विकासन्युज

कावेली विकास बैंकको हकप्रद सेयर बिक्री खुला

काठमाडौं । कावेली विकास बैंकको हकप्रद सेयर आज सोमबारदेखि बिक्री खुला भएको छ ।  बैंकले चुक्तापुँजी बढाउन २ बराबर १ अनुपातमा ३ करोड ५० लाख रुपैयाँ ८ हजार रुपैयाँ बराबरको ३ लाख ५० हजार ८८० कित्ता हकप्रद बिक्री खुला गरेको हो । सेयर बिक्री बन्द असोज २१ गते हुने धितोपत्र निश्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आर्र्ईएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

सिन्धु विकास बैंकको हकप्रद सेयर बिक्री खुला

काठमाडौं । सिन्धु विकास बैंकको हकप्रद सेयर (आज) सोमबारदेखि बिक्री खुला भएको छ ।  बैंकले चुक्तापुँजी बढाउन १० बराबर ८ अनुपातमा २० करोड ९७ लाख ५४ हजार रुपैयाँ बराबरको २० लाख ९७ हजार ५४० कित्ता हकप्रद बिक्री खुला गरेको हो ।  हकप्रद बिक्री बन्द असोज २२ गते हुने बैकले जानकारी दिएको छ ।

फ्रुटी उद्योगमा प्रहरी छापा, मालचन्द दुगड फरार, सहायक प्रमुख जिल्ला अधिकारी सरुवा

काठमाडौं । म्याद नाघेको म्यांगो पल्प (आँपको गुदी) प्रयोग गरी मानव स्वास्थ्यमा गम्भीर असर पार्ने फ्रुटी उत्पादन गर्ने उद्योगविरुद्ध कारबाही प्रक्रिया अघि बढाएका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक प्रजिअ) लाई जिम्मेवारीबाट हटाइएको छ । लाखौं उपभोक्ताको ज्यानलाई जोखिमबाट जोगाउन खोज्ने सहायक प्रजिअ प्रेमप्रसाद लुइँटेललाई उद्योगमा छापा मारेको चार दिनपछि अन्तरमन्त्रालय सरुवा गरिएको हो । म्याद नाघेको म्यांगो पल्प प्रयोग गरी गुणस्तरहीन फ्रुटी बनाउँदै गरेको गोप्य सुराकीका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखाको सहयोगमा भदौ १२ गते सहायक प्रजिअ लुइँटेलले दलबलसहित सतुंगलस्थित दुगड फुड एन्ड बेभरेज प्राइभेट लिमिटेडमा छापा मारेका थिए । पछिल्लो ६ वर्षदेखि गृह मन्त्रालयका विभिन्न तहमा रहेर काम गर्दै आएका लुइँटेललाई फ्रुटी काण्डमा थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउन नदिन ‘सुनियोजित’ रूपमा गृहबाट संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय पठाइएको हो । लुइँटेलले अनुसन्धान गरी कालोबजारी ऐन र मुलुकी ऐनको ठगी महलअन्तर्गत उक्त उद्योगका सञ्चालक माल्चन दुगडलाई नै अधिकतम कैद र बिगोबमोजिम जरिवाना गराउने तयारी गरेका थिए । स्रोतका अनुसार फ्रुटी काण्डलाई प्रभावहीन बनाएर दोषी व्यवसायीलाई उन्मुक्ति दिन लुइँटेललाई जिम्मेवारीबाट हटाएर भदौ १६ मा स्थानीय विकासमा पठाइएको थियो । यसअघि पनि उपभोक्तासम्बन्धी मुद्दामा व्यवसायीलाई उन्मुक्ति दिने नियतले व्यवसायी र राजनीतिकर्मीको मिलेमतोमा धारा तेलको मूल्य प्रकरणमा तत्कालीन प्रजिअ एकनारायण अर्याल र मिठाईमा जनावरको बोसो मिसावट प्रकरणमा तत्कालीन प्रजिअ लक्ष्मी ढकालको सरुवा गरेर मुद्दालाई प्रभावहीन बनाइएको थियो । एसएसपी दिवेश लोहनीका अनुसार छापा मारेको दिनदेखि उद्योग सञ्चालक माल्चन दुगड फरार छन् । सहायक सिडिओ बजार संरक्षक अधिकृत हुने व्यवस्था छ । सोही हैसियतमा सूचनाका आधारमा उद्योगमा छापा मारेर फ्रुटीमा प्रयोग हुने म्याद नाघेको म्यांगो पल्पको चार सय २६ वटा सिल प्याक ड्रमसहित करिब डेढ लाख तयारी फ्रुटीको पोका बरामद गरिएको थियो । एक ड्रममा २ सय २३ किलो म्यांगो पल्प हुन्छ । स्रोतका अनुसार बरामद गरिएको ड्रमबाट थप ६ लाख थान फ्रुटीको पोका तयार गरी ६ करोड मूल्य बराबरको कारोबार गर्ने उद्योगले अपेक्षा गरेको थियो । छापा मारेकै दिन अनुगमन टोलीले उद्योग बन्द गराएको थियो । म्याद नाघेको कच्चा पदार्थलाई मन्द विष भनिन्छ । डेढ महिनाअघि म्याद नाघेको नेचुरल टोटापुरी म्यांगो पल्प छापा मार्ने क्रममा भेटिएको थियो । सन् २०१५ को जुलाईमा तयार भएको र दुई वर्ष म्याद भएको उक्त म्यांगो पल्पको प्रयोग गरी उद्योगले धमाधम फ्रुटी जुस तयार गरेर बजारमा पठाउँदै आएको थियो । लुइँटेलले पछिल्लो समय सुर्तीजन्य, मदिराजन्य, रात्रिकालीन क्लब, वेश्यावृत्ति तथा मिसावटलगायत विकृति रोक्न विशेष अप्रेसन सुरु गर्न लागेका थिए । सोही अप्रेसन क्रममा दुगडको उद्योगमा उनको टोलीले छापा मारेको थियो । दुई वर्षअघि पनि सोही उद्योगमा सरकारले अनुगमन गरेको थियो । स्रोतका अनुसार तत्कालीन समयमा फ्रुटीको पोका फुलेको अवस्थामा फेला पारिएको थियो । त्यो बेला पनि उद्योग बन्द गरी खाद्य ऐनअनुसार दुई हजार रुपैयाँ मात्रै जरिवाना गरेर उद्योग सञ्चालनमा ल्याइएको थियो । त्यो घटना सेलाउन नपाउँदै उक्त उद्योगले म्याद नाघेको कच्चा पदार्थ प्रयोग गर्ने गरेको घटना बाहिर आएको हो । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख तथा एसएसपी दिवेश लोहनीका अनुसार छापा मारेको दिनदेखि उद्योगका सञ्चालक माल्चन दुगड फरार छन् । छापा मारेकै दिन उद्योग परिसरबाट प्रमुख व्यवस्थापक मदनबाबु पाण्डे र म्यानेजर प्रमोद मेहतालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइए पनि सञ्चालक फरार रहेको महाशाखाले जनाएको छ । ‘यसअघि पनि उक्त उद्योगका सञ्चालक उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्दै उत्पादन गरेको अभियोगमा जिल्ला प्रशासन कार्यालयबाट दोषी ठहर भएका थिए,’ लोहनीले भने, ‘अहिले फेरि त्यही उद्योगमा गम्भीर त्रुटि भेटिएको छ । हामीले उद्योग सञ्चालक दुगडमाथि नै कानुनअनुसार कडा कारबाही गर्न लागेका छौं । उनी अहिले फरार छन् । उनको खोजीका लागि सुराकी परिचालन गरेका छौं । जहाँ भए पनि पक्राउ गरेर कडा कारबाही गर्छौं ।’ महाशाखाले भदौ १३ गते कालोबजारी ऐनअन्तर्गत उक्त उद्योगमाथि कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको थियो । भदौ १४ गते उपभोक्ता हित संरक्षण मञ्चले पनि कालोबजारी ऐन र मुलुकी ऐनको ठगी महलअन्तर्गत उद्योग सञ्चालकमाथि कम्तीमा पाँच वर्ष कैदसहित ठगीको बिगोबराबर जरिवाना गराउनुपर्ने माग राख्दै प्रहरी परिसरमा जाहेरी दिएको छ । मञ्चका सचिव विष्णु तिमल्सिनाले भने, ‘दुगड उद्योगले पटक-पटक उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरी ठगी गरेको छ । त्यसैले तल्लो स्तरका कर्मचारीलाई होइन, सञ्चालकमाथि नै उपभोक्ता हित संरक्षण ऐन, कालोबजारी ऐन र ठगी महलअन्तर्गत कडाभन्दा कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग राखेर हामीले जाहेरी दिएका छौं ।’ अन्नपूर्णपाेष्टबाट

किसान माइक्रोफाइनान्सको असोज ४ देखि हकप्रद निश्कासन हुदै, सेयरधनी दर्ता बन्द

काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले असोज ४ गतेदेखि हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।  संस्थाले चुक्तापुँजी बढाउन १ सय कित्ता बराबर २४ कित्ता हुने गरी ७८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निश्कासन गर्न लागेको सेयर निश्कासन तथा बिक्री प्रवन्धक सिभिल क्यापिटल मार्केटस् लिमिटेडले जनाएको छ । संस्थाको सेयर निश्कासन कात्तिक ७ गते हुने छ । हकप्रद सेयर निश्कासनका लागि सेयरधनी दर्ता बन्द गरिएको कम्पनीले जनाएको छ ।

प्रधानमन्त्रीले भनेः पञ्चेश्वरमा नेपालले ३७ प्रतिशत लगानी गर्ने विषयमा अडान लिनुस

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चेश्वरमा लगानी गर्ने विषयमा नेपालले लिएको अडान कायम राख्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले आगामी मंगलबारदेखि भारतको नयाँ दिल्लीमा हुन लागेको दुई देशका विज्ञ समुह बैठकमा नेपालको तर्फबाट कुल लागतको ३७ प्रतिशत र भारतले ६३ प्रतिशत लगानी गर्नुपर्ने अडान कायमै राख्न पनि प्रधानमन्त्रीले निर्देशन दिएका छन् । आईतबार प्रधानमन्त्री कार्यालय सिहदरबारमा सरोकारवाला निकायलाई बोलाएर प्रधानमन्त्री देउवाले आयोजनाको उपभोग अनुसार लागत भार हुनेगरी डीपीआर तयार गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवाले पञ्चेश्वरको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्दा मुलुकलाई फाईदा हुनेगरी मात्रै अघि बढ्न भनेका छन् । पञ्चेश्वर सुरु भएको २१ बर्ष भयो तर अझैसम्म कुनै उपलव्धि हुन सकेको छैन’ प्रधानन्त्रीले भने, ‘अब नेपाललाई फाईदा हुनेगरी यो डीपीआरमा सहमति गर्नुहोस् ।’ प्रधानमन्त्री देउवाको अघिल्लो हप्ता भएको भारत भ्रमणका क्रममा एक महिनाभित्र पञ्चेश्वरको डीपीआरमा सहमति जुटाउने कुरा भएको थियो । त्यस्तै प्रधानमन्त्रीले भारतलाई तल्लो शारदाका लागि कर्णालीको पानी दिने भन्ने महाकाली सन्धिमा उल्लेख भएको बुँदा पनि हटाउन निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । बैठकमा जल तथा उर्जा आयोगका सहसचिव माधव बेल्बासेले आयोजनाको विस्तृत विवरणका साथै नेपालको अडान र भारतको अडानका विषयमा जानकारी गराएका थिए । प्रधानमन्त्रीले डाकेको बैठकमा उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उर्जामन्त्री महेन्द्रबहादुर शाही, सिचाईमन्त्री संजय गौतम, मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रलगायत परराष्ट्र, उर्जा, सिचाई, र प्रधानन्त्री कार्यालयका सचिव र पञ्चेश्वर प्राधिकरणका पदाधिकारी र विज्ञ समुहका सदस्यहरु सहभागी थिए ।      

नाडा अटो शो सम्पन्न, २६०० सवारी साधन बिक्री

काठमाडौं । १२ औं संस्करणको नाडा अटो शोमा २ हजार ६०० भन्दा बढी सवारीसाधन बिक्री भएका छन् । नाडा अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपालले आयोजना गरेको मेलामा झन्डै एक हजार वटा चार पाङ्ग्रे तथा करिब १६०० वटा दुई पाङग्रे सवारी साधन बिक्री भएका हुन् । ६ दिनसम्म चलेको यो मेलामा ६० हजार भन्दा बढी आगन्तुकले अवलोकन गरेका छन् । यो मेलामा दर्जनभन्दा बढी नयाँ ब्राण्डका सवारीसाधन सार्वजनिक गरिएको आयोजकले बताएका छन् । गत मंगलबारदेखि यो मेला सुरु भएको थियो । यो अटो शो सर्भो वर्ल्ड क्लास लुब्रिकेन्ट्सको शिर्ष प्रायोजकमा नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल एवं ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेज प्रा.लि.को संयुक्त आयोजना रहेको थियो । नेपालमा सवारी विलासिताको मात्र साधन नभएको प्रमाण अटो शोको तथ्यांकले देखाएको नाडाका प्रतिनिधी दिपकाजी तुलाधारले बताए । उनले भने, ‘अब सवारीसाधन सबैको आवश्यकता भइसक्यो । यति धेरैजनाले सवारीसाधन बुक गर्नुभएको छ। पक्कैपनि आवश्यकता भएर हो ।’ प्रदर्शनीमा प्रख्यात ब्राण्डका सवारी साधनका साथ साथै नया प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिजहरू लगायत वित्तिय संस्था तथा इन्स्योरेन्स समेतको बृहत सहभागिता रहेको थियो । जसमा नेपालमै उत्पादित् सामग्रीहरू समेत थिए । एकै ठाँउमा पैठारीकर्ता, डिलर, उत्पादक, विक्रेता एवं ग्राहकहरूको जमघटले सवारी साधन र सम्बन्धित सम्पुण क्षेत्रको विश्लेषण, विकास, बजारिकरण र विस्तारका लागि महत्वपूर्ण भुमिका निर्वाह गरेको आयोजकले बताएका छन् । नाडा अटो शो २०१७ खरिद बिक्री मात्र हुने एउटा व्यापारिक मेला मात्र नभई समग्र नेपाली अटोमोवाइल व्यवसायको क्रमिक एवं समस्टिगत विकासको प्रस्तुती थियो । यस वर्षको मेलामा साना ठूला गरि लगभग १३० वटा स्टलहरू रहेका थिए भने जसमा ९० वटा कम्पनीको सहभागिता रहको थियो । प्रदर्शनीमा १६ वटा ब्राण्डका ४–पाङग्रे, १९ वटा ब्राण्डका २–पाङग्रे तथा ६ वटा ब्राण्डका हेवी कमर्शियल सवारी साधनहरू समेत रहेका थिए । कार्यक्रममा गोलाप्रथामार्फत टिकट नम्बर ०२४८४० लिने सहभागीले डोरप्राइज प्राप्त गरेका छन् । डोर प्राइजमा युएमको रेनेगेड राखिएको थियो । यस वर्षको बेस्ट स्टलमा शरण एण्ड ईलेक्ट्रोनिक्सले पाएको छ। कमर्शियल भेहिकलमा आइएमी अटोमोबाइल्सको अशोक लेल्याण्डले बेस्ट स्टल अवार्ड प्राप्त गरेको छ । चार पाङ्ग्रेमा फोर्डले पुरस्कार पाएको छ भने दुई पाङग्रेमा बजाजले जितेको छ ।

महिन्द्राको मोटरसाइकल र स्कुटरमा उपहारै उपहार

काठमाडौं । नेपालमा महिन्द्रा कम्पनीको टुह्वीलर मोटरसाइकल र स्कुटर बिक्री गर्दै आएको अग्नि मोटो इन्कले दशै, तिहार तथा छठलाई लक्षित गरी विभिन्न उपहार योजना ल्याएको छ । कम्पनीले महिन्द्रा सुनैसुनको वर्षा, रानीहारसँगै विदेश यात्रा योजना प्रस्तुत गरेको छ । यस योजनामा ग्राहकले कुपन स्क््रयाच गरी निश्चित उपहारको रुपमा १ तोलासम्म सुनको सिक्का पाउने कम्पनीले जनाएको छ । ग्राहकले चाडपर्वको बेलामा कुनै पनि महिन्द्रा बाइक तथा स्कुटरको खरिद गर्दा एउटा स्क्र्याच कुपन पाउने छन् । कुपनलाई स्क््रयाच गरी न्युनतम् २.५ ग्रामदेखि १ तोलासम्मको सुनको सिक्का पक्का पाइने कम्पनीले जानकारी दिएको छ । हरेक १५ दिनमा एक जनाले रानीहार उपहार पाउने छन् । त्यसैगरी बम्परमा ४ जनाको दुई परिवारलाई ४ दिन ५ रातको थाइल्याण्ड भ्रमणको अवसर पनि मिल्ने छ ।  

भदौ २८ गतेदेखि दशैंका लागि नयाँ नोट पाइने, बढीमा २७ हजारसम्म साटिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैका लागि भदौ २८ गतेदेखि नयाँ नोट वितरण गर्ने भएको छ । बैंकले प्रतिव्यक्ति बढीमा २७ हजार रुपैयाँका दरले नयाँ नोट साट्ने भएको छ । राष्ट्र बैंकले यस वर्ष बैकिङ्ग कार्यलय थापाथलीका अतिरित्त राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकका गरी १६ शाखाबाट नयाँ नोट वितरण गर्ने निर्णाय भएकाे नोट व्यवस्थापन विभागले  जानकारी दिएको छ । राष्ट्र बैंककाे सटही काउन्टरबाट ५, १०, २० ५० र १० का नयाँ नाेट बढीमा २७ हजार  र वाणिज्य बैंक, कृषि विकास र नेपाल बैंकबाट बढीमा २० हजार रूपैयाँसम्म नयाँ नाेट सटही हुने छ । सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानोथिमी, विशाल बजार र नक्साल, नेपाल बैंकको न्युरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर र भक्तपुर, कृषि विकास बैंकको गौशला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट सफा नोट पाइने छ । राष्ट्र बैंकको थापथली काउन्टरबाट नयाँ नोट साट्न पाइने छ । सरकारी निकायलाई नोटको उपलब्धता हेरी भदौ २१ देखि ३० गतेसम्म सटही सुविधा उपलब्ध गराउने राष्ट्र बैंकले जनाएको छ । यस्तै अन्य बैंक तथा वित्तीय संस्थाले आवश्यकता अनुसार नयाँ नोट पाउने छन् । यस्तै बैंक तथा वित्तीय संस्थाले नयाँ नोट सटही गर्नका लागि थप जनशक्ति र बीमालगायत खर्च हुने भएपछि आफना ग्राहकलाई मात्र सटही सुविधा दिने गरेका छन् ।