विकासन्युज

काँग्रेस सरकारलाई पत्याएन सेयर बजारले, ६ महिनामा ८५ अंकले ओरालो

काठमाडौं । उदार अर्थतन्त्रको प्रवर्तक बताउँदै आएको नेपाली काँग्रेस नेतृत्वको वर्तमान सरकारका पालामा सेयर बजार ह्वात्तै घटेको छ । काँग्रेस सभापति शेर बहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ६ महिने अवधीमा सेयर बजार ८५.४६ अंकले घटेको हो । देउवा प्रधानमन्त्री भएको दिन अर्थात गत जेठ २४ गते १६२३.१३ अंकमा रहेको नेप्से परिसूचक हाल १५३७.६७ अंकमा झरेको छ । संसारभरका कम्युनिष्ट सरकारहरु सेयर बजार प्रति नकारात्मक हुने र बजार ओरालो लाग्ने परिस्थिती बन्दै आएको छ । तर नेपालमा भने खुल्ला बजार अर्थतन्त्रको हिमायती मानिएकै काँग्रेस नेतृत्वको सरकारका पालामा बजार निरन्तर ओरालो लागेको देखिन्छ । अर्काे संयोग के पनि छ भने नेपालको सेयर बजारमा हालसम्मकै उच्च बिन्दु भने कम्युनिष्ट सरकारकै पालामा कायम भएको देखिन्छ । काँग्रेसले सेयर बजारको स्वभाविक विकासक्रमका विरुद्ध कुनै निती नल्याए पनि बजार विस्तारका लागि पनि चासो नदेखाएको लगानी कर्ताहरुले बताउँदै आएका छन् । नागरिक दैनिकबाट

विहे मात्र होइन ‘डिभोर्स’को पनि हुन्छ सिजन, साउन र फागुनमा तोडिन्छन् धेरै सम्बन्ध

काठमाडौं । परम्पराअनुसार नेपालमा ६ वटा महिना(बैशाख, जेठ, असार, मंसिर, माघ र फागुन )लाई विवाहको सिजन मानिन्छ । यद्यपी सम्बन्धविच्छेदको लागि त्यस्तो सिजन तोकिएको छैन । सामान्यतया श्रीमान-श्रीमतीबीच मनमुटाव बढ्दै जाँदा सम्बन्धविच्छेद गरिएको पाइन्छ । तर एक अध्ययनले निश्चित समयमा सम्बन्धविच्छेद हुनेगरेको पत्ता लगाएको छ । अधिकांश विवाहित दम्पतीले मार्च (साउन) र अगस्ट (फागुन)मा सम्बन्धविच्छेद गर्ने गरेको वाशिंगटन समाजशास्त्री विश्वविद्यालयले गरेको अध्ययनले सम्बन्धविच्छेद यी दुई महिनामा हुनेगरेको निश्कर्ष निकालेको छ । समाजशास्त्रका सहायक प्राध्यापक जुली ब्राइन्स र ब्रायन सेराफिनीले वर्षको दुई महिनामा सबैभन्दा बढी ‘डिभोर्स’ हुने गरेको पत्ता लगाएका छन् । सन् २००१ देखि २०१५ सम्म वाशिंगटनमा भएका डिभोर्सका लागि आवेदन हेर्दा लगातार मार्च र अगस्टमा बढी आवेदन परेको अनुसन्धानको विश्लेषण छ । यो कुरा धेरै दम्पतीका लागि सामाजिकरुपमा अमान्य हुनसक्छ । जाडो र गर्मीको छुट्टीमा त झन् एकअर्काको सम्बन्ध सुधार्नलाई ठुलो अवसरको रुपमा लिन सक्छन् । उक्त अध्ययन अनुसार पारिवारिक व्यवहारमा प्रभाव पार्न परम्परागत क्यालेण्डरले ठुलो भुमिका खेलेको छ । ‘सामान्यतया गर्मी र जाडोको छुट्टीमा बढी समय परिवारसँग बिताइन्छ’, ब्राइनले भनिन्, ‘छुट्टीमा सम्बन्ध सुधार्ने र नयाँ जिन्दगी सुरु गर्ने अठोट हुन्छ । यसले मानिसको आकांक्षालाई बढावा दिन्छ ।’ यद्यपी छुट्टीमा आकांक्षाले सोचेजस्तो स्थान नपाएपछि अधिकांश दम्पती दुखित बन्छन् । समाजशास्त्रीको भनाईमा उनिहरुको सोच ‘वाचा तोडिएको’ जस्तो चिसो बन्दै जान्छ । जसका कारण उनीहरुले डिभोर्समा पुग्ने सम्भावना बढेको उनले बताइन् । ब्राइन्सका अनुसार नयाँ वर्षको छुट्टीपछि दम्पतीलाई डिभोर्सका लागि हिम्मत बटुल्न, आर्थिक स्रोत जुटाउन र वकिलको रायसुझाव लिन केही महिना लाग्छ । र मार्चको महिनामा अधिकांशको डिभोर्स हुनेगरेको उनको अनुमान छ । त्यस्तै गर्मीको छुट्टीको मनमुटावपछि उनीहरुलाई बाकी समय बालबच्चाको स्कुल समयले रोक्ने गरेको उनी बताउछन् । अन्तत अगस्टमा दम्पतीहरु डिभोर्सका लागि आवेदन दिन्छन् । त्यस्तै तनावमा वसन्त ऋतुको समयमा आत्महत्या समेत हुने गरेको उनले बताइन् । तनावकाबीच दम्पतीले अनाहकमा यस्तो निर्णय लिनसक्ने सम्भावा बढी छ ।

एक्सेल डेभलपमेन्ट बैंकको ३१.७१ प्रतिशत लाभांश पारित, सञ्चालकमा पुरुषोत्तम लम्साल

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको ३१.७१ प्रतिशत लाभांश पारित भएको छ । आइतबार(आज) सम्पन्न कम्पनीको १२ वार्षिक साधारण सभाले कम्पनीको ३०.१२ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनको लागि १.५९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गरेको हो । उक्त सभाको उद्घाटन बैंकका अध्यक्ष हेमराज ढकाल र प्रमुख अतिथि विर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले संयुक्त रुपमा गरेका हुन् । साथै, उक्त साधारण सभाले सर्वसाधारण समुहका शेयरधनीहरुमध्येबाट पुरुषोत्तम लम्साललाई संचालक निर्वाचित गरेको छ । आ.व. २०७३।०७४मा खुद मुनाफा १५ करोड ०४ लाख रुपैयाँ आर्जन गर्न सफल रहेको छ । बैंकले हालसम्म ३ अर्ब ९३ करोड रुपैयाँ कर्जा र ४ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । सभाबाट पारित बोनस शेयर तथा चालु आ.व.मा निष्काशन गरिएको हकप्रद शेयर पश्चात बैंकको चुक्ता पुँजी ६९ करोड २६ लाख रुपैयाँ नाघ्ने छ ।

मेची महाकाली रेलमार्गः ६१९ किलोमिटर डिपिआर फाइनल, ४२१ किलोमिटर धमाधम

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाइएको मेची महाकाली रेल मार्गको ६१९ किलोमिटर डिपिआर तयार भएको छ । रेल विभागले गत नोभेम्बर २० तारिखका दिनसम्ममा ६१९ किलोमिटर क्षेत्रको डिपिआर तयार पारेको हो । विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायका अनुसार पुर्वी नाका काकडभिट्टादेखि वुटवलसम्मको डिपिआर तयार भएको छ भने वुटवलदेखि पश्चिमी नाका गड्डा चौकीसम्मको ४२१ किलोमिटर रेलमार्गको डिपिआर निर्माण धमाधम अघि बढेको छ ।‘वुटवलदेखि पुर्व तर्फको डिपिआर तयार भैसकेको छ, अब वुवलदेखि गड्डा चौकीसम्मको डिपिआर पनि एक बर्षभित्रै तयार पर्ने गरि धमाधम काम भैरहेको छ’, उपाध्यायले भने । विभागले बर्दिबासदेखि काकडभिट्टा खण्डको २४७ किलोमिटरको डिपिआर तयार पारेको छ । त्यस्तै, बर्दिबास–सिमरा–तम्सारिया–बुटवल खण्डको ३७२ किलोमिटर डिपिआर पनि तयार भैसकेको छ । सोही खण्डको बर्दिबास–लालबन्दीको ३० किलोमिटरमा ट्रयाक बेड,पुल पुलेसा निर्माणको काम सम्पन्न भैसकेको छ । लालबन्दीदेखि सिमरासम्मको ७८ किलोमिटरको काम पनि चालु आर्थिक बर्षमा सुरु भएको छ । हाल भारत सरकारको सहयोगमा जयनगर–जनकपुर– बर्दिवास ६९ किलोमिटरमध्ये जयनगर–जनकपुर बिजुलपुराको ५२ किलोमिटरमा ट्रयाक बेड तथा स्ट्रकचरको काम सम्पन्न भैसकेको छ । त्यस्तै, बिजुलपुरा–बर्दिबासको १७ किलोमिटर क्षेत्रमा जग्गा अधिग्रहणको प्रक्रिया पनि अघि बढेको छ । कटहरी–विराटनगर–बथनाहाको १८ किलोमिटरको पनिे ट्रयाक बेड तथा स्ट्रकचरको काम धेरै अघि बढिसकेको छ । त्यस बाहेक काठमाडौं–बिरगञ्ज विद्युतिय रेलमार्गको सम्भाव्यता अध्ययनका लागि कम्पनीहरुको छनौट अन्तिम चरणमा पुगेको छ भने केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको अध्ययनका लागि चिनसँग सम्झौता भैसकेको छ ।

बैंकको गल्तीले छात्राले पाइन् ३५ लाख डलर, मुद्दा अघि नबढ्ने

बिबिसी । अस्ट्रेलियाली अभियोजन पक्षले एक मलेशियाली महिलाविरुद्ध लगाएको आरोप फिर्ता लिएको छ । यी महिलाले बैंकको गडबढीका कारण करिब ३५ लाख अमेरिकी डलर निकालेकी थिइन् । २२ वर्षीय क्रिस्टीन लीले यो रकमको ठुलो परिमाणलाई गरगहना तथा ब्यागमा खर्च गरेकी थिइन् । वेस्टप्याक बैंकको गलतीका कारण यो रकम उनले पाएकी थिइन् । सन् २०१४/१५ मा धोखा मार्फत उक्त रकम निकालिएको प्रहरीले बताएको थियो । अभियोजन पक्षले आरोपलाई फिर्ता लिनुको कारण खुलाएको छैन । वकील ह्यूगो एस्टनले अभियोजन पक्षको यो कदमले लीलाई राहत मिलेको बताए । एस्टनले भने, “किनेका कतिपय सामानलाई जफत गरी फिर्ता दिइएको छ ।” खास कुरा के थियो? सिडनी विश्वविद्यालयकी पूर्व छात्राले सन् २०१२मा बैंक एकाउण्ट खोलेकी थिइन् । तर गल्तीले उनलाई असीमित ओभरड्राफ्टको सुविधा दिइयो । २०१५ मा बैंकले आफ्नो ग़लतीको महसुस नभएसम्म ११ महिनामा लगातार रकम निकालिन् । लीलाई २०१६ मा सिड्नी एयरपोर्टमा गिरफ्तार गरियो र बैंकलाई धोखा दिएर वित्तीय लाभ उठाएको आरोप लगाइयो । उनको वकीलले सिडनीमा अदालतलाई ली ईमानदार नभएपनि बैंकको गलतीका कारण यस्तो भएको बताए । पाँच वर्षसम्म अस्ट्रेलियाको केमिकल इन्जिनियरिङकी विद्यार्थी लीलाई बैंकरप्ट घोषित गर्‍यो । वेस्टप्याकका एक प्रवक्ताले बैंकले पैसा उसुल्न सम्भव भएसम्मका प्रयास गर्‍यो । सिडनी मर्निंङ हेराल्डका अनुसार पछिल्लो वर्ष न्यायधिसले अभियोजहरुलाई यो खर्च गैरकानुनी नभएको बताएका थिए । न्यायधिस लिसा स्ट्यापलेटनले भने, “यो अपराधको कमाई होइन, यत्रो रकम पाउनु सबैको सपना हुन्छ ।”

एभरेष्ट बैंकद्धारा अशक्त बालबालिकालाई सहयोग

काठमाडौं । विश्व अपाङ्गता दिवसको अवसर पारेर एभरेष्ट बैङ्कले सामाजिक उत्तरदायित्व (सिआरएस) कार्यक्रम अन्तर्गत अशक्त बालबालिकालाई सहयोग गरेको छ । बैंकले आइतबार लगनखेलको नमुना मेहेन्द्र सेकेन्डरी स्कुलका दुष्टिविहिन बिद्यार्थीलाई आवश्यक सामाग्री वितरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र नायब महाप्रबन्धक राजिव जैनले उक्त सामाग्री वितरण गरेका हुन् । उक्त कार्यक्रममा रिसोर्स पर्सन बुद्ध लक्ष्मी श्रेष्ठ, बैंकका सिनियर म्यानेजर रंजन खड्का र लगनखेल ब्रान्चका म्यानेजर लभ कुइकेलको उपस्थिती रहेको थियो । बैंकले यस्ता कार्य लगनखेल शाखाबाट मात्र नभई देशभर फैलिएका आफ्ना विभिन्न शाखाबाट यस्ता कार्यक्रमा संचालनमा गरेको छ । साथै, एभरेष्ट बैङ्कले सामाजिक दायित्वको सन्दर्भमा यस अघिपनि शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्र्गगत सहयो गर्दै आइरहेको छ । बैंकले ६४ शाखा कार्यालय, २ एक्टेन्सन काउन्टर, २८ राजस्व काउन्टर, ९४ एटिएम र ५००० हजार भन्दाबढी भुक्तानी एजेन्टको माध्यमबाट दिँदै आइरहेको छ ।

सडक विस्तारपछि सुन्तलाले बजार पायो, प्रतिकिलो ४२ रुपैयाँका दरले बिक्री

म्याग्दी । विगतका वर्षमा सस्तो मूल्यमै सुन्तला बिक्री गर्दै आएका यहाँका किसानले सडक विस्तारपछि उचित मूल्य पाउन थालेका छन् । धौलागिरि गाउँपालिका– ७ ताकमका भेषनाथ गौतमले मंसिर पहिलो हप्ता धादिङका व्यापारीलाई सुन्तला ठेक्कामा दिए । उनले प्रतिकिलो रु ४२ का दरले सुन्तला बिक्री गरेका हुन् । गौतमलाई जस्तै गाउँका अन्य किसानलाई यसपालि विगतको जस्तो सुन्तला बिक्रीका लागि माघसम्म डोके व्यापारी कुर्नुपर्ने चिन्ता छैन । “यसअघि सुन्तलाको बजार खोज्दै हिँड्नुपर्दथ्यो, यसपालि आँगनमै सडक आएपछि व्यापारी सुन्तला किन्न घरमै आए,” गौतमले भने । बेनी नगरपालिका– ४ बास्कुनाका कृषक तिलक गुरुङले १०० बोट सुन्तला नटिप्दै रु चार लाखमा बिक्री गर्नुभयो । सोही ठाउँका नरबहादुर हुमेन, दलबहादुर कार्की र दुर्गाबहादुर खत्रीले सुन्तला बेचेर रु एकएक लाख बुझिसकेका छन्। “घरमै आएर व्यापारीले बगैँचा नै ठेक्कामा लिएर सुन्तला खरिद गरेर लगेपछि कहाँ र कसरी बेच्ने भन्ने चिन्ता नै रहेन”– कृषक दलबहादुर कार्कीले भने । कृषकलाई सडक सुविधा विस्तार भएपछि सुन्तला, आलुलगायत कृषिउपज बजारीकरणमा सहयोग मिलेको छ । केही वर्ष पहिलेसम्म स्थानीय बजारमा सिमित म्याग्दीको सुन्तला अहिले पोखरा, काठमाडौँ, नारायणघाटदेखि जनकपुरसम्म पुग्न थालेको छ । बेनी नगरपालिको राखु, मरेक, बास्कुना, मंगला गाउँपालिकाको बरंजा, भोर्लेनी, अर्मन, कुहुँ, मालीकाको बिम, ओखरबोट, रुन्मा, धौलागिरिको ताकम क्षेत्रका कृषकका बगैँचामा लटरम्म फलेका सुन्तला बोटबाटै बिक्री हुन थालेपछि कृषक उत्साहित भएका छन् । रघुगंगा गाउँपालिकाको पिप्ले, भगवती, बेगखोला, अन्नपूर्णको दोवा, हिस्तान, घार, भुरुङ तातोपानी, नारच्याङ र दानाका कृषकले भने बेँसीजनमा केही ढिला गरी सुन्तला बेच्ने गरेका छन् । सडक सुविधा नहुँदा म्याग्दीका कृषकले उत्पादन गरेको सुन्तला स्थानीय बजारमा सिमित थियो । कृषकले उचित मूल्य पाउन सकेका थिएनन् । सुन्तला बिक्रीबाट जिल्लामा वार्षिक रु तीन करोडदेखि रु चार करोडसम्म भित्रने गरेको छ । छ सय ८५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भएको म्याग्दीमा गत वर्ष दुई हजार ४७३ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । जिल्ला कृषि विकास कार्यालयका वागवानी विकास अधिकृत भोजबहादुर थापाले बजार र मूल्य पाउन थालेपछि कृषक सुन्तला खेतीप्रति आकर्षित भएको बताए । उनका अनुसार कृषकले धान, कोदो, मकै, गहुँलगायत अन्नबालीको विकल्पमा सुन्तलाखेती गर्नेक्रम बढेको छ । रासस

पाठेघर प्रत्यारोपण गरिएकी महिलाबाट बच्चा जन्मियो, अमेरिकी चिकित्सा विज्ञानमा ठूलो उपलब्धि

हाउसटन । अर्कै महिलाको पाठेघर (गर्भाशय) प्रत्यारोपण गरिएकी एक महिलाबाट संयुक्त राज्य अमेरिकामा बच्चा जन्मिएको समाचार छ । यस घटनालाई विश्वकै चिकित्सा विज्ञानमा ठूलो उपलब्धि भएको भनी चिकित्सा क्षेत्रका व्यक्तिहरुले प्रचारप्रसार गरेका प्राप्त समाचारमा जनाइएको छ । गर्भाशय प्रत्योपित महिलाबाट अमेरिकामा यो पहिलो पटक बच्चा जन्मिएको अमेरिकाको टेक्सासमा रहेको अस्पतालले पुष्टि पनि गरेको समाचारमा उल्लेख छ । अमेरिकी राज्य टेक्सासको डालासमा रहेको ‘द बेइलर स्कट एण्ड ह्वाइट मेडिकल सेन्टर’ नामक अस्पतालमा शुक्रबार ती अमेरिकी महिलाले बच्चा जन्माएकी हुन् । उक्त अस्पताल हाउसटनबाट करिब ४०० किलोमीटर उत्तरमा पर्दछ । उक्त अस्पतालले एक्काइसौँ शताब्दिमा प्राप्त चिकित्सा क्षेत्रका केही उपलब्धिमध्येको एक उपलब्धिका रुपमा महिलाको प्रत्यारोपण गरिएको गर्भाशयबाट बच्चा जन्मिएको भनी आफ्नो ट्वीटर अकाउन्टमार्फत सार्वजनिक गरेको छ । ती महिलाले बच्चालाई जन्म दिएको भिडियो नै सो ट्वीटर अकाउन्टमा राखिएको छ । र भनिएको छ- चिकित्सा क्षेत्रमा प्राप्त यो उपलब्धि धेरै ठूलो हो, जुन अमेरिकामा पहिलो पटक प्राप्त भएको छ । उक्त अस्पतालले सन् २०१६ को सेप्टेम्बर महिनामा चार जना महिलामा गर्भाशय प्रत्यारोपण गराएको थियो । यस क्रममा उनीहरुले स्वीडिस् मेडिकल समूहको सहयोग लिएको जनाएका थिए । ती मध्ये एकजना महिलाको मात्र प्रत्यारोपण सफल भएको थियो । तिनै महिलाले शुक्रबार बच्चा जन्माएकी हुन् । यसरी एक महिलाको गर्भाशय अर्कोमा प्रत्यारोपण गर्ने कामको सुरुवात स्वीडेनमा भएको हो । त्यहाँ यसअघि नै यसरी गर्भाशय प्रत्यारोपण गरिएका महिलाबाट पाँच जना शिशु जन्मिइसकेका छन् । सन् २०१४ को सेप्टेम्बर महिनामा पहिलो पटक स्वीडेनमा यसरी प्रत्यारोपण गरिएको गर्भाशयबाट बच्चा जन्मिएको थियो । रासस/सिन्ह्वा