मोरङमा चैते धानको उत्पादनमा बृद्धि हुने
विराटनगर । मोरङमा गत वर्षको तुलनामा चैते धानको उत्पादनमा वृद्धि हुने भएकोे छ । चैते धानको उत्पादन वृद्धिका लागि सरकारद्वारा सञ्चालित ‘वृहतर धान उत्पादन कार्यक्रम’ र सिँचाइको उपयुक्त व्यवस्थाका कारण उत्पादन वृद्धि हुने भएको हो । यस जिल्लामा गत वर्ष १४ हजार ३२० हेक्टर जमिनमा गरिएको चैत धानको खेतीबाट ६४ हजार ४४० मेट्रिक टन धान उत्पादन भएको थियो भने यस वर्ष १४ हजार २०० हेक्टरमा खेती गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गत वर्ष ४ दशमलव ५ मेट्रिक टन प्रति हेक्टरका दरले उत्पादन भएको थियो भने यसवर्ष पाँच मेट्रिक टन प्रतिहेक्टरका दरले उत्पादन हुने अनुमान गरिएको छ । सरकारले चैते धानको उत्पादन वृद्धि गराउने उद्देश्यले वृहत्तर धान उत्पादन कार्यक्रम अन्तर्गत यहाँका किसान अनुदान दिने गरेको हो । सो कार्यक्रममा परेका किसानलाई प्रतिहेक्टर रु पाँच हजारसम्म अनुदान रकम उपलब्ध गराउने बताइएको छ । अनुदान प्राप्त गर्ने किसानले चैते धानबाली लाइनमा रोप्ने मापदण्ड पूरा गरेको हुनुपर्ने कार्यालयका प्रमुख मनोजकुमार यादवले जानकारी गराए । जिल्लामा एक हजार हेक्टरसम्म जग्गाका लागि सो अनुदानको रकम उपलब्ध गराइएको छ । यस जिल्लाका सिजुवा, इटहरा, रङ्गेली, होकलाबारी र बेलवारीलगायतका ठाउँमा चैते धानकोखेती गरिएको छ । रासस
नेपालमा आइफोनको मूल्यमा गिरावट
काठमाडौं । नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु (म्याकबुक्स, आइप्याड एयर) को एक मात्र बितरक जेननेक्स्टले आइफोनको मूल्यमा कटौती गरेको घोषणा गरेको छ । यो ग्राहकहरुका लागि आइफोन किन्ने सबैभन्दा उपयुक्त समय हुन सक्दछ । जो लामो समयदेखि आइफोन किन्ने चाहना राखिरहेका थिए उनीहरुले अब उत्कृष्ट मूल्यमा आइफोन किन्न सक्ने भएका हुन् । आइफोन सेभेन ३२ जीबी ब्ल्याकको नयाँ मूल्य रु.८६,०००, आइफोन सेभेन १२८ जीबी गोल्ड, रोज गोल्ड, ब्ल्याक, जेट ब्ल्याक र रेडको मूल्य रु.९९,८००, आइफोन सेभेन २५६ जीबी गोल्ड, रोज गोल्ड, ब्ल्याक, जेट ब्ल्याकको मूल्य रु.१,१२,००० तोकिएको छ । त्यसैगरि आइफोन सेभेन प्लस३२ जीबी ब्ल्याकको नयाँ मूल्य रु.१,०५,०००, आइफोन सेभेन प्लस १२८जीबीको मूल्य रु.१,१९,०००, आइफोन सेभेन प्लस २५६ जीबी ब्ल्याक, जेट ब्ल्याक र रेडको मूल्य रु.१,३२,००० तोकिएको छ । यसैगरि, आइफोन सिक्स ६४ जीबी गोल्ड वा स्पेस ग्रेको मूल्य रु.६८,०००, १२८ जीबी गोल्ड वा स्पेस ग्रेकोे मूल्य रु.७८,०००, आइफोन एसई ६४ जीबी गोल्ड वा रोज गोल्डको मूल्य रु.५२,५०० तोकिएको छ । आइफोन सिक्स एस ३२ जीबी गोल्ड, रोज गोल्ड, अथवा स्पेस ग्रेको मूल्य रु.७२,८०० र आइप्याड प्रो ९.७ स्मार्ट की बोर्डसहितको मूल्य रु.१७,५०० तोकिएको छ । सबै आइफोनहरु विशेष अफरमा उपलब्ध छन, जसमा आइफोन सेभेन तथा सेभेन प्लसमा १ जीबी एनसेल डाटा प्रति महिना ६ महिनासम्म, एउटा ब्याक कभर, टेम्पर ग्लासका साथसाथै मासिक किस्ताबन्दीमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
सेयर बजारमा ६१ करोड माथिको कारोबार
काठमाडौं । बुधबार सेयर बजारमा ६१ करोड ९८ लाख रुपैयाँ बढीको सेयर करोबार भएको छ । सो रकम अघिल्लो दिनको तुलनामा करिब १२ करोड रुपैयाँ बढी हो । अघिल्लो दिनको बजारमा ५० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । सो दिन सबैभन्दा बढी हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको सेयर कारोबार भएको छ । बजारमा यस कम्पनीको १० करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन कम्पनीको सेयर प्रतिकित्ता १६३८ रुपैयाँ रहेको छ । त्यस्तै, एनसीसी बैंक र सिद्धार्थ बैंकको ३ करोड रुपैयाँ माथिको सेयर किनबेच भएको छ । बजारमा १४० कम्पनीको ३१ लाख ६४ हजार ९६६ कित्ता सेयर किनबेच भएको छ । सो दिन कारोबार भएका तीन समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी ५ समूहको परिसूचक ओरालो लागेका छन् । उत्पादनमूलक ३२, होटल ४.७७ र अन्य समूह ४.०५ अंकले उकालो लागेका हुन् । त्यस्तै, सबैभन्दा बढी हाइड्रोपावर समूहको परिसूचक २० अंकले ओरालो लागेको छ । बाँकी समूहको परिसूचक सामान्य अंकले ओरालो लागेका हुन् । समग्रमा नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ । परिसूचक ४ दशमलब ९८ अंकले ओरालो लागेर १६४४ दशमलब २६ अंकमा झरेको छ ।
४५ सय भारु साट्न पनि भारतको आनाकानी, ‘अप्रिल लेटर’को जवाफै आएन
काठमाडौं । भारतले नेपालीसँग रहेको भारतीय रुपैंयाँ साट्न आनाकानी गरेको छ । सुरुमा ४५ सय भारु साट्न तयार भएको भारत यतिबेला भने मौन बसेको छ । ‘हामीले ४५ सय नै भएपनि अहिलेलाई साट्न तयार छौं भनेर अफ्रिल १३ तारिखमै आरबिआईलाई पत्र पठाएका थियौं तर अझै जवाफ आएको छैन् ।’, नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख भिष्म ढुंगानाले विकासन्युजसँग भने । ढुंगानाका अनुसार ४५ सय भारु साट्नेबारे परराष्ट्र मन्त्रालयले पनि भारतीय पक्षलाई एक पटक पत्राचार गरिसकेको छ । तर भारतीय पक्षले सो पत्रको पनि जवाफ दिएको छैन् । ‘भारतीय पक्षले नै ४५ सय साटिदिन्छौं भनेपछि हामीले तयार भएका हौं तर अहिले कुनै प्रतिक्रिया नै नदिई बसिरहेका छन्, हामी अचम्ममा परेका छौं’, ढुंगानाले भने । नेपाल राष्ट्र बैंकले ४५ सुरुमा ४५ सय भारतीय रुपैंयाँ सटही सुबिधा पाउनुपर्ने अडान राखेको थियो । दुई देशबिचको सहमतिमा दुबै देशका नागरिकले एक अर्काे देशको मुद्रा २५ हजारसम्म राख्न पाउने व्यवस्था छ । नेपालले २५ हजा सटही सुबिधा माग्दा भारतले भने ४५ सय मात्रै साटिदिने भनेको थियो । तर यतिबेला नेपाल ४५ सय रुपैंयाँ सटही सुबिधाको उपयोग गर्न तयार हुँदा भारतले भने चासो देखाएको छैन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत नोभेम्बर ९ देखि एक हजार र पाँच सय दरका भारु कारोबार रोक लगाएको घोषणा गरेका थिए । कालोधन नियन्त्रण योजना अन्तर्गत मोदी सरकारले नोटबन्दीको घोषणा गरेको थियो ।
नेप्सेमा एकै दिन ३३ लाख १० हजार कित्ता सेयर सूचिकृत, सबैभन्दा बढी हकप्रद सेयर
काठमाडौं । नेप्सेमा एकै दिन ३३ लाख १० हजार ३८६ कित्ता सेयर सूचिकृत भएको छ । बुधबार मात्रै बजारमा दुई कम्पनीको बोनस र हकप्रद सेयर गरि सो मात्राको सेयर सूचिकृत भएको हो । सो दिन काष्ठमण्डप डेभलपमेन्ट बैंक र जनता बैंक नेपालको गरि सो मात्राको सेयर सूचिकृत भएको हो । काष्ठमण्डप डेभलपमेन्ट बैंकको बोनस र हकप्रद दुबै सेयर सूचिकृत भएको छ भने जनता बैंक नेपालको हकप्रद सेयर मात्र सूचिकृत भएको छ । काष्ठमण्डप डेभलपमेन्ट बैंकको १५ लाख ८८ हजार ९१८ कित्ता बोनस र १६ लाख ९९ हजार ७४१ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो । त्यस्तै, जनता बैंक नेपालको पनि २१ हजार ७२६ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । सो दिन नेप्सेमा सबैभन्दा बढी हकप्रद सेयर थपिएको छ । एकै दिन दुई कम्पनीको गरि १७ लाख २१ हजार ४६७ कित्ता हकप्रद सेयर थपिएको हो ।
काठमाडौं महानगर-१ मा एमाले विजयी, महिला र दलित महिला सदस्यमा पनि एमालेकै जीत
काठमाडौं। काठमाडौं महानगरपालिका- १ को वडाध्यक्षमा नेकपा एमालेका भरतलाल श्रेष्ठ एक हजार ३५ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भोला थापाले ६३९ मत प्राप्त गरेका छन् । महिला सदस्यमा एमालेकी रसला तण्डुकारले ८९१, दलित महिला सदस्यमा एमालेकै मीना सुनुवारले ७९६ ल्याई विजयी भएका छन् । यस्तै खुल्ला सदस्यमा एमालेका अशोक श्रेष्ठले ६५४ र काँग्रेसका राजकुमार श्रेष्ठले ६८१ मत ल्याई विजयी भएका छन् । सो वडामा कुल दुई हजार ३३१ मत खसेको थियो भने ५९ मत बदर भएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए । रासस
कतार एयरवेजद्वारा बार्षिक आपतकालिन अभ्यास सम्पन्न
कतार । कतार एयरवेजले आफ्नो बार्षिक आपतकालिन अभ्यास ‘डेल्टा ओरेक्स २०१७’ सफलतापूर्वक सम्पन्न गरेको छ । आपतकालिन ‘साइम्यूलेशन’ अभ्यासमा हमाद ईन्टरनेशनल एयरपोर्ट (एचआइए) नजिकको समुन्द्रलाई क्र्यास साइटका रुपमा प्रयोग गरिएको थियो । योजनाबद्ध आपतकालिन साइम्यूलेशन कतार एयरवेजको बार्षिक प्रक्रिया तथा सुरक्षा अभ्यास अन्तर्गत पर्छ । आपतकालिन सुविधाको परिक्षण यसको मुल उद्देश्य हो । साथै, आपतकालिन अवस्थामा एयरवेजका कर्मचारीले पूर्ण तयारीका साथ अवस्था नियन्त्रण गर्न सकुन् भनी प्रयासका रुपमा यसको आयोजना गरिन्छ । २८ भन्दा बढी सरकारी निकाय, सरोकारवाला, पार्टनर, हमाद ईन्टरनेशनल एयरपोर्ट, कतार कोस्टगार्ड, आन्तरिक सुरक्षा बल, कतार नेभी र कतार एमिरी एयरफोर्सको संयुक्त पहलमा आपतकालिन अभ्यास आयोजना गरिएको थियो । ‘डेल्टा ओरेक्स २०१७’का लागि एयरवेजले ३० सिटर नमुना एयरक्राफ्ट (विमान), दूई कतार एयरवेज एयरक्राफ्ट चिप्लेटी (च्युट्स), १ सय ७० स्वयम्सेवम यात्रु, ६० स्वयम्सेवक परिवारका सदस्य तथा मित्र, ३९ डम्मी (क्याजुआलिटीज्), ४० एम्बुलेन्स रेस्पोन्स भेहिकल, तीन मिलिटेरी हेलिकप्टर, पाँच एयरपोर्ट सेफ्टी एण्ड सेक्योरिटी भेहिकल र १० मोवासलट बसको प्रयोग गरिएको थियो । ‘हामी ‘डेल्टा ओरेक्स २०१७’को सफलतापूर्वक आयोजना गर्न पाउँदा निकै हर्सित छौँ । यस बर्षको आपतकालिन साइम्यूलेसन हाम्रा कर्मचारीहरुका लागि चुनौतीका रुपमा प्रस्तुत गरेका थियौँ । यसमा तिनले प्रखर ब्यवसायिकता र कर्तब्य बोध प्रस्तुत गरी कतार एयरवेजको गुणस्तरिय सुरक्षा सेवाको नमुना प्रस्तुत गरेका छन् । यसका लागि कतार एयरवेजका तर्फबाट सरकारी निकाय, सरोकारवाला, विशेष शक्ति बल, स्वयम् सेवक लगायतमा म हार्दिक कृतज्ञता र धन्यवाद ज्ञापन गर्दछु ’, कतार एयरवेजका गु्रप चिफ एक्जेक्यूटिभ महामहिम अकबर अल बाकरले भने । कतार एयरवेजका गु्रप चिफ एक्जेक्यूटिभ महामहिम अकबर अल बाकर आपतकालिन अभ्यासको निगरानी गर्दै ।
काठमाडौं महानगरमा एमालेको अग्रता
काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा (एमाले) ले अग्रता कायमै राखेको छ । प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यले एक हजार ३३ मत पाएका छन् भने नेपाली काँग्रेसका राजुराज जोशीले ८४० मतका साथ पछ्याइरहेकी छन् । विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शना न्यौपानेले ५०१ र साझा पार्टीका किशोर थापाले ३८५ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए । उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गी श्रेष्ठले ९४२ मतका साथ अग्रता कायम गरिरहेका छन् । यसैगरी एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीकी संयुक्त उम्मेदवार राजाराम श्रेष्ठले ६४१ एवम् साझा पार्टीकी निरुपमा यादवले २७४ मत पाएका छन् । महानगरमा अहिले वडा नं १ नम्बर र ३२ नं को मतगणना भइरहेको छ । एक नम्बर वडाको मतगणना अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस