महासंघका अध्यक्ष डा. बिष्टको नेपाल प्रेस स्वतन्त्रता पुस्तक सार्वजनिक
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रताले नै लोकतन्त्रलाई टिकाउने बताएका छन । नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले लेखेको नेपाल प्रेस स्वतन्त्रता नामक पुस्तकको सार्वजनिकीकरण कार्यक्रममा प्रधानमन्त्री देउवाले प्रेस स्वतन्त्रता र मानव अधिकारप्रति आफू सधै प्रतिबद्ध रहेको बताएका हुन । उनले सत्य तथ्य सामग्री प्रकाशन तथा प्रसारण गर्न आग्रह गर्दै लोकतन्त्रलाई संस्थागत गर्ने सहयोग पुग्ने गरी अघि बढ्न सञ्चार क्षेत्रलाई आग्रह गरे । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले निर्वाध रुपमा प्रेस स्वतन्त्रताको उपयोग गर्न पाउनु पर्ने बताए । पुस्तकमाथि टिप्पणी गर्दै पत्रकारिताका प्राध्यापक पी. खरेलले पुस्तक अनुसन्धानमा आधारित यो पुस्तक निकै सान्दर्भिक भएको बताउँदै मिडिया जहिलेपनि निष्पक्ष रुपमा प्रस्तुत हुनुपर्ने धारणा व्यक्त गरे । पुस्तकमा लोकतन्त्र र प्रेस स्वतन्त्रता, नेपाली पत्रकारिता र प्रेस स्वतन्त्रताको विकास, मिडिया सम्बन्धी कानूनी व्यवस्था, नियमन प्रणालीको बारेमा विस्तृत चर्चा गरिएको छ । यस्तै नेपाली मिडियाको स्थिति र पत्रकारको सुरक्षा, मिडियामा लगानी, आर्थिक वातावरण र प्रेस स्वतन्त्रतको बारेमा पनि उल्लेख गरिएको छ । पुस्तकमा डा.विष्टले नेपालको संविधानमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई उदारतापूर्वक समेटिएको र सरकारी हस्तक्षेपका सम्भावनाहरुलाई धेरै हदसम्म सिमति गरेर प्रेस स्वतन्त्रताको प्रत्याभूतिलाई बलियो बनाइएको उल्लेख गरेका छन् । छापाखाना तथा प्रकाशन ऐन, राष्ट्रिय प्रसारण ऐन लगायतका कानूनहरु पुनरावलोकन नभएका कारण कानूनी प्रत्याभूतिको आधारहरु धेरै बलियो नभएको लेखकको अनुसन्धानको निश्कर्ष छ । लेखकले सर्वेक्षण र अन्तर्वार्ताका आधारमा कानूनी तथा नीतिगत पक्ष र अभ्यासलाई हेर्दा नेपाली प्रेसको अवस्था आंशिक स्वतन्त्र छ भन्ने पुष्टि गरेका छन् । प्रेस स्वतन्त्रता सम्बन्धी नीतिगत, कानूनी र व्यवहारिक क्षेत्रमा सुधार गरेर नेपाललाई प्रेस स्वतन्त्रताको दृष्टिले स्वतन्त्रको कोटीमा पुर्याउन पहल गर्न आवश्यक छ भन्दै पुस्तकमा प्रेस स्वयंले पनि सामाजिक उत्तरदायित्वको सिद्धान्तलाई आत्मसाथ गरी व्यावसायिक अभ्यासमा थप सुधार गर्नुपर्ने खाँचौ पनि औल्याइएको छ । पत्रकार, पत्रकारिताका अध्येता, अनुसन्धानकर्ता, विद्यार्थी र अभियान्तका साथै पत्रकारिता, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक प्रणालीका बारेमा रुची राख्ने हरेकाका लागि उपयोगी हुने पुस्तक सेन्टर फर मिडिया रिसर्च नेपालसँगको सहकार्यमा सांङ्ग्रिला पुस्तक प्रालिले प्रकाशित गरेको हो । ३१३ पृष्ठको पुस्तकको मूल्य ४७५ रुपैयाँ छ ।
टेलिकमको जिएसएम मोबाइल सेवा अब धौलागीरीमा पनि
काठमाडौं । नेपाल टेलिकमले धौलागिरी अञ्चलका विभिन्न बिकट तथा ग्रामीण क्षेत्रमा जिएसएम मोवाइल सेवाका सञ्चालनमा ल्याएको छ । साथै, कम्पनीले नयाँ प्रविधिमा स्तर उन्नति गरी तथा केही नयाँ स्थानमा समेत बिटीएस सञ्चालनमा ल्याएको छ । धौलागिरीका चारवटा जिल्ला पर्वत, म्याग्दी, मुस्ताङ र बाग्लुङका शहरी तथा जनघनत्व भएका स्थानमा उच्च गतिको डाटा सेवा उपलब्ध हुने २१ वटा थ्रीजी बिटीएस स्थापना गरी गत वर्षबाट सेवा सञ्चालनमा ल्याएको छ । साथै गत बैशाख देखी धौलागिरी अञ्चलका दुर्गम तथा ग्रामीण स्थानहरुमा ७४ वटा टुजी तथा उच्च गतिको डाटा सेवा उपलब्ध हुने ३८ वटा थ्रीजी बिटीएस स्थापना गरी सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । यी स्थानहरु मध्ये कतिपय यस अघि कुनै पनि सेवा नपुगेका स्थानहरु जस्तै मुस्ताङको मुक्तिनाथ देखि लोमान्थाङ सम्मको सम्पूर्ण उपल्लो मुस्ताङ, म्याग्दीको गुर्जा र बाग्लुङको ढोरपाटन पनि रहेका छन । त्यस्तै गरी गत दुई महिनाको अवधिमा धौलागिरी अञ्चलका सात नयाँ स्थानहरुमा १३ वटा टुजी तथा उच्च गतिको डाटा सेवा उपलब्ध हुने २ वटा थ्रीजी बिटीएस म्याग्दीको तकाम, दाना र डुवा पर्वतको लेखफाट र शंकरपोखरीकोट साथै बाग्लुङको तमान र दुधिलाभाटी स्थापना गरी सञ्चालनमा ल्याईएको छ । यस मध्ये नेपाल टेलिकमले म्याग्दीको रघुगंगा गाँउपालिकाको केन्द्र पाखापानीमा ३० मीटरको ग्राउण्ड बेस्ड बिटीएस टावर स्थापना गरी २०७४ आषाढ २० गते देखि टुजी सेवा सञ्चालनमा ल्याएको छ । उक्त टावर सञ्चालन पश्चात पाखापानी, कोटडाँडा, ठाडाखानी, रायखोर, चिमखोला, दमीज र कुइनेमंगलेका बासिन्दाहरु तथा यस क्षेत्रमा आउने पर्यटकहरु मोबाइल सेवाबाट लाभान्वित हुनेछन् । साथै बाग्लुङको पयूँपाटा खर्सेडाँडामा बिटीएस टावर स्थापना गरी २०७४ आषाढ २१ गते देखि टुजी तथा थ्रीजी सेवा सञ्चालनमा ल्याएको छ । उक्त टावर सञ्चालन पश्चात पाङ, सर्हसधारा, नयाँपुल, अरमादी र छर्मकेका बासिन्दाहरु मोबाइल सेवाबाट लाभान्वित हुनेछन् । अव यस क्षेत्रका उपभोक्ताहरुले पनि जिएसएम मोवाइल मार्फत सहजै अन्य क्षेत्र तथा विश्व समुदायसँग सम्पर्क स्थापित गर्न सक्नेछन् ।
निजी बैंक नपुगेका नगर र गाउँपालिकामा २५० शाखा खोल्न बैंकर्स संघको प्रस्ताव
काठमाडौँ । नेपाल बैंकर्स संघले निजी बैंक नपुगेका नगर र गाउँपालिकामा २५० वटा नयाँ शाखा खोल्न प्रस्ताव गरेको छ । बैंकिङ सुविधा नपुगेका सात वटै प्रदेशका २५० वटा स्थानीय तहमा निजी बैंकको शाखा थप्नका लागि राष्ट्र बैंकलाई प्रस्ताव गरेको संघका अध्यक्ष अनिलकेशरी शाहले जानकारी दिए । जस अनुसार, प्रदेश नम्बर १ मा ५२, प्रदेश नम्बर २ मा ३५, प्रदेश नम्बर ३ मा २७, प्रदेश नम्बर ४ मा ३२, प्रदेश नम्बर ५ मा ४०, प्रदेश नम्बर ६ मा २५ वटा र प्रदेश नम्बर ७ मा ३९ वटा शाखा खोल्न प्रस्ताव गरिएको छ । ‘चुनावसँगै स्थानीय निकायलाई सक्षम बनाउन तथा केन्द्रीय सरकारको बजेट स्थानीय तहसम्म पुर्याउन हरेक नगर र गाउँपालिकामा कम्तीमा पनि एउटा बाणिज्य बैंकको शाखा खोल्न सरकारले योजना बनाएको छ । त्यही तथ्यलाई मनन गर्दै बैंकर्स संघले गरेको समन्वयमा २७ वटा बाणिज्य बैंक शाखा खोल्नका लागि तयार भएका छन् । २५० वटा शाखाको प्रस्तावित सूची हामीले राष्ट्र बैंकलाई बुझाएका छौँ ।,’ अध्यक्ष शाहले भन्नुभयो, ‘भूकम्पपछि अबरुद्ध सेवालाई सुचारु गर्न होस् वा नवनिर्वाचित स्थानीय जनप्रतिनिधिलाई वित्तीय क्षेत्रबाट सहयोग गर्न निजी क्षेत्रका बाणिज्य बैंकहरु सँधै तत्पर छन् ।’ अध्यक्ष शाहका अनुसार ७४४ स्थानीय तहमध्ये ४११ वटा स्थानीय तह अहिले बित्तीय क्षेत्रको पहुँच भन्दा बाहिर छ । ४११ वटा मध्ये अधिकांश गाउँपालिका निकै दुर्गममा छन् । अधिकांशमा सडक सुविधा, बैंको कार्यालय राख्न उपयुक्त भवन जस्ता भौतिक संरचनाका साथै बिजुली, टेलिफोन, इन्टरनेट र सुरक्षाको अभाव देखिएको छ । जसका कारण बैंकका शाखा खोल्न निकै अप्ठेरो देखिएको छ । ‘यद्यपि सरकारको पहलकदमीलाई गम्भीरतापूर्वक लिँदै संघले २५० वटा शाखा खोल्नका लागि प्रस्ताव गरेको छ । नयाँ शाखा खुलेपछि ६०० वटा स्थानीय तह अर्थात ८० प्रतिशत जनतामा बैंकिङ पहुँच पुग्नेछ ।’- अध्यक्ष शाहले भने । साथै, संघले प्रस्तावित शाखाको संख्यासँगै नामावली पनि बुझाएको छ ।
स्पीड वे फाउण्डेसनद्धारा लिखु गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण
काठमाडौं । स्पीड वे कार्गो प्रा. लि. को संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्नें आङ्गिक संस्था स्पीड वे फाउण्डेसनले लिखु गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । उक्त फाउण्डेसनले लिखु गाउँपालिकामा अवस्थित क्षेत्रपालमा.वि.मा आयोजित कार्यक्रममा सो गाउँपालिकाको लागी एम्बुलेन्स हस्तान्तरण गरेको हो । पुर्व अर्थमन्त्री डा. रामशरण महतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा फाउण्डेसनका अध्यक्ष राजु श्रेष्ठ तथा अमेरिकी नागरिक मार्टिन ट्युनिसले सयुंक्त रुपमा क्षेत्रपाल सामुदायिक संस्थाका अध्यक्ष विष्णुलाल श्रेष्ठलाई एम्बुलेन्सको प्रतिकात्मक चावी हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा बोल्दै फाउण्डेसनका अध्यक्ष राजु श्रेष्ठले हस्तान्तरण गरिएको एम्बुलेन्स त्यस क्षेत्रका जनसमुदायको स्वास्थ्यको लागी हित कर हुने र सो को सहि सदुपयोग हुने आशय व्यक्त गरेका छन् । साथै, राजु श्रेष्ठले त्यस गाँउपालिकाका समुदायको स्वरोजगार मार्फत आर्थिक स्थिती सुधार गरुन् भन्ने हेतुले त्यस गाउँपालिकाको लागी बहुउदेश्यीय तालिम केन्द्रको लागी ५ रोपणी जग्गा उपलब्ध गराई चाँडै नै निर्माण थालनी गर्ने घोषणा पनि गरेका छन्
काठमाडौंमा चार वटा नयाँ शहर बनाउन एक खर्ब ३० अर्ब सरकारी लगानी(फोटोसहित)
काठमाडौं । उपत्यकाका चार क्षेत्रमा निर्माण गर्न लागिएका चार वटा नयाँ शहरमा एक खर्ब ३० अर्ब सरकारी लगानी आवश्यक पर्ने प्रारम्भिक प्रक्षेपण गरिएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणका इञ्जिनियर भागवत भक्त खोखालीका अनुसार एक लाख रोपनी जमिनमा निर्माण हुने शहरमा सरकारले एक खर्बको लगानी गर्नेछ भने अन्य १०/१० हजार रोपनी क्षेत्रफलमा निर्माण हुने शहरमा प्रति शहर १० अर्बका दरले सरकारी लगानी हुनेछ । ती शहरमा सरकारले एक रुपैंयाँ लगानी गर्दा नागरिकले १० रुपैंयाँ लगानी गर्ने पनि उनले बताए । ‘सरकारले पुर्वाधार विकासमा लगानी गर्छ, नागरिकको लगानी जमिनमा हुने हो, नागरिकले सरकारको भन्दा १० गुणा बढि लगानी गर्नेछन्’, इञ्जिनियर खोखालीले भने । नयाँ शहरमा कुल जमिनको ३५ प्रतिशत सडकमै लाग्नेछ । ती शहरमा मुल सडक ५० मिटर र सहायक सडकहरु क्रमशः २२, ११, ८ र ६ मिटरका हुनेछन् । अहिले ८ आना भन्दा साना जमिनका प्लट बेचबिखनमा रोक लगाइएको छ । त्यस बाहेक नयाँ भवन निर्माणमा पनि रोक लगाईको छ । सडक निर्माण तथा विस्तार, ढलको निर्माण तथा विस्तारमा पनि रोक लगाइएको खोखालीले बताए । ‘घर निर्माण, खानेपानीको पाइप विस्तार, सडक निर्माण, ढल लगायतका सबै काममा रोक लगाएका छौं’, खोखालीले भने । भूकम्प पीडितलाई घर निर्माणमा भने रोक नलगाउनेबारे छलफल भैरहेको उनले बताए । तर अन्यत्र जमिन नभएका भूकम्प पीडितले मात्रै त्यहाँ घर बनाउन पाउनेछन् । त्यस्तै, भूमि सुधार मन्त्रालयले १० बर्षपछि मोहियानी छुट्याउने प्रक्रिया अघि बढाएकाले मोहियानी हक अन्तर्गत जग्गा काँटछाट फुकुवा गर्ने तयारी भैरहेकोछ । यी हुन प्रस्तावित नयाँ शहर काठमाडौं ईशानः प्राधिकरले उपत्यकामा निर्माण हुने पहिलो नयाँ शहरको नाम ईशान काठमाडौं राखेको छ । शहर काठमाडौंको पुर्व उत्तर क्षेत्रमा पर्छ । यो शहर पुर्वमा भक्तपुरको नगरकोट जाने बाटो, तेलकोट सडक, पश्चिममा जोरपाटी क्रिकेट मैदान, मुलपानी गोठाटार हुँदै मनोहरा पुलसम्म फैलिनेछ । त्यस्तै, उत्तर तर्फ साँखु बजार र साँखु जाने मुल सडकसम्म फैलिनेछ । दक्षिणमा भने भक्तपुर पुरानो बाटो सैनिक प्रतिष्ठान, इतापाके जग्गा एकिकरण आयोजना लगायतको क्षेत्रमा फैलिएको हुनेछ । यो नयाँ शहर एक लाख रोपनी क्षेत्रफलमा निर्माण हुनेछ । काठमाडौं आग्नेयः उपत्यमा निर्माण हुने दोश्रो शहर १० हजार रोपनी क्षेत्रफलमा फैलिएको हुनेछ । यसको नाम काठमाडौं आग्नेय अर्थात पुर्व दक्षिण राखिएको छ । यो शहर भक्तपुर क्षेत्रमा मात्रै पर्छ । पुर्वमा अरनिको राजमार्गको सुर्य विनायक चोकबाट सुर्य विनायक मन्दिर अगाडीको वनलाई बाहिर पार्दै अघि बढ्नेछ । पश्चिम तर्फ खहरे खोला, बालकोट विरुवा सडक, पानी ट्यांकी, बालकोट अमरनगर थिमी हुँदै अरनिको राजमार्गसम्म आइपुग्नेछ । उत्तरमा भने अरनिको राजमार्गलाई छुनेछ । दक्षिणमा भने यो शहरले सिलामखाल, रानीकोट जंगल छेउ, अनन्तलिंगेश्वर फेदी, तर्खगाल, पात्लेटार विरुवा हुँदै खहरेसम्म पुग्नेछ । तेश्रो शहरस् काठमाडौं नैऋत्य काठमाडौं उपत्यकाको दक्षिण पश्चि क्षेत्रमा फैलिने यो शहर पनि १० हजार रोपनी क्षेत्रफलको हुनेछ । यसले ललितपुरको बिभिन्न भुभागलाई समेट्नेछ । नैऋत्यः काठमाडौंको पुर्वी भाग साबिकको खोकना १ देखि ८ नम्बर वडासम्म पुगेर बुङमति वडा नम्बर १ भएर छम्पी जाने बाटो बाटोबाट वडा नम्बर २ देखि ६ नम्बरसम्म पुग्नेछ । पश्चिममा बागमति नदि छेउम्म यो शहर निर्माण हुनेछ । उत्तरमा भने साविकको सैँबु गाबिसको सिमानासम्म शहरले छुनेछ । दक्षिणमा भने काठमाडौं नैऋत्यले बागमति नदि किनारनै छुनेछ । यो शहर पनि १० हजार रोपनी क्षेत्रमा फैलिएको हुनेछ । चौथोः काठमाडौं उत्तर यो शहरले काठमाडौं जिल्लाको १० हजार रोपनी जमिन ओगट्नेछ । यसमा पुर्वतिर तर सामाखुसी, टोखा रोड हुँदै बाइपाससम्म आउनेछ । त्यस्तै, पश्चिममा काभ्रेस्थली देखि बाइपास आउने मुल सडक पर्नेछ । उत्तरतर्फ भने सपनतिर्थ मालुङ हुँदै काभ्रेस्थलीको बाटोसम्म पुग्नेछ । दक्षिणमा भने यो शहरले ग्रीनल्याण् चौक देखि महादेवखोला काभ्रेस्थली मुल सडक छुनेछ । नयाँ शहरमा भूकम्प प्रतिरोधी भवन, फराकिला सडक, ढल निकास, खुल्ला मैदान, मनोरञ्जन पार्क, स्वास्थ्य केन्द्र, खेल मैदान, एकिकृत सरकारी सेवा केन्द्र, शिक्षाको उपयुक्त प्रबन्ध लगायतका संरचना निर्माण गरिनेछ । यी शहरहरुलाई आइटीसँग जोडेर स्मार्ट सिटी बनाउन पनि सकिने काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले बताए ।
सनराइज बैंकको नयाँ एटिएम गोठाटारमा
काठमाडौं । सनराइज बैंक लिमिटेडले गोठाटार स्थित सनसिटी अपार्टमेन्टमा ८१ औं एटिएम संचालनमा ल्याएको छ । उक्त एटिएम बैंकका पूर्व संचालक श्रवण गोयल र सनसिटी कल्याणकारी समितिका अध्यक्ष युवराज दाहालले संयुक्त रुपमा उद्घाटन गरेका छन् । हाल बैंकले मुलुकभर आफ्नो ७० वटा शाखा, ८१ वटा एटिएम, १६ वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्धारा आधुनिक एंव सर्वसुलभ बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल लि. रहेको छ ।
सिन्धु विकास बैंकलाई ८० प्रतिशत हकप्रद निष्काशन गर्न बोर्डको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिन्धु विकास बैंकलाई ८० प्रतिशत (१० बराबर ८ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई २० करोड ९७ लाख रुपैयाँ बराबरको २० लाख ९७ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो । कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकका रुपमा एनआईबिएल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
नेप्से ३१ अंकले वृद्धि, मौद्रिक नीति चुहिएकै हो ?
काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा हरियो देखियो । नेप्से परिसूचक ३१ अंकले वृद्धि भयो । १४६ वटा कम्पनीको सेयर कारोबार भएकोमा १२३ वटा कम्पनीको सेयर मूल्य बढ्यो । सेयर बजारलाई मौद्रिक नीतिले पछ्याएको कालिका सेक्युरिटीज्का प्रबन्धका निर्देशक नरेन्द्रराज सिजापतिले बताए । ‘नयाँ मौद्रिक नीतिमा सीडी रेसियो ८५ प्रतिशत बनाइदै छ भन्ने सन्देश लगानीकर्तामा गएको देखिन्छ’ उनले भने ‘सीडी रेसिया ८५ प्रतिशत भयो भने बैंकमा लगानी योग्य पुँजी सहज हुन्छ, कर्जाको व्याज घट्छ, सेयर मूल्य बढ्छ भन्ने विश्लेषण लगानीकर्ताले गरेको देखिन्छ ।’ तरलताको संकट समाधान गर्ने गरी खुकुलो मौद्रिक नीति आउने विश्वास लगानीकर्तामा पलाएकोले बजारमा मूल्य बढेको थ्राइभ ब्रोकर हाउसका प्रबन्ध निर्देशक अन्जनराज पौडेलले बताए । के मौद्रिक नीति चुहिएकै हो त ? विकासन्युजको प्रश्नमा नेपाल राष्ट्र बैंकका प्रबक्ता नारायणप्रसाद पौडेल भन्छन्-‘नेपालको सेयर बजार किन बढ्छ, किन घट्छ, त्यसको कुनै आधार छैन ।’ मौद्रिक नीति अझै फाइनल नभएको उनले बताए । ‘सञ्चालक समितिमा छलफल जारी छ । साँझ छलफलले टुङ्ग्यायो भने शुक्रबार सार्वजनिक हुन पनि सक्छ, छलफल बाँकी रह्यो भने आगामी साता सार्वजनिक हुन्छ’ प्रबक्ता पौडेलले भने । आर्थिक वर्षको अन्तिम समय भएको, कम्पनीहरुको अन्तिम चौमासिक रिपोर्ट प्रकाशित हुन लागेको, सरकारी बजेटको खर्च बढेको, निर्वाचनले पनि तरलता वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएकोले बजारमा सुधार देखिएको अन्जनराज पौडेल बताउँछन् । विहीबार ७६ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा २८ करोड रुपैयाँ बढी हाे । बुधबार ४८ करोड २९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बिहीबार कारोबार भएका सबै समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ३१९ अंकले बढेको छ । त्यस्तै, होटल, विकास बैंक, बैंकिङ, हाइड्रोपावर र उत्पादनमूलक समूहको परिसूचक दोहोरो अंकले बढेका छन् ।