अनुदान नपाएपछि कृषि सामग्री कम्पनीले मल नल्याउने, हिउदका लागि साल्ट ट्रेडिङले मल ल्याउँदै
काठमाडौं । यसपाली हिउँदेबालीका लागि कृषि सामग्री कम्पनी लिमिटेडले मल नल्याउने भएको छ । सरकारले मल खरिदका लागि अनुदान नदिएपछि मल ल्याउन नपाएको कम्पनीले जनाएको छ । गत असोज मसान्तमा सूचना जारी गर्दै कम्पनीले ५० हजार मेट्रिक टन रसायनिक मलकाका टेण्डर खुलाएको थियो । तर पर्याप्त बजेट अनुदानको अभाव र वार्षिक खरिद कार्यक्रम बढी भएकाले रसायनिक मल खरिद कार्यक्रम रद्द गरेको कम्पनीले जानकारी दिएको छ । यद्दपी हिउँदमा खेति लगाउनका लागि रासायनिक मलको अभाव नहुने भएको छ । आउदो हिउँदलाई लक्षित गरेर साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रासायनिक मल आयात गरिरहेको छ । साल्ट ट्रेडिङले बुधबारसम्म २५ हजार मेट्रिक टन मल आयातका टेण्डरका लागि आवेदन संकलन गरिसकेको छ । हिउदमा मलको अभाव हुन नदिन कर्पोरेशनले मलको लागि टेन्डर आह्वान गरेको थियो । वाली लगाउने सिजनमा जहिले पनि किसानले मलको चरम अभाव खेप्दै आएका छन् । यो वर्ष समयमा बोलपत्र आब्हान गरिएकाले मलको अभाव नहुने देखिएको छ । नेपालमा वार्षिक ७ लाख टन मलको आवश्यकता हुने गरेको छ । आपूर्ति ५ लाख टन मात्र हुदा बजारमा मलको अभाव हुने गरेको छ ।
राप्तीभेरी विकास बैंक प्राप्ति पश्चात ज्योति बैंकद्धारा आजदेखि एकिकृत कारोबार शुरु
काठमाडौं । ज्योति विकास बैंकले क्षेत्रिय स्तरको राप्तीभेरी विकास बैंकलाई प्राप्ति(एक्विजिसन) गरी आज अर्थात कात्तिक ८ गतेदेखि एकिकृत कारोबार शुरु गरेको छ । बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवि नेपालले संयुक्त कारोबार सञ्चालन समारोहको उद्घाटन गरेका हुन् । ज्योति विकास बैंकले हालसम्म झिमरुक विकास बैंक र राप्तीभेरी विकास बैंक गरी २ वटा क्षेत्रिय स्तरको विकास बैंकहरुलाई प्राप्ति गरिसकेको छ । यस प्राप्ति पश्चात् ज्योति विकास बैंक लिमिटेडेको चुक्ता पूँजी २ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । बैंकको कुल निक्षेप १२ अर्ब ४० करोड रुपैयाँ, कर्जा लगानी १० अर्ब ३० करोड रुपैयाँ रहेको छ । हालसम्म बैंकको शाखा संख्या ४६ तथा ग्राहक संख्या १ लाख ४० हजार भन्दा बढि पुगेको छ ।
एनबी इन्स्योरेन्सको २२औँ शाखा बाग्लुङ्गमा, थप १७ वटा शाखा खोल्ने तयारी
काठमाडौं । एनबी इन्स्योरेन्स कम्पनीले आफ्नो २२औँ शाखा बाग्लुङ्गमा सञ्चालन गरेको छ । उक्त शाखाको उद्घाटन बुधबार बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागांईले गरेका हुन् । सो कार्यक्रममा अध्यक्ष चापागांईले कम्पनीले छोटो समयमानै आफ्नो शाखा स्थापित गर्न सफल भएकोमा लगानीकर्ता, संचालक समिति, व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिएका छन् । साथै, उनले बीमा क्षेत्रले रोजगारी बढाउन ठूलो योगदान दिने बताएका छन् । बुधबार उद्घाटन गरेको शाखा सहित कम्पनीले हालसम्म २२ वटा शाखा, २ वटा सम्पर्क कार्यालय तथा ८ वटा सेवा काउन्टरहरुबाट आफ्ना ग्राहकहरुलाई सेवा तथा सुविधा दिँदै आएको छ । साथै, कम्पनीले विभिन्न स्थानमा थप १७ वटा शाखा खोली आफ्नो सेवा विस्तार गर्ने बताएको छ ।
कर्मचारी संचय कोष र बीमा संस्थानमा प्रशासक नियुक्तिको तयारी, छनौटका लागि कार्यविधि तयार
काठमाडौं । सरकारले कर्मचारी संचय कोष र राष्ट्रिय बीमा संस्थानमा प्रशासक नियुक्तिको प्रक्रिया सुरु गरेको छ । अर्थ मन्त्रालयले दुबै संस्थाको प्रशासक छनौट सिफारिश सम्बन्धि कार्यविधि तयार पारेको छ । सरकारले औपचारिक रुपमा नियुक्तिका लागि आवेदन खुलाउने तयारी गरेको छ । दुबै संस्थाका लागि लिखित र अन्तरवार्ता समेत हुनेछ । केही महिनादेखि दुबै संस्था प्रमुख विहीन भएका छन् । संचय कोषका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, आर्थिक, बैकिङ, वित्तीय, वाणिज्य वा कानून विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी व्यवस्थापकिय तहमा कम्तीमा ५ बर्षको कार्यानुभव प्राप्त गरेको हनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । यस्तै ३० वर्ष पुरा भई ६० वर्ष उमेर ननाघेको हुनुपर्ने व्यवस्था गरेको छ । उम्मेदवारले कोषको आगामी व्यवसायिक योजना समेत प्रस्तुत गर्नुपर्ने छ । बीमा संस्थानमा प्रशासक हुनका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट बीमा, व्यवस्थापन, वित्त, लेखा, अर्थशास्त्र, वाणिज्यशास्त्र, कानून, गणित, तथ्याङ्कशास्त्र वा इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहकोउपाधि हासिल गरेको हुनपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । यस्तै स्नातक उत्तीर्ण चार्टर्ड एकाउण्टेन्सी वा सो सरहको योग्यता हासिल गरी व्यवस्थापकीय तहमा कम्तीमा ५ बर्षको अनुभव आवश्यक पर्ने छ ।
राष्ट्र बैंकले आइतबार ८ अर्ब ८६ करोडको विकास ऋणपत्र बिक्री गर्दै
काठमाडौं । सरकारका लागि नेपाल राष्ट्र बैंकले ८ अर्ब ८६ करोड रुपैयाँको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आउदो आइतबार केन्द्रीय बैंकले बोलकबोल मार्फत “विकास ऋणपत्र २०८२ क” बिक्री गर्ने भएको हो । ८ वर्ष अवधिको विकास ऋणपत्र बोलकबोल प्रक्रियाबाट बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्रको ब्याज दर बोलकबोलको माध्यमबाट निर्धारण हुने छ । ऋणपत्र धितो राखी कर्जा लिन/दिन पाइने व्यवस्था गरिएको छ । निष्कासन आउदो सोमबार हुने छ । ऋणपत्रको साँवा भुक्तानी ०८२ कात्तिक १३ गते हुने केन्द्रीय बैंकले जानकारी दिएको छ । चालु आवमा सरकारले विभिन्न वित्तीय उपकरणमार्फत १ खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । यसमध्ये ७२ अर्ब रुपैयाँ विकास ऋणपत्रमार्फत उठाउने छ ।
सिजी ब्राण्डका साना घरायसी सामाग्रीको बिक्री बढ्दो
काठमाडौं । नेपालीहरुको महान चाड दशैं, तिहार र छट पर्वमा सिजी ब्राण्डका साना घरायसी सामाग्रीहरुको विक्री बढ्दै गएको छ । विक्रेताहरुको अनुसार सिजी ब्राण्डका साना घरायसी सामाग्रीहरुको मूल्य एकदमै उचित र गुणस्तरीय युक्त रहेको उनीहरुले बताए । उचित मूल्यमा गुणस्तरिय सामान पाइएकै कारण पहिलो वर्षको दाँजोमा यस वर्षको विक्री बढेको कम्पनीले जनाएको छ ।
दुई ठुला कम्पनीको सय वर्ष पुरानो नाता टोडियो, किन टाढिए वर्लपुल र सियर्स ?
न्यु-योर्क । अमेरिकाको डिपार्टमेन्ट स्टोर सियर्सले विश्वविख्यात कम्पनी वर्लपुलका उत्पादन नबेच्ने भएको छ । मूल्यमा विवाद आएपछि स्टोरले कारोबार नगर्ने भएको हो । यसले एक शतकको व्यापार साझेदारी पनि टुंगिएको छ । केमार्टको नामबाट परिचित सियर्स होल्डिङ्सले वर्लपुलको नयाँ मूल्य प्रणालीलाई नमान्ने बताएको छ । यो कदमले अमेरिकाको लोकप्रीय ब्राण्ड माइट्याग र किचेनएडलाई प्रभाव पार्छ । वर्ल पुलले यसै साता कच्चा पदार्थमा भाउ बढेको बताँउदै उत्पादनको पनि मूल्य बढाएको थियो । वर्लपुलका प्रमुख कार्यकारी मार्क बिचरले वर्लपुलको सियर्ससँग ३ प्रतिशत मात्र कारोबार रहेको बताएका थिए । यद्दपी न्युयोर्कको दिउसोको सेयर कारोबारमा १० प्रतिशतले गिरावट आएको थियो । डिपार्टमेन्ट स्टोरमा प्रमुख स्थान कायम गर्नुपूर्व सियर्सले मेल अर्डर क्याटालग सुरु गरेको थियो । ब्यापारीहरुले अनलाइनबाट बिक्री गर्न थालेपछि सियर्सले पछिल्ला वर्षहरुमा सयौं स्टोरहरु बन्द गरेको छ । सियर्स होल्डिङ्सले गत सातादेखि आफ्ना कामदारलाई वर्लपुलका सामान बोक्न निषेध गरेको थियो । मंगलबार सियर्सले जारी गरेको विज्ञप्ती अनुसार वर्लपुलले उचित मूल्यमा सामान बेच्न छोड्ने बताएको छ । वाल स्ट्रिट जर्नलका अनुसार यी दुई कम्पनीले सन् १९१६ देखि पहिलो अटोम्याटिक वाशर ल्याउदै काम सुरु गरेका थिए । सस्तो प्रतिस्पर्धा बिचरले मूल्यको विषयमा जानकारी खुलाउन चाहेको बिबिसीले जनाएको छ । यद्दपी सस्तो मूल्यमा प्रतिस्पर्दाले नाफा ११ प्रतिशतले घटेको बताउदै उनले लगानीकर्तालाई सजक गराएका थिए । अमेरिकामा सामसङ र एलजीको आयातले आफ्नो व्यवसायलाई असर पारेकोमा कम्पनीले अमेरिकी अन्तराष्ट्रिय व्यापार आयोगबाट समाधान खोजिरहेको छ । सियर्सले वर्लपुलको केनमोर ब्राण्डको कारोबारलाई भने निरन्तरता दिने बताएको छ । आउदो गर्मीमा अमेजनमा पनि केनमोरको उत्पादन बेच्ने सियर्सले जानकारी दिएको छ । विश्व बजारमा विख्यात वर्लपुलको नेपालमा पनि बजार रहेको छ ।
अलैँचीको भाउ दशकयताकै कम, किसान भए पीडित
तेह्रथुम । म्याङलुङ्गका अलैँची व्यापारी तुलसी ढकालले पाँच मन अलैँची प्रतिमन (४० किलो) २५ हजार रूपैयाँको दरले खरिद गरे। अलैँची व्यवसायी सङ्घ तेह्रथुमका महासचिवसमेत रहेका ढकालले मूल्यमा भारी गिरावट आएपछि १० वर्षयताकै सस्तो मूल्यमा अलैँची खरिद गरेका हुन्। ढकाल भन्छन्, “अलैँचीको भाउ झन् ओरालो लाग्दैछ, सुधार आउने कुनै छाँट–काँट छैन, नियमित ग्राहक भएकाले नयाँ उत्पादनको पाँच मन अलैँची यस वर्ष पहिलो पटक मैले खरिद गरेँ ।” गत वर्ष यही याममा ढकालले नयाँ उत्पादनको अलैँची प्रतिमन ८० का हजारले खरिद–बिक्री गरेका िथए । तर अहिले अलैँचीको मूल्य झण्डै तेब्बरले घटेको छ । गत वर्ष प्रतिकिलो २ हजार ५ सयका दरले खरिद गरेको अलैँची अहिले प्रतिकिलो ६५० मा झरेको छ । पछिल्लो समय किसानको प्रतिष्ठासँग समेत जोडेर हेर्ने गरिएको अलैँचीको मूल्य घटेपछि नयाँ फसलको कारोबारसमेत बजारमा सुस्त छ । साना व्यापारीले अलैँचीको कारोबार गर्न मानेका छैनन् । “विसं २०६५ मा प्रतिमन ३० हजारका दरले अलैँची खरिद–बिक्री भएको थियो”, सक्रान्तिका अलैँची व्यापारी दीपेश सिटौलाले भने, “अलैँचीको मूल्यमा ह्वात्तै आएको कमीले किसान मात्र हैन, व्यापारी पनि पीडित भएका छौँ ।” आफुले ८० हजार प्रतिमनका दरले खरिद गरेको करिब ५० मन अलैँची अहिलेसम्म गोदाममै थन्किएको ढकाल बताउछन् । विगत वर्षमा दशैँ–तिहार जस्ता चाडबाडको मुखमा नयाँ फसलको करिब ४० प्रतिशत कारोबार भइसक्थ्यो । तर यस वर्ष कारोबारको शुरुवातै नभएको व्यापारी बताउँछन् । चाडबाडको समय सम्ममा अलैँचीको मूल्यमा सुधार होला भन्ने आशा गरेका किसान मूल्य झन् ओरालो लागेपछि निराश भएका छन् । मूल्य घटेपछि अलैँची खेतीमा लागेका किसान निराश भएका छन् । व्यवसायीका अनुसार विगत केही वर्ष अलैँचीको उत्पादनमा अत्यधिक ह्रास आएको थियो । उत्पादन घटे पनि व्यवसायीले अलैँची मौज्दात राखेका थिए । बजारमा अलैँचीको कृत्रिम अभाव भएपछि मूल्य ह्वात्तै बढ्यो । गत वर्षदेखि अलैँचीको उत्पादनमा वृद्धि भयो । उत्पादन वृद्धि भएको र मौज्दात राखेको अलैँची एकैसाथ बिक्री गर्न खोजिएकाले अन्तर्राष्ट्रिय बजारमा अलैँचीको मूल्य खस्किएको हो । “बजारको मागभन्दा उत्पादन बढी भएकाले अलैँचीको मूल्यमा भारी गिरावट आएको हो”, अलैँची व्यवसायी महासङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष दीपक नेपालले भन्नुभयो । पुर्वका पहाडी जिल्ला तेह्रथुम, ताप्लेजुङ, पाँचथर, संखुवासभासहित देशका ४० जिल्लामा अलैँची उत्पादन हुन्छ । यी जिल्लाबाट वार्षिक पाँच हजार मेट्रिक टनभन्दा बढी अलैँची विदेश निर्यात हुन्छ । अलैँची व्यवसायी महासङ्घका अनुसार यसको निर्यातबाट वार्षिक ६ अर्ब नेपाल भित्रिने गरेको छ । यसमध्ये पाँच अर्ब बढी किसानको हातमा पुग्छ । नेपालबाट ९९ प्रतिशत अलैँची भारतीय बजारमा निर्यात हुन्छ । भारतले नेपालमा उत्पादन भएको अलैँची गुणस्तरहीन भन्दै दोष लगाएपछि यहाँ उत्पादित अलैँचीले मूल्य गुमाएको व्यवसायी बताउँछन् । व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष नेपाल आफूहरुकै हेलचेक्र्याइँले समस्या आएको बताउछन् । जस्तोसुकै अलैँची उत्पादन गरे पनि बिक्छ भन्ने मानसिकता किसानको भएकाले पनि मूल्यमा गिरावट आएको नेपालको भनाइ छ । अलैँचीको मूल्य आकाशिएपछि मिसावट गर्ने र तौल बढाउन राम्ररी नसुकाउनेलगायत कारण अलैँचीको गुणस्तर खस्किएको हो । अलैँचीको मुख्य बजार झापाको बिर्तामोड हो । अलैँचीका ठूला व्यापारी पनि यही केन्द्रित छन् । अलैँची व्यवसायी महासङ्घको केन्द्रीय कार्यालय पनि विर्तामोडमै रहेको छ । अधिकांश जिल्लाको अलैँची बिर्तामोडमा संकलन भएर विदेश निर्यात हुने गरेको छ । तेह्रथुमबाट मात्र वार्षिक करोडौँ रुपैयाँको अलैँची विदेश निर्यात हुने गरेको छ । आव २०७३/७४ मा जिल्लाबाट ३१ करोड ३७ लाख बराबरको २५० मेट्रिक टन अलैँची निर्यात भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताए । रासस