आयात बढेपछि विदेशी मुद्रा संचिति घट्यो, राष्ट्र बैंक भन्छ एक वर्षको आयात धान्न पुग्छ
काठमाडौं । आयात बढेपछि विदेशी विनिमय सञ्चिति पनि घटेको छ । विदेशी मुद्रा संचिति घटेर १० खर्ब ७८ रुपैयाँमा सीमित भएको छ । गत असारमा विदेशी विनियम संचिती १० खर्ब ७९ अर्ब ५२ करोड रुपैयाँ थियो । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । साउन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४.२ महिनाको वस्तु आयात र १२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः ४१.५, १०० र ४१.३ प्रतिशत रहेका छन् । गत साउनमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग ०.६ प्रतिशतले अधिमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दर करिब स्थिर रहेको थियो । साउनमा अमेरिकी डलर एकको खरिद विनिमय दर १०२.२९ पुगेको छ । २०७४ असार मसान्तमा उक्त विनिमय दर १०२.८६ रहेको थियो । स्रोत परिचालनको तुलनामा सरकारी खर्च न्यून भएकोले गत साउनमा सरकारको २ खर्ब २८ अर्ब ९४ करोड रुपैयाँ नगद मौज्दात कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
२८ बाणिज्य बैंकले तिर्छन बार्षिक २६ अर्ब ७८ करोड कर, कुन बैंकको कति ? (सूचिसहित)
काठमाडौं । २८ वटा बाणिज्य बैंकहरुले एक बर्षमै २६ अर्ब ७८ करोड कर तिरेका छन् । ठुला करदाता कार्यालयका २८ वटा बाणिज्य बैंकहरुले गत आर्थिक बर्ष २०७३/७४ मा २६ अर्ब ७८ करोड २६ लाख ५९ हजार १ सय ५१ रुपैंयाँ १० पैसा कर तिरेका हुन् । यो कर रकम तीनै बैंकहरुले आर्थिक बर्ष २०७२/७३ मा तिरेको भन्दा ६ अर्ब ४९ करोड अर्थात ३१.९८ प्रतिशतले बढि हो । सो आर्थिक बर्षमा ३० वटा बाणिज्य बैंकहरुले २० अर्ब २९ करोड ९४ लाख ७० हजार ७ सय ६८ रुपैंयाँ ५० पैसा कर तिरेका छन् । ३० वटा बैंकमध्ये ग्राण्ड बैंकलाई प्रभु बैंकले मर्ज गरेको थियो भने लुम्बिनी बैंकलााई जनता बैंकले अक्वायर गरेको छ । बैंक तथा वित्तिय संस्थाहरुले ३० प्रतिशत आयकर, १० प्रतिशत घर बहाल कर, १५ प्रतिशत ब्याजकर र ५ प्रतिशत शिक्षा शुल्क तिर्ने गरेका छन् । सबै भन्दा धेरै कर तिर्ने बैंकको सूचिमा नविल बैंक एक नम्बरमा रहेको छ भने दोश्रो नम्बरमा नेपाल इन्भेष्टमेन्ट बैंक छ भने तेश्रो नम्बरमा कृषि विकास बैंक परेको छ । कम कर तिर्ने बैंकहरुको पहिलो नम्बरमा भने जनता बैंक परेको छ । थोरै कर तिर्ने बैंकहरुको सूचिमा सिभिल बैंक दोश्रो र एनसीसी बैंक रहेको छ । नविल बैंकले गत आवमा २ अर्ब २१ करोड कर तिरेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब ३ करोड राजश्वमा योगदान दिएको छ । त्यस्तै कृषि विकास बैंकले १ अर्ब ६४ करोड तिरेको छ । जनता बैंकले जम्मा ५ करोड ४९ लाख मात्रै कर तिरेको छ । त्यस्तै, सिभिल बैंकले ३२ करोड ३५ लाख र एनसीसी बैंकले ४२ करोड ९४ लाख मात्रै कर तिरेका छन् ।
तलव तथा ज्यालादर साढे ६ प्रतिशत बढ्यो
काठमाडौं । कर्मचारी तथा मजदुर तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीको औसत तलव तथा ज्यालादर बढेको छ । वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क ६.४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क १४.९ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा तलब सूचकाङ्कमा १४.६ र ज्यालादर सूचकाङ्कमा ४.४ प्रतिशतले वृद्धि भएको छ । तलब अन्तर्गत बैंक तथा वित्तीय संस्था, शिक्षा र सार्वजनिक संस्थान उप–समूहको तलब बढेपछि समग्र ज्याला सूचकाङ्क बढेको हो । नेपाल राष्ट्र बैंककाअनुसार बैंक तथा वित्तीय संस्थाको १०.६, शिक्षाको ५.८ र सार्वजनिक संस्थानको ४.९ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, ज्यालादर अन्तर्गत कृषि मजदूर, औद्योगिक मजदूर र निर्माण मजदूरको ज्यालादर सूचकाङ्क क्रमशः २.८, ८.९ र २.१ प्रतिशतले वृद्धि भएको छ ।
बैंकमा संस्थागत निक्षेप ४८ प्रतिशत, सर्वसाधारणकाे बचतमा अझै व्याज बढाउन बैंकहरु माथि दवाव
काठमाडौं । बैंकिङ प्रणालीमा रहेको कुल निक्षेप मध्ये करिब आधा मात्र व्यक्तिगत बचत रहेको छ । बैंकिङ क्षेत्रमा कुल २४ खर्ब १० अर्ब ३८ करोड रुपैयाँ मध्ये १२ खर्ब ७६ अर्ब १६ करोड रुपैयाँ व्यक्तिगत निक्षेप रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । कुल निक्षेपकाे ४८ प्रतिशन बचत संस्थागत रहेकाे छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलार्इ संस्थागत निक्षेप ४५ प्रतिशतमा झर्न निर्देशन दिएकाे छ । समग्र वित्तीय प्रणालीमा नै ४८ प्रतिशत निक्षेप संस्थागत भएकाेले बैंकहरूलार्इ संस्थागत निक्षेप ४५ प्रतिशतभन्दा कम बनाउन र सर्बसाधारणकाे निक्षेप ५५ प्रतिशत भन्दा माथि लैजानु चुनाैतिपूर्ण काम भएकाे छ । सर्वसाधारण निक्षेपकर्तालाई अझै व्याज बढाउन बैंकहरु माथि दवाव पर्ने देखिएको छ । गत साउनमा मात्रै ७ अर्ब रुपैयाँ बढी व्यक्तिगत निक्षेप थपिदा पनि संस्थागत निक्षेपकाे हिस्सा उच्च देखिएकाे छ । साउन मसान्तसम्ममा बीमा कम्पनी, कर्मचारी संचय कोष र नागरिक लगानी कोषको गरी ३ खर्ब ५३ अर्ब ९४ करोड रुपैयाँ बैंकिङ प्रणालीमा छ । विदेशी निक्षेप ९६ अर्ब रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । सरकारी संस्थानको २ खर्ब ४५ अर्ब ९५ करोड, गैरसरकारी संस्थाको १ खर्ब ९३ अर्ब ८० करोड, अन्तर बैंक निक्षेप ८१ अर्ब र गैरनाफा मुलक संस्थाको ८९ अर्ब ४१ करोड रुपैया निक्षेप रहेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ०.१ प्रतिशत मात्र बढेको थियो । वार्षिक बिन्दुगत आधारमा ०७४ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १५.३ प्रतिशतले बढेको छ । ०७४ साउनमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ७.८, ३५.३ र ४३.२ प्रतिशत छ । अघिल्लो वर्र्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.५, ४३.८ र ३०.५ प्रतिशत थियो । निक्षेप बढेपछि बजारमा तलरताको अवस्थामा सुधार आएको छ । तरलता बढी भएपछि राष्ट्र बैंकले रिर्भस रिपोमार्फत ६ अर्ब रुपैयाँ बजारबाट उठाइसकेको छ ।
सानिमा बैंकले शुरु गर्यो मोबाइल दक्षिणा योजना, असोज ११ गतेदेखि लागू
काठमाडौं । सानिमा बैंकले मोबाइल दक्षिणा योजना शुरु गरेको छ । बैंकले मोबाइल बैंकिङ्ग कारोबारलाई प्रबर्धन गर्न आफ्ना ग्राहकहरुको लागि यो योजनको सुरुवात गरेको हो । यो योजना मार्फत ग्राहकहरुले यस दशैंमा टिका लगाई दक्षिणा दिन सानिमा बैंकको सजिलो ई-बैकिंग मार्फत फण्ड ट्रन्सफर, टपअप/रिचार्ज, ईसेवा लोड वा बिल पेमेन्ट गरी कारोबार गर्ने ग्राहकहरु मध्येबाट हरेक दिन एक जना भाग्यशाली बिजेतालाई सामसुङ्ग जे७६ मोवाइल फोन उपहार दिइने बैंकले जनाएको छ । यस योजना असोज ११ देखि १६ गते सम्मका लागि लागू हुनेछ । साथै, बिजेताको छनोट मोबाइल बैंकिङ्ग सेवा साझेदार कम्पनी एफ१ सफ्ट इन्टरनेशनल प्रा.लिको सहकार्यमा लक्की ड्र बाट हुने बैंकले जनाएको छ ।
‘आईएमई छक्का-पञ्जा’अफर अन्तर्गत ठकुरीले पाए ६ लाखको जीवन बीमा
काठमाडौं । आईएमईको ‘आईएमई छक्का–पञ्जा’अफर अन्तर्गत दोस्रो १५ दिनको जीवनबीमा आईएमई सेवाग्राही मोहेदिनमिया ठकुरीले प्राप्त गरेका छन् । ठकुरीले यस अफर अन्तर्गत ६ लाख रुपैयाँको जीवन बीमा पाएका छन् । सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा कतार स्थित कतार युएईबाट नेपालमा पैसा पठाउने ठकुरी भाग्यशाली विजेता छनोट भएका हुन् । भाग्यशाली विजेता ठकुरी वा नीजले सिफारिस गरेको व्यक्तिले आईएमई लाइफ इन्स्युरेन्सको ६ लाख रुपैयाँ बराबरको जीवन बीमा प्राप्त गर्नेछन् । यही भदौ १२ गतेदेखि संचालनमा ल्याईएको सेवाग्राही मूखी प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशका लाखौँ सेवाग्राही सहभागी भई दैनिक ‘लक्की ड्र’मा ९०० सय जना आईएमई पे क्यास मार्फत् पुरस्कृत भइसकेका छन् । मङ्गसिर ३ गतेसम्म १२ हप्ता संचालन हुने यस सेवाग्राहीमूखी कार्यकममा पैसा पठाउने सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा सफ्टवेयर पद्वतिमा आधारित रही विजेता छानिने कम्पनीले जनाएको छ ।
एनबी ईन्सुरेन्सको ८० प्रतिशत हकप्रद सेयर पारित, पुँजी ९७ करोड २० लाख पुग्यो
काठमाडौं । एनबी ईन्सुरेन्स कम्पनी लिमिटेडको ८० प्रतिशत हकप्रद सेयर पारित भएको छ । उक्त सञ्चालक समितिको निणर्यलाई असोज १० गते बसेको बैंकको २०औं बार्षिक साधारणसभाले पारित गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ५४ करोड रुपैयाँ रहेको छ । ८० प्रतिशत हकप्रद सेयर पश्चात बैंकको चुक्ता पुँजी ९७ करोड २० लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ । हालसम्म बैंकले २२ वटा शाखा कार्यालय, २ वटा सम्पर्क कार्यालय र ८ वटा सेवा काउण्टर गरी कूल ३२ स्थानबाट बीमा सेवा प्रदान गरिरहेको छ । सभामा अध्यक्षले कम्पनीले चालु आबको असोज ७ गतेसम्ममा करिब १४ करोड रुपैयाँ प्रिमियम संकलन गरी लगानीमा ७३ करोड ६७ लाख रुपैयाँ पुर्याउन सफल भएको बैंकले जनाएको छ ।
खाद्य संस्थानले ल्याएका खसी बोका बिक्री भएन
काठमाडौ । नेपाल खाद्य संस्थानले अहिलेसम्म ८४५ खसी तथा बोका र ५७७ च्याङ्ग्रा बिक्री गरेको छ । दशैँका बेलामा मासुको मूल्य नियन्त्रण गर्न संस्थानले काठमाडौँ उपत्यका बाहिरबाट यहाँ एक हजार ८४३ खसी, बोका तथा च्याङ्ग्रा ल्याएकामा सबै बिक्री भइसकेका छैनन् । संस्थानले दाङ र हेटौँडाबाट एक हजार ५०० खसी तथा मुस्ताङबाट एक हजार च्याङ्ग्रा ल्याउने भने पनि बिक्री नभएपछि अरु ७०० खसी, बोका तथा च्याङ्ग्रा ल्याएको छैन । संस्थानले प्रतिकिलो बोका ४५०, खसी ४५५ र च्याङ्ग्रा ६७५ रूपैयाँ मूल्य निर्धारण गरी यही असोज ५ गतेदेखि आजसम्म बिक्री वितरण शुरु गरेको थियो । बिक्री नभएका करिब ४०० खसी, बोका तथा च्याङ्ग्रा बिक्री गर्न अष्टमीसम्म समय अवधि थप गरिएको संस्थानका वाग्मती अञ्चल प्रमुख भेषनाथ न्यौपानेले जानकारी दिए । अहिले गोदाममा खसीबोका तथा च्याङ्ग्रा खरिद गर्न आउनेको चहलपहल देखिएको छैन ।