विकासन्युज

आरपि बेकरी ‘राष्ट्रिय खाद्य स्वच्छता’ प्रमाणपत्रद्वारा सम्मानित

काठमाडौं । ‘राम्रो’ ब्राण्डका बिस्कुट तथा कुकीजहरुका उत्पादक आर.पि. बेकरीलाई ९ औं राष्ट्रिय खाद्य स्वच्छता दिवसमा प्रथम स्थानको प्रमाणपत्रद्वारा सम्मानीत गरिएको छ । उक्त समारोह, कृषि बिकास मन्त्रालयअन्तर्गत, खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागले बार्षिक रुपमा आयोजना गर्दै आएको छ । बि.सं. २०६९ सालमा पनि आर.पि. बेकरीलाई सोही समारोहले दोस्रो स्थानबाट सम्मानित गरेको थियो । गत ४ बर्षमा, आर.पि. बेकरीले आफ्नो उपकरणहरुलाई आधुनिकीकरण गरि नयाँतथा स्वास्थ्यकर बिस्कुट तथा कुकीजहरु कडा गुणस्तर परिक्षणका साथ उत्पादनगरि प्रथम स्थान प्राप्त गर्न सफल भएको छ । यस उपलब्धिलको श्रेय कम्पनीको निरन्तर गुणस्तरीय उत्पादनहरु मात्रआफ्नो ग्राहक समक्ष पुर्याउने दृढ संकल्पलाई जान्छ । आर.पि. बेकरीका निर्देशक आदित्य अग्रवालले भने, “यस उपलब्धिले हाम्रो उत्पादनको गुणस्तरलाई कायम गरि ग्राहक समक्ष पुर्याउने दायित्वलाई अझै बढि हौसला दिएको छ । यस उपलब्धिलाई आगामी बर्षहरुमा पनि निरन्तरता दिनलाई मैले एउटा ठुलो चुनौतीको रुपमा लिएको छु ।”

हिमालयन पावरले २१ करोड रुपैयाँको आइपीओ निष्कासन गर्न पायो बोर्डको अनुमति

काठमाडौं । मंगलबार हिमालयन पावर पार्टनरले २१ करोड रुपैयाँको आइपीओ निष्काशन गर्न बोर्डको अनुमति पाएको छ । बोर्डले दिएको अनुमति अनुसार कम्पनीले २१ करोड ३० लाख ८३ हजार ४०० रुपैयाँको आइपीओ निष्काशन गर्न गर्ने भएको छ । साथै, कम्पनीले सो मात्राको आइपीओ निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।

किसान माइक्रोफाइनान्स र माउन्ट मकालुले एकैदिन मागे हकप्रद निष्काशन गर्न अनुमति

काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्था र माउन्ट मकालु डेभलपमेन्ट बैंक दुबैले एकैदिन हकप्रद निष्काशन गर्न अनुमति मागेका छन् । मंगलबार किसान माइक्रोफाइनान्सले २४ दशमलब २२ प्रतिशत र माउन्ट मकालुले ५० प्रतिशत हकप्रद सेयरको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका हुन् । किसान माइक्रोफाइनान्सले १००ः२४.२२ को अनुपातमा ७८ हजार कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ । त्यस्तै, माउन्ट मकालुले पनि २ः१ को अनुपातमा ३ लाख ४५ हजार ८ सय कित्ता हकप्रद निष्काशन गर्न अनुमति मागको हो । कम्पनीको बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल मार्केट रहेको छ ।

आईएमई अटोमोटिभ्सद्धारा आयोजित यूएम बाईक र्याली सम्पन्न, शुक्रबारसम्म बाइक एक्स्चेञ्ज क्याम्प

पानीपोखरी । आईएमई अटोमोटिभ्सले गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरेको ‘रेनगेडस्पोर्ट’ मोडलको बाइक र्याली सम्पन्न गरेको छ । सोमवार विहाने ११ः०० बजे जमल बाट शुरु भएको र्याली घण्टाघर, सुन्धारा, टेकु, कलङ्की, बालाजु, महाराजगंज, बानेश्वर, सँखमुल, पाटन दरबार स्क्वायर, लगनखेल, जावलाखेल, कुपण्डोल, थापाथली, न्यूरोड हुँदै पुनः जमल स्थित यूएम एक्स्कुलसिभ शोरुममा गएर समापन भएको थियो । र्यालीमा रेनगेड सिरिज अन्तर्गतका स्पोर्टस, कमाण्डो बाइक रहेको उक्त र्यालीलाई इन्डियन स्टाइलीस क्रुजर रेनगेड स्पोर्टस एस ३०० र रेनगेड कमाण्डो ३०० ले इस्र्कोटीङ्ग गराएको यस र्यालीमा झण्डै पचास जना चालकको सहभागिता रहेको थियो । सहभागीहरु प्रत्येकलाई २ वटा मुभी टिकट, युएम ब्राण्डेड टी-सर्ट, ३ लिटर पेट्रोल, लन्चबक्स र सहभागी सबैलाइ सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै सहभागीहरु मध्ये उत्कृष्ट पाँच चालक (अनुशासीत तथा सुरक्षीत चालक) लाई चन्द्रागिरि केबलकारको टिकट प्रदान गरिएको थियो । कार्यक्रमको अवसरमा, युएम बाइकले सोमबारबाट जमल स्थित यूएम एक्स्कुलसिभ शोरुममा पाँच दिन सम्म बाइक एक्स्चेञ्ज क्याम्पको आयोजना गरेको छ । यस कार्यक्रममा उत्कृष्ट मुल्याङ्कन र आकर्षक छुटको व्यबस्था गरिएको कम्पनीले जनाएको छ ।

अर्थमन्त्री महराले भने-७.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने आधार प्रशस्तै छन्

काठमाडौं । अर्थमन्त्री कृष्ण बहादुर महराले आगामी आर्थिक बर्षमा ७.२ प्रतिशतको आर्थिक वृद्धिदर सहजै हासिल हुने दावी गरेका छन् । मंगलबार अर्थमन्त्रालयमै पत्रकार सम्मेलन गरेर अर्थमन्त्री महराले ७.२ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव भएको बताएका हुन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, अर्थमन्त्रालयका दुबै सचिव, प्रमुख आर्थिक सल्लाहकारसँगै राखेर उनले भने–बजेट स्थानिय तहमा गएको छ, यसले विकास खर्च बढाउँछ जसले गर्दा सहजै ७.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुन्छ ।’ उनले राजनीतिक, वित्तिय तथा प्रशासनिक तीनै प्रकारको अधिकार तल पठाएकाले पनि आगामी आर्थिक बर्षमा बजेट कार्यान्वयनमा कुनै समस्या नआउने बताए । लगत्तै २ वटा निर्वाचन हुने, राष्ट्रि गौरवका आयोजनामा १९ प्रतिशत बजेट वृद्धि र कार्यान्वयनका लागि छुट्टै प्रक्रिया तथा कानुनको समेत व्यवस्था गरिने, भूकम्पपछिको पुननिर्माणले तिब्रता पाउने, लोड सेडिङको न्युनिकरणले औद्योगीक क्षेत्रको उत्पादकत्वमा वृद्धि हुने लगायतका कारण देखाउँदै प्रक्षेपित आर्थिक वृद्धिदर हासिल हुने बताए । पत्रकार सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठले आगामी दुई तीन बर्षपछि दुई अंकको आर्थिक वृद्धिदर समेत सम्भव भएको बताए । ‘बजेट खर्च गर्ने तहमा निर्वाचित प्रतिनिधी आएका छन्, कर्मचारीको व्यवस्थापन पनि भैरहेको छ, अब तल्लो तहमा आर्थिक गतिबिधी ह्वात्तै बढ्छ र केहि बर्षपछि दुई अंकको आर्थिक वृद्धिदर हासिल हुन्छ’, उपाध्यष डा. श्रेष्ठले भने । अर्थ सविच शान्तराज सुवेदीले बजेटको अख्तियारी दिईसकिएको बताउँदै अब लोड सेडिङको न्युनिकरणकै कारण प्रक्षेपित आर्थिक वृद्धिदर सम्भव भएको बताए । राजश्व सचिव राजन खनालले आगामी आर्थिक बर्षमा आर्थिक गतिबिधी बढ्ने पुर्वानुमान गरेरै राजश्व संकलन ७३० अर्बको राजश्व संकलन लक्ष्य निर्धारण गरेको बताए । यसअघि २० प्रतिशतको हाराहारीमा राजश्व संकलन लक्ष्य वृद्धि गर्दै आएकोमा यसपाली आर्थिक गतिबिधी बढ्ने देखेर २९ प्रतिशत लक्ष्य वृद्धि गरेको बताए ।

नेपाल ग्रामीण विकास बैंकले ९ लाख कित्ता एफपीओको लागि माग्यो बोर्डको अनुमति

काठमाडौं । नेपाल ग्रामीण विकास बैंकले ९ लाख ७५ हजार कित्ता थप साधारण सेयर (फरदर पब्लिक इस्यु(एफपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले सो मात्राको एफपीओ जारी गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले जेठ १२ गते धितोपत्र बोर्डमा निवेदन दिएर प्रभु क्यापिटल मार्फत सो मात्राको एफपीओ जारी गर्न अनुमति मागेको हो । हाल कम्पनीको चुक्ता पूँजी ५५ करोड ७५ लाख रुपैयाँ रहको छ । सो मात्राको एफपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ५५ करोड ८४ लाख रुपैयाँ नाघ्ने छ । मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७८१ रुपैयाँ रहेको छ ।

नयाँ बजेटबारे के भन्छन भरत मोहन अधिकारी, बर्षमान पुन र शंकर कोइराला ?

काठमाडौं । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक बर्षको बजेट प्रति तीन जना पुर्व अर्थमन्त्रीहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । पुर्व अर्थमन्त्री भरतमोहन अधिकारी, बर्षमान पुन र शंकर कोइरालाले नयाँ बजेट प्रति मिश्रित प्रतिक्रिया दिएका हुन् । ठुला पुर्वाधार आयोजनामा यथेष्ठ मात्रामा बजेट विनियोजन गर्नु, स्थानिय तहका लागि रकम सिधै पठाउनु, संघियता कार्यान्वयनमा जोड दिनु लगायतका सकारात्मक पक्ष रहेको बताउँदै केहि अनावश्यक कार्यक्रम र असमान बजेट वितरण समेत गरिएको बताएका हुन् । पुँजीगत खर्च कम भयोः अधिकारी एमाले नेता तथा पुर्व अर्थमन्त्री भरतमोहन अधिकारीले राष्ट्रिय गौरवको आयोजनाहरुलाई निरन्तरता दिने काम राम्रो भएपनि पुँजीगत खर्च अत्यन्तै कम भएकोमा भने चिन्ता व्यक्त गरे । उनले भने,‘मैले त बडो स्पष्ट रुपमा भनेको छु, कि ठूला ठूला परियोजनाहरुको काम कसरी भैरहेको छ, यसको प्रगति विवरण लिनको लागि प्रधानमन्त्रीको लेभलमा एउटा सेल र अर्थमन्त्रीको लेभलमा अर्को सेल बनाउनुपर्छ, अनि प्रगति विवरण लिनुपर्छ ।’ त्यस्तै उनले काठमाडौं–तराई द्रुत मार्ग परियोजना, तीन वटा अन्र्तराष्ट्रिय विमानस्थल निर्माण कार्यलाई एकाउन्टेवल बनाउनुपर्नेमा जोड दिए । अधिकारीले बजेटले गरिबी निवारण सम्बन्धी प्रभावकारी कार्यक्रम ल्याउन नसकेको गुनासो पोखे । उनले भने,‘गरिबीको रेखामुनी बस्नेहरुको संख्या ह्वात्तै बढेको छ, गरिबी निवारणका कामहरु हुन सकेका छैनन्, विदेशी सहायताहरु विचौलीयाहरुले बिचमै खाने गरेका छन्, यतातिर सरकारको ध्यान पुग्नुपर्छ ।’ उनले गरिबी निवारणसम्बन्धी कार्यक्रमहरुलाई एकद्धार प्रणालीमा सञ्चालन गर्नुपर्ने समेत बताए । त्यस्तै उनले युवा स्वरोजगार कार्यक्रमलाई समेत प्रभावकारी बनाउनुपर्ने समेत बताए । उनले भने,‘यसमा सरकारले कार्यक्रमहरु दिनुपर्छ ।’ उनले कृषिमा समेत विशेष ध्यान दिन नसेकेकोमा गुनासो पोखे । उनले भने,‘अर्थतन्त्रलाई गति दिन चुक भएको छ, किनकी गाउँमा रोजगारी सिर्जना गर्ने भनेको नै कृषिमा विशेष ध्यान दिनुपर्छ नि।’ उनले बजेटले संघीयतालाई कार्यान्वयन गर्न जोड दिएको छ । यद्धपी उनले स्थानीय निकायलाई रकम भने अपूरो भएको गुनासो पोखे । त्यस्तै उनले आफूले त कृषिमा कम्तिमा ५० अर्व रकम विनियोजन गर्नुपर्ने भनेपनि जम्मा ३० अर्ब मात्रै छुट्याएको स्पष्ट पारे । त्यस्तै चीनसँगको ओबोरमा हस्ताक्षर गरेपछि पूर्वाधार विकास अघि बढ्ने भएकोले यसलाई समयमै कार्यान्वयन गर्नुपर्नेतिर विशेष ध्यान दिनुपर्ने बताए । ऐतिहासिक बजेटः पुन माओवादी केन्द्रका नेता एंव पूर्व अर्थमन्त्री वर्षमान पुनले सरकारले हालै ल्याएको बजेट ०७४÷७५ को आर्थिक बजेट समग्रमा राम्रो भएको टिप्प्णी गरे । पूर्व अर्थमन्त्री पुनले समयमै बजेट आउनु र यसमा सबै दलहरुको समर्थन रहनु सुखद् पक्ष रहेको बताएका हुन् । उनले भने,‘जेठ १५ गते बजेट ल्याउनुपर्ने थियो समयमै बजेट आयो, यो एकदमै खुशीको कुरा हो ।’ पुनले भने,‘संघीय स्वरुप अनुसार नै स्थानीय तह वा सरकारलाई पर्याप्त बजेट गएको छ ।’ उनका अनुसार मनाङमा ५ सय जनसंख्या भएको गाउँपालिकामा पनि न्यूनतम् दश करोड बजेट गएको छ । उनले केन्द्रिय तहबाट स्थानीय तहमा बजेट पर्याप्त रुपमा पुगेकोमा खुशी व्यक्त गर्दै यो अत्यन्तै सकारात्मक पक्ष भएको बताए । उनका अनुसार सरकारले हुलाकी राजमार्ग, तीन वटा अन्र्तराष्ट्रिय विमानस्थल निर्माण, फाष्ट ट्रयाक, हुलाकी राजमार्ग, जलविद्युत आयोजनामा राम्रो बजेट विनियोजन गरिएको छ । त्यस्तै सरकारले ठूला आयोजना अन्र्तगर्त उज्यालो नेपाल अन्र्तर्गत उर्जा क्षेत्रमा ७८ अर्व विनियोजन गरिएको यो बजेटको राम्रो विशेषता रहेको पुनले बताए । त्यस्तै यही माघ ७ गतेभित्र तीन तहकै निर्वाचन सम्पन्न गर्नको लागि सुनिश्चिततासहित बजेट विनियोजन भएकोमा प्रंशसा गरेका थिए । त्यस्तै आगामी ५ वर्षभित्र मुलुकको राजनीतिक संक्रमण अन्त्य गरि आर्थिक क्रान्तिलाई द्रुत गतिमा अघि बढाउनेगरि बजेट आएको समेत उनले बताए । कर्मचारीको तलवभत्ता वृद्धि नभएकोमा थोरै गुनासो भएपनि यसलाई पूरक बजेटमा समेट्ने आफूले विश्वास लिएको बताए । उनले भने,‘आचारसंहिताको कारण अहिले राष्ट्रसेवक कर्मचारीको तलव वृद्धि हुन सकेन् तर हामी यसलाई पूरक बजेटमा समेट्छौं भन्नुभएको छ, मलाई विश्वास छ, यो अब आउने बजेटमा समेटिनेछ ।’ त्यस्तै जेष्ठ नागरिक, एकल महिला लगायतका सामाजिक सुरक्षा भत्ता समेत पूरक बजेटमा समेटिने आफूले विश्वास लिएको पुनको भनाई थियो । त्यस्तै युवा स्वरोजगारलाई पनि विशेष ध्यान दिईने उनको तर्क छ । यद्धपी उनले बजेटको आकार ठूलो भएको भन्ने गुनासो भएपनि यसको स्रोत राजश्व संकलन नै रहेको बताए । उनले भने,‘कर २० प्रतिशतले वृद्धि हुन्छ, त्यसैले यो लक्ष्य सजिलै हाँसिल हुन्छ ।’ राजनीतिक सहमतिको गैर राजनीतिक बजेटः कोइराला पूर्वअर्थमन्त्री डा. शंकरप्रसाद कोइरालाले पनि बजेट विशिष्ट परिस्थितिमा आएको भएपनि यसले आशाका किरणहरु ल्याएको बताए । कोइरालाले बजेट दुई दलीय सहमतिमा आएको भएपनि यो बजेटलाई राजनीतिक सहमतिमा ल्याईएको गैर–राजनैतिक बजेटको संज्ञा दिए । उनले अर्थमन्त्रीलाई हात खुट्टा बाँधेर बजेट ल्याउन भनिएको भएपनि सकारात्मक पक्षहरु समेटेर बजेट आएकोमा खुशी व्यक्त गरे । उनले भने,‘यो बजेट चुनावी आचारसंहिताले बाँधिएर आएको छ, समग्रमा बजेट राम्रो छ, यसले तीन तहकै निर्वाचन संविधानले तोकेको समयसिमाभित्रै सम्पन्न गर्नको लागि सुनिश्चितता गरेको छ ।’ त्यस्तै आर्थिक वृद्धिदर ७.२ प्रतिशत प्रक्षेपण गरिएको र उक्त वृद्धिदर हाँसिल हुने समेत विश्वास व्यक्त गरे । त्यस्तै स्थानीय तहकमा स्रोत र साधनहरु हस्तान्तरण गर्नुपनि बजेटको सुन्दर पक्ष रहेको कोइरालाले बताए । त्यस्तै बजेटले रज्यसत्ता स्थानीय तहमा हस्तान्तरण गरेको अनुभुति समेत भएको उनको भनाई थियो । उनले भने,‘केन्द्रका आयोजनाहरु स्थानीय तहसम्म पुगेका छन्।’ पुँजीगत खर्च कार्यान्वयन गर्नतिर विशेष ध्यान दिनुपर्ने उनले बताए । त्यस्तै उनले नयाँ नीति तथा कार्यक्रमहरु नल्याउने भनिएपनि अर्थमन्त्रीले बढो चलाखीपूर्वक ढंगले केही नयाँ कार्यक्रमहरु समेत ल्याएको बताए । उनका अनुसार रसुवागढी–काठमाडौं– पोखरा–भैरहवा रेलमार्ग, राष्ट्रसेवक कर्मचारीहरु मार्फत ५०० मेगावाट जलविद्युत क्षमता निर्माण गरिने, ७ वटै प्रदेशमा एक एक मेगासिटी बनाउने जस्तो नयाँ कार्यक्रमहरु बजेटमार्फत आएका छन् । त्यस्तै उनले बजेटको आकार ठूलो हुनु अलिकति अशोभनीय भएको टिप्पणी गरे । उनले भने,‘हाम्रो कुल गार्हस्थ भनेको २६ खर्ब हो, जिडीबीको ४० प्रतिशतमात्रै बजेटमा ल्याउनुपर्ने हो, यो चाहीँ ठाडै उल्लंघन भएको छ ।’ उनले अहिलेको बजेटको आकार हेर्दा जिडीपीको झण्डै ५० प्रतिशत बजेट आएको बताए । त्यस्तै बजेटले नीजी क्षेत्रलको मनोवल र हौसललाई प्रदान नगरेको गुनासो पोखे । उनले भने,‘यो बजेटले नीजी क्षेत्रलाई त्यति उत्साह प्रदान गरेको छैन, आयातमा मात्रै हामी केन्द्रित भयौं, निर्यात अत्यन्तै कम भएको छ, यतातिर पनि ध्यान दिईनुपर्ने थियो ।’

‘आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति’को नतिजा सार्वजनिक

काठमाडौं । आईएमई तथा ग्लोबल आईएमई बैंकले हिसान तथा प्याब्सनको सहकार्यमा शैक्षिक सत्र– २०७३ “ आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति”सार्वजनिक गरेको छ । बैंकले राष्ट्र विकासका कर्णधार विद्यार्थीहरुको उज्ज्वल भविष्यको आकांक्षालाई साकार पार्न सहयोग पुर्याउने उद्देश्यले सो कार्यक्रम लागु गरेको थियो । छात्रवृृति सार्वजनिक कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, प्याब्सनका अध्यक्ष विजय सम्बाहम्फे र हिसानका उपाध्यक्ष डा. स्वागत श्रेष्ठको उपस्थिती रहेको थियो । छात्रवृति समितिका सह-संयोजक डेनियल डी. श्रेष्ठ, हिसान उपाध्यक्ष डा. स्वागत श्रेष्ठ, प्याब्सन अध्यक्ष विजय सम्बाहम्फे, आईएमई तथा ग्लोबल आईएमई बैंकका सीईओ सुमन पोखरेल र अनिल ज्ञवालीले आकाँक्षा छात्रवृति योजनाको विषयमा जानकारी गराएका थिए । उक्त छात्रवृत्ति अन्तर्गत सार्वजनिक, नीजि तथा सामुदायीक विद्यालयमा १ देखि ११ कक्षासम्म अध्ययनरत आर्थिक रुपमा विपन्न जेहेन्दार तथा मेहनती विद्यार्थीबाट प्राप्त भएका सदर आवेदनका आधारमा एक शैक्षिक सत्र अथवा शैक्षिक सत्र २०७३ का लागि छात्रवृत्ति प्रदान गरिएको हो । आईएमई लिमिटेड एवम् ग्लोबल आईएमई बैंकबाट व्यवस्थापन मिलाईने कुल दश लाख छात्रवृत्ति कोषबाट एक शैक्षिक सत्रका लागि एक सय जना विद्यार्थीलाई गत शैक्षिक सत्रदेखि नै छात्रवृत्ति प्रदान गरिँदै आएको छ । आईएमई लिमिटेड एवम् ग्लोबल आईएमई बैंकको संयुक्त पहलमा ल्याईएको यो योजना यी दुवै वित्तीय संस्थाहरुको संस्था गत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्दछ । निर्धारित समयमा रितपूर्वक प्राप्त हुन आएका आवेदन उपर सम्बन्धित संस्थाका उच्च पदाधिकारी एवम् शिक्षाविद् संलग्न समितिले निर्णयगरी अन्तिम नतिजा मंगलबार प्रकाशन गरेको हो । छात्रवृति प्राप्त गर्न सफल छात्र/छात्राहरुको नामावली यसै साथ संलग्न गरिएको छ ।