विकासन्युज

प्रभु इन्स्योरेन्स कम्पनीको ४८ हजार कित्ता सेयर लिलामीमा

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको ४८ हजार कित्ता सेयर लिलामीमा राखिएको छ । कम्पनीले गत चैतमा निष्काशन गरेको हकप्रद सेयर मध्ये आवेदन नपरेको संस्थापक समूहको ५ हजार ३३४ कित्ता र सर्वसाधारण समूहको ४२ हजार ७८८ कित्ता सेयर लिलामीमा राखिएको हो । प्रतिकित्ता १०० अंकित सेयर बढाबढ मूल्यमा बिक्री गरिन लागेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटले जनाएको छ । उक्त सेयर खरिद गर्न चाहानेले असार ७ गतेसम्ममा लिलबन्दी आवेदन बुझाउनुपर्नेछ । असार ८ गते सेयर बाँडफाँड हुनेछ ।

भदौंको उत्पादन मिति राखेर जेठमै बजारमा समान, नेपाल डेरीलाई कारवाही

काठमाडौं । नेपाल डेरीले भदौको उत्पादन मिति राखेर जेठमै समान बजारमा पठाएको फेला परेको छ । खाद्य प्रबिधी तथा गुण नियन्त्रण विभागको बजार अनुगमन टोलीले सोमबार २०७४/५/१० र २०७४/०५/७ लेखिएका ४० मिलिटिरका २० थान प्रति कार्टुनका दरले जम्मा ५१ कार्टुन मिल्क फेला परेको हो ।   खाद्य प्रबिधी तथा गुण नियन्त्रण विभागका प्रवक्ता पुर्णचन्द्र वस्तीले भदौंको म्याद राखेर बजारमा पठाउन लागिएका मिल्क जफत गरि नष्ट गरेको जानकारी दिए । त्यस्तै भदौंको उत्पादन मिति राखेर बजारमा पठाइएका सबै मिल्क फिर्ता ल्याएर नष्ट गर्न पनि विभागले निर्देशन दिएको उनले बताए । नेपाल डेरी विरुद्ध खाद्य ऐन अन्तर्गत लेबलिङमा खेलाँची गरेको आरोपमा मुद्धा चलाइने पनि उनले स्पष्ट पारे । विभागले आवश्यक कागजात सहित उद्योगका संचालकलाई तीन दिन भित्र विभागमा उपस्थित हुन निर्देशन दिएर छाडेको छ । निजी डेरी उद्योगमध्ये नेपाल डेरीका उत्पादनहरु उपभोक्ताको सर्वाधिक रोजाईमा पर्दै आएका थिए ।

बैकिङ पहुँचमा वयष्क मात्रै ९८ प्रतिशत, हजार जना वयष्कमध्ये ९८३ को बैंक खाता

काठमाडौं । मुलुकका करिब ९८ प्रतिशत वयष्कको बैंक खाता रहेको सरकारी तथ्यांकले देखाएको छ । अझै पनि अधिकांश ग्रामीण भेगमा वित्तीय पहुँच (बैंकिङ सेवा) पुर्‍याउन नसकेको आरोप लागिरहेको समयमा सरकारको यस्तो तथ्यांक बाहिर आएको हो । गत आइतबार सार्वजनिक आर्थिक वर्ष ०७३/७४ को आर्थिक सर्वेक्षणमा प्रति एक हजार वयष्क जनसंख्यामा ९ सय ८३ जनाको बैंक खाता रहेको उल्लेख छ । यो करिब ९८‍.३ प्रतिशत हुन आउँछ । यसको अर्थ वयष्क जनसंख्याको ९८ प्रतिशतकै बैंक खाता छ भन्ने नभएको सरकारी अधिकारीहरू बताउँछन् । हाल एकै व्यक्तिले एकभन्दा बढी खाता खोल्न सक्छन् र खोलेका पनि छन् । यसकारण बैंक खाताको संख्या बढी भएको अर्थ मन्त्रालयको भनाइ छ । यसरी खुलेका बैंक खातालाई वयष्कको संख्यासँग अनुपात निकाल्दा करिब ९८ प्रतिशतको बैंक खाता रहेको देखिन्छ । तथ्यांकमा अधिकांश वयष्कको बैंक खाता रहेको देखिए पनि वास्तविक रूपमा त्यसो नभएको आर्थिक सर्वेक्षण लेखनमा संलग्न अर्थ मन्त्रालयका सहसचिव लक्ष्मण अर्यालले बताए । ‘हामीले तथ्यांकले देखाएको कुरा बाहिर ल्याएका हौं,’ उनले भने, ‘एकै व्यक्तिले एकभन्दा बढी खाता खोल्न सक्ने भएकाले त्यस्तो देखिएको हुन सक्छ ।’ यथार्थमा वित्तीय पहुँच र वित्तीय साक्षरतामा मुलुक निकै पछि रहेको उनले बताए । उनले भने, ‘वित्तीय पहुँच र साक्षरतामा मुलुकको अवस्था दर्दनाक छ, ती सूचकमा सुधार गर्न ठूलै पहल आवश्यक छ ।’ सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्था सहर केन्द्रित भएकै कारण ग्रामीण भेगमा अपेक्षित रूपमा वित्तीय पहुँच विस्तार हुन सकेको छैन । सहर बजारमा वित्तीय संस्थाहरूले एटीएमलगायत विभिन्न किसिमका आधुनिक बैंकिङ सेवाहरू प्रदान गरिरहेका छन् । यसकारण बैंक तथा वित्तीय संस्थामा युवाहरूको खाता संख्या धेरै देखिएको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले बताए । ‘एटीएमलगायत अन्य आधुनिक बैंकिङले युवाहरूलाई आकर्षित गरेको देखिन्छ,’ उनले भने, ‘रेमिट्यान्स प्राप्ति र बैंकिङ बानीको विकासले पनि बैंक खाताको संख्या बढेको हुन सक्छ ।’ पछिल्ला वर्षहरूमा मोफसलका सहरी केन्द्रहरूमा शाखा खोल्ने क्रम बढेकाले वयष्कहरू बैंकिङ कारोबारमा आकर्षित भएको उनले जनाए । बहुबैकिङ लगायत कारण निक्षेप खाता संख्या धेरै देखिएपनि वित्तीय पहुँच र समावेशी वित्तीय विकासका हिसाबले मुलुक निकै पछि रहेको थापाको भनाइ छ । सर्वेक्षणमा वयष्क जनसंख्या भन्नाले १६ वर्ष देखि ६४ वर्ष सम्मका नागरिकलाई समेटिएको छ । आर्थिक वर्ष ०७३र७४ मा मुलुकको कुल जनसंख्या २ करोड ८८ लाख २५ हजार ७ सय ९ रहने केन्द्रीय तथ्यांक विभागको अनुमान छ । उक्त जनसंख्यामध्ये वयष्कको हिस्सा ६४।२५ प्रतिशत रहेको विभागको तथ्यांक छ । यसका आधारमा आर्थिक वर्ष ०७३/७४ मा वयष्क जनसंख्या १ करोड ८५ लाख २० हजार ५ सय १८ जना रहने देखिन्छ । उक्त जनसंख्यालाई आधार मानेर प्रति एक हजार वयष्कमा ९ सय ८३ जनाको बैंक खाता रहेको सर्वेक्षणमा उल्लेख छ । आर्थिक वर्ष ०७२र७३ मा प्रति एकहजार जनसंख्या बराबर ९ सय २९ वटा बैंक खाता थियो । मुलुकमा करिब ४० प्रतिशत जनसंख्याले मात्र औपचारिक बैकिङ सुविधा पाउँदै आएको राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ । सहकारीलगायत अन्य संघसंस्थाबाट २१ प्रतिशतले सेवा लिएका छन् । बाँकी ३९ प्रतिशतमा औपचारिक रूपमा कुनै पनि वित्तीय पहुँच नपुगेको अध्ययनले देखाएको छ । तर, वयष्कहरूमा वित्तीय पहुँचको अवस्था हेर्दा तुलनात्मक रूपमा राम्रो देखिएको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण लेखनमा संलग्न राष्ट्र बैंकका उप निर्देशन बिरेन्द्र बुढाले बताए । विश्वका विकसित राष्ट्रहरूको तुलनामा नेपाली वयष्कहरूमा वित्तीय पहुँचको अवस्था कम भएपनि मध्यम आय भएका, अतिकम आय भएका र दक्षिण एसियाका अन्य राष्ट्रहरूको तुलनामा बढी रहेको उनले बताए । विश्व बैकको अनुसार सन् २०१६ मा युरोपियन राष्ट्रहरूमा प्रति एक हजार वयष्कमा १ हजार ३ सय ५७, उच्च आय भएका राष्ट्रहरूमा प्रति एक हजारमा १ हजार ८१, मध्यम आय भएका राष्ट्रमा ६ सय ४८ र अतिकम आय भएका राष्ट्रहरूमा ८८ वटा बैंक खाता रहेका छन । सोही अवधिमा दक्षिण एसियाका अन्य राष्ट्रहरूमा प्रति एक हजारमा वयष्कमा ४ सय ४३ बैंक खाता रहेको विश्बैकको तथ्यांक छ । वयष्क जनसंख्यामा निक्षेप खाता, एटिएम र बैंक शाखालाई वित्तीय पहुँच विस्तारमा प्रमुख परिसूचकका रूपमा लिइन्छ । कान्तिपुर दैनिकबाट ।

वायुसेवा निगमको साझेदारमा लुफ्थान्सा भित्रदैँ, ५ वटा प्रस्ताव माग्दा एउटै मात्र आवेदन

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको रणनीतिक साझेदारमा जर्मनीको लुफ्थान्सा कन्सल्टिङ छनोट हुने भएको छ । लुफ्थान्सालाई निगमको रणनीतिक साझेदार बनाउँन उपयुक्त हुने निष्कर्षसहित मूल्यांकन समितिले प्रक्रिया अगाडि बढाउन सिफारिश गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आह्वान गरेको प्रस्तावमा लुफ्थान्सा कन्सल्टिङ को मात्रै बोलपत्र परेको थियो । प्रस्तावको अध्ययन गर्न गठित समितिले आइतबार मन्त्रालयका सचिव तथा वायुसेवा निगम सञ्चालक समितिका अध्यक्ष शंकरप्रसाद अधिकारलाई प्रक्रिया अगाडि बढाउन सिफारिश गरेको छ । सचिवस्तरीय निर्णयले एक महिनाअघि मन्त्रालयको हवाई महाशाखा सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा मूल्यांकन तथा सिफारिश समिति गठन गरेको थियो । हामीले लुफ्थान्साको प्रस्तावलमाथि हरेक कोणबाट अध्ययन गर्दा उपयुक्त देखेर थप प्रक्रिया अगाडि बढाउन सिफारिश गरेका छौ, समिति संयोजक लामिछानेले भने । मन्त्रालयले पाँचदेशबाट प्रसताव मागेको भएपनि जर्मनीबाट यो कम्पनीको मात्रै आउको उल्लेख छ । कारोबार दैनिकबाट ।

मध्यपहाडी लोकमार्गमा १ अर्ब ९५ करोड बजेट, ७७ करोड रुपैयाँ मात्रै खर्च

काठमाडौं । सरकारले राष्ट्रिय महत्व बोकेका राजमार्गमा आधुनिक सहर निर्माण गर्ने लक्ष्यसहित विभिन्न क्षेत्रमा नयाँ सहरहरु निर्माणको योजना सार्वजनिक गरेको छ । तर, यसको कार्यान्वयन भने सुस्ता देखिएको छ । राष्ट्रिय गौरवको आयोजनामा समावेश भएको मध्यपहाडि लोकमार्गमा अवस्थित नयाँ १० सहर निर्माणका लागि वार्षिक रुपमा विनियोजन गरिएको बजेट खर्चको अवस्था ४ वर्षको अवस्थामा ३९ प्रतिशत मात्रै छ । सरकारले २०६७/०६८ देखि आधुनिक सहर निर्माणको नीति सार्वजनिक गरेको हो । मध्यपहाडि लोकमार्गमाा चार वर्षमा ७७ करोड खर्च भएको छ । यो समयसम्मा भएको बजेट विनियोजन भने १ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । अभियान दैनिकबाट ।

कतारसँग छिमेकीकाे सम्बन्ध विच्छेद,  नेपालीको रोजगारी गुम्ने सक्ने, हवाइ उडान साेमबारबाटै रद्द

काठमाडौं । करिब पाँच लाख नेपालीको श्रम गन्तव्यका रूपमा रहेको कतारसँग उसका सातवटा छिमेकीले कूटनीतिक सम्बन्धविच्छेद गरेका छन् । मध्यपूर्वका साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स (युएई), यमन र लिबियासँगै दक्षिण एसियाली मुलुक माल्दिभ्सले कतारसँगको कूटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेका हुन् । अरबी क्षेत्रमा अस्थिरता ल्याएको र इस्लामिक स्टेट, अलकायदा र मुस्लिम ब्रदरहुडलाई सहयोग गरेको भन्दै उनीहरू कतारसँग क्रूद्ध बनेका हुन् । नेपालीको रोजगारी गुम्ने खतरा कतारको अर्थतन्त्र कमजोर बन्दै जाँदा त्यहाँको निर्माण क्षेत्र कमजोर हुन्छ र उसले विदेशी कामदार फर्काउन सक्छ । अर्कोतर्फ कतारले विदेशी कामदार लैजान कम ग(यो भने पनि प्रभावित त नेपाली नै हुन्छन् । कतारका व्यवसायीले विदेशमा गरेको लगानी बन्द भयो भने पनि त्यस्ता कम्पनीमा कार्यरत नेपालीलाई फर्काउन सक्छ । गणेश गुरुङ, वैदेशिक रोजगारविज्ञ सूक्ष्म रूपमा हेरिरहेका छौँः परराष्ट्र मन्त्रालय खाडी क्षेत्रको पछिल्लो घटनाक्रमलाई सूक्ष्म रूपमा हेरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘यो घटनाक्रमलाई नेपाल सरकारले सूक्ष्म रूपमा हेरिरहेको छ, आज जुन घटना भएको छ, दोहा, अबुधावी, कायरो, रियादका दूतावासलाई अध्ययन गरी प्रतिवेदन दिन निर्देशन दिएका छौँ,’ परराष्ट्र प्रवक्ता भरतराज पौड्यालले भने । नयाँ पत्रिका दैनिकबाट । सोमबारबाटै उडान रद्दः सयौं यात्रु मर्कामा काठमाडौं । कतार जाने कुनै पनि यात्रुलाई साउदी अरेबीया र यूएईका एयरलाइन्सले यात्रु नबोक्ने घोषणा गरेपछि नेपालबाट कतारको दोहा ट्रान्जिट भएर जाने यात्रुहरु मर्कामा परेका छन् । आसपासका ६ राष्ट्रले कतारसँगको आफ्नो सबै कूटनीतिक सम्बन्ध र सबै सीमा, सामूहिक र हवाईमार्ग समेत विच्छेद गरेपछि यो समस्या उत्पन्न भएको हो । आजको नेपाल समाचारपत्रमा खबर छ । साउदी अरेबिया र यूएईका एयरलाइन्सले सोमबार नै काठमाडौंबाट दोहा जाने यात्रु नलाने घोषणा गरेपछि सयौं यात्रुहरु काठमाडौंमा नै अलपत्र परेका छन् ।

तामाकाेसी समयमानै सक्नेलाइ एक अर्बको पुरस्कार दिने उर्जामन्त्री शर्माकाे घाेषणा

काठमाडौं । उर्जामन्त्री जनार्दन शर्माले तोकिएको समयभन्दा तीन महिना पहिले माथिल्लो तामाकोसी जलविद्युत आयोजना सम्पन्न गरे एक अर्ब बराबरको पुरस्कार दिने घोषणा गरेका छन् । जलदविद्युत क्षेत्रमा माथिल्लो तामाकोसी जलविद्युत आयोजना महत्वपूर्ण परियोजना भएकाले सरकारले विशेष ध्यान दिएको स्पष्ट पारे । मन्त्री शर्माले भने मेरो एबम सरकारको तर्फबाट गर्नुपर्ने सबै प्रकारको सहयोग उपलव्ध गराउँछु । सहजीकरण गर्छु तर आयोजना तोकिएकै समयभन्दा तीन महिना पहिले सम्पन्न हुनुपर्छ । आयोजनालाई रु एक अर्बको व्यवस्था गरिन्छ, मन्त्री शर्माले भने। नागरिक दैनिकबाट ।

मेलम्ची असोज १५ भित्र आउने सम्भावना न्यून, अझै साढे ३ किमी सुरुङ खन्न बाँकी

काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजना सकिने समय लम्बिने सम्भावना बढेको छ । सुरुङ खन्ने रफ्तार घटेपछि १५ असोजभित्र उपत्यकामा खानेपानी ल्याउने सम्भावना घटेको हो । मेलम्ची खानेपानी आयोजनाका अनुसार अहिले ठेकेदार कम्पनीले दैनिक १७ मिटरका दरले सुरुङ खन्दै आएको छ । १५ असोजभित्र उपत्यकाभित्र खानेपानी ल्याउन दैनिक २८ मिटरका दरले सुरुङ खनिनुपर्ने थियो । २७।५८४ किमिमध्ये २४।३४९ किमि सुरुङ मात्र सकिएको छ । अझै ३।१६६ किमि सुरुङ खन्न बाँकी छ । आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले विगतको तुलनामा सुरुङ खन्ने रफ्तार घटेको बताए । देवकोटाले भने, ‘विगतको तुलनामा सुरुङ खन्ने रफ्तार घटेको छ । पहिला एकैपटक ६ स्थानबाट काम हुन्थ्यो । अहिले चार स्थानबाट मात्रै काम भइरहेको छ ।’ सुरुङमा नरम चट्टान भेटिएको र खन्ने रफ्तारमा पनि केही कमी आएकाले १५ असोजभित्र काम सक्न कठिन देखिएको देवकोटाले बताए । ‘सुरुङ खन्ने क्रममा अहिले नरम चट्टान भेटिएको छ । कामको रफ्तार घट्नुको यो एउटा कारण हो,’ उनले भने, ‘प्राविधिक पक्ष विश्लेषण गर्दा तोकिएको समयमा उपत्यकामा पानी ल्याउने सम्भव देखिएको छैन । तर, पनि १५ असोजभित्र काम सक्न हामी प्रतिबद्ध छौँ ।’ कहाँ कति सुरु खन्न बाँकी ? अहिले दुई प्याकेजमा चार स्थानबाट सुरुङ खन्ने काम हुँदै आएको छ । सुन्दरीजलदेखि सिन्धुसम्मको करिब १० किमि सुरुङ खन्ने काम सकिएको छ । अब सिन्धुदेखि ग्याल्थुमसम्मको सुरुङ खन्न बाँकी छ । खन्ने क्रममा नरम चट्टान भेटिएको ठाउँ पनि यही हो । अन्यत्रसमेत गरेर अब ३।१६६ किमि सुरुङ खन्न बाँकी छ । ठेकेदारले बोनस नपाउने मेलम्ची खानेपानी आयोजनाको लागत ७ अर्ब ७२ करोड ३४ लाख ७१ हजार तीन सय ४२ रुपैयाँ छ । निर्माणमा इटालियन ठेकेदार कम्पनी को–अपरेटिभ मुरातोरी ई सेमेन्तेस्टी ९सिएमसी दी रेभेन्ना० कार्यरत छ । ६ महिनाअघि नै काम सकेमा आयोजनाले ठेकेदार कम्पनीलाई प्रतिदिन ३८ लाख ६१ हजार ७ सय ३५ का दरले ६ महिनाको एकमुष्ठ ६९ करोड ५१ लाख १२ हजार तीन सय रुपैयाँ बोनस दिने भनेको थियो । तर, काम नसकिने भएपछि ठेकेदार कम्पनीले बोनस रकम गुमाएको छ । नयाँ पत्रिका दैनिकबाट ।