नबिल बैंकको ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित
काठमाडौं । नबिल बैंकको १८ प्रतिशत नगद लाभांश र ३० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । असोज १० गते बसेको बैंकको ३३ औं वार्षिक साधारण सभाले बैंकको संचालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । बैंकले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट आफ्ना सेयधनीलाई सो मात्राको लाभांश दिने भएको छ । बैंकले यस आ.व. २०७३/७४ मा ३ अर्ब ६१ करोड रुपैयाँ मुनाफा आर्जन गरेको बैंकले जनाएको छ । अघिल्लो वर्षको तुलनामा बैंकको मुनाफामा २५.८ प्रतिशत वृद्धि भएको छ । त्यस्तै, साेही अवधिमा बैंकको संचालन मुनाफा ५ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । उक्त रकम अघिल्लो वर्षको तुलनामा २८.४ प्रतिशतले बढी हो । साथै, कार्यक्रममा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकको पुँजी यसै बर्ष ८ अर्ब ०४ करोड रुपैयाँ पुगेको बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले बताए ।
चिलिमे कम्पनीले पायो ५८५ क्षमताका दुई आयोजनाको लाइसेन्स
काठमाडौ । स्वदेशी लगानीमा नै जलविद्युत् आयोजना निर्माण गर्न सकिन्छ भन्ने धारणा स्थापित गराएको चिलिमे जलविद्युत् कम्पनी िलिमटेडले ५८५ मेगावाट क्षमताका दुई अायोजनाको अनुमतिपत्र (लाइसेन्स) पाएको छ । विद्युत् विकास विभागले चिलिमेलाइ गोरखामा रहेको ४२० मेगावाट क्षमताको बूढीगण्डकी प्रोक र बझाङकाे सेती नदी तेस्रोको अध्ययन अनुमति दिएको हो । कम्पनीले हाल रसुवागढी, माथिल्लो सान्जेन, सान्जेन, मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । ती आयोजना सन् २०१८ को डिसेम्बरसम्ममा निर्माण गरिने भएका छन् । रसुवागढी १११ मेगावाट, मध्य भोटेकोशी १०२ मेगावाट, माथिल्लो सान्जेन १४.८ मेगावाट र सान्जेन ४२ मेगावाट क्षमताका आयोजना हुन् । कम्पनीले निर्माण गरिरहेका र अध्ययन अनुमतिपत्र पाएका आयोजनाको कुल क्षमता ८५५ मेगावाट हुनेछ । चिलिमेकाे शेयर उच्च स्थानमा छ । नेपाल स्टक एक्चेन्जका अनुसार हाल चिलिमेको प्रतिकित्ता शेयर मूल्य ७९८ रूपैयाँ पुगेको छ । विभागका महानिर्देशक नवीनराज सिंहले गत भदौ २६ गते बूढीगण्डकी प्रोक र गत असोज १ गते सेती नदीको अध्ययन अनुमतिपत्र कम्पनीलाई दिइएको जानकारी िदए । दशैँलगत्तै यी दुई आयोजनाको अध्ययन शुरु गर्ने कम्पनीका प्रबन्ध निर्देशक दामोदरभक्त श्रेष्ठले बताए । उनले निर्माणाधीन आयोजना निर्माणको अन्तिम चरणमा पुग्न लागेको र नयाँ आयोजनाको समेत अध्ययन अनुमतिपत्र पाएपछि कम्पनीको बजार मूल्य समेत बढ्ने र शेयर बजारमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास कम्पनीको छ भने । ती आयोजना आगामी दुई वर्षभित्र अध्ययन शुरु गरेर निर्माण शुरु गर्ने लक्ष्य कम्पनीको छ । चिलिमे कम्पनीले ती आयोजनाका निर्माणका लागि फरकफरक कम्पनी स्थापना गर्नेछ । बूढीगण्डकी प्रोकको लागत ५० अर्ब र सेतीको २५ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको छ । ती आयोजनामा नेपाल विद्युत् प्राधिकरण, चिलिमे कम्पनी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बीमा संस्थान र अन्य विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने र सम्बन्धित जिल्ला र गाँउपालिका तथा प्रभावित क्षेत्रका नागरिकले समेत लगानी गर्ने छन् । रासस
आर्थिक वृद्धि खुम्चिएर ४.७ प्रतिशतमा सीमित हुने एडीबीको प्रक्षेपण, बाढी र डुवान मुल कारण
काठमाडौं । विकास साझेदार एसियाली विकास बैंक (एडीबी) ले यो वर्ष नेपालको आर्थिक वृद्धि खुम्चिने प्रक्षेपण गरेको छ । बैंकले मंगलबार नेपालको आर्थिक परिदृष्य अधावधिक सार्वजनिक गर्दे आर्थिक वृद्धि खुम्चिएर ४.७ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ । तराईमा आएको बाढी र डुवानले ठुलो धनजनको क्षति भएको निष्कर्ष निकाल्दै एडीबीले यो वर्ष नेपालको आर्थिक वृद्धि खुम्चिने भनेको हो । गत वर्ष आर्थिक वृद्धि दर बढेर ६.९ प्रतिशत भएको थियो । सरकारले चालु आवमा ७.२ प्रतिशत वृद्धिको लक्ष्य लिएको छ । बाढीले ठुलो क्षति गरेको भन्दै एडीबीले यो वर्ष कृषि क्षेत्रको वृद्धि ५.३ बाट खुम्चिएर २.४ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ । यस्तै बाढी र डुवानले धानलगायत अन्य बालीमा क्षति पुगेको एडीबीले उल्लेख गरेको छ । यस्तै औद्योगिक क्षेत्र ६.६ प्रतिशतले विस्तार हुने एडीबीको अनुमान छ । ऊर्जाको नियमित आपूर्ति र निर्माण सामाग्रीको सहज उपलब्धताले आर्थिक औद्योगिक क्षेत्र विस्तार हुने अनुमान एडीबीको छ । यस्तै सेवा क्षेत्र पनि साढे ५ प्रतिशतले विस्तार हुने देखिएको छ । वित्तीय क्षेत्र विस्तार, पर्यटनमा सुधार र खुद्रा तथा थोक व्यवसायमा भएको सुधारका कारण सेवा क्षेत्रको अवस्था राम्रो हुने देखिएको हो । यस्तै यो वर्ष उपभोक्ता मूल्यवृद्धि दर बढेर साढे ६ प्रतिशत पुग्ने एडीबीको अनुमान छ । हाल मुल्यवृद्धि ३ प्रतिशत भन्दा कम छ । निर्वाचन र वित्तीय हस्तान्तरणले मूल्यवृद्धिमा केही चाप बढने अनुमान एडीबीको छ । स्थानिय तहमा भएको वित्तीय हस्तान्तरणले यो वर्ष पुँजीगत खर्च बढ्ने एडीबीले जानकारी दिएको छ । राजश्व संकलन कुल ग्राहस्र्थ उत्पादनको २३.४ प्रतिशत पुगे पनि वित्तीय घाटा बढेर ५.२ प्रतिशत पुगेको छ । निकासीको तुलनामा आयात चुलिएपछि व्यापार घाटा बढ्दै गएको एडीबीले जानकारी दिएको छ । विदेश जाने कामदारको संख्यामा आएको कमीले रेमिट्यान्स आप्रवाहमा कमी आउने अनुमान एडीबीको छ । रेमिट्यान्स आप्रवाहमा कमी र व्यापार घाटाले नेपालको वाह्य क्षेत्र अस्थिर र सुस्त हुने देखिएको छ । सेवा क्षेत्रको निकासी राम्रो रहेको एडीबीको ठहर छ । कुल सेवा क्षेत्रको ६६ प्रतिशत निकासी र १४ प्रतिशत आयात हुने गरेको छ । नेपालको सेवा क्षेत्रको पुर्वाधार, संस्थागत, कानूनी र प्रक्रियागत अवरोध भएपनि नेपालले सेवा क्षेत्रको संभावना पुरै लक्ष्य हासिल गर्ने एडीबीले बताएको छ । यस्तै अर्को विकास साझेदार विश्व बैंकले पनि यो वर्ष आर्थिक वृद्धि दर खुम्चिएर ४.६ प्रतिशत हुने अनुमान गरेको छ । विश्व बैंकले पनि आर्थिक वृद्धि खुम्चिनुमा तराईमा भएको बाढी र डुवानलाई मुख्य कारण मानेको छ ।
एभरेष्ट बैंकको ३५ हजार कित्ता हकप्रद लिलामीमा, असोज २० गतेदेखि बिक्री शुरु
काठमाडौं । एभरेष्ट बैंकले जारी गरेर बाँकी रहेको हकप्रद सेयर बोलकबोलबाट बिक्री गर्ने भएको छ । बैंकले बिक्री हुन बाँकी ३५ हजार ८४१ कित्ता हकप्रद बिक्रीका लागि मंगलबार बोलपत्र आब्हान गरेको हो । बैंकले बोलपत्रद्धारा बिक्री गरिने सेयर आगामी असोज २० गतेदेखि असोज २७ गतेसम्म खुल्ला गर्ने भएको छ । इच्छुक लगानीकर्ताले असोज २७ गतेभित्र बिक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेडमा आवेदन पेश गर्न सक्नेछन् । बैंकले चुक्तापुँजी बढाउन गत असार १८ गतेदेखि साउन २२ गतेसम्म हकप्रद निश्कासन गरेको थियो । त्यसबेला बिक्री नभएपछि बैंकले लिलामी प्रक्रियाबाट हकप्रद बिक्री गर्न लागेको हो ।
नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको साधारणसभा असोज ३१ गते, के के छन् विशेष प्रस्ताव?
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले आफ्नो ८औं वार्षिक साधारणसभा आगामी असोज ३१ गते बोलाएको छ । उक्त सभामा कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २० प्रतिशत नगद लाभांश पारित गर्ने विशेष प्रस्ताव लैजाँदै छ । साथै, सभाले सञ्चालक समितिको प्रस्ताव अनुसार आफ्ना सेयरधनीलाई ३३.३३ प्रतिशत बोनस सेयर स्वीकृत गर्ने भएको छ । कम्पनीको वार्षिक साधारणसभा असोज ३१ गते बिहान साढे ९ बजे काठमाडौंको नक्सालमा बस्ने भएको छ ।
उदयपुर सिमेन्ट उद्योग फेरि घाटामा
गाईघाट । पन्ध्र दिन यतादेखि निरन्तर विद्युत् भार कटौतीका कारण नियमित उद्योग सञ्चालन नहुँदा नाफामा रहेको उदयपुर सिमेन्ट उद्योग फेरि घाटामा जान थालेको छ । शुरुका दिनमा नियमित विद्युत् आपूर्तिका कारण नाफामा रहेका सिमेन्ट उद्योग असोजको पहिलो हप्ता विद्युत् आपूर्ति नियमित नभएपछि १५ दिनमा मात्र झण्डै दुई करोड रुपैयाँभन्दा बढी घाटा ब्यहोर्नुपरेको उद्योगको सिमेन्ट उत्पादन प्लान्ट विभाग प्रमुख नवलकिशोर साहले बताए । गत वर्षमात्र उद्योगले २५ करोड रुपैयाँ मुनाफा गरेको र यस वर्ष पनि झण्डै १० करोड रुपैयाँभन्दा माथि नाफा गरिरहेका बेला अहिले निरन्तर विद्युत् भार कटौतीका कारण रु दुई करोडभन्दा माथि घाटा भइसकेको उद्योग प्रशासनको भनाइ छ । नियमित विद्युत् आपूर्तिका लागि आफूहरुले सम्बन्धित निकायमा पटकपटक अनुरोध गरे पनि अझै दैनिक विद्युत् भार कटौती हुन नछाडेपछि अब उद्योग ओरालो लाग्ने अवस्थामा आएको समेत उद्योगका कर्मचारी बताउँछन् । रासस
भद्रपुर नगरपालिकाको बजेट ६० करोड
भद्रपुर । भद्रपुर नगरपालिकाले आव २०७४/७५ का लागि ६० करोड ७० लाख ६० हजार ८४० रुपैयाँ बराबरको आयव्यय विवरण पारित गरेको छ । नगर प्रमुख जीवनकुमार श्रेष्ठले नगरपालिकाको एक वर्षमा गरिने कार्यक्रमसहित नीति तथा कार्यक्रममा भौतिक पूर्वाधारको विकास, पर्यटन प्रवद्र्धन तथा कृषिको व्यवसायीकरण, वातावरण संरक्षण, रोजगारीको अवसरमा वृद्धि लगायत योजना प्रस्तुत गरेका हुन् । राजस्व बाँडफाँडमा कुल बजेटको नौ प्रतिशत, प्रशासनिक खर्च, ६.२९ प्रतिशत कार्यक्रम खर्च १६ प्रतिशत सामाजिक सुरक्षा खर्च, २१.६८ प्रतिशत, सशर्त अनुदान, १७.१३ प्रतिशत, बजेट विनियोजन गरिएको नगरपालिकाका इञ्जिनियर योगेन्द्र रञ्जितकारले जानकारी दिए । रासस
रिलायबल माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता २१०० रुपैयाँ मात्र
काठमाडौं । मंगलबार रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १३ दशमलब ३३ प्रतिशत बानस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २१०० रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता १५६३ रुपैयाँ रहने छ ।