अन्तर्राष्ट्रिय उडान गर्ने निगमको दुईटै बोइङ थन्कियो, आन्तरिक उडानमा पाइलट अभाव
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आज धुमधामसँग आर्मी अफिसर क्लवमा ५९ औं वार्षिकोत्सव मनाउँदै छ । तर, जहाज पर्याप्त भएर हैन, जहाज विहिन हुँदै गएकाे कम्पनीका रुपमा । निगमले २८ वर्षदेखि उडान गरिरहेको बोइङ जहाज यो वर्षको बार्षिकोत्सवमा एउटा पनि उडानमाै छैन । नेपाली आकासमा कुनै बेला एकछत्र राज गर्न सफल निगम अहिले अन्तर्राष्ट्रिय उडानमा ठूलो जहाज विहिन अबस्थामा छ भने आन्तरिक उडानमा पाइलट अभावले उडान विहिन अवस्थामा छ । निगमको अन्तर्राष्ट्रिय उडानको दुईवटा १९० सिट क्षमताको बोइङमध्ये हाल दुईवटै थन्किएको छ । एउटा बोइङ ७५७ एसीए विक्रीका लागि राखिएको भएपनि बिक्री हुन सकेको छैन । अर्को बोइङ ७५७ एसीबी विग्रिएर थन्किएको दुई साता नाघिसक्यो । यो जहाजको फ्लाईट सि डक्टको बोल्ड नै खुस्किएकोले मर्मत समय लागेको निगमको इन्निजनियरिङ विभागले जानकारी दिएको छ । यो जहाज बनाउन सिंगापुरबाटै प्राविधिक झिकाइएको छ । प्राविधिक आगामी चार दिनपछि मात्रै आइपुग्ने भएका छन् । मर्मत गरेर पनि यो जहाज आगामी २ सातापछि नै इन्जिन बाहेकको सम्पूर्ण मर्मत (सीचेक)का लागि सिंगापुर नै जाँदै छ । ‘जहाज दुई सातापछि ४५ दिनदेखि २ महिनासम्मलाई मर्मतमा जाने भएकोले अहिले यो जहाज मर्मत गरेर सीचेकमा लाने गरी मात्रै तयारी भएको छ र उडानको लागि हैन’, निगम स्रोतले भन्यो । निगमको उडान शाखाका अनुसार हाल अन्तर्राष्ट्रिय उडानमा २ वटा एयरवस मात्रै बाँकी छ । आन्तरिक उडानमा ट्वीनटर जहाजको सख्यामा ६ वटा छ । यसमा पनि उडान याेग्य भने २ वटा मात्रै छ । त्याे पनि पाइलट अभावकाे मारमा छ । ४ वटा चिनियाँ जहाज २ वटा मात्रै ट्वीनअटरको उडान गर्ने क्षमतामा भएपनि यसैमा पनि पाइलट अभाव छ । पाइलट अभावले यो जहाज उडान नै गर्न नसकेको निगमले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय उडानमा जहाजनै अभाव छ अान्तिरकमा पाइलटकाे । अन्तर्राष्ट्रिय उडानमा पनि २० प्रतिशत उडान कटौति भइसकेको छ । बोइङले गर्ने उडान निमगले धमाधम कटौती गरिरहेको छ । बोइङ मर्मतमा जाने बेला भुटानी जहाज भाडामा ल्याउने तयारी छ । तर, भुटानी वायुसेवा जम्मा १२४ सिटको मात्रै आउँदै छ । वोइङ १९० सिट क्षमताको छ । सिट क्षमता नै घटी भएको जहाज आउने भएकोले पनि उडान अहिले नै घटाउन थालिसकिएको निगम स्रोतको भनाइ छ । एयरवसमा पनि पाइलट नै कम भएकोले निममित रूपमा उडान मै समस्या छ । थोरै पाइलट भएकाले मासिक एक सय घण्टा महिना नपुग्दै सकिन्छ । त्यसपछि उडान गर्न नपाइने समस्या रहेको छ । उड्डयन नियम अनुसार कुनै पनि पाइलटले मासिक एक सय घण्टा भन्दा बढी समय जहाज उडान गर्न पाइदैन । निगमको लागि भने पाइलट थोरै भएकोलेले उडान आवर सकिएर पाइलट ग्राउन्डेट हुनुपर्ने समस्याका कारण जहाज उडान नहुने गरेको छ । बारम्बार समस्या आइरहेको र मर्मतमा भएको अधिक खर्च धान्नै नसक्ने निष्कर्ष निकाल्दै एउटा वोइङ बेच्ने लागेको ६ महिना भैसक्यो अझै विकेको छैन । आन्तरिक उडानको विस्तार चिनियाँले जहाज घाँडाे निगमको आन्तरिक उडान विस्तारको योजना भने चिनियाँ जहाजले नै अड्काएको छ । सरकारले निगमका लागि दुईवटा अनुदानमा चिनियाँ जहाज दिइसकेको छ २ वटै खरिद गरेर भित्र्याइसकेको छ । अझै २ वटा नयाँ खरिद गरे ल्याउने प्रक्रियमा नै रहेको छ । चिनियाँ जहाज खरिद गर्न सरकारले आवश्यक रकम भुक्तानी पनि गरिसकेको छ । सरकारले चारवटा चिनियाँ जहाज ल्याउन तीन अर्ब ७२ करोड रुपैयाँको ऋण सहयोग लिएको छ । जहाज ल्याउन सरकारले करीब दुई अर्ब २३ करोड रुपैयाँ चिनलाई पठाइसकेको जानकारी दिएको छ । एउटा ५६ सिट क्षमताको एमए६० र एउटा १८ सिट क्षमतको वाइ १२ ई अनुदानमा निगमले ल्याइसकेको छ । बाँकी एक एम ६० र तीन वाई १२ गरी चारवटा जहाज किनेको छ । यसमध्ये एम ६० र वाई १२ आइसक्यो भने २ वटा खरिद भएकै वाई १२ जहाज आउनै बाँकी छ । यो जहाज ल्याउने प्रक्रियामा अल्झिएकै कारण निगम आन्तरिक उडान विस्तारमा कमजोर भएको हो । निगमसँग एक दशक अगाडि आन्तरिक उडानमा एक दर्जन भन्दा बढि जहाज भएपनि हाल एउटा ट्वीनअटर मात्रै संचालनमा रहेको छ । दुईवटा चिनियाँ जहाज मध्ये एम ६० आंशिक समय संचालन हुने गरेको छ भने वाई १२ करीब नौं महिनादेखि विग्रिएर बस्ने समस्या अझै छ ।
एकपटकमा २ प्रतिशत मात्रै पेट्रोलियम पदार्थको मूल्य बृद्धि, ग्यासको प्रतिसिलिन्डर २५ रुपैयाँ बढाउन पाइने
काठमाडौं । अब एकैपटक ठूलो मात्रामा पेट्रोलियम पदार्थको मूल्य बृद्धि नहुने भएको छ । पेट्रोलियम पदार्थ तथा ग्यास मूल्य स्थिरीकरण कोष कार्यविधि तयार भएर कार्यान्वयनमा आएको छ । यो कार्यान्वयनसँगै अब अन्तर्राष्ट्यि बजारमा तेलको मूल्य उच्च रुपमा बढ्यो भने पनि नेपालमा भने सो अनुसार मूल्या नबढ्ने भएको छ छ । यस्तो अवस्थामा लाग्ने घाटा कोषको रकमबाट बेहोरिनेछ । अब एक पटकमा पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य २ प्रतिशत भन्दा बढी नबढ्ने भएको छ । ग्यासको भने प्रतिसिलिन्डर २५ रुपैयाँ मात्रै बढाउने पाइने भएको पनि उल्लेख छ । नयाँ पत्रिका दैनिकबाट ।
दशैंमा मेलम्ची भित्र्याउँन प्राविधिक समस्या, समयमै पानी आउनेमा शंका
काठमाडौं । राजधानीवासीले धुलो खान थालेको लामो समय भए पनि पूर्वनिर्धारित समयमा मेलम्ची आउला कि नआउला ? अझै पनि प्रश्न उब्जिरहेको छ । यसबीचमा काम पनि निकै भएका छन् । सुरुङ मार्ग हुँदै मेलम्चीखोलादेखि काठमाडौं ल्याइने खानेपानीलाई वितरण गर्न बिछ्याइरहेको पाइपलाइनको काम अलिेसम्म ८५ प्रतिशत मात्र सम्पन्न भएको छ । आउने दशैंमा मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउने लक्ष्यका साथ करिब ८४ हजार घरधुरीमध्ये ३७ हजार घरधुरीमा धारा जडान गरिसकिएको छ ।
मुग्लिन-नारायणगढ सडकको बिजोग, छिनछिनमै पहिरो खसेरै हैरान
भरतपुर . नारायणगढ-मुग्लिन सडकखण्डको कालिखोलामा शुक्रबार बिहानै पहिरो गएको छ । बिहान साढे आठ बजे गएको पहिरो हटाएर सकिनै लाग्दा उक्त स्थानमा दिउँसो १ बजे पुनः पहिरो खस्यो । दिनभरि पहिरो हटाउने काम गरिए पनि पहिरो हटाउन सकिएन । पाँच घन्टा लगाएर पहिरो हटाउने काम सकिनै लाग्दा फेरि त्यसैमा पहिरो थपिएको हो । ‘पहिलाको पहिरो हटाएर सकिनै लागेको थियो, त्यसैमा फेरि पहिरो गयो’, चितवनका एसपी दीपक थापाले भन्नुभयो, ‘पानी परिरहेकाले थपिरहन्छ, छिनछिनमा पहिरो जाने हुनाले यात्रा जोखिमयुक्त बनेको छ ।’ रातिसम्म पनि पहिरो हटाउने काम गरिएको थियो । राति काम गर्न मजदुर असुरक्षित महसुस गर्छन् । पहिरोले ५० मिटर सडक ढाकेको छ । करिब आठ हजार घनमिटर पहिरो खसेको छ । एउटा ब्रेकरले ढुंगा फोर्ने र लोडरले त्रिशूलीतर्फ पहिरो फाल्ने काम गरिएको थियो । १२ घन्टासम्म पनि पहिरो हटाउन सकिएको थिएन । पहिरोको कारण स्थानीय एकबहादुर मगरको ज्यान गएको छ । ६१ वर्षीय मगर पहिरो पन्छाएको हेर्न जाँदा पहिरोले पुरिएका हुन् । पहिरो हटाएर खोज्ने क्रममा उनको शव भीरमा भेटिएको थियो । निकै ठूलो पहिरो खसेपछि यातायात सञ्चालन अवरुद्ध भएको छ । बाटो अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् । इच्छाकामना ६ मा बिहानै पहिरो गएको हो । ठूलो पहिरो गएपछि जाममा परेका सवारीसाधन प्रहरीले फर्काएको थियो । पश्चिम जाने सवारी साधनलाई पोखराको बाटो हुँदै पठाइएको थियो । राजधानी जाने सवारीसाधन हेटौडको बाटो हुँदै पठाइएको थियो । पहिरो हटाउनका लागि चारवटा मेसिन प्रयोग गरिएको छ । पहाडबाट ढुंगा खस्दा पहिरो हटाउन निकै जोखिम छ । पहिरोग्रस्त क्षेत्र मानिने यहाँ ठूलो पहिरो गएका कारण हटाउन निकै समय लागेको हो । मुग्लिनदेखि ९ किलोसम्मको क्षेत्रमा अधिकांश स्थानमा पहिरो खस्ने गरेको प्रहरीले जनाएको छ । कालिखोला, तोपेखोला, चार किलो, नौ किलो, साढे दुई किलोमा पहिरो खसिरहने गर्छ । त्यसै घुमाउनेमा पहिरोको जोखिम छ । अन्नपूर्ण पाेस्टबाट ।
स्थानीय तह निर्वाचनको परिणाम धमाधम सार्वजनिक, कांग्रेस–एमाले अघिपछि
काठमाडौं । दोस्रो चरणमा निर्वाचन भएका स्थानीय तहमा मतगणनाको दोस्रो दिन शुक्रबार बेलुकासम्म प्राप्त परिणामअनुसार कांग्रेस १४ र एमाले १६ स्थानमा विजयी भएका छन् भने कांग्रेसले एमालेभन्दा एक तह बढीमा अग्रता कायम गरेको छ । कांग्रेसले मतगणना भएकामा ८६ स्थानमा अग्रता लिएको छ भने एमालेले ८५ स्थानमा अग्रता लिएको छ । माओवादी केन्द्र सात तहमा विजयी भएको छ भने उसले २४ तहमा अग्रता कायम गरेको छ । अधिकांश मतगणना जारी भएका स्थानी तहमा सयभन्दा कम मतान्तर भएकाले पनि कांग्रेस र एमाले अघिरपछि हुँदै आएका छन् । प्रदेश नम्बर १ का मुख्य सहर विराटनगर, धरान, इटहरी र इनरुवामा कांग्रेसले अग्रता कायम गरेको छ । त्यस्तै, प्रदेश नम्बर ५ का मुख्य सहर अधिकांशमा एमालेले अग्रता लिएको छ । बुटवल, घोराही, तुल्सीपुरलगायतमा एमालेले अग्रता लिएको छ । प्रदेश नम्बर ७ का नगरमा पनि अधिकांशमा कांग्रेसले अग्रता लिएको छ । धनगढीमा कांग्रेस अगाडि छ भने एमाले तेस्रो स्थानमा छ । शुक्रबार साँझसम्म मतगणना सम्पन्न भएका स्थानीय तहमा एमालेले १४ स्थानमा जित हासिल गरेको छ भने कांग्रेसले १२ स्थानमा जितेको छ । त्यस्तै, माओवादी ९ र राष्ट्रिय जनमोर्चा र स्वतन्त्रले १र१ मा तहमा जित हासिल गरेका छन् । एमाले बझाङको तलकोट गाउँपालिका, दार्चुलाको अपिहिमाल, नवलपरासीको त्रिवेणीसुस्ता, धनकुटाको सहिदभूमि, बझाङकै दुर्गाथली गाउँपालिकाको प्रमुखमा विजयी भएको छ । त्यस्तै, दार्चुलाकै लेकम, बझाङको भुवनेश्वर, बझाङकै थलारागाँ, ताप्लेजुङको मैवाखोला, बाजुराको गौमुल, भोजपुरको रामप्रसाद राई, बैतडीको पञ्चेश्वर, खोटाङको जन्तेढुंगा, बाजुराको पाण्डव गुफा, बझाङको मष्टा गाउँपालिकामा एमालेले प्रमुख जितेको छ । त्यस्तै, डडेलधुराको अमरगढी नगरपालिकाको मेयर र उपमेयर पनि एमालेले जितेको छ । कांग्रेसले नवलपरासीको प्रतापपुर, ताप्लेजुङको मेरिङदेन, खोटाङको ऐसेलुखर्क, बाजुराको हिमाली र छेडेदह गाउँपालिको प्रमुखमा जितेको छ । त्यस्तै, डडेलधुराको गन्यापधुरामा पनि कांग्रेसले जितेको छ । यो गाउँपालिका प्रधानमन्त्री शेरबहादुर देउवाको क्षेत्र हो । डडेलधुराकै भागेश्वर, आलिताल, डोटीको केआईसि, संखुवासभाको सिलिचाङ, बझाङको काँडा र गुल्मीको गुल्मीदरबार गाउँपालिकामा कांग्रेसले जितेको छ । बाजुराको बढीमालिका नगरपालिका र दार्चुलाको महाकाली नगरपालिकाको मयेर र उपमेयरमा पनि कांग्रेसले जितेको छ । माओवादी केन्द्रले रुकुमको सिस्ने, भुमे, पुथा उत्तरगंगा, डडेलधुराको अजयमेरु, दाङको बंगलाचुली, सोलुखुम्बुको माहाकुलुङ र लिखुपिके गाउँपालिकाको प्रमुख जितेको छ । उदयपुरको ताप्ली गाउँपालिकामा स्वतन्त्र उम्मेदवार पदमबहादुर तामाङले प्रमुखमा विजयी हुनुभएको छ भने प्युठानको मल्लरानी गाउँपालिकामा जनमोर्चाका अमरध्वज रानाले बाजी मार्नुभएको छ । अधिकांश नगरपालिकामा मतगणना निकै सुस्त भएको छ । विराटनगरको २४ घन्टामा ५ हजार मत पनि गनिएको छैन । निर्वाचन आयोगले मतगणना बढीमा एक सातामा सक्न गणना केन्द्र बढाउन निर्देशन दिएको बताएको छ । विजयी एमाले १६ कांग्रेस १४ माओवादी ७ राजमो १ स्वतन्त्र १ अग्रता कांग्रेस ८५ एमाले ८६ माओवादी २५ राप्रपा ५ फोरम लोकतान्त्रिक ५ संघीय फोरम र नयाँ शक्ति ३ अन्य ३ अन्नपूर्ण पोस्टबाट ।
भ्याट तिर्नै पर्यो भने सेयर ब्रोकरहरुले आत्महत्या गर्नुको विकल्प हुँदैन-प्रियराज रेग्मी
प्रियराज रेग्मी, अध्यक्ष, नेपाल सेयर ब्रोकर एशोसिएशन विहीबार सम्पूर्ण सेयर कारोबार बन्द गराउनुभयो, आईतबार खुल्छ कि खुल्दैन ? हामी बजार सुचारु गर्न प्रयास गरिरहेका छौं । आज (शुक्रबार) हामीले नेप्से, एफएनसीसीआई, चेम्बर अफ कमर्श, आन्तरिक राजश्व विभाग र सम्बन्धित करदाता सेवा कार्यालयका प्रमुखहरुसँग छलफल गर्यो । अर्थमन्त्री र राजश्व सचिवसँग पनि कुरा भयो । कुरो मिल्यो त ? आधा मिल्यो, आधा मिलेको छैन । अर्थमन्त्रीले समस्या समाधान गर्न कर प्रशाशनलाई निर्देशन दिएको बताउनु भएको छ । कर प्रशासनको भनाई पनि सकारात्मक छ । ‘हामीले भ्याट लगाउने हो भने ५२/५३ सालदेखि नै लगाउँथ्यौ । हामीले भ्याट लाग्दैन भनेर नलगाएको हो । तर महालेखाले भ्याट लाग्छ भनेको छ । महालेखाले ब्रोकर कम्पनीहरुसँग भ्याट उठाउनु पर्छ भनेर बेरुजु देखाएपछि कर प्रशासन महालेखाको निर्णय र निर्देशन पालना गर्न बाध्य भएको हो’ भन्ने भनाई कर प्रशासनका अधिकारीहरुको रह्यो । यो समस्या गम्भीर छ, हामी समाधानको प्रयास गर्छौ, तर तपाईहरुले सेयर कारोबार बन्द गर्न मिल्दैन, बजार सञ्चालन पनि गरौं, समस्या समाधान तर्फ पनि काम गरौं भन्ने उहाँहरुको भनाई आयो । कारोबार बन्द भईरह्यो भने समस्या समाधान गर्न झन् कठिन हुन्छ भन्ने उहाँहरुको भनाई आयो । विहीबार कारोबार बन्द गरेर ब्रोकर कम्पनीहरुले गल्ती गरेका छन् । त्यसैले पहिला कारोबार खुला गरेर गल्ती सच्याउनु भन्ने सरकारी अधिकारीहरुको भनाई हो ? त्यस्तो होइन । कारोबार बन्द भयो, त्यो आफ्नो ठाउँमा छ । तर कारोबार बन्द हुनु हुँदैन भन्ने उहाँहरुको भनाई हो । गल्ती कसले गर्यो भन्ने कुरा भएन । ‘यो समस्याबारे हाम्रो पनि समयमा नै प्रयाप्त ध्यान गएन’ भन्ने भनाई सरकारी अधिकारीहरुको छ । विहीबार कारोबार बन्द गरेर हामीले गल्ती गर्यौं भन्ने ब्रोकर एसोसिएशनलाई लाग्दैन ? हामीले यो समस्या विगत तीन वर्षदेखि उठाउँदै आएका हौ । हामीले आन्तरिक राजश्व विभाग, अर्थमन्त्रालय, अर्थमन्त्री सबैलाई पटक पटक भेटेर समस्या अवगत गराएका हौ । हाम्रा माग र सुझाव पत्र दिएका हौं । तर समस्याको समाधान भएन । अहिले समस्या सबैले बुझ्ने गरी उजागर भएको छ । फेरी पनि समस्याको समाधान बजार बन्द गरेर होइन भन्नेमा हामी सबै सचेत छौं । ब्रोकरहरुले नउठाएको भ्याट तिर भनेर कर प्रशासनका अधिकारीहरुले पत्र काट्नु पनि गल्ती हो भन्ने महसुश भयो ? महालेखाले भ्याट उठाउन सरकारले निर्देशन दिएपछि हामीले मान्नै पर्छ भन्ने उहाँहरुको भनाई हो । समस्या टुङ्गोमा पुर्याउन सबैले सामूहिक प्रयास गरौं भन्ने कुरा भयो । अब ब्रोकरले भ्याट तिर्ने कि ननिर्ते त ? राज्यले भ्याट लगाउँछ भने नागरिकले नतिर्ने भन्ने कुरा भएन । विषय के हो भने लगानीकर्तासँग ब्रोकर कम्पनीले भ्याट उठाउने कि नउठाउने भन्ने हो । सरकारले भ्याट उठाउनुपर्छ भनेर भन्छ भने हामी उठाउन तयार छौं । चार वर्षअघि देखिको भ्याट तिर्नु भनेर ब्रोकरहरुलाई पत्र काटेको अवस्थामा पुरानो भ्याट तिर्ने कि नतिर्ने ? तिर्ने नि नतिर्ने भन्ने विषय नै होइन । हामी तिर्नै सक्दैनौं । यो हाम्रो सामथ्र्य भन्दा बाहिरको कुरा हो । तिर्ने पर्यो भने जम्मा कति तिर्नुपर्छ ? अहिलेसम्म तीन वटा कम्पनीको बेरुजु देखाइएको छ । त्यसमा एउटाका ६०÷७० लाख छ । अरुको करोडभन्दा माथि छ । सरकार तिर्नैपर्छ भन्यो भने ? तिर्नैपर्छ भन्यो भने सुसाईड (आत्महत्या) गर्ने । आईतबारदेखि सेयर कारोबार हुन्छ ? शनिबार ब्रोकर एसोशिएशनको बैठक बस्दैछ । शुक्रबार भएका छलफल र प्रगतिबारे हामी सबै ब्रोकर सदस्यहरुलाई जानकारी गराउँछौं । सर्बसहमतिमा कारोबार बन्द भएको हो, सामूहिक निर्णयका आधार कारोबार गर्ने वा नगर्ने निर्णय गर्छौ । आइतबारदेखि बजार खोल्ने भनेर सरकारसँग सहमति गरिसक्नु भएको होइन र ? सहमति भएको छैन । सरकारको पक्षबाट बजार खुलाउन आग्रह भएको छ । ब्रोकर एशोसिएशनका सदस्यहरुबीच छलफल पछि मात्र निर्णय हुन्छ । आईतबार बजार खुल्यो भने तपाईहरुले जारी गर्ने विलमा भ्याट जोडिएको हुन्छ कि हुँदैन ? बजार खुल्यो भनेपनि भ्याटविल जारी हुँदैन । हामी भ्याटमा दर्ता भएका पनि छैनौं र तत्काल भ्याटमा हामी दर्ता पनि हुँदैनौं । सेयर कारोबारमा लाग्ने कमिशन ब्रोकरले मात्र लिने होइन, त्यो रकम नेप्सेमा पनि जान्छ, सेबोनमा पनि जान्छ, सीडीएसमा पनि जान्छ । भ्याट तिर्ने आमलगानीकर्ता पनि भ्याट तिर्न तयार हुनु पर्यो । विश्व पुँजीबजार भ्याट लागेको पाइन्छ कि नलागेको पाइन्छ ? ९९ प्रतिशत बजारमा भ्याट छैन । १ प्रतिशत बजारमा भ्याट छ पनि । १ प्रतिशतलाई हेरेर नेपालमा पनि भ्याट लागू गरियो भने हामीले भन्नु केही छैन । ब्रोकर कमिशनमा भ्याट लगाउन खोज्दा यत्रो हंगामा मच्चियो, लगानीकर्तालाई लाग्दै आएको पुँजीगत लाभकरको विषय चाही तपाईहरुले आवाज उठाउनु पर्दैन ? पुँजीगत लाभकर त लगानीकर्ताले नाफामा तिर्ने कर हो । लगानीकर्ताले एउटा कम्पनीमा १० हजार नाफा गर्दा अर्को कम्पनीको २० हजार नोक्सान गरेको हुन्छ । बास्तवमा उसले १० हजार गुमाएको हुन्छ तर १० हजार कमाएको भनेर ५ प्रतिशत कर तिर्नुपर्छ । नोक्सान भएपनि ब्रोकरलाई कमिशन बुझाउनैपर्छ । लगानीकर्तालाई परेको मर्काबारे तपाईहरुले बोल्नु पर्दैन ? कर प्रणाली नै यस्तै छ । हामीले के भन्ने ? लगानीकर्तालाई मर्का पर्दा चाही कर प्रणाली नै यस्तै छ भन्ने, ब्रोकर कमिशनमा भ्याट लाग्दा चाहि ब्रोकरहरु सिण्डकेट गरेर बजार बन्द गराउने ? यहि हो तपाईहरुको नीति ? हामीले समग्र बजार हितको कुरा उठाएको छौं । भ्याट लाग्ने पनि अन्तिममा लगानीकर्ता माथि नै हो । त्यसैले भ्याट लाग्न हुँदैन । त्यस्तै, पुँजीगत लाभ करको विषय पनि हाम्रो धारणा के हो भने सबै लगानीकर्तालाई कि प्यान नम्बर कि परिचयपत्र नम्बर दिनुपर्छ । त्यसको आधारमा वर्षभरी हुने कारोबारको आफै हिसाव बुझाउने र नाफा भएको पुँजीगत कर लगाउने व्यवस्था गर्नुपर्छ । त्यसमा घाटा नाफा दुबै गणना हुन्छ ।
साढे ५२ अर्बको सेयर निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति, दुई जलविद्युत कम्पनीको आईपीओ रोकियो
काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०७३/७४ मा ५१ अर्ब ५५ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले यस बर्षमा ७१ वटा कम्पनीहरुलाई ४२ अर्व ३० करोड ७१ लाख रुपैयाँभन्दा बढी रकम बराबरको हकप्रद निष्काशन गर्न अनुमति दिएको छ । त्यस्तै, १९ वटा कम्पनीहरुलाई ९ अर्व २४ करोड ७६ लाख रुपैयाँभन्दा बढी रकमको आईपीओ तथा एफपीओको सार्वजनिक निष्काशन गर्न अनुमति प्रदान गरिसकेको जनाएको छ । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुले २०७४ आषाढ मसान्तसम्ममा नेपाल राष्ट्र बैंकले तोकेको पूँजी बृद्धि गर्नुपर्ने व्यवस्था बमोजि मबोर्डले उक्त अवधिसम्मका लागि हकप्रद शेयर निष्काशन गर्दा बोर्डले तोकेको मापदण्ड भित्रका संगठित संस्थाहरुले रेटिङ्ग गर्नु नपर्ने व्यवस्था गरी हकप्रद शेयर निष्काशन अनुमति कार्यलाई छिटो छरितो रुपमा गरिएकोले हकप्रद सेयर निष्काशन सहज भएको र धेरै मात्रामा हकप्रद सेयर निष्काशन भएको जनाएको छ । यसका साथै बोर्डमा आईपीओ अनुमतिको लागि निवेदन दिने संगठित संस्थाहरुको निष्काशन अनुमति कार्य समेत नियमित तथा पूर्ववत रुपमा गर्दे आईरहेको जनाएको छ । आईपीओ, एफपीओ तथाहकप्रद शेयर निष्काशनको लागि अनुमतिका लागि निवेदन दिँदा तोकिए बमोजिमका सम्पूर्ण विवरण तथा कागजातहरु शुरुमै अर्थात समयमा पेश नगर्ने तर आवेदन दिएको मितिलाई मात्र आधार मानी अनुमति कार्य ढिला भएको भन्ने गरिएकोमा बोर्डले तोकिए बमोजिमका संपूर्ण विवरण तथा कागजात प्राप्त भए पश्चात मात्र प्रकृया अगाडि बढाई बोर्डले तोकेको कार्य दिनभित्र अनुमति प्रदान गर्ने गरिएको छ । बोर्डमा सार्वजनिक निष्काशनको लागि आँखुखोला जलविद्युत कम्पनी र गरजंग उपत्यका जलविद्युत कम्पनीलगायत केही संस्थाहरुले निवेदन पेश गरी अनुमति पाउन ढिला भएको भन्ने सन्दर्भ जोडेर आर्यपीओ निष्काशनमा बोर्डले ढिला गरी अनुमति दिएको भन्ने आरोपपूर्ण समाचारको खण्डन गरेको छ । आँखुखोला जलविद्युत कम्पनीको रेटिङ्ग सवैभन्दा न्यून रहेको तथा नेटवर्थ अकिंत मूल्यभन्दा कम रहेकोमा लगानीकर्ताहरुको हकहितलाई ध्यानमा राख्दै यस्ता संगठित संस्थाहरुलाई सार्वजनिक निष्काशन अनुमति प्रदान गर्न केही नीतिगत व्यवस्था आवश्यक देखिएकोले सोही बमोजिम मिति २०७४ जेठ १२ गते देखि लागू भएको धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मा धितोपत्र सार्वजनिक निष्काशन गर्न चाहने संगठित संस्थाले सवै भन्दान्यून रेटिङ्ग प्राप्त गरेमा सो संस्थाले निष्काशन गर्ने सम्पूर्ण धितोपत्रको प्रत्याभूत गराउनुपर्ने तथा प्रारम्भिक सार्वजनिक निष्काशन गर्न चाहने संगठित संस्थाको पछिल्लो लेखापरिक्षण भएको वित्तीय विवरण बमोजिमप्रति शेयर खुद सम्पत्तिप्रति शेयर अंकित मूल्यभन्दा कमभएमा आफूले सार्वजनिक निष्काशन गर्ने सम्पूर्ण शेयरको प्रत्याभूत गराउनुपर्ने व्यवस्था गरी यस्ता संस्थाहरुको धितोपत्रको प्रारम्भिक निष्काशन अनुमति कार्यलाई केही सहजिकरण गर्ने व्यवस्था गरेको बोर्डले जनाएको छ । त्यसैगरी गरजंग उपत्यका जलविद्युत कम्पनीले हाल सम्म रेटिङ्ग गराइनसकेकोले अनुमति दिने प्रक्रिया अगाडि बढन नसकेको अवस्था रहेको छ । अतःबोर्डमा आईपीओ निष्काशनको लागि निवेदन पेश गरेका तर न्यून रेटिङ्ग प्राप्त गरेका संस्थाहरुलाई उपर्युक्तानुसारको व्यवस्था गर्न निर्देशन समेत दिइसकिएको छ भने विवरण तथा कागजात अपुग भएका संगठित संस्थाहरुलाई आवश्यक प्रक्रिया पुर्याउन समेत निर्देशन दिइएको छ । उक्त व्यवस्थाहरु पूरा गरी आएमा निवेदक कम्पनीलाई अनुमति प्रदान गर्ने कार्य यथाशीर्घ अगाडि बढाईने बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले बताए ।
एनसेलले गर्यो फोरजी/एलटिई सेवा विस्तार, अब दुर्तगतिको मोबाइल ब्रोडव्याण्ड सेवा पोखरा र दमौलीमा पनि
काठमाडौं । अब पोखरा र दमौलीमा रहेका एनसेलका सबै ग्राहकले चौथो पुस्ताको मोवाइल सेवा फोरजी/लङ्ग टर्म इभोलुसन (एलटिई) सेवाको लाभ लिन सक्नेछन् । एनसेल प्राइभेट लिमिटेडले सन् २०१७ को अन्त्य सम्ममा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी पुर्र्याउँदै ‛डिजिटल नेपाल’ को निर्माणमा योगदान गर्ने आफ्नो योजना अनुसार पश्चिमका दुई सहरहरु पोखरा र दमौलीमा सेवा विस्तार गरेको हो । कम्पनीले शनिबार (असार १७) देखि यी सहरहरुमा फोरजी सेवा आधिकारीक रुपमा संचालनमा ल्याउदै छ । “आफ्नो वाचा अनुरुप तदारुकताका साथ फोरजी सेवा विस्तार गर्दै देशलाई नयाँ प्रविधि अंगीकारमा समकालिन विश्वसँग उभ्याउन तथा ग्राहकलाई नयाँ प्रविधिका विविध लाभहरु प्रदान गर्न एनसेल प्रतिबद्घ छ । पहिला घोषणा गरे अनुरुप पोखरा र दमौलीमा सेवा विस्तार गर्न पाउँदा हामी निकै हर्षित छौ,” एनसेलका कपोर्रेट संवाद विज्ञ मिलन शर्माले भने । पोखरा र दमौलीमा फोरजी सेवाको विस्तारसँगै, फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोवाइल प्रयोग गर्ने एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले दु्रत गतिको ब्रोडब्याण्ड सेवाको मजा लिन सक्नेछन् । अझै फोरजी सिम नलिएका ग्राहकले फोरजी सेवाको लाभ लिनका लागि आफुले प्रयोग गरीरहेको सिमलाई नजिकैको एनसेल सेन्टरमा गई फोरजी चल्ने सिम (युसिम) सँग निःशुल्क साट्न सक्छन् र नयाँ ग्राहकले फोरजी सिम नै प्राप्त गरी उच्च गतिको मोबाइल ब्रोडव्याण्ड सेवाको पहुँचबाट फाइदा लिन सक्नेछन् । पोखरा र दमौलीमा आफ्नो फोरजी सेवा आधिकारीक रुपमा संचालनमा ल्याएको अबसरमा, आफ्नो फोरजी सिम राखी डेटा सेवा प्रयोग गर्ने ग्राहकलाई एनसेलले योण्डर म्युजिक एपमा ३० दिन सम्म निःशुल्क अनलाईन गीत सुन्न÷डाउनलोड गर्न सकिने सेवा प्रदान गर्दैछ । ग्राहकले एस्ट्रिक्स३२४ह्यास डायल गरी एनसेलको फोरजी सेवाका साथ(साथै ३० दिन सम्म योण्डर म्युजिकको निःशुल्क मजा लिन सक्नेछन् । योण्डर म्युजिक दुई करोड भन्दा बढि नेपाली र अन्तराष्ट्रिय गीतहरु रहेको एक वृहत डिजिटल म्युजिक लाइब्रेरी हो । एनसेलका ग्राहकले अंग्रेजीमा ‛क्यु’टाइप गरी ३२४ मा एसएमएस पठाई आफ्नो सिम कुन प्रकारको हो भन्ने बारेमा जानकारी लिन सक्छन् । एनसेलले प्रविधि तटस्थताको अनुमति पाए पश्चात पहिलो चरण अन्र्तगत ग्राहकहरुले लामो समयदेखि प्रतिक्षा गरीरहेको फोरजी सेवा गत जेठ १८ देखि काठमाडौं उपत्यका लगायत नगरकोट, बनेपा तथा धुलिखेलमा सेवा शुरु गरेको थियो । कम्पनीले सन् २०१७ को अन्त्य सम्ममा १५ सहरहरुमा फोरजी सेवा विस्तार गर्ने लक्ष्य राखेको छ र देशका विभिन्न सहरहरुमा पनि यो सेवा विस्तारका लागि नेटवर्क परीक्षण गरीरहेको छ । फोरजी प्रविधिले अझ उच्च गतिको मोबाइल डेटामा पहुँच सुनिश्चित गर्दै नयाँ व्यवसायीक अवसरहरुको सिर्जना गर्दछ र ग्राहकलाई पनि सेवा प्रयोगकोे राम्रो अनुभव प्रदान गर्दछ । “पोखरा र दमौलीमा फोरजी सेवाको संचालनसँगै देशको १०.३ प्रतिशत जनसंख्याको माझमा हाम्रो उच्च गतिको मोवाइल ब्रोडब्याण्ड सेवा पुग्नेछ । यसका साथै, ग्रामिण र दुर्गम स्थानहरुलाई ध्यानमा राखी सन् २०१८ भित्र थ्रिजी सेवाको कभरेज दोब्बर बनाउदै देशको कुल जनसंख्याको ६० प्रतिशतमा पु¥याउन पनि काम भईरहेको छ,” शर्माले भने । फोरजी सेवामा पहुँच विस्तार गर्नका निमित्त एनसेलले सन् २०१८ भित्रै देशको ४० सहरहरुमा फोरजी सेवा पुर्याउने योजना अनुसार काम गरीरहेको छ ।फोरजी÷एलटिई प्रविधि अन्र्तगत फ्रिक्वेन्सीको प्रभावकारीतामा सुधार भई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएकाले ग्राहकले आफ्नो मोबाइल डिभासमा अझ धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्पपूर्ण ठूला फाइलहरु आदान–प्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामाग्रीहरु सजिलै हेर्न लगायतका कामहरु गर्न सक्नेछन् । ‘‘राष्ट्रिय ब्रोडव्याण्ड नीतिले लिएका लक्ष्यहरु प्राप्तिमा योगदान गर्न हामी देशका विभिन्न भागमा क्रमशः फोरजी/एलटिई सेवामा पहुँच सुनिश्चित गर्दै जाने छौै,’’ शर्माले भने । राष्ट्रिय ब्रोडव्याण्ड नीतिले सन् २०१८ भित्र देशको ४५ प्रतिशत घरधुरीमा र सन् २०२० भित्रमा देशका सबै गाउँ विकास समितिहरुमा ब्रोडव्याण्ड सेवा पुर्याउने लक्ष्य राखेको छ । फोरजी÷एलटिई सेवाको सुरुवात सँगै(सँगै एनसेलले हालै आकर्षक साप्ताहिक कम्बो प्याक ‘वान प्लान’ ल्याएको छ, जसअन्तर्गत एनसेलका सबै ग्राहकहरुले सुलभ दरमा आकर्षक डेटा, भ्वाइस, एसएमएस र योण्डर म्युजिक सेवाको मजा एकै प्याक मार्फत लिन सक्छन् । ग्राहकले आफ्नो आवश्यकता अनुसार रु १५०, रु ३०० र रु ५०० को प्याक खरिद गरि आकर्षक डेटा, टक टाइम र एसएमएसको फाइदा लिन सक्छन् । यस बाहेक कम्पनीले चाँडै नै आकर्षक अफरहरु तथा निःशुल्क रुपमा अनलिमिटेड भिडियोमा पहुँच हुने जस्ता रोचक योजनाहरु ल्याउने छ ।