विकासन्युज

काँग्रेसका नेता गगन थापा माथि बम आक्रमण, ७ कार्यकर्ता घाईते

काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापा माथि बम आक्रमण भएको छ । सोमबार चुनावी प्रचारमा गएका थापामाथि काठमाडौंको चपलीमा बम आक्रमण भएको । यसमा उनी सहित ७ कार्यकर्ता घाईते भएका छन् । काठमाडौं क्षेत्र नं ४ स्थित बुढानीलकण्ठ नगरपालिकाको चपलीमा रहेको माधव कोलोनीमा चुनावी घरदैलो कार्यक्रम सकेर चुनावी कोण सभा गर्ने क्रममा उनी माथि बम आक्रमण भएको हो । थापासँगै चुनावी अभियानमा रहेका १२ जना काँग्रेस कार्यकर्ताहरु बम आक्रमणमा घार्इते भएका छन् । जसमध्ये दुर्इको अवस्था गम्भीर रहेको छ । उनीहरुलार्इ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्यार्इएको छ । घाइते भएका थापाको कानमा र ढाडमा चोट लागेको छ ।

राष्ट्रिय बीमा र फष्ट माइक्रोफाइनान्सको बोनस सेयर सूचिकृत, कसको कति?

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा दुई कम्पनीको २० लाख १७ हजार १२० कित्ता बोनस सेयर सूचिकृत भएको छ । सोमबार मात्रै राष्ट्रिय बीमा कम्पनी र फष्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको गरी सो मात्राको सेयर सूचिकृत भएको हो । नेप्सेमा राष्ट्रिय बीमा कम्पनीको १४ लाख २१ हजार ९९५ कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, फष्ट माइक्रोफाइनान्सको ५ लाख ९५ हजार १२५ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

कहाँ अड्कियो निजगढ विमानस्थल ? डिजाइन बन्नै २ बर्ष लाग्ने

काठमाडौं । निजगढ विमानस्थल आयोजनाले गत जेठमै डिपिआर निर्माणका लागि आवेदन दिने २२ वटा कम्पनीमध्ये ६ वटालाई छानेर नागरिक उड्डयन प्राधिकरणमा पठाएको थियो । तर प्राधिकरणले अझै त्यो फाइल अगाडी बढाएको छैन् । एक बर्ष अघिदेखि सुरु भएको मुआब्जा वितरणको कामले पनि गति लिन सकिरहेको छैन् । हालसम्म करिब २० परिवारले १३ विगाह जमिनको ६ करोड मुआब्जा मात्रै लगेका छन् । बाँकी करिब एक सय विगाह जमिनको मुआब्जा लिन स्थानीयले नै अनिच्छा देखाईरहेका छन् । स्थानीयले मुआब्जाको दर बढाउनुपर्ने माग राख्दै आएका छन तर आयोजनाले मुआब्जाको दर बढाउन नसकिने बताउँदै आएको छ । उता, कोरियाली कम्पनील ल्याण्ड मार्क वल्र्डवाइड(एलएमडब्ल्यु)ले तयार पारेको विस्तृत सम्भाव्यता अध्ययन रिपोर्टको स्वामित्व लिने नीतिगत निर्णय पनि कार्यान्वयनमा आएको छैन् । कोरियाली कम्पनीसँग विस्तृत सम्भाव्यता अध्ययनको रिपोर्ट लिनका लागि पुर्व सम्झौता अनुसार ३५ लाख डलर तिर्नुपर्ने हुन्छ । पर्यटन मन्त्रालयले ३५ लाख डलर तिर्ने निर्णय गरेको छ तर कोरियाली कम्पनीले ब्याज र क्षतिपुर्ति समेत चाहिने भन्दै आएको छ । १४७३ परिवार सुकुम्बासीको पुनस्थापना कसरी गर्ने भन्नेबारे पनि कुनै योजना बन्न सकेको छैन् । ‘आजकै मितिबाट काम सुरु गरियो भने पनि डिजाइन बनाउन अझै २ बर्ष लाग्छ, अहिलेसम्म काम कहिले र कसरी सुरु हुन्छ, त्यसको टुंगो लागेकै छैन’, निजगढ विमानस्थल आयोजनाका प्रमुख हरि अधिकारीले भने । इआइए रिपोर्ट तयार भएर थप अध्ययनको चरणमा रहेको छ भने नेपाली सेनाले रुख काट्ने काम अघि बढाएको छ । उता, नेपाल नागरिक उड्यन प्राधिकरणले निजगढ निजगढ विमानस्थल आयोजनाको स्तर घटाएर पोखरा, भैरहवा र निजगढ विमानस्थल हेर्ने केन्द्रिय संरचना निर्माण गरिएको छ । निजगढ विमानस्थलको कार्यकारी आयोजनालाई घटुवा गरि आयोजना कार्यान्वयन ईकाइ मात्रै बनाइएको छ ।

भारतका ‘भगौडा’ बेलायतको यो गाँउमा ‘मसीहा’ ! सोमबार हुँदैछ माल्याविरुद्ध सुनुवाई

टेविन (बेलायत)। भारतले यो वर्ष मदिरा व्यापारी विजय माल्यालाई भगौडा घोषित गरेको थियो । अधिकांश भारतीय नागरिक माल्यालाई कारबाही भएको हेर्न चाहन्छन् । तर बेलायतको टेविन गाँउमा बस्ने अर्बपति परिवार यस्तो चाहदैनन्। लण्डनबाट ४८ किलोमिटरपर यो गाँउमा माल्याको घर छ, जहाँ मानिसका लागि उनी एक मसीहा हुन् । माल्यामाथी भारतको १७ वटा बैंकको ९ हजार करोड भारतिय रुपैयाँ बराबरको कर्जा नतिरेको आरोप छ । त्यो ऋण उनले आफ्नो बन्द भइसकेको किङफिशर एयरलाइन्सका लागि लिएको थियो । त्यति मात्र होइन उनीमाथी फर्जी तरिकाले पैसा लिएको र मनी लन्ड्रिङको पनि आरोप छ । माल्याले भर्खरै मात्र दुई हजार निवास रहेको यो गाँउलाई क्रिसमस ट्री उपहार दिएका छन् । जसकारण माल्यामाथी उनिहरुको विशेष सम्मान छ । क्राउन पबका बारम्यान रोजले भने, ‘माल्या यो गाँउको लागि अमूल्य सम्पती जस्तै छन् । हामी यस्तो मानिस पाएर खुशी छौं ।’ बारम्यानले भने,’यहाँका मानिसहरुरलाई माल्या समस्यामा परेको कुरा थाहा छ । तर प्राय धनी मानिस कुनै न कुनै समस्यामा परेकै हुन्छन् । किन नुहनु? माल्यालाई कारबाही नहोस् हामी यही आशा गर्छौं । भगवानले माल्याको रक्षा गरुन् ।’ माल्याको विरुद्ध सोमबार सुनुवाई हुँदैछ । कंट्री बम्पकिनका क्याफेका सेफले भने, ‘माल्या माटोसँग जोडिएका छन् । उहाँ आफ्नो पत्नी र बच्चाहरुसँग यहाँ आउनुहुन्थ्यो । उनले कहिल्यै धनीमानी जस्तो देखावटी गर्दैनथे । मलाई थाहा छ की भारत सरकारले उनको खोजी गरिरहेको छ तर हामीलाई यसको मतलब छैन । आफुपनि बाच र अरुलाई पनि बाच्नदेउ ।’

विभिन्न परियोजनामा पुरुषभन्दा बढी महिला लाभान्वित

भद्रपुर । न्याय तथा विकासका लागि सामाजिक सञ्जाल नामक संस्थाले झापामा एकिकृत सामुदायिक उत्थानशील विकास परियोजना मार्फत सात हजार ७०७ जना लाभान्वित भएका छन् । झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिका-१ र २ मा गत पुस महिनादेखि एक वर्षका लागि सञ्चालित सो कार्यक्रमबाट चार हजार ८०२ महिला लाभान्वित भएको सहजकर्ता सोमनाथ भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार विपद् जोखिम व्यवस्थापन, क्षमता विकास कार्यक्रम, साना जल उत्पन्न योजना कार्यान्वयन, कृषक पाठशाला, दिगो जीविकोपार्जन क्रियाकलाप, दलहन, तेलहन बालीमा सहयोग, खानेपानी तथा सरसफाइ सम्बन्धी सचेतनामूलकजस्ता कार्यक्रममा सात हजार ७०७ जना लाभान्वित हुनुका साथै रु ६२ लाख १६ हजार ५२४ खर्च भएको छ । सोही परियोजना अन्तर्गत झापाको कचनकवल गाउँपालिका र सिसात्ताक्षी नगरपालिकामा बाढी प्रभावित बालबालिकाका लागि शैक्षिक सामग्री सहयोग कार्यक्रमबाट दुई हजार २६७ बालबालिका लाभान्वित भएको सञ्जालले जनाएको छ । कक्षा १ देखि ५ सम्मका बालिकालाई वितरण गरिएको शैक्षिक सामग्रीका लागि रु नौ लाख ४० हजार ६२ खर्च भएको सञ्जालका सहजकर्ता कुमार चुडालले जानकारी दिए । यसैगरी, स्वच्छ खानेपानीका लागि उच्च धारा निर्माण, शौचालय मर्मत, घर निर्माणमा अनुदान र कृषि बजार मर्मत संभारजस्ता झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिकामा सञ्चालित कार्यक्रममा रु ११ लाख ८८ हजार ६६४ खर्च भएको थियो । स्थानीय विकास अधिकारी खेमराज ओझाले मानिसको जीवनस्तर उकास्न र विपत्मा परेका मानिसलाई तत्काल राहत प्रदान गर्न सञ्जालले गरेको कार्य सराहनीय रहेको बताए। रासस

निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनालाई पाँच वर्षभित्र पूरा गर्ने

काठमाडौं । नेपाली काँग्रेसले हाल निर्माणाधीन तथा कार्यान्वयनको चरणमा रहेका राष्ट्रिय गौरवका आयोजनालाई पाँच वर्षभित्र पूरा गर्ने योजना बनाएको छ । काँग्रेसले दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पूर्वसन्ध्यामा पार्टीको आर्थिक समृद्धि र विकास समन्वय उपसमितिका संयोजक विनोद चौधरीले प्रस्तुत गरेको सामाजिक तथा आर्थिक विकासको मार्गचित्रअनुरुप उक्त योजना बनाएको हो । विसं २०४८ मा काँग्रेस सरकारले लिएको उदारीकरण र खुला बजार अर्थनीतिका कारण आर्थिक–सामाजिक क्षेत्रमा व्यापक सुधार आएको भन्दै त्यहीअनुसार पार्टीले आगामी पाँच वर्षको आर्थिक विकासको मार्गचित्र प्रस्तुत गरेको छ । मार्गचित्रमा नेपाल हुँदै भारत र चीन जोड्ने पाँचवटा दु्रतगतिका उत्तर दक्षिण सडक निर्माण गरी उत्पादित वस्तुलाई निर्यात गरी मुलुकको आर्थिक विकासलाई अगाडि बढाउन मद्दत पुग्ने उल्लेख गरिएको छ । कर्णाली लोकमार्ग, मध्यपहाडी लोकमार्ग र उक्त लोकमार्गसँगै रहेका स्मार्ट सिटी निर्माण गर्ने योजना काँग्रेसले अगाडि सारेको छ । यस्तै काठमाडौँको बाहिरी चक्रपथ निर्माण गर्दा भित्री शहरको जनघनत्व वृद्धि भई अव्यवस्थित शहरी करण नहोस् भन्न शहरी बस्तीको फैलावट बढाउनका लागि स्याटेलाइट एवं स्मार्ट सिटीको अवधारणा ल्याउनुपर्ने जनाएको छ । काँग्रेसले बाह्य मुलुकका पर्यटक नेपालमा भित्र्याउनका लागि तथा नेपाली नागरिक सहज ढंगले विदेश जानका लागि निजगढ, पोखरा र भैरहवालाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा निर्माण कार्य तीव्र गतिमा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्ने मार्गचित्रमा उल्लेख छ । पूर्व पश्चिम लोकमार्गलाई कम्तीमा छ लेनको बनाउने, हुलाकी सडकको कामलाई तीव्र बनाई तीन वर्षभित्र सञ्चालन गर्ने तथा पूर्व पश्चिम रेलमार्गको डिपीआर सम्पन्न गरी रेल्बे लिक बिछ्याउने कामलाई तीव्रता दिने मार्गचित्रमा जनाइएको छ । नेपालको कुल जनसंख्याको ६१ प्रतिशत कृषि पेशामा आश्रित रहेको वर्तमान अवस्थामा काँग्रेसले आगामी पाँच वर्षभित्र नेपालबाट तरकारी, माछा, मासु, दुग्ध पदार्थ, फलफूल, मह, स्याउ, च्याउ, चिया, कफी अदुवालगायतका नगदेबालीलाई निर्यात गर्ने गरी काम गर्ने जनाएको छ । मार्गचित्रमा मुलुकमा लगानी अभिवृद्धि गरेर आगामी पाँच वर्षमा दुई अंकले आर्थिक वृद्धिदर हासिल गर्ने, आन्तरिक र बाह्य लगानी आकर्षण गर्ने, विशेष आर्थिक क्षेत्र (सेज) को अवधारणा कार्यान्वयनमा ल्याउने र उद्योग स्थापनाको समयमा लगानीकर्तालाई नगद प्रोत्साहन दिने अवधारणा उल्लेख छ । यस्तै पिछडिएको प्रदेशमा विशेष आर्थिक क्षेत्र घोषणा गर्ने, विदेशी लगानीकर्तालाई लगानीको वातावरण बनाउन कानूनमा सुधार ल्याउने, पर्यटकीय पूर्वाधारमा सुधार ल्याउने, बाह्य पर्यटक धेरैभन्दा धेरै भित्र्याउनका लागि अन्तरराष्ट्रिय विमानस्थललाई बढाउनेलगायत कुरा समेटिएका छन् । काँग्रेसले मार्गचित्रमा जलविद्युत्का ठूला आयोजनालाई कार्यान्वयनमा ल्याउनका लागि विदेशी लगानीकर्तालाई आकर्षित गर्नुका साथै स्वदेशी लगानीकर्तालाई प्रोत्साहन गर्ने नीति अगाडि सारेको छ । नीतिमा छिमेकी देशले विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था सोच्न थालेको भन्दै चाँडो विद्युत् उत्पादन गरी जलविद्युत्मार्फत राष्ट्रको समृद्धि हासिल गर्नुपर्ने बेला आएको उल्लेख छ । यसैगरी सम्पदाको संरक्षण, कृषि क्षेत्रलाई प्रतिस्पर्धी बनाइने, दु्रत मार्गको काम चाँडो सम्पन्न गरिने, व्यवस्थित शहरीकरण गर्नेलगायत छन् । मार्गचित्रमा विसं २०४८ देखि हालसम्म शिक्षा, स्वास्थ्य, यातायात, रोजगारी, उद्योगलगायत क्षेत्रमा भएको सुधारलाई समेत समावेश गरिएको छ । विदेशमा कमाएको रकम नेपालमा सुरक्षित एवं राम्रो प्रतिफल पाउने गरी लगानी गर्ने विश्वास दिलाउँदै क्रमशः नेपालमा रोजगारी सिर्जना गरी वैदेशिक रोजगारमा जाने युवाको संख्या घटाउँदै लैजाने नीति मार्गचित्रमा उल्लेख छ । रासस

तीन कम्पनीको सेयर मूल्य समायोेजन

काठमाडौं । सोमबार मात्रै तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले एक संस्थाको बोनस र दुई कम्पनीको हकप्रद सेयरपछिको सेयर मूल्य समायोजन गराएको हो । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको २० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता २६२१ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १३६० रुपैयाँ रहेको थियो । त्यस्तै, सोमबार नै गण्डकी विकास बैंकको २५ प्रतिशत हकप्रद सेयर जारी पश्चात मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता २७६ रुपैयाँ रहेको छ । त्यसैगरी, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको पनि हकप्रद सेयर निष्काशन पश्चात नेप्सेले कम्पनीको सेयर मूल्य समायोजन गराएको छ । सामायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९६८ रुपैयाँ रहेको छ ।

शिखर इन्स्योरेन्सको मंसिर २२ गतेदेखि १७ दिन बुक क्लोज

काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडको मंसिर २२ गतेदेखि १७ दिन बुक क्लोज हुने भएको छ । वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि कम्पनीको मंसिर २२ गतेदेखि आगामी पुस ७ गतेसम्म बुक क्लोज हुन लागेको हो । कम्पनीको आगामी वार्षिक साधारणसभा पुस ७ गते हुने भएको छ । उक्त सभाले सेयरधनीलाई ३०.५३ प्रतिशत लाभांश दिने कम्पनीको निर्णयलाई पारित गर्ने भएको छ । यस कम्पनीले २९ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.५३ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने निर्णय गरेको हो ।