विकासन्युज

थ्राइभ ब्रोकेरेजकोे सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले मंगलबारदेखि तीन दिन थ्राइभ ब्रोकेरेज हाउस प्रा.लिको सेयर कारोबार रोक्का गरेको छ । धितोपत्र बोर्डलाई नियमन शुल्क नबुझाएको कारणले नेप्सेले उक्त हाउसकोे कारोबार रोक्का गरेको हो । बोर्डलाई गत वर्षको शुल्क तिरेपछि मात्र यस ब्रोकेरेज हाउस कारोबार खुला हुने छ ।

पिओएस मेसीनमा प्रभु ग्रुपको लगानी, बिना नगद डिजिटल कारोबार गर्न सकिने

काठमाडौं । २८ वर्षअघि नेपाल भित्रिएको अल्पाइन कार्ड सर्भिस पिओएस (पोइन्ट अफ सेल) कार्ड मेसीन मार्फत क्यासलेस कारोबारमा प्रभु ग्रुपले लगानी गर्ने भएको छ । जसको माध्यमबाट बिना नगद कारोबार गर्न सकिन्छ । व्यापारिक केन्द्रहरुमा राखिएका यी मेसीनहरु ग्रामिण तहसम्म फैलाउने गृहकार्य भइरहेको छ । अल्पाइन विजनेस कार्डसँग सम्बन्धित विभिन्न सेवाहरु दिने उद्देश्यले स्थापित कम्पनी हो । हाल यो कम्पनीको बहुमत सेयर प्रभु ग्रुपले लिएको छ भने कम्पनीको महाप्रबन्धकमा प्रभु ग्रुपको तर्फबाट राजगोपाल राजभण्डारी नियुक्त भएका छन् । हालसम्म नेपालमा तीनहजार पाँचसय वटा पिओएस मेसिन संचालनमा रहेको र दुईहजार वटा मेसिन २०७४ साल भित्र थपिने क्रममा रहेको प्रभु ग्रुपले जनाएको छ । वित्तीय पहुँच विस्तार गर्नका लागि पिओएस मेसिनको प्रयोगलाई प्रभुले विभिन्न ग्रामिण तहसम्म पु¥याउन होमवर्क गरेको छ । नेपालमा रहेका पीओएस मेसिनहरुको प्रयोग प्रायः विदेशीहरुले नै गर्ने गरेका छन् । अब भने स्वदेशमै यसको प्रयोग बढाउन प्रभु ग्रुपले भूमिका खेल्ने भएको छ । यो मेसिन भित्रिएको लामो समय भइसक्दा पनि नेपालमा क्यासलेस ट्रान्जेक्सनको विकास तिब्र गतिमा हुन सकेको छैन । किनमेल गर्दा नगद नै बोकेर जाने नेपालीहरुलाई हातमा नगद नहुँदा बैंकमा भएको रकम सिधै क्रेडिट तथा डेबिट कार्डहरुबाट खर्च गर्ने बानीको विकास हुनेछ । पिओएस कार्ड मेसीन के हो ? पिओएस मेसीन क्यासलेस कारोबामर गर्ने माध्यम हो । जसबाट ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्डको प्रयोगबाट रकम भुक्तानी गरी सामान तथा सेवा खरिद गर्न सक्छन् । दैनिक उपभोग्य सामान किन्ने पसल, डिपार्टमेन्टल स्टोरहरु, ठूलाठूला सपिङ मलहरु, होटल, हवाई टिकट सिनेमा हल लगायत पैसाको कारोबार गरिने जुनसुकै स्थानहरुमा पनि यो मेसिनको प्रयोग गर्न सकिन्छ । एटीएम वा बैंकमै गएर नगद निकाल्नुपर्ने झन्झटलाई यो सिस्टमले निर्मूल पार्नेछ । साथमा पैसा हराउने अथवा लुटिने लगायतका समस्याबाट पनि बच्न सकिन्छ । जसको प्रयोग समुन्नत मुलुकहरुमा अत्याधिक हुने गर्दछ । यस किसिमको कारोबार बढ्दै गयो भने नेपाल राष्ट्र बैंकलाई नोट छापीरहनु पर्दैन । नोट छाप्दा विदेशीने मोटो रकमको बचत हुनुका साथै डिजिटल फाइनान्स पूर्ण रुपमा कार्यान्वयनमा आउने बताइएको छ ।

भाइबरबाट मोबाइलमा फोन गर्दै हुनुहुन्छ ? पाँच लाख रुपैंयाँ जरिवानामा परिएला

काठमाडौं । के तपाई भाइबरबाट मोबाइल वा ल्याण्ड लाइनमा फोन गर्दै हुनुहुन्छ ? सावधान ! पाँच लाख जरिवानामा परिएला । नेपालमा भाइबरबाट मोबाइल र ल्याण्डलाइन फोनमा कल गर्नुलाई भिओआइपी जस्तै अबैध मानिन्छ । भाइबरबाट मोबाइल र ल्याण्डलाइन फोनमा कल गर्नुलाई प्राबिधिक भाषामा भाइबर आउट भनिन्छ र यसले राजश्व छल्नुका साथै नेपाली मुद्रा अनधिकृत रुपमा विदेशिन्छ । त्यसैले नेपालमा भाइबरका प्रयोग कर्ताहरुमाथी नेपाल दुर सञ्चार प्राधिकरणले निगरानी अघि बढाएको छ । प्राधिकरणले सार्वजनिक सूचना निकालेरै कारवाहीको चेतावनी दिएको हो । ‘भाइबरको प्रयोग गरेर इन्टरनेट कल मात्रै गर्न पाउने व्यवस्था छ तर भाइबरबाट मोबाइल र ल्याण्डलाइनमा समेत फोन गरिएको उजुरी परेको छ, यसले राजश्वमा नोक्सानी पुग्ने र नेपाली मुद्रा अनधिकृत रुपमा विदेशीने देखिएपछि हामीले निगरानी बढाएका हौं’, नेपाल दुर सञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले भने । उनले भाइबर आउट पनि भिओआइपी जस्तै अबैधानिक भएकाले सचेत रहन उपभोक्ताहरुलाई आग्रह पनि गरे । भाइबर आउटको रिचार्जका लागि विदेशमा पैसा पठाउनुपर्ने भएकाले पनि सबैले सचेत हुनुपर्नेमा जोड दिए । भाइबर आउट गरेमा विगो बमोजिमको जरिवाना र अधिकतम ५ लाखसम्म तिनुपर्ने कानुनी व्यवस्था रहेको छ । नेपालमा भाइबर आउट सेवाका लागि इसेवाले काम गरिरहेको छ । इसेवाले आफ्नो अकाउण्टबाट क्रेडिट कार्डबिनै भाइबर आउटका लागि पैसा तिरिदिँदै आएको छ । इसेवाको आफ्नो वेभसाइटमा पनि भाइबर आउटको रकम तिर्ने सुबिधा रहेको जानकारी राखिएको छ ।

हेफर इन्टरनेशनल नेपालको २० औ बार्षिकोत्सव-नेपालको जिडिपीमा देखिने काम गर्ने प्रतिवद्धता

काठमाडौं । पशुपालनको क्षेत्रमा काम गर्दै गरेको अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हेफर इन्टरनेशनलले नेपालमा काम गरेको २० वर्ष पूरा भएको छ । २० औं बार्षिकोत्सवको अवसरमा आयोजित पत्रकार सम्मेलनमा हेफर इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत पाईरे फरारीले नेपालमा संस्थाले हासिल गरेको उपलब्धी विश्वभरका लागि प्रशिक्षण केन्द्रको रुपमा विकास भएको बताए । सिईओ फरारीले नेपालबाट विश्वका धेरै देशले सिक्न सक्ने बताए । ‘पशु पंक्षीहरुलाई सन्तुलित आहार व्यवस्थापन हुन नसक्दा किसानहरुले अपेक्षित फाइदा लिन नसकिरहेको सन्दर्भमा हेफरले किसानलाई प्रविधि विकास गरेर हस्तान्तरण गर्न सफल भएका छौं ।’ हेफरका प्रमुख कार्यकारी अधिृकत फरारीले भने, ‘नेपालका ११ हजार परिवार गरिब किसानले यसबाट लाभ लिन सफल भएका छन् ।’ आगामी केही वर्षमा नेपालको कूल ग्राहस्थ उत्पादनमै देखिने गरी हेफर नेपालले प्रगति गर्ने दावी सिईओ फरारीले गरेका छन् । २० वार्षिकोत्सव समारोहमा आयोजित पत्रकार सम्मेलनमा फरारीले भने, ‘हामी अर्को चरणमा प्रवेश गर्दैछौं, आगामी ३ देखि ५ वर्षभित्रमा नेपालको मासु आयातमा यसले नतिजा देखाउनेमा म विश्वस्त छु ।’ अमेरिका मुख्यालय रहेको हेफर इन्टरनेशनल नेपालमा स्थापनाकालदेखि नै पूर्ण रुपमा नेपालीहरुको नेतृत्वमा सञ्चालित रहेको जानकारी पत्रकार सम्मेलनमा दिइयो । पत्रकार सम्मेलनमा हेफर इन्टरनेशनलका बरिष्ठ कार्यक्रम उपाध्यक्ष डा. महेन्द्रनाथ लोहनीले किसानलाई व्यवसायिक हुन संस्थाले भूमिका खेलेको उल्लेख गर्दै यसअघि हचुवाको भरमा बिक्री हुने पशुपंक्षि संस्थाले चलाएको अभियानपछि जोखेर बिक्री गर्ने पद्धतिको विकास भएको र यसबाट किसानले सही मूल्य पाउन सहज भएको जानकारी दिए । पत्रकार सम्मेलनमा हेफर इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर शुभ महतोले संस्थाले नेपालको ४१ जिल्लाका करिब दुई लाख ५० हजार जनाले लाभ लिएको बताउँदै आर्थिक विकास, समुन्नत जिविकोपार्जन र खाद्य तथा पोषण सुरक्षामा उल्लेखनीय काम गरेको जानकारी दिए । सामाजिक शसक्तिकरण र संस्थागत सुदृढिकरण तथा दिगो उत्पादन र व्यवस्थित बजार प्रणालीलाई मुख्य आधार मानेर काम गर्दै आएको संस्थाले ‘मूल्यमा आधारित सर्वाङ्गिण सामुदायिक विकास’ लक्ष्य प्राप्तिको लागि अघि बढिरहेको कन्ट्री डाइरेक्टर महतोले बताए । साथै डाइरेक्टर महतोले संस्थामा दुई सय ९ वटा सहकारी आबद्ध भएर काम गरिरहेको जानकारी दिँदै यस पटकको दशैंमा हेफरमा आबद्ध भएका किसानबाट उत्पादित करिब २५ हजार खसी बजार बिक्रीको लागि गएको जानकारी समेत दिए । संस्थाका कार्यक्रम निर्देशक डा. तिर्थराज रेग्मीले किसानलाई बाख्रा उपहार दिने संस्थाको नीति भएको जानकारी दिँदै अन्य संस्थाले जस्तो सापटी दिने प्रक्रिया नरहेको फिर्ता गर्नु नपर्ने बताए । उनले उपहार दिने संस्कृतिको विकास गर्न संस्थाले भूमिका खेलिरहेको समेत बताए । डा. रेग्मीले सन् २०२३ सम्ममा प्रतिस्पर्धात्मक दिगो र समावेशी बाख्रा तथा दुग्ध मूल्य श्रृङ्खलामा आधारित उद्यम मार्फत करिब पाँच लाख परिवारलाई गरिबीबाट माथि उकास्ने लक्ष्य प्राप्तिको लागि काम गरिरहेको बताए । पत्रकार सम्मेलनमा संस्थाकी कार्यक्रम निर्देशक निना जोशीले हेफरले सन् १९९३ मा चितवनको गितानगरमा बरुवा बाख्रापालन परियोजना सुरु गरेको जानकारी दिँदै २५ परिवारबाट सुरु भएको बाख्रा पालन अहिले १५ पुस्तामा पुगेको बताइन् । निर्देशक जोशीले साना किसानको आयमा करिब दोब्बरले बृद्धि गर्न सफल भएको उदाहरण दिँदै वातावरण संरक्षण, महिला सशक्तिकरण, सामाजिक सद्भाव बलियो बनाउने महत्वपूर्ण योगदान पु¥याएको जानकारी दिइन् । हेफर इन्टरनेशनल नेपालले आफ्नो स्थापनाको २० औं बार्षिकोत्सव सोमबार भव्य रुपमा मनाएको छ । राजधानीको होटल अन्नपूर्णमा आयोजित कार्यक्रममा हेफरमा आबद्ध गैर सरकारी संस्था किसानहरु समेत उपस्थिति रहेको थियो । पशुपंक्षी विकास मन्त्री सन्त कुमार थारुको प्रमुख आतिथ्यमा सम्पन्न भएको बार्षिकोत्सव कार्यक्रममा पशुपंक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसी तथा समाज कल्याण परिषदका उपाध्यक्ष निलमणि बरालले हेफरले सञ्चालन गरेको कार्यक्रमहरुको प्रसंशा गर्दै सफलताको शुभकामना व्यक्त गरेका थिए ।

माथिल्लो तामाकोसीको ९१ प्रतिशत काम सकियो, कात्तिकभित्रै सुरुङ ‘ब्रेक थ्रु’

काठमाडौं ।निमार्णधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काम लगभग अन्तिम चरणमा पुग्न लागेको छ । हालसम्म आयोजनाको ९१ प्रतिशत काम सकिएको छ । राष्ट्रिय गौरवको आयोजना तामाकोसीको काम अब ९ प्रतिशत मात्र बाँकी छ । आउदो कात्तिकसम्म मुल सुरुङको काम पनि सम्पन्न हुने अपरतामाकोसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञान श्रेष्ठले बताए । उनका अनुसार आयोजनाको जटिल प्रकृतिका काम सम्पन्न भएका छन् । हाल इलेक्ट्रोमेकानिकल र हाइड्रोमोकानिकल उपकरणको जडानको काम भइरहेको छ । यस्तै गोंगरबाट न्यूखिम्तीसम्म २२० केभी क्षमताको प्रसारणलाइन निर्माण भइरहेको छ । निर्धारित समयमा आयोजना सम्पन्न हुने गरी काम भइरहेको उनले जानकारी दिए । श्रेष्ठकाअनुसार आयोजनाबाट आगामी ०७५ को असार अन्तिमसम्म पहिलो युनिट सञ्चालनमा ल्याउने तयारी छ । यस्तै सोही वर्षको मंसिरसम्म बाँकी युनिट सञ्चालनमा ल्याइने भएको छ । आयोजनाको कुल लागत ३५ अर्ब २९ करोड रुपैयाँ भएपनि भूकम्प र नाकावन्दी र विभिन्न कारणले बढेर ४१ अर्ब ७८ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुने छ । आयोजनाको पहिलो वर्षको आम्दानी ९ अर्ब रुपैयाँ हुने छ । आयोजनामा सभिल ठेकेदारमा चीनको सिनो हाइड्रो कर्पोरेशन, हाइड्रोमेकानिकल उपकरण आपूर्ति भारतको टेक्सम्याक लिमिटेड, इलेक्ट्रोमेकानिकल उपकरणमा अष्ट्रियाको एन्ड्रिज हाइड्रो र प्रसारणलाइन निर्माणमा भारतको केईसी इन्टरनेसनल र परामर्शदातामा नरकन्सल्ट ल्याह्मेयर इन्टरनेसनले काम रहेका छन् । यता कम्पनीले रोल्वालिङ डाइभर्सनबाट बिजुली उत्पादन गर्ने भएको छ । सरकारले रोल्वालिङ डाइभर्सनबाट बिजुली उत्पादन गर्नका लागि सर्वेक्षण अनुमतिपत्र (लाइसेन्स) दिएको छ । यो आयोजना सम्पन्न भएपछि तामाकोसीमा १५ करोड ७० लाख युनिट बिजुली थप हुनेछ । माथिल्लो तामाकोसीले रोल्वालिङ डाइभर्सन निर्माणका लागि रोप वे निर्माण गर्ने भएको छ । सडक मार्ग भन्दा रोप वे बढी प्रभावकारी भएको भन्दै छेतछेतदेखि रिकुसम्म २.४ किलोमिटर लामो केवलकार निर्माण गर्न लागेको हो । केवलकार निर्माणका लागि कम्पनीले पुर्वयोग्यताको छनौटका प्रक्रियामा रहेको छ । डाइभर्सन बनेपछि सुख्खायाममा रोल्वालिङको पानी थप गरेर थप १७ करोड ६० लाख युनिट बिजुली उत्पादन बढाउने योजना छ । माथिल्लो तामाकोसी आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुनेछ । ६ किलोमिटर लामो सुरुङ खनेर रोल्वालिङको पानी तामाकोसीमा मिसाई सुख्खायाममा थप १७ करोड ६० लाख युनिट बिजुली उत्पादन हुने छ । रोल्वालिङ डाइभर्सनको परामर्शदाता जर्मनको ल्याह्मेयर इन्टरनेश्नलले आयोजनो विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरी बुझाइसकेको छ । आयोजनामा करिव साढे २ अर्ब रुपैयाँ लाग्ने (२ करोड ६० लाख डलर) लाग्ने प्रारम्भीक अध्ययनले देखाएको छ ।    

नबिल बैंक ‘सर्वोतकृष्ट व्यवस्थित वाणिज्य बैंक’ घोषित, ३ अर्ब ६१ करोड रुपैयाँ मुनाफा

काठमाडौं । नबिल बैंक “चौथो न्यूबिज बिजनेश कन्क्लेभ अवार्ड २०१७” मा “सर्वोतकृष्ट व्यवस्थित वाणिज्य बैंक –२०१७”बाट सम्मानित भएको छ । गत शुक्रबार नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर बिजय नाथ भट्टराईले राजधानीमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सशीन जोशीलाई सो पुरस्कार हस्तान्तरण गरेका छन् । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत जोशीले भने, ‘प्रतिष्ठित पुरस्कार प्राप्त गर्नु बैंकको लागि अत्यन्त गौरवको विषय हो र यस सम्मानबाट सम्मानित हुनु बैंकले विषम आर्थिक तथा बजार अस्थिरताका बावजुद प्राप्त गरेको उत्कृष्ट सफलता साथै बैंकले अबलम्बन गरेका विवेकशिल अभ्यासहरु र आफ्ना सरोकारवाला र्निदिष्ट सोचहरुको सहि मुल्याङ्कनको स्पष्ट प्रमाण हो ।’ आर्थिक बर्ष २०७३/७४मा बैंकले बैंकिङ उद्योगमै ३ अर्ब ६१ करोड रुपैयाँ उच्चतम मुनाफा गर्न सफल भएको र शेयरमा आम्दानी २६.६५ प्रतिशत र प्रति शेयर आम्दानी ५८.४१ रुपैयाँका साथ आफ्नो वासलात विस्तार गर्दै १ खर्ब ४० अर्ब पुर्‍याएको छ । गत आर्थिक बर्षको मुनाफाबाट ३० प्रतिशत बोनस शेयर र १८ प्रतिशत नगद लाभांश गरी जम्मा ४८ प्रतिशत लाभांशको घोषणा गरेको छ र बैंकको साधारण सभा यहि असोज १० गतेका लागि तय भएको छ ।

दशैंमा दरबारमार्ग सुनसान, भाटभटेनीको व्यापार फस्टायो

काठमाडौं । नवरात्री सुरु भएको झण्डै एक साता बितिसक्यो । तर दरबारमार्गका पसलहरु सुनसान छन् । देशको प्रमुख पर्यटकीय व्यापारिक केन्द्र दरबारमार्गमा पर्यटकको समेत चहलपहल छैन । आपूर्ति मन्त्रालयको अनुगमनपछि दरबारमार्गको कारोबारमा ह्रास आएको व्यवसायी बताउँछन् । दरबारमार्ग विकास बोर्डका अनुसार दरबारमार्गमा करिब दुई सयवटा पसलहरु छन् । आपूर्ति मन्त्रालयले दुई साता अघि गरेको अनुगमनका क्रममा ठगी गरेको पाइएपछि केही पसलहरु सिल गरिदिएपछि विरोध गर्दै दरबारमार्गका सबै पसलहरु बन्द भएका थिए । सिलबन्दीको विरोधमा नौ वटा पसलका व्यवसायीले पसल बन्द गरेका थिए । बढी नाफा लिएर सामान बिक्री गरेको पाएपछि दरबारमार्गका नाइक,वेन्टले, स्टोर वान र पुमाको ब्राण्डेड पसलमा सिलबन्दी गरिएको थियो । बिलविजकमा १० गुणासम्म नाफा लिएको तथा नाइकले २ हजार ६ सयमा ल्याएको जुत्ता २६ हजार रुपैयाँमा बिक्री गरेको पाइएको थियो । दैनिक झण्डै १ करोड रुपैयाँ बराबर कारोबार रहेको दरबारमार्गमा अहिले व्यापार घटेको बोर्डका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले जानकारी दिए । उनका अनुसार नियमितको तुलनामा दसैंमा कारोबार तीन गुणाले बढ्ने गरेको थियो । यसपाली दसैंमा मुश्किलले दैनिक एक करोड कारोबार भइरहेको उनले जानकारी दिए । अनुगमनपछि उपभोक्ताले दरबारमार्गका व्यवसायीलाई ’ठग’को रुपमा बुझ्न थालेको उनले बताए । उनले भने, ’सरकारले अनुगमन गरेर सिलबन्दी गरेपछि दरबारमार्गललाई ठगी गर्ने अड्डाको दृष्टिकोणबाट हेरिएको छ । अहिले दरबारमार्गमा कारोबार सुकेको छ ।’ फस्टायो भाटभटेनी उच्चवर्गका उपभोक्ताको प्रमुख बजारमध्ये भाटभटेनी सुपरमार्केटमा भीडभाड बढेको छ । भाटभटेनीमा पछिल्लो दसैंको तुलनामा यसपाली १० प्रतिशतले व्यापार बढेको सुपरमार्केटका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पानु पौडेलले जानकारी दिए । उनले भने, ’किराना पसलभन्दा पनि सस्तो मूल्यमा सामान खरिद गर्न पाउने भएकाले भाटभटेनीमा उपभोक्ताको आकर्षण बढ्दो छ ।’ भाटभटेनीमा सामान्यभन्दा दसैंमा तुलनात्मक रुपमा ३० देखि ३५ प्रतिशतले कारोबार बढ्ने गरेको पौडेलले बताए । ब्राण्डेड सामान पनि सस्तो मूल्यमा पाइने भएकाले उपभोक्ताको बाक्लो भीड लागेको उनले बताए । दसैंका अवसरमा भाटभटेनीले सामानहरुमा आक्रमक योजना ल्याएको छ । भाटभटेनीमा सामान खरिद गर्दा ५ देखि १५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको पौडेलले बताए । भृकुटीमण्डपमा पनि गत बर्षहरुको तुलनामा उपभोक्ताको भिड र व्यापार दुबै बढेको व्यवसायीहरुले बताएका छन् । दरबारमार्गमा यसपाली सेलमेलाको आकर्षण घटेको र सटरहरुकै व्यापार पनि भृकुटीमण्डप सरेको व्यवसायी एककृष्ण पौडेलले बताए । उपभोक्तामा दरबारमार्ग र भृकुटीमण्डप लगायतका बजारमा पाइने समान उस्तै हुन भन्ने सन्देश गएकाले व्यापार बढेको उनले बताए ।

नेपाल इन्भेष्टमेन्ट बैंकले दशैंमा २२ वटा शाखा खुलाउने, हेनुर्स कहाँबाट दिदै छ सेवा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले दशैंको अवसरमा आफ्ना विभिन्न स्थानका २२ वटा शाखाहरु सुचारु गराउने भएको छ । बैंकले बिदाका समयमा उपभोक्ताहरुलाई बैंकिङ कारोबारमा सहजता होस् भन्ने उदेश्यले विभिन्न शाखा विभिन्न मितिमा खुल्ला राख्ने बताएको छ । बैंकको मुख्य कार्यालय दरबारमार्ग बिहान ९ देखि १२ बजेसम्म सबै बिदाका दिन खुल्ने छ भने अन्य शाखा कार्यालयहरु तल उल्लेखित दिन र समयमा सुचारु हुने बैंकले जनाएको छ । त्यसैगरी, बैंकले काठमाडौंको ठमेलस्थित सातघुम्ती  ९९  एटिएम सेवा बिस्तार गरेको छ । पर्यटकहरुको बक्लो आवतजावत हुने ठमेलमा स्थानीय उपभोक्तालाई तत्काल बैंकिङ कारोबार गर्न सजिलो होस भन्ने उदेश्यले एटिएम सेवा विस्तार गरिएको हो । बैंकले यसअघि देशका विभिन्न स्थानमा रहेका ९८ वटा एटिएम मार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा दिदै आइरहेको छ । ९ अर्ब २४ करोड रुपैयाँ चुक्ता पूंजी रहेको बैंकले ८ लाखभन्दा बढी ग्राहकहरूलाई आफ्ना ६१ वटा शाखाहरू र विभिन्न शाखारहित बैंकिङ सुविधाहरूबाट सेवा पुर्याउँदै आएको छ । बैंकको हाल ४ लाखभन्दा बढी भिसा कार्ड प्रयोगकर्ता रहेका छन् ।