो । ‘चार वटा नम्बरको पिन कोड थिचेर हुने कारोबारले जोखिम बढाएको छ, त्यस्ता कारोबारको इन्स्योरेन्स पनि गरिएको हुन्न, त्यसैले समयमै सचेत प्रयत्न अघि बढाएका हौं’, राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले देशविकाससँग भने । उनले विद्युतिय कारोबारमा राम्रो नियमन नभएको र जोखिम बढेकाले पनि नागरिकको कमाईलाई सुरक्षित बनाउन कारोबार सिमा तोकिएको बताए । ‘विद्युतिय कारोबारको सिमा तोक्नु अनिवार्य थियो, त्यस्ता कारोबारमा उपयुक्त नियमनको संयन्त्र पनि खडा भएको छैन, नागरिकको कमाईको सुरक्षाका लागि सिमा तोक्ने तयारी गरिएको हो’, पण्डितले भने । विद्युतिय कारोबार गर्ने कम्पनीहरु प्रति पछिल्लो समयमा शंकाहरु बढ्दै गएको बताउँदै उनले भने–‘बैंकिङ च्यानल प्रयोग गर्न प्रोत्साहन दिने हो तर विद्युतिय कारोबारलाई सिमा तोक्नै पर्ने अवस्था आईसकेको थियो’, पण्डितले भने । पछिल्लो समयमा ईसेवाले भाइबर आउट र बिटक्वाइनको कारोबारमा संलग्न रहेको फेला परेको थियो । सो सम्बन्धमा राष्ट्र बैंक र प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो(सिआईबी)ले थप अध्ययन गरिरहेको छ । हाल ईसेवा, आइएमई पे र प्रभु टेक्नोलोजीले पेमेन्ट सिस्टम अपरेटर र पेमेन्ट सर्भिस प्रोभाइडरको लाइसेन्स लिएका छन् । यीमध्ये इसेवाले कारोबार सञ्चालन गरिरहेको छ भने अन्यले सञ्चालनको तयारी गरिरहेका छन् । अन्य १० वटा कम्पनीले पनि आसय पत्र लिएर आवश्यक पुँजी र प्रबिधीको विकास गरिरहेका छन् । विद्युतिय कारोबार गर्ने कम्पनीलाई पानी, बिजुली र फोनको विल तिर्ने जस्ता साना सुबिधा मात्रै दिइएकाले पनि ठुलो रकम कारोबारमा रोक लगाउनु वाञ्छनिय भएको पण्डितको तर्क । ‘बत्ति, पानी र फोनको विल तिर्ने कम्पनीलाई मोटो रकम कारोबार गर्ने अधिकार किन चाहियो ?’, पण्डितले प्रतिप्रश्न गरे । के छ राष्ट्र बैंकको प्रस्तावमा ? राष्ट्र बैंकले प्रिपेड कार्ड जारी गर्दा एक पटकमा अधिकतम १ लाख रुपैयाँसम्मको जारी गर्न सकिने व्यवस्था प्रस्ताव गरेको छ । प्रिपेड कार्डबाट नगद झिक्दा प्रतिकारोवार न्यूनतम ५ सयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म वा प्रति महिना अधिकतम २५ हजार रुपैयाँसम्म नगद झिक्न पाइनेछ । डेबिट कार्डबाट नगद कारोवार गर्दा न्यूनतम प्रति कारोवार ५ सयदेखि अधिकतम २५ हजार रुपैयाँसम्म झिक्न पाइने राष्ट्र बैंकले जनाएको छ । यस्तो कारोवार प्रतिदिन ४ वटासम्म अधिकतम १ लाख रुपैयाँसम्म कारोवार गर्न पाइनेछ । बंैक तथा वित्तीय संस्थाहरुले नगद व्यवस्थापन, भौगोलिक अवस्था, सुरक्षा व्यवस्था र विशेष परिस्थिति समेतलाई ध्यानमा राखी तोकिएको रकमको सीमा घटाउन सक्ने व्यवस्था प्रस्तावमा छ । मोवाइल बैंकिङबाट भुक्तानी कारोवार गर्दा एक पटकमा बढीमा ५ हजार रुपैयाँसम्म वा प्रतिदिन अधिकतम १० हजारसम्मको कारोवार गर्न पाइनेछ । मासिक रुपमा ५० हजार रुपैयाँ भन्दा बढीको भुक्तानी कारोवार गर्न नपाइने उल्लेख छ । इन्टरनेट बैंकिङबाट भुक्तानी कारोवार गर्दा दैनिक अधिकतम १ लाख रुपैयाँसम्मको कारोवार गर्न सकिने छ । तर, मासिक रुपमा अधिकतम ५ लाख रुपैयाँ भन्दा बढीको भुक्तानी कारोवार गर्न नपाइने व्यवस्था गरिएको छ । इन्टरनेट बैंकिङको माध्यमबाट बैंक तथा वित्तीय संस्थाहरुको खातामा ट्रान्सफर गर्दा एक पटकमा अधिकतम १ लाख र मासिक रुपमा अधिकतम १० लाख रुपैयाँसम्मको कारोवार गर्न पाइने छ । बैंक तथा वित्तीय संस्थामा रहेको खाताबाट वालेटमा रकम जम्मा गर्दा वा एक वालेटमा रकम ट्रान्सफर गर्दा प्रति कारोवार १ सयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म र प्रति दिन अधिकतम . १५ हजार रुपैयाँसम्म ट्रान्सफर गर्न सकिने राष्ट्र बैंकले प्रस्ताव गरेको छ ।
एनएमबिको २५ प्रतिशत बोनस सेयर पास, साधारणसभाबाटै ट्याब्लेट बैकिङ कारोवार शुरु
पोखरा । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा मंसीर १५ गते पोखरामा सम्पन्न भएको छ । साधारण सभाले आ.व.२०७३÷०७४ को मुनाफावाट आफ्ना शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि चौध लाख बयासी हजार आठ सय पन्चानब्बे रुपैया नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् एनएमबि बैंकका नायब महाप्रबन्धक प्रदिप प्रधानले वित्तीय संस्था १० जिल्लाबाट हाल राष्ट्रिय स्तरको वित्तीय संस्थामा स्तरोन्नती भई ६७ वटा शाखा संचालनमा आएकोमा खुशी ब्यक्त गर्दै एनएमबि बैंक र एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था एक आपसमा साझेदार गर्दै अगाडी वढ्न प्रतिवद्धता ब्यक्त गरे । एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले एनएमबि बैंक, एनएमबि माइक्रोफाइनान्स र एनएमबि क्यापिटलले एक आपसमा मिलेर आधुनिक प्रबिधिको भरपुर उपयोग गरी आन्तरिक नियन्त्रण प्रणालीलाई मजवुद वनाउदै अगाडी वढ्नुपर्ने आवश्यकता भएको कुरा ब्यक्त गरे । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आ.व. २०७३÷०७४ को वार्षिक प्रतिवेदन पारित गरेको छ । यस पाँचौ वार्षिक साधरणसभाले पारित गरेपश्चात वित्तीय संस्थाको चुक्ता पूँजी ११ करोड २७ लाखबाट वृद्धि भई १४ करोड आठ लाख पचहत्तर हजार पुगेको छ । साधारणसभाकोे अवसरमा वित्तीय संस्थाका ग्राहक र कर्मचारीहरुलाई छिटो छरितो रुपमा केन्द्र बैठक संचालन गर्नको लागि आधुनिक प्रविधिको उपयोग गर्दै जाने क्रममा संस्थाको अध्यक्ष उत्तम भ्लोनले ट्याब्लेट बैंकिङ सेवाको उद्घाटन गरे । पोखरा लेखनाथ महानगरपालिका वडा नं. २९ हेम्जामा केन्द्रीय कार्यालय रहेको यस माइक्रोफाइनान्सले हाल देशका ३८ वटा जिल्लाहरुमा ६७ वटा शाखा कार्यालयहरु स्थापना गरी २०७४ कात्तिक मसान्तसम्ममा ६४,१५२ जना महिला सदस्यहरुलाई प्रत्यक्ष रुपमा लघुवित्तीय सेवा प्रदान गर्दै आएको छ । यस वित्तीय संस्थाको हाल करीव रु २ अर्व ७४ लाख कर्जा लगानी र निक्षेप करीव रु ४८ करोड रहेको जनाएको छ । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले स्वागत मन्तब्यका क्रममा वित्तीय संस्थाले ग्रामीण भेगको दुरदराजमा गई कार्य गरिरहेको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिने साथै लघुवित्तमा हाल विभिन्न चुनौतीहरु रहेको कुरा ब्यक्त गरे ।
पश्चिमसेतीमा चाइना थ्री गर्जेजले अघि सार्यो दुई शर्तः पीपीए दर बढाउन र डलर जोखिम प्राधिकरणले व्यहोर्नुपर्ने
काठमाडौं । चाइना थ्री गर्जेज इन्टरनेसनले कर्पोरेशनले विद्युत खरिद दर (पीपीए) दर बढाउनु पर्ने र डलर जोखिम नेपाल विद्युत प्राधिकरणले व्यहोर्नुपर्ने अडान लिएको छ । ७५० मेगावाटको पश्चिम सेती जलाशययुक्त आयोजना बनाउन प्राधिकरणसँग संयुक्त लगानी सम्झौता (जेभीए)पछि भएको छलफलमा हालको विद्युत खरिद दर (पीपीए) ले पश्चिमसेती आयोजना आर्थिक रुपमा आर्कषक नहुने भन्दै यसलाई बढाउनु पर्ने बताएको छ । यस्तै पीपीएपछि हुने डलर जोखिम सबै विद्युत प्राधिकरणले व्यहोर्नुपर्ने उसको अडान छ । उसले पीपीए दर र डलर जोखिमको विषयमा अडान लिएपछि जेभीए बाहेक अन्य कुनै पनि विषयमा सहमति नभएको प्राधिकरण स्रोतले बतायो । प्राधिकरण निर्धारण भएको पीपीए दर पुनरावलोकन गर्ने र डलर जोखिम सबै व्योहर्ने पक्षमा नभएको स्रोतको भनाई छ ।यता सरकारले जलाशययुक्त आयोजनाको पीपीए दर तयार गरी मंसिर १५ देखि जेठ १५ सम्म प्रतियुनिट १२ रुपैयाँ ४० पैसा र जेठ १६ देखि मंसिर १४ सम्म वर्षादको ६ महिनामा प्रतियुनिट ७ रुपैयाँ १० पैसा निर्धारण गरेको छ । सुख्खायाममा न्युनतम ३५ प्रतिशत ऊर्जा उत्पादन भएको हुनुपर्ने नयाँ पीपीएमा व्यवस्था छ । जेभीएअनुसार आयोजनामा थ्री गर्जेजको ६५, विद्युत प्राधिकरणको २५ र आयोजना प्रभावित स्थानियबासिन्दाको १० प्रतिशत लगानी हुने गरी सेयर संरचना तयार पारिएको छ । ६५ प्रतिशत मध्ये १४ प्रतिशत नेपाली लगानीकर्तालाई थ्री गर्जेजले स्वामित्व बेच्न सक्ने व्यवस्था गरेको छ । आयोजना निर्माण भई सञ्चालनमा आएको ५ वर्षसम्म ५१ प्रतिशत स्वामित्वबाट घट्न नपाइने व्यवस्था गरिएको छ । आयोजना वेष्ट सेती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडमार्फत निर्माण हुनेछ । विद्युत प्राधिकरणले लगानी गर्नुपर्ने २५ प्रतिशत स्वपँजी (इक्विटी) का लागि थ्री गर्जेजले चाइना निर्यात–आयात (एक्जिम) बैंकबाट सहुलियत दरमा कर्जा उपलब्ध गराउने सहमति भएको छ । प्राधिकरणले लगानी गर्ने स्वपुँजीको व्यवस्था थ्री गर्जेजले गर्ने भएको छ । ०६९ भदौमा भएको समझदारीपत्र (एमओयू) भएको हो । आयोजना निर्माणका लागि १ खर्ब ६० अर्ब रुपैयाँसम्म लगानी सरकारबाट ल्याउन स्वीकृति पाइसकेको छ । आयोजनाबाट वार्षिक ३ अर्ब ३३ करोड युनिट बिजुली उत्पादन हुने सम्भाव्यता अध्ययनले देखाएको छ । आयोजना सुदूरपश्चिमका डोटी, डडेलधुरा, बैतडी र बझाङ जिल्लामा पर्छ । आयोजा निर्माणपछि खपत केन्द्रसम्म बिजुली पु¥याउन आवश्यक ४ सय किलोमिटर लामो ४ सय केभीए क्षमताका प्रसारणलाइन बनाउन थप ४० अर्ब रुपैयाँ बढी लगानी लाग्ने छ । सरकारले जलासययुक्त आयोजनाको पीपीए दर सार्वजनिक गरिसकेको छ । आयोजना अघि बढाउन २ हजार ३२० हेक्टर क्षेत्रफल अधिग्रहण गर्नुपर्ने देखिएको छ ।
फीफा विश्वकपका लागि ३२ मुलकको समूह छनौट, कुन मुलुक कुन समूहमा हेर्नुस
काठमाडौं । विश्व फुटवल महासंघ (फीफा) ले अर्को वर्ष सन् २०१८ मा रुसको मस्कोमा हुने विश्वकप फुटवलमा भाग लिने मुलुकको समूह छनौट गरेको छ । विभिन्न महादेशबाट सहभागी हुने ३२ मुलुककलाई गोलाप्रथाबाट विभिन्न ८ समूहममा विभाजन गरेको छ । जसअनुसार समूह ए मा आयोजक रसिया, साउदी अरेविया, इजिप्ट र उरुग्वे परेका छन् । यस्तै समूह बीमा पोर्चुगल, स्पेन, मोरोक्को र इरान छन् । समूह सीमा फ्रान्स अष्टेलिया, पेरु र डेनमार्क, समूह डीमा अर्जेन्टीना, आइसल्याण्ड, कोस्टारिका र नाइजेरिया परेका छन् । समूह इ मा ब्राजिल, स्वीट्जरल्याण्ड, कोस्टारिका र सर्विया छन् । यसैगरी समूह एफमा जर्मनी, मेक्सिको, स्वीडेन र कोरिया, समूह जी मा बेल्जियम पानामा, ट्युनिसिया र वेलायत, समूह एचममा पोल्याण्ड, सेनेगल कोलम्बिया र जापान परेका छन् । विश्वकप सन् २०१८ को जुन १० अर्थात आउदो असारदेखि सुरु हुने छ ।
नेपाल इन्स्योरेन्स कम्पनीका सीईओ शाहलाई पितृ शोक
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहलाई पितृ शोक परेको छ । उनको बुबा बीरबहादुर शाहको मंसिर ७ गते विहीबार निधन भएको हो । ८७ वर्षिय शाहलाई खाना सर्किएपछि अस्पताल लगिएको थियो । अस्पताल पुग्दा चिकित्सकले शाहको निधन भएको घोषणा गरेका थिए । शाहको दुई छोरा छन् ।