विकासन्युज

महिन्द्राको नयाँ शोरुम नक्शालमा, पिक अप गाडी मात्र पाइने

काठमाडौं । नेपाल अधिराज्यभर विभिन्न मोडलका महिन्द्रा गाडी तथा ट्याक्टर विक्रि गर्दै आएको अग्नि इन्कर्पोरेटेड नेपालले नयाँ शोरुम नक्शालमा स्थापना गरेको छ । आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले स्थापित गरिएको उक्त शोरुममा महिन्द्राको पिक अप गाडि मात्र राखिएको छ । उक्त शोरुमको उद्घाटन महिन्द्रा एण्ड महिन्द्राको चिफ अफ इन्टरनेशनल अपरेशन अरबिन्द म्याठु र इन्टरनेशनल अपरेशनका उपाध्यक्ष सन्जय जादवले गरेका छन् । ग्राहकहरुलाई सहज एवं सुलभ सेवा दिने उद्देश्यले नक्शाल स्थित शोरुममा पिक अप गाडिमात्र राखिएको कुरा प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै, ग्राहकहरु माझ आफ्नो प्रस्तुतीलाई अझै बलियो बनाउँदै आज नक्शाल स्थित शोरुमले शहरको मूख्य क्षेत्रबाटै ग्राहकहरुलाई विश्वस्तरीय ब्राण्ड एक्सपिरियेन्स् प्रस्तुत गर्ने विश्वास कम्पनीले लिएको छ । अग्नि ईन्कर्पोरेटेड प्रा.लि नेपालको लागि महिन्द्रा एण्ड महिन्द्रा गाडीहरुको (एम् यु भि तथा ट्र्याक्टर) बेच्ने एक मात्र आधिकारिक विक्रेता हो । कम्पनीले हाल आएर नेपाल अधिराज्यभर आफ्ना विभिन्न डिलरहरु मार्फत् महिन्द्रा एण्ड महिन्द्रा गाडीको बिक्री वितरण गर्दै आएको छ । बिक्रीपछिको ग्राहकमुखी सेवा तथा स्पेयरपार्टहरुको सर्वसुलभता नै अग्नि ईन्कर्पोरेटेडको मुख्य विशेषता रहेको छ ।

सिटिभीमा मोबाइल खरिदमा हात खाली नजाने उपहार, बाइकदेखि बिदेश घुम्ने अबसर

काठमाडौं । सिटिभी मोबाइलले मोबाइल खरिदकर्तालाइ हात खाली नजाने उपहार योजना ल्याएको छ । ताम्राकार मोबाइल कम्प्लेक्सको पहिलो तल्लामा रहेको सिटिभी मोबाइलले बम्पर उपहारमा आरवान फाइभ मोटरसाइकल, मलेसिया सिंगापुर भ्रमणको प्याकेज र आइफोन सेभेन पाउने योजना समेत ल्याएको छ । दशैं र तिहारमा मोबाइल खरिद गर्ने आफ्ना ग्राहकहरुले सिटिभीमा मोबाइल किन्दा ताम्राकार मोबाइल बजारले राखेको उपहार, बिभिन्न मोबाइल कम्पनीले दिने छुट तथा उपहार र सिटिभी मोबाइलले राखेका हात खाली नजाने उपहार समेत पाउने छन् । हात खाली नजाने उपहारमा दैनिक मोबाइल, सुन चाँदीको सिक्का, पावर बैंक, ब्लुटुथ एअरफोन, टिशर्ट, १ सय रुपैयाँ देखि १० हजार रुपैयाँसम्म क्यास रहेको छन । दशैं देखि तिहार सम्म सिटिभीमा मोबाइल खरिद गर्ने ग्राहकहरुले ६ देखि ६० प्रतिशत सम्म छुटमा मोबाइल खरिद गर्न सक्नेछन् । मोबाइल एक्सचेन्ज सँगै ६० मिनेटको फेस टु फेस मोबाइल मर्मतको सुबिधा पनि राखेको सिटिभी मोबाइलका निर्देशक संगम राइले बताए । बिश्व बजारमा पाइने सबै ब्राण्डका मोबाइलको कारोबार गर्दै आएको सिटिभी मोबाइलले हरेक बर्ष दशैं र तिहारको अबसर पारी बिभिन्न उपहार र बम्पर उपहार योजना ल्याउने गरेको छ । नेपालमा पहिलोपटक मल्टिब्राण्ड मोबाइल सोरुमको अबधारणा ल्याएको सिटिभी मोबाइल ग्रुपले दरबारमार्गस्थित मर्कन्टायल प्लाजमा एप्पल वल्र्ड मोबाइल, केएल टावरमा केएल मोबाइल हब, ताम्राकार कम्प्लेक्समा सिटिभी मोबाइल तथा सिटिभी केयर र सुन्धारस्थित सिटिसी मलमा द वल्र्डभिजन मोबाइलको मल्टिब्राण्ड सोरुममार्फत कारोबार गरिरहेको छ ।

माथिल्लो तामाकोशीको भौतिक प्रगति ९० प्रतिशतभन्दा बढी, साधारण सेयर दिने तयारी

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भौतिक प्रगति ९० प्रतिशत भन्दामाथि पुगेको छ । सरकारले आयोजनाका लागि हरप्रकारको सहयोग उपलब्ध गराउँदै तोकिएको समयभन्दा पहिले पूरा गरे पुरस्कारको समेत व्यवस्था गरेपछि निर्माणले गति लिएको हो । कुल ४५६ मेगावाट क्षमताको सो आयोजनाको सबैभन्दा अप्ठ्यारो मध्येको एक ठाडो सुरुङ (भटिर्कल साफ्ट टनेल) ब्रेक थ्रु भएपछि भौतिक प्रगति ९० प्रतिशतमाथि पुगेको आयोजना प्रमुख विज्ञान श्रेष्ठले जानकारी दिए। विद्युत् गृहमा पानी ल्याउने सुरुङमध्येको सबैभन्दा अप्ठ्यारो मानिएको सो सुरुङ ३२२ मिटर लामो छ । आयोजना प्रमुख श्रेष्ठले भने, “विश्वकर्मा पूजाको दिन नै हामीले सबैभन्दा अप्ठ्यारो मानिएको ठाडो सुरुङ निर्माण सम्पन्न गरेका छाैँ, ३१ भदौ आयोजानको लागि महत्वपूर्ण दिन सावित भएको छ । सो कार्य सम्पन्न भएपछि ‘भर्टिकल स्टिल लाइनिङ’ जडानका लागि समेत मार्ग प्रशस्त भएको छ ।” भूकम्प र भारतको अघोषित नाकाबन्दीको चपेटामा परेको आयोजनाको काममा दैनिकजसो प्रगति भइरहेको उनको भनाइ छ । आगामी असार अन्त्यमा आयोजनाको पहिलो युनिट सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेको छ । आयोजनाका प्रवक्ता गणेश न्यौपानेले आयोजनाको कार्यप्रगति दैनिक जसो राम्रो अवस्थामा रहेको र तोकिएको समयमा पूरा गराउन आफूहरु प्रतिवद्ध रहेको बताए । आयोजनाको काम तीव्र रुपमा अगाडि बढेपनि प्रसारण लाइन र सव स्टेशन निर्माण कार्यले गतिलिन नसक्दा विद्युत् खेर जाने आशंकाले आयोजना र नेपाल विद्युत् प्राधिकरणलाई नराम्ररी सताएको उनको भनाइ छ । माथिल्लो खिम्ती सव स्टेशनको काम जग्गा प्राप्तिको समस्याले अगाडि बढ्न सकेको छैन । जग्गा प्राप्तिको विषयलाई समाधान गर्न पहल भइरहेको आयोजनाले जनाएको छ । रोल्वालिङको अनुमतिपत्र प्राप्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले २२ मेगावाट क्षमताको रोल्वालिङ खोला डाइभर्सन आयोजनाको अनुमतिपत्र पाएको छ । विद्युत् विकास विभागले सो आयोजनाको अनुमतिपत्र गत भदौ २५ गते आयोजनालाई हस्तान्तरण गरेको प्रवक्ता न्यौपानेले जानकारी दिए । माथिल्लो तामाकोशी आयोजनामै रोल्वालिङ खोलाको पानी मिसाउन यसअघि अध्ययन गरिए पनि नयाँ आयोजना बनाउँदा थप राम्रो हुने निष्कर्षका साथ आयोजनाको अनुमतिपत्र दिइएको हो । तामाकोशीको जलाशय रहेको स्थानभन्दा करिब २५० मिटरमाथि रोल्वालिङ खोलाको पानी प्रयोग गरेर २२ मेगावाट विद्युत् उत्पादन गरिने र सो पानी तामाकोशीको जलाशयमा नै खसालिनेछ । सो आयोजनाबाट वार्षिक करिब १६ करोड युनिट विद्युत् थप उत्पादन हुने अध्ययनबाट पत्ता लागेको छ । बालुवा थिग्ग्रयाउने मेसिन र विद्युत् गृह निर्माण गर्दा थप विद्युत् प्राप्त हुन्छ । सहज रुपमा निर्माण हुने भएकाले सो आयोजनालाई आर्कषक आयोजनाको रुपमा लिइएको छ । डाइभर्सनका लागि हालसम्म भएको अध्ययनअनुसार करिब सात किलोमिटर सुरुङ बनाउनुपर्ने छ । त्यसको विस्तृत इञ्जिनियरिङ डिजाइन तयार भइसकेकोे छ । “आयोजनाको लागत तय गर्ने काम भइरहेको छ, बल्ल अनुमतिपत्र प्राप्त भयो, हामी सबै पक्षसँग छलफल गरेर लगानी जुटाउँछौँ,” नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सञ्चालक समितिका अध्यक्षसमेत रहेएका घिसिङले आयोजनाको प्रगतिसँग नयाँ परियोजनाको पनि अनुमतिपत्र प्राप्त हुनु थप खुसीको विषय भएको बताए । आयोजनाले कर्मचारी सञ्चयकोष, नागरिक लगानीकोष लगायतलाई लगानीका लागि आग्रह गर्ने तयारी गरेको छ । ती संस्थाले माथिल्लो तामाकोशीमा लगानी गरेका छन् । रोल्वालिङ डाइभर्सनको बाँधस्थल विकटमा रहेकाले त्यहाँसम्म पुग्न भौगोलिक जटिलता छ । केवलकार निर्माणको तयारी दोलखाको छेतछेतदेखि साविकको गौरीशंकर गाविसको रिखु गाउँसम्म करिब दुई किलोमिटर लामो केवलकार निर्माणको तयारी गरिएको छ । केवलकारबाटै निर्माण सामग्रीलगायत ढुवानीको योजना बनाएको आयोजनाले जनाएको छ । जलविद्युत् आयोजनाका लागि केवलकार निर्माण गर्न लागिएको यो नै पहिलो पटक हो । स्थानीय सहकारीमार्फत साधारण शेयर बाँडिने आयोजनाले दोलखा जिल्लावासीलाई प्रदान गर्ने साधारण शेयरका लागि स्थानीय सहकारी संस्था तथा अन्य वित्तीय संस्था परिचालन गर्ने नीति लिएको छ । आयोजनाले केही समयभित्रै स्थानीयवासीका लागि साधारण शेयर दिने र आगामी चैतमा आम नागरिकका लागि साधारण शेयर जारी गर्ने तयारी गरेको छ । यसअघि कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता र लगानीकर्ता निकायका कर्मचारीलाई साधारण शेयर दिइसकिएको छ । रासस

दशैँका लागि ४६ हजार यात्रुद्धारा टिकट बुकिङ

काठमाडौं । टिकट बुकिङ खुलेको एक हप्ता पुग्दा नयाँ बसपार्कबाट ४६ हजार ४६५ यात्रुले अग्रिम टिकट बुकिङ गराएका छन् । दशैँका लागि गत भदौ २७ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिएको थियो । भदौ २७ गते ११ हजार ८१७, २८ गते सात हजार ३३६, २९ गते छ हजार ७७४, ३० गते सात हजार ५९६, ३१ गते चार हजार ८९८, असोज १ गते चार हजार ६३० तथा असोज २ गते तीन हजार ४१४ जनाले अग्रिम टिकट बुकिङ गराएका हुन् । देशका विभिन्न भागमा जान नयाँ बसपार्क, गौशाला, सुन्धारा, पुरानो बसपार्क, कोटेश्वर, बल्खुलगायतका स्थानमा अग्रिम बुकिङ खुला गरिएको छ । सबैभन्दा धेरै यात्रु नयाँ बसपार्कबाट बाहिरिने गरेका छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला दशैँका लागि ७० प्रतिशत टिकट बुकिङ भएकोे बताउछन् । “सडकको दुरावस्था र वर्षाका कारण केही यात्रुले अझै पनि टिकट काटेका छैनन्,” उनले भने । गत वर्षको तुलनामा यस वर्ष कम टिकट बुकिङ भएको छ । बाटोको दुरावस्था र वर्षाका कारण दशैँ आउनुभन्दा १५ दिन पहिला नै हवाइजहाजको टिकट बुकिङ भइसकेको छ । विभागकाअनुसार यस वर्ष २० देखि २१ लाखसम्म यात्रु दशैँ मान्न काठमाडौं उपत्यकाबाट बाहिरिने सम्भावना छ । विभागका प्रवक्ता डा टोकराज पाण्डे १५ देखि १६ लाख यात्रु सार्वजनिक यातायातका साधन र पाँचदेखि छ लाख यात्रु निजी यातायातका साधनमा बाहिरिने बताए । “टिकट वितरणमा कुनै समस्या छैन,” उनले भने ।

मन्त्रिपरिषद् विस्तारको निर्णय सच्याउन निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले सोमबार भएको मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय सच्याउन सरकारसँग आग्रह गरेको छ । नेपाल सरकारको असोज २ गते दुई राज्यमन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार गर्ने कार्यले निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धा कुण्ठित हुने आयोगले ठहर गरेको आयोगका प्रवक्ता नवराज ढकालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । प्रेस विज्ञप्तिमा भनिएको छ, ‘‘आचारसंहिता जारी भइसकेपछि भएको सरकारको मन्त्रिपरिषद् विस्तार गर्ने निर्णयबाट निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धा कुण्ठित हुने, राज्यका संवैधानिक निकायबीच संवैधानिक दायित्वबमोजिमका शक्ति सन्तुलन तथा पृथकीकरणको सिद्धान्तको अवमूल्यन हुने र निर्वाचन आचारसंहिता प्रतिकूल समेत हुने भएकोले मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय अविलम्ब सच्याउन आयोग सरकारसँग आग्रह गर्दछ ।’’ यसअघि गत भदौ २६ गते पनि आयोगले मन्त्रिपरिषद् विस्तारले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनमा असर पर्न सक्ने जनाउँदै यस किसिमका कार्य नगर्न नगराउन सरकारसँग आग्रह गरेको थियो । रासस

सामसङको ग्यालेक्सी नोट८ नेपाली बजारमा, मूल्य १ लाख दुई हजार ९९० रुपैयाँ मात्र

काठमाडौं । सामसङ इलेक्ट्रोनिले एसपेन र दुई वटा क्यामरा भएको ग्यालेक्सी नोट८ नेपाली बजारमा भित्र्याएकोे छ । बजारमा यस फोनको मूल्य १ लाख दुई हजार ९९० रुपैयाँ मात्र रहेको छ । यस फोन एसपेनको सहायताले अझै व्यक्तिगत तरिकाबाट सम्पर्क गर्न सकिने र यसमा भएको डियुएल क्यामेराको साथ अप्टिकल इमेज स्ट्याबिलाईजेसनले जस्तो सुकै अवस्थमा पनि जीवन्त एवम् सशक्त फोटो खिच्न सकिन्छ । ग्यालेक्सी नोट८ फोनमा इन्फिनिटी डिस्प्ले, सुधारिएको एस पेन र ट्रियू डियूएल क्यामेरा रहेको छ । साथै, यसमा भएको ठूलो स्क्रीन जुन ६.३ इन्च क्वाड एचडि प्लस सुपर एएमओएलइडी इन्फिनिटी डिस्प्ले युक्त छ । कम्पनीका अनुसार यस फोनमा स्क्रिन अफ मेमोले १०० पानासम्मको मेमो अनलक नगरीकन टिप्न सकिन्छ । यसका अतिरिक्त सुधारिएको एसपेनले ट्रान्सलेटर र कन्भटरको पनि विशेष काम गर्दछ । यसबाट ७१ वटा भाषाहरु तुरुन्तै आफूलाई चाहिएको भाषामा रुपान्तरण गर्न सकिन्छ । विशेषताहरुः असीमित सम्भावनाहरु ग्लोक्सिी नोट८ र एस पेन दुबै पानी र धुलो प्रतिरोधक विशेषता (आईपी६८) युक्त छन् । चाँडो रिचार्ज हुने वाइरलेस चार्जिङले सहज एवम् सुविधा जनक तरिकाबाट चार्ज गर्न सकिन्छ । शक्तिशाली प्रदर्शन यसमा भएको ६ जिबि र्याम तथा १०एनएम प्रोसेसर र २५६ जिबिसम्म बढाउन सकिने मेमोरिले इन्टरनेट चलाउन, गेम खेल्न, भिडियो हेर्न र एकै पटकमा विभिन्न कार्य (मल्टीटाक्स) गर्नको लागि विशेष शक्ति प्रदान गर्दछ । सुरक्षा ग्यालेक्सी नोट८मा इरिज तथा फिङगर प्रिन्ट स्क्यानिङ, फेस रिकगनाइसन, पिन, प्याटरन र पासवोर्ड जस्ता सुरक्षा संयन्त्र तथा सामसङ केनक्सले तथा हार्डवेर र सफ्टवेरले अझै उच्च सुरक्षा प्रदान गर्दछन् । यसमा भएको सुरक्षित फोल्डर सुविधाले तपाइँका व्यक्तिगत र व्यावसायिक डाटालाई छुट्टा छुट्टै राख्दछ । अन्तर्क्रिया गर्ने नयाँ शैली बुद्धिमान इन्टरफेस बिक्सबे को माध्यमबाट प्रयोगकर्तासँग फोन एडप्ट भई स्मार्ट तरिकाबाट फोन चलाउन सकिन्छ । नवीन मोबाइल अनुभव सामसङ डेक्स ले एउटा डेस्कटपको अनुभव प्रदान गर्दछ । यसमा आफ्ना फाइलहरु राख्न सकिन्छ । एउटा डेक्स्टप कम्प्युटको जस्तै काम गर्न सकिन्छ र अझ धेरै सुविधाहरु प्राप्त गर्न सकिन्छ । रङ तथा उपलब्धता नेपालमा यस फोन असोज २४ गतेदेखि मिडनाइट ब्ल्याक र मेपल गोल्ड रंगमा उपलब्ध हुने छ । यसको प्रि-बुकिङ्ग सुविधा असोज २ बाट नेपालभर रहेका सामसङ ब्राण्ड स्टोर र निश्चित रिटेल स्टोरहरुबाट गर्न सकिने छ । यस अवधि भित्र ग्राहकहरुले प्रि-बुकिङ्ग गरेमा यसको सामसङ कन्भर्टिभल वाइरलेस चार्जर सित्तैमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधन नियन्त्रणमा

पोखरा । कास्की जिल्ला ट्राफिक प्रहरी कार्यालयले क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई नियन्त्रणमा लिने कार्यलाई तीव्रता दिएको छ । क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको सर्वसाधारणको गुनासो र नजिकिँदो चाडबाडमा सम्भाव्य दुर्घटना न्यूनीकरण गर्न सार्वजनिक सवारी साधनमा जाँचको कामलाई तीव्रता दिइएको प्रहरी सहायक निरीक्षक तीर्थराज पौडेलले जानकारी दिए । जाँचका क्रममा माइक्रोबसमा मुडालगायत सामान प्रयोग गरी सिट क्षमताभन्दा बढी यात्रु राख्ने गरेको पाइएको उनले बताए । केही दिनयता क्षमताभन्दा बढी सिट बनाएर यात्रु बोक्ने गरेका दैनिक १० भन्दा माथि सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्दै आएको छ । रासस

४२६ मेगावाटको फुकोट कर्णालीको डीपीआर एनईसीले बनाउने, विज्ञ नियुक्त हुँदै

काठमाडौं । सरकार स्वामित्वको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेड (एनईसी) ले ४२६ मेगावाट क्षमताको फुकोट कर्णाली जलविद्युत आयोजनाको अध्ययन गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले हालै मात्र स्थापना गरेको कम्पनीले पहिलो पटक फुकोट कर्णाली आयोजनाको संभाव्यत्ता अध्ययन गरी विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने छ । आयोजनाको अध्ययन गर्न एनईसीले विज्ञ प्राविधिक सहयोग समूह (टीएसजी) मागेको छ । विद्युत प्राधिकरण अन्तर्गतको विद्युत उत्पादन कम्पनी लिमिटेडमार्फत फुलकोट कर्णाली आयोजना निर्माण हुन लागेको हो । जलविद्युत इन्जिनियर, हाइड्रोलोजी विज्ञ, जिओटेक्निकल इन्जिनियर, स्टक्चरल इन्जिनियर, बाँध इन्जिनियर, सिस्मोलोजिकल एक्सपर्ट, इलेक्ट्रोमेकानिकल विज्ञ मागेको छ । यस्तै हाइड्रोमेकानिकल इन्जिनियर, सुरुङ इन्जिनियर, वित्तीय तथा आर्थिक विश्लेषक, ऊर्जा प्रणाली विज्ञ, निर्माण योजनाकार, ठेक्का विज्ञ र टिम लिडर नियुत्त गर्न लागेको छ । जलविद्युत आयोजनामा परामर्श सेवा उपलब्ध गराउन एनईसीको स्थापना भएको हो । कम्पनीमा विद्युत प्राधिकरणको ५१, विद्युत उत्पादन कम्पनी र राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडको १७/१७ र जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (एचआईडीसीएल) को १५ प्रतिशत सेयर लगानी छ । आयोजना निर्माणको जिम्मा सरकार स्वामित्वको विद्युत उत्पादन कम्पनीले पाएको छ । प्राधिकरणले स्वदेशी तथा विदेशी संस्थाबाट परामर्श सेवा खरिद गर्दे आएकोमा अबदेखि एनईसीमार्फत ठुला तथा साना आयोजनाको संभाव्यता अध्ययन र डीपीआर तयारीको काम हुने छ । सरकारले कालीकोटमा पहिचान भएको फूकोट कर्णाली आयोजना निर्माणको जिम्मा विद्युत उत्पादन कम्पनीलाई दिएको छ । कम्पनीले सोमबार आयोजना अध्ययनको अनुमति पाएको हो । कालिकोट जिल्लामा पर्ने फुलकोट आयोजनामा सेना, प्रहरी, शिक्षक र निजामति कर्मचारीले लगानी गरेर आयोजना निर्माण गर्नेबारे यसअघि ऊर्जा मन्त्रालयले गत जेठ ८ मा निर्णय गरेको थियो । ड्याम बनाएर क्यू ४० मा आयोजना निर्माण गर्दा लागत करिब ४१ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ अर्थात ४० करोड ८० लाख अमेरिकी डलर) अनुमान गरिएको छ । यही डिजाइनमा क्यू २५ मा निर्माण गर्दा लागत करिब ६१ अर्ब ८६ करोड रुपैयाँ अर्थात ६० करोड डलर अनुमान गरिएको छ ।