विकासन्युज

बिहिबारदेखि १६औं आइईएफ सम्मेलन सुरु, सिंचाई मन्त्रीले भने, ‘उद्यमशिलता अघि बढेमात्र राष्ट्र सफल हुन्छ’

काठमाडौं । सिंचाइ मन्त्री सञ्जयकुमार गौतमले उद्यमशिलतालाई दिगो रुपमा अघि बढाउन सकेमात्रै ब्यक्तिगत तथा राष्ट्रिय सफलता हासिल हुने बताएका छन् । नेपालमा बढ्दै गइरहेको श्रम तथा बौद्धिक पलायनले समस्या श्रृजना गरिरहेको औल्याउँदै उनले वैकल्पिक जिविकोपार्जनका लागि उद्यमशिलताको विकास तथा प्रबद्र्धनमा सबै एकजुट भएर लाग्नुपर्ने  बताएका हुन् । बिहीबार राजधानीमा आयोजित दिगो उद्यमशिलता तथा आर्थिक विकास १६ औं इन्टरनेशनल आन्टरप्रेनर सिप फोरम (आइएफ) सम्मेलनको उद्घाटन गर्दै मन्त्री गौतमले नेपालमा तत्कालिक रुपमा उद्यमशिलताको विकास गनुपर्ने हालको परिप्रेक्षमा आइ ई एफ सम्मेलनको आयोजना सान्दर्भिक भएको बताए । विश्वास व्यक्त गरे। सम्मेलनकाप्रमुखवक्ता इसेक्स विजनेश स्कुलका प्रफेसर जय मित्राले उद्यमशिलता सम्पूर्ण संसारलाई गति दिनका आवश्यक नयाँ विचार तथा समाधानको खोजी भएको बताए । सोका लागि आवश्यक नयाँ प्रविधीको आवश्यकता औल्याउँदै उनले मानव शंसाधन, प्रविधी र आर्थिक, समाजिक तथा वातावरणिय श्रोतहरुको दिगो प्रयोग माथि जोड दिए । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर यूवराज खतिवडाले दिगो विकास लक्ष्य र सो लक्ष्यहरु हासिल गर्नका लागि नेपालले गरिरहेको पहल बारे प्रकाश पारे । कतिपय दिगो विकास लक्ष्य हासिल गर्नका लागि हालको संस्थागत संरचना बाधक रहेको बताउँदै सो संरचनालाई गम्भिरतापूर्वक सच्याउनुपर्ने खतिवडाले बताए । यसका साथै लक्ष्यहरुलाई पछ्याउन सहज गराउने उदेश्यका साथ नेपाल सरकारले सन् २०१५ मा राष्ट्रिय प्रतिवेदनतयार गरेको जानकारी दिँदै उनले लक्ष्य हासिल गर्ने दिशामा संचालन गरिनुपर्ने क्रियाकलापहरुलाई प्राथमिकता दिनका लागि दिगो विकास लक्ष्यलाई हालको राष्ट्रिय योजनामा पारिएको उनले बताए । सम्मेलनको पहिलो दिन आज देशी तथा २० वटाभन्दा बढी राष्ट्रका विदेशी शिक्षक तथा विधार्थी, उद्यमी, विज्ञ, अनुसन्धानकर्ता, व्यापारी तथा व्यवसायी तथा विकास संस्थाका प्रतिनीधिहरु गरी ५०० जनाभन्दा बढीले सहभागी रहेको आयोजकले जानकारी दिएका छन् । सन् २००१ मा इटालिको नेपल्सबाट सुरु भएको यस सम्मेलनको आयोजना हालसम्म चीन, भारत, दक्षिण अफ्रिका, कोलम्बिया, टर्कि, बहराइन, इटाली, लुथिनिया तथा लाट्भीयामा भइसेकेको छ । यसबाहेक मेडेप परियोजनाअन्तर्गत छानिएका १० उत्कृष्ट बस्तुहरुको प्रदर्शनीको उदेश्यका साथसम्मेलनमा १३ वटा स्टलहरु पनि राखिएको छ । साथै, सम्मेलनको दोश्रो दिनभोली पाँचवटा सफल उद्यमशिलताको यात्रा सम्बन्धि भिडियो पनि देखाइनेछ जसमा उत्कृष्ट चयन हुने एक भिडियोलाई ५० हजार रुपैँया राशि बारबरको पुरष्कारले सम्मान गरिने आयोजकले बताएका छन् । “सबै खाले श्रोतहरुको प्रचुरताको बाबजुतपनि नेपालले सामाजिकतथाआर्थिक विकास हासिलगर्नका लागितिश्रोतहरुलाई सदुपयोग गर्न सकेको छैन,”कलेजका प्रधानाध्यापक नरोत्तम अर्यालले भने, “यी तथा अन्य यस्ता समस्याहरुको दिर्घकालीन समाधानका लागि नै नेपाललाई बढी भन्दा बढी नविन सोच तथा सम्पूर्णरुपले जाँगरिला उद्यमीहरुको खाँचो परेको हो ।”  

सेयर बजारमा करेक्सन, ३७ अंकले बढ्यो

काठमाडौं । लगातार १२ दिनदेखि घट्दै आएको सेयर बजारमा बिहीबार करेक्सन भएको छ । बिहीबार बजार ३७.११ अंक बढेर १ हजार ५३० अंकमा पुगेको छ । बुधबार ९ अंक घटेर १ हजार ५ सय तल पुगेको थियो । कारोबार रकम कम भएपनि बजार भने साढे २ प्रतिशतले बढेको छ । १२ दिनपछि बजार करेक्सन भएको नेपाल स्टक ब्रोकर एसोसियसनका पुर्व अध्यक्ष नरेन्द्र सिजापति बताउछन् । लगातार घट्दै गएको बजार बढेपछि एउटा विन्दुमा आएर करेक्सन भएको उनको भनाई छ । “आजको बजार वृद्धिले लगानीकर्तामा सकरात्मक मनोबैज्ञानिक प्रभाव पारेको छ” उनले भने “आगामी दिनमा यसले निरन्तरता पाउछकी पाउदैन त्यो हेर्न बाँकी छ ।” आज एक दिनको वृद्धिलाई आधार मानेर विश्लेषण गर्न नसकिने बताउदै उनले भने “अर्को हप्ता कस्तो कारोबार हुन्छ हेर्नुपर्छ । यद्यपी बढ्ने संकेत देखिएको छ ।” बिहीबार बैकिङ, होटल, बीमा, जलविद्युत, विकास बैंक, वित्त र उत्पादनमुलक सबै क्षेत्रको बजार बढेको छ । बिहीबार सबैभन्दा बढी कमाउनेमा राष्ट्रिय बिमा कम्पनी लिमिटेडका लगानीकर्ता भएका छन् । राष्ट्रिय बीमा लगानीकर्ताले एकै दिन १ हजार ४७० रुपैयाँ कमाएका छन् । यो कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेर १६ हजार १८० रुपैयाँ पुगेको छ । यस्तै गुमाउनेमा नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकताले ३५८ रुपैयाँ गुमाएका छन् । नेसनलले बिहीबार ३५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । नेसनलको १० प्रतिशत घटेको छ । बिहीबार ६३ करोड ५० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । नेपाल लाईफको प्रतिकित्ता १ हजार ९८९ मा कुल ३ करोड ८ लाख २५ हजार रुपैयाँ किनबेच भएको छ ।

टाटाले ल्यायो ‘शक्तिशाली’ पिक अप गाडी ‘योद्धा’, ६ महिनापछि नयाँ भेरियन्ट थपिने

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालीले टाटा मोटर्सको योद्धा नेपाली बजारमा ल्याएको छ । कम्पनीका अनुसार यसको पिकअप क्षमता १२ सय ५० केजीसम्मको छ । जुन पिकअप गाडीमा सबैभन्दा बढी क्षमता हो । उद्घाटन कार्यक्रममा बोल्दै टाटा मोटर्सका कमर्सियल भेहिकल इन्टरनेशनल विजनेश यूनिटका भाइस प्रेसिडेन्ट रुद्ररुप मैत्रले पिकअप सेग्मेन्टका गाडीको अत्याधिक मागलाई मध्य नजर गर्दै  नेपाली बाटोले खोजेअनुसारको गाडी भित्र्याएको बताए। उनले भने, ‘भारतमा लन्च गरेपछि यसलाई हामीले कहाँ लन्च गर्ने भनेर खुब सोचेका थियौं । यसो बुझ्दा ६५ प्रतिशत यसको बजार हिस्सा रहेकोले नेपालमा नै लन्च गर्ने टुंगोमा पुगियो ।’ नेपालमा कमर्शियल भेहिकल दुई तिहाई भाग ओगटेको उल्लेख गर्दै उनले नेपालमा यसको बजार विस्तार उपयुक्त रहेको बताए । ‘योद्धा’ नामपछाडिको कारण खुलाउँदै उनले भने, ‘हामीले ‘योद्धा’ नाम कुनै ‘लडाकू’ को रुपमा राखेका होइन । सच्चा मनले चाहने वाला जोकोहीलाई पनि दिल खोलेर सहयोग तथा सहकार्य गर्न तयार रहने पात्रको रुपमा योद्धालाई चरितार्थ गर्न खोजेका छौं । त्यस्तै योद्धा भेहिकलले साच्चै यो गूण अवलम्बन गरेको छ ।’ सिप्रदीले यसलाई नाडा अटो शो मार्फत नेपाली बजारमा सार्वजनिक गरेको थियो । टाटाको पछिल्लो डिआइ मोडलको पिक अपभन्दा योद्धाको पिकअप बढी रहेको कम्पनीको दाबी छ । डिआइ पिकअपको लोड क्षमता जम्मा ११३० केजी मात्र थियो । विभिन्न भेरियन्टमा उपलब्ध यो गाडीमा ८५ एचपिको शक्तिशाली तीन लिटर इञ्जिन तथा २५० एनएमको टर्क रहेको छ ।अबको ६ महिनामा योद्धा प्ल्याटफर्मका नयाँ भेरियन्टका गाडीहरु थप्ने उनले जानकारी दिए । यसमा भएको अन्तराष्ट्रिय स्तरमो क्याबिन स्पेसले चालक र यात्रु सबैलाई आरामदायी प्रदान गर्ने कम्पनीको दाबी छ । यसको ग्राउण्ड क्लियरेन्स २६२ एमएम रहेको छ । यसमा तीन वर्ष वा तीन लाख किलोमिटरसम्मको वारेन्टी दिइएको छ । ‘सात योद्धा सात चुनौती’ सिप्रदीले विहिबारदेखि ‘सात योद्धा सात चुनौती’ नामक मजबूति परिक्षण अभियान सुरु गरेको छ । यस अभियान अन्तर्गत फलफूल तथा तरकारी, फर्निचर, ग्यास, पोल्ट्री, माछा, दूध ढुवानीकर्ता क्यास भ्यान र कन्स्ट्रक्सन साइट लगायतका विभिन्न सात क्षेत्रका ग्राहकलाई ६ फरक क्षेत्रमा ५० दिनसम्मको मजबूति परिक्षणका लागि पठाइनेछ । यसले गाडीको ग्राउण्ड क्लियरेन्स र मजबूतीलाई प्रमाणित गर्ने कम्पनीले जानकारी दिएको छ । दसैंमा अफर टाटाले दसैंका लागि गाडी किनौं उपहारै उपहारमा रमाऔं अफर ल्याएको छ । टाटाले बस, एमएचसी ट्रक तथा टिपरको खरिदमा आइफोन सेभेन प्लस, ५० इञ्चको सोनी स्मार्ट एलइडी टिभी, १३ इञ्चको  म्याकबुक एयर, निकोनको नर्मल लेन्स भएको डि५५०० डिजिटल क्यामरा, सामसङको २५५ लिटर फ्रिज र बाली वा फुकेटका लागि चार रात र पाँच दिनको ट्राभल अफर ल्याएको छ । त्यस्तै आइएलसिभी, पिकअप वा प्यानल भ्यानको खरिदमा आइफोन सेभेन, ४८ इञ्चको इन्टरनेट टिभी, डेल ३४८० आइ५ ल्यापटप, निकोनको डिजिटल क्यामरा, सामसङको फ्रिज वा ब्याङकक वा दुबइको लागि टुरको अफर ल्याएको छ । त्यस्तै दुईको खरिदमा सुजुकी जिक्सर स्कुटर, सुजुकी लेट्स डिटी राखेको छ । बाली, सिंगापुर र मलेसियाको लागि आठ रात र नौ दिनको टुर अथवा मरिसस टावरमा चार रात पाँच दिनको टुर राखिएको कम्पनीले जानकारी दिएको छ ।

कुलमानकाे घोषणा-अवस्था सहज छ, अब पनि लोडसेडिङ हुदैन

काठमाडौं । आउदो हिउँदमा पनि विद्युत्भार कटौती (लोडसेडिङ) नहुने भएको छ ।  गत वर्षको भन्दा यो वर्ष सहज अवस्था रहेकाले लोडसेडिङ नहुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । बढी बिजुलीको माग हुने साँझको २ घण्टा पनि आपुर्ति व्यवस्थापन हुने उनले स्पष्टपारे । लोडसेडिङ फेरी हुदै छ भन्ने आशंकालाई चिर्दे घिसिङले अब लोडसेडिङ नहुने बताएका हुन् ।   आफनो एक वर्षे कार्यकालमा भएको प्रगति र आगामी कार्ययोजना सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा साँझ उद्योगमा बिजुली काटेर भएपनि लोडसेडिङ हुन नदिने योजना रहेको स्पष्टपारे । उनले प्रसारण प्रणाली र सवस्टेश ओभरलोड भइरहेकाले क्षमता बढाउने काम भइरहेको उनले जानकारी दिए । “हामीसंग पर्याप्त भएर हैन” उनले भने “संकटको बेला माग व्यवस्थापन गरेका छौ र आउदा दिनमा पनि हुने छ । कुनै आयोजनामा समस्या आएर बन्द भए हामीसंग रिजर्भ क्षमता छैन ।” २ करोड थान एलईडी चिम वितरण र सोलारबाट बिजुली उत्पादन गर्ने योजना कार्यान्वयनमा आएको भए माग व्यवस्थापन गर्न सहज हुने उनको भनाई थियो । एलईडीले साँझ र सोलारले दिउँसोको माग व्यवस्थापन गर्न सहज हुने उनको तर्क छ । लोडसेडिङ नहुने आधार के हुन ? भन्ने पत्रकारको प्रश्नको जवाफ दिदै कार्यकारी निर्देशक घिसिङले सुदुरपश्चिमा ३० मेगावाटको चमेलिया आयोजनाको काम २ महिनामा सम्पन्न भई विद्युत उत्पादन सुरु गर्ने जानकारी दिए । चमेलिया अर्धजलासययुक्त आयोजना भएकाले सुदुरपश्चिममा साँझको माग व्यवस्थापन गर्ने उनको भनाई थियो । यस्तै पुर्वमा कुसाह–कटौया र परावनीपुर–रक्सौल १३२ केभी प्रसारणलाइनबाट थप १ सय मेगावाट बिजुली आयात हुन सक्ने गरी पुर्वाधार तयार भएको उनले जानकारी दिए । यस्तै कुलेखानी आयोजना हाल सञ्चालनमा नरहेको र पानी भर्ने काम भात्र भइहरेको छ । हालसम्म जलसतह १ हजार ५१९ मिटर पुगेको छ । यो गत वर्षको भन्दा १ मिटर बढी हो । कुलेखानी आसपास क्षेत्रमा पर्याप्त वर्षा नभएकाले भरिने संभावना कम रहेको उनको भनाई छ । यस्तै १४४ मेगावाटको कालिगण्डकी, ७० मेगावाटको मध्यमस्र्याङदी, ६९ मेगावाटको मस्र्याङदी, चमेलिया, चिलिमेलगायत विद्युत प्राधिकरणका आयोजनालाई साँझमा पनि पुर्णक्षमतामा सञ्चालन गरेर माग व्यवस्थापन गर्ने उनको भनाई छ । यस्तै सहरी क्षेत्रमा लोडसेडिङ हुन नदिन हालको वितरण प्रणालीमा सुधार गरी क्षमता बढाउने काम भइरहेको घिसिङले बताए । अझै पनि ३ सय मेगावाट बिजुली अपुग भए पनि माग व्यवस्थापन भइरहेको उनले जानकारी दिए । घिसिङका अनुसार १ हजार मेगावाटसम्म विद्युत आपूर्ति भइरहेको छ भने ३ सय मेगावाट साँझ ३ घण्टासम्म औद्योगिक क्षेत्रमा लोडसेडिङ गरेर व्यवस्थापन भइरहेको छ । आउदो हिउँदमा पनि समस्या आएमा साँझमा उद्योगमा बिजुली आपूर्ति बन्द गर्ने जानकारी दिए । यो वर्ष बिजुली चुहावट ३ प्रतिशत घटाएर २० प्रतिशतमा झार्ने योजना उनले सार्वजनिक गरे । गत वर्ष पनि ३ प्रतिशत चुहावट घटाउन सफल भएको उनको भनाई थियो ।

तराई डुबानकै कारण आर्थिक वृद्धिदरमा प्रभाव पर्ने अवस्था छैन-थापा

नर बहादुर थापा, कार्यकारी निर्देशक नेपाल राष्ट्र बैंक काठमाडौं । साउन अन्तिम साता तराई क्षेत्रमा आएको बाढी र डुबानले ठुलो मात्रामा सम्पति क्षति भएको देखिन्छ । बाटो भत्किएको छ, नागरिकको घर भत्किएको छ । गाईवस्तु मरेका छन् । धानबाली, माछा पोखरीहरु धुप्रै नष्ट भएका छन् । यतिबेला त्यो डुबानले मुलुकको आर्थिक वृद्धिदरमा प्रभाव पर्छ की पर्दैन भन्नेबारे चर्चा चलिरहेको छ । सरकाले आर्थिक बर्ष २०७४/७५ का लागि ७.२ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ । आर्थिक वृद्धिदरमा कृषि, उद्योग, पर्यटन, पुर्वाधार लगायतका धेरै पक्षहरुको योगदान रहन्छ । अहिले बिशेष गरि डुबानको प्रभाव सम्बन्धी दुई वटा विचारहरु देखिएका छन् । पहिलो विचारः तराईमा डुबान एक/दुई दिन मात्रै रह्यो । त्यसले गाइ बस्तु, मान्छेको मल, पाँगो माटो सबैलाई बराबर मात्रामा वितरण गर्यो । जुन मान्छेले गर्न सक्दैन्थ्यो । अमलिलो माटोमा मलिलो माटो मिसियो । हिमालमा जुन बर्ष हिउँ पर्छ, त्यहि बर्ष धेरै गहुँ फल्छ । तराईमा पनि जुन बर्ष डुबान हुन्छ त्यहि बर्ष धेरै धान फल्छ । क्षणिक डुबानले धान उत्पादन बढाउँछ भन्ने पहिले पनि पुष्ठि भैसकेको कुरा हो । तर जुन जुन क्षेत्रमा बाढीले बलौटे माटो ल्यायो र धान सोत्तर बनायो त्यहाँ नराम्रो असर गर्छ । बाढीले केहि धान डुबाएको केहिमा बलौटे माटोले छोपिदएको हुनाले यो बर्ष तराई मधेशमा बर्षे बालीको उत्पादनमा कस्तो प्रभाव पर्छ भन्ने सन्दर्भमा सबैको चासो बढेको देखिन्छ । यी कुरा भने बाढीले खेति योग्य जमिन कति बगायो र कति पुर्यो भन्नेमा निर्भर गर्छ । मलाई लाग्छ, बाढीले १० देखि १५ प्रतिशत धान बगाउने र पुर्ने काम गरेको छ भने बाँकी ८५ प्रतिशतमा क्षणिक डुबान मात्रै भएको छ । यसले मलहरुको बराबर वितरण र पाँगो माटो राखिदिएकाले धान उत्पादनमा राम्रो नै गर्छ । डुबान लगत्तै सरकारले छिटो फल्ने धान छर्ने भनेर काम गरिसकेको छ । त्यसो त धान आफैं अधिक पानीमा फल्ने अन्न बाली हो । त्यसमा पनि तराई मधेशमा रोपिने धानहरुमा डुबानमा पनि फाल्न सक्ने क्षमता अधिक हुन्छ नै । त्यसकारण यसपाली पनि तराई मधेशमा धानको उत्पादन राम्रै हुन्छ भन्ने मेरो निष्कर्ष हो । विस्तृत अध्ययन त भैसकेको छैन् तर पनि धान उत्पादन घट्ने सम्भावना छैन् । बरु ३।४ प्रतिशत कृषि उत्पादन बढ्न सक्छ । साउन अन्तिम साताको डुबानले अब तराईमा हिउँदे बाली पनि झनै राम्रो हुनेछ । सिधा अर्थमा भन्ने हो भने तराई डुबानले धानको उत्पादन घट्दैन र हिउँदे बाली पनि झनै फस्टाउँछ । अब केहि हदसम्म उद्योग, घर, माछा पोखरी, गाई बस्तुको क्षति भएको छ । यसले उत्पादनमा असर गर्यो भने आर्थिक वृद्धिदरमा असर गर्ने हो । उद्योगमा क्षति पुगेर उत्पादनमा कमि आयो भने त्यसले प्रभाव पार्छ नै । तर कहिले काँही भने डुबानका कारण धानको उत्पादन भने बढाउँछ । यसपाली पनि त्यस्तै हुन्छ भन्ने मलाई लाग्छ । बाढीले नागरिकको घर बगायो, पुल भत्कियो, बाटो बगायो । नागरिकले दुःख पाए तर डुबानकै कारण धानको उत्पादन घट्ने अवस्था चाँही आउँदैन् भन्नेमा म चाँही निश्चिन्त छु । अब डुबानले आर्थिक वृद्धिदरमा कस्तो असर गर्छ भन्नेबारे कुरा गरौं । डुबानले अधिक क्षति पुगेको भनेको बर्षे बालीमा हो र तराईको बर्षे बाली भनेको धान नै हो । समग्र कृषि क्षेत्रमा धानको योगदान २१ प्रतिशत छ । अनि समग्र अर्थतन्त्रमा भने धानको योगदान ७ प्रतिशत देखिन्छ । अधिकतम १५ प्रतिशत धान बाली डुबानले नष्ट भएको जस्तो देखिन्छ तर जहाँ क्षण्कि डुबान मात्रै भएको छ, त्यहाँ धानको उत्पादन बढ्छ । त्यसकारण डुबानका कारण धानको उत्पादन घटेर आर्थिक वृद्धिदर घट्दैन् । समग्र आर्थिक वृद्धिदरका लागि धेरै कुराले भूमिका खेल्छन तर तराई डुबान र धान उत्पादनका कारण आर्थिक वृद्धिदर घट्ने अवस्था छैन् । (नेपाल राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुख समेत रहेका कार्यकारी निर्देशक थापासँग गरिएको कुराकानीमा आधारित)  

संसारभर फैलँदै विद्युतीय कार, विकसित पाँच देशले हटाउँदै छन डिजेल/पेट्रोलका गाडी

एजेन्सी । विश्वका केही ठुला मुलुक पेट्रोल तथा डिजेलबाट चल्ने कारहरु हटाउने दौडमा छन् । विश्वको ठुलो कार बजार भएको चीनले जिवास्म ईन्धन (पेट्रोल तथा डिजेल) बाट चल्ने गाडीको उत्पादन तथा बिक्रीलाई प्रतिबन्ध लगाउने तयारी गरेको छ । त्यस्तै भारत, फ्रान्स, बेलायत र नर्वे लगायतका मुलुकले पेट्रोल तथा डिजेल कारलाई निषेध गर्दै सफा गाडीको अवधारणा अनुसार जाने तयारी थालेका छन् । जर्मनका चान्सलर एन्गेला मार्केलले आधुनिक कारले आफ्नै अवसान मिती तय गरेको बताएकी छन् । न्युनतम ८ मुकहरुले विद्युतीय कारलाई प्राथमिकतामा राख्ने लक्ष्य राखेका छन् । यस्ता छन् सिएनएनले तयार पारेको रिपोर्ट बेलायत गत जुलाईमा बेलायतले वातावरण स्वच्छ राख्ने उद्येश्य सहित सन् २०४० सम्ममा पेट्रोल तथा डिजेल कारको बिक्रीमाथि प्रतिबन्ध लगाउने अठोट लिएको थियो । सन् २०५० सम्ममा सबै गाडिहरुले सडकमा शुन्यमात्रामा प्रद्षण अनिवार्य गरिने लक्ष्य रहेको छ । विश्वकै छैठौं ठुलो गाडी बजार रहेको बेलायतमा सन् २०१६मा २७ लाख कारहरु दर्ता भएका थिए । फ्रान्स फ्रान्स सरकारले ग्लोबल वार्मिङ विरुद्ध लड्न सन् २०४० सम्ममा पेट्रोल तथा डिजेल गाडीको बिक्रीको अन्त्य गर्ने घोषणा गरेको छ । सो मितीपछि सरकारले विद्युतीय तथा वातावरणमैत्री सवारी सञ्चालनका लागि मात्र अनुमति प्रदान गर्नेछ । यद्यपी मझौला किसिमका कारलाई भने अनुमति दिइनेछ । फ्रान्सका सरकारी अधिकारी निकोलास ह्युलटले सो लक्ष्यबाट राष्ट्रका कार निर्माता कम्पनीको अनवेषण तथा बजार प्रतिनिधित्वमा सघाउ पुग्ने बताएका छन् । फ्रान्समा विद्युतीय कारको बजार हिस्सा चार प्रतिशत रहेको छ । सन् २०१७ को पहिलो चौमासिकमा विद्युतीय कारको बिक्री २५ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । भारत यसै वर्षको सुरुवातमा भारतले सन् २०३० सम्ममा सबै सवारीसाधनलाई विद्युतबाट सञ्चालनमा ल्याउने अठोट प्रस्तुत गरेको थियो । सरकारका उर्जा सल्लाहकार अनिलकुमार जैनले भने, यो एक महत्वाकांक्षी योजना हो । अन्तत यो कार्यन्वयनमा आउनेछ ।’ वायु प्रदुषणले ग्रस्त भारतमा विश्वकै अत्याधिक प्रदुषित सहरहरु छन् । यद्दपी यहाँ नीतिनिर्माताबाट ठुलो परिवर्तन ल्याउन सक्ने अपेक्षा राख्न सकिन्छ । नर्वे नर्वे सरकारको यातायातसम्बन्धी योजनाले स्पष्टरुपमा लक्ष्य लिएको छ ( सन् २०२५ सम्ममा बिक्री हुने सबै नयाँ प्यासेन्जर कार तथा भ्यानहरु प्रदुषण रहित हुनुपर्नेछ । यसले सोहि बाटो अवलम्बन गरिरहेको स्पष्ट रुपमा देखिन्छ । गत वर्षको तथ्यांक अनुसार यो मूलुकमा जम्मा बिक्री भएका कार मध्ये करिब ४० प्रतिशत विद्युतीय तथा मझौला किसिमका कार रहेका छन् । यसबाहेक अस्ट्रिया, डेनमार्क, आयरल्याण्ड, जापान, कोरिया, नेदरल्याण्ड, पोर्चुगल तथा स्पेनले औपचारिकरुपमा नै विद्युतीय सवारीमा बिक्री बढाउने लक्ष्य राखेका छन् । अन्तराष्ट्रिय उर्जा संघको रिपोर्ट अनुसार विश्वको ९५ प्रतिशत विद्यतीय कारहरु चीन,अमेरिका, जापान, क्यानडा, नर्वे, बेलायत,फ्रान्स, जर्मनी, नेदरल्यान्ड र स्विडेनमा बिक्री वितरण हुन्छन् ।

नेसनल माइक्रोफाइनान्सले ३५ प्रतिशत लाभांश दिने, २० प्रतिशत बोनस र १० प्रतिशत नगद

काठमाडौं । नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने भएको छ । संस्थाको बुधबार बसेको ६२ औं सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट २० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।  

बैंक तथा वित्तीय संस्थासंग जनशक्ति र सामाजिक उत्तरदायित्वमा गरेको लगानी विवरण माग्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासंग जनशक्ति क्षमता अभिवृद्धि र सामाजिक उत्तरदाइत्वमा गरेको लगानीको विवरण माग्ने भएको छ । केन्द्रीय बैंकले गत आर्थिक वर्षको मौद्रीक नीतिमा बैंक तथा वित्तीय संस्थाले गर्ने कुल खर्चको ३ प्रतिशत कर्मचारीको वृति विकास र १ प्रतिशत समाजिक उत्तरदाइत्वअन्र्तग सामाजिक सेवामा खर्च गर्नुपर्ने व्यवस्था गरेको छ । दक्ष जनशक्तिको अभावलाई पूर्ति गर्न राष्ट्र बैंकले जनशक्ति विकासमा खर्च गर्न बैंक तथा  वित्तीय संस्थालाई निर्देशन दिएको हो । कतिपय बैंक तथा वित्तीय संस्थाले निर्देशन पालना नगरेको भन्दै केन्द्रीय बैंकले गत आर्थिक वर्षसम्म कर्मचारीको वृति विकास र सामाजिक काममा गरेको खर्चको विवरण दिन निर्देशन जारीको गर्न लागेको छ । बैंकका सहायक प्रवत्ता राजेन्द्र पण्डितले बैंकले जनशक्ति विकास र समाजिक क्षेत्रमा गरेको लगानीको अनुगमन गर्ने बताउछन् । उनले राष्ट्र बैंकले अनुगमन गरिरहेको र आगामी दिनमा जारी राख्ने उनको भनाई छ ।