मार्जिन लेण्डिङमा कडाई, प्राथमिक पुँजीको ४० प्रतिशत मात्र लगानी गर्न पाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयरधितो कर्जा (मार्जिन लेण्डिङ) मा कडाई गरेको छ । राष्ट्र बैंकले मंगलबार एकिकृत निर्देशन सार्वजनिक गर्दे सेयर कर्जा सीमा घटाएको छ । नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले प्राथमिक पुँजी (कोर क्यापिटल) को ४० प्रतिशत मात्र सेयरमा लगानी गर्न पाउने छन् । यसअघि प्राथमिक पुँजी बराबर सेयरमा लगानी गर्न पाउने व्यवस्था थियो । एउटा सूचिकृत कम्पनीको सेयरको हकमा आफनो प्राथमिक पुँजीको १० प्रतिशत भन्दा ननाघने गरी मात्र कर्जा प्रवाह गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । प्राथमिक पुँजी भन्नाले अघि त्रैमाशको लेखापरीक्षण भएको वित्तीय विवरणलाई बुझिने राष्ट्र बैंकले सपष्ट पारेको छ । यस्तै १ अर्ब रुपैयाँ बहुबैकिङ कर्जा उपयोग गरिरहेका ऋणीको कर्जालाई सहवित्तीयकरणमा परिणत गर्नुपर्ने व्यवस्था निर्देशनमा उल्लेख छ । विपन्न कर्जाअन्र्तगत लघुवित्तीय संस्थालाई प्रवाह गर्ने कर्जाको हकमा यो निर्देशन लागु नहुने भएको छ ।
नेशनल हाइड्रो पावरको नेतृत्व हाथवेले पाएन, अब के हुन्छ सेयर मूल्य ?
काठमाडौं । विगत एक महिनामा नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर प्रतिकित्ता १३० रुपैयाँबाट १६५ रुपैयाँ पुग्यो । यसरी सेयरको मूल्य वृद्धि हुनुको कारण कम्पनीको वित्तीय अवस्थामा सुधार भएर होइन । नेशनल हाइड्रो पावर कम्पनीको नेतृत्व हाथवे इन्भेष्टमेन्ट कम्पनीले लिने पूर्वतयारीसँगै कम्पनीको सेयर दैनिक १० प्रतिशतसम्मले वृद्धि भएको थियो । हाथवे इन्भेष्टमेन्टको तर्फबाट अम्बिकाप्रसाद पौडेलले सबैको सहमति भएमा नेशनल हाईड्रो पावरको नेतृत्व लिन आफू तयार भएको बताएका थिए । तर बंगलबार सम्पन्न नेशनल हाईड्रोपावरको साधारणसभाबाट सर्वसहमतिमा चुनिएका सञ्चालकहरुको सूचिमा पौडेलको नाम छैन । निर्वाचित कुमार पाण्डे, बासुदेव गौतम, विश्वेश्वर सुवेदी, सोमनाथ सापकोटा, एलसन श्रेष्ठ, नवराज नेपाल र सुशिला कुमारी शर्मा छन् । नबराज नेपाल हाथवे इन्भेष्टमेन्ट नेपालको बोर्ड मेम्बर हुन् । तर नेशनल हाईड्रोपावरमा उनको प्रतिनिधित्व हाथवेबाट सस्थागत नभई व्यक्तिगत लगानीकर्ताको हैसियतमा भएको हाथवे इन्भेष्टमेन्ट नेपालका प्रबन्ध निर्देशक अम्बिका पौडेलले बताए । नेशनल हाइड्रोपावरको साधारणसभा पूर्व हाथवेले उक्त कम्पनीको नेतृत्व गर्ने विषयमा छलफल भएको, त्यसमा आफूले सकारात्मक भूमिका खेलेको तर हालको बोर्डमा हाथवेको तर्फबाट कुनै पनि प्रतिनिधित्व नभएको उनले बताए । मंगलबार नै नेशनल हाइड्रोपावरको सेयर कारोबार उच्च भएको छ । मंगलबार मात्र नेपाल स्टक एक्सचेन्जमा नेशनलको ४ करोड ६१ लाख ४५ हजार ६९१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । ३१६ करोबारबाट २ लाख ८० हजार कित्ता सेयर किनबेच भयो । मंगलबार सो कम्पनीको सेयर प्रतिकित्ता १५९ देखि १७१ रुपैयाँमा कारोबार भयो र २६५ रुपैयाँमा कारोबार बन्द भयो । के हाथवे इन्भेष्टमेन्ट कम्पनीले नेशनल हाइड्रोपावर कम्पनीको सेयर बेच्न थालेको हो रु लगानीकर्तामा आंशका पैदा भएको छ । हाथवेले नेशनल हाईड्रोबाट हात झिकेको अवस्थामा यस कम्पनीको सेयर मूल्य घट्ने अनुमान गरिएको छ । नेशनल हाइड्रो पावर नेपाली सेयर बजारको सर्वाधिक विवादस्पद कम्पनी हो । २१ वर्ष पुरानो यस कम्पनीले अहिलेसम्म सेयरधनीलाई एक रुपैयाँ पनि लाभांश बाँढ्न सकेको छैन । यस कम्पनीको सेयर मूल्य कहिले ३५ रुपैयाँमा झरेको छ त कहिले ७०० रुपैयाँ नाघेको इतिहास छ । सेयर मूल्यमा ज्यादा उतारचढाब हुने यस कम्पनीको सेयरबाट संगठित रुपमा प्ले गर्ने थोरै लगानीकर्ताले मनग्य कमाएका छन् भने असंगठित धेरै लगानीकर्ताले निद्रा हराम हुनेगरी गुमाएका छन् ।
नेपाल टेलिकमले फेरि ल्यायो निशुल्क भ्वाइस कल सेवा, आगामी कात्तिक सम्म लागु
काठमाडौं । नेपाल टेलिकमले प्रयोगकर्ताले एकअर्कामा निशुल्क भ्वाइस कल गर्न मिल्ने कर्पोरेट युजर ग्रुप (सीयुजी) सुविधा मंगलबारदेखि फेरि सुरु गरेको छ । अब सीयूजी सुविधा प्रयोग गरी एउटै सीयूजी प्याकेज अन्तर्गत रहेका कर्पोरेट ग्राहकहरुले एक अर्कामा निःशुल्क रुपमा असीमित भ्वाइस कल गर्न सक्ने छन् । टेलिकमका अनुसार यो सुविधा आगामी कात्तिक २७ गतेसम्म लागू हुनेछ । जीएसएम पोष्टपेड मोबाइलका कर्पोरेट ग्राहकका लागि टेलिकमले नयाँ महसुल दर समेत निर्धारण गरेको छ । साथै कर्पोरेट युजर ग्रुप वाहेक नेपाल टेलिकमकै नेटवर्क भित्रका अन्य नम्बरमा समेत भ्वाइस कल गर्न र डाटा चलाउन पाइने छ । कम्पनीले कर्पोरेट ग्रुपका विभिन्न समूहलाई उपयुक्त हुने गरी कर सहित ४ सय, ७ सय, १ हजार, १३ सय र १६ सय रुपैयाँको विभिन्न दरका सीयूजी प्याकेजहरु उपलब्ध गराएको छ । सबैभन्दा सस्तो प्याकेज ४ सय रुपैयाँमा रहेको छ । यस अन्तर्गत सीयूजी ग्रुप भन्दा बाहिर कम्पनीकै नेटवर्कमा १५० मिनेट भ्वाइस कल गर्न तथा ३०० एमबी डाटा चलाउन पाइने छ । त्यसैगरी ७ सय रुपैयाँमा ३०० मिनेट भ्वाइस कल गर्न र ८०० एमबी डाटा चलाउन सकिने छ । यो वाहेक १ हजार रुपैयाँमा ४५० मिनेट भ्वाइस कल गर्न र १५०० एमबी डाटा चलाउन, १३ सय रुपैयाँमा ६०० मिनेट भ्वाइस कल गर्न र २१०० एमबी डाटा चलाउन तथा १६ सय रुपैयाँमा ७५० मिनेट भ्वाइस कल गर्न र २७०० एमबी डाटा चलाउन पाइने छ । सबै प्याकेजमा रहेका ग्रुप सदस्यहरु बीचमा भने असीमित भ्वाइस कल गर्न सकिने छ । कुनै कर्पोरेट हाउसका कमसेकम १० जना जीएसएम पोष्टपेड प्रयोगकर्ता यो प्याकेजमा सहभागी हुन सक्ने टेलिकमले जनाएको छ । कर्पोरेट हाउसले आधिकारिक रुपमा कम्पनीलाई जानकारी गराए पछि तोकिएका ग्राहकलाई सीयूजी प्याकेज उपलब्ध गराइएको छ । कम्पनीको ग्राहक सेवा केन्द्रबाट यो सुविधा लिन सकिने छ ।
अब एक महिना भित्रै सडकका पोलमा झुण्डिएका तार व्यवस्थाति हुने, त्रिपुरेश्वर-कलंकीमा एक हप्ते सिमा
काठमाडौं । सडक किनरामा रहेका बिजुली र टेलिकमका पोलमा झुण्डिएका तारहरु एक हप्ता भित्रै व्यवस्थित हुने भएका छन् । सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले बोलाएको बैठकमा केलब टेलिभिजन महासंघ र इन्टरनेट सेवा प्रदायकहरुको छाता संस्थाका प्रतिनिधीले एक महिना भित्रै तार व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । बैठकमा सूचना तथा सञ्चार मन्त्रालयले एक हप्ता भित्रै अनावश्यक तारको व्यवस्थापन गर्न भनेको थियो । तर केबल टेलिभिजन व्यवसायी र इन्टरनेट सेवा प्रदायकहरुको आग्रहमा एक महिनाको समय दिइएको हो । उनीरुले १५ दिन भित्रै आफ्नो कम्पनीको तारमा लोगो(ट्याग) झुण्ड्याउनु पर्नेछ भने एक महिना भित्रै आफ्ना सबै तारहरु व्यवस्थित गरिसक्नुपर्नेछ । एक महिना भित्रै तार व्यवस्थित नगरेमा नेपाल टेलिकम र नेपाल विद्युत प्राधिकरणले त्यस्ता तारहरु काट्नेछ । हाल विद्युत प्राधिकरण र टेलिकमका पोलहरुमा केबल टिभी व्यवसायी र इन्टरनेट सेवा प्रदायकहरुले आफ्ना तार जडान गरेर सेवा प्रदान गर्दै आएका छन् । अनावश्यक तार काटे वापतको खर्च भने नेपाल दुर सञ्चार प्राधिकरणले व्यहोर्नेछ । यसैबिच त्रिपुरेश्वर देखि कलंकीसम्मको सडकमा रहेका तारहरु भने एक हप्ता भित्रै व्यवस्थित भैसक्नेछन् । ८ औं दिन देखि प्राधिकरण र टेलिकमले सो क्षेत्रमा रहेका तारहरु काट्न थाल्ने जनाएको छ । बैठकमा सञ्चार मन्त्री बस्नेतले स्मार्ट सीटी बनाउने भनिएको शहरमा तारहरुको जालो देखिपछि त्यसको व्यवस्थापनका लागि आफु जुटेको बताएका थिए । सञ्चार सचिव महेन्द्र मान गुरुङले तारहरुको व्यवस्थापनबाट स्मार्ट सीटी निर्माणको आरम्भ हुने बताएका थिए । छलफलमा काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले काठमाडौं लगायतका ठुला शहरलाई वायरलेस बनाउनुपर्ने धारणा राखेका थिए । शहरी विकास मन्त्रालयका सचिव दिपेन्द्र नाथ शर्माले नयाँ बन्दै गरेका १५० वटा नगरहरुमा भने तार लगायतका पुर्वाधारहरु व्यवस्थापनको मास्टर प्लान बनिरहेको बताएका थिए ।
अटोलोनको सीमा बढेर ६५ प्रतिशत पुग्यो, व्यवसायीलाई राहत
काठमाडौं । नेपाल राष्ट्र बैंकले सवारीसाधन कर्जा (अटोलोन) को सीमा बढाएको छ । राष्ट्र बैंकले मंगलबार निर्देशन सार्वजनिक गर्दे अटोलोनको सीमा ५० बाट बढाएर ६५ प्रतिशत पु¥याएको छ । अब बैंकले सवारीसाधनको मुल्यको अधिकतम् ६५ प्रतिशत मात्र लगानी गर्न पाउने भएका छन् । यसले गाडी खरिद र बिक्री गर्ने दुबैले राहत पाएका छन् । अनुत्पादक क्षेत्रमा लगानी बढेर वित्तीय घर्षण भएको जिकिर गर्दे राष्ट्र बैंकले माघमा गत आर्थिक वर्षको मौद्रीक नीतिको मध्यावधि समीक्षामा अटोलोनको सीमा घटाएर ५० प्रतिशत मात्र लगानी गर्न पाउने व्यवस्था गरेको थियो । यस्तै केन्द्रीय बैंकले विद्युतीय सवारीसाधन खरिदमा ८० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरेको जानकारी दिएको छ । न्युनतम् ४० सिटका सार्वजनिक यातायात, निर्माण सामाग्री ढुवानी, विद्यालय र पर्यटन प्रयोजनका लागि खरिद हुने सवारी साधनका हकमा यो सीमा लागु नहुने राष्ट्र बैंकले स्पष्टपारेको छ ।
नयाँ लघुवित्त संस्थाको इजाजत बन्द
काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ लघुवित्तीय संस्था स्थापनाका लागि इजाजत दिने काम बन्द गरेको छ । गत आर्थिक वर्ष ०७३÷०७४ मा वित्तीय सेवा कम भएका ९ जिल्ला बाहेक अन्य जिल्लामा लघुवित्तीय संस्था खोल्न नदिने नीति लिएकोमा चालु आवदेखि देशभरी इजाजत स्थगन गरेको राष्ट्र बैंकले जनाएको छ । गत आवमा वित्तीय पंहुच कम भएका कालिकोट, डोल्पा, हुम्ला, मुगु, जुम्ला, जाजरकोट, मनाङ, बझाङ र बाजुरामा मात्र लघुवित्तीय संस्था खोल्न दिने व्यवस्था गरेको थियो । हाल देशभर ५ दर्जन लघुवित्तीय संस्था सञ्चालनमा छन् ।
राष्ट्रिय सहकारी संघले बाढीपीडितका लागि २५ लाख रुपैयाँ राहत दिने
काठमाडौं । राष्ट्रिय सहकारी संघ लि. नेपालले बाढी पहिरो, कटान र डुवान पीडितहरुका लागि २५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । संघको मंगलबार बसेको कार्यकारीणी समितिको बैठकले संघको प्राकृतिक विपत्ति उद्धार कोषबाट २५ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान गर्ने निर्णय गरेको हो । संघले आफ्नो मातहतमा रहेको केन्द्रिय सहकारी संघहरु, राष्ट्रिय सहकारी बैंक, जिल्ला संघ तथा विषयगत संघलगायत देशभरि रहेको ३३ हजारभन्दा बढि प्रारम्भिक सहकारी संस्थाहरुलाई समेत सक्दो सहयोग गर्न आव्हान गरेको छ । संघले राष्ट्रिय सहकारी बैंक लि. शाखा कार्यालय बानेश्वरमा रहेको आफ्नो खाता नं. १३–०००२४–२९ र राष्ट्रिय वाणिज्य बैंक नयाँ बानेश्वरको संघको दैवी प्रकोप उद्दार कोषको खाता नं. १४२००–३४३५१–१० मा रकम जम्मा गर्नका लागि सहकारी संघ÷संस्थालाई आव्हान गरेको छ । ती खातामा संकलन गरिएको रकम प्रधानमन्त्री राहत कोषमा प्रदान गरिने संघका अध्यक्ष केशव प्रसाद बडालले बताए । संघले देशका विभिन्न भागमा आएको बाढी, पहिरो, कटान र डुवारमा परि जनधनको अपुरणीय क्षति र बाढी पहिरो प्रभावित क्षेत्रमा बासस्थान, कृषि बाली, सडक, उद्योगधन्दा प्रभावित भएकोले प्रभावित क्षेत्रका नागरिकको जीवन कष्टकर बनेको भन्दै यस्तो घडीमा सहकारीको मर्म अनुसार सहयोग गर्न आग्रह गरेको हो । संघले प्राकृतिक विपत्मा परि ज्यान गुमाएकाप्रति श्रञ्जाजलीसमेत व्यक्त गरेको छ ।
अब साउदी अरब जान ट्रान्जिट बस्नुपर्दैन, भदौ १६ गतेदेखि हिमालय एसरलाइन्सको सिधै उडान
काठमाडौं । अबदेखि नेपालबाट साउदी अरब यात्रा गर्दा ट्रान्जिट बस्नु नपर्ने भएको छ । यसअघि लामो ट्रान्जिटबाट यात्रा गर्ने एयरलाइन्सले भाद्र १६ गतेदेखि काठमाडौंबाट साउदीअरबस्थित दमामसम्म नियमितरुपमा सिधा उडान गर्ने घोषणा गरेको छ । वैदेशिक रोजगारका लागि साउदी अरब गएका नेपाली नागरिकलाई लक्षित गरेर दैनिक सिधा उडान सुरु गरेको एयरलाइन्सले जनाएको छ । आगामी महान चाँड दशैं तथा दिपावलीमा घर आउनेहरुलाई उपहार स्वरुप समय र पैसा दुवैको वचत हुने अपेक्षा रहेको कम्पनीको बताएको छ। उक्त्त एअरलाईन्सले काठमाण्डौ–दमाम–काठमाण्डौको एक तर्फि यात्रा शुल्क २३ हजार ८ सय रुपैयाँ र दुईतर्फीका लागि नेपाली ३८ हजार रुपैयाँ कायम गरेको छ । त्यस्तै दमाम–काठमाण्डौ–दमामको एकतर्फी यात्रा शुल्क साउदी रियाल (एसएआर) ८ सय ५० (शुरुवाती टिकटदर करबाहेक) र दुईतर्फि यात्रा शुल्क एसएआर १ हजार ३ सय ६० कायम गरेको छ । दुवै मार्गहरुमा बिजनेस क्लासको लागि ४० के. जी र इकोनोमी क्लासको लागि ३० के. जी ब्यागेज अलाउन्स निःशुल्क गरिएको छ । केही महिनापछि एयरलाइन्स्ले पहिलो चरणमा दमाम, ढाका, हङकङ, र बैकंक र दोस्रो चरणमा चीनको बेइजिङ्ग र चेङ्ग्दुलाई आफ्नो थप गन्तव्य बनाउने योजना कायम राख्दै ल्हासा र गन्जाऔ जस्तै अन्य शहरहरुमा आफ्नो थप सेवा बिस्तार गर्ने जानकारी दिएको छ ।