विकासन्युज

गण्डकी विकास बैंकको नयाँ शाखा विरगञ्जमा

काठमाडौं । गण्डकी विकास बैकले आफ्नो नयाँ शाखा पर्सा जिल्लाका विरगञ्जमा सञ्चालन गरेको छ । उक्त शाखाको औपचारिक उद्घाटन विरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले गरेका हुन् । उक्त अवसरमा नेपाल राष्ट्र बैंकका निर्देशक एवं विरगंज शाखा प्रमुख रविन्द्र महर्जनले शुभकामना दिएका थिए । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्यले बैंकको वित्तीय अवस्था, वैकले प्रदान गर्ने सेवा सुविधाको साथै विविध गतिविधीको बारेमा जानकारी दिएका थिए । उक्त शाखाबाट निक्षेप संकलन, कर्जा प्रवाहका साथमा एबीबीएस, एटिएम, मोवाइल बैँकिङ्ग, रेमिटेन्स सेवासहितको पूर्ण बैँकिङ्ग सेवा संचालन गरिएको छ । बैंकले निकट भविश्यमा काठमाडौंको नयाँ बानेश्वर, रुपन्देहीको बेलहिया, नेपालगञ्ज, घोराही, धनगढी, हेटौडा, तानसेन, पोखराको रत्नचोक र चितवनको पर्सामा शाखा खोल्ने तयारी गरिरहेको छ ।

रेमिट्यान्स आप्रवाह २.६ प्रतिशत बढ्यो, शोधानान्तर वचतमा फर्कियो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २.६ प्रतिशतले बढेको छ । चालु आवको असोजसम्मा १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको नेपाल राष्ट्र बैंकले जनाएका छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय ४.६ प्रतिशतले वृद्धि भई रु. २०३ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १.५ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरुको संख्या (पुनः श्रम स्वीकृति बाहेक) मा कमी आएको छ । श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा २.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १६.१ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएको तर साउदी अरेविया र कतार जानेको संख्यामा गिरावट आएको छ । चालू आर्थिक वर्षको पहिलो दुई महिनासम्म लगातार घाटामा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा ४ अर्ब २७ करोडले बचतमा फर्केको छ । अघिल्लो वर्षको पहिलो तीन महिनामा समग्र शोधनान्तर १९ अर्ब ७० करोडले बचतमा थियो ।    

एलजीको नयाँ टप लोड वासिङ मेसिन नेपाली बजारमा, १० वर्षको वारेण्टी

काठमाडौं । एलजी ब्राण्डको लागि अधिकारिक विक्रेता चौधरी समूह अन्तर्गतको सीजी इम्पेक्स प्रालिले नयाँ टप लोड वासिङ मेसिन नेपाली बजारमा ल्याएको छ । कम्पनीले “द फ्यिूचर अफ वासिङ” भन्ने मुल नाराका साथ नयाँ ७ र ८ केजीका उक्त मेसिन बजारमा भित्र्याएको हो । कम्पनीका अनुसार यी दुई वासिङ मेसिनमा टुर्बो ड्रम जडित छन्, जसले तीन फरक किसिमले लुगा धुने गर्दछ । जसलाई कम्पनीले स्मार्ट मोसन भन्ने गरेको छ । यी दुई मेसिनमा स्मार्ट इन्भेन्टर मोटर जडित छन् जसमा १० वर्षको वारेण्टी रहेको कम्पनीले जनाएको छ । यो बीएमसी मोटर वाटर प्रुफ र खिया नलाग्ने खालको छ । स्मार्ट क्लोजिङ डोर भएका यी वासिङ्ग मसिनमा ३६ प्रतिशत उर्जा बचत हुने कुरा कम्पनीले जनाएको छ । विश्व बजार र नेपाली बजारमा अग्र स्थानमा आफ्नो पहिचान कायम राख्न सफल एलजीका वासिङ मेसिन गुणस्तरिय र इन्नोभेटिभ उत्पादनका लागि प्रख्यात छन् ।  

मूल्यवृद्धि ३ प्रतिशत, सबैभन्दा कम काठमाडौंमा

काठमाडौं । चालु आर्थिक वर्षको त्रैमाशमा उपभोक्ता मूल्य वृद्धि दर ३ प्रतिशत हारहारीमा रहेको छ ।गत वर्ष मूल्यवृद्धि ६.७ प्रतिशत थियो । गत वर्षको आधारमूल्य उच्च रहेको कारण समग्र उपभोक्ता मुद्रास्फीतिमा कमी आएको हो । खाद्य मुद्रास्फीति समीक्षा अवधिमा खाद्य मुद्रास्फीति ०.५ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ५.७ प्रतिशत थियो । गत वर्षको तुलनामा यस समूह अन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा २२.९, मसलाको मूल्यमा ५.७, तरकारीको मूल्यमा ५.१ र फलफूलको मूल्यमा ३.७ प्रतिशतले कमी आएकाले समग्र खाद्य मुद्रास्फीति न्यून भएको हो । समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ५.२ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति ७.६ प्रतिशत थियो । यस समूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, फर्निसिङ तथा घरायसी उपकरण, हाउजिङ्ग तथा युटिलिटी लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा कम रहेकोले गैर–खाद्य मुद्रास्फीति कम रहन गएको हो । क्षेत्रगत उपभोक्ता मुद्रास्फीति क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति हिमालमा ५.१, तराईमा ३.६, पहाडमा ३ र काठमाडौं उपत्यकामा २.३ प्रतिशत छ ।  

२१६ मेगावाटको माथिल्लो त्रिशुली १ को बिजुली डलरमा खरिद गर्ने सम्झौता, ६० अर्ब कोरियन लगानी भित्रिदै

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २१६ मेगावाटको माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनासंग अमेरिकी डलरमा विद्युत खरिद सम्झौता (पीपीए) गरेको छ । कामदार तथा कर्मचारी बस्नका लागि आयोजनाले निर्माण गरेको अस्थाइ क्याप विद्युत प्राधिकरणले प्रवद्र्धक कोरियाको नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिसंग पीपीए गरेको हो । प्रारम्भीक भएपनि औपचारिक रुपमा पीपीए सम्झौता हुन बाँकी छ । विद्युत प्राधिकरणको सञ्चालक समितिले पारित गरेपछि औपचारिक पीपीए हुनेछ । पीपीएको प्रस्ताव प्राधिकरण सञ्चालक समितिमा पेश भएको छ । ३० वर्षका लागि पीपीए भएको हो । सरकारले आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) ३५ वर्षका लागि दिएको छ । पीपीए भएकाले आयाजना निर्माण हुने पक्का भएको छ । सुख्खायामको ६ महिनामा प्रति युनिट ८ रुपैयाँ ४० पैसा र वर्षादमा ४ रुपैयाँ ८० पैसामा पीपीए भएको हो । आगामी १० वर्षसम्मका लागि पीपीए भएको छ । प्राधिकरणले कुल पीपीए रकमको ८० प्रतिशत डलर र २० प्रतिशत नेपाली रुपैयाँमा भुक्तानी गर्ने सहमति भएको छ । नेपाल वाटरले वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म मूल्यवृद्धि पाउने छ । कोरियाली कम्पनीले विदेशबाट डलरमा लगानी ल्याउने भएपछि प्राधिकरणले डलरमा पीपीए गरेको हो । आयोजना बनाउन ५८ करोड डलर झण्डै ६० अर्ब रुपैयाँ नेपाली लाग्ने भएको छ । ९० प्रतिशत कोरिया र १० प्रतिशत जेड कन्सल्ट नेपालीको छ । नेपाल वाटरमा कोरियाको साउथ इष्ट कम्पनी लिमिटेड (कोसेप) को ५२, डेलियम इन्डिष्ट्रियल कम्पनी लिमिटेडको १६ र केर्योङ कन्ट्रक्सन कम्पनी लिमिटेडको १०, विश्व बैंक अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) को १२ तथा स्थानिय लगानीकर्ता जेड कन्सल्ट प्रालिको १० प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार गरिएको छ । आयोजनामा विश्व बैंक अन्र्तगतको आईएफसी र जर्मनीको बैंक डीइजीलगायत अन्य अन्तराष्ट्रिय वित्तीय संस्थाले लगानीका लागि कम्पनीलाई आशयपत्र दिएका छन् । यसअघि ऊर्जा मन्त्रालय र नेपाल वाटरबीच आयोजना विकास सम्झौता (पीडीए) भइसकेको छ । आन्तरिक खपतका लागि आयोजना निर्माण हुन लागेको हो । आफै निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) नीति अन्र्तगत सरकारले आयोजना कोरियाली कम्पनी नेपाल वाटरलाई दिएको हो । आयोजनाबाट वार्षिक १ अर्ब ४६ करोड ५० लाख युनिट बिजुली उत्पादन हुने छ । पीडीए सम्झौता भएको मितिले आउदो २ वर्षभित्र आयोजनाले लगानी जुटाउने र ५ वर्षमा आयोजना सम्पन्न गर्ने उल्लेख गरिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दालाई १० प्रतिशतसम्म सेयर दिनुपर्ने पीडीएमा उल्लेख छ । पीडीएमा पानीको प्रयोग अनुमति, रोयल्टी तथा कर, विद्युत खरिदविक्रि सम्झौता (पीपीए) को सिद्धान्त, नेपाली स्रोतसाधनको प्रयोग, कावु बाहिरको परिस्थिती जोखिम व्यवस्थापन लगायतका विषय समेटीएको छ । पीपीए भएकाले आगामी कात्तिकदेखि आयोजनाको सिमिल निर्माण थाल्ने भएको छ । हाल सडकलगायत आवासको निर्माण भइरहेको छ । एक वर्षभित्र लगानी जुटाएर आगामी कात्तिकदेखि निर्माण सुरु हुने कम्पनीले जनाएको छ । आगामी सन् २०२२ देखि बिजुली उत्पादन गर्ने लक्ष्य कम्पनीको छ । नेपालमा डलर पीपीए हुनेमा यो ७ औं आयोजना हो । यसअघि खिम्ती, भोटेकोसी, माथिल्लो मस्र्याङदी, तल्लो सोलुलगायत छन् ।

सेञ्चुरी बैंकको एक्सटेन्सन काउन्टर काठमाडौंको गौशालामा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो छैठौं एक्सटेन्सन काउन्टर काठमाडौंको गौशालामा सञ्चालन गरेको छ । उक्त काउन्टरको उद्घाटन काठमाडौं महानगरपालिकाको मेयर विद्यासुन्दर शाक्य तथा सेञ्चुरी बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । बैंकले चाँडै नै २ वटा थप वित्रीय संस्थाहरुसँग एकिकृत कारोबारको तयारी गरिरहेको छ । साथै, बैंकले निकट भविश्यमा नै १०० भन्दा बढि शाखा कार्यालयहरुबाट सेवा विस्तार गर्दैछ ।

सेयर बजार १३ अंकले झर्यो, नेपाल हाइड्रोका लगानीकर्ताले गुमाए ९ प्रतिशत बढी

काठमाडौं । आइतबारको सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । नेप्से परिसूचक १३.३४ अंकले झरेर १४७५.७२ अंकमा अडेको छ । सो दिन बजारमा ४५ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । बजारमा १५६ कम्पनीका ११ लाख ५५ हजार कित्ता सेयर किनबेच भएका छन् । दोहोरो अंकले घटेको बजारमा सबैभन्दा बढी नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.१५ प्रतिशत गुमाएका छन् । आइतबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २७८ रुपैयाँ रहेको छ । जुन रकम बिहीबारको तुलनामा २८ रुपैैयाँ घटी हो । सो दिन उत्पादनमूलक समूह बाहेक अन्य बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । बीमा समूहको परिसूचक १३४ अंकले ओरालो लागेको छ । उत्पादनमूलक समूह भने ६.८२ अंकले उकालो लागेका छन् । आइतबार सबैभन्दा बढी एभरेष्ट बैंकको ७ करोडको सेयर कारोबार भएको छ । ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले करिब ४ प्रतिशत कमाएका छन् ।

शंकर पोखरेलको घोषणाः ५ वर्षपछि ५ नंम्बर प्रदेशका युवाले विदेश जानु पर्दैन

दाङ । दाङ निर्वाचन क्षेत्र नं. २ (१)का प्रदेशसभा सदस्य पदका उम्मेदवार शंकर पोख्रेलले आफूले जितेमा ५ बर्षमा प्रदेश नं. ५ का कुनैपनि युवा रोजगारीका लागि विदेश जानु नपर्ने दाबी गरेका छन् । रिपोटर्स क्लव नेपाल दाङ शाखाले आइतबार तुलसीपुरमा आयोजना गरेको चुनावी कार्यक्रममा उनले सक्षम आगामी पाँच बर्षपछि प्रदेश नम्बर ५ का कुनै पनि युवाले विदेश जानु नपर्ने बताएका हुन् । नेकपा एमालेका स्थानीय कमिटी सदस्य पोख्रेलले आफूले जितेमा प्रदेश नं. ५ को मुख्य मन्त्री बन्ने र हरेक युवालाई कुनै न कुनै खालको तालिम तथा सिप प्रदान गर्ने बताए । हरेक युवाको स्वास्थ्य बीमा गराउने बताएका पूर्व मन्त्री पोख्रेलले सक्नेले आफै त्यो बीमा गर्ने र नसक्नेको बीमा राज्यले गरिदिने घोषणा पनि गरे । उनले आफूले जितेमा दामोदर मार्गलाई बैकल्पिक मार्गको रुपमा विकास गर्ने पनि बताए । नेता पोख्रेललले प्रदेश नं. ६ संग सम्वन्ध विस्तारका लागि ५ बबर्षभित्रै तुलसीपुर–सुर्खेत सडक खण्ड कालोपत्रे गरिसक्ने, रोल्पा हुँदै पूर्वी रुकुम जान नयाँ राजगर्मा निर्माण गर्ने, घोराही–प्यूठान सडक खण्ड कालोपत्रे गर्ने आश्वासन बाँडे । दाङलाई सिंगो पश्चिमको यातायातको हव बनाउनका लागि आफूहरुले लुम्बिनीदेखि नेपालगञ्जसम्म रेल कुदाउने सपना देखेको पूर्व मन्त्री समेत रहेका नेता पोख्रेलले बताए । त्यस्तै उनले दाङमा क्षेत्रीय स्तरको विमानस्थल निर्माण गर्नका लागि सम्भाव्यता अध्ययन सुरु भइसकेको उनले बताए । महाभारत र चुरे रेञ्जमा हिल स्टेसन निर्माणगरि पर्यटन प्रवद्र्धन गर्ने योजना सुनाएका एमाले नेता पोख्रेलले स्वर्गद्धारी, छिल्लिकोट, दंगीशरण जस्ता क्षेत्रहरुलाई पर्यटकिय क्षेत्रका रुपमा विकासगर्ने आश्वासन बाँडेका थिए । थारु कला र संस्कृतिको जगेर्नागर्नका लागि होमस्टे निर्माण गर्नेदेखि जिल्लामा खानेपानी र सिंचाईको राम्रो प्रवन्ध गर्नका लागि बबई लगाएत यहाँका ग्वारखोला लगाएतका खोलाहरुमा उच्चवाँध बाध्ने योजना पनि उनले प्रस्तुत गरेका थिए । ‘म नै प्रेदश नं. ५ को मुख्य मन्त्री हुने हो र त्यसपछि दाङ राजधानी बन्ने संभावना तयार हुन्छ ।’ नेता पोख्रेलले भने ।