विकासन्युज

लेखापरीक्षण नगरेका संस्थानमा धमाधम लेखापरीक्षण, कार्यलले खटायो कर्मचारी

काठमाडौं । महालेखा परीक्षकको कार्यलयले लामो समयदेखि लेखापरीक्षण नगरेका सार्वजनिक संस्थानमा कर्मचारी खटाएर लेखापरीक्षणको काम थालेको छ । लामो समयदेखि लेखापरीक्षण नगरेका सार्वजनिक संस्थानमा लेखापरीक्षणको काम सुरु भएको कार्यलयले जानकारी दिएको छ । भदौभित्र लेखापरीक्षण नगर्ने सार्वजनिक संस्थानलाई कार्वाही गर्ने बताएको परीक्षकको कार्यलयले लेखापरीक्षण गर्न कर्मचारी खटाएको हो । लामो समयदेखि लेखापरीक्षण नभएको गुठी संस्थानको हाल लेखा परीक्षण भइरहेको कार्यलयले जनाएको छ । गुठीमा आर्थिक वर्ष ०५१/०६२ देखि ०६९/०७० सालसम्मको लेखापरीक्षण सम्पन्न भइ पुर्ण विवरण आउन बाँकी रहेको कार्यलयले जनाएको छ । यस्तै राष्ट्रिय बीमा संस्थानको ०६८/०६९ सालसम्मको लेखापरीक्षण सम्पन्न भई त्यसपछिको वर्षको लेखापरीक्षणका लागि परीक्षक नियुक्त भएको महालेखाका निर्देशक तथा सहायक प्रवत्ता अशोककुमार कार्कीले बताए । उनका अनुसार राष्ट्रिय बीमा कम्पनी लिमिटेडको पनि आव ०६९/७० पछिको लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्त गरी चाँडै काम सम्पन्न गर्ने कार्ययोजना कार्यलयमा बुझाएको छ । पर्यटन बोर्डमा पनि ०७०÷०७१ सालदेखिको लेखापरीक्षण गर्न महालेखाबाट टोली खटिएको छ । यसैगरी खानेपानी संस्थान र नेपाल नागरिक उडड्न प्राधिकरणको पनि लेखापरीक्षण सुरु भएको छ । नेपाल खाद्य संस्थान र जनक शिक्षा तथा सामाग्री केन्द्र लिमिटेडको पनि लेखापरीक्षण गर्न भनेको छ । उदयपुर सिमेन्ट उद्योगमा ५ वर्षदेखि लेखापरीक्षण भएको छैन् । नेपाल विद्युत् प्राधिकरण, नागरिक लगानी कोष, नेपाल औषधी लिमिटेड, राष्ट्रिय आवास कम्पनी लिमिटेड र साँस्कृतिक संस्थानको आव ०७२/०७३ को लेखापरीक्षण भई प्रारम्भीक प्रतिवेदनको प्रतिउत्तर पाउन बाँकी छ । गोरखापत्र संस्थान र नेसनल ट्रेडिङ लिमिटेडको ०७१/०७२ देखिको वित्तीय विरण आउन बाँकी छ । नेपाल रेल्वे कम्पनीको १ वर्षको लेखापरीक्षण गर्न बाँकी छ । जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड र बन्द जनकपुर चुरोट कारखानाको पनि लेखापरीक्षण गर्न बाँकी रहेको कार्यलयले जनाएको छ । त्रिभुवन विश्वविद्यालयका विभिन्न कलेजमा लामो समयदेखि लेखापरीक्षण नभएपछि कार्यलयले हाल कर्मचारी खटाएको छ । यस्तै खारेजीमा गएका सुर्ति विकास कम्पनी, हेटौडा कपडा उद्योग, कृषि औजार कारखाना र नेसनल कन्ट्रक्सन कम्पनीको ४ वर्षदेखि लेखापरीक्षण हुन बाँकी छ ।  

तेस्रो चरणमा ७३ प्रतिशत मतदान

काठमाडौ .  स्थानीय तहको तेस्रो चरणमा आज प्रदेश नं २ मा भएको निर्वाचनमा ७३ प्रतिशत मतदान भएको छ ।  निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले ७३ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए ।

वेस्टर्न युनियनद्धारा सामसुङ ग्यालेक्सी जे७ प्रो जित्ने पहिलो बिजेता घोषित

काठमाडौं । विश्वमा भुक्तानी सेवाहरुको अग्रणी कम्पनी वेस्टर्न युनियनले दशैं तिहारको अवसरमा ल्याएको ‘सम्बन्धको उत्सव’नारा सहितको योजनाको पहिलो विजेताको घोषणा गरेको छ । दसैं, तिहारको अवसरमा ल्याएको ‘सम्बन्धको उत्सव’अभियान अन्तर्गत यहि सेप्टेम्बर ११ तारिखमा सामसङ जे७प्रो जित्ने पहिलो बिजेताको नाम सार्बजनिक गरेको हो । प्रत्येक साता अभियानभर गरिने लक्की ड्रमार्फत दाङ निवासी अर्जुन ओली सामसङ जे ७प्रो जित्ने पहिलो भाग्यशाली बिजेता भएका छन् । सामसङ मोबाइल प्रत्येक साता दिनु साथमा यो अभियानले दैनिक रुपमा ग्राहकहरुलाई ५० रुपैयाँदेखि ५०० रुपैयाँसम्मको रिचार्ज कार्ड प्रदान गर्दै आएको छ । यो योजनाले विदेशमा रहेर दशै मनाउन नपाउने नेपाली दादुभाईहरुलाई नजिक ल्याउनका साथै वेस्टर्न युनियनले आफ्नो सेवा मार्फत ग्राहकहरुलाई आफ्नो आफन्तसँग नजिक भएको अनुभुति गराउनको लागि गरिएको जनाएको छ । योजनाको नारा अनुसार दशैं तिहार र छठमा आफन्तसँग रमाइलो कुराकानी गर्ने वातावरण सिर्जना गर्नका लागि अफर ल्याइएको हो । यो योजना कात्तिक ११ गतेसम्म लागु हुनेछ । सबै आफन्त र साथीभाई एकै ठाउँमा नहुन सक्छ । आफन्त र साथीभाईहरु विदेश बस्ने र काम गर्ने हुन्छन् । चाडपर्वको अवसरमा आफन्तलाई नजिक र खुसिको अनुभुति प्रधान गर्ने यो योजनाको प्रमुख उदेश्य रहेको छ ।

सेयर बजारमा पाँच अर्बको म्यूचल फण्ड आउँदै, पाँच कम्पनीले मागे अनुमति

काठमाडौं । सेयर बजारमा पाँच कम्पनीले करिब पाँच अर्ब रुपैयाँ बराबरको सामूहिक लगानी कोष (म्यूचल फण्ड) निष्काशन गर्न लागेका छन् । हालसम्म पाँच कम्पनीले ४९ करोड इकाई निष्काशन गर्ने अनुमति माग्दै बोर्डमा आवेदन दिएका छन् । सो मध्ये ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ ले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्काशन गर्न लागेको छ । यस फण्डले ग्लोबल आइएमई क्यापिटल मार्फत सो मात्राको फण्ड जारी गर्न बोर्डमा आवेदन दिएको छ । त्यस्तै, सानिमा इक्विटी फण्डले पनि १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्काशन गर्न लागेको छ । यस इक्विटी फण्डले सानिमा क्यापिटल मार्फत सो मात्राको म्युचल फण्ड जारी गर्ने भएको छ । त्यसैगरी, सिटिजन्स म्यूचल फण्ड १ ले एक अर्ब रुपैयाँ बराबरको म्यूचल फण्ड निष्कासन गर्ने भएको छ । यस फण्डले सिबिआइएल क्यापिटलबाट १० करोडको इकाई निष्काशन बोर्डमा आवेदन दिइसकेको छ । एनआईसी एसिया ग्रोथ फण्डले पनि एक अर्ब रुपैयाँ बराबरको म्यूचल फण्ड निष्कासन गर्न बोर्डसँग अनुमति मागेको छ । बोर्डको अनुमति पश्चात यस फण्डले एनआईसी एसिया क्यापिटलबाट १० करोडको इकाई निष्काशन गर्ने छ । त्यसैगरी, एनआइबिएल सहभागिता फण्डको ५० करोड रुपैयाँ बरारबको ५ करोड इकाई बजारमा आउँदै छ । यस फण्डले पनि बोर्डको अनुमति पाए पश्चात एनआईबिएल क्यापिटल मार्फत सो मात्राको म्यूचल फण्ड जारी गर्ने छ । चालु आर्थिक वर्षमा सिद्धार्थ इक्विटी फण्डले मात्र म्यूचल फण्ड निष्काशन गर्ने अनुमति पाएको छ । यस फण्डले गत भदौ १४ गते नै १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्काशन गर्न अनुमति पाएको हो । साथै, यस सिद्धार्थ इक्विटी फण्डले आगामी असोज २५ गतेदेखि असोज २९ गतेसम्म सो मात्राको म्यूचल फण्डको बिक्री खुला गर्ने भएको छ ।  इच्छुक लगानीकर्ताले आफ्नो खाता रहेको बैंकमा गई आश्वा मार्फत आवेदन दिन सक्नेछन् ।

आयल निगमबाट बर्खास्त गरिएका गोपाल खड्काले भने: सरकारको निर्णय हेरेपछि अदालत जान्छु

काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकबाट सोमबार बर्खास्त गरिएका गोपालबहादुर खड्का निर्णय हेरर मात्र निर्णयमा पुग्ने बताएका छन् । विकास न्युजसंग कुरा गर्दे खड्काले अदालतमा जाने बाटो खुला रहेको र सरकारले लगाएको आरोप हेरेपछि मात्र यस विषयमा निर्णय लिने बताए । “सरकारले कुन आधारमा हटाएको रहेछ, त्यही अधारमा उपर्युत्त निर्णय लिने छु” उनले भने । जग्गा खरिदमा अनियमितता नभएको र बोलपत्रबाट कम रकममा दिनेको जग्गा खरिद गरेको खड्काले दावी गरे । आफुले नियमसंगत रुपमा निगमको डिपो राख्नका लागि जग्गा खरिद गरेको बताउदै एकपक्षिय निर्णय भएको खड्काले जिकिर गरे । उनले खरिद प्रक्रियामा संलग्न अन्यलाई केही नगरी आफुमाथि मात्र सरकारले कार्वाही गरेको गुनासो गरे । मन्त्रिपरिषदको बैठकले खड्कालाई निगमको कार्यकारी प्रमुखबाट बर्खास्त गरेको हो । मन्त्रालयको उच्च नेतृत्व र आयल निगमले बोलपत्र माध्यमबाट जग्गा खरिद गर्दा आर्थिक अपव्यय, अपचलन र अनियमितता भएकाले आरोपमा खड्कालाई पद्च्युत गरेको हो । संसदको उपभोक्ता हित संरक्षण समितिले गरेको अध्ययन प्रतिवेदनले खड्काले जग्गा खरिदमा भ्रष्टचार गरेको आरोप लगाएको छ । समितिले कार्वाही शिफारिश गरेपछि सरकारले सोमबार खड्कालाई पदमुत्त गरेको हो । आपूर्तिमन्त्री शिवकुमार मण्डलको ठाडो प्रस्तावमा मन्त्रिपरिषदले यो निर्णय गरेको हो । २ लाख रुपैयाँ पर्ने जग्गा १६ लाख रुपैयाँमा किनेको पाइएको प्रतिवेदनमा उल्लेख छ । यस्तै वडादेखि मालपोत हुँदै प्रमुख जिल्ला अधिकारी (सिडिओ) सम्मको मिलोमतोमा भएको समितिको प्रतिवेदनमा उल्लेख छ । चलनचल्तीको भन्दा ४ गुणा बढी तिरेको समितिको ठहर छ । बोलपत्रले अत्याधिक व्ययभार पारेको र सर्वसाधारणले तिरेको रकम अपव्यय गरेको, निगमले खरिद गरेको झापाको जग्गा रेल्वे लाइन भित्र परेको र खरिद गर्ने माध्यम कानुनसम्मत देखिए आर्थिक अनियमितता गरेको समितिको निष्कर्ष छ । निगमले सात प्रदेशमा पेट्रोलियम भण्डारण स्थापना गर्न जग्गा खरिद गरेको हो ।

प्रदेश लोक सेवा गठन नहुँदासम्म कर्मचारीको पदपूर्ति लोक सेवाले गर्ने

काठमाडौ‌ं । सरकारले प्रदेश लोक सेवा आयोग गठन नहुँदासम्म प्रदेश र स्थानीय तहका कर्मचारीको पदपूर्ति लोक सेवा आयोगले गर्ने व्यवस्था गर्न सिफारिस गरेको छ । आज राज्य व्यवस्था समितिको बैठकमा कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी उपसमिति प्रतिवेदन पेश गर्दै प्रदेश लोकसेवा गठन नहुँदासम्म लोक सेवाबाट नै प्रदेश र स्थानीय तहका कर्मचारी पदपूर्ति गर्ने व्यवस्था गर्न थालिएको उपसमितिका संयोजक रेखा शर्माले जानकारी दिइन् । संविधानमा प्रदेश लोक सेवा आयोग प्रदेशसभाको निर्वाचनपछि मात्र हुने व्यवस्था गरिएको छ । उनले प्रदेश र स्थानीय तहको स्वीकृत दरबन्दीका आधारमा रिक्त पदको पदपूर्ति आयोगले गर्ने बताइन् । विधेयकमा सम्भव भएसम्म पतिपत्नीलाई एउटै संघ, प्रदेश र स्थानीय तहमा समायोजना गर्न पनि सिफारिस गरेको छ । यस्तै विधेयकमा समायोजन हुने कर्मचारीको सेवा, शर्त र सुविधा कानून नबनेसम्म समायोजन ऐनअनुसार नै हुने उल्लेख गरिएको छ । प्रदेश र स्थानीय तहमा समायोजनपछि एकपटक बढुवा भएको कर्मचारी संघीय निजामती सेवाका लागि बढुवा हुन नपाउने व्यवस्था गरिएको छ । बैठकमा राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले समायोजन ऐन चाँडै ल्याएर कर्मचारी खटाउन आवश्यक रहेको बताइन् । “समायोजन ऐन नआउँदा अरु ऐनमा बाधा पुगेको छ”, उनले भनिन् “हामीले भोलि आउने कुरालाई ध्यानमा राखेर समायोजन ऐन बनाउँछौँ ।” बैठकमा उपसमिति संयोजक शर्माले कर्मचारीलाई जबर्जस्ती नभई प्रेरित गरेर कर्मचारीलाई पठाउनुपर्ने बताइन् । यस्तै विधेयकमा कर्मचारी समायोजन नभएसम्म सरकारले खटाएको संघ, प्रदेश र स्थानीय तहमा जानुपर्ने उल्लेख छ । बैठकमा कानून, न्याय तथा संसदीय मन्त्रालयका सचिव कमलशाली घिमिरेले समायोजन गर्दा संघ, प्रदेश र स्थानीय तह जो जहाँ छन् त्यही तहमा सरुवाको व्यवस्था गर्नुपर्ने बताइन् । रासस

प्रदेश नं २ मा ३ बजेसम्म ६३ प्रतिशत मतदान

काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा अपराह्न ३ बजेसम्म करिब ६३ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्र जेइओसीबाट प्राप्त पछिल्लो जानकारीअनुसार सिरहा, बारा, रौतहट र धनुषामा ६५, महोत्तरीमा ६२ तथा सप्तरी, पर्सा र सर्लाहीमा ६० –६० प्रतिशत मतदान भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतले तोकेको क्षेत्रभित्र प्रवेश गर्ने मतदाताले मतदान गर्न पाउने जानकारी आयोगले दिएको छ ।रासस

हवाई मार्गले जोडिएसँगै पर्यटन व्यवसायी उत्साहित

चितवन । देशका प्रमुख चार पर्यटकीय शहरलाई हवाई यातायातले जोडिएसँगै पर्यटन व्यवसायी उत्साहित भएका छन् । प्रमुख पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी हवाई यातायातले जोडेको छ । काठमाडौँबाट तीन वटा शहरमा हवाई यातायात सुविधा भए पनि एक शहरबाट अर्को शहरमा सिधा हवाई सेवा थिएन । अहिले पोखरा–भरतपुर र पोखरा–भैरहवा हवाई सेवा शुरु भएको छ । बुद्ध एयरले यी तीन शहर हवाई यातायातमार्फत् जोडेको हो । यससँगै छोटो समयका लागि नेपाल आउने विदेशी पर्यटक लाभान्वित हुने भएका छन् । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरे नारायणगढ–मुग्लिन सडक बिग्रिएको अवस्थामा पोखरासँग हवाई यातायातले जोडिंदा निकै उत्साहित भएको बताउँछन् । यहाँ आएका पर्यटक हवाई माध्यमबाट पोखरा जान थालेको र पोखराबाट यहाँ आउन थालेको उनले बताए । चितवन आएका पर्यटक पनि पोखरा हुँदै लुम्बिनीसम्म जहाजमै जानसक्ने भएका छन् । यसअघि काठमाडौँबाट जुन शहरमा गए पनि पुनः काठमाडौँ गएर अर्को शहरमा जानुपर्ने बाध्यता रहेको थियो । पछिल्ला वर्षमा विदेशीको तुलनामा नेपाली पर्यटकको संख्या उल्लेख्य रहेको छ । हवाई सुविधासँगै नेपाली पर्यटक पनि एक अर्को गन्तव्यमा आवतजावत गर्न थालेको घिमिरेले बताए । चितवनमा चितवन राष्ट्रिय निकुञ्ज र त्यहाँ रहेका दुर्लभ वन्यजन्तु अवलोकन गर्न र यहाँका थारु संस्कृति हेर्न वर्षेनी २ लाखको हाराहारीमा पर्यटक आउने गर्दछन् । पोखराबाट चितवन पर्यटक पठाउन अप्ठ्यारो परिरहेको अवस्थामा हवाई सम्बन्ध जोडिएपछि पोखरेली पर्यटन व्यवसायी पनि खुशी भएका छन् । पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचन सडकका कारण समस्या भइरहेका बेला हवाई सम्बन्ध जोडिएपछि समग्र नेपालको पर्यटन क्षेत्रमा सहयोग पुग्ने बताउँछन् । चारवटै सहरसँगको ‘एयर कनेक्टिभिटी’पछि स्तरीय पर्यटक बढ्ने उनको अनुमान छ । छोटो समयका लागि नेपाल आउने पर्यटकले महत्वपूर्ण पर्यटकीय गन्तव्य घुम्न पाउने उनले बताए । नारायणगढ–मुग्लिन सडकका कारण दयनीय अवस्थामा रहेको चितवनको पर्यटनलाई पनि यसले उकास्ने तुलाचनको भनाइ छ । पोखरामा वर्षेनी चार लाखको हाराहारीमा विदेशी पर्यटक आउने गर्दछन् । पोखरा र चितवनमा होटल सञ्चालन गर्नेको संख्या पनि बढ्दो छ । त्यसमध्येको एक होटल बाराहीका प्रबन्ध निर्देशक विप्लव पौडेल प्रमुख शहरमा हवाई सम्बन्ध जोडिएसँगै व्यवसायिक हिसाबले फलदायी हुने बताउँछन् । पोखराका पर्यटक चितवन ल्याउन र चितवनका पर्यटक पोखरा लैजान हवाई मार्ग उपयोगी हुने उनको भनाइ छ । भारतीय ट्राभल्स एजेन्सीले बुद्धको जन्मभूमि भन्दै लुम्बिनीसम्म पर्यटक ल्याएर त्यहीँबाट फर्काउने गरेका छन् । जसका कारण लुम्बिनी भ्रमण गर्ने पर्यटकलाई पनि आफू नेपाल आएको थाहासम्म नहुने गरेको छ । सिद्धार्थ होटल एसोसिएसन लुम्बिनीका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ सहज हवाई सम्बन्ध नेपालका पर्यटकीय गन्तव्यमा हुनसकेमा सोझै पर्यटक आउने बताउँछन् । एक रातसम्म नेपाल नबसी बिहान आएर बेलुका लैजाने भारतीय ट्राभल्सका कारण अन्य शहरमा पर्यटक नजाने गरेको उनले बताए । भिसा लगाउन नपार्ने भएपछि भारत हुँदै आएका पर्यटकलाई लुम्बिनी कुन देशमा पर्दछ भन्नेसमेत थाहा नभएको उनको भनाइ छ । बुद्धको दर्शन गर्न आउने पर्यटकले पोखरा, सौराहा र काठमाडौँका पर्यटकीय स्थलको दर्शन गर्ने अवसर एयर कनेक्टिभिटीबाट प्राप्त हुने उनले बताए । लुम्बिनीमा म्यानमार, थाइल्याण्ड, भियतानाम, श्रीलंका, कोरिया, जापान, चीनलगायतका देशबाट आउने बौद्ध धर्मावलम्बी त्यहीँबाट फर्किने गरेका छन् । यातायातको सुविधा प्रबद्र्धन गर्न सकेमा ती पर्यटक सोझै यहाँ आउने र प्रमुख गन्तव्यको भ्रमण गर्ने पनि उनले बताए । सन् २०१६ मा लुम्बिनीमा १ लाख ३६ हजार पर्यटक भित्रिएका थिए । सन् २०१७ को हालसम्म १ लाख ५६ हजार पर्यटक भित्रिएका छन् । होटल एसोसिएसन अफ नेपाल हानका महासचिव विनायक शाह पर्यटकीय शहरको बीचमा हवाई यातायात हुँदा पर्यटन प्रबद्र्धनमा ठूलो टेवा पुग्ने बताउँछन् । सानो जहाजबाट यातायात जोडेको भए पनि यात्रुको चाप बढाउन सकेमा ठूला जहाज चल्ने बताउँदै उनले छोटो समयका लागि आएका पर्यटकलाई धेरै ठाउँमा देखाउन सकिने पनि बताए । विदेशी ट्राभल एजेन्सीहरुले आफ्नो नेपाल आउने भ्रमण प्याकेजमा चितवनलाई हटाउने गरेकामा अब सहज भएको उनले बताए । हाल बुद्ध एयरले मात्र सेवा विस्तार गरेकामा अन्य एयरलाइन्सलाई पनि यसमा आकर्षित गर्नुपर्ने शाहको भनाइ छ । सन् २०१६ मा नेपालमा सात लाख ५३ हजार पर्यटक भित्रिएका थिए । सन् २०१७ को हालसम्म चार लाख ५० हजार पर्यटक नेपाल भित्रिएको बताउँदै उनले यो वर्ष नौ लाखको हाराहारी पर्यटक भित्रिने अपेक्षा गरिएको बताए । यसअघि सन् २०१२ मा सबैभन्दा बढी आठ लाख तीन हजार पर्यटक नेपाल भित्रिएका थिए । नेपालको पहिलो पर्यटकीय गन्तव्य काठमाडौँ हो भने दोस्रो पोखरा, तेस्रो चितवन र चौँथो लुम्बिनी हो । रासस