सानिमा माई हाइड्रोलाई शतप्रतिशत हकप्रद निष्काशन गर्न बोर्डको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सानिमा माई हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको छ । बोर्डले हाइड्रोलार्ई एक अर्ब ५ करोड रुपैयाँ बराबरको एक करोड ५ लाख ५० हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो । हकप्रद सेयरको बिक्री प्रबन्धकका रुपमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
पोखरा फाइनान्सलाई एफपीओ निष्कासन गर्न बोर्डको अनुमति, प्रतिकित्ता मूल्य २१० रुपैयाँ
काठमाडौं । पोखरा फाइनान्सलाई फरदर पब्लिक इस्यु (एफपिओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले बिहीबार ९ लाख ८३ हजार ६८२ कित्ता एफपिओ निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले प्रिमियम मूल्यसहित प्रतिकित्ता २ सय २० रुपैयाँमा एफपिओ निष्कासन गर्न लागेको हो । फाइनान्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल मार्केट लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी ५५ करोड ७४ लाख रुपैयाँ रहेको छ । सो मात्राको एफपीओ पछि फाइनान्सको पूँजी ५५ करोेड ८४ लाख रुपैयाँ पुग्ने छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता २४० रुपैयाँमा कारोबार भएको छ ।
ललितपुर मोबाइल कम्प्लेक्स र एपेक्स डिजिटलको संयुक्त शोरुम स्थापना
काठमाडौं । ललितपुरको लगनखेलमा अवस्थित ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले शोरुमको रिब्राण्डिङ गरेको छ । ललितपुर मोबाइल कम्प्लेक्सले एपेक्स डिजिटलको सहकार्यमा शोरुमको रिब्राण्डिङ गरेको हो । रिब्राण्डिङ गरिएको शोरुम शुक्रबार एक कार्यक्रमका बिच उद्घाटन गरेको छ । कम्प्लेक्सले अब आफ्ना ग्राहकहरुलाई विश्वका चर्चित मोबाइल ब्राण्डहरुका साथमा विभिन्न घरायसी विद्युतिय उपकरणहरु पनि बिक्री गर्ने भएको छ । नयाँ शोरुममा एप्पलको आईफोन, सामसंग, ह्वावे, शाओमी, ओप्पो, जिओनी, नोकिया, लाभा, कलर्स, माइक्रोम्याक्स, वानप्लस,लगायतका ब्राण्डका स्मार्टफोनहरु उपलब्ध रहेका छन् । एप्पलको आईफोन सेभेन तथा सेभेन प्लस, आइफोन सिक्स तथा सिक्स प्लस सूपथ मुल्यमा आधिकारिकरुपमा किन्न सकिनेछ । त्यसैगरि शोरुममा एलजी र भिडियोकोन ब्राण्डका टेलिभिजन, रेफ्रिजेरेटर, वासिंग मेसिन, एयर कण्डिसनर, भ्याकुम क्लिनरलगायतका घरायसी विद्युतिय सामाग्रीहरु सुपथ मुल्यमा किन्न सकिनेछ । ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले शोरुमको रिब्राण्डिङले ग्राहकहरुलाई थप सुविधा दिन सहयोग पुग्ने बताए । ‘हामी हाम्रा ग्राहकहरुलाई मोबाइलका साथै आवश्यक पर्ने सम्पूर्ण घरायसी सामाग्रीहरु सुपथ मुल्यमा बिक्री गर्नेछौं, यहाँ ग्राहकहरुले सामाग्री किन्दा प्रत्यक्षरुपमा प्रयोग गरेर त्यसको बारेमा सम्पूर्ण जानकारी पाउने छन जसको लागि अनुभवी कर्मचारीहरु राखिएको छ,’ कम्प्लेक्सका अध्यक्ष बस्नेतले भने । शोरुमको पुन शुभारम्भको उपलक्ष्यमा ललितपुर मोबाइल कम्प्लेक्स तथा एपेक्स डिजिटलले सम्पूर्ण सामाग्रीहरुमा ५ देखि ५० प्रतिशतसम्म छुट दिनेछ । शोरुमको रिब्राण्डिङका साथमा मोबाइल केयर पनि शुरु भएको छ । शोरुममा नेपालमा कतै मर्मत हुन नसकेकोे मोबाइल पनि आधुनिक उपकरण र दक्ष प्राविधिकहरुद्धारा मर्मत गर्ने गरि छिटो र भरपर्दो मोबाइल सर्भिस सेन्टर शुरु भएको छ । यसका साथमा शोरुममा विभिन्न ब्राण्डका उच्चस्तरका एसेसरिजहरु टेम्पर ग्लास, सेल्फी स्टिकर, ब्लूटूथ स्पीकर, हेडफोन, पावर ब्यांक, डाटा केबललगायतका सामाग्रीहरु सूपथ मुल्यमा खरिद गर्न सकिनेछ । शोरुमले सिधै छिमेकी मुलुक चीनबाट उच्च गुणस्तरका विभिन्न एसेसरिज आयात गरेर बिक्री गरिरहेको छ ।
भिबोर सोसाइटी डेभलपमेन्ट बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले तनहुँ जिल्ला स्थित भानु नगरपालिका चन्द्रावतीमा शाखा कार्यालय खोली आफ्नो सेवा विस्तार गर्न लागेको छ । यसै क्रममा बैंकले उक्त भेगका चन्द्रावती उच्च माध्यमिक विद्यालय र अरनिको उच्च माध्यमिक विद्यालयमा बैकिंङ्ग साक्षरता कार्यक्रमको संचालन गरेको छ । उक्त कार्यक्रममा माध्यमिक, उच्च माध्यमिकतथा स्नातक तहका विद्यार्थीहरुलाई बैकिंङ्ग साक्षरता सम्बन्धी समसामायिक ज्ञान दिइएको छ । यस कार्यक्रमले सेवा ग्राहीहरुलाई बैकिंङ्ग तथा वित्तीय संस्थाका प्रकार, बचत गर्ने बानी र बचत गर्दाको लाभ, आर्थिक कारोबार, एटिएम कार्डको सदुपयोग, रेमिट्यान्स, आदिका बारेमा जानकारी दिइएको छ ।
नारायणगढ मुग्लिङ सडक खण्डको काम अहिलेसम्मकै सुस्त, ठेकेदारको लापरबाही
चितवन। ठेकेदारको चरम लापरबाहीका कारण नारायणगढ मुग्लिङ सडक खण्डको काम सुस्त गतिमा अघि बढिरहेको छ र कहिले बन्ने हो त्यो निश्चित छैन । तर, यहीँ बाटो भएर दैनिक दस हजार भन्दा बढी सवारीसाधन ओहोरदोहोर गर्ने यस क्षेत्रमा दिनानुदिन स्थानीयको ज्यान जाँदा समेत सम्बन्धित निकाय गैरजिम्मेवार हुँदा मुग्लिङ ( नारायणगढ सडक खण्डको काम अलपत्र बनेको हो । सडकखण्डको निर्माणको जिम्मा पाएका निर्माण व्यवसायीले बजेट नपाउँदा सडक निर्माणको काम अलपत्र भएको बताए । बिकास न्युज सित कुराकानी गर्दै आयोजनाका कन्ट्रयाक्ट म्यानेजर रविन्द्र श्रेष्ठले पहिरो व्यवस्थापनमा भएको खर्च आफूले नपाएको दुखेसो गरेका हुन् । उनले भने, नियमित रूपमा ८ घण्टा काम गर्न नपाउँदा ढिलाई भएको छ । विद्युत पोल, खानेपानीका पाइपलाइन जस्ता संरचना सम्बन्धित निकायले समयमै नसार्दा निर्माण कार्यमा अवरोध भएको दुखेसो समेत श्रेष्ठले सुनाएका थिए । उता, आयोजनाका सूचना अधिकारी ईन्जिनियर शिव खनालले भने, नारायणगढ मुग्लिङ सडकको विभिन्न २९ स्थानमा पहिरो जोखिम क्षेत्र पहिचान गरिएको र विज्ञहरुलाई खटाएर गरेको भौगोलिक अनुसन्धानबाट उक्त सडक खण्डको करिब सात किलोमिटर क्षेत्रफल पहिरोको उच्च जोखिममा रहेको बताउँछन् । पहाड फोर्न कामहरु लगभग पुरा भएको उल्लेख गर्दै खनाल भन्छन् , ठेक्का नम्बर २ र ठेक्का नम्बर ३ मा गरि करिब छ सय मिटर पहाड फोर्न बाँकी रहेको छ । ठेक्का नम्बर ३ मा करिब चार सय मिटर सडक खण्डमा क्यान्टिलिभर पुल निर्माण गर्ने तयारी भएको भएपनि २ नम्बरमा भने पहाड फोरिनेछ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले निर्माणाधीन मुग्लिङ सडकखण्ड सबैभन्दा बढी जोखिमयुक्त क्षेत्रका रुपमा रहेकोमा सबै पक्षलाई संवेदनशील रहन आग्रह गरेका छन् । “ठूला एक्साभेटर तथा रोलर लगाएर पहाडका भित्ता फोरिएका छन्”, उनले भने, “कटिङ छड्के नभई ठाडो छ, जसले गर्दा जोखिम बढेको छ ।“विपद् जोखिमको मूल्यांकन गरी तयारी अवस्थामा बसौं”, उनले भने, “जेठ १५ गतेभित्र स्ट्रक्चरल काम सक्ने भनिएको थियो , सुरक्षाका उपाय अपनाइने भनेर निर्णय गरिएको थियो”, उनले भने, “ती निर्णय कार्यान्वयन भएनन् , वैकल्पिक मार्गको प्रयोग गर्नुपर्ने अवस्था छ ।” बिका न्युज सित कुराकानी गर्दै प्रजिअ भट्ट भन्छन् -‘ समितिले विपद्मा आवश्यक सामग्रीको व्यवस्थापन गर्न स्थानीय प्रहरी चौकीको समन्वयमा काम गर्न सुझाव दिएको छ ।’ प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले वडातहमा विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाउन अनुरोध गरे । “स्थानीय समिति विगतमा पनि थिए, तर निष्क्रिय रहे”, उनले निर्वाचित जनप्रतिनिधि लाई लक्षित गर्दै भने, “अब सक्रिय पार्ने जिम्मा तपाईंहरुको काँधमा छ, विपद् व्यवस्थापनमा लागिपरौं ।” उनले विपद् व्यवस्थापन गर्न विगतमा बनाइएका संरचनालाई चलायमान गराउन भूमिका निर्वाह गर्न अनुरोध गरेका छन् । पहाड फोर्दा पटक पटक पहिरो गएर ठूलो मात्रामा धनजनको क्षति भइरहेको उल्लेख गर्दै चितवनका प्रमुख जिल्ला अधिकारी यस बारेमा ठेकेदार कम्पनी सचेत हुनुपर्ने समेत प्रजिअ भट्टले बताए । आगामी डिसेम्बर महिनासम्ममा सक्नुपर्ने काम अहिलेसम्म करिब ५२ प्रतिशत मात्रै सकिएको छ । म्याद थपे अनुसार निर्माण कम्पनीले अहिलेसम्म ६८ प्रतिशत काम सक्नुपर्ने हो । तर, बजेट अपुग भएको , भुकम्प गएको र नाकाबन्दी भएको भन्ने जस्ता बहाना बनाई काम प्रभावित बनाएको हो । आयोजनाले पटक पटक गरि दुई पटकसम्म उक्त सडक निर्माण सम्पन्न गर्ने म्याद थप गरिसकेको छ ।
होण्डाको नयाँ डिआईओ स्कुटर नेपाली बजारमा, विभिन्न पाँच रङ्गहरुमा पाइने
काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. ले नेपालमा सर्वाधिक बिक्री हुने डिआइओ स्कुटरको नयाँ मोडेल नेपाली बजारमा भित्राएको छ । २०१७को डिआईओमा नयाँ एलइडी हेड ल्याम्प, इक्विलाइजर टेक्नोलोजीका साथ कोम्बी ब्रेक सिष्टम, बढी माइलेजको लागि एचइटी(होण्डा इको टेक्नोलोजि)इन्जिन, नयाँ इन्स्ट्रुमेन्ट प्यानल र डुअल टोन कलरका साथै स्पोर्टिङ्ग ग्राफिक्स् रहेको छ । आजको यूवा पिढीहरुको आवश्यकतालाई ध्यानमा राख्दै डिआईओ २०१७मा मोबाइल चार्जिङ सकेट, बिएस–आईभी इमिसन र एएचओ(अटोमेटिक हेडल्याम्प अन) जस्ता विशेषतामा अझ उत्कृष्ट रुपमा प्रस्तुत भएको कम्पनीले जनाएको छ । यस डिआइओ ५ उत्कृष्ट रङ्गहरु जस्तै, भाइब्रेन्ट ओरेञ्ज, पिरल स्र्पोटस् एल्लो, स्र्पोटस् रेड, क्यान्डि ज्याजी बिल्यु र म्याटि एक्सिस् ग्रे मेटालिकमा उपलब्ध रहेको छ ।
एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा कमल गौतम नियुक्त
काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत पदमा कमल गौतमलाई नियुक्त गरेको छ । नेपाल ग्रिन्डलैज बैंकबाट प्रोफेसनल बैंकिङ्ग क्यारियर शुरु गरी हिमालयन बैंक, एनआईसी एसिया बैंक, एनबि बैंक, सनराइज बैंक हुदै पछिल्लो समय इन्फ्रान्स्टक्चर डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा रही काम गरेका गौतमले इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकलाई सुधार गर्न महत्वपुर्ण भुमिका खेलेका थिए । हालै इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैक, एनसिसि बैंकमा गाभिए पश्चात नायव महाप्रवन्धकको जिम्मेवारी सम्हाल्दै आएका गौतमले केही महिना अघि बैंकबाट राजिनामा दिई अवकास लिएका थिए । समस्याग्रस्त संस्थालाई सुधार गर्न अनुभवी गौतम निर्णय एवम व्यवस्थापकिय क्षमतामा अव्वल मानिन्छन् । करिब २६ वर्षको बैंकिङ्ग अनुभव सम्हालेका गौतम त्रिभुवन विश्वविद्यालयवाट व्यवस्थापन विषयमा स्नातकोत्तर हुन् । नव नियुक्त प्रमुख कार्यकारी अधिकृत गौतमले शुक्रबार देखि जिम्मेवारी समेत सम्हालेका छन् । भर्खरै समस्याबाट अगाडि बढ्दै आएको कम्पनीले उनको व्यवस्थापकिय क्षमताले कम्पनीलाई सुधार गरी थप उचाईमा पुर्याउने योगदानको अपेक्षा गरेको छ ।
राष्ट्र बैंकको हस्तक्षेपपछि कुमारी बैंकमा नयाँ सिइओ,योग्यता नपुगेका सञ्चालकलाई पद त्याग्न निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकको हस्तक्षेपपछि कुमारी बैंकमा कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरिएको खुलासा भएको छ । महाकाली विकास बैंक, काष्ठमण्डप डेभलपमेन्ट बैंक, काक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्ससँग मर्जरपछिको एकिकृत कारोबार समारोहलाई सम्बोधन गर्दै राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले कुमारी बैंकमा सिइओ नियुक्त राष्ट्र बैंकले हस्तक्षेपकारी भूमिका खेल्नु परेको खुलासा गरेका हुन् । ‘हामीले तुरुन्तै सीईओ नियुक्त गर्नुस् भनेर निर्देशन पत्र पठाएको एक हप्तामा नयाँ सिईओ नियुक्ती भयो’, एकिकृत कारोबार आरम्भ कार्यक्रममा गभर्नर डा. नेपालले ‘हप्ता दिन भित्र पनि सीईओ नियुक्त नभएको भए अर्को पत्र काट्न राष्ट्र बैंकको तयारी थियो ।’ कुमारी बैंकमा विगत २ वर्षअघि देखि सीईओ पद रिक्त रहेको थियो । राजीव गिरीले सो अवधीमा कामु सीईओ रुपमा कार्यभार सम्हालेका थिए । बैंक सञ्चालक समितिले जेठ २२ गते सुरेन्द्र भण्डारीलाई सीईओ नियुक्त गरेको थियो । भण्डारीले साउन १ देखि कुमारी बैंकमा जिम्मेवारी समाल्दैछन् । स्रोतका अनुसार केन्द्रीय बैंकका उच्च अधिकारीहरुले कुमारी बैंकका सञ्चालकलाई नाम तोकेर ‘यो व्यक्तिलाई’ नयाँ सीईओ नियुक्त गर्न निर्देशन दिएका थिए । तर लिखित रुपमा भने तुरुन्त सिइओ नियुक्त गर्नु मात्रै भनेको थियो । कसको नाम तोकिएको थियो भन्ने स्रोतले खुलाउन चाहेन । गभर्नर नेपालको भनाई कुमारी बैंकप्रति आक्रामक थियो । बैंकमा अध्यक्ष सन्तोष लामाप्रति संकेत गर्दै साधारण लेखपढ जानेको र निर्णयमा ल्याप्चे लगाउने व्यक्ति बैंकका अध्यक्ष वा सञ्चालन बस्न नपाउने बताए । ‘पहिला साधारण लेखपढ मात्रै जानेका र निर्णयमा ल्याप्चे लगाउने व्यक्ति पनि बैंक सञ्चालक हुन सक्थे । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनले सञ्चालक तथा अध्यक्षको योग्यता र अनुभव तोकेको छ । ऐनको पूर्ण पालना गर्न हामीले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिईसकेका छौं ।’ ‘कुन कुन बैंकका सञ्चालकहरुको योग्यता र अनुभव के छ भन्ने कुरा राष्ट्र बैंकको जानकारीमा आएको छ’ गभर्नरले भने–‘योग्यता र अनुभव नभएका व्यक्तिले अब बैंक छोड्नु पर्छ ।’ उनले कुल ७४४ वटा स्थानीय तह मध्ये २४० वटामा मात्रै बैंक पुगेको बताउँदै बाँकी ५०४ स्थानीय तहमा पनि तत्कालै बैंकका शाखाहरु स्थापना गराउने काम अघि बढाएको पनि जानकारी दिए । धेरै ठाउँमा बैंकहरुले जान चाहेको बताउँदै उनले बैंकले जान नचाहेको स्थानीय तहमा पनि बाध्यात्मक नीति बनाएर शाखा विस्तार गर्ने बताए । केन्द्रिय बैंकका प्रवक्ता नारायण पौडेलले असार मसान्तसम्म चुक्ता पुँजी नपुर्याउने बैंकलाई नयाँ निक्षेप संकलन, कर्जा लगानी र शाखा विस्तारमा रोक लगाउने बताए । उनले पुँजी वृद्धि गर्न नसक्ने बैंक तथा वित्तीय संस्थालाई बोनस बाढ्न पनि रोक लगाउने स्पष्ट पारेका थिए ।