इभेन्ट सोलुसनले दशैंको अवसरमा स्टक क्लियरेन्स मेला बुधबारबाट शुरु गर्ने
काठमाडौं । इभेन्ट सोलुसन प्रालिले दशैंको अवसर पारेर बुधबारबाट राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला शुरु गर्नें भएको छ । सो मेलालाई दशैंको बेला सस्तो मेला नारा दिइएको छ । भदौ २१ गतेदेखि २६ गतेसम्म चल्ने स्टक क्लियरेन्स मेलामा दशैंका लागि आबस्यक सामग्रीहरुको कारोबार गरिने जानकारी दिएको छ । मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम एफिलियन्सका स्टलहरु रहने छन् । एक सय भन्दा धेरै स्टलहरु रहेको यो मेलामा सहभागि सबै एक्जीबिटर ब्रिफिङ गरिसकिएको इभेन्ट सोलुसनका मेला संयोजक दिपेश जोशीले बताए । इभेन्ट सोलुसनका संयोजक जोशीले दशैंका लागि आबस्यक पर्ने सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट बिशेष छुटमा पाइने बताए । ६ दिन सम्म चल्ने यो मेलामा काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट उपभोक्ताहरु सामान किन्न आउने अनुमान गरिएको संयोक जोशीले बताए । मेला अवधिभर ५० हजार उपभोक्ता मेला स्थलमा आउने अनुमान इभेन्ट सोलुसन्सले गरेको छ । मेलामा इकमर्स पार्टनर बनेको सपर्भ डट कमले अनलाइन सेवा पनि उपलब्ध गराएको जानकारी दिएको छ ।
सेयर कर्जा लिन बैंकले बोलाउन थाले, २ दिनमै दिने
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले सेयर कर्जा लिन लगानीकर्तालाई बोलाउन थालेका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा मार्जिन प्रकृतिको कर्जाका लागि नयाँ निर्देशन जारी गरेपछि बैंक तथा वित्तीय संस्थाले सेयर कर्जाको योजना ल्याएका छन् । नबिल बैंकले सजिलो कर्जा नै नबिल सेयर कर्जा भनेर सेयर कर्जा दिने योजना ल्याएको छ । आफुसंग भएको सेयर धितोमा राखेर सहज रुपमा आकर्षक ब्याज दरमा कर्जा लिन सकिने जनाएको छ । यस्तै मुक्तिनाथ विकास बैंकले पनि सेयर कर्जा योजना ल्याएको छ । सेवा शुल्कमा विशेष छुट दिने भन्दै सेयर कर्जा योजना ल्याएको हो । आवश्यक कागजात पेश गरेको २ दिनमै सेयर कर्जा पाइने बैंकले जानकारी दिएका छ । सर्वसुलभ दरमा सहज रुपमा सेयर कर्जा दिने घोषणा गरेको छ । नबिल र मुत्तिनाथले लिने ब्याज दर घोषणा गरेका छैनन् । यस्तै कैलाश विकास बैंकले सस्तोमा सेयर कर्जा दिने योजना सार्वजनिक गरेको छ । बैंकले १२ प्रतिशतमा सेयर कर्जा दिने कैलाश सेयर लोन योजना ल्याएको जानकारी दिएको छ । हाल बजारमा सेयर कर्जा १५ प्रतिशत भन्दा कममा पाइन्न । यो समयमा बैंकले बैंकले १२ प्रतिशतमा सेयर कर्जा दिने योजना ल्याएको छ । बैंकले बजार मूल्यको ५० प्रतिशत सम्म एक वर्षाको कर्जा दिने योजना ल्याएको हो । प्रक्रिया थालेको २ दिनमा सेयर कर्जा पाइने बैंकले जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जामा थप अंकुश लगाउदै बैंक तथा वित्तीय संस्थाले प्राथमिक पुँजी (कोर क्यापिटल) को ४० प्रतिशत मात्र लगानी गर्न पाउने व्यवस्था गरेको छ । गत वर्ष मार्जिन प्रकृतिको कर्जा लगानी साढे ७ प्रतिशत बढेर ४० अर्ब ४७ करोड ५७ लाख रुपैयाँ पुगेको थियो । यस्तो कर्जा गत वर्ष मात्रै २ अर्ब ८१ करोड ८८ लाख रुपैयाँ थियो । वित्तीय घर्षण बढेपछि गत माघदेखि नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जालाई अनुत्पादक भन्दै लगानीमा अंकुश लगाएको थियो ।
कालिका माइक्रोक्रेडिटको बोनस सेयर कारोबारका लागि सुचिकृत
काठमाडौं । कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको बोनस सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भएको छ । संस्थाको ३ लाख २५ हजार कित्ता बोनस सेयर सोमबार सुचिकृत भएको हो । पुँजी बढाउन कालिकाले सेयरधनीलाई हकप्रद सेयर दिएको थियो ।
भ्रष्टचारी उम्मेदवार बन्न नपाउने विद्येयक समितिबाट पारित
काठमाडौं । नेपाली कांग्रेस सांसदले भ्रष्टचारीलाई पनि उम्मेदवार बन्न दिनुपर्ने प्रस्ताव फिर्ता लिएपछि निर्वाचन विधेयक पारित भएको छ । राज्य व्यवस्था समितिको सोमबार बिहान बसेको बैठकमा कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले संशोधन प्रस्ताव फिर्ता लिएपछि विद्येयक पारित भएको हो । यसअघि प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा कांग्रेसका १९ सांसदले एकल र संयुक्तरुपमा संशोधन हालेका थिए । अदालतले तोकेको सजाय भुक्तान गरिसकेका भ्रष्टाचारीले उम्मेदवार बन्न पाउनुपर्ने माग काँग्रसी साँसदले राखेका थिए ।
करोडौँ मूल्यको शिलाजीत अलपत्र,आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्न सकिने बहुमूल्य शिलाजीत
म्याग्दी । प्राविधिक ज्ञान र उपकरणको अभावका साथै सम्बन्धित पक्षको बेवास्ताका कारण म्याग्दीका भिरपहरामा पाइने आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्न सकिने बहुमूल्य शिलाजीत उत्खनन हुन सकेको छैन । शिलाजीत उत्खनन गरी उपभोग गर्नेतर्फ सम्बन्धित पक्षको ध्यान नपुगेपछि वर्षेनी करोडौँको नोक्सानी भइरहेको छ । म्याग्दीका बाबियाचौर, ज्यामरुककोट, भकिम्ली, कुइनेमंगले, मुदी, मुना, ताकम, मराङ, बिमलगायतका पहरामा शिलाजीत पाइन्छ । शिलाजीत उत्खनन गर्नेतर्फ सम्बन्धित पक्षले चासो नदेखाउँदा स्थानीयवासी निराश भएको ज्यामरुककोटका शिवराम शर्मा बताउँछन् । नुनिलो र टर्रो स्वाद हुने शिलाजीत भिरपहरामा मात्र पाइन्छ । शिलाजीत कालो र सेतो गरी दुई किसिमको हुन्छ । पहराबाट निस्किएको एकप्रकारको रसायन जमेर शिलाजित बत्रे गरेको बताइन्छ । कालो शिलाजितको रस नियमित सेवन गर्नाले धातु, गानोगोला, ग्यास्ट्रिक, नसासम्बन्धी रोग निको हुने जनविश्वास छ । शिलाजीत को नियमित प्रयोग गर्नाले स्वास्थ्यका लागि निकै फाइदा पुग्ने जिल्ला आयुर्वेदिक चिकित्सकले बताएका छन् । शिलाजीत उत्खनन हुनसक्ने हो भने म्याग्दीमा वार्षिक १० करोड रुपैयाँसम्मको शिलाजित विक्री हुन सक्ने प्रवल सम्भावना रहेको भएता पनि प्राविधिक ज्ञान र उपकरणको अभावमा यो खेर गइरहेको उद्योगी व्यापारीहरुको भनाइ रहेको छ । बजारमा माग भए पनि उत्खनन गर्ने आधुनिक सीप र प्रविधिको अभावमा शिलाजीत खेर गइरहेको जिल्ला विकास समिति म्याग्दीले जनाएको छ । बजारमा प्रति १० ग्राम शिलाजीत २५ रुपैयाँदेखि ३० रुपैयाँसम्ममा बिक्री हुन्छ । तर जडीबुटीको असन्तुलित व्यापारका कारण लगानीकर्ता यसतर्फ आकर्षित हुन नसकेको जिल्ला वन कार्यालयले जनाएको छ । वन कार्यालयका अनुसार जिल्लाबाट न्यून मात्रामा मात्र शिलाजीत निर्यात हुनेगरेको छ । रासस
सहयोगी विकास बैंकको हकप्रद सेयर कारोबारका लागि सुचिकृत
काठमाडौं । सहयोगी विकास बैंकको हकप्रद कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भएको छ । बैंकको ११ लाख १ हजार १३५ कित्ता हकप्रद सेयर सुचिकृत भएको हो । बैंकले चुक्तापुँजी बढाउन हकप्रद सेयर निश्कासन गरेको थियो ।
पुर्णिमा विकास बैंकको हकप्रद सेयर कारोबारका लागि सूचिकृत
काठमाडौं । पुर्णिमा विकास बैंकको हकप्रद सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत भएको छ । एक्सचेन्जमा बैंकको ८ लाख १४ हजार ५१ कित्ता हकप्रद सेयर कारोबारका लागि सुचिकृत भएको हो । चुक्तापुँजी बढाउन पुर्णिमाले हकप्रद सेयर निश्कासन गरेको थियो ।
कागती बेचेर पाँच वर्षमा करोडपति, वार्षिक २० लाख रुपैयाँभन्दा बढी आम्दानी
झापा । झापाको मेचीनगर नगरपालिका–९ मागुरमाडीका डिल्लीराम उप्रती कागती बेचेरै करोडपति बनेका छन् । नौ वर्षसम्म विदेशमा श्रम र पसिना बगाएर नेपाल फर्कनुभएका उप्रेतीले आफ्नो डेढ बिगाह जमिनमध्ये एक बिगाहमा लगाएको कागती बेचेरै करोडपति बनेका हुन् । उनले अहिले वार्षिक २० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न थालेका छन् । २०६९ सालबाट कागतीखेती शुरु गरेका उप्रेतीले अहिले कागतीका दानासँगै बिरुवा उत्पादन पनि गर्न थालेका छन् । बिरुवा उत्पादनको शैली र उन्नत जातका बिरुवा पनि सरल प्रविधिबाट उत्पादन गर्दै थोरै ठाउँमा मनग्ये आम्दानी गर्न सकिने उदाहरण प्रस्तुत गरेका उप्रेती अहिले मेहनती कृषकका रुपमा झापामा परिचत छन् । उनले कृषि कर्मसँगै निजी वनको संरक्षण, सम्बद्र्धन र जैविक विविधतामा पुर्याएको योगदान स्वरुप यस वर्षको निजी वन राष्ट्रिय पुरस्कार समेत प्राप्त गरेका छन् । डेढ लाख रुपैयाँको लगानीमा कृषि कर्म शुरु गरेका उप्रेतीले कृषि फर्म सञ्चालन गर्दै अहिले आफ्नो कारोबार करोडमाथि पुर्याएको बताएका छन् । उनले पाँच कट्ठा क्षेत्रफलमा विभिन्न प्रजातिका बिरुवा समेत लगाएका छन् । डेढ बिगाहा काँशघारी किनेर कागतीका बिरुवा रोपेर त्यसैलाई मलजल गर्दै आम्दानी लिन शुरु गरेका उप्रेतीले अहिले वार्षिक डेढदेखि २ लाख कागतीका दाना बिक्री गर्छन् । उनको आम्दानीको मुख्य स्रोत कागती नै हो । कागती बेचेरै आफू पाँच वर्षमा करोडपति भएको उनले सुनाए । कागतीलाई विभिन्न प्रजातिमा रुपान्तरण गर्दै उनले युरिका, चाइनिज, एनसीआपी ५५ नामाकरण गरेका छन् । वार्षिक २५ देखि ३५ हजार उत्पादित बिरुवा बिक्री गर्दै उनले आम्दानीको स्रोतलाई अझ फराकिलो बनाएका छन् । उनका बगैँचामा ३०० कागतीका बोट छन् । उनले कागती कलमी गरेर गमलामा समेत फलाएका छन् । कलमी गरिएका र बिउ राखेर उमारेका कागतीका प्रतिबिरुवा ५० रुपैयाँदेखि ८५ रुपैयाँसम्ममा बिक्री गर्ने गरेको उनका बुबा लक्ष्मीप्रसाद उप्रेतीले बताए । उनले भने– “छोराले मान्छे हेरेर बिरुवाको दाम लिन्छ, गरिब दुःखीलाई निःशुल्क बिरुवा बाँड्छ भने व्यावसायिक कागतीखेती गर्न इच्छुकलाई ५० रुपैयाँदेखि ८५ रुपैयाँसम्ममा बिरुवा बिक्री गर्दै आएको छ ।” होटल व्यवस्थापन अध्ययन गर्दागर्दै उप्रेती सीप नसिकी हतार गर्दै कतार पुगेका थिए । उनले विदेशमा पाएको दुःख सम्झिएर यहाँ मेहनत गरिरहेका छन् । धेरै पैसा कमाउने लाचले कतार पुगेको थिएँ, उनले भने– “नौ वर्ष विदेश बस्दा जति कमाएँ त्योभन्दा दशौँ गुणा बढी त मैले यहाँ पाँच वर्षमै कमाएको छु ।” कागतीसहित तेजपात, मेवा, तरकारी, मलेसियन साल, टिकलगायतका बिरुवा उत्पादन उनको अर्को आयस्रोतको बाटो हो । उनी उन्नत जातका तरकारीका बिरुवा पनि उत्पादन गर्दै बिक्री वितरण गर्छन् । त्यस्तै गड्यौँले मल बिक्रीबाट पनि उनको मनग्ये आम्दानी हुने गरेको छ । गड्यौँले मल उत्पादनका लागि उनले छुट्टै मल घर बनाएका छन् । उनले आफ्नो कृषि फर्ममार्फत धेरैलाई रोजगारी पनि दिएका छन् । हिजो रोजगारीको खोजीमा विदेश गएको थिएँ, आज म यहीँ अरुलाई रोजगार दिन सक्ने भएको छु– उप्रेतीले भने– “माटोमा सुन फल्छ भन्ने उखान सुनेको थिएँ, आज चरितार्थ भयो”– उनले पाकेका कागतीको दाना देखाउँदै भने–“सुनभन्दा कम छैन, यो कागतीको दाना ।” हिजो मैले व्यवसाय शुरु गर्दा कागतिको खेती गरेर के नइ होला र भनी खिस्याउनेहरु अहिले मसँगै कागतीखेतीका विषयमा बुझ्न आउँछन्, म उनीहरुलाई कागतीखेती मात्र नभई अन्य विषयमा पनि जानकारी दिन्छु– उप्रेतीले भने– “कतिलाई त कागतीका बिरुवा दिएर बगान बनाउन पनि सहयोग गरेको छु ।” उप्रेतीले उत्पादन गरेका बिरुवा र कागती मेची अञ्चलका विभिन्न जिल्ला तथा अन्य जिल्लामा पनि बिक्री हुने गरेको छ । रासस