अखाद्य वस्तु बेच्ने पाँच वटा व्यापारिक प्रतिष्ठान बन्द, कुन कुन भए बन्द ?
चितवन । आपूर्ति ब्यवस्थापन तथा उपभोक्ता हित संरक्षण बिभागको टोलीले सोमबार चितवनका ५ व्यवसायीक प्रतिष्ठानहरु बन्द गराएको छ । बिभागका शाखा अधिकृत दुण्डिराज पोख्रेल र राष्ट्रिय उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष तिर्थ मर्हजन सहितको नेतृत्वमा आएको केन्द्रिय टोलीले गरेको संयुक्त अनुगमनका क्रममा म्याद नाघेका बस्तुहरु बेच्ने र नियमविपरीत ब्यवसाय सञ्चालन गर्ने पाँच ब्यापारिक प्रतिष्ठानहरुलाई बन्द गराएको हो । उपोभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्ने नियतले सञ्चालित नारायणगढको शर्मा आईसक्रिम, भरतपुर रामनगरको न्यु शिवशंक्ती होटल शुष्मा होटल, आनन्दमार्गको श्री टेडर्स र ओम सत्य साई गल्ला पसललाई प्रशासनले बन्द गराएको हो । यी मध्ये शर्मा आईसक्रिमले आवश्यकता भन्दा बढि रगंको प्रयोग गरेको , भरतपुर रामनगरको न्यु शिवशंक्ती होटल शुष्मा होटलले अस्वास्थ्यकर खाना खुवाएर उपोभोक्ताको स्वास्थ्य माथि खेलवाड गरेको, आनन्दमार्गको श्री टेडर्सले १२ वर्ष देखि ब्यवसाय नै दर्ता नगरेको पाइएको छ । साथै, ओम सत्य साई गल्ला पसलले बिभिन्न ब्राण्डका १५५ लिटर खाने तेल, र १५ किलो मिश्री र सुरेस एण्ड ब्रर्दश सप्लायर्स बाट म्याद समाप्त भएका ९० प्याकेट क्रिम बिस्कुट र १९ प्याकेट हरलिक्स बिस्कुट , २२ प्याकेट कोकोनट बिस्कुट र १९ प्याकेट ग्लुकोज लगायत अन्य बस्तु बिक्री गरेको पाइएकाले उनीहरुको ब्याबसायी नै बन्द गर्नुपर्ने अवस्था आएको आपूर्ति ब्यवस्थापन तथा उपभोक्ता हित संरक्षण बिभागका शाखा अधिकृत दुण्डिराज पोखरेले बताए । साथै, उनीहरुलाई एक साता भित्र जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन समेत निर्देशन दिईएको पोखरेलले बताए । यस्तै, अनुगमन टोलीले नारायणगढमा रहेको भाटभटेनीको समेत अनुगमन गरेको छ ।अनुगमनका क्रममा ओखरको उत्पादनमा उपभोग्य मितिका साथै प्याकिगं गरिएको कम्पनीको ब्राण्ड समेत नभएकाले त्यस्ता बस्तु नराख्न र नबेच्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका बजार अनुगमन अधिकृत ओम नारायण शर्माले जानकारी दिए ।
फ्रान्सेली सरकारको आर्थिक विकासको बहसमा नेपाल
काठमाडौं । फ्रान्स सरकारले विश्वका अल्पविकसित देशको विकासमा सघाउन केही वर्षयता विश्वव्यापी रुपमा आर्थिक विकासको बहस सञ्चालन गर्दै आएको छ । विकसित राष्ट्रका मुख्य सहर टोकियोदेखि लसएन्जलससम्म बर्सेनि आयोजना हुँदै आएका विकासे बहसको शृङ्खला नेपालको राजधानीमा आइपुगेको छ । यहाँस्थित फ्रान्सेली राजदूतावास, फ्रान्सेली केन्द्र र नेपाल आर्थिक मञ्चको संयुक्त आयोजनामा आज यहाँ आयोजित ‘भूपरिवेष्टित मुलुकमा विकास’ विषयको बहसमा नेपालका लागि युरोपेली सङ्घको प्रतिनिधिमण्डलका राजदूत रिन्चे टिरिङले भारत र चीनका बीचमा अवस्थित नेपालमा आर्थिक विकासका अथाह सम्भावना रहेको बताए । उनले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क), बहुक्षेत्रीय प्राविधिक आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक), दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) र भुटान, बङ्गलादेश, भारत र नेपाल सदस्य रहेको (बिबिआइएन) अस्तित्वमा रहे पनि अपेक्षानुरुप नेपालले आर्थिक समृद्धि हासिल गर्न नसक्नु चिन्ताको विषय हो भने । दक्षिण एसियाली नेतामा राजनीतिक इच्छाशक्ति भए समग्र दक्षिण एसियालाई आर्थिक रुपमा एकीकृत गर्न कठिन नहुने विचार व्यक्त गर्दै उनले स्थानीय तहको निर्वाचनबाट चुनिएका र निकट भविष्यमा चयन हुने जनप्रतिनिधिले नेपालको आर्थिक विकासको विषयलाई व्यवहारमा अनुवाद गर्ने गरी उठाउनेमा आफू आशावादी रहेको बताए । नेपालका लागि फ्रान्सका राजदूत इभ कार्मोनाले आर्थिक विकासको बहसमा नेपाललाई समाहित गर्न आफ्नो देशको सरकारले विशेष प्रयास गरेको जानकारी दिँदै विश्व मानचित्रमा प्रकृतिको वरदानका रुपमा रहेको नेपालको पर्यटन प्रवद्र्धन र विकासमा सघाउनु बहसको मुख्य उद्देश्य भएको बताए । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले अन्तरदेशीय प्रसारण लाइन निर्माण तथा विद्युत् प्रवाहबाट दक्षिण एसियालाई विकासको बाटामा अग्रसर गराउन सकिने विचार व्यक्त गर्दै नेपालको आर्थिक विकासको मेरुदण्ड जलस्रोत भरपूर उपयोग अपरिहार्य भएको बताए । रासस
म्याग्दीको लघु जलविद्युत् परियोजना बन्द
म्याग्दी। बाढीले विद्युत्गृह र नहरमा क्षति पुर्याएपछि म्याग्दीको मालीका गाउँपालिका-१ मा रहेको रुम खोला लघु जलविद्युत् परियोजना बन्द भएको छ । दरवाङ निस्कोट सडकबाट सोमबार राति आएको बाढीले ५१ किलोवाट क्षमताको परियोजनाको विद्युत्गृह र नहरमा क्षति पुर्याएको छ । विद्युत्गृहभित्र बाढी पसेको छ भने ५० मिटर नहर बाढीले पुरेको नेपाल रेडक्रस सोसाइटी फूलबारी उपशाखाका सभापति कमलनाथ शर्माले जानकारी दिए । परियोजना बन्द हुँदा निस्कोट, डाँडागाउँ, फूलबारी, महभिर, अदिभारा र दरवाङका करिब ५०० घरमा विद्युत् आपूर्ति बन्द भएको सभापति शर्माले बताए । सडक निर्माणका क्रममा माटो व्यवस्थापन र ढल निकासका लागि नाली नबनाउँदा बाढी आएको स्थानीय बासिन्दाको भनाइ छ । सोही सडकबाट आएको बाढीले मालिका-१ घोर्सेका मानसिङ सापकोटा र गणेश पुनको घर जोखिममा परेको छ । मुक्ति पुन, छविलाल पुन, धनपति सापकोटा र हरदक्त आचार्यको धानखेत तथा भीमविक्रम मल्लको सुन्तलाबारी सडकबाट आएको बाढीले पुरिएको छ । यसैगरी बस्ती माथि खनिएको सडकका कारण पहिरो खस्न थालेपछि मालिका गाउँपालिका–३ अदिभाराका दुई घर जोखिममा परेका छन् । दश वर्षमा साढे पाँच किमी सडक निर्माण मालीका गाउँपालिकाको केन्द्र दरवाङ बजारदेखि दिच्याम जोड्ने सडकको ट्र्याक निर्माण कार्य १० वर्षपछि बल्ल पूरा भएको छ । विसं २०६४ देखि सुरु भएको दरवाङ–दिच्याम सडकको पाँच किलोमिटर ५०० मिटर सडकको ट्र्याक खोल्ने कार्य यसै हप्ता पुरा भएको हो । जिल्ला समन्वय समिति, साविक गाविस कार्यालय र स्थानीय बासिन्दाको रु ७० लाखको लगानीमा सडक निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष खिम रोकाले बताए। उहाँका अनुसार भिरालो जमिन र चट्टानी पहाडमा सडक निर्माणका लागि पर्याप्त बजेट नहुँदा श्रम, सयम र खर्च भएको हो । जिल्ला समन्वय समितिको रु २७ लाख, साविक दरवाङ गाविस कार्यालयको रु १२ लाख लगानी भएको सडकमा स्थानीय बासिन्दाले ३१ लाख रुपैयाँ खर्च गरेका थिए । सडक निर्माणका लागि बेनीको बुद्ध बहुउद्देश्यीय सहकारी संस्थाबाट स्थानीय ओमबहादुर रोका, दिलमती रोका, धनबहादुर रोका र दलबहादुर जुक्जालीको जग्गा धितो राखेर लिएको २९ लाख ५० हजार रुपैयाँ ऋण तिर्न बाँकी छ । “विसं २०६४ मा रु २२ लाख ऋण लिएकामा २०७२ सालमा ब्याजसहित रु ४२ लाख पुगेको थियो”, सडक निर्माण समितिका पूर्व सचिव कर्णबहादुर रोकाले भने, “चन्दा उठाएर रु १३ लाख ऋण तिरेका छौँ, अझै रु २९ लाख तिर्न बाँकी छ ।” सो सडकबाट साविक दरवाङ गाविसको ७, ८ र ९ नं वडामा पर्ने दिच्याम, गोगनपानी, पात्लेखेतका २०० घरधुरी लाभान्वित भएका छन् । उकालो बाटोमा दुई घन्टाको पैदल यात्रा गर्नुपर्नेमा मोटरबाटो बनेपछि अहिले ३० मिनेटमा छोटिएको छ । खच्चर र भरियालाई महँगो शुल्क तिरेर सामान ढुवानी गर्नुपर्ने समस्या पनि टरेको छ । गाउँमा उत्पादन भएको तरकारी, फलफूल, आलुलगायत कृषि उपज निकासी तथा आवतजावतमा सहज भएको छ । ट्र्याक मात्र खोलिएको सडकमा नियमित सवारी सञ्चालनका लागि स्तरवृद्धि र मर्मत गर्नुपर्ने हालै सो सडकको अनुगमनमा जानुभएका सांसद नवराज शर्माले बताए । रासस
केयुकेएलका महाप्रबन्धकलाई खानेपानी सचिवले निकाले कार्य कक्षबाटै
काठमाडौं । उपत्यका बासीका धारामा खानेपानी उपलब्ध गराउने जिम्मेवारी पाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल)का महाप्रबन्धकलाई खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भिम उपाध्यायले कार्यकक्षबाट बाहिर निकालेका छन् । केयुकेएलमा भैरहेका अनियमितताहरु सार्वजनिक गरिरहेका सचिव उपाध्यायलाई भेट्न मन्त्रालय पुगेका महाप्रबन्धक भट्टराईको मानसिकता असन्तुलित देखिएकाले कार्यकक्षबाटै बाहिर निकाल्नु परेको सचिव उपाध्यायले स्पष्ट पारेका छन् । मन्त्रालयले महाप्रबन्धक भट्टराईलाई कारवाही गर्ने प्रक्रिया अघि बढाएपछि उनी सचिव उपाध्यायलाई भेट्न मन्त्रालय पुगेका थिए । तर सचिव उपाध्यायलाई गालीगलौज गर्न थालेपछि भट्टराईलाई कार्यकक्षबाटै निकालेको सचिव उपाध्यायले फेसबुकमा लेखेका छन् । ‘‘केयुकेएलमा अनेक गल्ति र अनियमितता गरेकोमा कार्यवाही हुने भएपछि केयुकेएलका महाप्रवन्धक महेश भट्टराइ सचिवको कार्यकक्षमा आक्रोशित हुदै झगडा गर्न आएका थिए । उनको मानसिकता असन्तुलित देखिएकोले तत्काल कार्यकक्षबाट बाहिरिन आदेश दिनु परेको थियो ।’, उपाध्यायले आफ्नो फेसबुकमा लेखेका छन् । जथाभावी बैठक राखेको, अनावश्यक रुपमा विदेश भ्रमणमा गएको, कानुन शाखामा कर्मचारी हुँदा हुँदै २ जना कानुनी सल्लाहकार भर्ना गरेको र थपस्वतन्त्र कानुन व्यावसायी भर्ना गरेको, खानेपानी वितरणमा अनियमितता गरेको, कर्मचारी नियुक्तीको फाइल अघि नबढाएको लगायतका आरोप सहित मन्त्रालयले महाप्रबन्धक भट्टराईमाथी कारवाही गर्न लागेको छ ।
सिद्धार्थ र नेपाल बङ्गलादेश बैंकको हकप्रद सेयर लिलामीमा, असार १४ गतेदेखि आवेदन खुला
काठमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंक र नेपाल बङ्गलादेश बैंकको गरी १८ लाख ४५ हजार ५५६ कित्ता सेयर लिलामीमा रहेको छ । सो मात्राको सेयरको लागि दुबै बैंकले असार १४ गते(भोली) देखि बिक्री खुला गरेका छन् । सिद्धार्थ बैंकको ८ लाख ५७ हजार ४३६ कित्ता सेयर लिलामीमा आएको छ । कम्पनीको ४ लाख ५ हजार ८८८ कित्ता संस्थापक र ४ लाख ५१ हजार ५४८ कित्ता सर्वसाधारण सेयर गरि सो मात्राको सेयर लिलामीमा आएको हो । कम्पनीले निष्काशन गरेको हकप्रद सेयरमा संस्थापक र सर्वसाधारणको तर्फबाट आवेदन नपरेको सेयर लिलामीमा राखेको हो । बैंकले वैशाख ७ गतेदेखि जेठ १० गतेसम्म बिक्री खुला गरेको हकप्रद सेयरमध्ये आवेदन नपरेको ८ लाख ५७ हजार ४३६ कित्ता सेयरहरु लिलामीमा राखेको हो । बैंकले उक्त सेयर न्यूनतम मूल्य प्रतिशत १०० राखेर बढाबढ मूल्यमा बिक्रीमा राखेको हो । बोलकबोलको सेयर असार १४ गतदेखि खुला गरिने छ । साथै, असार २१ गतेसम्ममा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङमा आवदेन गर्न सकिने कम्पनीले जनाएको छ । त्यस्तै, नेपाल बङ्गलादेश बैंकको ९ लाख ८८ हजार १२० कित्तासेयर लिलामीमा आएको छ । बैंकको १९ हजार ५११ कित्ता संस्थापक र ९ लाख ६८ हजार ६०८ कित्ता सर्वसाधारण सेयर गरी सो मात्राको सेयर लिलामीमा राखेको हो ।बैंकले वैशाख ७ गतेदेखि जेठ १० गतेसम्म निष्काशन गरेको हकप्रद सेयरमा सर्बसाधारणको तर्फबाट आवेदन नपरेको सेयर लिलामीमा राखेको हो । बैंकले उक्त सेयर न्यूनतम मूल्य १०० राखेर बढाबढ मूल्यमा बिक्रीमा राखेको हो । कम्तिमा १०० कित्तादेखि लिलामीमा राखिएको सबै सेयरको लागि एकै व्यक्तिले आवदेन गर्न सक्ने बैंकले जनाएको छ । असार २१ गतेसम्ममा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडमा आवदेन गर्न सकिनेछ ।
लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता ९३० रुपैयाँ
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । मंगलबार नेप्सेले कम्पनीको १०० प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ । कम्पनीले समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ९३० रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य ९२३ रुपैयाँ रहने भएको छ ।
उदयपुरका चार हजार परिवार नदी कटानको उच्च जोखिममा
गाईघाट । नदी नियन्त्रणका लागि तटबन्ध निर्माण नहुँदा प्रत्येक वर्ष बर्खायाम लागेपछि त्रियुगा र बरुवा नदीको बाढीका कारण उदयपुरको त्रियुगा नगरपालिकास्थित बरुवा र त्रियुगा नदी आसपास बसोबास गर्दै आएका आधा दर्जन गाउँका चार हजार घरपरिवार नदी कटानको उच्च जोखिममा पर्दै आएका छन् । यस वर्ष पनि समयमा नदी नियन्त्रण गर्ने तटबन्ध निर्माण नहुँदा सो नगरपालिकाको वडा नं १२ स्थित बोटटोल, बगरटोल, भुल्के, साधना टोलसहित नगरको वडा नं ७ को पोर्ताह, लक्ष्मीपुर र असारी क्षेत्रका झन्डै चार हजार घरपरिवार दुुबै नदीबाट हुने कटानको उच्च जोखिममा पर्दै आएका हुन् ।। पोर्ताहका गणेबहादुर कार्की भन्छन्, “अहिलेसम्म पनि नदी नियन्त्रणका लागि तटबन्ध निर्माण भएको छैन, जब रातिको समयमा वर्षा हुन्छ, हामी सबै टोलवासी जागा भएर रात काट्न थालेका छौँ, कतिखेर बरुवा नदीको बाढी गाउँमा प्रवेश गर्ने हो भन्ने चिन्ताले गाउँलेलाई भोक र निद्रा नै हुँदैन ।” लक्ष्मीपुरका देवकृष्ण चौधरीको गुनासो पनि उस्तै छ, उनले भने, “आफूहरु बरुवा र त्रियुगा नदीको घेराभित्र बसोबास गर्दै आएका छौँ, जब आकासमा गड्याङगुडुङ गर्न थाल्छ गाउँले दिनरात डर र त्रासमा बस्नुपर्छ, कतिखेर बरुवा र त्रियुगाको बाढी गाउँमा छिर्छ भन्ने चिन्ताले आफूहरुलाई सताउने गर्छ ।” वर्षा लागेसँगै खेती गर्ने याम आएकाले वर्षा हुनु राम्रो भए पनि आफूहरुलाई भने वर्षा नभए पनि हुन्थ्यो जस्तो लाग्ने गरेको अर्का स्थानीय बासिन्दा भिखन चौधरीले बताए । अहिलेसम्म यस क्षेत्रमा त्रियुगा र बरुवा नदीले झन्डै एक हजार ५०० बिगाहा नम्बरी जग्गा कटान गरिसकेको अर्का स्थानीयबासी सेतु चौधरीको गुनासो छ । नदी नियन्त्रण गर्न आफूहरुले सम्बन्धित निकायलगायत त्रियुगा नगरपालिकादेखि संसद्सम्म पुग्दा पनि यसमा उचित सुनुवाइ नभएका कारण आफूहरु लामो समयदेखि वर्षायाममा नदी कटान र बाढीको चपेटामा बाँच्दै आउनुपरेको पोर्ताहका कुमार खड्काले बताए । स्थानीय जनताले आफैँले रकम सङ्कलन गरेर पनि सामान्य तटबन्ध बनाउन पहल सुरु गरेपनि पर्याप्त तार तथा जालीको अभाव र पुग्दो राकमको जोहो गर्न नसक्दा वर्षायाममा आफूहरुले कष्ट भोग्दै आउन परेको स्थानीयवासी बताउँछन् । त्रियुगा नगरपालिका–१२ जनप्रेमी निमाविका प्रधानाध्यापक शैलेन्द्र खतीवडाका अनुसार आफूहरुले पुरानो गाईघाट, बगरटोल, लक्ष्मीपुर, पोर्ताह क्षेत्रमा त्रियुगा र बरुवा नदीको कटान नियन्त्रण गर्न जिल्लाका सांसददेखि मन्त्रीहरुसंग पनि गुनासो राखिसकेका छौँ तर अहिलेसम्म आश्वासनबाहेक अरु केही पाउन सकिएन, बर्खा लाग्नासाथ आफूहरु असुरक्षित महसुस गर्नुपर्ने अवस्था रहेको उनको गुनासो छ । प्रत्येक वर्ष बर्खा लाग्नासाथ त्रियुगा र बरुवा नदीको बाढी गाउँमा प्रवेश गर्ने र नम्बरी जग्गा कटान गर्ने पीडा भोग्दै आएका यस क्षेत्रका जनताले यस वर्ष पनि समयमा नदी नियन्त्रणको पहल नहुँदा नदी कटानको समस्या झेल्नु पर्ने अवस्था आएको बताउँछन् । बर्खा लागिसकेका कारण जुनसुकै बेला पनि बाढी आउन सक्ने र धेरै क्षति हुन सक्ने भएकाले यस क्षेत्रमा चार हजार घरपरिवार वर्षेनि असुरक्षित महशुस गर्नुपरेको हो अहिलेसम्म यस क्षेत्रमा त्रियुगा र बरुवा नदीले एक हजार ५०० बिगाहाभन्दा बढी नम्बरी जग्गा तथा घर कटान गरेकाले ५०० भन्दा बढी विस्थापित भइसकेको लक्ष्मीपुर उच्चमावि व्यवस्थापन समितिका अध्यक्ष समुद्री चौधरीले बताए । रासस
स्कूलको चिठ्ठी पढेर महान् वैज्ञानिक थोमस किन रोए ?
काठमाडौं । विजुलीको बल्वका आविष्कारक तथा महान् वैज्ञानिक थोमस अल्वा एडिसनले भनेका छन् “हाम्रो सबैभन्दा ठूलो कमजोरी हो हार मान्नु । उनका अनुसार सफल हुने एकमात्र तरिका छ, त्यो हो ”एक पल्ट फेरि प्रयास गर्नु ।” यिनै महान् वैज्ञानिकको स्कूल जीवन, स्कूलले लेखेको चिठ्ठी र त्यसले थोमस र उनकी आमालाई रुवाएको विषय संसारभर निकै चर्चा हुने गरेको छ । थोमस अल्वा एडिसनको जन्म सन् १८४७ मा अमेरिकाको ओहायो शहरमा भएको थियो । उनलाई सानोमा सबैले मन्दबुद्धि भन्ने गर्दथे । शिक्षकले कक्षामा पढाउँदा उनी ध्यान दिँदैनथे र आप्mनै संसारमा हराइरहन्थे । एकदिनको कुरा हो उनी स्कुलबाट घर आए र आमालाई एउटा चिट्ठी दिँदै भने – ‘आमा, यो चिट्ठी टिचरले हजुरका लागि पठाउनुभएको हो । आमाले तुरुन्तै चिट्ठी पढिन् । चिट्ठी पढिसकेर उनी रुन थालिन् । आमा रोएको देखेर एडिसनले सोधे –‘आमा, चिट्ठीमा त्यस्तो के लेखेको छ ? हजुर त रुन पो थाल्नुभयो ।’ आमाले आँशु पुछ्दै भनिन्, ‘चिट्ठीमा लेखेको छ “तपाईंको छोरा अत्यन्तै बुद्धिमान् र प्रतिभाशाली छ । हाम्रो स्कुल तल्लो लेवलको हो र टिचरहरु पनि त्यति राम्रा छैनन् । त्यसैले हामी तपाईंको छोरालाई पढाउन सक्तैनौं । अब आफ्नो छोरालाई तपाईं आफैं पढाउनुस् ।” आफ्नो बयान सुनेर एडिसन धेरै खुशी भए । उनलाई आमाले घरमै पढाउन थालिन् । भनिन्छ नि, ‘हरेक सफल व्यक्तिको पछाडि एउटी महिलाको हात हुन्छ । एडिसनका लागि ती महिला अरु कोही होइन, उनैकी आमा थिइन् । धेरै वर्षपछि उनकी आमाको निधन भयो । त्यसवेला सम्ममा विभिन्न किसिमका आविष्कारहरु गरेर एडिसन प्रख्यात वैज्ञानिक बनिसकेका थिए । एकपल्ट उनले केही खोज्ने क्रममा घरमा भएको दराजको एउटा कुनामा त्यो पुरानो चिट्ठी भेटे र उत्साहित हुँदै पढ्न थाले । चिट्ठी पढिसकेपछि उनी धेरै वेर रोइरहे । शिक्षकले उनकी आमालाई लेखेको त्यो चिट्ठीमा त्यस्तो के लेखेको रहेछ र उनी रोएका रैछन् त ? त्यो चिट्ठीमा लेखिएको थियो –‘तपाईंको बच्चा मन्दबुद्धिको छ । उसलाई अबदेखि स्कुल नपठाउनुस् । ऊ हाम्रो स्कुलमा पढ्ने लायकको छैन । एडिसनले रुँदै आफ्नो डायरी निकाले र लेखे–‘एक महान् आमाले मन्दबुद्धि बच्चालाई शताब्दीकै महान् बैज्ञानिक बनाइ दिइन् ।’ त साथी, आमाले आफ्नो मनमा भरिदिएको आत्मविश्वासका कारण एडिसनलाई केही गरेर देखाउन सक्छु भन्ने अठोट जाग्यो । फलस्वरुप, हजारौं असफल प्रयोग पश्चात पनि हरेश नखाइकन बल्वको आविष्कार गरेर यो संसारलाई उज्यालो पार्ने काम गरे । त्यस बाहेक उनले टेलिग्राम, चलचित्र, माइक्रोफोन लगायत एकहजार भन्दा बढि आविष्कार गरे । सन् १९३१ म जब उनको मृत्यु भयो, सो दिन पूरै अमेरिका भरी उनको सम्मानमा बत्ती निभाइएको थियो ।