विकासन्युज

नेप्सेमा सामान्य अंकको गिरावट, साताभर एक अर्ब ८५ करोडको सेयर कारोबार

काठमाडौं । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३.९१ अंकले घटेर अन्तिम दिन १५६३.८१ अंकमा पुगेको छ । नेप्से परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । साताभर बजारमा एक अर्ब ८५ करोड ५४ लाख ५७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अछिल्लो साताभन्दा ३७ दशमलब ३६ अंकले ओरालो लागेको छ । गत साता बजारमा दुई अर्ब ९६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बजारमा सबैभन्दा बढी जलविद्युत समूहको परिसूचक १७ अंकले आरालो लागेको छ । त्यस्तै, होटल र बीमा समूहको परिसूचक क्रमशः २४ र १७ अंकले उकालो लागेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १.०९ अंकले घटेर ३३१.६६ अंकमा आईपुगेको छ । यस साता हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको १२ करोड ६७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा प्रभु बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ ।

लक्ष्यभन्दा एक महिनाअघि नै तीनवटा खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न

म्याग्दी । म्याग्दीका मङ्गला गाउँपालिकामा तीनवटा खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । उपभोक्ताको इच्छाशक्ति, सक्रियता, एकता र सम्बन्धित निकायबाट नियमित अनुगमन तथा प्राविधिक सहयोग प्राप्त भयो भने लक्ष्यअघि नै आयोजना सम्पन्न गर्न सकिन्छ भन्ने उदाहरण यहाँका बासिन्दाले प्रस्तुत गरेका छन् । यसरी लक्ष्यभन्दा एक महिनाअघि सम्पन्न भएको उक्त आयोजनामा मङ्गला गाउँपालिका-४ स्थित बाघहान्नेगौडा, ३ स्थित डेगखोला र २ स्थित कोक्रवाङ तोराखेत छन् । उक्त तीनवटै आयोजनाबाट १६६ घरपरिवार लाभान्वित भएका छन् । घर घरमै शुद्ध खानेपानी आपूर्ति भएपछि स्थानीय बासिन्दा दङ्ग परेका छन् । पहिले खोल्सा र मुहानबाट प्रशोधन नगरिएको पानी नालाबाट लगेर उनीहरुले उपभोग गर्दै आएका थिए । घरमै धारा भएपछि समयको बचत र पानीको मितव्ययी प्रयोग भएको बरञ्जा दहकी नन्दा सापकोटाले बताए । रासस

पोखरा आगामी साउन १ गतेदेखि ‘हर्न निषेधित’ क्षेत्र बन्ने, ध्वनी प्रदूषणबाट मुक्त

पोखरा । पोखरा लेखनाथ महानगरपालिकालाई आगामी साउन १ गतेदेखि ‘हर्न निषेधित’ क्षेत्र बनाइने भएको छ । महानगर कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख मानबहादुर जिसीले यस नगरपालिकालाई ध्वनी प्रदूषणबाट मुक्त गर्ने योजनाअनुरुप हर्न निषेधित क्षेत्र बनाउन लागिएको जानकारी दिए । ट्राफिक कार्यालयले निर्धारण गरेको स्थानलाई समेटेर हर्न निषेधित योजना तयार पारिएको जानकारी दिँदै उनले यसको सफताका लागि सबै पक्षको सहयोग अपरिहार्य भएको बताए । “महानगरलाई कुरुप बनाउने सडकमा रहेका विद्युत्, टेलिफोन र विभिन्न केबुलका पोल र तारलाई क्रमिकरुपमा व्यवस्थित गरिने छ, उनले भने, “पहिलोचरणमा पोखराको मुख्य बजार महेन्द्रपुल, पृथ्वीचोक र लेकसाइडबाट काम थाल्ने सोच बनाएका छौं ।” उनका अनुसार राजमार्गबाहेक महानगरभित्र रहेको २७ किलोमिटर पक्की सडक यही असार महिनाभित्र मर्मत गरिने छ भने सहरका विभिन्न चोकमा रहेका आइल्यान्डलाई निकट भविष्यमा पाँच फिटको बनाएर सडकलाई फराकिलो बनाइने योजना छ । सहरमा पशुचौपाया छाडा छोड्ने प्रवृत्तिले समस्या आएकाले यसको तत्काल नियन्त्रणका लागि पहल गरिने उनले बताए । स्थानीय निकायलाई दिएको अधिकार भित्र रहेर भौतिक संरचना तयार पार्ने र महानगरलाई स्मार्ट सिटी घोषणा गर्ने चर्चा गँर्दै उनले यसका लागि सञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । श्रमजीवी पत्रकारका हक हितका लागि पनि महानगरका तर्फबाट केही सहयोग गर्ने सोच बनाइएको पनि नगरप्रमुख जिसीको भनाइ थियो । रासस

पूर्ण अपाङ्ग र ज्येष्ठ नागरिकलाई भत्ता वितरण, कति जनाले कति पाए ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर- २ मा ज्येष्ठ नागरिक र पूर्ण अपाङ्ग भएका १९ जनालाई भत्ता वितरण र स्वास्थ्य परीक्षण गरिएको छ । यस वडाका चार ज्येष्ठ नागरिक गङ्गादेवी खरेल, हरिमाया महर्जन, हिमकुमारी भण्डारी र मोतीकृष्ण महर्जनलाई महानगरपालिकाले ज्येष्ठ नागरिक भत्ता वितरण गरेको हो । पूर्णरुपमा अपाङ्ग भएका पन्ध्र (पाँच महिला र १० पुरुष) जनालाई पनि जनही तीन हजार रुपैयाँको दरले अपाङ्ग भत्तावितरण गरिएको सोही वडाका वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार ज्येष्ठ नागरिक भत्ता वितरण र उनीहरुको स्वास्थ्य अवस्था पनि जाँच गरिएको छ । अपाङ्गता भएका व्यक्तिलाई भने केहीलाई मात्रै भत्ता वितरण गरिएको र केहीलाई वितरण गर्ने काम जारी रहेको छ । ३२ वडा रहेको कामनपाले यस अभियानको लागि आठ वटा क्षेत्र बनाएर काम गरिरहेको छ । ८८ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिलाईलाई अब नियमितरुपमा वार्षिक रु १२ हजार भत्ता र निःशुल्क स्वास्थ्य परीक्षणको काम गरिने कामनपाको अठोट छ । कामनपामा ८८ वर्ष उमेर पुगेका ५९६ जना जेष्ठ नागरिक छन् ।

मेगा बैंकले ६५ प्रतिशत हदप्रद शेयर निष्काशन गर्न माग्यो बोर्डको अनुमति

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले हकप्रद साधारण शेयर निष्काशन तथा बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । शेयरधनीलाई ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको मेगा बैंकले बिहीबार धितोपत्र बोर्डसँग अनुमति माग गरेको हो । बैंकले यसअघि नै नविल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई हकप्रद साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । मेगा बैंकले गत बार्षिक साधारण सभाबाट ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो । सोही बमोजिम बैंकले छिट्टै प्रतिशेयर एक सय रुपैँयाका दरले २ अर्व ९७ करोड ८५ लाख ३ हजार चार सय ३३ रुपैंया बराबरको २ करोड ९७ लाख ८५ हजार ३४.३३ कित्ता शेयर शेयरधनीहरुलाई निष्काशन गर्न लागेको मेगा बैंकका सिइओ अनिलकेशरी शाहले जानकारी दिए । हकप्रद शेयर निष्काशन गरेपछि मेगा बैंकको चुक्तापुँजी साँढे ७ अर्ब भन्दा बढी पुग्नेछ । यसैगरी, चालु आर्थिक बर्षको मुनाफा र हकप्रद शेयरबाट चुक्ता पुँजी ८ अर्ब भन्दा बढी पुग्ने बैंकले जनाएको छ ।  

मोबाइल एक्सपोको अवधि एक साता थपियो, खरिदमा दुई मुभि टिकट सित्तैमा

काठमाडौं । गोगंबुस्थित बिजीमलमा जारी सामसुङ मोबाइलमा एक्स्पोको अवधि एक साता थप गरिएको छ । एक्सपोका अवलोकनकर्ताको उल्लेख्य उपस्थिती आएपछि मलले एक्सपो असार २४ गतेसम्म सञ्चालन गर्ने भएको हो । मलकाअनुसार जुनसुकै मोबाइलको खरिदमा विएसआर मुभिजको दुई वटा टिकट सित्तैमा उपलब्ध गराइने छ । असार ७ गतेबाट संचालनमा आएको एक्सपोमा अवलोकनर्ताहरुको सहभागीता बढेपछि मलले नयाँ योजना सार्वजनिक गर्दै मोवाइलको खरिदमा अनिवार्य रुपमा बिएसआचर मुभिजको टिकट उपलब्ध गराउने व्यवस्था मिलाएका हो । एक्सपोमा अवलोकन कर्ताहरुको उल्लेखीय सहभागीता बढेपछि नयाँअफरका साथै मेलाअवधि बढाइएको एक्सपोका संयोजक हिरामणी तिमिल्सनाले जानकारी दिए ।“एक्सोपमान्युनत्म हजार रुपैयाँदेखि ९९ हजार रुपैयाँसम्मका मोबाइलहरु बिक्रीकालागि राखिएका छन् । जूनसुकै मोबाइल खरिद गरेपनिहामीले बिएसआर मुभिजको जो बिजीमलमै रहेको छ । त्यसको दुई वटा टिकट फ्रिमाउपलब्ध गराउने छौ ”- तिमिल्सनाले भने । असार ७ गतेबाट सुरु भएको एक्सपोमा बिहीबारसम्ममा २५ हजार बढीले अवलोकन गरेका छन् भने पौने दुई करोड रुपैंया बढीको कारोबार भएको छ ।  असार २४ गतेसम्मजारी रहने मोवाइल एक्स्पो अवधि भर ग्राहकहरुले बिजीमलका सबै फेन्सी पसलहरुबाट २५ प्रतिशत छुट पाउने छन् । त्यस्तै प्रत्येका दिन मलमा आउने ग्राहकले लक्की ड्र मार्फत एउटा स्मार्टफोन र पाँचजनाले सेल्फी स्टीक पाउने पनिएक्स्पो संयोजक तिमिल्सनाले जानकारी दिए । चर्चित र अधिक प्रयोगमा रहेका अधिकांस मोबाइलको आधिकारिक शोरुम रहेको बिजीमलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइलशोरुम, लत्ता कपडा, श्रृंगार तथा सौन्दर्य सामग्री,रेष्टुरेण्ट, बैंकको कार्यालय, एटीएम लाउञ्जलगायत ५ दर्जन बढी स्तरीय स्टोरहरु सञ्चालनमा रहेका छन् ।

स्याटलाइट सिटीको डीपीआर साउन १ गतेबाट शुरु, घर निर्माण गर्न दुई वर्ष कुर्नुपर्ने

काठमाडौं । उपत्यकामा स्याटलाइट सिटी निर्माण गर्नका लागि आगामी साउन १ गतेदेखि विस्तृत अध्ययन शुरु गरिने छ । सरकारले आगामी पाँच वर्षभित्र एक खर्बको लागतमा उपत्यकामा एक लाख रोपनी क्षेत्रफलमा स्याटलाइट सहर निर्माण गर्नेयोजना सहित साउन १ बाट अध्ययन शुरु गर्न लागेको हो । अध्ययन प्रतिवेदन तयार पार्न कम्तीमा पनि साढे दुई वर्ष लाग्ने काठमाडों उपत्यका विकास प्राधिकारका सहरी योजनाकार भागवत खोखालीले जानकारी दिए । ‘विस्तृत अध्ययन प्रतिवेदन ‘डीपीआर’ आएपछि जग्गा धनीलाई जग्गा धनी पूर्जा हस्तान्तरण गरेर भवन निर्माण गर्न दिइने छ,’ खोखालीले भने ‘जग्गाको उचित व्यवस्थापन भएपछि पूर्वाधार निर्माण र भवन निर्माणको कार्यसँगसँगै अघि बढ्ने छ । अध्ययन पछि स्याटलाइट सिटी निर्माणको कामलाई अघि बढाइने प्राधिकरणका आयुक्त डा.भाइकाजी तिवारीले जानकारी दिए । सरकारले सहरी पूर्वाधार निर्माण गर्न आगामी आव लागि ३० अर्ब ४८ करोड बजेट विनियोजन गरेको छ । स्याटलाइट सिटी निर्माण गर्न सरकारका साथै अन्य दातृनिकायको समेत सहयोग लिइने प्राधिकरणले जानकारी दिएको छ । पहिलो स्याटलाइट सिटी बनाउन चाहिने एक लाख रोपनी जग्गा मूलपानीको क्रिकेट मैदानबाट साँखु जाने मूलसडक तथा शालिनदी पुलबाट तेलकोट हुँदै खरिपाटीसम्म समेट्नेछ । त्यसरी नै खरिपाटीस्थित नेपाली सेनाको ब्यारेकलाई बाहिर पार्दै भक्तपुरको तिखलापाखे आयोजना, बोडे, मनोहरा हुँदै मूलपानी क्रिकेट मैदानलाई जोडिने छ । दोस्रो स्मार्ट सिटी भक्तपुरकै सूर्यविनायक जंगलको फेदी हुँदै ललितपुरको लामाटार खोला, बालकोट, अरनिको राजमार्ग र कौशलटार भएर सूर्यविनायकसम्म जोडिनेछ । तेस्रो स्याटलाइट सिटी खोकना, बुंगमती, सैंबु आवास क्षेत्र, वाग्मती झोलुंगे पुल हुँदै चोभारसम्मको क्षेत्रफललाई समेटिएको छ । यी क्षेत्रमा सहर बनाउन सरकारले १० हजार रोपनी क्षेत्रफलको जग्गा समेटेको छ । चौथो, स्मार्ट सिटीका लागि तारकेश्वर जाने मूलबाटो, सिम्लेश्वर र त्यहाँबाट झोर हुँदै फूलबारीमार्ग, टोखा बाइपाससम्मको १० हजार रोपनी क्षेत्रफलको जग्गा समेटिएको छ । ठूलो सहरको वरिपरि पर्ने स्थानमा बनाइने साना सहरलाई स्याटलाइट सिटी भनिन्छ र उक्त सहरमा शिक्षा, स्वास्थ्य, ढल, बत्ती, सडकलगायतका सबै पूर्वाधार सरकारले तयार पारिदिन्छ । सन् २०३० सम्म ५० वटा स्याटलाइट सिटी सरकारले दिगो विकास लक्ष्य (एसडीजी)सार्वजनिक गर्ने क्रममा सन् २०३० सम्म५० वटा स्याटलाइट सहर बनाउने योजना अघि सारेको छ । राष्ट्रिय योजना आयोगले प्रस्तुत गरेको एसडीजीको प्रारम्भिक प्रतिवेदन (सन् २०१६-२०३०) सम्ममा देशका विभिन्न सहर बनाउने योजना उल्लेख गरिएको छ । सन् २०३० सम्ममा समावेशी र दिगो सहरीकरण तथा सहभागितामूलक, एकीकृत र दिगो मानव बस्तीको योजना तथा व्यवस्थापन क्षमता अभिवृद्धि गर्ने लक्ष्यका साथ सरकारले सो योजना ल्याएको हो । सो प्रतिवेदनमा सन् २०१७ मा १८, २०२० मा २५, २०२२ मा ३०, २०२५ मा ३८ र २०३० मा ५० वटा योजनाबद्ध स्याटलाइट सहर निर्माण गर्ने योजना रहेको उल्लेख छ ।

चार वित्तीय संस्था प्राप्तिसँगै कुमारी बैंक अब आफैं स्थापित, एकिकृत कारोबार अाज

काठमाडौं । एनसीसी बैंकसँग मर्ज तोडेको कुमारी बैंकले आफ्नो अस्तित्व र नेतृत्वलाई स्थापित गरेको छ । कुमारी बैंकले काष्ठमाण्डप डेभलपमेन्ट बैंक, महाकालि विकास बैंक, काँक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स प्राप्तिगरी शुक्रबारदेखि एकिकृत कारोबार गरेको छ । तीन विकास बैंक र एक फाइनान्स कम्पनी प्राप्तिपछि कुमारी बैंकमा १ अर्ब ६० करोड रुपैयाँ सेयर पुँजी थपिएको छ । चार वटै संस्थाको सेयर स्वाप रेसियो १०० बराबर ८५ कायम गरिएको छ । कुमारीमा गाभिएका चार वटै संस्थाका सेयरधनीले आफूसँग भएको १०० कित्ता बराबर कुमारी बैंकको ८५ कित्ता सेयर पाउने भएका छन् । हाल कुमारी बैंकको चुक्ता पुँजी ४ अर्ब ६१ करोड रुपैयाँ छ । ‘चार वित्तीय संस्था प्राप्तिपछि कुमारी बैंकको चुक्ता पुँजी ६ अर्ब नाघेको छ’ कुमारी बैंकका डेपुटी सीईओ राजीव गिरीले भने–‘२० प्रतिशत हकप्रद सेयर निष्काशन प्रक्रियामा रहेको छ । त्यसबाट १ अर्ब ६० करोड पुँजी थपिन्छ । चालु आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गरी बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुग्छ ।’ २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय साधारणसभाबाट भईसकेको र कुमारी बैंकका गभिएका संस्थाका सेयरधनीले पनि २० प्रतिशत हकप्रद सेयर पाउने उनले बताए । मर्जपछि बैंकको निक्षेप करिव ५२ अर्ब, कर्जा करिव ४६ अर्ब रुपैयाँ भएको छ । शाखा ७४ वटा भएका छन् । कर्मचारी संख्या करारसहित करिव ८०० जना भएका छन् । मर्ज नभइ एक्विजिशन भएकोले कुमारी बैंक लिमिटेडको नाम, केन्द्रीय कार्यालय, सञ्चालक समिति सबै यथावत रहने छ । काष्ठमाण्डप डेभपलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत उमेशसिंह भण्डारी कुमारी बैंकको डेपुटी सिईओ बन्ने भएका छन् । बैंकले एक महिनाअघि मात्र प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्र भण्डारीलाई नियुक्त गरेको छ । बारम्बार विभिन्न वाणिज्य बैंकसँग मर्जको चर्चामा आउने गरेको कुमारी बैंक अरु बैंकसँग विलय हुन सक्ने अनुमान गरिदै आएको थियो । चार वित्तीय संस्था प्राप्तिमा सफलतापछि अब कुमारी बैंक अरुमा मर्ज हुने सम्भावना पुरै टरेको छ ।