विकासन्युज

दाङको राप्ती खोला बगरमा बल्यो ग्याँस

  काठमाडौं । दाङ जिल्लास्थित राप्तीको बगरमा ग्यास फेला परेको छ । पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख सुधिर रजौरेका अनुसार गडवा गाउँपालिकामा पर्ने राप्ती नदिको बगरमा ग्यास निस्केको हो । ‘राप्ती नदिको बगरमा ग्यास निस्केको पुष्टि भएको छ, त्यो ग्यास बलिरहेको पनि छ, अब थप अध्ययन गर्दैछौं’, रजौरेले भने । राप्ती नदिको बगरमा ग्यास निस्केर बलिरहेको छ । सो ग्यास प्राकृतिक हो वा पेट्रोलियम हो भन्नेबारे थप अध्ययन हुने पनि उनले जानकारी दिए । ‘हामी आफैंले बगरमा ग्यास निस्केर बलेको पुष्टि गरेका छौं, त्यो प्राकृतिक हो वा पेट्रोलियम हो भन्न एकिन गर्न तिहार लगत्तै प्राबिधिक टोली पठाउँछौं’, रजौरेले भने । मिथेन ग्यासलाई प्राकृतिक ग्यास भनिन्छ जुन काठमाडौंको टेकु र ललितपुरको इमाडोलमा फेला परेको छ । यस्तो ग्यास पाइप लाइनबाट घर घरमा लगेर उपयोग गर्न सकिन्छ । दैलेखमा फेला परेको ग्यास भने पेट्रोलियम ग्यास हो । यस्तो ग्यसलाई उत्खननद्धारा सिलिण्डरमा भरेर उपयोग गर्न सकिन्छ । तराईका बिभिन्न क्षेत्रमा ब्लकहरु बनाएर सरकारले पेट्रोलियम पदार्थहरुको अन्वेषण तथा उत्खनन प्रक्रिया अघि बढाउन लागेको छ । १० वटा ब्लकको उत्खननका लागि ग्लोबल टेण्डर आव्हान गर्नै लाग्दा दाङमा ग्यास निस्केर बलेको हो । यसले पेट्रोलियम ग्यासको उत्खननका लागि आव्हान गरिने ग्लोबल टेण्डरमा सघाउ पुर्याउनेछ ।

डाबर रेड जेल अब नेपाली बजारमा, तीन साइजमा पाइने

काठमाडौं । डाबर नेपालले डाबर रेड जेल नेपाली बजारमा ल्याएको छ । डाबर रेड जेलले उपभोक्ताहरुलाई ताजा सास मात्र नभई दाँतको सुरक्षा पनि प्रदान गर्दछ । आयुर्वेदिक तत्वहरू जस्तै ल्वाङ, पुदिना, मरिचको समिश्रण रहेको डाबर रेड जेलले ताजापनका साथै दाँतलाई सुरक्षित राख्ने कम्पनीले जनाएको छ । डाबर नेपालका माकेर्टिङ हेड अभयप्रसाद गोर्खालीका अनुसार डाबर रेड जेल यस्तो आयुर्वेदिक जेल हो जसले आयुर्वेदको फाइदा आधुनिक रूपमा उपभोक्ताहरूलाई प्रदान गर्छ । साथै, ताजा सास मात्र नभई दाँतको सुरक्षा पनि प्रभावकारी रूपले प्रदान गर्ने गोर्खालीले बताए । बजारमा यो उत्पादन हाल ३ साइजमा पाइन्छन् । बजारमा १५० ग्रामलाई एक सय रुपैयाँ, ८० ग्रामकोलाई ६० रुपैयाँ तथा २५ ग्रामलाई २४ रुपैयाँमा पर्ने डाबर नेपालले जनाएको छ । डाबर नेपालले प्राकृतिक तत्वहरुबाट बनेका उत्पादनहरु प्रस्तुत गरी गुणस्तरीय सुविधा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।

रिलायन्स फाइनान्सले ४५ प्रतिशत हकप्रद निष्काशन गर्ने, चुक्ता पुँजी ७४ करोड नाघ्ने

काठमाडौं । रिलायन्स फाइनान्सले पुँजी वृद्धि गर्नको लागि ४५ प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । बुधबार नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १० बराबर ४ः५ को अनुपातमा हकप्रद निष्काशन गर्न अनुमति दिएको हो । बोर्डको अनुमति अनुसार फाइनान्सले १०० अंकित दरको २३ लाख ६ हजार ५७१ कित्ता सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले २३ करोड ६ लाख रुपैयाँ बराबरको सेयर बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडद्धारा निष्काशन गर्न लागेको छ । हाल कम्पनीको चुक्ता पुँजी ५१ करोड २५ लाख रुपैयाँ रहेको छ । ४५ प्रतिशत हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पुँजी ७४ करोड ३२ लाख रुपैयाँ पुग्ने छ । बुधबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९९ रुपैयाँ रहेको छ ।

सरकारले चितवनबाट पर्सासम्म बाटो फराकिलो गर्ने

काठमाडौं । पर्साको थोरीदेखि चितवनको नारायणगढसम्मको बाटो फराकिलो बन्ने भएको छ । सडक विभागले ६८ किलोमिटर लामो सडक खण्डको स्तरोन्नती गर्ने भएको हो । थोरी–भरतपुर सडक खण्ड स्तरोन्नतिका लागि सडक विभागले वातावरण प्रभाव मुल्याङ्कन (ईआइए) प्रतिवेदन तयार पारीसकेको छ । उक्त आयोजना पर्साको अउरियाबाट सुरु भई भरतपुरको हाकिमचोकमा गएर अन्त्य हुनेछ । आयोजनाको मुख्य संरचनाहरुमा आयोजनाको डिजायन स्पीड १०० किलोमीटर प्रति घण्टा, सडकको स्ट्यान्डर्ड फिडर सडक, क्यारीजवेको चौंडाई ५.५ मीटर, साेल्डरको चौंडाई १.५ मी, फर्मेसनको चौंडाई ७.५–१० मीटर हुनेछ । साथै, ३ प्रतिशत भागमा कालापत्रे गर्ने भएको छ । त्यसैगरी, अधिकार क्षेत्र मध्य बिन्दुबाट दुबै तर्फ १५ किलोमीटरका दरले ३० मीटर कायम गरेको छ । यस आयोजनाबाट प्रभाव पर्न सक्ने क्षेत्र साविकको जगतपुर, पतिहानी, भरतपुर महानगरपालीका, साविकको गर्दी, अयोध्यापुरी, कल्याण्पुर, माडी नगरपालिका र साविकको थोरी गाउँपलीका रहेका छन् ।  

उत्तर भारतमा चिनी कारखानाबाट ग्याँस चुहावट, करिब २०० विद्यार्थी विरामी

नयाँ दिल्ली । उत्तर भारतको शाम्ली जिल्लामा एक चिनी कारखानाबाट चुहावट भएको विषाक्त ग्याँसका कारण नजिकैको विद्यालयमा अध्ययन गरिरहेका करिब २०० विद्यार्थी विरामी परेपछि उनीहरूलाई उपचारका लागि भर्ना गरिएको भारतीय प्रहरीले जनाएको छ । विषाक्त ग्याँसका कारण विरामी बनेका विद्यार्थीलाई तत्कालै स्थानीय एक अस्पतालमा लगिएकोमा १७५ जना सामान्य उपचारपछि घर फर्केका छन् भन २५ जनालाई भर्ना गरी थप उपचार भैराखेको छ । विद्यार्थीले ग्याँसबाट भएको प्रदुषणका कारण पेट दुख्ने, वान्ता हुने, आँखा पोल्ने लगायतका समस्या भएको बताएपछि तुरुन्तै अस्पताल लगिएको थियो । उपचाररत दुई जनामा गम्भीर समस्या देखिएपछि उनीहरूलाई शाम्लीबाट पानीपट लगिएको राज्य प्रहरी नियन्त्रण कक्षका एक प्रहरी अधिकारीले बताए । स्थानीय केही समाचार माध्यमले प्रभावित विद्यार्थीको सङ्ख्या करिब ३०० रहेको बताएका छन् । सरकारले घटनाको तत्काल अनुसन्धान शुरु गर्न निर्देशन दिएको छ । रासस/सिन्ह्वा

लक्ष्मी बैंकको दुई नयाँ शाखा ओखलढुङ्गा र पाचँथरमा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो दुई नयाँ शाखा ओखलढुङ्गा र पाचँथरको फिदिममा संचालनमा ल्याएकोे छ । संयुक्त राष्ट्र संघ पूँजी विकास कोष(यूएनसीडीएफ) तथा लक्ष्मी बैंकबाट संयुक्त रुपमा सञ्चालित “उन्नति – बित्तमा पहुँच(एटुएफ)” परियोजना अन्तर्गत पूर्वाञ्चलका ९ जिल्लाका ग्रामीण समुदायमा वित्तीय पहुँच पुर्याउने योजना अन्तर्गत यी शाखाहरु सञ्चालन गरिएको हो । यी दुई शाखा सहित बैंकको ७१ वटा शाखा, ३ हस्पिटल सेवा काउन्टर, ९२ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स् अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । यस शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यमअर्थात शाखाकार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथाअर्ध शहरी क्षेत्रमाआफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ । आगामी दिनहरुमा बैंकले अझ धेरै शाखा अनि सेवाहरु देश भरि विस्तार गर्ने लक्ष्य लिएको छ ।

झलनाथ खनालका छोरा भन्छन्: भैरहवा विमानस्थलमा चिनियाँ कम्पनीले फसायो

काठमाडौं । भैरहवा बिमानस्थल नेपालको पर्यटन क्षेत्रको विकासका लागि अपरिहार्य आयोजना हो । हामीले २०७२ साल साउन महिनामा सब कन्ट्राक्टरको जिम्मेवारी लिएका थियौं । त्यो भन्दा पहिले हामीले अर्कै कम्पनी मार्फत निर्माण सामग्री ढुवानी मात्रै गर्दै आएका थियौं । हिमालयन इन्फ्राटेक कम्पनी मार्फतमा हामीले समान दिन्थ्यौं । पछि त्यो कम्पनीले काम नगरेपछि चिनियाँ कम्पनीले नै हामीलाई सब कन्ट्राक्टर अफर गरेको थियो । हामीले उसकै अफर अनुसार नयाँ कम्पनी दर्ता गरेर सब कन्ट्राक्टरको सम्झौतामा हस्ताक्षर गरेका थियौं । हामीसँग सब कन्ट्रयाक्टको २ वटा ठुला फाइल सुरक्षित छन् । तर हामीसँग गरिएको सब कन्ट्राकको सम्झौता नै गैर कानुनी जस्तो देखियो । हामीले निरन्तर काम गर्दै आयौं तर चिनियाँ ठेकेदारले भुक्तानी दिन आनाकानी गर्यो । एक अर्थमा भन्ने हो भने भैरहवा बिमानस्थलमा हामीलाई चिनियाँ कम्पनीले फसायो । भैरहवा बिमानस्थल ६ अर्ब २२ करोडको आयोजना हो । यसमा हालसम्म २६ प्रतिशत भौतिक प्रगति भएको छ तर वित्तिय प्रगति जम्मा १०-१२ प्रतिशत मात्रै भएको छ । भौतिक प्रगति अनुसार वित्तिय प्रगति नहुन नै चिनियाँ ठेकेदारले हामीलाई भुक्तानी नदिएको प्रमाण हो । चिनियाँ कम्पनीले नेपाल सरकारबाट एक अर्ब ५६ करोेड भुक्तानी लिईसकेका छन् । हामीलाई भने जम्मा ७७ करोड मात्रै दिएका छन् । ३२ करोड लिन बाँकी रकममध्ये १५ करोड मात्रै दिने भनेका छन् । हामीले बाँकी १७ करोड पनि मागेका छौं जुन हामीले काम गरे वापतकै रकम हो । त्यो रकम नपाएपछि ९ महिनादेखि हामीले काम गरेका छैनौं । त्यसअघिसम्म बिमानस्थल निर्माणको सबै काम हामीले गरिरहेका छौं । त्यहाँ प्रयोग भैरहेका उपकरण, ढुवानीका साधन, निर्माण सामग्री सबै हाम्रै हुन् । हामीलाई काम गरे अनुसार भुक्तानी नदिने अनि उल्टै हामीले काम गर्न दिएनौं भनेर प्रचार गरिएको छ । काम गरेको पैसा नपाएसम्म काम गर्ने अवस्था छैन् । मासिक ६ प्रतिशतको हाराहारीमा भौतिक प्रगति हुनुपर्ने थियो तर अहिले १ प्रतिशत मात्रै भैरहेको छ । हामीले पुरानो भुक्तानी नपाएसम्म कामको गति बढाउन अवस्था छैन् । हामीले अझै ३२ करोड रुपैंयाँ भुक्तानी पाएका छैनौं । चिनियाँ कम्पनीले जम्मा १५ करोड मात्रै भुक्तानी दिन्छौं भनेर लिखित सम्झौता गरेको छ । तर हामीलाई ३२ करोड नै चाहिन्छ किनकी हामीले अन्य कम्पनीलाई भुक्तानी गर्नुपर्नेछ । हाल युवराव संग्रौलालाई भुक्तानी सेटलमेन्टका लागि मध्यस्थकर्ता तोएिको छ । हामी त्यो प्रतिवेदनको पर्खाइमा छौं । हामीलाई नेपाल र चिनको सम्बन्धबारे चिन्ता छ । त्यसैले ठुलो नोक्सानी हुँदा हुँदै पनि हामीले काम गर्न खोजिरहेका छौं । हाम्रै मेसिन हामीले किन कब्जा गर्ने ? वास्तवमा हामी नराम्रोसँग फसेका छौं, हामीलाई चिनियाँ कम्पनीले फसायो । उल्टै दुई देशको सम्बन्ध बिगार्न लागेको आरोप पनि आयो । नागरिक उड्डयन प्राधिकरणलाई जमानी राखेर मात्रै हामीसँग सब कन्ट्राक्ट दिएछ । हामीलाई भवन र रनवे बनाउने पुरै जिम्मेवारी हामीलाई दिएको थियो लिखित रुपमै । मौखिक रुपमा त हामीलाई सबै काम गर्नुस भनेको थियो । अहिले चिनियाँ कम्पनीले पैसा दिन मान्दैन, परियोजनाले हामीलाई चिन्दैन, अनि हामीले काम गर्न नदिएको भन्ने आरोप छ । यस्तो पनि हुन्छ ? (पुर्व प्रधानमन्त्री झलनाथ खनालका छोरा निर्भिक खनाल नर्थवेष्ट डेभलपमेन्ट नेपाल इन्फ्रा प्रालिका सञ्चालक हुन् । उनको यो कम्पनीले भैरहवा विमानस्थलमा सब कन्ट्राक्टरको जिम्मेवारीमा काम गरिरहेको छ )

रिक्त कर्मचारी दरबन्दीको विज्ञापन खुलाउने प्रक्रिया शुरु

काठमाडौं । लोकसेवा आयोगले रिक्त कर्मचारी पदपूर्तिका लागि दर्खास्त आह्वान शुरु गरेको छ । ‘कर्मचारी समायोजन ऐन’ संसद्बाट पारित भएपछि आयोगले सरकारलाई चाहिने कर्मचारीे पदपूर्ति बुधबारबाट शुरु गरेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए । आयोगले पहिलो चरणमा सहसचिव र उपसचिवका लागि दर्खास्त आह्वान गरेको हो । उनका अनुसार आयोगले १९९ सहसचिव र ५५६ उपसचिवका लागि दर्खास्त आह्वान गरेको छ । उपसचिवसमेत रहेका सुवेदीले सहसचिवमा रिक्त रहेका पदमध्ये ८३ खुला र ११६ बढुवामार्फत तथा उपसचिवमा रिक्त रहेका पदमध्ये ३५९ खुला र १९७ बढुवामार्फत पदपूर्तिका लागि दर्खास्त आह्वान गरिएको बताए । सबभन्दा बढी आयोगले प्रशासनतर्फ दर्खास्त आह्वान गरेको छ जस्मा ५९ वटा पद सहसचिवमा र ८९ वटा पद उपसचिवमा रहेको छ । दर्खास्त आह्वान गरिएका विज्ञापनमा आगामी मंसिर मसान्तमा परीक्षा हुने भएको छ । मंसिरको दोस्रो हप्ता परीक्षा हुने भनेता पनि निर्वाचनका कारण मंसिर मसान्तमा पुगेको उपसचिव सुवेदीले बताए । यस्तै अधिकृत तहका लागि पनि आगामी कात्तिक वा मंसिर मसान्तमा विज्ञापन गर्ने तयारी भइरहेको उनले बताए । अहिले आयोगले सामान्य प्रशासन मन्त्रालयलाई रिक्त दरबन्दीको सङ्ख्या उपलब्ध गराउन निर्देशन दिएको छ । रासस