निर्वाचन प्रत्यासीका न्यूनतम खर्च साढे १० अर्ब, प्रतिउम्मेदवारले २५ लाख खर्च गर्न पाउने
काठमाडौं । संविधानमा भएका व्यवस्थालाई कार्यान्वयन गर्ने क्रममा आगामी मंसिरमा हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन खर्चिलो हुने देखिएको छ । आगामी मंसिर १० र २१ गते हुने निर्वाचनमा प्रतिनिधि सभा तथा प्रदेश सभामा उम्मेदवारी दिएका पाँच हजार २९३ प्रत्यक्ष र समानुपातिकतर्फ छ हजार ९४ उम्मेदवारले अर्बौं खर्च गर्ने देखिएको हो । निर्वाचन आयोगले गर्ने खर्चबाहेक उम्मेदवारहरुको कूल खर्च साढे १० अर्ब रुपैयाँभन्दा बढी हुने देखिएको छ । यत्रो ठूलो रकम गाउँगाउँमा पुग्नेछ तर उत्पादन वृद्धिका लागि होइन मात्र निर्वाचन प्रयोजनका लागि । प्रतिनिधि सभाको निर्वाचनअन्तर्गत १६५ पदका लागि पहिलो हुने निर्वाचित हुने प्रणालीमा पहिलो चरणमा ३८२ र दोस्रो चरणका लागि एक हजार ६६२ गरी जम्मा दुई हजार ४४ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगले तोकेअनुसार प्रतिउम्मेदवारले रु २५ लाख खर्च गर्न पाउनेछन् । यहाँबाट के थाहा हुन्छ भने प्रत्यक्ष उम्मेदवारीमा रहेका कूल उम्मेदवारले रु पाँच अर्ब ११ करोड खर्च गर्नेछन् । आयोगका अनुसार यो अधिकतम खर्च हो तर उम्मेदवारले त्यतिमात्र खर्च गर्ने छैनन् । सोहीअनुसार कूल खर्च पनि बढी हुने देखिएको छ । त्यसैगरी समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणाली बमोजिम ११० सदस्य रहनेछ । त्यसमा प्रतिनिधि सभामा ४० प्रतिशत समानुपातिक निर्वाचन प्रणालीमार्फत हुनेछ । निर्वाचन आयोगले तोकेअनुसार समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा राजनीतिक दलले पेश गरेको बन्दसूचीमा उम्मेदवारको संख्याअनुसार प्रतिउम्मेदवार दुई लाख रुपैयाँ खर्च गर्न पाउनेछन् । सोहीअनुसार निर्वाचित हुने पदलाई मात्र मान्ने हो भने पनि रु २२ करोड खर्च हुनेछ तर सबै राजनीतिक दलले अधिकतम संख्यामा निर्वाचन आयोगमा समानुपातिकको सूची बुझाएका छन् । यो खर्च कयौँ गुणा बढ्ने देखिन्छ । त्यसैगरी प्रदेश सभाको निर्वाचनमा प्रत्यक्षतर्फ ३३० वटा पदमा तीन हजार २४९ को उम्मेदवारी परेको छ । निर्वाचन आयोगले मंसिर १० र २१ गते हुने प्रदेश सभाका सदस्यका पहिलो हुने निर्वाचित हुने एकजना उम्मेदवारले रु १५ लाख खर्च गर्न पाउनेछन् । सोहीअनुसार प्रदेश सभा निर्वाचनका कूल उम्मेदवार न्यूनतम रु चार अर्ब ८७ करोड ३५ लाख खर्च गर्नेछन् । समानुपातिकतर्फको २२० पदमा राजनीतिक दलले उम्मेदवारको सूची बुझाइसकेका छन् । यदि २२० मात्रलाई मान्ने हो भने पनि प्रतिपद रु एक लाख ५० हजार खर्च गर्न पाउनेछन् । योअनुसार ३३ करोड रुपैयाँ खर्च हुनेछ । तर निर्वाचनमा सञ्चालन तथा व्यवस्थापन प्रशिक्षण स्रोत पुस्तिका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले यस प्रणालीबाट निर्वाचित हुने कूल सदस्य संख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनुपर्छ । यसले गर्दा यो खर्च पनि ठूलो हुने देखिएको छ । यसअधि निर्वाचन आयोगले रु छ अर्ब ५० करोडभन्दा बढी खर्चेर स्थानीय तहको निर्वाचन तीन चरणमा सम्पन्न गरेको छ । मुलुकको ७४४ वटा पदका लागि त्यसबखत पनि उम्मेदवारी दिएका उम्मेदवारले ठूलो रकम खर्च गरेका थिए । आयोगका बन्दसूचीअनुसार समानुपातिक निर्वाचनमा आदिवासी पुरुष ७८३, महिला ९३१ र अन्य एक, खस आर्य पुरष ८६७ र महिला ९९७, थारु पुरुष १५८ र महिला २६२, दलित पुरुष ३४२ र महिला ४९६, मधेशी पुरुष ४५५ र महिला ५६३, मुस्लिम पुरुष ८१ र महिला १५७ उम्मेदवार छन् । यसैगरी अपांगता भएका पुरुष १५८, महिला ११५ र अन्य एक तथा पिछडिएका क्षेत्रका पुरुष १०७ र महिला १२२ उम्मेदवारको नाम बन्दसूचीमा समावेश रहेको आयोगले जनाएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आयोगमा दर्ता भएका ८८ दलमध्ये समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधि सभा सदस्यका लागि ४९ र प्रदेश सभा सदस्य निर्वाचनसमेतका लागि ५३ दलले बन्दसूची बुझाएका थिए । रासस
उपत्यकाका छ स्थानमा भूकम्प मापन गर्ने एक्सेलोमिटर केन्द्र निर्माण हुने
काठमाडौं । जापान सरकारको सहयोगमा काठमाडौं उपत्यकाका छ स्थानमा भूकम्प मापन गर्ने एक्सेलोमिटर केन्द्र निर्माण हुने भएको छ । विसं २०७२ वैशाख १२को भूकम्पपछि जापान सरकारले नेपाललाई काठमाडौं उपत्यकामा १० वटा एक्सेलोमिटर केन्द्र र उपत्यका बाहिर १० वटा जिपिएस केन्द्र निर्माणका लागि सहयोग गरेको थियो । सोहीअनुसार साँगा, कपन, लुभू, सिनामंगल, थानकोट र खरिपाटीमा एक्सेलोमिटर केन्द्र निर्माण हुन लागेको हो । खानी तथा भूगर्भ विभागअन्तर्गतको भूकम्प मापन केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले विसं २०७२ को भूकम्पले बढी क्षति गरेका ठाउँमा केन्द्र स्थापना गर्न लागेको जानकारी दिए । “उपत्यकाको ठेचो, साँखु, माछापोखरी र झोरमा गतवर्ष नै केन्द्र स्थापना गरिसकेका थियौँ यस महिनाभित्र बाँकी छ स्थानमा केन्द्र राख्छौँ”, उनले भने । यस्तै जिपिएस केन्द्र उपत्यका बाहिर चितवन, कपिलवस्तु र स्याङ्जामा निर्माण भइसकेको र रुकुम, रोल्पा र गुल्मीमा यसैवर्ष निर्माण हुन लागेको विभागले जनाएको छ । एक्सेलोमिटर केन्द्रले ठूलाठूला भूकम्पको मापन गर्छ भने जिपिएस केन्द्रले साना र ठूला दुवै प्रकारका भूकम्प मापन गर्छ । नेपालमा विसं २०३६ मा फ्रान्सको डस संस्थाको सहयोगमा २१ स्थानमा भूकम्प मापन केन्द्र निर्माण भएका थिए । यस्तै त्रिभुवन विश्वविद्यालयको सहयोगमा काठमाडौं उपत्यकाका विभिन्न चार स्थान र अमेरिकन युएसजिएस संस्थाको सहयोगमा खानी विभागमा भूकम्प मापन केन्द्र स्थापना गरिएको छ । रासस
सिटिजन्स बैंकको ६५ औं शाखा झापाको हल्दिबारीमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६५औं शाखा झापाको हल्दिबारीमा संचालनमा ल्याएको छ । यस बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले सोमबार उक्त शाखाको उद्घाटन बैंकिङ्ग कारोवारको सुरुवात गरेका छन् । बैंकले हालसम्म ६५ वटा शाखा, ६२ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखारहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट करिब ३ लाख ५० हजार ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको जनाएको छ । साथै, बैंकले आफ्नो ग्राहकवर्गहरुलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु दिँदै आएको छ ।
टेलिकमको जिएसएम सेवा सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकका विभिन्न दुर्गम स्थानमा
काठमाडौं । नेपाल टेलिकमले सिन्धुपाल्चोकको लिसंखु पाखर र सुनकोशी तथा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा कात्तिक १९ गते देखि जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । पहिले कुनै पनि मोबाइल सेवाको पहुँच नभएका यी स्थानका सेवाग्राहीले अब जिएसएम मोबाइलमार्फत सञ्चार सम्पर्क गर्न सक्ने भएका छन् । टेलिकमले सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका अन्तर्गत वाफलमा जिएसएम मोबाइलको बिटिएस टावर स्थापना गरी सेवा सञ्चालन गरेको हो । यसबाट सो क्षेत्रका करिब ३ हजार सेवाग्राहीले सेवा प्राप्त गर्नेछन् । सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका अन्तर्गतका दानसे, लिसंखु, वाफल र अत्तरपुर, सुनकोशी गाउँपालिका अन्तर्गत ठोकर्पा र कामेखोला तथा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका अन्तर्गत सिम्थली, बेकसिम्ले, मुलाबारी र भिमसेनस्थानका सेवाग्राही यसवाट लाभान्वित हुनेछन् । दूरसञ्चार सेवाबाट बन्चित दुर्गम स्थानहरुमा समेत नेपाल टेलिकमले जिएसएम मोबाइल सेवा सञ्चालन गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ । नेपाल सरकारको नीति अनुरुप कम्पनीले प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानहरुमा समेत सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिइरहेको छ ।
एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु गौरादह र तरहरामा
काठमाडौं । एनआईसी एशिया बैंकको २ नयाँ शाखा झापाको गौरादह र सुनसरीको तरहरामा सञ्चालन भएको छ । उक्त गौरादह शाखाको उद्घाटन नगरपालिकाका मेयर रोहितकुमार शाहले र तरहरा शाखाको उद्घाटन ईटहरी उप-महानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले एकैदिन गरेका हुन् । उक्त २ शाखाको उद्घाटनसँगै हाल यस बैंकले अधिराज्यभर १३३ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरबाट ग्राहकहरुमा सेवा दिँदै आईरहेको छ । बैंकले हरेक सम्भावितबजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना बनाएको छ ।
खाल्डाखुल्डी पुर्न तम्सियो महानगर
काठमाडौं । काठमाडौं महानगरपालिकाले विकासका कामलाई तिव्रता दिन थालको छ । वर्षामा खाल्डाखुल्डी पुर्दा दीर्घकालीन नहुने अडान राख्दै आएको महानगरपालिकाले वर्षा सकिएसँगै कामको गति अघि बढाउन थालेको हो । महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने भित्री सडकका खाल्डाखुल्डी पुरेर कालोपत्रे गर्ने, सडक निर्माण गर्ने जस्ता कामलाई पनि तिव्रता दिन थालेको मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए । अहिले नरदेवी कोटेश्वरलगायतका स्थानमा सडक निर्माण गर्ने, खाल्डाखुल्डी पुर्ने काममा महानगर सक्रिय बनेको पनि मेयर शाक्यले जानकारी दिए । उनले यही मंसिर पहिलो सातादेखि खाल्डाखुल्डी पुरेर कालोपत्रे सुरु गर्ने योजना रहेको पनि बताए । ‘अब हिउँद लाग्यो खाल्डाखुल्डी पुर्ने, सडक निर्माण गर्ने जस्ता काम तीव्र गतिमा हुनेछन्।’ काठमाडौं महानगरपालिकाले केही पनि गतिविधि नगरेको भन्ने आरोप आइरहेका बेला उनले अब कामको गतिलाई कसैले रोक्न नसक्ने दाबी गरेका छन् । ‘विकासको गति अघि बढ्छ,’ उनले भने, ‘अब कसैले रोकेर पनि काम रोकिनेवाला छैन । महानगरका जनताको भावना अनुरुप नै काम अघि बढ्छ ।’ उनले मेयर अब महानगरको विकासका लागि जनताको घरदैलोमा पुग्ने पनि दाबी गरे । मेयर शाक्यले अब आफू दिनरात नभनी काममा खट्ने पनि दाबी गरेका छन् । आज मात्रै पनि मेयर शाक्यले काठमाडौं महानगरपालिकाको वडा नम्बर-३२ का विभिन्न स्थानमा भैरहेको सडक निर्माणको अवलोकन गरेका छन् । उनले सेती ओपी मार्ग कामनपा-३२ माभैरहेको सडक निर्माणबारे अवलोकन गर्दै इञ्जिनियहरुसँग पनि सडक निर्माणका बारेमा जानकारी लिए । त्यसैगरी, उनले वडा-३२ कै मदन भण्डारी स्मृति वाटिकाको पनि अवलोकन गरेका छन्। उनीसँगै एमालेका पोलिट्व्युरो सदस्य अग्नी खरेल, युवा तथा खेलकुद सचिव तथा सोही वडाका बासिन्दा महेश दाहाल, वडा अध्यक्षलगायत पनि मेयर शाक्यको साथमा थिए । साथै, मेयर शाक्यले अब महानगरविकासको काममा निरन्तर खट्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
“महालक्ष्मी साहित्य पुरस्कार” चितवनको धनराज गिरिलाई
काठमाडौं । २०७३ सालको पन्ध्रौ “महालक्ष्मी साहित्य पुरस्कार” चितवन जिल्लाका हास्य विद्याका साहित्यकार धनराज गिरिले पाएका छन् । गिरिलाई एक समारोहका बिच प्रमुख अतिथि डा. तुलसी भट्टराई र हेटौंडा शाखा प्रबन्धक राजेश लामिछानेले संयुक्त रुपमा उक्त पुरस्कार दिएका हुन् । गिरिले उक्त पुरस्कार स्वरुप २१ हजार एक रुपैयाँको चेक पाएका छन् । उक्त समारोहमा वरिष्ठ कवि तिर्थ श्रेष्ठ, छन्द कवि राजेश्वरी काफ्ले, साहित्यकार दाहाल यज्ञनिधि लगायतलाई विभिन्न पुरस्कारहरुद्धारा सम्मानित गरिएको थियो । उक्त समारोहमा साहित्य विद्याका व्यक्तिहरुको उपस्थिति रहेको थियो । भाषा साहित्यको क्षेत्रमा यथासम्भव योगदान पुर्याउने उद्देश्यले वि.सं. २०५९ सालमा “यती फाइनान्स साहित्य पुरस्कार” को नामबाट स्थापना भएको थियो । सो पुरस्कार “यति साहित्य पुरस्कार” हुँदै हाल वि.सं. २०७३ सालको पन्ध्रौ श्रृंखलादेखि पुरस्कारको नाम परीवर्तन भई “महालक्ष्मी साहित्य पुरस्कार भएको छ” । साथै, पुरस्कार राशि १५ हजार रुपैयाँबाट वृद्धि गरि यसै बर्षदेखि २१ हजार एक रुपैयाँ पुर्याइएको बैंकले जनाएको छ ।
मुक्तिनाथ विकास बैंकको नयाँ शाखा चितवनको पर्सामा
काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो नयाँ शाखा चितवनको पर्सामा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन आइतबार खैरहनि नगरपालीका नगर प्रमुख लालमणी चौधरीले गरेका हुन् । यस शाखा सहित बैंकको हालसम्म कुल ७० वटा कार्यालयहरु पुगेका छन् । कार्यक्रममा कार्यक्रममा बैकका नायव प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोख्रेलले बैंकले सामाजिक उत्तरदायित्वको क्षेत्रमा विशेष जोड दिई रहेको बताएका छन् । बैंकले गत आश्विन मसान्तसम्म १९ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरी १६ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी गर्न गरेको छ । सोही अवधिमा बैंकले १३ करोड ५४ लाख रुपैयाँ खुद मुनाफा गर्न सफल भएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।