तेस्रो चरण निर्वाचनमा ७७ प्रतिशत मतदान
काठमाडौ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहमा असोज २ गते सोमबार भएको निर्वाचनमा ७७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) मा प्राप्त विवरणअनुसार सप्तरीमा ७६.४ प्रतिशत, सिरहामा ७७.४ प्रतिशत, धनुषामा ७३.७ प्रतिशत, महोत्तरीमा ७३.३ प्रतिशत, सर्लाहीमा ७६.३ प्रतिशत, रौतहटमा ८०.४ प्रतिशत, बारामा ७९.४ प्रतिशत र पर्सामा ८०.१ प्रतिशत मतदान भएको छ । यसैबीच, १३६ स्थानीय तहमध्ये अहिले बिहान १० बजेसम्म ८९ स्थानीय तहमा मतगणना शुरु भइसकेको छ । बाँकी स्थानमा सम्बन्धित स्थानीय तहका राजनीतिक दलसँग समन्वय गरेर मतगणना शुरु गर्ने तयारी भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । रासस
ग्रामीण विकास बैंकको एफपीओमा माग भन्दा बढी आवेदन, हेरौँ कति पर्यो ?
काठमाडौं । नेपाल ग्रामीण विकास बैंकले भदौ २७ गतेदेखि छिटोमा ३० गतेसम्म जारी गरेको थप सार्वजनिक निष्काशन (एफपीओ)मा माग भन्दा बढीको आवेदन परेको छ । बैंकद्धारा तोकिएको सो मितिसम्ममा २ अर्ब ७४ करोड ४० लाख ११ हजार ७ सय आवेदन परेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । बैंकले प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ९ लाख ७५ हजार कित्ता साधारण शेयरहरुको सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । बिक्री प्रबन्धकका अनुसार आवेदन खुल्ला गरेको पहिलो दिन (मंगलबार) ३० करोड पच्चिस लाख भन्दा बढीको आवेदन परेको थियो भने दोस्रो दिन ५२ करोड भन्दा माथिको परेको छ । त्यस्तै, तेस्रो दिन ७६ करोड ३८ लाख भन्दा बढी आवेदन परेको थियो । त्यसैगरी, चौथो अर्थात अन्तिम दिन १ अर्ब १५ करोड ७० लाख भन्दी बढी आवेदन गरी २ अर्ब ७४ करोड ४० लाख ११ हजार ७ सय आवेदन परेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । तोकिएको मितिसम्ममा माग अनुसारको आवेदन नपरेमा असोज १० गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिए पनि मागभन्दा बढी आवेदन परेपछि यही भदौ ३० गते नै एफपीओ बन्द गरिएको बैंकको बिक्री प्रबन्धकले जनाएको छ ।
निस्दी गाउँपालिकाको बजेट रकम ३७ करोड
पाल्पा ः निस्दी गाउँपालिकाको प्रथम गाउँसभाले आर्थिक वर्ष ०७४/०७५ को बजेट सार्वजनिक गरेको छ । गाउँसभाले गाउँपालिकाका लागि ३६ करोड ९५ लाख ६७ हजार ७४३ रुपैयाँ बराबरको बजेट स्वीकृत गरेको हो । कुल बजेटमध्ये गाउँपालिकाले नेपाल सरकारबाट निःशर्त अनुदानबाट १७ करोड ९९ लाख ६१ हजार रुपैयाँ , सशर्त अनुदानबाट १४ करोड ८८ लाख ९७ हजार रुपैयाँ , गत वर्षको वडाको मौज्दातबाट ७४ लाख ३२ हजार ६३ रुपैयाँ , आन्तरिक राजस्वबाट १५ लाख रुपैयाँ र सामाजिक सुरक्षाअन्तर्गत ३ करोड १७ लाख ७७ हजार ६८० रुपैयाँ गरी रकम जुटाउने लक्ष्य राखेको छ । गाउँपालिकामा कृषिको सम्भावना रहेकाले जनतालाई कृषिमा आत्मनिर्भर बनाई आयआर्जन बढाउन बाली विकास कार्यक्रम, माटो सुधार कार्यक्रम, वीजवृद्धि, फलफूल विकास कार्यक्रमलगायतका कार्यक्रम सञ्चालनको गाउँपालिकाले रु एक करोड १६ लाख ९२ हजार विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताए । उनले पूर्वाधार निर्माणअन्तर्गत सडक निर्माण र स्तरोन्नतिका लागि ४ करोड ४९ लाख ९० हजार रकम विनियोजन गरिएको बताए । गाउँपालिकाले सिँचाइका लागि ५४ लाख २५ हजार रुपैयाँ , पुल पुलेसाको लागि ३५ हजार रुपैयाँ , विद्युत् विस्तारका लागि ९ लाख ५० हजार रुपैयाँ , भवन निर्माणमा ६० लाख ५ हजार रुपैयाँ , कार्यालय व्यवस्थापनमा ६६ लाख ६० हजार रुपैयाँ विनियोजन गरेको छ । यसैगरी, पर्यटन विकासको लागि १० लाख रुपैयाँ , सहकारी विकासको लागि ११ लाख ५० हजार रुपैयाँ , पशु विकासका लागि ४८ लाख ५५ हजार ११७ रुपैयाँ , लक्षित वर्गका लागि ७६ लाख ५० हजार रुपैयाँ , खानेपानीको लागि ८९ लाख ९० हजार रुपैयाँ , शिक्षाको लागि ६५ लाख रुपैयाँ र स्वास्थ्यको लागि ४० लाख रुपैयाँ विनियोजन गरेको पनि गाउँपालिकाका अधिकृत कल्पना अर्यालले जानकारी दिइन् । गाउँपालिकाका प्रवक्ता मेखबहादुर सुनारीले गाउँपालिकाले सडक निर्माणतर्फ वडा कार्यालय र गाउँपालिका केन्द्र जोड्ने सडक विस्तार तथा स्तरोन्नतिलाई प्राथमिकता दिएको बताए । उनले गाउँपालिकाका सबै वडासम्म सडक सञ्जाल विस्तार गर्ने रणनीति लिएको पनि बताए । १ हजार ६४ मिटर सडक कालोपत्रे यसैबीच, रामपुर नगरपालिका–६ को विजयपुर बजार क्षेत्रमा सडक कालोपत्रे गर्ने काम सकिएको छ । पचास प्रतिशत मन्त्रालयबाट, २० प्रतिशत रामपुर नगरपालिकाबाट र ३० प्रतिशत उपभोक्ताको लागतमा विजयपुर बजार क्षेत्रमा एकहजार ६४ मिटर सडक कालोपत्रे भएको छ । ७८ लाख ६९ हजार ३८४ रुपैयाँको लागतमा सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष ओमप्रकाश रेग्मीले जानकारी दिए । उपभोक्ता समितिले ७३० मिटर सडक कालोपत्रे गर्ने लक्ष्यअनुसार काम शुरु गरेपनि लक्ष्यभन्दा बढी सडक कालोपत्रे गर्न सफल भएको छ । रासस
वित्तीय संस्थाको ६०० प्रतिशत हकप्रद सेयर, २०० प्रतिशत बढी हकप्रद निष्कासन गर्दा अन्तराष्ट्रिय रुपमा राम्रो मानिदैन
काठमाडौं । अन्तराष्ट्रिय मान्यता विपरित बैंक तथा वित्तीय संस्थाले ६ सय प्रतिशतसम्म हकप्रद सेयर निष्कासन गर्न थालेका छन् । नियामक निकायले चुक्तापुँजी बढाउन निर्देशन जारी गरेपछि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत बैंक तथा वित्तीय र बीमा कम्पनीले ६ सय प्रतिशतसम्म हकप्रद सेयर निष्कासन गर्न लागेका छन् । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले चुक्तापुँजी बढाउन ६ सय प्रतिशतसम्म हकप्रद सेयर निष्कासन गर्न लागेको छ । नियामक निकाय र धितोपत्र बोर्डले अनुमाति दिएमा उसले हकप्रद निष्कासन गर्ने छ । नेपालमा हकप्रद सेयर निष्कासनको सीमा नतोकिएकाले जति पनि निष्कासन गर्न सक्ने बोर्डका प्रवत्ता नीरज गिरी बताउछन् । “अन्तराष्ट्रिय मान्यताअनुसार १ बराबर २ अनुपातमा हकप्रद निष्कासन गर्ने कम्पनीलाई राम्रो मानिन्दैन तर नेपालमा कानूनी व्यवस्था भएकाले हकप्रदको सीमा छैन्” उनले भने । हकप्रद सेयर निष्कासन गर्ने कम्पनीलाई विकशित मुलुकमा कमजोर मानिने र हकप्रदको घोषणा गरेपछि सेयर भाउ ओरालो लाग्ने उनको भनाई छ । नेपालमा हकप्रद निष्कासन गर्ने भनेपछि सेयरको भाउ उकालो लाग्ने गरेको छ । बोर्डले कम्पनीको अवस्था हरेर २ सय प्रतिशतसम्म हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको गिरी बताउछन् । “सेयर निष्कासनको आधार पुष्टि भएमा जति हकप्रद निष्कासन गर्न पाउने छ” उनले भने “तर आधार पुष्टि हुनुपर्छ । हामी हचुवाको भरमा अनुमति दिदैनौ ।” नेपाल राष्ट्र बैंकले चुक्तापुँजी बढाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएपछि बैंक तथा वित्तीय संस्थाले पुँजी पु¥याउन धमाधम हकप्रद सेयर निष्कासन गर्न लागेका छन् । राष्ट्र बैंकले वाणिज्य बैंकलाई ८ अर्ब, विकास बैंकलाई साढे २ अर्ब र वित्त कम्पनीलाई ८० करोड रुपैयाँ चुक्तापुँजी पु¥याउन निर्देशन दिएको छ । सोही अनुसार पुँजी योजना तयार गरी धमाधम हकप्रद सेयर निष्कासन गरिरहेका छन् । यस्तै बीमा कम्पनीको पनि पुँजी बढाउन नियामक बीमा समितिले आउदो असारसम्म सयम दिएको छ । असारसम्म निर्जीवन बीमा व्यवसाय गर्नेले हालको २५ करोडबाट १ अर्ब र जीवन बीमा व्यवसाय गर्नेले ५० करोडबाट २ अर्ब रुपैयाँ पुँजी पुर्याउनु पर्ने व्यवस्था गरेको छ । चुक्तापुँजी बढाउन र व्यवसाय वृद्धिका लागि हकप्रद निष्कासन गरेको हो भने बोर्डले त्यस्तालाई निष्कासनको अनुमति दिने उनको भनाई छ । नियामक निकायले चुक्तापुँजी बढाउन निर्देशन दिएपछि हकप्रद सेयर निष्कासन गर्नु कम्पनीको वाध्यता भएको उनी बताउछन् । एकआपसमा गाभिन (मर्जर) प्रक्रियामा जाने संस्थाले बोनस सेयर बितरण गर्ने, त्यसले नपुगे हकप्रद र प्रिमियम मूल्यमा थप निष्कासन (एफपीओ) बिक्री भइरहेको छ । अधिकाँश बैंकले न्युन अनुपातमा हकप्रद बिक्री गरेका छन् ।
सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओ आउदै
काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले २.५ मेगावाटको दरमखोला ए साना जलविद्युत आयोजना निर्माणका लागि आवश्यक वित्तीय स्रोत जुटाउन आयोजना प्रभावित स्थानियलाई १० प्रतिशत आईपीओ निष्कासन गर्न लागेको छ । आईपीओ निष्कासनको निर्णय गर्न कम्पनीले असोज २४ गते पहिलो वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाबाट पारित भएपछि कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिने छ । कति कित्ता आईपीओ निष्कासन गर्न लागेको भन्ने खुलाएको छैन् ।
एसबीआई बैंकले अटोलोन लिन बोलायो, तुरुन्तै दिने
काठमाडौं । नेपाल एसबीआई बैंकले सवारीकर्जा (अटोलोन) लिन बोलाएको छ । बैंकले दशै र तिहारको अवसर पारेर आकर्षक ब्याज दरमा अटोलोन दिने योजना ल्याएको छ । नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरी अटोलोन खुला गरेपछि बैंकले गाडी किन्नेलाई कर्जा लिन बोलाएको हो । अटोलोनको अवधि न्युनतम ७ वर्ष, मासिक किस्तामा कर्जा तिर्ने व्यवस्था, ६५ प्रतिशत बैंकले कर्जा लगानी गर्ने र प्रक्रिया तुरुन्त सुरु हुने बैंकले जानकारी दिएको छ । इक्रा नेपालद्धारा एए रेटिङ प्राप्त एसबीआई पहिलो बैंक हो ।
१० वर्षभित्र विद्युतीय सवारी साधन चलाउन प्रस्ताव
काठमाडाै । सांसद गगनकुमार थापाले काठमाडाैं उपत्यकामा वायु प्रदूषण कम गर्न विद्युतीय सवारी साधन सञ्चालन गर्नुपर्ने संकल्प प्रस्ताव व्यवस्थापिका–संसद्मा आज दर्ता गरेका छन् । प्रस्तावमा सांसद रामेश्वर फुयाँल, दीपकप्रसाद कुइँकेल, कौशर शाह र कान्ता भट्टराईले समर्थन गरेका छन् । उपत्यकाको वायुप्रदूषणको प्रमुख कारण पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन प्रतिस्थापन गरी विद्युतीय सवारी साधनको प्रयोग गर्ने व्यवस्था गर्नुपर्ने प्रस्तावमा उल्लेख छ । संकल्प कार्यान्वयनका लागि कार्यतालिकासहितको कार्ययोजना बनाउन र नीतिगत, व्यवस्थापकीय, वित्तीय र संरचनागत व्यवस्था गरी कार्यन्वयन गर्नका लागि सरकारलाई निर्देशन दिन पनि प्रस्ताव गरिएको छ । विद्युतीय गाडीको प्रयोग बढाउन आवश्यक प्रोत्साहनका लागि निश्चित अनुदानको व्यवस्था गर्न र पेट्रोलियम पदार्थको खरिद गर्दा तिर्नुपर्ने वातावरणीय करलाई वातावरण संरक्षणकै लागि सदुपयोग गर्न प्रस्तावमा माग गरिएको छ । प्रस्तावमा सन् २०१६ को विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले वायु प्रदूषणलाई जनस्वास्थ्य संकटका रुपमा लिएको तथा प्रदूषणमा करिब ६० प्रतिशत हिस्सा गाडीको धुवाँका कारण भएको बताइएको छ । –––
सीमा जोडिएका १३ नाका खोल्न चीनसँग प्रस्ताव, बुधबार वार्ता
काठमाडौ । नेपाल–चीन सडक यातायात सम्झौता संशोधन गरी सीमा जोडिएका १३ नाका खोल्न सरकारले चीनसँग प्रस्ताव गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज मन्त्री वीरबहादुर बलायरले नेपालका लागि चिनियाँ राजदूतलगायत अधिकारीसमक्ष यस्तो प्रस्ताव गरेका हुन् । नेपाल–चीन सडक यातायात सम्झौता कार्यान्वयन गर्ने दस्तावेज (प्रोटोकल) संशोधन गरी थप नाका खोल्ने तयारी भएको उहाँले जानकारी गराए । विसं २०५१ मा भएको दुई देश बीचको सडक यातायात सम्झौताका विषयमा वार्ता गर्न चीनको सरकारी प्रतिनिधिमण्डल आजै नेपाल आउने मन्त्रालयले जनाएको छ । यससम्बन्धी वार्ता गत वर्ष चीनको ल्हासामा भएको थियो । बुधबार मन्त्रालयका अधिकारी र चिनियाँ अधिकारीबीच वार्ता गरी निष्कर्ष निकालिनेछ । यसअघि चीनसँग खासा–यारी (हुम्ला), खासा–रसुवागढी, खासा–ओलाङ्गचुङ्गोला नाका खोल्ने सम्झौता भइसकेको छ । मन्त्री बलायरले आज रसुवागढी–हिल्सा, रसुवागढी–कोरला, खासा–कोरला, रसुवागढी–डोल्पा, खासा–डोल्पा, रसुवागढी–दार्चुला, रसुवागढी–ताक्लाकोट, खासा–ताक्लाकोट, रसुवागढी–ओलाङ्गचुङ्गोला र रसुवागढी–किमाथांका नाका खोल्न प्रस्ताव गरिएको जानकारी दिए । “चीनको राजमार्ग कार्गो ढुवानीका लागि नेपालले प्रयोग पाउने गरी १३ नाका खोल्न प्रस्ताव गरिएको छ,” आज नेपालका लागि चिनियाँ राजदूत यु हङ्गसँग भएको वार्तामा उनले आफू सहमत भएको बताउँदै प्रतिनिधिमण्डलसँग समन्वयका लागि कुरा राख्ने बताए। तातोपानी नाका खोल्न पनि चिनियाँ सरकार गम्भीर रहेको राजदूत हङ्गले जानकारी गराए छन्”, उनले भने । भेटका क्रममा तातोपानी नाका बन्द हुँदा चीनसँग आयात निर्यातमा समस्या भएकाले नाका छिटो खोल्न मन्त्री बलायरले अनुरोध गरेकाे थियो । यो विषयमा पनि बुधबारको वार्तामा सम्झौता गरिने मन्त्रालयले जनाएको छ । वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्रालयका वैदेशिक समन्वय महाशाखा प्रमुख सहसचिव ध्रुवराज जोशीले गर्नछन्।