विकासन्युज

भूकम्प पीडितलाई राहत, तीन लाख अनुदान लिएर काठमाडौंमा घर बनाउन पाइने

काठमाडौं । भूकम्पबाट पीडितले अनुदान रकम काठमाडौं उपत्यकालगायतका सहरमा घर बनाउनका लागि खर्च गर्न पाउने भएका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्प पीडितलाई दिने अनुदान कार्यविधिमा परिमार्जन गरी उपत्यका बाहिर घर भत्केका पीडितले काठमाडौमा घर बनाउन सम्बन्धित जिल्लाबाट अनुदान रकम पाउने भएका छन् । जस्तै सिन्धुपाल्चोकमा घर भत्केको पीडित व्यक्तिले चाहेमा अनुदान रकम काठमाडौमा घर बनाउन खर्च गर्न पाउने व्यवस्था गरिएको छ । नयाँ मापदण्डअनुसार काठमाडौं उपत्यका जोडिएका सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङ र मकवानपुरका पीडितले ३ लाख रुपैयाँ अनुदान राजधानीमा घर बनाउन खर्च गर्न पाउने छन् । धेरै लफडा र समस्या आएपछि छिमेकी जिल्लामा गएर घर बनाउनका कार्यविधिमा परिमार्जन गरी अनुदान दिने निर्णय गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रा.डा. गोविन्दराज पोखरेलले बताए । छिमेकी जिल्लामा घर बनाउनका लागि पीडितले ३ लाख रुपैयाँ अनुदान रकम पाउने उनले जानकारी दिए । सम्बन्धित जिल्लाबाट अनुदान लिएर अर्को जिल्लामा गएर घर बनाउन खर्च गर्न पाउने उनले स्पष्ट पारे । धेरै समस्या आएपछि प्राधिकरणले अनुदान नीतिमा परिमार्जन गरेको उनको भनाई छ । एउटा जिल्लामा घर र अर्को जिल्लामा जग्गा भएपछि यस्तो व्यवस्था गरेको उनको भनाई छ । यसअनुसार अनुदान लिन धेरै प्रक्रिया पुरा गर्नुपर्ने छ । हालसम्म ५५ हजार ६२३ नयाँ घर बनिसकेका छन् । १ लाख ३७ हजार ९२५ घर निर्माणधिन अवस्थामा रहेको प्राधिरकरणले जनाएको छ । हालसम्म ७ लाख ६७ हजार ७०५ लाभग्राहीको सूचिमा परेका छन् । ६ लाख ४० हजार २९१ संग अनुदान सम्झौता भएको छ । ६ लाख १५ हजार ४४७ ले पहिलो किस्ता, ७९ हजार ९१९ ले दोस्रो र ८ हजार ५६२ ले तेस्रो किस्ता अनुदान पाएको प्राधिकरणले जनाएको छ । सरकारले भूकम्प पीडितलाई घर बनाउनका लागि दिने अनुदान रकम नुपग्ने भएपछि विश्व वैंकसंग थप ३० अर्ब रुपैयाँ सहुलियत ऋण लिने भएको छ ।विश्व बैंकको वार्षिक गभर्नस बैठकमा नेपालले थप ३० अर्ब रुपैयाँ ऋण दिनका लागि अनुरोध गर्ने भएको हो । भूकम्प पीडितलाई घर बनाउनका लागि शुन्य ब्याज दरमा ऋण माग्ने भएको हो ।  

चुनावी दौडमा अर्थमन्त्री ज्ञानेन्द्र कार्की, सुनसरी–४ बाट प्रत्यक्षका लागि सिफारिस

काठमाडौं । कांग्रेसले सुनसरी-४ प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फबाट चुनाव लड्नका लागि अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई सिफारिस गरेको छ । कांग्रेसले निर्वाचनमा लड्ने जिल्लाका प्रतिनिधिसभा र प्रदेशतर्फका प्रत्यक्ष तथा समानुपातिकका लागि पार्टीमा कृयाशील रहेका सबै आकाँक्षीहरुमध्येबाट छनौट गरेर उम्मेरवारहरुमा अर्थमन्त्री सहित उम्मेदवार सिफारिस गरेको हो । यसै क्रममा युवा नेता बाबुराम आचार्य पनि क्षेत्र नम्बर ४ बाट सिफारिस भएका छन् । गाँउबाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फबाट सिफारिस भएर आएपनि जिल्लासंगको समन्वयमा उक्त क्षेत्रमा अर्थमन्त्री कार्कीले निर्वाचनमा लड्ने मनशाय देखाएर नाम सिफारिस गरेपछि समानुपातिकमा नाम सिफारिस गर्न आचार्य सहमत भएका हुन् । २० बर्षदेखी निरन्तर पार्टीमा सकृय युवा नेता आचार्य (महेन्द्रनगर चक्रघट्टी) हाल बराह नगरपालिका ७ का स्थायी बासिन्दा हुन् । महेन्द्र मोरङ क्याम्पसमा नेबिसंघ राजनीतिमा सकृय भएका नेता आचार्य हाल तरुणदलमा सकृय छन् । जिल्लाबाट सिफारिस भएर आएका आचार्यलाई उनले विगतमा गरेको योगदानका कारण समानुपातिक उम्मेदवारका रुपमा छनौट गर्ने बलियो संभाबना रहेको छ ।

एनसेलबाट तीनमहिनासम्म निशुल्क आईफ्लिक्स चलाउन पाउने, ५० रुपैयाँ १ घण्टाको भिडियो प्याक  

काठमाडौं । अब एनसेलका ग्राहकले विहीबारदेखि तीन महिनासम्म आइफ्लिक्सका सेवा निशुल्क चलाउन पाउनेछन् । एनसेल र आइफ्लिक्सबीच बुधबार सहकार्य गर्ने समझदारी भएको छ । तीन महिनाको समयावधिमा एनसेलका ग्राहकले राती १२ बजे देखि बिहान ५ बजे सम्म एनसेलको डेटा सेवा प्रयोग गरी आईफ्लिक्समा रहेको कुनै पनि सामाग्री निःशुल्क हेर्न तथा डाउनलोड गर्न सक्नेछन् । यसका साथै एनसेलका फोरजी ग्राहकले हरेक दिन बिहान ५ बजे देखि बेलुका ५ बजे सम्म थप २ घण्टा आईफ्लिक्सको निःशुल्क सेवा लिन सक्ने कम्पनीले जानकारी दिएको छ । एनसेलले आईफ्लिक्स अफर ल्याइएको अवसरमा कर सहित ५० रुपैयाँमा १ घण्टाको भिडियो प्याक पनि ल्याएको छ ।यो प्याक अन्तर्गत ग्राहकले  आईफ्लिक्समा रहेका कन्टेन्टहरु  मध्य कुनै पनि कन्टेन्टको एक घण्टा सम्म लिन सक्नेछन् र ग्राहकले आफ्नो आवश्यकता अनुसार यो प्याकजति पटक पनिलिन सक्नेछन् । ‘‘आफ्ना ग्राहकलाई विश्वस्तरीय मनोरञ्जन प्रदानगर्न आईफ्लिक्ससँग सहकार्य गर्न पाउँदा हामी निकै हर्षित छौं । देशको विभिन्न १९ सहरमा फोरजी सेवाविस्तार पश्चातगरिएको यो सहकार्य डिजिटल नेपालनिर्माणको कार्यमा योगदान पुर्याउनएनसेल प्रतिबद्घ रहेको प्रमाण हो र यो सेवाले डेटा तथा कन्टेन्टको बढ्दो मागलाई सम्बोधन गर्नेछ,’’ एनसेलका कर्पोरेट सर्भिसेस् डाइरेक्टर प्रणय आचार्यले भने । नेपालमा आईफ्लिक्स सेवाको शुरुवात भएको अबसरमा, थुप्रै चर्चित सिनेमा तथा टीभी शोहरु नेपाली सब टाइटलमा पनि उपलब्ध हुनेछन् । “आईफ्लिक्स स्थानीय ग्राहकहरुको मनोरञ्जनको माग पुरा गर्न अत्यन्त संवेदनशील छ । हाम्रो सामग्रीको विशाल संकलनबाट विश्वका उत्कृष्ट टीभी शो तथा सिनेमा नेपाली दर्शक तथा ग्राहकलाई आफ्नै रोजाईको डिभाइसमा डाउनलोड वा स्ट्रिम गर्ने सुविधा प्रदान गर्न हामी दत्तचित्त भएर लागेका छौं । यस सेवाको लागि एनसेल, नेपालको अग्रणी मोबाइल सेवा प्रदायकसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्त हर्षित छौं, ” आईफ्लिक्सकालागि नेपालकी कन्ट्री लीड भावना घिमिरेले भनिन् । कम्पनीका अनुसार ग्राहकले गुगल प्ले वाआइओएस एप्पल स्टोरमागई सजिलै आईफ्लिक्स एप डाउनलोड गर्न सक्छन् र आफ्नो इमेल वा फेसबुक अकाउन्ट प्रगोग गरी एपमा रजिष्टर गर्न सक्नेछन् । एप डाउनलोडगर्दा र कन्टेन्टहरु हेर्दा विद्यमान डेटा शुल्क लाग्नेछ । एक पटकमा ग्राहकले आफ्ना ५ वटा सम्म डिभाइसमा जस्तै मोबाइल, ट्याबलेट, ल्यापटप, डेस्कटप र टीभीमा आईफ्लिक्सको सुविधा लिन सक्छन् र एकै साथै दुई वटा डिभाइसमा विभिन्न सामाग्रीहरु हेर्न सक्नेछन् ।

शिखर इन्स्योरेन्समा रोजगारीको अवसर, ८० भन्दा बढी कर्मचारी आवश्यक

काठमाडौं । शिखर इन्स्योरेन्सले रोजगारीका लागि आवेदन माग गरको छ । इन्स्योरेन्सले ८० भन्दा बढीको संख्यामा म्यानेजर, अफिसर र असिस्टेन्ट पदका लागि आवेदन माग गरेको हो । इन्स्योरेन्सले कर्पोरेट अफिस र शाखा कार्यालयका लागि कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले म्यानेजर, असिस्टेन्ट म्यानेजर, अधिकृत, असिस्टेन्ट अकाउन्टेन्ट माग गरेको हो । मार्केटिङ डिपार्टमेन्टको म्यानेजर तथा असिस्टेन्ट म्यानेजरका लागि स्नातक र बैंक, बिमा वा वित्त क्षेत्रमा अनुभव बटुलेकाहरुका लागि आवेदन माग गरेको छ । आवेदकले आफ्नो बायोडाटासहित इन्स्योरेन्सको वेबसाइट [email protected] बाट आवेदन दिन सक्नेछन् ।

स्थानिय निकायबाट सेयर कारोबार मिलाउन इन्भेष्टर्स फोरमको माग

काठमाडौं । नेपाल इन्भेटर्स फोरमले स्थानिय निकायबाट सहज रुपमा सेयर कारोबारको वातावरण मिलाउन माग गरेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदलाई बुधबार भेटी यस्तो माग गरेको हो । फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा गएको फोरमको प्रतिनिधिमण्डलले बैंक तथा वित्तीय संस्थालाई ब्रोकर लाइसेन्स प्रदान गरी स्थानिय निकायमा कार्य क्षेत्र विस्तार गर्नका लागि सुझाएको हो । यस्तै निर्धारित समयमा सेयरको अनलाइन कारोबार लागु गर्न माग गरेको फोरमले जनाएको छ । यस्तै अक्सन तथा हकप्रद सेयरलाई तत्काल आस्व प्रणालीमा आवद्ध गरी सबैले सहज रुपमा लगानीको वातावरण मिलाउन भनेको छ । बजार निर्माता र सेयर डिलरसिपको काम तत्काल अगाडी बढाउन सीईओ साउदको ध्यानकर्षण गरेको छ ।

‘आईएमई छक्का-पञ्जा’ अफर अन्तर्गत न्यौपानेले पाए १० लाख नगद पुरस्कार

काठमाडौं । आईएमईका सेवाग्राही थानेश्वर न्यौपानेले आईएमई छक्का-पञ्जा’ अफर अन्तर्गत १० लाख रुपैयाँ नगद पुरस्कार पाएका छन् । कतारबाट नेपालमा रहेका आफन्तलाई २७ हजार ५ सय पठाएका न्यौपाने सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा भाग्यशाली विजेता घोषित भएका हुन् । त्यस्तै तेस्रो १५ दिनको जीवनबीमा आईएमई सेवाग्राही बिमल गौतमले प्राप्त गरेका छन् । सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा युएई स्थित अल–अहलियाबाट नेपालमा पैसा पठाउने गौतम भाग्यशाली विजेता छनोट भएका हुन् । भाग्यशाली विजेता गौतम वा नीजले सिफारिस गरेको व्यक्तिले आईएमई लाइफ इन्स्युरेन्सको छलाख बराबरको जीवन बीमा प्राप्त गर्नेछन् । मंसिर ३ गतेसम्म १२ हप्ता संचालन हुने यस सेवाग्राहीमूखी कार्यकममा पैसा पठाउनुहुने सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा सफ्टवेयर पद्वतिमा आधारित रही विजेता छानिने आईएमईले जनाएको छ ।  

कतार एयरवेजले पूर्वी युरोप र नर्डिकका देशहरुमा सेवा बढायो, यस्तो छ नयाँ तालिका

काठमाडौं । कतार एयरवेजले पूर्वी युरोप र नर्डिकका मूलुकहरुमा आफ्नो सेवा दोब्बर बनाएको छ । यो एयरलाइन्सले  प्राग, बार्सा र हेल्सिंकीमा जाने यात्रुको संख्या बढेपछि नयाँ तालिका सार्वजनिक गर्दै  कतार एयरवेजले सेवा बढाएको हो । यो एयरलाइनले आगामी पुस (डिसेम्बरको मध्यदेखि) देखि नयाँ एयरबस ए३२०बाट प्रत्येक रुटमा अतिरिक्त दैनिक उडानको पनि व्यवस्था गरेको व्यवस्था गर्ने भएको छ । यो एयरबसमा थप १३२ वटा सिटको पनि व्यवस्था गरिएको छ । प्राग, चेक गणतन्त्र, हेलसिंकी,  फिनल्याण्ड, वार्सा र पोल्याण्डमा प्रत्यक्ष सेवा सुरु गरेको आठ हप्तापछि सेवा विस्तार गरिएको कम्पनीले जानकारी दिएको छ । कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अकबर अल बकरले भने, ‘कतार एयरवेजले यात्रुलाई दोब्बर सुविधा दिन पाएकोमा खुसी छ। यसले हाम्रो कारोबार र यात्रु दुवैलाई मौका दिनेछ । ‘ यो एयरलाइनले हेलसिंकीसम्मको सेवाको विस्तार सोही रुटको वार्षिकोत्सवको अवसरमा सुरु गरेको थियो । अब यसले हेलसिंकी अन्तराष्ट्रिय विमानस्थलदेखि नर्डिक अन्तर्गतका मुलुकका शहरहरु ओस्लो, कोपेनह्यागेन, स्टकहोम र हेलसिंकीमा प्रत्येक साता ९८ ठाँउमा उडान सेवा दिनेछ । नयाँ तालिका दोहा-प्राग क्यु आर २८९ – सोमबार, बुधबार र आइतबार: २.३० देखि ६.५५ बजेसम्म क्यु आर २९१ – मंगलबार, विहीबार र शनिबार: ८.०० देखि १२.२५ बजेसम्म प्राग-दोहा क्यु आर २९० – मंगलबार, बुधबार, शुक्रबार र आइतबार: ८.२५ देखि ४.२५ सम्म क्यु आर २९२ – मंगलबार, विहीबार र शनिबार: ४.१० देखि ००.१० सम्म दोहा-बार्सा दैनिक क्यु आर २६१ दोहाबाट छुट्ने समय ४ बजे पुग्ने समय ८ बजे क्यु आर २६२ बार्साबाट छुट्ने समय २१.१० पुग्ने समय ४.५० प्लस १ दोहा- हेलसिंकी दैनिक क्यु आर ३०७ दोहाबाट छुट्ने समय ४ बजे पुग्ने समय २१.४५ क्यु आर ३०८ हेलसिंकीबाट छुट्ने समय २२.५५ बजे पुग्ने समय ०६.१५ प्लस १

निर्ब्याजी ऋण सहजरुपमा प्रदान गर्न प्राधिकरणको निर्देशन

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितलाई दिने निर्ब्याजी तीन लाख रुपैयाँ ऋण सहजरुपमा प्रदान गर्ने व्यवस्था मिलाउन सरोकार भएका निकायलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भूकम्पपीडितको घर निर्माणका लागि सामूहिक जमानीमा ऋण उपलब्ध गराउने कार्यविधि २०७४ लाई संशोधन गर्दै बन्दै गरेको घर धितो राखेर पनि निर्ब्याजी ऋण पाइने व्यवस्था गरेको हो । प्राधिकरणले सरोकार भएका निकायलाई कर्जा प्रवाह सहजरुपमा गर्ने व्यवस्था मिलाउन पनि आह्वान गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, शहरी विकास मन्त्रालय, बैंकर्स एशोसियशन र महालेखा नियन्त्रकको कार्यालयका प्रतिनिधिलाई मन्त्रिपरिषद्बाट सोमबार स्वीकृत कार्यविधिअनुसार निजी आवास पुनःनिर्माणका लागि भूकम्पपीडितलाई तत्कालै निर्ब्याजी ऋण दिने काममा सहजीकरण गर्न निर्देशन दिएका छन् । “सरकारले कार्यविधि नै स्वीकृत गरिसकेको छ, त्यसैले लाभग्राही सूचीमा परेकालाई सहजरुपमा निर्ब्याजी ऋण दिने व्यवस्था मिलाउनुहोस्, कुनै पनि बहानामा भूकम्पपीडितलाई अल्झाउने प्रयास नहोस्” – उनले भने । बैठकले भूकम्पपछि निजी आवास पुनःनिर्माणको कार्यअन्तर्गत आवास अनुदानको किस्ता वितरणमा संलग्न रहेका बैंक तथा वित्तीय संस्थालाई निर्ब्याजी ऋण दिने प्रक्रियालाई उच्च प्राथमिकतामा राखी सहयोग गर्ने व्यवस्था मिलाउन बैंकर्स एसोसियसनमार्फत निर्देशन दिने निर्णय गरेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए । अनुदान वितरण कार्यमा संलग्न सबै बैंकलाई समेत निर्ब्याजी ऋण दिने कामलाई तीव्रताका साथ अघि बढाउने निर्देशन दिन प्राधिकरणले राष्ट्र बैंकलाई अनुरोध गरेको छ ।  सो अवसरमा बैंकर्स एसोसियनका अध्यक्ष अनिल केशरी शाहले सरकारको नीतिअनुसार निब्र्याजी ऋण प्रवाह गर्न कुनै अप्ठ्यारो नभएको भन्दै राष्ट्र बैंकसँग समन्वय गरेर कर्जा परिचालनलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्। प्राधिकरणले कोष तथा लेखा नियन्त्रक कार्यालयलाई कर्जा प्रवाहलाई प्राथमिकतामा राखेर कार्य गर्ने निर्देशन दिन महालेखा नियन्त्रकको कार्यालयलाई समेत पत्राचार गर्ने निर्णय गरेको छ । बैठकले भूकम्प प्रभावित ३१ वटै जिल्लाका गाउँपालिका एवं नगरपालिकालाई दोस्रो र तेस्रो किस्ताका लागि आवेदन दिएका लाभग्राहीको निवेदन यथाशीघ्र जाँच गराई भूकम्प प्रतिरोधी ठहरिएका घरलाई तत्कालै भुक्तानीको प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिएको प्रवक्ता भुसालले बताए । रासस