विकासन्युज

देशभर २८ हजार बढी कैदीबन्दी, १ हजार ४ सय २७ विदेशी

काठमाडौं । नेपालमा ७२ वटा जिल्लामा ७५ कारागारहरु रहेका छन् । जसमध्ये भक्तपुर, धनुषा, बारा, पूर्वी नवलपरासी र पूर्वी रुकुममा कारागार छैनन् । गृहमन्त्री रमेश लेखककाअनुसार काठमाडौं, दाङ र बाँकेमा एउटै जिल्लामा दुई वटा कारागार छन् ।  बुधवारको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले कारागार व्यवस्थापनका निमित्त केही नीतिगत र कानूनी व्यवस्था रहेको बताए ।  कारागार ऐन, २०७९, मुलुकी अपराध संहितामा कारागारका सम्बन्धमा व्यवस्थाहरू उल्लेखित रहेको उनले जानकारी दिए । उनले मुलुकी फौजदारी कार्यविधि संहिताले पनि केही कुराहरू निर्देश गरेको उल्लेख गरे ।  कारागार नियमावली, २०२० पनि रहेको र यसलाई समय सापेक्ष रुपले संशोधन र परिमार्जन गर्न नियमावली अघि बढाइसकेको र नयाँ मस्यौदा मन्त्रीपरिषदमा पुगेको गृहमन्त्री लेखकले बताए । चाँडै नै नयाँ नियमावली जारी गर्ने उनको भनाइ छ ।   नेपालमा बन्दीहरूको संख्या देशभर अहिले २८ हजार ७ सय १८ जना बन्दी कैदीहरू रहेका छन् । यो तथ्यांक २०८२ को असार मसान्तसम्मको हो । गृहमन्त्री लेखकका अनुसार थुनुवा पुरुषतर्फ ९ हजार ८ सय ३९, महिला थुनुवा ५ सय ९६ गरी कुल १० हजार ४ सय ३५ जना रहेका छन् ।  कैदीहरुमा पुरुषतर्फ १७ हजार ३ सय २९ जना र महिलातर्फ ९ सय ५४ जना गरी कुल १८ हजार २ सय ८३ जना रहेका छन् । थुनुवा र कैदी गरेर पुरुषतर्फ जम्मा २७ हजार १ सय ६८ र महिलातर्फ १ हजार ५ सय ५० गरी २८ हजार ७ सय १८ जना रहेका छन् ।  गृहमन्त्री लेखकले ६५ वर्ष माथिका ६०१ जना कैदीबन्दी रहेको बताए । उनका अनुसार आश्रित बालबालिकाको संख्या ६४ जना रहेका छन् । कुनै मानिस थुनुवा वा कैदीका रुपमा आमा रहेको छ भने आमासँगै बस्नुपर्ने बालबालिकालाई पनि आमाको सामीप्यताको लागि राख्ने गरिन्छ ।  नेपालमा कुल विदेशी बन्दीहरुको संख्या १ हजार ४ सय २७ रहेको गृहमन्त्री लेखकले बताए । यो संख्या नेपालमा रहेका २८ हजार ७ सय १८ जना बन्दी कैदीहरुमध्ये हो ।  नेपालमा मुद्दाको हिसावले हेर्दा जबरजस्तीकरणतर्फ २५.५४ प्रतिशत, लागुऔषधतर्फ २४.३७ प्रतिशत, कर्तव्य ज्यान मुद्दाको १६.१२ प्रतिशत, सवारी ज्यान तथा सवारी अंगभंगको ४.१६ प्रतिशत, चोरीको ३.८२ प्रतिशत मुद्दाका कैदीबन्दीहरु रहेका छन् ।  कारागारको कुल क्षमता पुरुषतर्फ देशभरमा ७५ वटा कारागारको कुल क्षमता १६ हजार ६ सय २५ रहेको गृहमन्त्री लेखकले बताए । जम्मा क्षमता १६ हजार ६ सय २५ रहेकोमा पुरुष बन्दीतर्फ २७ हजार १ सय ६८ जना रहेका छन् । देशभरमा रहेका कारागारको कुल क्षमता भन्दा बन्दीको संख्या ६७ प्रतिशत बढी रहेको उनले बताए ।  महिलातर्फ देशभर सञ्चालनमा रहेका ५० वटा कारागारको क्षमता २ हजार ५ सय १ रहेको छ भने महिला बन्दीको संख्या १ हजार ५ सय ५० जना रहेको छ ।  प्यारोलमा बन्दी छोड्ने व्यवस्थालाई कार्यान्वयनमा ल्याइएको गृहमन्त्री लेखकले बताए । हालसम्म २ हजार ७५ जनालाई प्यारोलमा राख्न सिफारिस गरिएको छ । गृहमन्त्रीकाअनुसार प्यारोल एउटा विशेष व्यवस्था हो ।  यसमा कारागारमै नबसीकन राज्य, प्रहरी प्रशासनको नियन्त्रणमा घरमा बस्ने र आवधिक रुपले तारिक जस्तो हाजिर दिने र म उपस्थित छु भन्ने स्थिति हुन्छ । प्यारोलले थोरै भएपनि संख्या घटेको छ । २ हजार ७५ पछिल्लो समय छुट्दा केही संख्या कम भएको गृहमन्त्रीले बताए । नेपालमा भक्तपुर, मकवानपुर, विराटनगर, वीरगञ्ज, रुपन्देही, कास्की, बाँके र डोटीमा गरी ८ जिल्लामा ९ वटा बाल सुधार गृह रहेका छन् । २०८२ को असार मसान्तसम्म बालविजयीकर्ताको संख्या थुनुवामा बालक ५ सय ७३ छन् भने बालिका २१ जना रहेका छन् । ५ सय ९४ थुनुवा रहेका छन् ।  कैदी बालक ७ सय ६३ र बालिका १७ जना गरी जम्मा ७ सय ८० रहेका छन् । कुल बालक र बालिकाको संख्या बालक १ हजार ३ सय ३६ र बालिका ३८ गरी १ हजार ३ सय ७४ बालबालिका कैदीबन्दीका रुपमा रहेको गृहमन्त्री लेखकले बताए ।  उनका अनुसार ७ हजार बन्दीहरुलाई उत्पादनमुलक काममा लगाइएको छ । 

धितोपत्र बोर्डको सञ्चालकमा हेमराज ढकाल नियुक्त

काठमाडौं । नेपाल धितोपत्र बोर्डको सञ्चालकमा व्यवसायी हेमराज ढकाल नियुक्त भएका छन् । निजी क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकाल बोर्डमा प्रवेश गरेका हुन् । यसअघि उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जनकुमार श्रेष्ठ निजी क्षेत्रको प्रतिनिधित्व गर्दै बोर्ड सञ्चालक बनेका थिए । तर व्यक्तिगत कारण देखाउँदै उनले राजीनामा दिएपछि पद रिक्त रह्यो । सो पदमा महासंघले ढकाललाई पठाउने निर्णय गरेको हो । नवनियुक्त सञ्चालक ढकाललाई बुधबार बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ गराए । उद्योग–व्यवसायमा चार दशकभन्दा बढी समय बिताएका ढकाल नेपालको वित्तीय क्षेत्रमा पनि तीन दशकदेखि सक्रिय छन् । उनी हेरिटेज ग्रुप अफ इन्डस्ट्रिजका अध्यक्ष हुन्, जसअन्तर्गत हेरिटेज कार्पेट, हेरिटेज म्याट्रेस, हेरिटेज टी, व्यापारलगायत दर्जनभन्दा बढी कम्पनी सञ्चालनमा छन् ।

नाइमा एक्स्पोमा राखिएका गाडी नाडा अटो शोमा पनि सहभागी हुने, ईभीमय बनाउने नाडाको रणनीति

काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो सकिए लगत्तै नेपाली अटो क्षेत्रको ध्यान नाडा अटो शोतर्फ मोडिएको छ । आगामी भदौ ३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने नाडा अटो शोले सवारीसाधनका पारखी माझ नयाँ उत्साह र कौतुहलता थपेको छ ।  नेपाल अटोमोबाइल्स एसोसिएसन अफ (नाडा) ले यसपटकको अटो शो विगतको भन्दा भव्य, फरक र आकर्षक हुने दाबी गरिरहेको छ । आयोजकदेखि सहभागी व्यवसायीहरू अहिले अन्तिम तयारीमा जुटेका छन् ।  नाडा अटो शो आउन अब एक हप्ता मात्रै बाँकी रहँदा सहभागी ब्राण्ड र व्यवसायीहरू ग्राहकलाई आकर्षित गर्नेतर्फ रणनीति बनाउन व्यस्त छन् । उनीहरू आफ्नो बजार विस्तार गर्न आकर्षक फिचर र नयाँ प्रविधियुक्त मोडलहरू प्रस्तुत गर्ने रणनीतिमा छन् ।  आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म हुन लागेको अटो शोमा ठूला ब्राण्डका नयाँ विद्युतीय गाडी मात्र होइन, नेपालमै पहिलोपटक ‘उड्ने कार’ समेत मुख्य आकर्षणको बिन्दु बन्दैछ । यसपटकको नाडा अटो शोको सबैभन्दा ठूलो आकर्षण चाङ्गन अटोमोबाइलको सब–ब्राण्ड दिपलले बनाएको ‘उड्ने अटोनोमस कार’ हुने निश्चित छ ।  नेपालका लागि दीपल गाडीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिका अनुसार यो कार नाडा अटो शोमा प्रदर्शनका लागि मात्र राखिनेछ ।  चार पांग्रेमा कुन ब्राण्डले के ल्याउँदैछन् ? नाडा अटो शोमा चार पाङ्ग्रे सवारीसाधनका स्थापितदेखि नयाँ ब्राण्डसम्मको उल्लेख्य सहभागिता रहने संयोजक अनुप बरालले जानकारी दिए । उनका अनुसार दीपल, अवतार, डङफेङ, सेरेस, टाटा, सुजुकी, आयोन, एक्पेङ, रिडारा, स्काइवेल, बीवाइडी, फोटोन, बिएडब्लु ब्रम्बी जस्ता ब्राण्डहरूले आफ्ना उत्पादनहरू प्रदर्शन गर्नेछन् । नाडाका अनुसार एमएडब्लू ग्रुपले दीपल, डङफेङजस्ता धेरै ब्राण्डहरू लिएर सहभागी हुँदैछ ।  दीपलका प्रमुख कार्यकारी अधिकृत (सीइओ) रूपेश शर्मा भट्टका अनुसार हाल बजारमा रहेका एच जेरो सेभेन, ई जेरो सेभेन जस्ता मोडलका साथै नयाँ मोडल ‘एस जेरो फाइभ’ पनि सार्वजनिक गर्ने तयारी छ ।  त्यस्तै, डङफेङको ‘नामी जेरो वान’ बाहेक अर्को नयाँ मोडल पनि सार्वजनिक गर्ने बुझिएको छ ।  टाटाले आफ्ना लोकप्रिय मोडलहरू नेक्सन, कर्भ ईभी र सफारीलाई नै निरन्तरता दिने भएको छ । नयाँ मोडल ल्याउने विषयमा भने कम्पनीले अझै केही स्पष्ट पारिसकेको छैन ।  यस्तै, सुजुकीले यसपटक आफ्नो ‘स्ट्रङ्ग एसयुभी लाइनअप’ मा जोड दिएको छ । जसमा जिम्नी, नेपालकै सर्वाधिक बिक्री हुने ब्रिजा, ग्रान्ड भिटारा, एसयूभी ई–भिटारा  र फ्रन्क्स जस्ता मोडलहरू प्रदर्शन गरिनेछन् । तत्काल नयाँ मोडल लन्च गर्ने योजना भने नरहेको कम्पनीले जनाएको छ । नेपालका लागि बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले नाडा अटो शोमा एट्टो–टु मोडल सार्वजनिक गर्ने तयारी रहेको छ । कम्पनीले अटो शोमा सिलायन–७, एट्टो–वाइन, डल्फिन, एसयुभी सिलायन–७ लगायत मोडल राख्नेछ । यस्तै, नाइमामै सहभागी भएको एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चर प्रालिले पनि नाडा अटो शोमा सहभागी हुने बताएको छ । कम्पनीका अनुसार नाइमा एक्स्पोमा लन्च भएका ‘एलईभी ०५’ र  ‘एलईभी एक्स’ गरी दुईवटै मोडेल नाडा अटो शोमा ल्याउन लागेको हो । नाडाले प्रेस विज्ञप्तिमा टेस्लाको सहभागिता रहने उल्लेख भए पनि टेस्लाका एक प्रतिनिधिले भने आफूहरू सहभागी नहुने बताएका छन् ।  यसपटकको अटो शोलाई गाडीको खरिद बिक्रीमा मात्र सीमित नराखेर प्रविधि र अनुभवमा केन्द्रित गर्न खोजिएको छ । नाडा अटो संयोजक अनुप बरालले भने, ‘हामीले यसलाई वल्र्ड क्लास नै बनाउन खोजिरहेका छौं । यो गाडीको मात्र होइन, भविष्यको प्रविधि देखाउने प्लेटफर्म पनि हो ।’ अवलोकनकर्ताले ‘फ्युचर टेक्नोलोजी’, ‘मेड इन नेपाल’ प्याभिलियन र पुराना भिन्टेज कारहरूको प्रदर्शनी समेत हेर्न पाउनेछन् । यसले अटो शोलाई सबै उमेर र रुचिका दर्शकका लागि एउटा उत्सवको रूप दिने अपेक्षा गरिएको छ । अटो शोका लागि टिकट खरिद गत वर्ष जस्तै यसपटक पनि डिजिटल वालेट ‘खल्ती’ मार्फत गर्न सकिनेछ । विद्यार्थीहरूका लागि परिचयपत्रका आधारमा १५० रुपैयाँ र अन्य सर्वसाधारणका लागि २०० रुपैयाँ शुल्क तोकिएको नाडाले जानकारी दिएको छ ।  स्टलहरूको माग अत्यधिक बढेकाले आयोजकले थप डोम बनाएर व्यवस्थापन गर्ने तयारी गरिरहेको नाडा अटो शोका संयोजक बरालले जानकारी दिए ।  अटो शोमा १९ वटा चार पांग्रे ब्रान्ड, १३ वटा हलुका व्यावसायिक सवारी साधन ब्रान्ड र ४ वटा दुईपांग्रे सवारी ब्रान्ड सहभागी हुनेछन् । अटो शोमा ३५ कम्पनी  (ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू), १२५ भन्दा बढी प्रदर्शक सहभागी हुने नाडाले जनाएको छ । अटो शोमा १ लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।  ‘अटो एक्स्पो कस्तो हुन्छ हामी देखाउँछौं, नाडा अटो शो ईभीमय हुन्छ’ {अन्तर्वार्ता}  

कर्णाली सरकारले विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिने

कर्णाली । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले नागरिकको स्वास्थ्य समस्या समाधानमा विशेष प्राथमिकता दिएको छ । मानव स्वास्थ्य बचाउन र नागरिकलाई स्वास्थ्य जाँचका लागि अस्पतालसम्म पुग्ने तथा फर्किने क्रममा हुने आर्थिक अभाव परिपूर्ति गर्न सरकारले सहयोग गर्ने भएको हो ।  सरकारले ‘विपन्न तथा असहाय नागरिकका लागि स्वास्थ्य उपचार तथा यातायात खर्च’ कार्यक्रम सञ्चालन गरेको छ । सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले चालु आर्थिक वर्ष २०८२/८३ मा बेसाहारा, असहाय र विपन्नलाई यातायात खर्च सुविधा उपलब्ध गराइ स्वास्थ्य सेवाको पहुँचमा अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रम ल्याइएको बताए ।  'जसको कोही छैन, उसका लागि सरकार छ भन्ने अनुभूति नागरिकलाई गराउन चाहान्छौँ', उनले भने, 'यसले विपन्न, असहाय र बेसाहारा नागरिकलाई मलमपट्टी लगाउनेछ ।' मन्त्री भण्डारीका अनुसार प्रदेश अस्पताल सुर्खेतमा उपचार गर्ने क्रममा दुर्गमता र भौगोलिक विकटताका कारण आर्थिक अभावले अस्पताल आउन तथा जान समस्या परेका नागरिकलाई दूरीका आधारमा रु पाँच हजारदेखि रु २० हजारसम्म यातायात सुविधा खर्च प्रदान गरिनेछ ।  यद्यपि सेवाग्राहीले भने वडाको सिफारिस र अस्पतालबाट घर जान नसक्ने बिरामीको सिफारिस गरेको पत्र लिएर मन्त्रालयमा निवेदन दिनुपर्नेछ । चालु आवमा यो कार्यक्रमका लागि २५ लाख रुपैयाँ बजेट छुट्याइएको र आवश्यकताका आधारमा बजेट थप्ने जनाउँदै उनले कार्यक्रमको प्रभावकारितालाई हेरेर आगामी वर्षमा १० जिल्लाका अस्पतालबाट भुक्तानी दिने प्रबन्ध मिलाइने बताए ।  मन्त्रालयका सचिवको संयोजकत्वको चार सदस्यीय समितिले स्वीकृत निर्देशिकाबमोजिम तोकिएका जिल्लाबाट आउने बिरामीको रोगभारका आधारमा रकम बाँडफाँट गरी भुक्तानीका लागि निर्णय गर्नेछ । उक्त रकम पाउनका लागि लाभग्राहीले वडाको सिफारिस, नजिकका हकवालाको बैंक खाता, मृतकको हकमा मृत्यु प्रमाणपत्र र नजिकको हकवालाको बैंक खातासहित मन्त्रालयमा निवेदन दिनुपर्ने जनाइएको छ । रासस

नेशनल लघुवित्तको नाफा दोब्बरले बढ्यो, यस्ता छन् अन्य वित्तीय सूचक

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१/८२ को चौंथोे त्रैमास (असार) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार नाफा र आम्दानीमा उल्लेखनीय वृद्धि भएको छ ।  गत वर्ष कम्पनीको खुद नाफा दुई गुणा अर्थात १३६.३ प्रतिशतले बढेर ४७ करोड ४० लाख ४६ हजार रुपैयाँ आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवमा २० करोड ५ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । त्यस्तै, कम्पनीको खुद ब्याज आम्दानी ४४.५९ प्रतिशतले बढेर १ अर्ब ६१ करोड ५५ लाख २३ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीले १ अर्ब ११ करोड ७२ लाख १८ हजार खुद ब्याज आम्दानी आर्जन गरेको थियो । त्यस्तै कम्पनीको सञ्चालन नाफा दोब्बरले वृद्धि भएको छ । कम्पनीले अघिल्लो वर्ष ३३ करोड ७९ लाख रुपैयाँ सञ्चालन नाफा कमाएकोमा गत वर्ष ६७ करोड ७७ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ । लघुवित्तको प्रतिसेयर आम्दानी ३५.६० रुपैयाँ छ । त्यस्तै मूल्य आम्दानी अनुपात ३९.३३ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २४५ रुपैयाँ छ । त्यसैगरी तरलता अनुपात २०.३० रहेको छ ।  

उच्च अदालतका २७ जना न्यायाधीशलाई शपथ

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको समुपस्थितिमा उच्च अदालतको न्यायाधीशका लागि नियुक्ति भएका २७ न्यायाधीशलाई पद तथा गोपनियताको शपथ ग्रहण गराइएको छ । सर्वोच्च अदालतमा बुधबार आयोजित कार्यक्रममा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले नवनियुक्त न्यायाधीशलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।       न्याय परिषद्को यही साउन २२ गते बसेको बैठकले उच्च अदालतको न्यायाधीशका लागि २७ जनालाई नियुक्त गरी पदस्थापन गरेको थियो ।        उच्च अदालतका लागि न्यायाधीश नियुक्त हुनेहरुमा न्याय परिषद्का सचिव यमबहादुर बुढामगरलाई उच्च अदालत सुर्खेत, जुम्ला इजलास, धादिङ जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलालाई उच्च अदालत पाटन, ओलखढुङ्गाका जिल्ला न्यायाधीश गिरीराज गौतमलाई उच्च अदालत दीपायल, महेन्द्रनगर इजलासमा नियुक्त गरी पदस्थापन गरेको हो ।      गुल्मीका जिल्ला न्यायाधीश युवराज गौतमलाई उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुगा, दाङका जिल्ला न्यायाधीश तेजनारायण पौडेललाई  उच्च अदालत तुलसीपुर, बुटवल इजलास, पर्वतका जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानालाई उच्च अदालत पाटन, उदयपुरका जिल्ला न्यायाधीश  दीपककुमार खरेललाई उच्च अदालत पाटनमा नियुक्त गरी पदस्थापना गरिएको छ ।       गोरखाका जिल्ला न्यायाधीश शिवबहादुर रानाभाटलाई उच्च अदालत पाटन, काठमाडौंका जिल्ला न्यायाधीश कमलप्रसाद पोखरेललाई उच्च अदालत जनकपुर, भक्तपुरका जिल्ला न्यायाधीश वासुदेव न्यौपानेलाई उच्च अदालत पाटन, पाल्पाका जिल्ला न्यायाधीश दलबहादुर केसीलाई उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास, कपिलवस्तुका जिल्ला न्यायाधीश प्रकाशचन्द्र अधिकारीलाई उच्च अदालत दीपायल, चितवनका जिल्ला न्यायाधीश रमेशप्रसाद ज्ञवालीलाई उच्च अदालत पाटनमा नियुक्ति गरिएको छ ।       त्यस्तै, मोरङका जिल्ला न्यायाधीश उदयप्रसाद भट्टराईलाई उच्च अदालत विराटनगर ९धनकुटा इजलास०, मकवानपुरका जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईलाई उच्च अदालत पाटन, उच्च अदालत पोखराका रजिष्ट्रार खड्गराज अधिकारीलाई उच्च अदालत दीपायल, उच्च सरकारी वकिल कार्यालयका, पाटनका सहन्यायाधिवक्ता शङ्कर खत्रीलाई उच्च अदालत जनकपुर (अस्थायी इजलास वीरगञ्ज), सर्वोच्च अदालतका रजिष्ट्रार अच्युत कुइँकेललाई उच्च अदालत पाटन, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव कोमलबहादुर खत्रीलाई उच्च अदालत सुर्खेतमा नियुक्त गरिएको छ ।       न्याय परिषद्ले कानुन व्यवसायीबाट शर्मिला थापा विष्टलाई उच्च अदालत पाटन (हेटौँडा इजलास), प्रतापसिंह ठकुराठीलाई उच्च अदालत तुलसीपुर (बुटवल इजलास), बालकृष्ण गैरेलाई उच्च अदालत पोखरा (बागलुङ इजलास), निशा बानियाँलाई  उच्च अदालत तुलसीपुर (बुटवल इजलास),  श्यामकुमार विश्वकर्मालाई उच्च अदालत दीपायल र अरुणकुमार पञ्जियारलाई उच्च अदालत विराटनगर (अस्थायी इजलास ओखलढुङ्गा)मा नियुक्ति गरिएको छ । उनीहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गरे ।  

कर्णालीको अदुवा र बेसार विदेशी बजारमा रोजाइ

काँक्रेविहार । आर्थिक वर्ष २०८१/८२ मा कर्णालीबाट तीन सय ६५ मेट्रिक टन सुकाइएको अदुवा र बेसार युरोपेली मुलुकमा निर्यात भएको छ ।  प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि अधिकृत पूर्णबहादुर थापाका अनुसार उच्च गुणस्तरीय अदुवा र बेसारलाई सुकाएर अन्तरराष्ट्रिय मापदण्डअनुसार प्रमाणीकरण गरी जर्मनी निर्यात गर्न थालिएको छ ।  सल्ल्यान, रुकुमपश्चिम र सुर्खेतको पूर्वी क्षेत्रमा उत्पादित अदुवा, बेसार सुर्खेतको छिन्चुमा रहेको ‘द अग्र्यानिक भ्याली’ले सङ्कलन गरेर जर्मनीलगायत देशमा निर्यात हुँदै आएको अधिकृत थापाले बताए कम्पनीले मकैको पीठो, दाल, सिमी, घिउ र सिस्नुको धुलोजस्ता अन्य अग्र्यानिक उत्पादन पनि प्रमाणीकरण गरी विदेश निर्यात गरिरहेको छ । मन्त्रालयकानुसार प्रदेश स्थापनाकालदेखि हालसम्म रु १८ अर्ब ४७ करोड बराबरको रकम कृषि क्षेत्रमा बजेट विनियोजन भएकामा रु १४ अर्ब बराबर रकम लगानी भइसकेको छ ।  मन्त्रालयले आव २०८१/८२ मा साना सिँचाइ निर्माण तथा मर्मतसम्भार शीर्षकमा सात सय ४७ वटा योजना निर्माण गरेको जानकारी दिएको छ । गत एक वर्षमा चार हजार ४४ स्याउका बिरुवा १९ हेक्टरमा र दुई हजार आठ सय २४ ओखरका बिरुवा २५ हेक्टरमा रोपिएको छ । बीस हजार १०० सुन्तला, १५ हजार ४०० कागती, दुई हजार ओखर र एक हजार स्याउका बिरुवा रोपिएको छ । खाद्य सुरक्षा कार्यक्रममार्फत १० हजार स्याउ, एक हजार ९५० ओखर, तीन हजार २७० सुन्तला र दुई हजार लिचीका बिरुवा रोपिएको छन् । खाद्य सुरक्षा तथा कृषि प्रसार कार्यक्रमअन्तर्गत उन्नत जातका २१ क्विन्टल धान, २२समावेश गरिएको छ । उक्त वर्ष २१.२९ मेट्रिक टनसागसब्जीका बीउ प्रमाणीकरण भएको थियो । रासस  

नेशनल इन्स्योरेन्स ६२ करोड ३९ लाख रुपैयाँ घाटामा, ४३.२९ प्रतिशतले बढ्यो कुल बीमा शुल्क

काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को चौंथो त्रैमास (असार) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा  १ अर्ब २९ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।  अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९० करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमा शुल्क ४३.२९ प्रतिशतले बढेको छ । गत वर्ष कम्पनी घाटामा रहेको देखिएको छ । कम्पनीको वित्तीय विवरणअनुसार समीक्षा वर्षमा कम्पनी ६२ करोड ३९ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवमा कम्पनीले २६ करोड ६७ लाख रुपैयाँ नाफा गरेको थियो। त्यस्तै, समीक्षा वर्षमा कम्पनीको खुद बीमा शुल्क आर्जन ९.४४ प्रतिशतले घटेको छ । कम्पनीले अघिल्लो आवमा कम्पनीले ६१ करोड ९१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा गत आवमा ५६ करोड ६ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको हो । गत वर्ष कम्पनीको रिटेन्ड अर्निङ (सञ्चित नाफा) १ अर्ब ४२ करोड ३२ लाख ४० हजार रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो आवमा कम्पनीको रिटेन्ड अर्निङ ८२ करोड २२ लाख रुपैयाँ ऋणात्मक रहेको थियो । कम्पनीको महाविपत्ति कोषमा ३ करोड २१ लाख ८८ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवमा महाविपत्ति कोषमा ३ करोड २१ लाख रुपैयाँ रहेको थियो । कम्पनीको सोल्भेन्सी रेसियो २.७९ प्रतिशत रहेको छ ।