पर्वतमा ४० टन लप्सी प्रशोधन
फलेवास । याे वर्ष पर्वतमा ४० टन लप्सी प्रशोधन गरिएको छ । नेपालमै सबैभन्दा बढी लप्सी उत्पादन हुने पर्वतकाे मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगमा यस वर्ष ४० टन लप्सी प्रशोधन गरिएको हो । यो वर्ष जिल्लामा १३० मेट्रिक टन लप्सी उत्पादन भएको छ । जनशक्ति र प्रविधिको अभाव तथा पर्याप्त बजार नहुँदा उत्पादित सबै लप्सी प्रशोधन गर्न सकिएको छैन्, पर्वत सामुदायिक खाद्य प्रशोधन उद्योगका सञ्चालक थानेश्वर भुसालले भने– “अझै पनि ९० मेट्रिक टन लप्सी प्रशोधन गर्न बाँकी नै छ ।” गत वर्ष जिल्लामा उत्पादित लप्सीबाट १० लाख रूपैयाँ बराबरका विभिन्न परिकार बनाएर अमेरिकातर्फ निकासी गरिएको थियो । यो वर्ष जिल्लामा उत्पादित सबै लप्सी स्वदेशमै खपत भएको छ । लप्सीबाट माडा, अचार, क्याण्डी, तितौरा, जाम, लप्सी धुलो, पिरो क्याण्डीलगायतका परिकार बन्दै आएका छन् । विगत १५ वर्षअघिदेखि लप्सी प्रशोधनका लागि स्थापित सामुदायिक खाद्य प्रशोधन उद्योगले यस वर्ष ४० टनभन्दा बढी उत्पादन गर्न नसकिएको सञ्चालक भुसालले जानकारी दिनुभयो । लप्सी प्रशोधनबाट यस वर्ष २० लाखभन्दा बढीको कारोबार भएको समेत उनले जानकारी दिए । ‘एक जिल्ला एक उत्पादन’अन्तर्गत यो जिल्लाका लागि लप्सी छनोट भएकाले यस सम्बन्धी उद्योगको विस्तार र विकासमा थप हौसला मिलेको उहाँले बताउनुभयो । जिल्लाका साविकका ३५ गाविसमा लप्सीे उत्पादन हुँदै आएको छ । कुनै बेला जंगलमा त्यसै झरेर कुहिने लप्सी पछिल्लो समय प्रशोधन गर्न थालेपछि आम्दानीको राम्रो स्रोत बन्न थालेको छ । लप्सी प्रशोधनमा जिल्ला वन कार्यालय, जिल्ला कृषि विकास कार्यालय र घरेलु तथा साना उद्योग विकास समितिले समेत सघाउ पु¥याउँदै आएका छन् । कृषि उद्यमी तथा नेपाली काँग्रेस केन्द्रीय कार्यालयका पूर्वमुख्य सचिव ऋषिकेश तिवारीले २०५५ देखि पर्वतमा लप्सीको सम्भावना देखेर यसको प्रशोधन प्रक्रिया शुरु गरेका थिए । पर्वत सामुदायिक विकास संस्थामार्फत उद्योग सञ्चालनका लागि प्राविधिक प्रक्रियामा लागेका तिवारीको सक्रियतामा लामो संघर्षपछि उद्योग सञ्चालनमा ल्याइएको हो । वनपाखामा त्यसै खेर जाने लप्सीबाट राम्रो आम्दानी हुन थालेको देखेपछि पर्वतका तीन दर्जनभन्दा बढी गाविसमा यसको व्यावसायिक खेती शुरु भएको छ । उक्त उद्योगमा अदुवा, मोरिङ्गा, अलैँची, अमला, बेसारलगायतको प्रशोधनसमेत हुँदै आएको छ ।
गण्डकी विकास बैंककोे शाखा थप ३ स्थानमा विस्तार
काठमाडौं । गण्डकी विकास बैक लिमिटेडले पोखरा लेखनाथ महानगरपालिका स्थित चाउथेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको औपचारिक उद्घाटन नेपाल राष्ट्र वैकका कार्यकारी निर्देशक तथा प्रवक्ता नारायण प्रसाद पौडेलले गरेका छ । सो अवसरमा कार्यकारी निर्देशक तथा प्रवक्ता नारायण प्रसाद पौडेलले गण्डकी विकास बैक एक सवल र सक्षम विकास बैंक भएको र उत्कृष्ट नतिजा हासिल गर्न सफल भएकोमा प्रशंशा गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई वित्तीय पहुच नपुगेका ग्रामिण क्षेत्रमा पनि शाखा विस्तार गर्न सुझाव दिए । बंैकका अध्यक्ष जगन वहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बैकको गतिविधी र भावी कार्यक्रमबारे जानकारी दिएका छन् । उक्त कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका वडा नं १४ का अध्यक्ष प्रेम वहादुर कार्की, नेपाल उद्योग वाणिज्य महासघंका पूर्व अध्यक्ष आनन्दरराज मूल्मी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले शुभकामना मन्तव्य दिएका थिए । साथै यस बैंकले असोज ०६ गतेदेखि काठमाडौंको सामाखुसी र रुपन्देहीको अमुवा शाखावाट कारोवार शुभारम्भ गरेको छ । उल्लेखित शाखा सहित बंैकको ५५ वटा शाखा कार्यालय भएका छन् । यस बैंकले असार मसान्तसम्ममा निक्षेप रु. १८ अर्ब ३३ करोड , कर्जा रु.१६ अर्ब ५१ करोड परिचालन गरेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्यले बताएका छन् ।
साउनमा बैंक तथा वित्तीय संस्थाले गरे ४ अर्ब ७६ करोड लगानी, कुल कर्जा १९ खर्ब ९१ अर्ब
काठमाडौं ।चालु आर्थिक वर्षको साउनमा बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रमा कर्जा लगानी ०.४ प्रतिशतले बढेको छ । चालु आवको साउनमा बैंक तथा वित्तीय संस्थाको ४ अर्ब ७६ करोड रुपैयाँ लगानी गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ०.७ प्रतिशत अर्थात १० अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । चालु आवको साउनसम्म कुल कर्जा लगानी १९ खर्ब ९० अर्ब ९८ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकहरुको कर्जा प्रवाह ०.१, विकास बैंकहरुको २.९ र वित्त कम्पनीहरुको ०.३ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा कृषि क्षेत्रतर्फको कर्जा ०.२, औद्योगिक उत्पादन ०.७, निर्माण क्षेत्रतर्पm १.६, थोक तथा खुद्रा व्यापारतर्फ ०.३, सेवा क्षेत्रका उद्योगतर्फ ०.९ र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १.७ प्रतिशतले बढेको राष्ट्र बैंकले जानकारी दिएको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६०.९ कर्जा घर जग्गाको धितोमा र १४.१ प्रतिशत कर्जा कृषि तथा गैर–कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.७ प्रतिशत र १५ प्रतिशत थियो । ०७४ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा २.४ प्रतिशत अर्थात ४८ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा हायर पर्चेज कर्जा १.१ प्रतिशतले बढेको छ भने ओभरड्राफ्ट कर्जा १.६ प्रतिशतले घटेको छ । १ करोड रुपैयाँसम्मको व्यक्तिगत आवासीय कर्जा १.९ र रियल स्टेट कर्जा ०.९ प्रतिशतले बढेको छ । उत्पादनशील क्षेत्रतर्फ लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्याउन सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । आर्थिक वर्ष ०७४/०७५ को पहिलो महिनामा साधारण ७ अर्ब ३९ करोड र निर्यात १४ करोड गरी कुल ७ अर्ब ५३ करोड रुपैयाँ पुनरकर्जा उपयोग भएको छ । अघिल्लो वर्षको सोही अवधिमा साधारण २४ करोड रुपैयाँ मात्र उपयोग भएको थियो । भूकम्प पीडितहरूलाई बढीमा २ प्रतिशतसम्मको ब्याजमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत समीक्षा अवधिमा ७५ करोड ९३ लाख रुपैयाँ कर्जा स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ ।
नेपाली ग्याँस बुलेटका नाममा व्यवसायीको ‘झेल’, १९९ बुलेट खरिद स्वीकृति दिन खड्काको ‘मनपरी’
काठमाडौं । नेपाली ग्याँस बुलेटको बारेमा व्यवसायीले गलत तथ्यांक दिएको पाइएको छ । व्यवसायीले दाबी गरेअनुसार ४०० थान ग्याँस बुलेट भारतमा अलपत्र नपरेको मन्त्रालयले दाबी गरेको हो । ‘भारतमा नेपाली व्यवसायीले लगानी गरेका बुलेट व्यवसायीले दाबी गरेभन्दा अति कम छन् । व्यवसायीले दाबी गरेको भन्दा ७५ प्रतिशत कम बुलेट भएको जानकारीमा छ,’ आपूर्ति मन्त्री शिवकुमार मण्डलले विकासन्यूजसँग कुरा गर्दै भने, ‘यसमा व्यवसायी पनि इमानदार हुनुपर्ने देखिएको छ । मसँग आधिकारिक तथ्यांक छ । उहाँहरुले दाबी गरेभन्दा २०-२५ प्रतिशत मात्रै बुलेटले एक्स्प्लोसिभ प्रमाणपत्र नपाएको देखिएको छ ।’ करिब ५२ वटा मात्र ग्याँस बुलेटले प्रमाणपत्र नपाएको तथ्यांक रहेको मन्त्रालयका एक उच्च अधिकारीले बताए । नेपाल एलपि ग्याँस उद्योघसंघले एक्स्प्लोसिभ प्रमाणपत्र प्राप्त हुननसक्दा करिब चार सय थान बुलेट निर्माण भई भारतमै रहेको दाबी गरेका छन् । थप १९९ बुलेट किन्न ‘मनपरी’ नेपाल आयल निगमका निलम्बित कार्यकारी निर्देशक गोपाल बहादुर खड्काले पूर्वपदाधिकारीको मिलोमतोमा गोप्यरुपमा १९९ थान ग्याँस बुलेट खरिद गर्न अनुमति दिएको पाइएको छ । बुधबार आपूर्ति मन्त्रालयले परराष्ट्र मन्त्रालयमा भारतका लागि नेपालका राजदुत दिपकुमार उपाध्यायसँग ग्याँस बुलेटका विषयमा छलफल गरेको थियो । उक्त छलफलमा खड्काले सार्वजनिक सूचना प्रकाशन नगरी १९९ थान बुलेट स्विकृती दिएको निगमका पदाधिकारीले बताएका छन् । यद्दपी निगमले असार २७ गते ७७५ वटा थान मात्र बुलेटका लागि स्विकृती दिएको थियो । मन्त्रालयले अनुगमन गर्ने मन्त्रालयले दसैं लगत्तै ग्याँस बुलेटका विषयमा अनुगमन थाल्ने भएको छ । व्यवसायी र नेपाल आयल निगमले दिएको बुलेटको तथ्यांकमा अन्तर देखिएपछि मन्त्रालयले निगमका प्रतिनिधीसहित भारतमै गएर अनुगमन गर्ने निर्णय गरेको हो । मन्त्री मण्डलले आधिकारिक तथ्यांक आएपछि मात्र बुलेटका लागि प्रक्रिया थाल्ने बताए । उनले भने, ‘वास्तवमा के भएको हो ? हामीलाई शंका छ । त्यसैले पहिले अनुगमन गरेर मात्र काम अघि बढाउँछौं ।’ हतारको निर्णयको परिणाम संसदीय समितिको हतारको निर्णयले ग्याँस बुलेट खरिदमा समस्या परेको देखिएको छ । आपूर्ति मन्त्रालयले ढुवानी विनियमावली बनाएर मात्र ग्याँस बुलेट खरिद प्रकिया अघि बढाउनुपर्ने भन्दै व्यवसायीलाई स्विकृती दिन रोक लगाएको थियो । तर व्यवस्थापिका सांसद- उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले निगमलाई साढे सात सय ग्याँस बुलेट खरिद प्रक्रिया अघि बढाउन निर्देशन दियो । मन्त्रालयका सहसचिव मुकुन्द प्रसाद पौडेलले भने, ‘हामीले विगतका फाइल पल्टाएर हेर्दा आपूर्ति मन्त्रालयले ढुवानी विनियमावली ल्याएर मात्र खरीद प्रक्रिया अघि बढाउन आयल निगमलार्इ निर्देशन दिएको थियो । तर संसदीय समितिले बुलेट खरिद प्रकृया बढाउन व्यवस्था गर्न मन्त्रालय र निगमलाई निर्देशन दिएको रहेछ ।’
दुई नयाँ जीवन बीमा कम्पनीले आरम्भ गरे कारोबार
काठमाडौं । नयाँ दुई वटा जीवन बीमा कम्पनीहरुले कारोबार आरम्भ गरेका छन् । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले शुक्रबार युनियन लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कारोबार आरम्भ गरेका हुन् । यस अघि नै नयाँ जीवन बीमा कम्पनीका रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले कारोबार आरम्भ गरेको थियो । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले बानेश्वरस्थित कर्पाेरेट कार्यालयबाट कारोबार आरम्भ गरेको हो भने सन नेपाल लाइफले कमलादीबाट कारोबार आरम्भ गरेको हो । शुक्रबारबाटै दुबै कम्पनीले बीमा सेवा समेत आरम्भ गरिसकेका छन् । युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा सुलभ अग्रवाल, शेखर गोल्छा, संदिप कुमार अग्रवाल, जगदम्बा ग्रुप, न्यौपाने ग्रुप, टिवडेवाल ग्रुप, गाडिया ग्रुप, राजेश हार्डवेयरको लगानी रहेको छ । त्यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्समा राजेन्द्र शाक्य, सत्य नारायण क्याल, पवन कुमार बंशल, सुशिल कुमार धुरका, पुस्कर भक्त शर्मा, प्रमोद अग्रवाल र निता शर्मा लगायतको लगानी रहेको छ । दुबै इन्स्योरेन्स कम्पनीलाई बीमा समितिका अध्यक्ष चापागाईले आक्रामक बजार विस्तार गर्न निर्देशन दिएका थिए ।
गुडलाईफ बेभरेजको ‘गुडलाईफ म्याङ्गो ड्रिङ्क’ नेपाली बजारमा, मूल्य २५ रुपैयाँ मात्र
काठमाडौं । एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रा.लि. तथा एसियन थाई फुड प्रा.लि.ले आफ्नो कम्पनी गुडलाईफ बेभरेजको पहिलो उप्पादन गुडलाईफ म्याङ्गो जुस नेपाली बजारमा ल्याएको छ । उत्कृष्ट म्याङ्गो पल्पहरु छनौट गरी बनाइएको यस म्याङ्गो जुस नकुहिने गरी सुरक्षितसँग टेट्रा प्याकमा प्याकिङ्ग गरिएको छ । ‘खाने होइन, पिउने म्याङ्गो’ भनिएको यस म्याङ्गो ड्रिङ्कलाई दक्ष तथा अनुभवी कामदारहरुको प्रयोग गरी गुडलाईफ बेभरेजद्धारा नेपालमै उत्पादन गरिएको हो । २०० एम.एल.मा उपलब्ध हुने गुडलाइफ म्याङ्गो जसको मूल्य २५ रुपैयाँ तोकिएको छ । यही वर्ष सुनसरीको दुहबीमा स्थापन गरिएको गुडलाईफ बेभरेज, जाजु ग्रुप र शारदा ग्रुपको संयुक्त प्रयासमा संचालन भई रहेको छ । विभिन्न खाद्य वस्तु उत्पादनमा निकै वर्षको अनुभव रहेको यस कम्पनीले निकट भविष्यमा सबै प्रकारका वेभरेजहरु बजारमा उपलब्ध गराउने कम्पनीले जनाएको छ । साथै, कमपनीले गुडलाईफ म्याङ्गो ड्रिङ्क बाहेक अरु ४० भन्दा बढी भेराइटीका बिस्कुटहरुका साथै विभिन्न २० भन्दा बढी भेराइटीका चकलेटहरु नेपाली बजारमा उत्पादन गर्दै आएको छ ।
एनसीसी बैंकको नयाँ शाखा भक्तपुरको सूर्यविनायकमा, अर्को शाखा खोल्ने तयारी
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी)ले शुक्रवार भक्तपुरको सूर्यविनायकमा शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले गरेका थिए । उक्त कार्यक्रममा प्रमुख अतिथि भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष के.पि. अवाल तथा अतिथि भक्तपुर नगरपालिका, वडा नं. ४ का वडा अध्यक्ष कुमार चौवालले एनसीसी बैंकको शाखा सूर्यविनायकमा संचालन भएकोले यहाँका व्यापारी, व्यवसायी तथा सर्वसाधारणलाई सहयोग पुग्ने अपेक्षा गरेका छन् । साथै, कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृतले सूर्यविनायकमा छरिएर रहेको बचत परिचालन गरी सोही क्षेत्रका उद्योग व्यापार व्यवसायमा टेवा पुर्याउने उद्देश्यले बैंकको शाखा संचालन गरिएको जानकारी गराए । साथै, आगामी असोज ८ गते आइतवार काठमाण्डौंको रामहिटी, सिमलटारमा अर्को शाखाको उद्घाटन गर्ने कार्यक्रम रहेको समेत बैंकले जानकारी गराएको छ ।
नेपाल बङ्गलादेश बैंकको थप तीन शाखा दलदले, ईटहरी र सिन्धुवामा
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा आफ्नो ४८ औं ,४९ औं र ५० औं शाखा संचालनमा ल्याएको छ । बैंकले नवलपरासी जिल्लाको दलदले, ईटहरी बजार र सिन्धुवा बजारबाट नयाँ शाखाहरुको औपचारिक शुभारम्भ गरेको छ । उक्त कार्यक्रमहरु बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाको उपस्थिति र बैंकका संचालकहरुको सभापतित्व तथा नेपाल राष्ट्र बैंकको डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीद्वारा उद्घाटन गरिएको थियो । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा आफ्नो मन्तव्य व्यक्त गरेका थिए । साथै, सोहि परिसरमा एटिएम सेवाहरु पनि थप गरेको जानकारी गराएको छ । यी ३ थप शाखाहरु सहित बैंकले ५० शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैंकिङ्ग सेवा तथा ४७ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ । बैंकले आ. व. २०७३/७४ मा कूल निक्षेप ४३ अर्ब ७१ करोड रुपैयाँ र कूल कर्जा ३७ अर्ब ४६ करोड रुपैयाँ परिचालन गरेको छ । साथै, बैंकले सो अवधिमा १ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।